गोदावरी १४ वडा कार्यालयद्वारा तिहार पर्व (स्वन्ती नख:) मनाउन आफ्ना वडाबासीलाई आग्रह

ललितपुर, सोमबार, १२ कात्तिक २०८१ । तिहारका बेलामा घरभित्र, बाहिर र वरपर गरिने दीपावली हाम्रो अर्को महत्त्वपूर्ण उत्सव हो । हामीसँग यदि ज्ञानको धिपधिपे छ भने औँसीको जस्तो दुःख, पीडा र अज्ञानको जतिसुकै सघन अँध्यारो भए पनि त्यो सजिलै हराएर जान्छ । त्यसैले, उज्यालो बालेर भित्र र बाहिरको अँध्यारो हटाउने प्रयास गरौँ भन्नु दीपावलीको विशेष अर्थ हो ।

गोदावरी नगरपालिका वडा नं १४ वडा कार्यालयले आफ्ना वडाबासीलाई हर्ष उल्लासका साथ दीपावली मनाउन आग्रह गरेको छ । वडा कार्यलयले आज शुभ दीपावली तिहार (स्वन्ती नख:) मनाउने तालिका सार्बजनिक गर्दै, गर्जु – गुठी-थकाली- प्रतिनिधि- भद्र भलादमी लगायत वडाबासीहरु संगको राय सल्लाह सुझावका आधारमा ठैव-बाडेगाउँबासीले शुभ दीपावली तिहार (स्वन्ती नख:) हर्ष उल्लासका साथ मनाउन वडा अध्यक्ष निरोज बज्राचार्यले सम्पूर्ण वडाबासीलाई अनुरोध गर्नु भयो ।

(स्वन्ती नख:) मनाउने तालिका अनुसार कात्तिक १४ गते बुधबार क्व:पुजा (काग तिहार) त्रयोदशी, कात्तिक १५ गते बिहिबार खिचा: पुजा (कुकुर तिहार) चतुर्दशी, कात्तिक १६ गते शुक्रबार गाई पुजा (लक्ष्मी पुजा) औशी, कात्तिक १७ गते शनिबार म्ह–पूजा (आत्मपूजा) गोवर्धन पूजा, नेपाल सम्वत ११४५ प्रारम्भ, कात्तिक १८ गते आइतबार किजा: पुजा (भाइटीका) कार्तिक शुक्ल द्वितीया मनाउन अध्यक्ष निरोज बज्राचार्यले सम्पूर्ण वडाबासीलाई अनुरोध गर्नु भयो ।

यमपञ्चक, तिहार वा दीपावली

शरद् ऋतुको अन्त्यमा पर्ने अर्थात् दसैँपछि आउने कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक पनि भन्ने चलन नेपालमा छ । राणाशासनमा यमपञ्चकमा जुवा खेल्न छुट दिने चलन भएको तथ्य त्यस बेलाको मुलुकी ऐनबाटै स्पष्ट रूपमा बुझिन्छ । पछि पछिका पात्रोहरूमा पनि ‘यमपञ्चकारम्भ’ भनेर उल्लेख गर्ने गरिएको देखिन्छ तर कुनै पनि प्राचीन धर्मशास्त्रीय ग्रन्थमा वा पुराणहरूमा

‘यमपञ्चक’ को उल्लेख भएको चाहिँ देखिँदैन (द्रष्टव्य– वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाध्यायशाला, प्र.सं. २०४५, तृतीय संस्करण २०८०, पृ.१०८७) ।

उक्त पाँच तिथिमा निशामुखमा (साँझमा) देव, ब्राह्मण, गाई, घोडा, श्रेष्ठ पुरुष, साना वा कान्छा नरनारी र मातालगायतका कुटुम्बका मान्य स्त्रीहरूको पनि नीराजन गर्नु पर्छ अर्थात् दीप बालेर त्यसले आरती गर्नु पर्छ भनेर निर्णयसिन्धुमा बताइएको छ :

आश्विने कृष्णपक्षे तु द्वादश्यादिषु पञ्चसु ।

तिथिषूक्तः पर्वरात्रे नृणां नीराजनो विधिः ।।

नीराजयेयुर् देवाँस्तु विप्रान् गाश्च तुरङ्गमान् ।

ज्येष्ठाञ् छ«ेष्ठाञ् जघन्याँश्च मातृमुख्याश्च योषितः ।।

–(निर्णयसागर प्रेसको संस्करण, पृष्ठ १४७, नेपाली अनुवादसहितको संस्करण, पृष्ठ ३९६)

सनत्कुमारीय कार्तिक माहात्म्यमा (११÷७–१३) पनि यो विधि बताइएको छ । किन्तु त्यहाँ आश्विनको सट्टा कार्तिक कृष्णपक्षमा उक्त कार्य गर्ने भनिएको छ– ‘कार्तिके कृष्णपक्षे तु द्वादश्यादिषु पञ्चसु’ इत्यादि । यसबाट एउटै महिना नै पूर्णिमान्त गणना (पूर्णिमामा समाप्त हुने चान्द्र मासको गणना) अनुसार र अमान्त गणना (अमावस्यामा समाप्त हुने चान्द्र मासको गणना) अनुसार फरक नामले उल्लेख गरिन्छ भन्ने बुझिन्छ । यसै भिन्नताले गर्दा महिनाको उल्लेख गर्दा उक्त श्लोकमा र अन्यत्र पनि एक महिनाको अन्तर पर्ने गरेको हो । माथि अमान्त गणना अनुसार आश्विन र पूर्णिमान्त गणना अनुसार कार्तिक महिनाको उल्लेख भएको हो । अतः उक्त दुवै श्लोकले भनेको आश्विन पूर्णिमापछि आउने कृष्णपक्ष नै हो भन्ने कुरा सबैले बुझ्नु पर्छ ।

उक्त श्लोकहरूमा द्वादशीदेखि पाँच दिनसम्म भनिए पनि प्रचलनमा चाहिँ त्रयोदशीदेखि उक्त कर्म गर्ने भन्ने मानिएको छ । तथापि यी पाँच दिनको यमपञ्चकसित सम्बन्ध भने देखिँदैन ।

लगातार पाँच दिनसम्म गरिने धेरै जसो कर्मको कुनै न कुनै रूपमा यमराजसित सम्बन्ध रहेको देखिएकाले यी पाँच दिनलाई पछि पछि यमपञ्चक भन्न थालिएको हुन सक्छ ।

यी पाँचै दिनलाई तिहार वा दीपावली पनि भन्ने चलन छ । तिहारको पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन गाईतिहार, चौथो दिन गोरुतिहार र पाँचौँ दिन भाइतिहार मान्ने गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *