Category: अटो गतिबिधी

  • नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

    काठमाडौँ, बिहिबार, २० मङ्सिर २०८१ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (सीसीपीआईटी अटो) बीच अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन सम्झौता भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नाडा र सीसीपीआईटी अटोबीच महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि सुरु भएको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलमा नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीको उपस्थित रहेको छ । सो भ्रमणका सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रम अनुसार दुई देशका व्यापारिक प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा छलफल भएको र सोही क्रममा यस्तो सम्झौता भएको हो ।

    यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाको बिश्वास छ। समझदारीअनुसार व्यापार मेला, व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुबै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको नाडाले जनाएको छ ।

    सम्झौताअनुसार नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुची राख्ने चिनियाँ व्यवसायीलाई सहयोग गर्नेछ। यसैगरी सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदानप्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रम सञ्चालनमा साथ दिनेछ ।

    यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपाय लिनेछ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन । उक्त सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोश कदम रहेको पनि नाडाले जनाएको छ ।

  • सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

    काठमाडौँ, बिहिबार, २२ कात्तिक २०८१ । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले पत्थर डाँडा, रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न TATA LPO1622/62 BS6 Magna बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि लाई हस्तान्तरण गरेको छ। त्रिशक्ति पशुपति दर्शन यातायात प्रा.लि. पश्चिम नेपाल बस ब्यबसायी प्रा. लि. र भेरी यातायात प्रा.लि जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा आएको हो ।

    कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेश देखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि संचालनमा आउने छ। कार्यक्रममा समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जनाएका छन् ।

    TATA LPO1622/62 BS6 Magna बसमा अत्याधुनिक प्रविधि र BS6 मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ। BS6 गाडीमा OBD प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। SCR प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ ।

    “अत्याधुनिक BS6 इन्जिन, लक्जरी युक्त सिट र लामो दुरीका लागि विशेष रुपमा तयार पारिएका यी MAGNA गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ।“ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए ।

    यस अन्तरदेशीय यातायातको थालनीले सबैमा नयाँ हर्ष र आशा जागेको कार्यक्रममा उपस्थित विभिन्न व्यावसायीको तर्क रहेको थियो ।

  • सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो– रैली संस्करण सार्वजनिक

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक विक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो – रैली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    शहर तथा अफ–रोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दावी छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सको पनि आयोजना गर्दै आइरहेको छ ।

    एक्सपल्स प्रोले आफ्ना सवारहरूलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भू–भागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्छ । यसमा डुअल–पर्पस टायरहरू उपलब्ध गरिएका छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले शहरी क्षेत्रका साथै अफ–रोड क्षेत्रमा समेत पूर्ण ग्रिप प्रदान गर्ने क्षमता राख्छ ।

    हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ । २५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सन सहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभरपनि उपलब्ध गरिएको छ ।

    २७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स सहितको एक्सपल्स प्रो मा १९९.६ सीसी क्षमताको इन्जिन दिइएको छ । यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपीएम र १७.३५ एनएम टर्क मा ६५०० आरपीएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पीड गियरबक्स उपलब्ध गरिएको छ भने, १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ ।