Category: अन्तर्राष्ट्रिय

  • पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

    पाकिस्तान, शनिबार, १७ वैशाख २०८२ । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । भारतविरुद्धको जवाफी कारवाहीलाई अपरेशन ‘अपरेसन बानयन मर्सस’ नाम दिइएको छ । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको हो ।

    यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषण गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो । भारतले आतंकावादविरुद्धको लडाई भन्दै अपरेशन सिन्दूर चलाई रहेको छ ।

    शनिबार बिहान पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीनवटा एयरबेसलाई निशाना बनाएको दाबी गर्नुभएको थियो । रावलपिंडीको बास नुर खान एयरबेस, चकवाल नजिकैको मुरिद र पूर्वी पञ्जाबको झाङ जिल्लाको रफिकी एयरबेस नजिकै विस्फोटको आवाज सुनिएको जनाइएको थियो ।

  • हवाई हमलापछि भारतीय एयरलाइन्सहरूको ट्राभल एडभाइजरी

    काठमाडौँ, बुधबार, २४ वैशाख २०८२ । भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि विभिन्न भारतीय एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका कारण धेरै उडानहरू रद्द भएका छन् र केही प्रभावित भएका छन् ।

    एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले यात्रुहरूलाई सतर्क रहन आग्रह गर्दै सूचित गरेका छन् । उनीहरूले उत्तर भारतका केही क्षेत्रमा हवाई यातायातमा अस्थायी अवरोध आएको जानकारी दिएका छन् ।

    एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेको छ, ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जाने–आउने सबै उडानहरू रद्द गरेको छ ।’ साथै, अमृतसरका लागि तय दुई अन्तर्राष्ट्रिय उडानलाई दिल्लीतर्फ डाइभर्ट गरिएको जानकारी पनि दिइएको छ ।

    स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरलगायत उत्तर भारतका केही विमानस्थलहरू अर्को सूचनासम्म बन्द गरिएको जनाएको छ ।

    त्यस्तै इन्डिगोले पनि श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ़ र धर्मशालातर्फका उडानहरू प्रभावित भएको जानकारी दिएको छ । तीनवटै एयरलाइन्सले यात्रुहरूलाई फ्लाइटको अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थल पुग्न अनुरोध गरेका छन् ।

  • रुसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

    एजेन्सी, शुक्रबार, ७ मङ्सिर २०८१ । रुसले बिहीबार पहिलो पटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएको छ । युक्रेनले रूसमा गरेको आक्रमणको दुई दिनपछि रूसले पनि जवाफी कारबाही गरेको हो । रूसले एक हजार दिनदेखि जारी यो युद्धका क्रममा पहिलो पटक शक्तिशाली र लामो दूरीको मिसाइल प्रयोग गरेको हो ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा निर्मित लामो दूरीका मिसाइल रुसका भित्री सहरसम्म हान्न युक्रेनलाई अनुमति दिएलगत्तै युद्ध बढ्ने चिन्ता विश्वजगतमा छ ।

    यस्तोमा युक्रेनले केही मिसाइल रुसका भित्री भागसम्मलाई लक्षित गर्दै हानेपछि मस्कोले जवाफस्वरुप अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हानेको हो । यसबारेमा मस्कोले दुई महिनाअघि नै अमेरिकाले यदि लामो दूरीका हतियार युक्रेनलाई चलाउन दिए युद्ध र तनाव उचाइमा पुग्ने चेतावनी दिएको थियो ।

    रूसले निप्रो शहरको मध्य-पूर्व क्षेत्रमास्थित उद्यम र महत्वपूर्ण पूर्वाधारलाई मिसाइलबाट निशाना बनाएको छ । तर, अहिलेसम्म अन्तरमहादेशीय मिसाइलबाट सैन्य या गैरसैन्य कुन पूर्वाधारलाई लक्षित गरिएको हो खुलिसकेको छैन । यसबाट भएको क्षतिको विवरण पनि आइसकेको छैन ।

    अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको दूरी कम्तीमा पनि हजार किलोमिटर हुन्छ । यिनलाई परमाणु वारहेड पठाउने काममा प्रयोग गर्न सकिन्छ । अर्कातिर यिनको प्रयोग परम्परागत वारहेडका लागिसमेत प्रयोग गरिन्छ । युक्रेनको वायु रक्षा प्रणालीले यस हमला क्रममा ६ केएच-१०१ मिसाइल नष्ट गरिएको दाबी गरेको छ ।

    युक्रेनी वायुसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रूसकोे आस्त्रखान क्षेत्रबाट हानिएको थियो । यस हमलाका क्रममा प्रयोग गरिएको हतियारबारे पनि रुसी सेनाले जानकारी दिएको छ । रसियन सेनाले कुन प्रकारको अन्तरमहादेशीयय ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको भन्ने खुलाएको छैन । यी दुई छिमेकी देशबीच ३३ महिनादेखि युद्ध जारी छ । युक्रेन सुरुदेखि नै अमेरिकाको आडमा युद्ध लडिरहेको छ ।

    यसैबीच युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै रूसी सेनाले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरेको जनाएको छ । विज्ञप्तिका अनुसार रूसको आस्ट्राखान क्षेत्रबाट अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो ।

    युक्रेनी सेनाले क्रेमलिनले आक्रमण सुरु गरेपछि पहिलो पटक आफ्नो सेनाले हतियार तैनाथ गरेको पुष्टि गरेको छ । हजारौँ किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रहारको विषयमा सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफूले यस विषयमा केही भन्न नसक्ने बताउनु भएको छ ।

    वायु सेनाले पाँचवटा मिसाइल खसालिएको डिनिप्रो सहर क्षेत्रका प्रमुखले रूसी प्रहारले पुनर्वास केन्द्र, घरहरूका साथै औद्योगिक क्षेत्रमा क्षति पुर्‍याएको जनाएको छ । प्रहारमा घाइते भएकालाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको युक्रेनी अधिकारी सेर्गी लिसाकले बताउनुभएको छ ।

  • अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने

    सिड्नी, शुक्रबार, २३ कात्तिक २०८१ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभएको छ ।

    प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

    अस्ट्रेलिया सामाजिक सञ्जालको नकारात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । प्रधानमन्त्री अलबानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबैभन्दा महत्त्वपूर्ण र आमा –बाबासँग बिताउनु पर्ने उमेर भएको उहाँले प्रष्ट पार्नु भएको छ ।

    नोभेम्बरको अन्त्यमा संसदमा पेस हुनुअघि यो कानुनहरू यस हप्ता राज्य र क्षेत्रका नेतासमक्ष प्रस्तुत गरिनेछ । कानुन पारित भएपछि, कार्यान्वयनका लागि एक वर्षको अवधि दिइनेछ । यसको प्रभावकारी कार्यान्वयनका लागि आमाबाबु तथा युवाहरू जिम्मेवार हुनेछन् ।

    फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ भने अस्ट्रेलियाले प्रतिबन्ध लागु गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताउनुभएको छ ।

    हेर्न नचाहेका अनावश्यक सामग्रीहरू सामाजिक सञ्जालमा प्रणालीमा देखा पर्ने भएकाले नियन्त्रण गर्नु परेको अल्बानिजले बताउनुभएको छ । यसैगरी, सञ्चार मन्त्री मिसेल रोल्यान्डले सामाजिक सञ्जाल सञ्चालन गरेका कम्पनीहरूमा बारम्बार जिम्मेवारीको ‘कमी’ देखिइरहेको बताउनुभएको छ ।

    रोल्यान्डले इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्सजस्ता नेटवर्क तथा कम्पनीहरूले निर्धारित कानुनको उल्लङ्घन गरेमा आर्थिक दण्डको सामना गर्नुपर्ने बताउनुभएको छ ।

    फ्रान्सले यस अघि नै सन् २०२३ मा कानुन पारित गरी सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर कम्तीमा १५ वर्ष हुनुपर्ने व्यवस्था गरेको थियो । रासस/एएफपी

  • डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

    काठमाडौँ, बुधबार, २१ कात्तिक २०८१ । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ । जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ ।

    उहाँको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ ।

    ट्रम्पको दोस्रो कार्यकालले ‘अमेरिका प्रथम’ नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना छ । व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ । उहाँका समर्थकहरूले यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन् ।

    ट्रम्पको विजयले आर्थिक मोर्चामा समेत नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ । विशेष गरी अमेरिकी बजारमा सकारात्मक सङ्केत देखिएको छ भने अमेरिका–चीन व्यापार युद्धलाई पुनः सुरु गरिने डर पनि छ ।

    ट्रम्पको दोस्रो कार्यकालमा जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकाको सहभागितामा कमी आउन सक्ने र यसले विश्वव्यापी असर पार्न सक्ने विश्लेषकहरूको राय छ ।

    अन्ततः ट्रम्पको विजयले अमेरिकाको आन्तरिक र बाह्य नीति, विश्वव्यापी सन्तुलन र कूटनीतिक रणनीतिमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।