Category: अर्थ व्यवसाय

  • आर्थिक क्षेत्रमा राष्ट्र बैंकको भुमिका महत्वपूर्ण : नवनियुक्त गभर्नर पौडेल

    काठमाडौँ, बुधबार, ७ जेठ २०८२ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।

    पदभार ग्रहणपछि नवनियुक्त गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उहाँले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताउनु भयो । मौद्रिक नीतिले सरकारको वित्त नीति कार्यान्वयनमा केही अवरोध गरेको भए परिमार्जन गर्दै जाने उहाँले बताउनु भयो ।

    उहाँले पहिलो काम मौद्रिक नीतिले तय गरेका विषयहरुलाई सफल बनाउनेतर्फ र अर्को काम सुपरीवेक्षण बढाउने भएको स्पष्ट पार्नुभयो । नेपालका विभिन्न बैंकहरुमा सर्वसाधारणका धेरै पैसा बसेका र तिनीहरुको सुरक्षाका लागि सुपरीवेक्षण प्राथमिकतामा पर्ने उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकको भुमिका महत्वपूर्ण छ सबैलाई थाहा नै छ । हामी दुईटा कुरालाई फोकस गर्छौं । एउटा मौद्रिक नीतिले तय गर्छ यसलाई सफल बनाउनका लागि र अर्को सुपरीवेक्षण नै हो । धेरै नियम बनाएर काम देखिँदैन त्यसैले सुपरीवेक्षणलाई बढाउँ भन्ने छ । बैंकको क्षमता बढाउने हो त्यसमाथि बैंकको मेजर काम सबैलाई थाहै छ । विभिन्न बैंकमा सर्वसाधारणका पैसा बसेका छन्, तिनीहरुको सुरक्षा गर्ने । ल्याण्डिङ पोलिसि राम्रो ल्याउने हो । ल्याण्डिङ पोलिसिहरु पोलिसीहरुको प्रयोग राम्रोसँग भएको छ छैन भनेर अनुगमन गर्ने । निरन्तर मूल्यांकन गर्नेलगायतका कार्यहरु प्राथमिकतामा छन् । त्यसैगरी मौद्रिक नीतिले तय गरेका कामहरु सम्पन्न गर्नु नै मुख्य उद्देश्य हुन्छ । अर्को चाहीँ भनेको सुपरीवेक्षणमा नै फोकस हुन्छ । मैले पोलिसी मेकिङ सधैं सम्भावनारहित हुनुपर्छ भनेको छु । हाम्रो देशमा धेरै स्टेक होल्डरहरु छन् । सुरुमा म आफैं सोलुशन ल्याएर यसैलाई गरौं भन्ने पक्षमा पनि छैन । सबैलाई मैले के भनेको छु भने एकदिन अगाडि मौद्रिक नीति ल्याएर यसैमा सबैलाई जबरजस्ती गराउने हैन । नीतिका विषयमा सम्बन्धित पक्षहरुसँग छलफल नै गर्छु पहिला । त्यसको आधारमा मौद्रिक नीति तय हुन्छ । त्यसैले सबैले राम्रो सोच्नुपर्ने हुन्छ । हामीले अहिले दिएका अधिकारहरु प्रयोग गर्ने हो र ऐनअनुसार काम गर्ने हो । दिएका अधिकारहरु प्रयोग गरेरै काम गर्ने हो त्यसका लागि नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीको एकमत रहन्छ ।’

    उहाँले गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनमा अस्वीकृत हुनु आन्तरिक कुरा भएको बताउनु भयो ।

  • नेपालको खाद्य ल्याबलाई भारतको मान्यता

    काठमाडौँ, आइतबार, २४ चैत्र २०८१ । अब नेपालबाट भारतमा हुने निर्यातजन्य खाद्यवस्तुको गुणस्तर प्रमाणीकरण नेपालमै हुने भएको छ । नेपालबाट भारतमा निर्यात हुने विभिन्न १० खाद्य समूहअन्तर्गत पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले पारस्परिक मान्यता (मिच्युअल रिक्गनाइज्ड) दिने मान्यता दिएको छ ।

    भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरण अर्थात् फुड सेफ्टी एण्ड स्ट्याण्डर्स अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) तथा परीक्षण र क्यालिब्रेसन प्रयोगशालाहरूका लागि राष्ट्रिय मान्यता बोर्ड अर्थात् नेसनल एक्रिडिएटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याबोटोरिज (एनएबिएल) ले नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकोे राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाको खाद्य समूहको परीक्षणलाई मान्यता प्रदान गरेको हो ।
    अब नेपालको खाद्य प्रविधि तथा गुुण नियन्त्रण विभागअन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले १० खाद्य पदार्थ समूहअन्तर्गत पर्ने फ्याट्स एण्ड आयल, फ्रुट्स एण्ड भेजिटेबल, सिरियल्स प्रोडक्ट्स अर्थात् चामल, गहुँ, मकै, कोदो, टी एण्ड कफी, मिल्क एण्ड डेरी प्रोडक्ट्स, हनि एण्ड स्वीटनर्स, मिट प्रोडक्ट, स्पाइसेज, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लिमेन्ट्सको गुणस्तरसम्बन्धी विश्लेषण गर्न सक्नेछ । उक्त प्रयोगशालाले उल्लेखित वस्तुको गुणस्तर परीक्षण गरेर उपलब्ध गराउने प्रमाणपत्रका आधारमा नेपाली उद्यमीले सोझै भारतमा निर्यात गर्न सक्नेछन् ।

    यसअघि नेपाली उद्यमीले चिया, कफी, अदुवा, अलैंची, मह, जुुस, दुग्धजन्य पदार्थ, बोसो तथा तेल, तरकारी तथा फल, खाद्यान्न उत्पादन, पानीलगायत भारत निर्यात गर्न भारतको कोलकात्ता, बैंग्लोर, नागपुर, मुम्बई, भोपाल, दिल्ली पुगेर परीक्षण गर्नुपर्ने बाध्यता थियो भने परीक्षण गराउन भारत जाँदा लामो समयसँगै खर्च पनि बढी लाग्ने गरेको थियो ।

    भारतले मान्यता दिएसँगै १० प्रकारका खाद्य समूहको वस्तु निर्यात गर्न परीक्षणका लागि भारत जानुपर्ने बाध्यता अन्त्य भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभएको छ । उक्त सुविधासँगै भारतमा कृषि उपज निर्यात गर्दै आएका निर्यातकर्ताले खाद्य विभागको यो प्रयोगशालाबाट गुणस्तर प्रमाणीकरण गराएको प्रमाणपत्र, निर्यातसम्बन्धी प्रमाणपत्र र वस्तुको ब्याच नम्बर प्रमाणपत्र लिएर निर्यात गर्न सहज हुने उहाँको भनाइ छ । कर्णका अनुसार भारतले नेपालको प्रयोगशालालाई छ सय ३० प्यारामिटरसम्मको गुणस्तर विश्लेषण परीक्षण प्रमाणपत्रलाई मान्यता प्रदान गरेको हो । यसअघि दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्नेमात्रै क्षमता थियो । भारतको एफएसएसएआईको निर्देशनअनुसार विभागले छ सय ३० प्यारामिटरसम्मको गुणस्तर परीक्षण गर्न सक्ने क्षमता विस्तार गरेको छ ।

    नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरणबीच पारस्परिक मान्यता सम्झौता सन् २०१९ मा भए पनि कोरोनाका कारण थप प्रक्रिया अघि बढ्न सकेको थिएन ।

    महानिर्देशक कर्णका अनुसार गत पुसमा बसेको नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) को बैठकले १५ बुँदे सहमति गरेको बुँदा नम्बर १२ अन्तर्गत नेपालको खाद्य विभाग र भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणबीच गुणस्तर परीक्षण, सर्टिफिकेसन, पारस्परिक मान्यता दिने विषयमा पारस्परिक कार्य अघि बढाउने सहमति भएको थियो ।

    नेपाली व्यवसायीहरूका अनुसार नेपालको परीक्षणलाई भारतले मान्यता नदिँदा निर्यातजन्य वस्तुको लटअनुसार नमुना बोकेर परीक्षणका लागि भारतको कोलकाता जानुपर्ने बाध्यता थियो । एउटा नमुना लिएर कोलकाता जाँदा वस्तुहरू परीक्षणको प्रतिवेदन आउन कम्तीमा एक महिना लाग्ने गरेको थियो । परीक्षण रिपोर्ट नआउँदासम्म दुई सातासम्म सीमामै ट्रक रोक्नुपर्ने बाध्यता थियो ।

  • यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहार

    काठमाडौँ, आइतबार, ११ फागुन २०८१ । यती एअरलाइन्समा उडान भर्ने यात्रुहरुले क्रोकोडाईल लगेज तथा ब्यागप्याकमा हात खालि नजाने उपहार पाउने भएका छन् । क्रोकोडाइल लगेजका आधिकारीक विक्रेता देशैभरी रहेका छन् भने ब्राण्डको फ्ल्यागसिप स्टोर भने काठमाडौंको कान्तिपथ र ललितपुरको कुपण्डोलमा रहेको छ ।

    फेब्रुअरी, मार्च र अप्रिल महिनामा यती एअरलाइन्स बाट यात्रा गर्ने यात्रुहरुले क्रोकोडाईल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् । यती एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितीमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ्पास क्रोकोडाईल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् ।

    यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिक सम्म रहनेछ । अनलाईनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाईल लगेज नेपालको आधिकारीक फेसवुक पेज वा इन्स्टाग्राम पेज मार्फत खरिद गरि प्राप्त छुटको लागि डेलिभरीको समयमा यती एअरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् ।

    पाँच वर्षका वारेन्टी प्रदान गरिएका क्रोकोडाईल नेपाली लगेज बजारको नेतृत्वकर्ता ब्राण्ड भएको बताउँदै कम्पनीका निर्देशक वासु सर्राफ भन्छन्, “हामीले दोश्रो पुस्ताको रुपमा लगेजको ब्यापार गरिरहेका छौं । गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टिका लागि हामीले निरन्तर गरेको मिहेनतको प्रतिफल स्वरुप आज हामीले बलियो ब्राण्ड इमेज बनाउन सफल भएका हौं ।” उनी थप्छन्, “उपभोक्तालाई अझ एफोर्डेबल प्राईस उपलब्ध गराउन सकियोस् भनेर ब्राण्ड सँग विशेष अनुरोधमा यती एअरलाइन्सका यात्रुहरुलाई हामीले यो छुट प्रदान गर्न सफल
    भएका हौं ।”

    यती एअरलाइन्स र क्रोकोडाइल लगेज विचको यो सहकार्यले यती एअरलाइन्सका यात्रुले पाउने विशेष छुटका अलावा प्रत्येक हप्ता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक पन्ध्र दिनमा क्रोकोडाइल क्याविन लगेज उपहार स्वरुप जित्न सक्नेछन् । यती एअरलाइन्सले आफ्ना यात्रुहरु विच गर्ने लक्कि ड्र मार्फत विजेता घोषणा गरि उपहारहरु प्रदान गरिनेछ ।

    १९४७ मा स्थापना भएको क्रोकोडाईल लगेज तथा ब्याकप्याकको ग्लोबल ब्राण्ड हो । सन् १९९८ देखि नेपाली बजारमा निरन्तर विक्री वितरण भईरहेको क्रोकोडाईल प्रिमियम उत्पादन र एफोर्डेबल प्राईसिङ्का लागि आम उपभोक्ता माझ लोकप्रिय रहँदै आएको छ ।

  • पेट्रोलियम पाइपलाइनबाट आयात शुरु

    काठमाडौँ, सोमबार, ५ फागुन २०८१ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात शुरु भएको छ ।

    अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात शुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

    पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रुपमा पेट्रोलियम पदार्थ ल्याउन शुरु गरिएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । “पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आइसकेको छु,” प्रमुख आचार्यले भने, “अहिले पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख सहरका डिपोमा औपचारिक रुपमा वितरण थालिसकेका छौँ ।”

    पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे-रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको प्रमुख आचार्यले बताए ।

    सोही परियोजनाअन्तर्गत ‘फायर फाइटिङ सिस्टम’को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । विभिन्न कारणले केही दिनअघि मात्र सो पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए ।

    यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । “एउटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो,” प्रमुख आचार्यले भने, “आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टीतेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन थालेको ।”

    मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हँुदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाँडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ । यो आयोजना निर्माणसम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ ।

  • लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाखमा

    काठमाडौँ, बिहिबार, २४ माघ २०८१ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।

    काठमाडौंमा एक कार्यक्रमका बीच डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी वैशाख ६ गतेका लागि अफिसियल रुपमा कन्भेन्सन गल गरेकी हुन् । लियोको डिष्ट्रिक्ट कन्भेन्सन पनि उक्त दिन नै हुनेछ । कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर थापाले कन्भेन्सन सफल बनाउन सबैलाई सक्रिय भएर लाग्न अनुरोध गरिन् ।

    कार्यक्रममा उपस्थित पिडिजी, फस्ट पर्सन तथा मल्टिपल कन्भेन्सन चियरपर्सन लायन डा. ध्रुब बहादुर थापा, पिडिजी लायन योगेन्द्र प्रधान, आईपिडिजी लायन हरिप्रसाद मरहट्टा लगायतले कन्भेन्सनको सफलताका लागि शुभकामना दिएका थिए ।

    लायन्स र लियो डिष्ट्रिक्ट कन्भेन्सन व्यवस्थापनका डिष्ट्रिक्ट गभर्नरको प्रत्यक्ष निर्देशन र व्यवस्थापनमा परिचालित हुने गरी ३० वटा समिति बनाइएको छ । सबै समितिमा गरी २०७ भन्दा बढी लायन्स लिडरहरु कन्भेन्सन सफल बनाउन सक्रिय हुनेछन् । लायन्स क्लब अफ काठमाडौं बनस्थलीले होस्ट क्लब र पिआरओ चिफ लायन रामराजा थापाले मुख्य कन्भेनरको जिम्मेवारी प्राप्त गरेका छन् । तेस्रो कन्भेन्सनको चियरपर्सन लायन बसन्त कुमार गौतम छन् ।

    कन्भेन्सनमा डिष्ट्रिक्ट ३२५ जे नेपालका लायन्स लिडर र सदस्य गरी करिब १ हजार ५ सय जनाको सहभागिता रहने अनुमान गरिएको छ । डिष्ट्रिक्ट ३२५ जे मा हाल १३० वटा क्लब र ३ हजार भन्दा बढी लायन्स सदस्यहरु छन् ।

    कन्भेन्सन कल कार्यक्रममा हालसालै त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रमा कोषाध्यक्ष निर्वाचित पिडिजी लायन ध्रुर्ब बहादुर थापा र सदस्यमा निर्वाचित लायन रामराजा थापालाई सम्मान गरिएको थियो । त्यस्तै अमेरिकामा हुने डिष्ट्रिक्ट गभर्नर प्रशिक्षण कार्यक्रममा सहभागी हुन जान लागेका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ललाई विदाई गरिएको थियो ।

    आगामी जुलाई १ बाट हालका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ले गभर्नरको जिम्मेवारी सम्हाल्नेछन् । साथै कन्भेन्सनमा हालका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा नयाँ नेतृत्व चयन गरिनेछ ।

    क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले सञ्चालन गरेको कन्भेन्सन कल कार्यक्रममा फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, क्याबिनेट ट्रेजरर लायन कल्पना थापा, चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली लगायतका अन्य सिनियर लायन्स लिडरहरु र डिष्ट्रिक्टमा विभिन्न पदमा रहेका लिडरहरुको उपस्थिती रहेको डिष्ट्रिक्ट मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

  • सामसङ ग्यालेक्सी एस २५ सिरिज प्रि-अर्डर प्रारम्भ

    काठमाडौँ, बुधबार, १७ माघ २०८१ । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस २५ स्मार्टफोनहरूको प्रि-अर्डर प्रारम्भ भएको घोषणा गरेको छ । आज काठमाडौँमा आयोजना गरिएको एक प्रेस सम्मेलनमा सामसङले यी स्मार्टफोनहरू प्रस्तुत गरेको हो ।

    अनावरण कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गर्नुभयो ।

    ‘सामसङले गत वर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको शुरुवात गरेको थियो। अब हामी ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौँ, र यो त्रु-एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्दैछ । ग्यालेक्सी एस २५ सिरिजले सबैभन्दा बढी सन्दर्भ-समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै कार्यकारी सल्लाह र सुझावहरू दिनेछ’ सामसङ नेपालको निर्देशक श्रेष्ठले भन्नुभयो ।

    यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।

    ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजायन गरिएको सामसङको एआई-फस्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो ।

    ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ । गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र युआरएल सजिलै चिन्छ। कल ट्रान्सस्क्रिप्ट र समरीले कलहरूलाई व्यवस्थित गर्दछ । राइटिंग असिस्टले कन्टेन्टलाई समराइज गर्न वा नोटहरूको स्वतः स्वरूप फम्र्याट गर्न सहयोग गर्दछ । ड्रइंग असिस्टले स्केच, टेक्स्ट वा इमेजको संयोजनमार्फत नयाँ रचनात्मक सम्भावनाहरू अन्वेषण गर्न सहज बनाउँछ।

    गोपनीयता सुरक्षितसँग हाइपर–पर्सनलाइज्द अनुभव

    ग्यालेक्सी एस२५ सिरिजले पर्सनल डेटा इन्जिनको माध्यमबाट डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्दछ ।

    नोक्स भाल्टले सबै व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्छ। क्वान्टम कम्प्युटिङ प्रविधि विकाससँगै देखा पर्न सक्ने नयाँ खतरा विरुद्ध तपाईँको डेटा सुरक्षित राख्न ग्यालेक्सी एस२५ सिरिजले पोस्ट–क्वान्टम कृप्टोग्राफी को सुविधा पनि प्रदान गर्दछ।

    ग्यालेक्सी एस२५ सिरिजः सबैभन्दा शक्तिशाली ग्यालेक्सी

    ग्यालेक्सी एस२५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ । जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपियुमा ४०%, सीपियु मा ३७% र जीपियुमा ३०% प्रदर्शन सुधार प्रदान गर्छ ।

    प्रोस्केलरले दृश्यहरूको स्पष्टतामा ४०% ले सुधार गर्न सहयोग गर्छ। यसमा सामसङको मोबाइल डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) समावेश गरिएको छ, जसले प्रदर्शन पावर दक्षता थप बलियो बनाउँछ ।

    ताप व्यवस्थापन संरचनामा सुधार ल्याउन ४०% ठुलो भेपर चेम्बर र विशेष रूपमा डिजाइन गरिएको थर्मल इन्टरफेस् मतेरिएल(टिआईएम) प्रयोग गरिएको छ, जसले अत्याधिक प्रयोग र एआई प्रोसेसिङलाई सहज बनाउँछ ।

    क्रिएटिभिटीलाई नयाँ आयाम दिँदै ग्यालेक्सी एस२५ सिरिज

    ग्यालेक्सी एस २५ सिरिजले उच्च रिजोलुसन सेन्सर र प्रोभिजुअल इन्जिन मार्फत कुनै पनि एंगलबाट विस्तृत र जीवन्त तस्बिर खिच्न क्षमता दिँदै मोबाइल फोटोग्राफीमा एक नयाँ स्त्यन्दर्द स्थापित गरेको छ । ५० एमपि अल्ट्रावाइड क्यामेरा (अघिल्लो १२ एमपिबाट अपग्रेडेड) भएको ग्यालेक्सी एस२५ अल्ट्राले प्रत्येक दृश्यलाई थप प्रस्ट र रङ्गिन बनाउँछ। साथै, डिफल्टमा उपलब्ध १०–बिट एचडीआर रेकर्डिङले चार गुणा बढी रङ्ग संरचना प्रस्तुत गर्छ। यो सिरिजले उज्यालो वा अँध्यारो जुनसुकै अवस्थामा पनि उत्कृष्ट भिडियो खिच्न सक्छ।

    भिडियो बनाउँदा आउने अनावश्यक आवाज हटाउन ग्यालेक्सी एस२५ सिरिजमा अडियो इरेसर जस्तो सुविधा उपलब्ध छ। मोबाइलमै डीएसएलआर–जस्तो अनुभव दिन भर्चुअल अपेरेचरको प्रयोग गरेर गहिराइ नियन्त्रण गर्न सकिन्छ, जुन एक्स्पर्ट रअमा समाहित छ। ग्यालेक्सी लगले रङ्ग संयोजनलाई अझ सटीक बनाउँदै प्रोफेशनल भिडियो बनाउन सहयोग पुर्याउँछ।

    पोत्र्रेट स्टुडियोले तपाईँलाई थप जीवन्त अनुहारका भावहरूका साथ व्यक्तिगत अवतार बनाउन सहयोग गर्छ। नयाँ एनलग–स्टाइल फिल्टरहरूले तस्बिर र भिडियोहरूलाई फिल्महरू जस्तो सौन्दर्य दिने अवसर दिन्छ।

    मजबुत र टिकाउ डिजाइन

    ग्यालेक्सी एस२५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो। यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ। ग्यालेक्सी एस२५+ र एस२५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ, र पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ।

    सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस२५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ।

  • नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह

    काठमाडौँ, शुक्रबार, ११ माघ २०८१ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ ।

    मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उहाँले सो आग्रह गर्नुभएको हो ।

    नेपालको सङ्घीय संसदले नेपाल-पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको विषय जानकारी गराउँदै मन्त्री भण्डारीले यस संसदीय आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले दुई राष्ट्रबीच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको स्थापना गरेका छौं, हामीले यी संयन्त्रमार्फत सम्वाद र सम्पर्क जारी राख्नु आवश्यक छ, अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोगको सातौँ बैठक र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको पाँचौँ बैठक नेपालमा आयोजना हुने भएको छ ।”

    नेपाल र पाकिस्तान निकट छिमेकी भए पनि सोचेजस्तो द्विपक्षीय व्यापार हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यापार र आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको बताउनुभयो । नेपाल र पाकिस्तानबीचको व्यापार तथा आर्थिक अन्तरनिर्भरता बढाउनका लागि दुवै देशको व्यापार सहजीकरण गर्ने र ‘लजिस्टिक’ चुनौतीलाई सम्बोधन गर्नेतर्फ संयुक्त रुपमा थप प्रयास गर्नुपर्ने उहाँको भनाइ थियो ।

    “हामीले वर्तमान आर्थिक वास्तविकता प्रतिबिम्बित गर्न र व्यापार सहजीकरण बढाउन नयाँ सम्झौता बनाउने वा यसलाई पुनरावलोकन गर्ने समय आएको छ, दुई देशबीचको विद्यमान व्यापार घाटालाई सम्बोधन गर्न हामी नेपालका विभिन्न क्षेत्रमा पाकिस्तानी लगानीलाई प्रोत्साहित गर्न चाहन्छौं”, उहाँले भन्नुभयो, “जसमा कपडा र पर्यटन आदि समावेश छन् ।” उहाँले नेपाली वस्तुहरूले पाकिस्तानमा नियामक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै  नेपाली वस्तुहरुलाई पाकिस्तानमा आयात प्रक्रिया सरल बनाउन र प्रमुख नेपाली निर्यातमा भन्सार शुल्क घटाउन विशेष अनुरोध गर्न चाहन्छु ।”

    लगानी, पर्यटन, संस्कृति र जनता-जनताबिचको सम्बन्धलगायत पारस्परिक लाभका लागि दुवै देशले मिलेर काम गर्नसक्ने धेरै क्षेत्र रहेका उहाँले उल्लेख गर्नुभयो । उहाँले कृषि र पर्यटन सम्बन्धी संयुक्त कार्य समूहहरूको नियमित बैठकहरू आयोजना गर्ने कुरालाई प्राथमिकता दिनु आवश्यक रहेकामा जोड दिनुभयो । साथै मन्त्री भण्डारीले नेपालले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि आदि क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई आग्रहसमेत गर्नुभयो ।

    उहाँले भन्नुभयो, “नेपालले पाकिस्तानी पर्यटकहरूका विशेष आकर्षक पर्यटकीय सेवाहरु उपलब्ध गराउँछ, हामीलाई विश्वास छ कि नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानका मानिसलाई बढी सङ्ख्यामा नेपाल भ्रमण गर्न आकर्षित गर्नेछन् ।”

    पाकिस्तानी राजदूत हश्मीले पाकिस्तान सरकारले नेपालमा व्यावसायिक गतिविधि बढाउन चाहेको बताउनुभयो । उहाँले नेपालको चिया तथा कफि पाकिस्तानमा राम्रै परिणाममा निर्यात भइरहेको उल्लेख गर्दै ब्राण्डिङ र गुणस्तर सुधार गरिए निर्यात वृद्धि हुने जानकारी गराउनुभयो ।

    हश्मीले दुई देशबीच व्यापारिक गतिविधि बढाउन दोहोरो करको समस्या रहेकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । यस वर्ष ३२ जना विद्यार्थीले पाकिस्तानमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जानकारी गराउँदै उहाँले छात्रवृत्ति रकम वृद्धि गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालको सगरमाथा र पाकिस्तानको केटु हिमालसम्म जोड्न पर्यटकीय मार्ग बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले काठमाडौं-लाहोर नियमित सिधा हवाई उडानका लागि पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो ।

  • नेपाल टेलिकमको मुनाफा ६ अर्ब

    काठमाडौँ, सोमबार, २९ पौष २०८१ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८०/८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेर ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको जनाएको छ । कम्पनीले ४१ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ । टेलिकमको पुस २८ मा सम्पन्न १७ औँ वार्षिक साधारण सभाले यस वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले सेयर धनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले साधारण सभामा वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीले मुनाफाभन्दा सेवा भावलाई प्राथमिकता दिए‘टु जी प्रविधिमा आधारित भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्यालाई मध्यनजर गरी यसको गुणस्तरमा वृद्धि र सुधार गर्नुका साथै फोर जी सेवालाई सम्पूर्ण ग्राहकहरूको माझमा पुर्‍याउने कार्यलाई निरन्तरता दिइएको छ,’ उनले भनिन्, ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभ जी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार आवश्यक पूर्वाधारसहित परीक्षण सफल भएपश्चात् फाइभन जी सेवाको व्यावसायिक सञ्चालनको लागि अध्ययन भइरहेको छ ।’

    कम्पनीको साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम पुस २८गतेदेखि नै सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाइएको नेपाल टेलिकमले जनाएको छ ।को बताएकी थिइन् ।

    कम्पनीले सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजी/एलटीई प्रविधिमा आधारित भोल्टे तथा एफटीटीएच सेवा विस्तार सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको अर्यालले बताइन् । अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाईव्यान्डविथ कनेक्टिभिटी विस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एडेड सर्भिसहरूको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको उनको भनाइ थियो ।

  • स्टार्टअप कर्जा : १ हजार ३१४ परियोजना प्रारम्भिक सूचीमा छनोट

    काठमाडौँ, आइतबार, २१ पौष २०८१ । स्टार्टअप उद्यमका लागि नयाँ सोच र सिर्जनशील योजनाहरूलाई प्रोत्साहन गर्न सरकारले अघि सारेको स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत ५ हजार १८५ परियोजनामध्ये १ हजार ३१४ वटा मात्र प्रारम्भिक सूचीमा छनोट भएका छन्। ३ हजार ८७१ आयोजना भने प्रारम्भिक चरणमै अस्वीकृत भएका हुन् ।

    सरकारले चालू आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गर्दै स्टार्टअप उद्यमका लागि ३ प्रतिशत ब्याजदरमा विनाधितो कर्जा उपलब्ध गराउने योजना अघि सारेको हो। स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार, कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता भएको छ भने कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग पनि सहकार्य गरिएको छ ।

    २०८१ भदौ ११ मा प्रस्ताव आह्वान भएको यस कार्यक्रममा २०८१ भदौ ३१ सम्म भौतिक र अनलाइन माध्यमबाट ५ हजार १८५ प्रस्ताव प्राप्त भएको छ ।

    प्रारम्भिक सूचीमा १ हजार ३१४ परियोजना छनोट भएको छ। अन्तिम छनोट व्यवसायिक योजना प्रस्तुतीकरणपछि करिब ७०० परियोजना छनोट गरिने छ। व्यवसायिक योजना प्रस्तुतीकरणका लागि पुस २८ देखि चैत ११ सम्म समय तोकिएको छ ।

    कर्जाको वितरण प्रक्रिया
    व्यवसायिक योजना प्रस्तुतीकरणपछि बैंकमार्फत क्रेडिट अप्राइजल गरी ५० वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने परियोजनाहरूलाई प्राथमिकतामा राखिनेछ। सिफारिसमा परेका उद्यमीहरूले बैंक नियमानुसार तोकिएको समयमा साँवा र ब्याज रकम चुक्ता गर्नुपर्नेछ ।
    कर्जा सम्झौता भएपछि बैंकले ७ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउनेछ ।
    ५ लाखसम्मको कर्जा एक किस्तामा,१५ लाखसम्मको कर्जा दोस्रो किस्तामा,१५ लाखभन्दा माथिको कर्जा तेस्रो किस्तामा उपलब्ध गराउनेछ ।

    स्टार्टअप कर्जा प्राप्त गर्न मापदण्ड

    -उद्यम व्यवसाय दर्ता भएर १० वर्ष ननाघेको हुनुपर्छ ।
    -कुनै आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको हुनुपर्छ ।
    -योजना नवीन र सिर्जनशील सोचमा आधारित हुनुपर्छ ।
    -पहिलो किस्ता लिएको १ वर्षपछि साँवा र ब्याज भुक्तानी सुरु गर्नुपर्नेछ ।

    गत वर्षको उपलब्धि

    अघिल्लो आर्थिक वर्षमा सरकारले १६५ परियोजनालाई २५ करोड रुपैयाँ स्टार्टअप कर्जा प्रदान गरेको थियो ।

    सरकारले युवा उद्यमीलाई प्रोत्साहित गर्दै देशको आर्थिक प्रणालीमा नवीन सोच र सिर्जनशील उद्यमहरूलाई जोड्ने उद्देश्यले यो कार्यक्रम अघि सारेको छ। अन्तिम सूचीबाट छनोट भएका परियोजनाहरूलाई चैत दोस्रो साताबाट कर्जा वितरण सुरु हुनेछ ।

    यो योजनाले आर्थिक वृद्धि, रोजगारी सिर्जना, र उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

  • मध्यपुर थिमिमा आजदेखि मध्यपुर महोत्सव सुरु

    भक्तपुर, शुक्रबार, १२ पौष २०८१ । भक्तपुरको ऐतिहासिक नगरी भक्तपुरको मध्यपुर थिमिमा शुक्रबारदेखि मध्यपुर महोत्सव सुरु भएको छ ।

    मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सुरु महोत्सव तीन दिनसम्म मध्यपुर नगरका बिभिन्न स्थानमा सञ्चालन हुनेछन् । हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने नाराका साथ महोत्सवको उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।

    सो क्रममा सिंहले मौलिक खाना, कला–संस्कृति लगाएत परम्परागत सीपको जगेर्नाका साथै जिवन्त राख्न महोत्सवले टेवा पुराउने विश्वास व्यक्त गरे ।

    महोत्सवमा मध्यपुरथिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडालगायत प्रदर्शन गरिएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं मध्यपुर महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

    थिमि शंखधरचोकदेखि नगदेश र बोडे हुदै तिगनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई प्रदर्शनी स्थलको रुपमा प्रस्तुत गरिएको छ । महोत्सवका क्रममा नगरका बिभिन्न स्थानमा करिव ४ सय स्टल रहेको छ ।