Category: पर्यटन

  • फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना

    काठमाडौँ, मंगलबार, ६ फागुन २०८१ । कागेश्वरी मनोहरा नगरपालिकाले फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ । स्थानीय कला र सँस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले महोत्सव आयोजना गर्न लागेको हो ।

    स्थानीय उत्पादनको थप प्रचारप्रसास गरी नगरपालिका क्षेत्रमा भएका धार्मिक, पर्यटकीय तथा साँस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।

    मनोहरा नगरपालिका वडा नं. १ का वडाध्यक्ष मकुन्द गजुरेलले नगरपालिकाले समृद्धि कागेश्वरी निर्माण गर्न स्थानीय कला साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न महोत्सव अआयोजना गर्न लागेको बताए । धार्मिक, पर्यापर्यटन र खेलकुदको दृष्टिकोणले अत्यन्त संभावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा अध्यक्षको समन्वयमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सव तयारी गरिएको छ ।

    महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदलगायतका क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने गरी रचनात्मक कार्यक्रम तय गरिएको जनाइएको छ ।

    महोत्सवका अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक, सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवद्र्धनात्मकसँग सम्बन्धित कार्यक्रम हुनेछ । साथै, उद्यमशीलताको विकास एवम् प्रबद्र्धनसँग सम्बन्धित कार्यक्रम हुुनुुका साथै महोत्सवमा छिमेकी गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकासहित काठमाडौँ उपत्यकाबासीको बाक्लो उपस्थिति हुनेछन् ।

    कागेश्वरी मनोहरा नगरपालिकाले २०७० सालदेखि नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको छ । वडाध्यक्ष गजुरेलले महोत्सवमा सहभागी हुन वडा, नगरवासी तथा उपत्यकावासीहरूलाई सक्रिया सहभागिता जनाउन आग्रह गरे ।

    महोत्सवमा महिला समूह, संघसंस्थाहरूको विशेष सहभागीता सहित स्थानीय खाना परिकार, संस्कार, संस्कृति तथा स्थानीय रक्सीको प्रवद्र्धनमा जोड दिन मेला क्षेत्रमा प्रदर्शन समेत हुनेछ ।

  • पर्यटन बर्ष प्रचारका लागि गोरखा नगरपालिका सक्रिय

    गोरखा, सोमबार, ५ फागुन २०८१ । पर्यटन बर्ष प्रचारका लागि गोरखा नगरपालिका सक्रिय रुपमा अधि बढेको छ । गोरखा नगरपालिका पर्यटन बर्ष २०८१’ को प्रचारप्रसारका लागि जिल्ला भित्र चल्ने सार्वजनिक सवारी साधानमा स्टिकर टाँस्न सुरु गरिएको छ । गोरखा नगरपालिका गोरखाले जिल्लास्थित यातायात व्यवसायीसंग छलफल गरेर नगरपालिका पर्यटन बर्षको प्रचारका लागि सवै सार्वजनिक यातायात बस तथा माइक्रोबसहरुमा ‘स्टिकर’ राख्न थालिएको हो ।

    ‘‘सहमति अनुसार आज औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक सवारी साधनमा ‘स्टिकर’ टाँस्न थालिएको हो, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो, ‘‘यातायात व्यवसायीलगायतका सरोकारवालासंग उपस्थितीमा झण्डै ४० भन्दाबढी बस तथा माइक्रोबसमा ‘स्टिकर’ टाँसिएको छ ।’’

    बाँकी रहेका सवारी साधनहरुमा भने सम्बन्धित टिकट काउन्टर, सम्बधित यातायात व्यवसायीले आफैले ‘स्टिकर’ टाँस्ने व्यवस्था मिलाइएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । त्यस्तै सवारी साधनमा पर्यटन बर्षको प्रचारका लागि नगरपालिकाले प्रकाशन गरेका ब्रोसर, बुकलेटलगायतका सामाग्रीसमेत उपलब्ध गराइएको छ ।

    गोरखाबाट बिभिन्न शहरहरुमा आवातजावत गर्ने सयौँ सवारी साधनमा पर्यटन बर्षको ‘स्टिकर’ टाँस गरेपछि ‘गोरखा पर्यटन बर्ष २०८१’ को व्यापक प्रचार हुने अपेक्षा गरिएको उहाँको भनाई छ । सोही अवसरमा नगरपालिकाले स्टिकर टाँस्न बाँकी रहेका सवारी साधनमा ‘स्टिकर’ टाँस्नका लागि सम्बन्धित टिकट काउण्टर र यातायात व्यवसायीलाई आवश्यक पर्ने ‘स्टिकर’ उपलब्ध गराइएको छ ।

    नगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष सफल बनाउन यातायात व्यवसायीले आफ्नो ठाँउबाट भूमिका खेल्न तयार रहेकाले जिल्ला भित्रका सवै सार्वजनिक सवारी साधन पर्यटन बर्षको ‘स्टिकर’ टाँस्न सुरु गरिएको गोरखा दरौँदी यातायात प्रा.लिका अध्यक्ष नारायण खत्रीले बताउनुभयो ।

  • रुम्सी होमस्टेमा आन्तरिक पर्यटकको रोजाइमा

    दमौली (तनहुँ), आइतबार, २७ माघ २०८१ । जिल्लाको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास) मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ आउने पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताउनुभयो । उहाँका अनुसार दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ ।

    गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियोे । यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख लगानी गरेका छन् । परियोजनाअन्तर्गत एक सय १० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिनुभयो ।व्यास–१४ वडाध्यक्ष काजीमान श्रेष्ठले पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण परिवेशमा रमाउन चाहनेहरू यहाँ आएर आनन्दित हुनुनहुन्छ ।”

    मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवर्द्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यसलाई नमूना बस्तीको रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।”

    रुम्सी होमस्टे पुग्नुभएका दमौलीका सविन लामिछानेले यहाँका होमस्टे सञ्चालकको स्वागत, अर्गानिक खाना, प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याएको उल्लेख गर्नुभयो । यहाँ थप पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सरकारले रोजगारीका अवसर सिर्जना गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

  • चितवनको माडी जान चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुल्ला

    चितवन, बिहिबार, २४ माघ २०८१ । चारपाङ्ग्रे सवारीलाई चितवनको माडी जान २४सै घण्टा खुला गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज भएर पुग्नुपर्ने जिल्लाको माडी नगरपालिका जान अब चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुला गरिएको हो ।

    माडी जान चितवन राष्ट्रिय निकुञ्जको बनकट्टादेखि कसरासम्मको हुलाडी सडकखण्ड आज बिहिबारदेखि २४सै घण्टा खुला गर्ने सहमति भएको छ ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनताको माग र आवश्यकतालाई हेरेर परीक्षणको रुपमा चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा चल्न दिने गरी निकुञ्ज लचक भएको बताए।

    निकुञ्जको मुख्य कार्यालय कसरादेखि माडीको रिउपुलसम्म करीव १० किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । निकुञ्जले यसअघि राती १० बजेदेखि ४ बजेसम्म निकुञ्ज क्षेत्र भएर यात्रा गर्न रोक लगाएको थियो ।

    ‘आकस्मिक सवारी साधन, विवाहका बसहरुलाई विगतमा पनि जान दिएका थियौं, यसपटक अरु सवारीलाई पनि जान दिने भनेर सहमति दिएका हौं,’ निकुञ्जका सूचना अधिकारी थापामगरले भने, ‘चार पाँच बटा सवारी भएपछि एकैपटक पठाउँछौं ।’

    नीजि र सार्वजनिक दुवै सवारीको हकमा यस्तो सहमती भएको हो। निकुञ्जले मोटरसाइकल लगायतका दुईपाङ्ग्रेलाई भने रातको बेलामा सो सडक भएर जान नपाउने नियमलाई यथावत राखेको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा, नेपाली सेनाको नयाँ गोरख गण कसराका मेजर जीवन बिष्ट, माडी नगर उपप्रमुख खेमप्रसाद महतो, माडी १ का वडाध्यक्ष अमित कुमार लामा, भरतपुर २३ वडाध्यक्ष दीपक दवाडी, निकुञ्जको माडी बगहीँ सेक्टर संयोजक नारायणदत्त सापकोटा, उपभोक्ता समिति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको बैठकले यस्तो सहमति गरेको हो।

    माडीका स्थानीय वासिन्दाले निकुञ्जलाई चौविसे घण्टा खुला गर्नुपर्ने माग गर्दै आएका थिए । माडी नगरपालिकाले जिल्लाको सदरमुकाम आउन विभिन्न हैरानी झेल्नुपरेको भन्दैं सडक कालोपत्रे र चौविसै घण्टा खुलाउन माग गर्दै आएको छ ।

  • माघ २४ गतेदेखि फागुन ४ गतेसम्म ‘लिगलिग पालुङटार महोत्सव’ हुने

    गोरखा, शुक्रबार, ११ माघ २०८१ । गोरखाको पालुङटारमा कृषि, पर्यटन र हस्तकलाको प्रवद्र्धनका लागि ‘लिगलिग पालुङटार महोत्सव २०८१’ हुने भएको छ । लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा यहीँ माघ २४ गतेदेखि फागुन ४ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष मानवहादुर आलेले आज पालुङटारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    ‘‘ऐतिहासिक लिगलिग पालुङटारको पहिचान–कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रर्वद्धन मुख्य अभियान’’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको उहाँको भनाई छ । ‘‘पालुङटारमा रहेको लिगलिगकोटलगायतका स्थान ऐतिहासिक दृष्टिकोणले आफैमा महत्वपूर्ण छ, अध्यक्ष आलेले भन्नुभयो, ‘‘यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेकाले महोत्सवमार्फत यहाँ पर्यटन प्रर्वद्धन गर्ने हाम्रो लक्ष्य छ ।’’

    त्यस्तै स्थानीय कृषि उत्पादनको बजारीकरणका साथै पालुङटार करिडोर क्षेत्रमा उत्पादित हस्तकलाका सामाग्री महोत्सवको माध्यमबाट प्रर्वद्धन गरिनेछ । पालुङटार नगरपालिका–५, माँझटारस्थित खेल मैदानमा आयोजना गरिने महोत्सवमा एकसय २० वटा स्टल निर्माण गरिने र त्यसमध्ये २० वटा स्टल निःशुल्क उपलब्ध गराएर कृषि तथा हस्तकलाको सामाग्री बिक्री तथा प्रर्दशनी गरिने अध्यक्ष आलेले बताउनुभयो ।

    कृषि र हस्तकलाका स्टलहरुमा गोरखाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, तनहुँको भानु नगरपालिका र लम्जुङको राइनस नगरपालिकामा भित्र उत्पादित कृषि उत्पादन एवं हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्री गरिने उहाँले बताउनुभयो ।

    महोत्सवकै अवसरमा स्थानीय कला र संस्कृतिको संरक्षण, सम्र्बद्धन र प्रर्वद्धनका लागि रत्यौली गीत तथा नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिताको समेत आयोजना गरिने भएको छ । अध्यक्ष आलेले किसानलाई हौसला प्रदान गर्नका लागि कृषि प्रर्दशनीमा उत्कृष्ठ किसानलाई सम्मानसमेत गरिने बताउनुभयो ।

    कृषि प्रर्दशनीमा किसानहरुको संक्रिय सहभागिताका लागि वडावडासंग समन्वय गरेर काम गरिरहेको अध्यक्ष आलेले जानकारी दिनुभयो । महोत्सवमा २५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान महोत्सव सम्पन गर्नका लागि बिभिन्न २५ वटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ । महोत्सवमा १ करोडभन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

  • उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजार पर्यटक

    गोरखा, बिहीबार, २५ पौष २०८१ । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटकले घुमघाम गरेका छन् ।

    मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार ६०५ जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का संरक्षण अधिकृत भुवनराज ओझाले जानकारी दिए । अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार ४२८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको ओझाले बताए ।

    अघिल्लो वर्ष नौ हजार १७७ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। “गत वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन्,” उनले भने ।

    मनास्लु क्षेत्र पुग्ने पर्यटकमध्ये सार्क राष्ट्रभन्दा तेस्रो मुलुकका बढी रहेको ओझाको भनाइ छ । सन् २०२४ मा फ्रान्सबाट सबैभन्दा धेरै एक हजार ३३५ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

    त्यस्तै, जर्मनीका एक हजार १८१ र अमेरिकाका ७९६ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै १५९ पर्यटकले मनास्लु पदयात्रा गरेका छन् ।

    मनास्लु पदमार्गमा जाने पर्यटक नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, मनास्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास भएर मनाङ पुग्न गरेका छन् ।

    त्यस्तै, चुमभ्यालीतर्फ श्रृंगी हिमाल, राजेन गुम्बा लगायतको अवलोकन गर्न सकिन्छ । मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यसँगै हिउँ चितुवा, नाउर, घोरल, डाँफे, मुनाल, चौंरी पनि देख्न सकिन्छ ।

  • ‘कोशी भ्रमण वर्ष’ घोषणाको तयारी

    इलाम, आइतबार, ९ मंङ्सिर २०८१ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आगामी २०८२ लाई कोशी प्रदेश सरकारले ‘कोशी भ्रमण वर्ष’ घोषणाको तयारी गरेको बताउनुभएको छ । शनिबार इलाममा सुरु भएको ‘फुड फेस्टिबल’ उद्घाटन गर्दै मन्त्री रानाले कोशीको पर्यटन प्रवर्धन गर्न भ्रमण वर्ष घोषणाको तयारी गरिरहेको बताउनुभयो ।

    मन्त्री रानाले भ्रमण वर्षका लागि कोशी प्रदेशका विभिन्न दुईसय स्थानलाई गन्तव्यका रूपमा सार्वजनिक गर्ने र ८५ स्थानमा प्रदेश सरकार आफैँले पनि पर्यटकलाई जान सहजीकरण गर्ने तयारी गरिरहेको बताउनुभयो ।

    मन्त्री रानाले कोशी प्रदेश सरकारले अन्य दुई योजनालाई पनि यही वर्ष गर्ने गरी तयारी गरिरहेको बताउनुभयो । ‘हामीले आगामी माघको दोस्रो सातासम्ममा कोशी प्रदेश लगानी सम्मेलन र वर्षको अन्त्यतिर अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने योजनामा छौँ ।’

    मन्त्री रानाले भन्नुभयो, ‘लगानी सम्मेलनले कोशीका पर्यटन, होटल व्यवसाय, कृषि क्षेत्र, विद्युत, जल यातायातका क्षेत्रमा लगानी भित्र्याउने लक्ष्य राखिएको छ ।’ मन्त्री रानाले कोशीका तीन हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुको हिमाली क्षेत्रमा विदेशी पर्यटक भित्र्याउन कोशी सरकारले अबका योजना समेत बनाउने बताउनुभयो ।

    ‘अहिले हिमाली, पहाडी र तराईका पनि धार्मिक तथा पर्यटकीय क्षेत्रमा थप योजना र विकास गर्नुपर्ने देखिएको छ ।’ मन्त्री रानाले भन्नुभयो, ‘हिमाली क्षेत्रमा पूर्वाधार विकास गर्न सक्दा विदेशी डलर भित्र्याउन सहज हुन्छ भन्ने हाम्रो ठम्याइ छ ।’

    यता, आजदेखि सुरु भएको फुड फेस्टिवल भोलिसम्म चल्नेछ । फेस्टिवलमा राई, लिम्बू, नेवारलगायत विभिन्न जातजातिका १६ वटा खानाका स्टल राखिएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौड्यालले बताउनुभयो । स्टललाई प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिने बताइएको छ ।

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ को पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

    गोरखा, बिहिबार, ६ मङ्सिर २०८१ । गोरखा सदरमुकाममा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ आज सुरु भएको छ । दुई दिन सम्म चल्ने भेलाको आज पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

    गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्देश्यसहित सदरमुकाममा भेला सुरु भएको आयोजक होटल सङ्घ गोरखाले जनाएको छ । जिल्लामै पहिलोपटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो । भेलामा जिल्लाभित्र स्थायी घर भई देशभर पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहेको होटल व्यवसायी सङ्घ गोरखाका अध्यक्ष केशव कुँवरले जानकारी दिनुभयो ।

    भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसके जिल्लामा अत्यधिक पर्यटक भित्र्याउन सकिने आयोजकको भनाइ छ ।

    भेलामा एक सय ५० बढी पर्यटन व्यवसायीको सहभागिता रहेको सङ्घका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने भेलामा जिल्लाभित्रका ११ वटै स्थानीय तहले आआफ्ना स्थानीय भित्रको पर्यटकीय सम्भावना बोकेका क्षेत्रको भिडियो सामग्री प्रस्तुत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

  • पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

    गण्डकी, आइतबार, ११ कात्तिक २०८१ । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो ।

    बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

    ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको भएपनि प्रचारप्रसार र प्रवर्द्धन नहुँदा उक्त पदमार्ग ओझेलमा परेको बताउनुभयो । “पुराना र चल्तीका पदमार्ग नासिँदै गएको स्थितिमा गुरिल्ला ट्रेक वैकल्पिक पदमार्गका रुपमा विकास गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “यो ट्रेक गण्डकी र लुम्बिनी प्रदेशको पर्यटन विकासमा कोशेढुङ्गा बन्न सक्छ ।”

    देशको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रलाई जोडेर यस क्षेत्रको प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा चिनाउनुपर्नेमा अध्यक्ष आचार्यले जोड दिनुभयो । टानसहित पर्यटन सम्बद्ध सङ्घसंस्थाले सुरुसुरुमा केही प्रवर्द्धनात्मक काम गरेपनि पछिल्लो समय कुनैपनि पर्यटकीय गतिविधि यस क्षेत्रमा हुन सकेका छैनन् । “लामो दूरी भएकाले यो ट्रेक खर्चिलो पनि छ, व्यवस्थित पूर्वाधारलगायत पर्यटकलाई चाहिने सेवासुविधा नहुँदा हामीले पर्यटक पठाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो ।

    पहिलोपटक उक्त पदमार्ग पहिचान गर्ने टोलीमध्येका सदस्य सुरेन्द्र रानाले ‘गुरिल्ला ट्रेक’ राज्यको प्राथमिकता पर्न नसकेको बताउनुभयो । महिनौँ लगाएर पदमार्ग पहिचान गरी उतिबेलै ‘गाइडबुक’ (जानकारी पुस्तक) र ‘म्याप’ (नक्सा) तयार पारिएको उहाँले उल्लेख गर्नुभयो ।

    “यो पदमार्ग संरक्षण र प्रवर्द्धनमा सरोकार भएका निकायले विशेष पहल गर्नु जरुरी छ, यसमा राज्यका निकायले पनि सहकार्य गर्नुपर्छ । व्यवस्थित पूर्वाधार बनाउन सबै एकजुट हुनुपर्छ”, रानाले भन्नुभयो । सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त पदमार्ग पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेपछि केही आशा भने जागेको उहाँले बताउनुभयो ।

    पर्यटक पथप्रदर्शक दिवस गुरुङले प्रकृतिमय भूगोल, ऐतिहासिक महत्वका स्थल, जैविक विविधता, मगर जातिका सघन बस्ती, रैथाने कला, संस्कृति, रहनसहन, रीतिथितीलगायत पदमार्गका विशेषता रहेका बताउनुभयो । “गुरिल्ला ट्रेकको ‘ब्राण्डिङ’ गरी पूर्वाधार निर्माणमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “नाम चलेका पदमार्ग छोटिँदै र मासिँदै गएका बेला यो पदमार्गबाट नेपालको पर्यटन क्षेत्रमा लाभ लिन सक्छ ।”

    सो पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी बढाउनुपर्नेमा पथप्रदर्शक गुरुङले जोड दिनुभयो । “पदमार्ग भनेको पहिले मानिसले हिँडेकै बाटोमा हिँड्ने भन्ने हो, नयाँ पदमार्ग बनाउँदा पनि मौलिकताको ख्याल गरी कङ्क्रिटको प्रयोग गर्नुभएन”, उहाँले भन्नुभयो, “पदमार्ग पहिचान भइसकेपछि ठाउँठाउँमा सूचनापाटी, चिया/खाजाघर, विश्रामस्थल, होटललगायत पूर्वाधारको व्यवस्था गर्नुपर्छ ।”

    पथप्रदर्शक गुरुङले गत वर्ष ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गरेको बताउनुभयो । “अरुमा भन्दा बेग्लै अनुभव यस पदमार्गमा गरेको थिए । पूर्वाधार विकास गरी सुविधासम्पन्न बनाउन सके उक्त पदमार्ग पर्यटन विकासमा सहयोगी हुने विश्वास लिएको छु”, उहाँले भननुभयो । उहाँका अनुसार छोटो, मध्यम र लामो दूरीबाट ‘गुरिल्ला ट्रेक’मा यात्रा गर्न सकिन्छ ।

    सबैभन्दा छोटो १४ दिनको पदयात्रा म्याग्दीको बेनी, दरबाङ, गुर्जाघाट, बागलुङको ढोरपाटन, निशेलढोर पूर्वी रुकुमको तकसेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर टुङ्गिन्छ । करिब १९ दिनमा गर्न सकिने मध्यम दूरीको पदयात्रा बेनी, दरबाङ, गुर्जाघाट हुँदै ढोरपाटन पुगेपछि बुकी हुँदै रुकुम पूर्वको पेल्मा, मैकोटतिर जोडिन्छ । मैकोटबाट तकसेरा निस्केर लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुग्न सकिन्छ । सबैभन्दा लामो २७ दिनको पदयात्राले भने पश्चिम रुकुमलाईसमेत समेट्छ ।

    ढोरपाटनबाट पेल्मा, मैकोट, पश्चिम रुकुमको अर्चल, रुकुमकोट, पूर्वी रुकुमको तक्सेरा, लुकुम, रोल्पाको थवाङ, जलजला, जेलवाङ हुँदै सुलीचौर पुगेर पदयात्रालाई टुङ्गाउन सकिन्छ ।  बागलुङको ढोरपाटन, रोल्पाको सुलीचौरलगायत ठाउँबाट पनि छोटो र लामो दूरीमा उक्त ट्रेकको यात्रा गर्न सकिन्छ । बागलुङको बुर्तिबाङ, ढोरपाटन हुँदै गरिने पदयात्रा आठ/दश दिनमा टुङ्गाउन सकिन्छ । समय र अन्य व्यवस्थापकीय तयारीलाई हेरेर जुनसुकै मार्ग प्रयोग गरेर ‘गुरिल्ला ट्रेक’मा जान सकिन्छ ।

    पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न ‘गुरिल्ला ट्रेक’को अवधारणा ल्याइएको थियो । अस्तित्वमा आएको दशक बितिसक्दा पनि सोचेजसरी यो पदमार्गको विकास भने हुन सकेको छैन । ‘गुरिल्ला ट्रेक’ पर्यटन सम्बद्ध सङ्घसंस्थाको पनि उपेक्षामा परिरहेको स्थानीयवासीको गुनासो छ । चालु आवमा सङ्घ सरकारको बजेट विनियोजन गरेकाले केही आशा जगाएको स्थानीय बताउँछन् ।

    पूर्वाधार सम्पन्न बनाएर विश्व पर्यटन बजारमा ‘ब्राण्डिङ’ गर्न सके यो पदमार्ग गण्डकी र लुम्बिनी प्रदेशको आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने पर्यटक पथप्रदर्शक गुरुङले बताउनुभयो । यो पदमार्गमा माओवादी जनयुद्धका चिनारी र अवशेषको पनि अनुभव बटुल्न पाइने उहाँले जानकार दिनुभयो ।

    “छापामार हिँड्ने बाटो, सेल्टर, तालिम केन्द्र, बङ्कर, माओवादी नेताका बैठकस्थललगायत अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण हिमशृङ्खलादेखि, धवलागिरि, गुर्जा, पुथा, चुरेनलगायत हिमालको दृश्यले पनि पदयात्रालाई रोमाञ्चकता प्रदान गर्छ ।”

    गुरुङका अनुसार बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको ढोरपाटन सिकार आरक्ष यो पदमार्गको प्रमुख आकर्षण हो । “गुरिल्ला ट्रेकबारे पुस्तक पनि प्रकाशित छ, गुगल नक्सा पनि उपलब्ध छ”, उहाँले भन्नुभयो, “अरु पदमार्गको भन्दा बेग्लै अनुभवका लागि पर्यटकले गुरिल्ला ट्रेक रोज्न सक्छन्, साहसिक र रोमाञ्चक यात्रा रुचाउनेका लागि यो उपयुक्त गन्तव्य हो ।”

    अग्ला पहाड, भीरपाखा, खोला र खोँच हुँदै हिँड्नुपर्ने भएकाले गुरिल्ला पदयात्रामा निस्कदाँ सोही किसिमको बन्दोबस्ती मिलाउनुपर्ने गुरुङले बताउनुभयो । ‘गुरिल्ला ट्रेक’मा पर्यटक आकर्षित गर्न सके यस क्षेत्रका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहर र सम्पदा उजागर हुने उहाँको भनाइ छ ।

    विगतमा युद्धबाट गुज्रेका ग्रामिण बस्ती, त्यहाँको जनजीवन र संस्कृतिको अनुभव दिलाउन आन्तरिक तथा बाह्य पर्यटकलाई ‘गुरिल्ला ट्रेक’मा आकर्षित गर्न सकिने उहाँले बताउनुभयो । “दश वर्षे जनयुद्धका बारेमा बुझ्न र अध्ययनका लागि यो पदमार्ग पाठशाला हुन सक्छ”, उहाँले भन्नुभयो, “मगर जातिको सघन बसोबास रहेकाले तिनको भाषा, संस्कृतिको खोज तथा अनुसन्धान गर्ने थलोका रुपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिन्छ ।”

  • पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना

    भोजपुर, शुक्रबार, २ कात्तिक २०८१ । भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ ।स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछि आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने स्थानीयको भनाइ छ ।

    यहाँ भदौ र वैशाखको पूर्णिमा गरी दुई पटक मेला लाग्छ । मेला बाहेक अन्य समयमा पनि झरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिसहर पुग्ने थालेका छन् । थप प्रचारप्रचार हुनसके यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा कोशी प्रदेश सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । झरना स्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचासमेत निर्माण गरिएको छ ।

    छाँगे धाममा दर्शन गरेमा मनोकामना पूरा हुने रोगव्यादी निको हुने जनविश्वास रहेको स्थानीयबासी इन्द्रप्रसाद धमलाले बताउनुभयो । “झरना प्राकृतिकरुपमा निकै सुन्दर छ”, उहाँले भन्नुभयो, “यहाँ दर्शन गरेर मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । यहाँ पुग्न भौगोलिक रुपमा विकट नै छ । यसको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटनको विकास गर्न सकिन्छ । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।”

    झरनासम्म पुग्ने पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्ग व्यवस्थित गर्न सके पर्यटकलाई आउन सहज हुने उहाँले बताउनुभयो ।

    प्रकृतिले सुन्दर उपहार दिएको भएपनि यसबाट लाभ लिन नसेकेको भनाइ छ । सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विषेश ध्यान दिनुपर्ने स्थानीय देवचन्द्र राईले बताउनुभयो । “ओझेलमा परेका यस्ता ठाउँको खोजीमा राज्यले ध्यान दिन आवश्यक छ” उहाँले भन्नुभयो “जिल्लाकै सबैभन्दा अग्लो झरना कसैको नजरमा पर्न सकेको छैन । ”छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने उद्देश्यले षडानन्द नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरी केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने तयारी गरिरहेको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो ।