पाल्पा, सोमबार, २५ चैत्र २०८१ । गोरखा नेपाल एकीकरणको सुरुवाती जिल्ला हो भने बुटवल जितगढी अंग्रेज सेनालाई हराएको ऐतिहासिक युद्ध किल्ला हो । वि.सं १८७१ देखि १८७२ मा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बुटवल जितगढी क्षेत्रबाट अंग्रेज फौजलाई वैशाख ७ गते हराएर भगाएको दिन हो । अंग्रेज सेनालाई हराएको दिन वैशाख ७ गते विजय उत्सव मनाउन नेपाली सेना गोरखादेखि ३०५ किलोमिटर पैदलयात्रा गर्दै बुटवल जितगढी किल्ला पुग्ने गर्छन् ।
ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा गर्न थालेको हो । विगत ३ वर्षदेखि यो क्रम रोकिएको छैन । सेनाले ‘पहिलोपटक २०७९ चैत्र २९ गते गोरखा-जितगढी’ पदयात्रा गरेको थियो ।
यसवर्ष चैत २८ गतेदेखि सेनाले तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गर्दै छ । ऐतिहासिक कोट, गढी, किल्लाजरू को संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ एकीकरण पदयात्रा सुरु गर्न लागिएका ‘दि फेमस महिन्द्र दल गण’ पाल्पाले जनाएको छ । एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जर्गेना गर्न, नेपाल अंग्रेज युद्धमा हासिल गरेको विजय गाथाको इतिहासलाई संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्न, सबै नेपालीहरूमा राष्ट्रिय एकताको भावना विकास गर्न, सम्पदा पर्यटन प्रवद्र्धन गर्न, सेना र जनताबीचको सम्बन्धलाई बलियो बनाउन गोरखा जितगढी पदयात्रा अभियान गर्न लागिएको पदयात्रा कमाण्डर सहसेनानी रमेश अधिकारीले बताउनुभयो ।
यो पदयात्रा नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा-तनहुँ-स्याङजा-पाल्पा हुँदै रूपन्देहीको जितगढीसम्म पुग्नेछ । पदयात्रामा निस्किने टोली वैशाख २ गते पाल्पाको रामपुर आइपुग्ने छ । उक्त टोलीको प्रतिनिधिमण्डल र पाल्पास्थित दि फेमस महिन्द्र दल गणले सोही दिनदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने जनाइएको छ । रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम तय भएको तानसेनमा आयोजित समन्वयात्मक बैंठकमा गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । पाल्पाको टोलीले रुपन्देहीलाई हस्तान्त्रण गरेपछि जितगढी पुगेर समापन हुनेछ ।
उहाँले नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढी, किल्ला र पदमार्गको पहिचान गरी त्यसको प्रवद्र्धन गर्न पदयात्रा सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने यो अवसर पनि हो,’ गणपति गुुरुङले भन्नुभयो, ‘राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउनेछ ।’ पर्यटन सम्भावनालाई खोजी गर्दै पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्यसँग जोड्न पदयात्रा गर्न लागिएको उहाँले बताउनुभयो ।
यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ र जितगढीको लडाइँमा भाग लिएका गुरुबक्स पल्टनका ५३ जनाको टोली सहभागी हुनेछन् । गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतीकस्वरूप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पदयात्राका संयोजक सेनानी जितबहादुर कार्कीले जानकारी दिनुभयो ।
टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोटगढी तथा गीतगढी किल्लाको भ्रमण गर्ने योजना बनाएको छ । तत्कालीन समयमा राज्य एकीकरणको क्रममा प्रयोग भएका सम्पदाहरू गण, किल्ला, मार्गदेखि नेपाल-अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्तामाझ पुनर्ताजगी गराउन पदयात्राले सहयोग पुग्ने अपेक्षा जिल्लाका सरोकारवालले गरेका छन् । समन्वयात्मक बैठकमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी, स्थानीय तहका प्रमुख, प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पत्रकारहरूको सहभागिता रहेको थियो ।
पदयात्रा गोरखाबाट सुरु भई रूपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रूपमा सहभागी भई टुंगिनेछ । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै वैशाख ७ गते ऐतिहासिकस्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ । जितगढी किल्लालाई केन्द्रविन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झण्डै तीन महिना अंग्रेजसँग लडेको र दुईपटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजयोत्सवका रूपमा लिने गरिएको छ ।
काठमाडौँ, सोमबार, १२ फागुन २०८१ । स्वीस भूगर्भशास्त्री टोनी हागेनले सात दशकअघि देखि खिचेका नेपाल चिनाउने तस्बिरहरूको पाँच दिने प्रदर्शनी शनिबारबाट दोलखाको जीरी नगपरालिकामा सुरू भएको छ ।
टोनी हागेन फाउन्डेसन र जिरी नगरपालिकाको आयोजनामा भएको तस्बिर प्रदर्शनीको हागेनकी छोरी डा. क्याट्रिन हागेनले उद्घाटन गरिन् । प्रदर्शनीमा राखिएका तस्बिरहरू अवलोकन पछि जीरी नगरपालिकाले स्वर्गिय हागेनलाई सम्झिएकोमा खुशी व्यक्त गरिन् । आफ्ना पिताले भ्रमण गरेको समय र अहिले जिरीमा धेरै परिवर्तन आफूले महशुस गरेको बताइन् ।
‘पहिले र अहिलेको जिरीमा धेरै परिवर्तन भएको छ, केही सकाकरात्मक र केही नकारात्मक’, उनले भनिन्, ‘यहाँ धेरै विकास भएको छ । कृषिमा मानिसहरूको सहभागिता घटेको छ ।भारत र चीनका कृषि उपजको उपभोग बढेको छ । यो त्यति राम्रो कुरा होइन ।’ जिरी नगरपालिकाका मेयर मित्र जिरेलले जिरीको विकासमा स्वीजरल्याण्डका जनता र सरकारको ठूलो सहयोग रहेको स्मरण गर्दै स्वीजरल्याण्ड र जिरीबीच घनिष्ट सम्बन्ध रहेको बताए ।
स्थानीय बुद्धिजिवी तथा जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानअध्यापक टेक जिरेलले टोनी हागेनले जिरीलाई विश्वसामू चिनाउन र जिरीको विकासमा स्वीस सहयोग ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पछिल्लो समय जिरी आन्तरिक पर्यटनको लोकप्रीय गन्तव्य बनिरहेको छ ।
फोटो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । हाडजोर्नी विशेषज्ञ समेत रहेकी डा.क्याट्रिन ह्यागेन फागुन १३ र १४ गते जीरी अस्पतालमा निशुल्क स्वास्थ्य शिविरमा सहभागी रहनेछिन् । ‘नेपालको स्वीजरल्याण्ड’ भनेर चिनिने जिरीको विकासमा २०१३ साल देखि नै स्वीजरल्याण्डले सहयोग गरेको थियो ।
जिरीमा चीज फ्याक्ट्री, गाई अनुवांशिक प्रजनन केन्द्र, अस्पताल स्थापना तथा व्यवसायिक कृषि विकासका लागि स्वीजरल्याण्डको सहयोग रहेको थियो । पछि जिरी प्राविधिक शिक्षालयको स्थापना र सञ्चालन, जिरीमा एयरपोर्ट निर्माण र लामोसाँघु-जिरी सडक निर्माणमा स्वीजरल्याण्डले सहयोग गरेको थियो ।
टोनी हागेन २००४ सालमा मोहनशम्शेरको निमन्त्रणमा नेपालको विकासमा सहयोग गर्न पहिलोपटक नेपाल आएका थिए । पछि संयुक्त राष्ट्र संघका प्रतिनिधिका रूपमा र नेपाल सरकारका कर्मचारीका रूपमा उनले लामो समय नेपालका विभिन्न स्थानको भ्रमणमा बिताएका थिए । उनले खिचेका पुराना तस्बिरहरूको वृत्तचित्र ‘उहिलेको नेपाल’ युट्युबमा उपलब्ध छ ।
यस्तै, उनले लेखेका ‘नेपाल’, ‘विकेन्द्रीकरण र विकास’, ‘नेपालमा मेरो खोजयात्रा’ लगायतका पुस्तक प्रकाशित छन् ।
काठमाडौँ, सोमबार, ५ फागुन २०८१ । मुस्लिम समुदायका लागि वर्षको सबैभन्दा पवित्र महिना रमजान नेपालमा फेब्रुअरी २८ देखि शुरु हुन गइरहेको छ । रमजानको पालना इस्लामको ५ वटा स्तम्भमध्ये एक हो र विश्वभरका मुस्लिमहरु पूरा महिना व्रत (रोजा) बस्छन् । कुरानमा वर्णन गरेअनुसार रमजानको पवित्र महिनाको अबधिमा ज्यान जोखिम बनाउन सक्ने दीर्घ रोगहरु जस्तो मधुमेह भएका केही व्यक्तिहरु वाहेक सवै स्वस्थ्य वयस्क मुस्लिमहरु रोजा बस्नु अनिवार्य हुन्छ । यस अवधिमा दीर्घ रोगीहरु जस्तो मधुमेह लगायत केही व्यक्तिहरुलाइ रोजा बस्न छुट दिइएको भएतापनि धेरै मुस्लिम मधुमेह रोगीहरु पनि रोजा बस्ने गर्छन् (सुरह अल बाक्वाराह १८४-१८५) ।
रमजानको महिनामा जीवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण व्रत (रोजा)ले शरीरमा हुने मेटाबोलिज्ममा पनि गडबडी ल्याउँछ । त्यसैगरी मधुमेह बिरामीमा हृदय, मिर्गौला र अन्य जटिलता हुँदा मधुमेह रोगीहरुमा रोजा बस्दा जोखिम बढेर जान्छ । त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्नको लागि मधुमेह बिरामीहरुले रोजा राख्नुअघि चिकित्सक र धार्मिक सल्लाह लिनुपर्छ ।
बिश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका रोगी छन्। नेपाल जनगणना २०११ अनुसार नेपालमा १० लाख मुस्लिमहरु छन् तर मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्याङ्क छैन ।
रोजा राख्दा हुने शारीरिक लाभहरु
शरीरको वजन कम हुन्छ
ग्लुकोज को नियन्त्रण हुन्छ
बोसोको मात्रामा सुधार हुन्छ
रक्तचाप नियन्त्रण हुन्छ
प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ
शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कन्छ
रमजानको समयमा मधुमेह बिरामीहरुमा हुने जोखिमहरु
रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु
रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु
शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (जलवियोजन हुनु)
टाइप १ मधुमेह विरामीहरुको रगतमा एसिड जम्मा हुनु
जोखिम कम गर्न के गर्नुपर्छ ?
रोजा बस्ने निर्णय गर्नु भन्दा ६-८ हप्ता अगाडी चिकित्सक र धार्मिक सल्लाहको अधारमा जोखिमको मूल्याङ्कन गर्नपर्छ ।
‘अन्तराष्ट्रिय मधुमेह महासंघ (आईडीएफ)’ र ‘मधुमेह र रमजान (डीएआर)’ अन्तर्राष्ट्रिय गठबन्धन (आईडीएफ-डीएआर) २०१६’मा रमजानको समयमा रोजा बस्न चाहने मधुमेह बिरामीहरुलाई ३ जोखिम समूहमा वर्गीकृत गरिएको छ । यसलाइ इजिप्टको मोफ्टीले अनुमोदन गरेको छ ।
o धेरै उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नै मिल्दैन। o उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नु हुदैन। o मध्यम/कम जोखिम:- मधुमेह बिरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ।
मधुमेह बिरामी र परीवारिक सदस्यहरुले निम्न कुराहरुको वारेमा जानकारी राख्नुपर्छः o स्वस्थ्य पोषण o नियमित व्ययाम o औषधि र मात्रा को समायोजन o नियमित ग्लुकोजको जाँच o रगतमा अत्यधिक कम ग्लुकोज (हाइपोग्लिसिमिया) हुँदा देखिने लक्षणहरु o रोजा तोड्न मिल्ने अवस्थाहरु
रमजानको समयमा भोजनको योजना शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालोरिजलाई सेहरी र इफ्तारको बिचमा सही मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ ।
अत्यधिक फाइबरयुक्त खाना खानुपर्छ ।
फलफूल, तरकारीहरु र सलादहरु प्रशस्त मात्रामा खानुपर्छ ।
सुर्यास्त र सुर्योदयको विचमा प्रशस्त तरल पदार्थ पिउनुपर्दछ ।
गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरलपदार्थको सेवन गर्नुहुँदैन ।
इफ्तार
तरल पदार्थहरू – नरिवल पानी / कागती पानी (चिनी नभएको), अमिलो फल को रस – १ गिलास
फलहरू – कुनै एक गुलियो फल (१-२ भाग)
मुरी / चिउरा / ओट्स / नूडल्स- १ कप
पियाजी- १ पिस
उमालेको छोला -१/२ कप, चप – १ पिस, कबाब- १-२ पिस
काक्रो, अमिलो फलको रस, नरिवल पानी – इच्छा अनुसार
बेलुकाको खाना
रोटी- २ / चामल १-१.५ कप (१२०-१८० ग्राम)
माछा / मासु / अण्डा – १ पिस
तरकारी, सलाद – इच्छा अनुसार
दाल- १ कप
सेहरी
चावल- २ कप (२५०-३०० ग्राम)
माछा / मासु- २ पिस
तरकारी, सलाद – इच्छा अनुसार
दाल- १ कप
दूध- १ कप
रमजानको समयमा व्यायाम
रोजाको समयमा कठोर व्यायाम नगर्नुहोस्, किनभने यसले गर्दा रगतमा ग्लुकोजको मात्रामा अत्याधिक कमी हुनुको साथै शरीरमा पानीको मात्रा पनि अत्याधिक कम हुन सक्छ (जलवियोजन हुन सक्छ) ।
तारावीह प्रार्थनामा गरिने शारीरिक श्रमलाई दैनिक व्यायामको भागको रूपमा मान्न सकिन्छ ।
खाना खाएको १-२ घण्टा पछि व्यायाम गर्न सकिन्छ । रमजानको बेला औषधिको समायोजन तथा परिमार्जन
औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस् ।
रमजानको समयमा ध्यान दिनुपर्ने कुराहरु
कुरानले स्पष्ट रूपमा भनेको छ कि यदि कुनै बिरामी छ भने ‘छुटेको रोजा (ब्रत) अर्को समयमा पूरा गर्नुपर्दछ’ किनकि ‘अल्लाह तपाईंको लागि सहजता चाहन्छन् र तपाईंलाई कठिनाइमा राख्न चाहदैनन्।’ मधुमेह बिरामीहरू खानेकुरा तथा औषधिको समुचित प्रयोग बारे जानकार नभएमा रोजा राख्ने अवस्थामा विभिन्न प्रकारका जोखिमहरूमा हुन्छन्, किनकि तिनीहरू एकल वा बहुऔषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन् । जसले हाइपोग्लिसेमिया वा हाइपरग्लिसेमिया निम्त्याउन सक्छ । मधुमेह बिरामीहरूले कुनैपनि शारीरिक रोगमा रोजा (ब्रत) तोड्नुपर्ने हुन सक्छ । यो सिफारिस इजिप्टको मोफ्टीद्वारा अनुमोदित छ, जुन इजिप्टको सर्वोच्च धार्मिक नियामक प्राधिकरण तथा विश्व-प्रसिद्ध इस्लामिक शैक्षिक संगठन अल-अजहरको विद्वान हो ।
प्रत्येक मधुमेह बिरामी जसले रोजा राख्न चाहन्छ आफ्नो रगतमा ग्लूकोजको मात्राको अनिवार्य रुपमा स्वयं अनुगमन गर्नुपर्छ र यसरी रगतमा ग्लूकोजको परिक्षण गर्दा रोजा धार्मिक रुपमा अवैध हुदैन भनि जोड दिनुपर्छ ।
रगतमा ग्लूकोजको मात्राको अनुगमन o इफ्तारको अघि o इफ्तार, रातीको खाना र सेहरीको २ घण्टा पछि o मध्य दिन o यदि कम वा उच्च रगत ग्लूकोजको लक्षण छ भने वा अस्वस्थ महसुस गर्दै हुनुहुन्छ भने कुनैपनि समय ।
रोजा तोड्न मिल्ने अवस्थाहरु
रगतमा ग्लूकोजको मात्रा <७० एमजी/डीएल (३.९ एमएमओएल/एल ) भएमा
रगतमा ग्लूकोजको मात्रा >३०० एमजी/डीएल (१६.७ एमएमओएल/एल) भएमा
अस्वस्थ महसुस भएमा
रगतमा ग्लूकोजको मात्रा अत्यधिक कमी (हाइपोग्लिसिमिया) हुँदाको लक्षणहरु देखिएमा (जस्तो पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढ्नु आदि)
अन्य समयहरु (जस्तो, अत्यधिक पखाला लाग्नु, बान्ता हुनु, ज्वरो आउनु आदि)
के गर्दा तपाईंको रोजा टुट्दैन?
रगतबाट ग्लुकोज परिक्षण गर्दा
इन्सुलिन इन्जेक्सन लिँदा
रमजान समाप्त भएपछि ध्यानदिनुपर्ने कुराहरु
इद-उल-फितरको समयमा अत्यधिक-खानाहरू (विशेष गरी मिठाइ) बाट बच्नुहोस्, किनकि यसले उच्च रक्त ग्लुकोज निम्त्याउन सक्छ ।
औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सक संग सल्लाह गर्नुहोस् ।
रमजानको समयमा हाइपोग्लिसिमिया वा हाइपरग्लिसेमियाको घटनाहरू भएको थियो भने रमजानको अर्को वर्षको योजना बनाउँदा विशेष सावधानी अपनाउनुहोस् ।
(डा यादव विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा कार्यरत छन्)
गोरखा, शनिबार, ३ फागुन २०८१ । गोरखाको शहिद लखन गाउँपालिकाको आयोजनामा प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवस किल्ला परिसरमा भंब्य रुपमा शनिबार मनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापा मगर, गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी लगायत अतिथि महानुभावहरु
गोरखाको साविकको वुङ्कोट–४, काहुलेभँगार र हाल शहिद लखन गाउँपालिका–७ मा लखन थापाकै नाममा सालिकसहित स्मारक बनाइएको छ । सदरमुकामदेखि १२ किलोमिटर दक्षिणपूर्वमा रहेको करिव २ रोपनी क्षेत्रफल रहेको यो समथर भू-भागलाई अहिले पनि ‘विद्रोही किल्ला’ भनिन्छ ।
प्रथम शहीद लखन थापा मगर गोरखाको बुङ्कोटमा साधारण फौजी परिवारमा जन्मिएका लखन ‘पुरानो गोरख पल्टन’ का कुशल सैनिक थिए । परिस्थिति अनुसार सही कदम उठाउने खूबी भएकाले यिनी योग्य सैन्य अधिकारीमा गनिन्थे । तर‚ राणाहरूको एकाधिकार र पक्षपातले गर्दा यिनको उन्नयन भएन, पुर्खाहरूले झैं उच्च ओहोदा सम्हाल्न पाएनन् । त्यसपछि सैन्य सेवा त्यागेर राणाहरूको अराजकता र थिचोमिचो विरुद्ध जनस्तरबाटै लड्ने अठोट गरी आफ्ना विश्वासी मित्र जयसिंहसँगै बुङ्कोट फर्किए ।
गोरखाको समग्र इतिहासका जानकार दण्डपाणि अर्ज्याल (१९६३-२०४५)का अनुसार‚ श्री ५ सुरेन्द्रविक्रम शाहका समयमा जंगबहादुरले हुकुम लिएपछि गोरखाका भारदार राजनैतिक बौलाहा भए । जंगबहादुर गोरखा आउँदा गोरखालीहरू पस्लाङ चौतारामा जम्मा भई सभा गरी यिनको स्वागतै नगर्ने निधो गरेर बसे, स्वागत गरेनन् पनि । जंगबहादुर आएर कालिकाको दर्शन गर्न ढोका खोल्न आदेश गरे तर पाले, सुसारेले हुकुम छैन भने । कसको हुकुम छैन भनी जंगिन लाग्दा भगवतीको हुकुम छैन भनिदिंदा चुप लागे र ढोका खोल्न सकेनन् । …यसपछि गोरखादेखि चिढिएका हुँदा गोरखालीले जागिर नपाउने बनाइयो । वेख-विर्ता, माना-चामल हरण भए । उनका विश्वासीले मात्र जागिर पाए, यसरी गोरखाको नाकाबन्दी भयो र क्रमशः अवनति हुन लाग्यो।
बुङ्कोट विद्रोह अद्भुत प्रकृतिको थियो । जसले जंगबहादुर जस्ता तानाशाहलाई पनि भयभीत बनायो । प्रमोदशमशेरका अनुसार‚ ‘योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरंकुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन्।’ (राणाशासनको वृत्तान्त, २०७०: पृ.८९)।
अत्याचारी राणाशासन विरुद्ध विद्रोही अभियान संचालनका लागि नेपाली जनताहरुको सहयोगमा लखन थापा मगरले वि.सं. १९२७ मा बलियो किल्ला निर्माण गरे । राणा सरकार विरुद्ध लड्न जनस्तरबाट पहिलो पटक बनाइएको उक्त किल्लाको चारै तर्फ बङकर बनाइएको थियो । किल्लाको बाहिरी भागमा चारैतिरबाट ढुङ्गाको तीन तहको बलियो पर्खाल थियो । किल्ला भित्रबाट बाहिरको गतिविधि सजिलै निगरानी गर्न मिल्ने एबम् आफू सुरक्षित रहेर बाहिरका दुस्मनहरुलाई आक्रमण गर्न सकिने गरि पर्खालको ठाँउ ठाँउमा प्वाँलहरु राखिएका थिए । किल्लाको बाहिरी भागमा घेरिएको ढुङ्गाको बलियो पर्खाल १६ क्युबिट्स उचाई र ८ क्युबिट्स चौडाइको थियो ।
उक्त किल्लाको चारै तर्फ ढुङ्गाको नै ढोका र नस राखिएको थियो । किल्लाको चारै दिशामा ढोकाहरु थिए भने मूल ढोका उत्तरतर्फ रहेको थियो । किल्ला भित्र मध्य भागमा ७ बर्ग मिटरको छेत्रफलमा मोई थान (मनकामना माई) को मन्दिर निर्माण गरिएको थियो । लखन थापा मगरले किल्ला परिसरमा पाँच तल्ले घर बनाई त्यहाँबाट मोई थान (मनकामना माई) को पुजा समेत चलाएका थिए ।
लखन थापाको नेतृत्वमा भएको यो विद्रोहको सम्बन्धमा सरकारी संयन्त्र मार्फत जङ्गबहादुर समक्ष जानकारी पुगे पश्चात् खटाइएका देबी दत्त रेजिमेन्टका तीन कम्पनी फौजले विद्रोही किल्लालाई चारैतर्फबाट घेरा हालेपछी दोहोरो भिषण युद्ध भयो । जनसेनातर्फ गोला बारुद सकिएर युद्ध रोकिएपछि सरकारी सेनाले विद्रोहीहरुबाट ६० नाल बन्दुकसहित केही तरवार, खुदा, खुकुरी, भाला, धनुष, बाण लगायतका हतियारहरु बरामत गरे । त्यसपश्चात् विद्रोह नेता लखन थापा मगरसहित १२ जना मुख्य विद्रोहीहरुलाई पक्राउ गरी बासँको पिजंडा (कोक्रा) मा कैद गरी यातनापुर्वक काठमाडौँ चलान गरियो । साथै, करिब ५० जनालाई पैदल हिडाएर काठमाडौँ पुर्याइयो । पक्राउ परेका लखन थापा मगर लगायतका विद्रोहीहरुमाथि निर्ममता पुर्वक नेल ठोकी कोर्रा हानी थापाथली दरबारमा नाटकीय ढंगले मुद्दा चलाइयो । तर पनि नेपाल आमाका ती महान् सपुतहरु निरङ्कुश राणा शासक सामु झुकेनन् । अन्त्यमा, लखन थापा मगर, जयसिंह चुमी राना मगर, जुठ्या थापा मगर, विराज थापा मगर, जीतमान गुरुङ, अच्छामी मगर र अजपसिंह थापा मगरलाई मृत्युदण्ड दिने फैसला सुनाइयो ।
जङ्गबहादुरको आदेशमा मृत्युदण्डको सजाय सुनाइएका प्रजातान्त्रिक योद्धाहरुलाई गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं. ७ काहुले भंगार वुङ्कोटमा निर्मित किल्लामा पुर्याइयो । उक्त किल्ला परिसरमा निर्मित मनकामना माईको मन्दिर अगाडी स्थानीय जनसमुदायको उपस्थितिमा सर्बप्रथम विद्रोही नेता लखन थापा मगरलाई छाला काढेर अमिलो चुक लगाई बर्बरता पूर्वक खिराको बोटमा झुण्डाइयो ।
त्यतिबेला आफ्नो भौतिक जीवन समाप्त गरेपनि राणा शासन विरुद्ध विद्रोही चेतना प्राप्त गरेका नेपाली जनताहरुले राणा शासक जङ्गबहादुर र निरङ्कुश जनानियाँ शासन ब्यवस्थाको अन्त्य गरी छाडने बिश्वास व्यक्त गर्दै त्यतिबेला उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उद्घोष गरेका थिए । -“म मर्न गइरहेको छैन, यदि म मुर्दा (मृत्यु ) अवस्थामा परिणत भए भने जङ्ग बहादुरको पनि प्राण अन्त्य हुनेछ ।” प्रथम विश्वयुद्ध (१९१४-१९१८) भन्दा अघि राणा शासनविरुद्ध ठूलो विद्रोह भएको थिएन ।
गलत शासनविरुद्ध बिद्रोह हुन नसक्नुमा अशिक्षा र दयनीय आर्थिक अवस्था र राजनीतिक चेतना नै प्रमुख कारण थिए । त्यसैगरी राणा शासकले आफ्नो शासन बचाउनका लागि भारतीय भूमि प्रयोग गरेर आफ्ना निरङ्कुश शासनविरुद्ध कुनै गतिविधि हुन नदिन अङ्ग्रेज सरकारलाई मनाएका थिए । तर, यस्तो अवस्था धेरै टिकेन ।
पहिलो विश्वयुद्धका कारण विश्वभरि नै आर्थिक, राजनीतिक अवस्थामा परिवर्तन देखा परेको थियो । यही कुरा बुझेर नेपाली सेनाको ‘ पुरानो गोरख पल्टन’ ( मगर पल्टनमा) लखन थापाले जागिर खाएका थिए ।लखन थापा मगर र उनका साथी जयसिंह चुमी मगर तीन महिनाको लागि घर बिदामा आए । यसैबीच उनीले तत्कालीन अवस्थाको राजनीतिक, सामाजिक, धार्मिक परिस्थितिको अध्ययन गरे । त्यसपछि लखन थापाले जंगबहादुरको शासन ढाल्ने योजना बनाए ।
सो योजनाअनुसार लखन थापाले जयसिंह चुमीमगर, शुकदेव गुरुङ, सुपति गुरुङ, ज्ञान दिलदास ब्राह्मण र कानु लम्सालको सहयोगमा स्थानीय युवाको विद्रोही फौज खडा गरे । लड्नका लागि उनीहरुले बलियो किल्ला बनाए । उनीहरुले ढुंगैढुङ्गाले घेरिएको बलियो किल्ला तयार पारे । शक्ति आर्जन गर्नका लागि उनीहरुले देवीलाई सम्झिए । फलस्वरुप उनीहरुले लडाइँको किल्ला परिसरभित्र मनकामना देवीको मूर्ति स्थापना गरे । लखन थापाहरुले आफ्नो फौजलाई फौजी कवाज खेल्ने, तारो हान्ने, विभिन्न तालिम सञ्चालन गर्ने र खाने, बस्ने आदि बन्दोबस्त पनि मिलाए । किल्लाभित्र ढुङ्गेधारा र पोखरीसमेत बनाइयो ।
विसं १९३२ सालमा युवराज त्रैलोक्यविक्रमका आठपहरिया लखन थापाको नेतृत्वमा गोरखालीले जंगबहादुर उपर विद्रोह शुरू गरे । हातहतियार, खजाना जोडिंदै थियो। लखन थापालाई पक्रिएर गोरखाबजार ठूलो आँगनमा झुण्ड्याई साविती गराई हातहतियारको भण्डार पत्ता लगाए । लखन थापालाई उनकै घर भाङ्राभञ्ज्याङ बुङ्कोटमा लगी झुण्ड्याएर मारियो । त्यस बापत गोरखालीलाई दिइएको बकसबाट गोरखकालीलाई १९३३ माघ सुदी ८ मा (लखन थापाकै स्मृतिमा) घण्टा चढाइयो (गोरखाको ऐतिहासिकता, ज्ञानविन्दु, वर्ष-१, अंक-१,२०६४:पृ.११-१२, दण्डपाणि अर्ज्याल स्मृति केन्द, काठमाडौं)।
विद्रोहलाई देवीदत्त पल्टन लगाएर निर्ममतापूर्वक दबाइयो। जंगबहादुरको शासन विरुद्ध १९३२-३३ सालमा जनस्तरबाट एकत्रित, संगठित भई सशस्त्र संघर्ष गर्ने क्रममा लखन थापा र उनका ६ जना समर्थकलाई तिनकै किल्लामा झुन्ड्याएर मारियो ।
विसं १९२७ मा एउटा सानो झिल्कोको रूपमा सुरु भएको त्यो विद्रोह ८० वर्षपछि अर्थात् २००७ सालमा पूरा भयो । ८० वर्षको कठोर प्रयासपछि २००७ साल फागुन ७ गते नेपालबाट राजा शासनको अन्त्य भयो र प्रजातन्त्र स्थापना भयो । यसबिचमा राणा शासनविरुद्ध गुप्त र खुला थुप्रै सङ्घर्ष भए । त्यसमा सयौँ सपुतले आफ्नो जीवन बलिदान गरे । त्यो बलिदानीपूर्ण सङ्घर्षको पहिलो शङ्ख फुक्ने वीर योद्धा थिए लखन थापा मगर । लखन थापाकै शौर्य, वीरता र साहसको अन्तिम परिणति थियो सात सालको क्रान्ति । लखन थापा हामी वीर नेपालीका शान र गौरव हुन् । विसं १९९३ मा जङ्गबहादुरले मृत्युदण्ड दिएका थापा मगरलाई नेपाल सरकारले सन् २००० फेब्रुअरी २३ मा नेपालको प्रथम सहिद घोषणा गरेको थियो । त्यसअघि पनि उनलाई सहिदको रूपमा स्वीकार गर्नेको सङ्ख्या निकै ठुलो थियो तर औपचारिक र आधिकारिक रूपमा उनको नाम सहिदको सूचीमा थिएन । सन् २००० देखि भने उनको नाम राज्यले सहिदको सूचीमा दर्ता ग¥यो ।
विर योद्धा जयसिंह चुमी राना मगर
राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कानुनी राज्य स्थापना लगायत सबै खाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हँुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान् सहिद हुन्, जय सिंह चुमी राना मगर । उहाँको जन्म गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गाविस वडा नं ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको चुमी मगर र लखन थापा मगर घनिष्ट साथी थिए ।
जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।
सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
ऐतिहासिक पानी पोखरी
राणाशासन ब्यवस्था विरुद्ध जनस्तरबाट पहिलो पटक लखन थापा मगरको नेतृत्वमा वि स १९२७-३३ सम्म विद्रोह भएको थियो । उक्त विद्रोहका क्रममा हालको हालको शहिद लखन गाउँपालिका वडा नं ७ काहुले भँगार, वुङ्कोटमा निर्मित किल्ला परिसरको दक्षिण पश्चिमको यस भू -भाग मा त्यति बेला नै पानी पोखरी निर्माण गरिएको थियो ।
विद्रोही किल्ला भित्र खानेपानीको ब्यवस्था एब किल्ला परिसरमा नै रहेको मनकामना मन्दिर र जोसमनी मठमा जल ब्यवस्थापनका लागि यो पोखरीको निर्माण वि सं १९२७ तिर गरिएको थियो ।
त्यति बेला यस पोखरीमा किल्लाको करिव १ कि मि दक्षिणको बोझा पानी र करिव ७०० मि पश्चिममा रहेको माथिल्लो काउले ( मगराती टोल) को कुवाबाट पानी ल्याइएको थियो । लामा लामा ढुङ्गाहरु लाई खोपेर त्यस माथी ढुङ्गाको नै छपनी (ढकनी ) राखेर नली बनाइ मुहान देखि पोखरी सम्म पानी ल्याइएको थियो । पोखरी संगै ढुङ्गा घारा समेत बनाइएको थियो । उक्त किल्ला परिसरमा निर्मित पानी पोखरीको आकार २० हात × १२ हात (३० फिट × १८ फिट ) रहेको थियो ।
त्यो लडाइँको तयारी एक किसिमको जनविद्रोहको तयारी नै थियो । यी सबै कुरा तयार गर्न तयारी गर्न कम्तिमा ६ महिनाभन्दा बढी समय लागेको थियो । लखन थापाले गोरखाको बुङ्कोटमा स्थानीय विद्रोही सेना परेड खेल्ने मैदानको पनि स्थापना गरेका थिए । लखन थापाले रणनीतिक ढङ्गले जङ्गबहादुरको निरंकुश जहानियाँ शासनलाई हटाएर देशलाई स्वतन्त्र बनाउन चाहन्थे ।
तर, जङ्गबहादुरको तानाशाही शासनलाई ध्वस्त पार्न लागि सैनिक विद्रोह मात्र पर्याप्त थिएन । त्यसको आवश्यकता पूर्ति गर्न एउटा सशक्त राजनीतिक सङ्गठन पनि आवश्यक छ भन्ने महसुस उनलाई भइसकेको थियो । त्यसका लागि उनले तयतिबेलाको जोसमनी धर्मको आडमा नेपाली जनतामा राजनीतिक जागरुकता ल्याउने प्रयास गरे । उनी लगायत उनका सहयोगी, समर्थक गोर्खाको गाउँघर र बस्तीबस्ती डुलेर अंग्रेजको दलाल बन्न पुगेका जङ्गबहादुरविरुद्ध उनका काला कर्तुतको भण्डाफोर गर्दै हिंडे ।
लखन थापाले जनतालाई भेला गराई ठाउँठाउँमा भाषण, प्रवचन दिंदै एक प्रकारले प्रशिक्षण दिँदै हिंडे । प्रजातान्त्रिक व्यवस्था ल्याउनका लागि लखनले राजनीतिक चेतना प्रवाह गरेको इतिहास पाइन्छ । यसरी गोर्खाको बुङ्कोटमा विद्रोहको जनलहर फैलिन पुग्यो र विद्रोहीले जनसमर्थन र जनसहभागिता पनि जुटाउँदै गए । हरेक राजनीतिक आन्दोलन र युद्ध जित्नका लागि नेताले केही न केही नारा दिएका हुन्छन् ।
जङ्गबहादुर राणाको शासन ढाल्नका लागि जनता जगाउन लखन थापाले “जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेछ, जातिपाति, छुवाछूत झन चर्काएको छ, जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ, नेपालमा सत्य युग फिराऊ भनेर मनकामना माईले मलाई वरदान दिएकी छिन्, लौ भाइ हो तयार होऊ” भन्दै उनीहरुले जनतालाई संगठित पार्न थाले ।
प्रशिक्षणका क्रममा उनले यस्ता खाले कुरामा निकै नै जोड दिन्थे । जालझेल र व्यक्तिहत्याबाट सत्तामा पुगेका जङ्गबहादुर विदेशी (साम्राज्यवादी अंग्रेज) शक्ति समक्ष लम्पसार परेका थिए । सो कुरा लखनले नेपाली जनता समक्ष प्रष्टरूपले राख्न थाले । जङ्गबहादुरले जनतालाई त्राहीत्राही पार्यो अर्थात् तानाशाही, क्रुर एवं हुकुमी शासन स्थापित गर्यो भन्ने कुरा उनले जनतालाई बुझाउन थाले । नेपालमा सत्य युग फिराउनु पर्छ अर्थात् प्रजातान्त्रिक व्यवस्था ल्याउनु पर्छ भनेर उनले जनतालाई विद्रोहका निम्ति आह्वान गरे । त्यसबेलाका स्थानीय जनतामा मनकामना माईप्रति गहिरो आस्था र धार्मिक विश्वास थियो । देवीबाट आफूलाई वरदान मिलेको र जङ्गेलाई हटाउन तयार हुनु पर्यो भनेर उनले अपील गरेका थिए । सन् १८५४ को मुलुकी ऐनमा जारी भएको प्रावधानले आदिवासी जनजातिको सामाजिकस्तर अझ तल झर्न गएकाले उनीहरू जङ्गबहादुरको हुकुमी शासनबाट अत्यन्त रुष्ट थिए ।
स्थानीय जनतामा यस्तो आह्वानले निकै प्रभाव पर्न गयो र लडाइँमा जनताको स्वतःस्फूर्तरुपमा सहभागिता बढ्दै गयो । यसरी जङ्गबहादुरविरुद्ध पहिलो पटक संगठितरूपमा लखन थापाको नेतृत्वमा जनआन्दोलन वा जनविद्रोहको प्रारम्भ भयो । वि.सं १९२८ सालमा स्थानीय जनताले प्रभावशाली नेता लखन थापालाई आफ्नो राजा सरह मान्न थाले ।
किल्लाको एक सय मिटर तल दक्षिण पुर्वमा जनमिलिसियालाई युद्धकला सम्बन्धी तालिम दिन परेड मैदान (टुँडिखेल) बनाइएको थियो ।
निरंकुश राणा शासनको सुत्राधार जंगबहादुरको राज्यसत्ता विरुद्ध वि. सं १९३२ मा चेतनाको दियालो बालेर लखन थापाको नेतृत्वमा जनस्तरबाट उठेको विद्रोह नै नेपालको पहिलो राजनीतिक आन्दोलन थियो । त्यतिबेला सामाजिक तथा राजनीतिक सङ्गठन खोल्न प्रतिबन्ध थियो । त्यस्तो अवस्थामा गर्न लागिएको सो विद्रोहको तयारी भइरहेको जानकारी कसैले जंगबहादुरकोमा पुर्याइदिएको रहेछ । परिणामस्वरूप रातारात गोरखा पुगेको जंगबहादुरको फौजले लखन थापा, जयसिंह चुमी (राना), अच्छामी मगर र अन्य चारजनालाई पक्राउ गरी वि.सं १९३३ फागुन २ गते हत्या गर्यो ।
काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । कर्णाली प्रदेशको दैलेख जिल्लामा बालविवाहको विरुद्धमा स्थानीय सरकार र विभिन्न संस्थाहरूको अभियानका कारण बालविवाहमा उल्लेख्य कमी आएको छ ।
दैलेख । कर्णाली प्रदेशको जिल्ला दैलेख ऐतिहासिक स्थलदेखि महत्त्वपूर्ण संस्कृतिहरूले जति परिचित छ, यसको अर्को कुरूप परिचय पनि बनेको थियो । त्यो थियो, बालविवाह । जिल्लाका धेरै ठाउँ यसको चपेटामा थिए । त्यो पनि कति कहाली लाग्दो थियो भने बालविवाह गर्नेले समाजमा अपहेलित भइने डरले आफै आफ्नो जीवन समाप्त गरिरहेका थिए । अर्थात् त्यही कारण आत्महत्याको बाटो रोजिरहेका थिए ।
घटना र आँकडा केलाउँदा ठाटीकाँध गाउँपालिका, गुराँस गाउँपालिका, दुल्लु नगरपालिका र नौमुले गाउँपालिकामा कैयौँ बालिकाले बालविवाहकै कारण आत्महत्या गरे । ठाटीकाँध गाउँपालिकाकी १७ बर्षीया अमृता शाही, गुराँस गाउँपालिकाकी १६ बर्षीया सरिता बिक, दुल्लु नगरपालिका वडा नम्बर ९ की पवित्रा भण्डारी र नौमुले गाउँपालिकाकी सुयना(परिवर्तित नाम) ले यही बीचमा बालविवाहका कारण ज्यान गुमाएको मानव अधिकार संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आँकडाले नै देखाउँछ । इन्सेकका दैलेखस्थित प्रतिनिधि अमर सुनारका अनुसार यो अवस्था कहाली लाग्दो थियो ।
बालविवाह कानुनबाटै वर्जित भए पनि त्यसको नतिजा दैलेखमा देखिन सकेको थिएन । केही समययता भने त्यसमा आमूल परिवर्तन देखिन थालेको छ । पछिल्लो केही समय यता दैलेखमा बालविवाहको दरमै उल्लेख्य कमी आएको छ ।
आफ्नै भविष्यको चिन्ता गरेर बालिका र किशोरीहरू नै उमेर पुगेर मात्र विवाह गर्नुपर्छ भन्ने निधोमा पुग्नु, अभिभावकहरूमा पनि उमेर पुगेपछि मात्र सन्तानको बिहे गरिदिनुपर्छ भन्ने सचेतना फैलिनु यसको प्रमुख कारण हो । उनीहरूलाई यस्तो निधोमा पुर्याउने कारण छ ।
बालविवाह विरुद्धको त्यो अभियान दैलेखमा पछिल्ला केही वर्षयता बालविवाह रोकथाम गर्ने अभियान नै चलेको थियो । यो अभियानमा जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालयसँगै गैरसरकारी संस्था, सामाजिक सेवा केन्द्र(सोसेक) नेपाल लगायत जोडिएका थिए । अभियानमा सामुदायिक स्तरमा पनि राम्रो सहयोग, समन्वय र सहकार्य बढेकाले बालविवाहमा कमी आएको सरोकारवालाहरू बताउँछन् । यसको प्रमुख कारण के हो भने उनीहरूको अभियानमा जोडिएर समाजका अगुवा, बुद्धिजीवी, बाल क्लब लगायत बालविवाह रोकथाम अभियानमा जुटेका छन् । महिला तथा बालबालिका कार्यालयको सामाजिक अभियान बालविवाह रोकथाममै केन्द्रित छ ।
पछिल्लो तथ्याङ्क अनुसार दैलेखमा बालविवाह करिब ३० प्रतिशत भन्दा धेरैले घटेको सोसेक नेपालको आँकडाले देखाएको छ । पहिलेको दाँजोमा बालविवाह निकै घटेको बालविवाह विरुद्ध साझा अभियानका जिल्ला संयोजक वसन्त श्रेष्ठ बताउँछन् । स्थानीय तहहरूले नै बालविवाह न्यूनीकरणका लागि नीति र नियम बनाएर काम गर्न थालेपछि अभियानलाई बल पुगेको र काम गर्न पनि सहज भएको श्रेष्ठको भनाई छ ।
पछिल्लो समय बालविवाह रोकथाम अभियान असाध्यै सार्थक बनेको बालविवाह रोकथाम अभियानमा लागेका सोसेक नेपालका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । समुदायकै आवश्यकतालाई ध्यानमा राखेर विषय छनोट गरिएका कारण यो अभियान प्रभावकारी बनेको थापाको भनाइ छ ।
हुन पनि ‘बिहेबारी २० वर्ष पारि’ भन्ने नारासहित बालविवाह विरुद्धको अभियान शुरु भएपछि २०७४/७५ मा १ हजार १४३ र २०७५/७६ मा ७७३ वटा बालविवाह रोक्न सफल भएको उनले बताए । त्यसपछि पनि हरेक वर्ष जिल्लामा करिब ४ सयको हाराहारीमा बालविवाह रोकथाम गरेको आँकडा उनले प्रस्तुत गरे ।
थापाका अनुसार बालविवाह रोकथाम गर्ने काम धेरै नै चुनौतीपूर्ण छ । यस क्रममा विवाह गर्न लागेका वा विवाह गर्न भागेकाहरूलाई परिवारको रोहवरमा छुट्टाएर एक अर्काको घरमा पठाउँदा उनीहरूले समाजमा बेइज्जत भएको ठानेर आत्महत्या समेत गर्ने क्रम देखिएकाले यो कार्यमा थप चुनौती छ । बालविवाह गरेका कतिपय जोडीहरूले पहिले आ–आफ्नो परिवारमा फर्काइए पनि पछि गएर फेरि बालविवाह गर्ने गरेका छन् । उनीहरूलाई जबरजस्ती गर्दा आत्महत्यासम्मका घटना निम्तिएका छन् ।
तर यस्ता चुनौती हुँदाहुँदै पनि अभियानमा संलग्नहरू हच्किएका छैनन् । बरु उनीहरू झन् भन्दा झन् धेरै सक्रिय भइरहेका छन् । कानुनी रूपमा १८ वर्षसम्म गरिएको विवाहलाई बालविवाह मान्ने र १८ देखि २० वर्षको बिचमा गरिएको विवाहलाई कानुनमै गैर कानुनी विवाह उल्लेख गर्ने हो भने आत्महत्याका घटनामा पनि कमी आउने थापाको भनाई छ ।
मुलुकी फौजदारी संहितामा विवाहका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने भनेर तोकिएको छ । र, बालविवाहलाई बाल अधिकार हननको विषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ । यति हुँदाहुँदै पनि बालविवाह भएका घटनाहरूको सूचना दिने, कारबाही गराउने वा उजुरी गर्ने संख्या भने कमै छ । बालविवाह गरेका जोडीलाई अभिभावकले फिर्ता लिँदा पनि अर्को विवाह गर्न गाह्रो पर्छ भन्ने बुझाइले बालविवाहबारे उजुरी कमै मात्र पर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।
बालविवाह विरुद्ध प्रहरीमा पर्ने उजुरीको संख्या नगन्य भए पनि अदालतमा भने कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेख बालविवाह विरुद्ध कानुनी प्रक्रियामा जानेमा अग्रणी स्थानमा छ । इन्सेकको तथ्याङ्क अनुसार सन् २०२३ मा कर्णालीका १० जिल्लामध्ये दैलेखमा ५, सुर्खेतमा २ र हुम्लामा १ बालविवाहका मुद्दा अदालतसम्म पुगेका थिए । देशभर यो अवधिमा २८ वटा मात्र बालविवाहका मुद्दा चलेका थिए ।
बालविवाहको सूचना र उजुरी दिने संख्या कर्णालीमा सबैभन्दा धेरै भए पनि यहाँको समस्या हेर्दा यो पर्याप्त भने होइन । सरोकारवालाहरू परिवारले नै बालविवाह अस्वीकार गर्ने तथा उजुरी गर्न सक्ने भएमा मात्र यो ह्वात्तै घट्न सक्ने बताउँछन् । बालविवाहले शिक्षा आर्जनमा पार्ने अवरोध, आर्थिक तथा सामाजिक असर, उमेर नपुगी सन्तान जन्मँदा आमा र नवजात शिशुको स्वास्थ्यमा पार्ने प्रतिकुल असर लगायतका विषयमा अझैँ राम्ररी बुझाउन तथा प्रभावकारी सचेतना फैलाउन जरुरी रहेको उनीहरूको निचोड छ ।
बालविवाह विरुद्धको साझा अभियान नेपाल दैलेख शाखाका पदाधिकारीहरूका लागि यही असार १२ र १३ गते आयोजना गरिएका दुई दिने पुनर्ताजगी तालीममा सहभागी भएका नागरिक समाजका अगुवाहरूले यस्तो निष्कर्ष निकालेका हुन् । अहिले बालविवाह रोकथामका लागि विद्यमान ऐन कानुन, रणनीतिसँगै प्रहरी-प्रशासन, स्थानीय सरकारलाई उत्तरदायी बनाउने कार्यमा विभिन्न सञ्जालहरूले पनि काम गर्दै आइरहेका छन् ।
यसको नतिजा चाहिँ कस्तो छ त ? पहिलेको तुलनामा धेरै कुरा सुधार भएका छन् । तर त्यो पर्याप्त भने छैन । जस्तो, दैलेखमा अहिले पनि हुने अधिकांश बालविवाहबारे प्रहरी कार्यालयमा जाहेरी नै पुग्दैन । जिल्ला प्रहरी कार्यालयले नै यस्तो अवस्था उजागर गरेको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार २०७८/७९ मा ७ वटा र २०७९/८० मा ६ वटा बालविवाह विरुद्धका जाहेरी प्रहरीमा दर्ता भएका छन् । धेरैजसो घटना मेलमिलापको आधारमा टुङ्गिने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहाल बताउँछन् ।
बालविवाह रोक्ने काममा तगारा सानै उमेरमा विवाह गरिदिने प्रचलन पहिले सामान्य थियो । अहिले त्यो बालविवाहका रूपमा परिचित हुन पुगेको छ । तर गाउँ ठाउँमा अहिले पनि सानै उमेरमा बिहे गर्ने वा गरिदिने चलन यथावत छ । बालविवाहमा यही नै मुख्य चुनौती बनेको छ । मौजुदा कानुनले बालविवाहलाई दण्डनीय बनाए पनि दैलेखमा त्यसअनुसार भने बालविवाह घट्न नसकेको दुल्लु नगरपालिकाका मेयर भरत रिजाल बताउँछन् ।
उनी भन्छन्, “जबसम्म सानै उमेरमा विवाह गरिदिने परम्परामा परिवर्तन आउँदैन, तबसम्म सरोकारवालाहरूको अभियानले मात्रै बालविवाह न्यूनीकरण गर्न कठिन हुन्छ । तर पनि पहिलेको तुलनामा भने बालविवाह घटेको छ ।”
दैलेखमा सानै उमेरमा विवाह गरिदिने संस्कार अझै हट्न नसकेकाले बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिलाई चुनौती थपिएको छ । रिजालका अनुसार घरपरिवारमा अभिभावकहरूको बेमेल, अभिभावक वैदेशिक रोजगारीमा गएका र गरिब परिवारमा बालविवाह ज्यादा हुने गरेको देखिन्छ । बालविवाह न्यूनीकरणका लागि नगरपालिकाले समेत शिक्षा र सचेतना लगायत महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
कतिपय परम्परागत मान्यता, अशिक्षा, गरिबी र प्रविधिको दुरुपयोगका कारण पनि बालविवाह चुनौतीका रूपमा रहेको मेयर रिजालले बताए । भनेको जस्तो र सोचेको जस्तो तरिकाले बालविवाह न्यूनीकरण गर्न नसकिए पनि तुलनात्मक रूपमा पहिले भन्दा भने यसलाई घटाउँदै लगिएको उनी बताउँछन् ।
रिजालका अनुसार अहिले खुला रूपमै बालविवाह त हुँदैन, तर लुकिछिपी भने भइरहेको छ । जस्तो, पछिल्ला चार महिनाको तथ्याङ्क हेर्दा दुल्लु नगरपालिकामा लगभग २० वटा बालविवाह भएको देखिन्छ । तीमध्ये १४ जना बालबालिकालाई छुट्ट्याएर अभिभावकको जिम्मा लगाइएको छ भने अन्य ६ जना बालबालिकाले फेरि भागेर विवाह गरेका छन् । रिजाल भन्छन्, “बालविवाह न्यूनीकरणका लागि पारिवारिक गरिबी र शिक्षाको क्षेत्रमा विशेष पहल गरिनुपर्छ । त्यसका लागि स्थानीय सरकारले व्यापक प्रयास गरिरहेको छ, तर सोचे जस्तो प्रतिफल प्राप्त हुन सकेको छैन । गरिबीको रेखामुनि रहेको परिवारमा यसको असर बढी परेको छ । गरिबी र अशिक्षा यसको मुख्य चुनौती हो ।”
स्थानीय तहका जनप्रतिनिधिहरू बालविवाह न्यूनीकरणको जिम्मेवारी सरकार र सामाजिक सङ्घसंस्थाको मात्र हो कि भन्ने सोचाई यसमा बाधक बनिरहेको बताउँछन् । सामाजिक अगुवा र राजनीतिक दलका नेतालगायत सबैको सहयोगविना अन्य सङ्घसंस्थाले मात्र बालविवाह न्यूनीकरण गर्न नसक्ने उनीहरूको भनाई छ ।
स्थानीय तहले बालविवाह रोकथामका लागि किशोर तथा किशोरीहरूको बीचमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको दैलेखको नौमुले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदी बताउँछन् । सुवेदीका अनुसार पहिले भन्दा बालविवाह गर्नेको संख्या घटेको छ, यसको मुख्य कारण विभिन्न सङ्घसंस्थाले देखाएको सक्रियता हो । अझै पनि आशा गरेअनुरुपको परिणाम आउन भने नसकेको उनले बताए । सुवेदीले भने, “भौगोलिक विकटताका कारण पनि बालविवाहको संख्या घटाउन सकिएको छैन । पालिकाका विभिन्न ठाउँमा १५/१६ वर्षकै उमेरमा विवाह गर्ने चलन भएकाले बालविवाह गर्नेको संख्या घटाउन नसकिएको हो । तथापि पहिले भन्दा बालविवाह घटेको छ ।”
बालविवाह रोक्न पालिकाले छुट्टै नीति नियम नबनाएको, तर केही संघसंस्थासँग मिलेर जनचेतनामूलक कार्यक्रम भने गरिरहेको, बालविवाह रोकथामको लागि पालिकाले सक्ने सहयोग गर्ने र अब प्रभावकारी नीति नियम बनाउन लाग्ने उनले बताए ।
पछिल्लो समय बालविवाह घट्दै गए पनि समुदायमा बाल विवाहको स्वरूप भने फेरिएको छ । पहिला अभिभावकले गर्ने गरेका थिए भने अहिले स्वयम् बालबालिकाले नै आफै बालविवाह गर्न थालेका छन् ।
बालविवाहको संख्या बढाउन सामाजिक सञ्जाल पनि सहयोगी भएको देखिन्छ । बालबालिका नै स्मार्ट फोन र फेसबुक लगायतका सामाजिक सञ्जालमा अभ्यस्त बनेको, उनीहरूका यस्ता गतिविधि रोक्न क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिलाई प्रविधिले नै समस्या पारेको देखिन्छ । बालविवाहविरुद्ध गठित बाल क्लबका पदाधिकारी नै सामाजिक सञ्जालको माध्यमबाट माया प्रेमको जालमा परी बालविवाह गर्ने गरेको धेरै उदाहरण रहेको बताउँछन् ।
“पहिला घरपरिवारले जबरजस्ती बालविवाह गरिदिन्थे, अहिले बालबालिका आफै फेसबुकको माध्यमबाट विवाहसम्म पुगेका छन्,” आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाही भन्छिन्, “बालविवाहको संख्या नघटेको र यसले घरेलु हिंसा, बहुविवाहदेखि आत्महत्याको अवस्थासम्म पुर्याउने गरेको छ।”
बालविवाहकै प्रसङ्गमा प्रेम विवाह ठिक कि मागी विवाह भन्ने प्रश्न पनि आइपुग्छ । दुबै थरी विवाहका आफ्नै गुण–दोष छन् । समाजमा पुरानो सोचाइ राख्नेहरू मागी विवाहमा विश्वास राख्छन् भने नयाँ पुस्ता भने प्रेम विवाहमा विश्वास गर्छ । प्रेम विवाह गर्दा केटा र केटीले एक अर्कालाई पहिल्यै राम्ररी बुझेका हुने पत्रकार एवं अधिकारकर्मी अमर सुनार बताउँछन् ।
उनका अनुसार अहिले मागी विवाह घटेको छ । यसको मुख्य कारण युवाहरूले जीवन साथीको छनोट आफै गर्न थाल्नु हो । अर्को, युवाहरू रोजगारीमा जुटेपछि मात्र विवाह गर्न थालेका छन् । बरु अहिले भागी विवाह बढेको छ ।
गैरसरकारी संस्था महासङ्घ दैलेखका अध्यक्ष, समाजसेवी ढिलकुमारी चन्द पहिले पनि भागी विवाह हुने गरेको, पछिल्लो समय यस्ता घटना बाहिर धेरै आउने भएकाले भागी विवाहको दर बढेको बताउँछिन् ।
करिब ४८ वर्ष अघि मुलुकी ऐन बन्दा विवाह गर्न महिलाको उमेर १४ र पुरुषको १८ वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरिएको थियो । समयक्रममा उमेर हद संशोधन हुँदै महिला र पुरुष दुवैले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने व्यवस्था लागू भयो । तथ्याङ्क हेर्ने हो भने २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने कानुन लागू भएयता बालविवाह दर कम हुँदै गएको देखिन्छ ।
सन् २०११ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले २० देखि २४ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै भएको उल्लेख गरेको छ । यही उमेरका पुरुषमध्ये ११ प्रतिशतको मात्र १८ वर्षअघि विवाह भएको सर्वेक्षणले देखाउँछ। करिब दस वर्षपछि भएको यस्तै सर्वेक्षणमा बालविवाह घटेको पाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको सर्वेक्षण अनुसार सन् २०२० मा ६ हजार १४२ बाल विवाह भएका थिए । अर्को वर्ष, २०२१ मा यो संख्या ४ हजार ६५६ मा झरेको थियो ।