Category: राजनीति

  • एमालेका दुई पक्षबीच धनुषामा झडप

    काठमाडौँ, मंगलबार, २३ वैशाख २०८२ । नेकपा (एमाले) का दुई पक्षबीच धनुषामा झडप भएको छ । एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनका क्रममा मंगलबार (वैशाख २३) झडप भएको हो । झडपक्रममा केही नेता–कार्यकर्ता घाइते भएका छन् ।

    अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयमा दुई पक्षबीच विवाद भएको थियो । विवाद उग्र र जनकपुरस्थित अधिवेशनस्थलमा झडपसम्म भयो ।

    यही वैशाख २० गतेदेखि अधिवेशन जारी छ । पार्टीको आन्तरिक विवाद भएको र हाल अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं एसपी नरहरि रेग्मीले बताए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो । भोला यादव र लक्ष्मीनारायण यादवले एमालेको धनुषा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

  • गोरखाका राजु गुरुङ कांग्रेसको स्थानीय तह समन्वय विभागमा मनोनित

    गोरखा, मंगलबार, १३ फागुन २०८१ । नेपाली कांग्रेसले स्थानीय तह समन्वय विभागमा गोरखाका राजु गुरुङलाई मनोनित गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले सिरानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङलाई मनोनित गरेका हुन् । नेपाली कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री मधु आचार्यको नेतृत्वमा विभाग गठन गरेको जनाएको छ। सो विभागको सदस्यमा गोरखाका गुरुङलाई पनि मनोनित गरेको विज्ञप्तिमा जनाइएको छ ।

    साथै, अन्य सदस्यहरुमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल(काभ्रेपलाञ्चोक), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला), निर्प खड्का (कैलाली) रहेका विज्ञप्तिमा उल्लेख छ ।

    सिरानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष राजु गुरुङले आफ्नो कार्यकालमा ऐतिहासिक गढीको संरक्षण र निर्माण, करोना नियन्त्रणमा गरिएको नमूना योग्य पहल, स्वास्थ्य तथा शिक्षा र खेलकुद क्षेत्रमा अब्बल गर्दै जनतासंगको सम्बन्ध अझै पनि ताजा नै रहेको छ ।

    राजु गुरुङको राजनैतिक यात्राको शुरुवात बि. स. २०४६ साल देखि नेपाली कांग्रेसको भातृ संगठन ने.बि संघको श्री जनकल्याण मा.बि तल्लो गोहोरे, गोरखाको इकाई सचिब भएदेखि उहाँको राजनैतिक यात्राको शुरुवात भएको थियो । क्याम्पसमा अध्ययनरत हुदा पनि ने. बि॰ संघमा क्रियाशील रहेका थिए । गोरखा काठमाडौँ प्रजातान्त्रिक समाज, काठमाडौँमा पनि सदस्य पदमा रही काम गरिसकेका गुरुङ, नेपाली कांग्रेस पार्टीको १२ औ महाधिबेशनमा निर्बाचित नेपाली कांग्रेस पार्टीको तर्फबाट जिल्ला कार्य समिति, गोरखाको सदस्य र फेरी १३ औ र १४ औ महाधिबेशन पछि गुरुङ पुन: नेपाली कांग्रेस पार्टीको तर्फबाट जिल्ला कार्य समिति, गोरखाको सदस्यमा रहेर आफ्नो महत्वपुर्ण भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।

  • नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

    काठमाडौँ, बिहीबार, १ फागुन २०८१ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

    उनले प्रतिस्पर्धी नेत्र चपाईंलाई पराजित गर्दै अध्यक्ष पद हासिल गरेका हुन् । पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले भट्टराईको विजयको जानकारी दिँइन् ।

    नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा आयोजना हुने सो पत्रकार सम्मेलनमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ। साथै, अध्यक्ष भट्टराईले विशेष सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।

    आईतबारदेखि प्रज्ञा भवनमा सुरु भएको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको हो। यसअघि महाधिवेशनको बन्द सत्रमा भट्टराईले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो।

  • जसपाका केन्द्रीय सदस्यसहित एक सय कांग्रेसमा प्रवेश

    काठमाडौँ, बुधबार, ३० माघ २०८१ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका एक सय जना नेत तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

    सभापति देउवाले खादा लगाउँदै उनीहरुलाई कांग्रेसको साधारण सदस्यता हस्तान्तरण गर्नुभएको छ । कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न सुझाव दिनुभयो ।

    सभापति देउवाले भन्नुभयो, ‘‘पार्टीमा नयाँ पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्याङ्कन गरेर अवसरको बाँडफाँट गरिने छ । तपाईंहरु सबैजना सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्न अनुरोध छ ।’’

    रामेछापका जिल्ला सभापतिसमेत रहेका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्न जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन समन्वय गर्नुभएको छ । नवप्रवेशीहरुलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकाले सङ्गठनलाई बलियो बनाउन लाग्न आग्रह गर्नुभयो ।

    पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो ।

    कांग्रेसमा प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

  • अबको पार्टी सभापति र प्रधानमन्त्रीमा डा. शेखर कोइराला : नेत्री सुजाता

    काठमाडौँ, सोमबार, २८ माघ २०८१ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अबको पार्टी सभापति र प्रधानमन्त्रीमा डा. शेखर कोइरालालाई प्रस्ताव गरेकी छन् । सोमबार जीपी फाउन्डेसन भक्तपुरको कार्यक्रममा उनले अब कांग्रेस सभापति र प्रधानमन्त्री दुवै डा. कोइराला हुने जिकिर गरेकी हुन् ।

    कांग्रेसलाई भूमिकाविहीन बनाइएको र देश विकासको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको भन्दै उनले यस्तो अवस्थामा पुर्‍याउने शेरबहादुर देउवालाई प्रधानमन्त्री र सभापति कुनै पनि पदमा अब स्वीकार नगर्ने उद्घोष गरिन् ।

    “कांग्रेसलाई यो अवस्थामा पुर्‍याउनेलाई अब कुनै पनि रूपमा अघि बढाउन सकिँदैन,” सुजाताले भनिन्, “अबको प्रधानमन्त्री शेखर कोइराला हो, अबको कांग्रेसको सभापति पनि डा. शेखर कोइराला नै हो ।” उनले फाउन्डेसन राजनीतिक फोरम नभए पनि आफूले यहीँबाट यस्तो घोषणा गरेको बताइन् ।

    देशमा प्रजातन्त्र कमजोर रहेको र कांग्रेस भूमिकाविहीन अवस्थामा देखिएको उनले टिप्पणी गरिन् । “देशमा प्रजातन्त्र एकदम कमजोर भएको छ । यो देश कांग्रेसले हाँकेको छैन, ओलीजीले लिड गरिराख्नुभएको छ । शेरबहादुरजी स्याडो (छाया) मा हुनुहुन्छ । उहाँ (देउवा) दिनभर केमा भुलिरहनुभएको छ मैले बुझ्न सकेको छैन,” उनले भनिन्, “विकास निर्माणका केही काम भइरहेका छन्, तर त्यसको श्रेय ओलीजीले एक्लै लिइराख्नुभएको छ ।”

  • कांग्रेसको १५औं महाधिवेशन २०८४ को चुनावअघि : महामन्त्री गगन थापा

    काठमाडौँ, शनिबार, १९ माघ २०८१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८४ को चुनावअघि नै हुने दाबी गरेका छन् । संस्थापन पक्षकै केही नेताहरुले महाधिवेशन आगामी निर्वाचनपछि गर्ने बताउँदै आएका बेलामा महामन्त्री थापाले महाधिवेशनको मितिबारे कुनै कन्फ्युजन नभएको बताए ।

    कांग्रेसको काठमाडौं महानगरपालिका– ७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान नमिल्ने बताए ।

    उनले भने, ‘२०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिराख्नुभएको छ । त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन । महाधिवेशन सार्न संविधानले पनि दिँदैन, चुनावअघि नै महाधिवेशन हुन्छ ।’

    निर्धारित मितिअनुसार कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र गरिसक्नुपर्नेछ, तर पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु निर्धारित समयमा महाधिवेशन गर्ने पक्षमा नरहेको इतर पक्षले आरोप लगाउँदै आएको छ ।

    इतर पक्षका नेता डा. शेखर कोइराला महाधिवेशन चाँडै गर्न पार्टी नेतृत्वलाई दबाब बढाउन देश दौडाहामा छन् ।

  • आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

    काठमाडौँ, मंगलबार, १६ पौष २०८१ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

    विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।

    भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्कनुभएको हो । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्कनुभएको थियो ।

    विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

    आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गर्नुभएको थियो । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उहाँलगायत नेता नेपाल फर्कनुभएको हो ।

    विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।

    सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेख्नुभएको थियो ।

    बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्त्तकका रूपमा चिनिनुहुन्छ । विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो ।

    दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

    कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले यस अवसरमा सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको सबुज कृष्ण बानियाँले जानकारी दिनुभयो । यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाएको छ । प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित हुन नहुने सरोकार भएकाहरू बताउँछन् ।

  • तरुण दलको संशोधित विधान हस्तान्तरण

    काठमाडौँ, शनिबार, १३ पौष २०८१ । नेपाल तरुण दलको महाअधिवेशन तयारी तीव्र हुँदै गएको छ । नेपाल तरुण दल महाधिवेशन निर्देशन समिति संयोजक महालक्ष्मी उपाध्याय ‘डिना’ र समिति सदस्य नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंङ बस्नेतले हालका अध्यक्ष विद्वान गुरुङलाई संशोधित विधान हस्तान्तरण गरेका छन् ।

    अधिवशेनका लागि २०८१ संशोधित विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरी नेपाली कांग्रेसकी सहमहामन्त्री उपाध्याय र पूर्व अध्यक्ष बस्नेतले हस्तान्तरण गरेका हुन् ।

    महाधिवेशन निर्देशन समितिको बैठकले तरुण दलको जिल्ला कार्यसमितिको अध्यक्षको समेत जिम्मेवारीमा रहेका विभिन्न जिल्लाका व्यक्तिहरुलाई पार्टी र जिल्लाका केन्द्रीय सदस्यहरुसँग समन्वय गरी जिल्ला अधिवेशन गराउन संयोजक तोकिएको निर्देशनानुसार सूचना जारी गरिएकोसमेत जनाएको छ ।

  • नेता डा. शेखरलाई भावी सभापति भन्दै नेता कार्यकर्ताको नाराबाजी

    धनगढी, शुक्रबार, ५ पौष २०८१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सुदुरपश्चिम यात्रामा निस्किएका छन्। १५ औँ महाधिवेशनमा सभापतिबाट हत्याउने दाउमा रहेका शेखर देश दौडाहामा लागेका हुन् ।

    कोइरालाको साथमा सांसद सुनिल शर्मा, हृदयराम थानीलगायतका नेताहरु सहभागी छन्। कोइरालाले सुदुरपश्चिका ९ जिल्ला सभापतिसहित नेता कार्यकर्तासँग भेट गर्ने तय भएको छ ।

    मंसिर १८ कोशी प्रदेशका पालिका सभापति भेला राखेका कोइरालाले सभापति शेरबहादुर देउवाको गृहजिल्लाबाट आफ्नो शक्ति परिक्षण गर्न लागेका हुन्। सुदूरपश्चिमको भ्रमणमा निस्केका कोइरालालाई धनगढीमा १५ किलोको मालाले स्वागत गरिएको छ ।

    देउवाको गृहप्रदेशमा पुगेका कोइरालालाई धनगढी विमानस्थालमा भेला भएका पार्टी नेता कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, शेखर दाईलाई ले भन्छ’ भन्दै नाराबाजी गरेका थिए ।

    १५ औं महाधिवेशनको तयारीमा रहेका नेता कोइरालाले ०८२ मंसिरभित्रै महाधिवेशन गराउनुपर्ने दबाब बढाइरहेका छन्। उनले आफ्नो सभापति देउवा र महामन्त्री गगन थापासँग कुनै विवाद नरहेको बताए ।

    धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१५ औँ महाधिवेशनमा मेरो सभापति दाबी स्वभाविक हो। अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी भएकाले तयारीमा लागेको हुँ ।’

  • गोरखाकाे ९ पालिकामा माओबादीकाे नयाँ नेतृत्व चयन

    गोरखा, मंगलबार, २ पौष २०८१ । गोरखाकाे ११ स्थानिय तह मघ्ये ९ वटामा नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनबाट अघिकांस पालिकामा नयाँ नेतृत्व चयन गरेको पार्टीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए ।

    ११ पालिका मध्ये २ नगरपालिका र ७ गाउँपालिकाको पार्टीको सम्मेलन सम्पन्न भइसकेको उनले बताए । २ पालिका मघ्ये सिरानचाेकमा अघ्यक्ष चयन गर्न बाँकी रहेकाे र चुमनुब्री गाउँपालिलकामा भेला हुन बाँकी रहेकाे उनले जानकारी दिए ।

    हिजाे सोमबारसम्म सम्पन्न भएका मघ्ये गोरखा नगरपालिका पार्टी समितिको तेस्रो सम्मेलनले रामहरी केसीको अध्यक्षतामा ४९ सदस्सीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा गोबिन्द भट्टराई, बिष्णुप्रसाद श्रेष्ठ, शर्मिला आले, सचिवमा हरि खनाल, सह-सचिवमा सुक बहादुर नेपाली र कोषाध्यक्षमा दन्डपाणी कट्टेल चयन भएको छ ।

    त्यस्तै पालुङटार नगरपालिकाको तेस्रो सम्मेलनबाट मदन देवकोटा नगरपार्टी समितिको अध्यक्षमा चयन भएका छन् । चयन भएकाे समितिको उपाध्यक्षमा शर्मिला बगाले, विकास वाग्ले र असोक मरहट्टा, सचिवमा शंकरराज कंडेल, सह-सचिवमा बालकृष्ण देवकोटा र कोषाध्यक्ष्मा चक्रबहादुर तामाङ रहेका छन् ।

    सहिद लखन गाउँपालिका पार्टी समितिको सम्मेलनबाट धु्रब खनाल अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा कृष्ण श्रेष्ठ, लिला श्रेष्ठ, भरत खनाल चयन भएका छन् । त्यस्तै सचिवमा अमृतबाबु श्रेष्ठ, सह-सचिवमा आँचल गुरुङ र कोषाध्यक्षमा गीता परियार चयन भएको पार्टी सचिव अकुर तिमल्सिना (आयाम) ले जानकारी दिए ।

    उनका अनुसार भीमसेन थापा गाउँपालिका पार्टी समितिको सम्मेलनबाट विनोद पाण्डे पुनः अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा सागर श्रेष्ठ, नारायण श्रेष्ठ र मदन शाक्य, सचिवमा रनिल राना, सह-सचिवमा यशोधा खनाल कट्टेल र कोषाध्यक्षमा सम्झना बसेल चयन भएका छन् ।

    त्यस्तै अजिरकोट गाउँपालिका पार्टी समितिको सम्मेलनबाट अध्यक्षमा कृष्णबहादुर गुरुङ, उपाध्यक्षमा बाबुराम अधिकारी, एलिना गुरुङ र एकबहादुर मगर, सचिवमा मनोज गुरुङ, र सह-सचिवमा दिपक बिकं चयन भएका छन् ।

    उता बारपाक सुलिकोट गाउँपालिकाको सम्मेलनबाट अध्यक्षमा नरबहादुर गुरुङ्ग पुनः चयन भएका छन् । उपाध्यक्षमा कृष्ण गुरुङ्ग, शुभप्रभात नेपाली, पुर्णबहादुर गुरुङ्ग, सचिवमा राजकुमार गुरुङ्ग, सह-सचिवमा नवराज तामाङ र कोषाध्यक्ष सृजना श्रेष्ठ (चौधरी) चयन भएकाे सचिव आयामले बताए ।

    त्यस्तै आरुघाट गाउँपालिका पार्टी समितिको सम्मेलनबाट अध्यक्षमा विष्णुप्रकाश खड्का, उपाध्यक्षमा कृष्णबहादुर नेपाली, राजकुमार ढकाल, सोवित श्रेष्ठ, सचिवमा गमबहादुर गुरुङ, सह-सचिवमा रमेश तिमल्सिना र कोषाध्यक्षमा सीमा परियार चयन भएका छन् ।

    गण्डकी गाउँपालिकाको सम्मेलनबाट अध्यक्षमा मिलन मगराती (संगम),उपाध्यक्षमा रामप्रसाद रेग्मी, तुलसी रेग्मी र पहलमान बयलकोटी, सचिवमा एकबहादुर थापा, सह-सचिवमा नेत्र चेपाङ, र कोषाध्यक्षमा मिना पन्त चयन भएका छन् ।

    त्यस्तैगरी, धार्चे गाउँपालिका पार्टी समितिको अध्यक्षमा सूर्यवहादुर गुरुङ, उपाध्यक्षमा मिनबहादुर सुनार, इन्द्रबहादुर गुरुङ र किसान गुरुङ, सचिवमा सरोज गुरुङ, सह-सचिवमा सुशील गुरुङ, कोषाध्यक्षमा प्रविना गुरुङ चयन भएकाे सचिव आयामले जानकारी दिएकाे छ ।