Category: वातावरण

  • काठमाडाैं उपत्यकामा आंशिक बदली

    काठमाडौँ, बुधबार, १६ माघ २०८१ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

    विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै कोशी,वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।

    विभागले बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाईउड्डनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • तराईका धेरै स्थानमा बाक्लो हुस्सु र शीतलहर, जनजीवन प्रभावित

    काठमाडौँ, सोमबार, १४ माघ २०८१ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

    दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    राती भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • सेप्टेम्बरमा उच्च तापक्रम, अत्यधिक वर्षाको नयाँ रेकर्ड

    काठमाडौँ, नेपालले सन् २०२४ को सेप्टेम्बरमा चार दशकयताकै ऐतिहासिक वर्षा र उच्च तापक्रमको सामना गरेको छ ।

    जल तथा मौसम विभागको प्रारम्भिक प्रतिवेदनले सेप्टेम्बरमा देशभर औसतका तुलनामा १७०.१ प्रतिशत वर्षा भएको देखाएको छ । सेप्टेम्बरमा सरदरमा २४२.९० मिलिटिर वर्षा हुने गरेकोमा यो वर्ष भने ४१३.१ मिलिमिटर पानी परेको थियो। यो सन् १९८१ यता सेप्टेम्बर महीनामा सबैभन्दा धेरै मापन गरिएको वर्षा हो ।

    यो महीना बागमतीदेखि सुदूरपश्चिमसम्मका विभिन्न भूभागमा ४०० मिलिमिटरभन्दा बढी वर्षा भयो। सबैभन्दा बढी वर्षा हेटौंडामा ७७८.७ मिलिमिटर रेकर्ड गरियो। एकै दिन उच्च वर्षाको रेकर्ड पनि यही महीना कायम भएको थियो ।

    सेप्टेम्बर २८ मा दामन स्टेशनमा २४ घन्टाको अवधिमा ४१० मिलिमिटर वर्षा मापन गरिएको थियो। जुन यो महीनाको सबैभन्दा ठूलो एकदिने वर्षा थियो ।

    मनसुनको अन्त्यतिर बाङ्लादेश र पश्चिम बंगाल नजीक गहिरो न्यूनचापीय प्रणालीले नेपालमा अत्यधिक वर्षा निम्त्याएको थियो । मनसुन सकिने वेला भएको असाधारण वर्षाले जलवायु परिवर्तनका संकेतलाई अझ स्पष्ट बनाएको छ। यो वर्षाले देशको मध्य र पूर्वी भागमा जनधनको ठूलो क्षति गराएको छ ।

    वर्षा मात्रै होइन, सेप्टेम्बरमा तापक्रमले पनि देशका अधिकांश भागमा नयाँ उचाइ कायम गर्‍यो। लहानमा २३ सेप्टेम्बरमा ३९.५ डिग्री सेल्सियसको सर्वाधिक तापक्रम मापन भयो । विभागले सेप्टेम्बर महीनामा देशका अधिकांश भूभागको औसतका तुलनामा बढी अधिकतम तापक्रम रेकर्ड भएको जनाएको छ । सेप्टेम्बरमा देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी पुगेको देखायो। यसले दिउँसो र राति बढी तातो अनुभूति भयो ।

    यो महीनाले धेरैलाई प्रश्न उठाउन बाध्य बनाएको छ- के यो चरम वर्षा र तापक्रमको वृद्धि जलवायु परिवर्तनको दिगो प्रभावका रूपमा देखा परेको हो ? देशका ग्रामीण तथा शहरी क्षेत्रमा पनि यसको प्रत्यक्ष असर देखिन थालेको छ । अत्यधिक वर्षाले धेरै ठाउँमा बाढी र पहिरो निम्त्याएको छ, जसले कृषि, पूर्वाधार र जीविकोपार्जनलाई नराम्ररी प्रभावित गरेको छ ।

    यस घटनाले नेपाल सरकारलाई विपद् व्यवस्थापन र जलवायु अनुकूलनमा पुनर्विचार गर्न घचघच्याएको छ । आज मात्रै विश्व ब्यांकले नेपाललाई आपत्‌कालीन प्रतिकार्य र विपद् प्रतिरोधात्मक क्षमतामा सुधार गर्न १५ करोड अमेरिकी डलर (करीब २० अर्ब रुपैयाँ) ऋण दिन स्वीकृति जनाएको छ ।