Category: विपद्

  • भूकम्पले सिन्धुपाल्चोकको दुगुनागढीमा पहिरो

    काठमाडौँ, शुक्रबार, १६ फागुन २०८१ । सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो गएको छ ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो ।

    “मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको छ,” प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, “घर नभएको ठाउँमा पहिरो गएकाले मानवीय क्षति हुन पाएन ।” हालसम्म मानवीय क्षेतिको जानकारी नआएको उनले बताए ।

    जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दी घाइते भएका छन् । “भूकम्प आएपछि आत्तिएर दोस्रो तलाबाट हामफाल्ने क्रममा एकजना कैदीको हात भाँचिएको छ,” जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक किरण लामाले भने, “उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ ।”

    क्षतिको अन्य विवरण नआएको उनले बताए ।

    राति २ : ५१ बजे सिन्धुपाल्चोकका भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • खानेपानी मन्त्रालयमा भएको आगलागी घटनाबारे अनुसन्धान गर्न समिति गठन

    काठमाडौँ, शनिबार, २६ माघ २०८१ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगलागीबाट क्षति पुगेको खानेपानी मन्त्रालयको अनुगमन गरेका छन् ।

    आज बिहान करिव ८:३५ तिर खानेपानी मन्त्रालयमा आगलागी हुँदा मन्त्रीको कार्यकक्षमा मुख्य क्षति भएको थियो ।

    साथै, आगलागीबाट छानाको भाग र विद्युतीय सञ्जाल लगायतमा क्षति पुगेपछि शहरी विकासमन्त्री सिंह नेतृत्वमा मन्त्रालयबाट स्थलगत अवलोकन भएको हो ।

    क्षतिको विवरण सुरक्षा निकायबाट लिँदै उनले सिंहदरबार परिसरको व्यवस्थापन यस मन्त्रालयको भएको कारण उक्त मन्त्रालय पूर्ववत सञ्चालन गरी सेवा प्रवाह नियमित गर्न तत्काल मर्मत सम्भार कार्य गर्न निर्देशन समेत दिएका थिए ।

    मन्त्री सिंहको निर्देशनपछि शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आजैबाट मर्मत कार्य शुरू गरेको निमित्त सचिव पद्म कुमार मैनालीले जानकारी दिए ।

    साथै, उक्त घटनाको क्षति मूल्याङ्कन सहित सिंहदरबार परिसरमा यस्ता घटना दोहोरिन नदिन तथा सोको पूर्व तयारीका लागि सिफारिससहित एक हप्तामा प्रतिवेदन पेश गर्न समिति समेत गठन गरिएको छ ।

  • खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा, घटनाको अनुसन्धान हुँदै : मन्त्री यादव

    काठमाडौँ, शनिबार, २६ माघ २०८१ । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

    शनिवार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । बिहान अकस्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ । मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ । आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताउनु भयो ।

    अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताउनु भयो । शुक्रवार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिनुभयो । पानी तताउने मेसिन होला भनेर छोडेको भएपनि आज भने आगलागी भएको बताउनु भयो । प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने बताउनु भयो । दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट लगायतको क्षति भएको बताउनु भयो । अति आवश्यक डकुमेण्टमा भने कुनै क्षति भएको बताउनु भयो ।

    खानेपानी मन्त्रालयमा पुग्नुभएका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताउनु भयो । उहाँकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । शुक्रवारदेखि नै विद्युत सर्ट भएको गन्ध आएको र आज आगलागी भएको हनुसक्ने बताउनु भयो । ठूलो क्षति हुनबाट जोगिएको बताउनु भयो ।

    मन्त्रालयको पूरा भवनमै विद्युत वायरिङको जाँच हुने बताउनु भयो ।

  • ललितपुरमा अझै मर्मत भएन असोजको बाढीले क्षति पुर्‍याएको पुल

    ललितपुरमा अझै मर्मत भएन असोजको बाढीले क्षति पुर्‍याएको पुल

    ललितपुर, आइतबार, २८ पौष २०८१ । बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
    ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो ।

    बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ ।

    ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन् ।

    साँघुरो पुलमा अहिले प्रायःजसो दुईपाङ्ग्रे सवारी साधानको जाम हुने गरेको छ। नख्खुडोलका स्थानीय कमल राईले कार्यालय समयमा पुलमा अत्यधिक जाम हुँदा समस्या भइरहेको बताए ।

    ‘बाढीले क्षति गरेको चार महिना बित्न आँटिसक्यो, अहिलेसम्म जीर्ण अवस्थामा रहेको नख्खुडोल पुल अझै मर्मत भएको छैन। यसले गर्दा आवातजावत गर्न निकै असहज भएको छ,’ उनले भने ।

    पुल मर्मतका लागि ललितपुर महानगरपालिकाले ६७ लाख विनियोजन गरेको छ। ललितपुर महानगरपालिका–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले पुल मर्मत चाँडै सुरु गरिने बताए ।

    ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले पुल मर्मतमा विलम्ब भएको बताइन् ।

    ‘अहिले अस्थायी रुपमा मोटरसाइकल आवातजावत गर्न मिल्ने बनाइएको छ। पुल मर्मतमा ढिलासुस्ती हुँदा स्थानीयलाई आवातजात गर्न असहज भएको पक्कै हो, अब छिट्टै समस्याको समाधान हुन्छ,’ उनले भनिन् ।

  • ललितपुरका बाढीप्रभावितले अझै पाएनन् राहत रकम

    ललितपुर, सोमबार, १७ मङ्सिर २०८१ । गत असोज १२ गतेको बाढीले दक्षिण ललितपुरको तीन स्थानीय तहमा ठूलो क्षति पुर्‍यायो । एक सय बढी घर विस्तापित भए । बाढीले क्षति पु¥याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको रु ५० हजार राहत रकममध्येको पहिलो किस्ता रु २५ हजारसमेत पीडितले प्राप्त गरेका छैनन् ।

    ललितपुर महानगरपालिकाको नख्खु करिडोर, महाङकाल गाउँपालिकाको थोत्ने खोला, कोञ्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका बागमती गाउँपालिकामा बाढीले ठूलो क्षति पु¥याएको थियो । थोत्ने खोलाको बाढीले ४८ घर पूर्णरुपमा विस्तापित छन् । दिनानुदिन चिसो बढ््दै गएकाले बासको व्यवस्था गर्न नसकेको पीडितको गुनासो छ ।

    तीन वटै पालिकाको सिफारिसमा क्षति विवरण आएपछि राहत रकम स्वरुप पहिलो किस्ताबापत्को रु २५ हजार प्रदान गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी गराए ।

    उनले भने, “पालिकाको सिफारिसमा आएको क्षति विवरणसहितको फाराम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनलाइनमा अपडेट गरेपछि प्रक्रिया अगाडि बढ्नेछ ।” हालसम्म कञ्ज्योसम गाउँपालिका बाहेक अरु पालिकाको विवरण प्राप्त नभएको उनको भनाइ छ ।

    महाङ्काल गाउँपालिका मनिखोला-२ थोत्ने खोलाको बाढीले विस्तापित ६७ घरसहित पालिकाभरिको ९७ बाढीपीडितको विवरण सङ्कलन भएको महाङ्काल गाउँपालिका– २ का अध्यक्ष जोनीकुमार न्यासुरको भनाइ छ । अध्यक्ष न्यासुरले भने, “हाम्रो पालिकाको क्षति विवरण आइसकेको छ, सायद अन्य पालिकाबाट विवरण नआएर हुनसक्छ पीडितले राहात रकमको पहिलो किस्तासमेत पाएका छैनन् ।”

    थोत्ने खोलाको बाढीले घरबास बगाएपछि ललितपुर सातदोबाटोमा बस्दै आएका बुद्धिमान स्याङ्तान हाल महाङ्काल गाउँपालिका—२ मनिखोलमा टहरा बनाएर बसिरहेका छन् । स्याङतानले भने, “बाढीले क्षति पुर्‍याएको ठाउँ सुनसान छ । आफ्नो जग्गा जमिन कहानेर थियो भन्ने ठम्याउनै गाह्रो छ । सरकारले दिने भनेको ५० हजार बराबरको पहिलो किस्ता नै अझै पाइएको छैन ।”

  • कोन्ज्योसोमको राहत कोषमा टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग

    ललितपुर, सोमबार, १२ कात्तिक २०८१ । कोन्ज्योसोम गाउँपालिकाकाले बाढी पहिरोबाट प्रभावितहरुको राहत उद्धार तथा पुर्नस्थापनाको लागि टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग गरेको छ ।

    गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आठ लाख ५८ हजार रकम नगद सहयोग प्राप्त भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कोज्योसोम गाउँपालिकामा गत असोज ११ र १२ गते परेको अबिरल वर्षाले बाढीपहिरो आइ ठूलो धनजनको क्षति भएको जानकारी दिँदै पीडितको राहत र उद्धारका लागि टिकटक समूहले उक्त रकम कोषमा प्रदान गरेको बताउनु भयो ।

    सहयोग गर्नुहुने सम्पूर्णलाई कोन्ज्योसोम गाउँपालिकाले सहयोग गर्दै आएको छ । अहिले बाढीपीडितका लागि गाउँपालिकाले क्रमिक रुपमा पुनस्थापना गर्ने कार्य अगाडि बढाइरहेको छ ।

  • विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलपल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठक सुरु भएको छ ।

    प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा उक्त मनसुनजन्य विपद्का घटनाबाट मृत्यु भएका व्यक्तिका परिवारको स्वास्थ्य बीमा, प्रभावितका लागि अस्थायी आवास निर्माण, पुनः निर्माण तथा पुनःस्थापनालाई तीव्रता दिने, विपद्पश्चातको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन थप हेलिकप्टर व्यवस्था गर्ने सहित सात प्रस्ताव रहेका छन् ।

    बैठकमा २०८० कात्तिक १९ पछिको सम्पूर्ण विपद्का घटनाहरुको समीक्षा गर्ने, त्यसयताका घटनामा मृत्यु भएका व्यक्ति, सुरक्षाकर्मी, एवं खोज तथा उद्धारका क्रममा खटिइ मुत्यु भएका सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्ने र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने, विपद्पश्चातको खोज, उद्धार तथा राहत वितरणलगायतका कार्यमा सम्लग्न सबै व्यक्ति एवं सङ्घ–संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्ने पनि कार्यसूची रहेको छ ।

    बैठकमा परिषद्का सदस्यहरु उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुलगायत सहभागी हुनुहुन्छ भने परिषद्को सदस्य रहनुभएका प्रमुख विपक्षी दलका नेता उपस्थित हुनुभएको छैन ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलले ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा भएको उक्त मनसुनजन्य विपद्का कारण स्वदेशी र विदेशीसहित दुई सय ५० को मृत्यु भएको बताउनुभयो ।

    उहाँले प्रारम्भिक अध्ययनमा रु ४६ अर्ब बराबरको क्षति भएको जानकारी गराउनुभयो । नेपाल सरकारले उक्त विपद्बाट अति प्रभावित ७१ पालिका रहेको घोषणा गरिसकेको छ ।

  • विपद् प्रभावित प्रत्येक स्थानीय तहलाई रु ५० लाखदेखि रु एक करोडसम्म राहत उपलब्ध गराउने

    काठमाडौँ, १ कात्तिक । विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ ।

    क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको हाे ।

    सिंहदरबारस्थित विपद् प्राधिकरणको कार्यालयमा आज गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७औँ बैठकले विपद्बाट प्रभावित मुलुकका ७१ स्थानीय तहलाई राहत रकम दिने निर्णय गरेको छ । प्रभावित स्थानीय तहलाई तीन भागका वर्गीकरण गरी राहत रकमस्वरुप प्रत्येक स्थानीय तहलाई रु ५० लाखदेखि रु एक करोडसम्म उपलब्ध गराउने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो ।

    त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहतस्वरुप प्रभावित पालिकालाई रकम उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा सिफारिस गर्ने समेत निर्णय गरिएको उहाँले बताउनुभयो ।

    दीर्घकालसम्मका लागि पुनःनिर्माण र पुनःस्थापना गर्न उल्लेखित विपद्का कारण भएको विस्तृत क्षति आँकलन यथाशीघ्र गर्ने र सो प्रतिवेदनका आधारमा पुनःनिर्माण र पुनःस्थापनाको कार्य अघि बढाउन सम्बन्धित क्षेत्रगत निकायले आवश्यक व्यवस्था मिलाउने तथा सो कार्यका लागि आवश्यक बजेट व्यवस्थापन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको सहसचिव अधिकारीले बताउनुभयो ।

    त्यसैगरी गत वर्ष जाजरकोट, बझाङ र डोटीमा गएको भूकम्प पश्चातको क्षति आँकलन तत्काल अघि बढाएर स्थायी निजी आवास पुनःनिर्माण प्रक्रियाको विस्तृत कार्ययोजना तयार गर्न प्राधिकरणलाई निर्देश गर्ने निर्णय गरिएको छ ।

    त्यसैगरी मनसुन अवधिभर (२०८१ जेठ २८ गतेदखि असोज २६ गतेसम्म) भएका विभिन्न विपद्जन्य घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने र निःशुल्क स्वास्थ्य बीमाको प्रबन्ध गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने समेत निर्णय गरिएको छ ।