Category: साहित्य

  • विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा

    काठमाडौँ, बिहीबार, १ फागुन २०८१ । सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा गरिने भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व पुस्तकालय सम्मेलनले सन् २०२६ को सम्मेलन श्रीलङ्का र सन् २०२७ को नेपालमा गर्ने निर्णय भएको छ ।

    नेपालमा त्यस्तो सम्मेलन गर्दा पुस्तकालय सूचना विज्ञानको प्रगति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्न मञ्च प्रदान गर्ने जनाइएको छ । सन् २०२५ को सम्मेलनमा ज्ञान साझेदारी, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यमा पुस्तकालयको भूमिकालाई सुदृढ बनाउन सफल भएको नेपाल पुस्तकालय सङ्घले जनाएको छ ।

    नयाँ दिल्लीमा सम्पन्न सम्मेलनले पुस्तकालय कूटनीति र डिजिटल रूपान्तरणमा भविष्यका नवप्रवर्तनका लागि बलियो जग बसालेको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा नेपालका तर्फबाट नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदी र सञ्जीवकुमार चौधरीलगायतको सहभागिता रहेको थियो ।

  • नेपाली कलासाहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान एवं पुरस्कार प्रदान

    काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो ।

    कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राडा.वीणा पौड्याललाई राष्ट्रिय कलाश्री सम्मान अर्पण गरिएको थियो । यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई अर्पण गरिएको थियो । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ छ ।

    यसैगरी स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई अर्पण गरिएको थियो । बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार लेखक तथा पत्रकार वसन्त बस्नेत, थिरछायाँ राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देल र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक कमलीकान्त भेटवाललाई दिइएको छ ।

    राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछायाँ कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०-५० हजार रुपैयाँ राशि छ ।

    कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कलासाहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्ने बताउनुभयो । ‘कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्नसक्नुपर्छ । अहिले त्यो भावना घटेर ‘म’ मा बढ्ता सीमित भएको छ । तर संस्थागत रूपमा गरिने क्रियाकलापलाई हामीले प्रोत्साहन गर्नुपर्छ’, उहाँले भन्नुभयो । मौलिक राष्ट्रिय भावनाका लागि योगदान दिनु नै कला साहित्यको मूल ध्येय हुनुपर्ने पूर्वसचिव विमल कोइरालाले बताउनुभयो ।

    संस्थाकी अध्यक्ष मोमिलाले साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा अझै उचाई बढाउनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो सम्मानको विरासत र वर्तमानले साहित्य लेखनलाई अझै उचाइमा लैजान सकोस्, संस्कृति र कलाको क्षेत्रमा अझै महत्वपूर्ण योगदान गर्न सकोस् भनेर हामीले पारदर्शिता र निष्पक्षता राख्न सकेका छौं’, उहाँले भन्नुभयो ।

    प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कवि राजेश्वर कार्कीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य र समग्र गतिविधिबारे प्रकास पार्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा युवा समालोचक महेश पौडेलले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको विस्तृत परिचय राख्नुभएको थियो ।

    कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार शंकरप्रसाद कोइराला, प्राडा.गोविन्दराज भट्टराई, लेखकहरू भागिरथी श्रेष्ठ, उषा शेरचनलगायत सहभागी हुनुहुन्थ्यो । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।

  • ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ लाेकार्पण

    काठमाडौँ, मंगलबार, १८ मङ्सिर २०८१ । बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले डा.देवी क्षेत्री दुलालकाे ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ काे लाेकार्पण गरेको छ ।

    नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालको प्रमुख आतिथ्यमा उपन्यासकाे लाेकार्पण भएकाे हाे ।

    प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिसाल, प्राडा गोविन्दराज भट्टराई, पूर्व मन्त्री सोमनाथ बास्तोला, पूर्व सांसद् अगम बान्तवा र उपप्राध्यापक युद्धप्रसाद वैद्यद्वारा उक्त उपन्यासको संयुक्त रूपमा लाेकार्पण गरिएकाे हाे ।

    प्रमुख अतिथि रिसालले उक्त कार्यक्रमकाे सम्बोधन गर्दै ‘कर्णेल गजराजसिंह थापा’ जस्तो ऐतिहासिक र जीवनीपरक उपन्यास सिर्जना गरेकामा उपन्यासकार दुलाललाई बधाई ज्ञापन गर्दै नयाँ पुस्ताले अग्रज पुस्ताकाे योगदानबाट हाैसला लिंदै लक्ष्य भेदनमा पुग्नुपर्ने बताइन् ।

    उनले इलाममा चिया खेतीको प्रारम्भ गरेका ’चिफ कर्णेल गजराजसिंह थापा’ को व्यक्तित्वको चित्रण उपन्यासले गरेको बताइन् । चिया उद्योग सञ्चालन र प्रवर्द्धन गरी सामाजिक र आर्थिक क्षेत्रमा पुर्‍याएको ऐतिहासिक योगदान नयाँ पुस्तासम्म पुर्याउन उक्त उपन्यास गतिलो दस्ताबेज बनेको पनि उनले बताइन् ।

    प्रमुख अतिथि रिसालले आफू प्रज्ञाप्रतिष्ठानको सामाजिशास्त्र विभागको नेतृत्वमा रहेकाले सामाजिकशास्त्रसम्बन्धी यस्ता खोज तथा अनुसन्धानमूलक सामग्रीहरूको प्रवर्द्धन गर्दै स्रष्टालाई निरन्तर प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

    इलाम नगरपालिकास्थित अरनिको सङ्ग्रहालय (लालदरबार) को हलमा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं प्रमुख वक्ता प्राडा गोविन्दराज भट्टराईले पुस्तकमा थापाको ऐतिहासिक योगदानलाई अभिलेखीकरण गरिएको र नेपालको पहिलो उद्योग इलामको चिया कारखाना भएको तथ्य समेत उजागर गरेका थिए ।

    यस्तै युद्धप्रसाद वैद्यले पनि पुस्तक र इलामको इतिहासबारे आफ्नो भनाइ राखेका थिए ।

    उपन्यासकार डा. क्षेत्री दुलालले आफूले यो पुस्तक निकै लामो समयको खोजअनुसन्धान गरेर मात्रै तयार पारेको बताए ।

    विस १९२० मा कर्णेल थापाले नै इलाममा चिया खेतीको सुरुवात गरेका थिए । कर्णेल गजराज सिंह थापाले इलामको चिया खेतीको सुरुवात र बिस्तारमा योगदान पुर्‍याएको चर्चा छ । १९३५ सालमा इलाममा चिया उद्योग स्थापना गरी थापाले पूर्वी क्षेत्रलाई कृषिमार्फत आर्थिक क्रान्तिमा जोडेको विषय उपन्यासमा उल्लेख छ ।

  • गुरुङको ‘निरजोया’ को संघीय विमोचन तथा अन्तरविमर्श

    गुरुङको ‘निरजोया’ को संघीय विमोचन तथा अन्तरविमर्शकाठमाडौँ, शुक्रबार, २३ कात्तिक २०८१ । साहित्यकार दाजु गुरुङको तेस्रो तथा पहिलो उपन्यासकृति ‘निरजोया’ को काठमाडौंमा विमोचन तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरिएको छ ।

    हङकङ प्रवासी संखुवासभा, मादीका गुरुङको यो उपन्यास यसअघि कोशी प्रदेशको इटहरीमा र हङकङमा विमोचन गरिएको थियो । सभ्यता अन्वेषण केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा.गोविन्दराज भट्टराई, विशिष्ट अतिथि कवि तथा प्राज्ञ श्रवण मुकारुङ, कवि तथा प्राज्ञ शशी लुमुम्बू, साहित्यकार तथा समालोचक डा.अशोक थापा, निबन्धकार, समालोचक तथा सम्पादक राजकुमार बानियाँ, कवि कल्पना काफ्ले, कवि तथा समीक्षक उमेश अवस्थी आदर्शलगायतले विमोचन गर्नुभएको थियो ।

    विमोचन कार्यक्रममा बोल्दै डा.भट्टराईले नेपाली डायास्पोरिक साहित्य लेखनमा स्थापित साहित्यकार गुरुङले मलेसिया र हङकङको नेपाली डायास्पोरिक समाजको गहिरो अध्ययन गरी ‘निरजोया’ लेखेको आफूले बुझेको बताउनुभयो । ‘दाजुका यसअघि आएका कथाकृति ‘टाँकीका फूलहरू’ र ‘लाई–सी’ अत्यन्त पठनीय कृति थिए । यो उपन्यासकृति ‘निरजोया’ झनै उत्कृष्ट रूपमा आएको छ । यसको विषयवस्तु, भाषाशैली, कथावाचन सबै रुचिकर छन्’, डा.भट्टराईले भन्नुभयो ।

    प्राज्ञ मुकारुङले गुरुङको ‘निरजोया’ उपन्यासले पाठकलाई गहिरो प्रभाव पार्ने उल्लेख गर्दै कृतिले पाठकलाई तान्ने नभएर पाठक चाहिँ कृतिप्रति तानिनुपर्नेमा जोड दिनुभयो । डा.थापाले ‘निरजोया’माथि समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसमा माया–प्रेम, स्नेह, सद्भाव र नैतिकता भन्ने कुरा संकटमा पर्दै गइरहेको कुराई गम्भीर ढंगले उठाएको पाएको विचार व्यक्त गर्नुभयो । उहाँले गुरुङको लेखनशैली विशेष किसिमको रहेको उल्लेख गर्दै उपन्यास ‘निरजोया’ पठनीय कृति रहेको जिकिर गर्नुभयो ।

    राजकुमार बानियाँले उपन्यासकार गुरुङमा विषयवस्तुको खोज, पात्रहरूको चयन र लेखनशैली मौलिक रहेको बताउँदै ‘निरजोया’ नेपाली साहित्यका लागि नितान्त नयाँ स्वादको भएको धारणा राख्नुभयो ।

    सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष प्राज्ञ शशी लुमुम्बूको सहजीकरणमा भएको कार्यक्रममा कल्पना काफ्लेले ‘निरजोया’ को भाषाशैली काव्यात्मक किसिमको रहेको भन्दै पुस्तक एकै बसाईमा पढिसकिने बताउनुभयो । उमेश अवस्थी आदर्शले पुस्तकले पृथक स्वाद पस्केको विचार व्यक्त गर्नुभयो । फिनिक्स बुकले प्रकाशन गरेको २९४ पृष्ठको यस पुस्तकको मूल्य ४९९ रुपैयाँ राखिएको छ ।

  • ‘विमल गुरुङ कृति पुरस्कार’का लागि १० कृति सार्वजनिक

    धरान, शनिबार, ३ कात्तिक २०८१ । ‘विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि छनाेट गरेका १० श्रेष्ठ कृतिहरु सार्वजनिक गरेको छ । धरान–१८ मा रहेको कवि विमल गुरुङ स्मृति पुस्तकालयले शुक्रबार छनाेटमा परेका कृतिहरुको नाम सार्वजनिक गरेको हो ।

    छनोट भएका पुस्तकहरुमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासङ्ग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता सङ्ग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध सङ्ग्रह प्रश्नहरु त बाँकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता सङ्ग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निबन्ध सङ्ग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रवीण खालिङको निबन्ध सङ्ग्रह चियागफ, मन्जुला तामाङ सुब्बाको कविता सङ्ग्रह कुहिरोभित्र घुम जोरबङ्गलो छन् ।

    स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित एक सय १ वटा पुस्तक प्राप्त भएको आयोजकले जनाएको छ । यिनै १० कृतिमध्ये एक कृतिलाई ताम्रपत्र सहित २०८० सालको विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो । पुरस्कार राशी २ लाख रुपियाँको छ । पुस्तकालयले दुइ वर्षअघि देखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ ।

    यसैगरी विगत ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवका लागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनाेट गरेको छ । महोत्सवका लागि प्राप्त भएका ८१ कवितामध्ये १० कविता छनाेट गरिएको आयोजकले जनाएको छ । पुस्तकालयले सार्वजनिक गरेका कविताहरुमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारै किनार, मोरङका समीक्षा छिलिङ राईको फूल र म, इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रशान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैंचाको अर्गानिक मुस्कान र सुनसरीका दीपा मग्रातीको देशमा मेरो अनुहार छन् ।

    उत्कृष्ट १० मध्ये प्रथमलाई नगद २१ हजार रुपियाँ, दोस्राेलाई १८ हजार रुपियाँ र तेस्राेलाई १७ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    विमल गुरुङ कृति पुरस्कार र कवितामा विजयी उत्कृष्ट तीनजनालाई २०८१ कात्तिक २४ गते पुस्तकालय भवनमा आयोजना हुने कवि विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औं राष्ट्रिय कविता महोत्वमा पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।