Category: स्वास्थ्य

  • हेमोफिलिया बिरामीलाई निःशुल्क औषधी

    काठमाडौँ, मंगलबार, २३ वैशाख २०८२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ । समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच गत फागुन ४ गते सम्झौता भएको थियो ।

    सम्झौताअनुसारको औषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया सुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो । ‘‘पाँच प्रकारका औषधी आएको छ’’, उहाँले भन्नुभयो, ‘‘आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने छ ।’’

    मन्त्रालयले सङ्घीय राजधानी काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधी वितरण गर्ने भएको छ ।

    यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलले निर्णय गर्नुभएको थियो ।

    निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । त्यसअनुसार औषधी व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबिच यससम्बन्धी सम्झौता भए पछि वितरणको प्रक्रिया सुरु भएको हो ।

    अब महासङ्घबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधी मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

    विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।

  • ‘गर्भवती र नवजात शिशु’ को पोषण सुधारमा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण

    काठमाडौँ, शनिबार, १६ चैत्र २०८१ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नवजात शिशु र गर्भवतीको पोषण सुधारमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

    फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘न्युट्रिसन फर ग्रोथ पेरिस २०२५’ मा सम्बोधनका उनले मातृ शिशु पोषण सुधारमा नागरिक तहसम्मै सचेतना तथा सेवा प्रवाहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथ महत्त्वपूर्ण रहेको बताएका हुन् ।

    मन्त्री पौडेलले पछिल्ला दुई दशकमा नेपालले पाँच वर्षभन्दा मुनिका बालबालिकामा हुने पुड्कोपनामा ३२ प्रतिशत कमी ल्याएको बताए । सन् २००१ मा नेपालमा ५७ प्रतिशतमा समस्या देखिए पनि हाल यो २५ प्रतिशतमा घटेको सरकारी तथ्यांक छ ।

    गर्भवतीलाई आइरन र फोलिक एसिड पूर्तिका लागि सरकारले दिने चक्कीका कारण यसको उपलब्धतामा ६५ प्रतिशत वृद्धि भएको उनले स्पष्ट पारे । नेपालमा छ प्रतिशत गर्भवतीमा आइरन र फोलिक एसिडको पूरकता रहेकामा हाल यसमा वृद्धि भएर ७१ प्रतिशत पुगेको छ ।

    उनले भने, “दुवै क्षेत्रमा हामीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । यस कार्यक्रमलाई समुदाय स्तरमै पुर्‍याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र सरकारहरुबीचको समन्वयको भूमिका महत्त्वपूर्ण छ ।’

    मन्त्री पौडेलले विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषक आहारा तथा नगद सहायताका साथै गर्भवती र नवजात शिशुलाई भिटामिन ए पूर्ति, आइरन चक्की जस्ता कार्यक्रमजस्ता नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

    उनले स्थानीय स्वयंसेविकाको क्षमता अभिवृद्धिमा न्यून कार्यक्रम, बजेटमा कमी तथा विभिन्न क्षेत्रको सहकार्य चुनौती भने नेपालसामु रहेको उल्लेख गरे । नेपालको मातृ शिशु पोषण सुधारको अनुभवले बहुक्षेत्रीय सहकार्य, सामुदायिक संलग्नता तथा दिगो राजनीतिक प्रतिबद्धताले कुपोषणको समस्या सम्बोधन गर्न भूमिका खेलेको अनुभव मन्त्री पौडेलले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायसँग साझा गरे ।

    सम्मेलनमा सहभागी हुनु पूर्वमन्त्री पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुको पोषण स्तरमा सुधारका लागि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थासँग वार्ता गरेका थिए । अमेरिकी परोपकारी संस्था ‘एलेनर क्रुक फाउण्डेसन’ले गर्भवती र नवजात शिशुमा विभिन्न १५ प्रकारका पोषण आपूर्ति गर्ने मन्त्रालयको योजनामा साथ दिने प्रतिबद्धता जनाएको छ ।

  • गोरखाको धार्चे केरौजामा निःशुल्क स्वास्थ्य शिविर, ७ सय ७४ जनाले लिए लाभ

    गोरखा, मंगलबार, २१ फागुन २०८१ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२, स्थित केरौजामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ७४ जनाले उपचार सेवा लिएका छन् ।

    दुर्गम भेगका नागरिकमा सहज स्वास्थ्य उपचारको पहुँच पु¥याउन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

    शिविरमा १७७ जनाले स्त्री तथा प्रसुती रोगको उपचार सेवा लिएका छन् भने ३ सय ३४ जनाले नाक, कान र घाँटीको उपचार गराएका शिविर आयोजक समितिका संयोजक एवं मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङ्गले बताउनुभयो । शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये १५६ जनाले युएसजी, ७२ जनाले इसिजी सेवा लिएको उहाँको भनाई छ ।

    ग्रीन सिटी हस्पिटल काठमाडौँको प्राविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोगमा दुई दिने शिविर सञ्चालन गरिएको हो । केरौजा स्वास्थ्य चौकीमा भएको शिविरमा ११७ जना महिलाको पाठेघरको मुखको क्यान्सरको पूर्वपहिचानका लागि ‘भिआइए’ जाँच गरिएको गुरुङले बताउनुभयो ।

    जसमध्ये १५ जनामा ‘भिआइए’ रिर्पोट पोजेटिभ देखिएपछि उनीहरुको थप परीक्षणका लागि नमुना संकलन गरी पठाइएको छ । त्यस्तै शिविरमा पाठेघर खस्ने समस्या भएका १० जना महिलाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।

    शिविरमा ग्रीन सिटी हस्पिटलकी बरिष्ठ स्त्रीरोगरोग तथा क्यान्सर विशेषज्ञ डा.अनिता थापा, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.चेतना पाठक, अल्ट्रासोनोलिजिष्ट डा.विनोद शाह, जनरल फिजिसियन डा.प्रवेश गौतम, डा.निता जिसी, फ्रान्सेली डा.लोरेन्जलगायतका चिकित्सकको टोलीले उपचार सेवा प्रदान गरेका थिए ।

    गाउँमै चिकित्सकबाट स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीय नागरिक खुशी भएका छन् ।

  • बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

    काठमाडौँ, बिहीबार, ८ फागुन २०८१ । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरेका हुन् । प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने जनाइएको छ ।

    नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि केही दिनअघि प्राप्त गरेको थियो । पहिलो चरणमा एक वर्षका लागि तीन प्रकारका औषधि प्राप्त भएका थिए । डब्लुएचओ र ‘सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’को संयुक्त सहकार्यमा विसं २०८० चैत १४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र डब्लुएचओबीच बाल क्यान्सर उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सम्झौता भएको थियो ।

    औषधी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनको काम गरिरहेको बताए । उनले भने, “कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित हुन नपरोस् भनी निःशुल्क उपचारको व्यवस्था गरेका छौँ । औषधिको सहयोगले बालबालिकाको क्यान्सर उपचार प्रभावकारी हुनेमा विश्वस्त छौँ ।”

    सम्झौताअनुसार आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) का लागि ती संस्थाले ले ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउनेछ । यस कार्यक्रममार्फत औषधि प्रदान गर्नुको साथै ती औषधिको उचित भण्डारण र व्यवस्थापनमा चार वटा अस्पताललाई आवश्यक ‘रेफ्रिजेरेटर’ र ‘हाइग्रोमिटर’ खरिद गरी सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा हरेक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सीमित पहुँच र स्रोत अभावका कारण तीमध्ये करिब एक–तिहाइले मात्र उपचार पाउने गरेका छन् । नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ । विकसित मुलुकमा यो दर ८० प्रतिशत भन्दा बढी छ ।

  • गोरखाको सिरानचोक गाउँपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न

    गोरखा, मंगलबार, ६ फागुन २०८१ । गोरखाको सिरानचोक गाउँपालिकामा नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

    सिरानचोक गाउँपालिकाको आयोजनामा नेपाल नेत्रज्योति संघ,भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सिरानचोक गाउपालिका वडा नं
    ४ चोरकाटे आधारभुत स्वास्थ्य केन्द्रमा सोमाबार शिविर सम्पन्न भएको हो । उक्त नि:शुल्क आँखा शिविरमा ६१ जनालाई गरिएको आँखा परिक्षणमा १७ जनालाई मोति बिन्दु देखिएको सिरानचोक गाउँपालिका स्वास्थ साखा प्रमुख टुकमान श्रेष्ठले जानकारि दिनुभयो ।

    १६१ जनामा आँखा जाँच गरिएकोमा १७ जनालाई मति बिन्दु, ५८ जनालाई चस्मा वितरण गरिएको र बाँकीलाई सामान्य सल्लाह सहित ओैषधि बितरण गरिएको थियोू श्रेष्ठले बताउनुभयो । मोतिबिन्दु भएका बिरामीलाई भरतपुर आँखा अस्पतालमा निसुल्क सल्यक्रिया हुनेछ। सल्यक्रिया गर्ने १७ जना बिरामीलाई फाल्गुन ५ गते नै भरतपुर अस्पताल लगिएको छ भने ६ गते सल्यक्रिया हुने छ । ूदृष्टिमा समस्या भएका ५८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको श्रेष्ठले भन्नूभयो ।

    साथै, गाउँपालिकाद्वारा ५८ जनालाई चश्मा समेत बितरण गरिएको उहाँले बताउनु भयो । १७ जनालाई मोतियाबिन्दु अप्रेशनको लागि भरतपुर आँखा अस्पतालमा पठाइएको छ ।

  • हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

    काठमाडौँ, आइतबार, ४ फागुन २०८१ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच सम्झौता भएको छ ।

    औषधि व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता गत शुक्रबार भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले आज जनाएको छ ।

    अब महासङ्घबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउने निजी सचिवालयले आज जारी गरेको प्रेसनोटमा उल्लेख छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हाल मुलुकमा ९०० जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता बिरामी पाँच हजार रहेका अनुमान गरेको छ । विसं.२०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०.८ प्रतिशतमा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।

  • स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्दै

    काठमाडौँ, बुधबार, ३० माघ २०८१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि एक महिने निःशुल्क परीक्षण अभियान सञ्चालन गरी नसर्ने रोगको समयमा उपचार गर्नुपर्नेसम्बन्धी सचेतना अभिवृद्धि गर्ने जनाएको हो ।

    अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन् ।

    डा बुढाथोकीले भन्नुभयो, “स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ । सबै समयमा उपचार गर्नुपर्ने विषयमा आमनागरिकमा सचेतना अभिवृद्धि गराउने छौँ ।” स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत मङ्सिर १६ गते ‘नसर्ने रोगसम्बन्धी एक महिने अभियान सञ्चालन निर्देशिका’ स्वीकृत गर्नुभएको थियो ।

    त्यसैगरी फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

  • गोरखाको बारपाक सुलिकोटमा पाठेघरको निःशुल्क परीक्षण शिविर हुने

    गोरखा, सोमबार, २७ माघ २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा महिलाहरुको पाठेघरको निःशुल्क परीक्षण तथा उपचार सम्बन्धी शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन तथा नेपाल क्यान्सर रिलिभ सोसाईटी काभ्रे शाखाको सहयोगमा शिविर हुन लागेको हो ।

    शिविर फागुन १९ गतेदेखि सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविर पाँच दिनसम्म चल्ने छ । पालिकाभित्रका सबै वडाबासी महिलाहरुलाई समेट्न विभिन्न पाँच स्वास्थ्य चौकीमा शिविर हुन लागेको हो । शिविरको पहिलो दिन १९ गते बारपाक स्वास्थ्य चौकी, दोस्रो दिन फागुन २० गते सौरपानी स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको परीक्षण गरिने छ ।

    तेस्रो दिन स्वाँरा स्वास्थ्य चौकी, चौथो दिन ताकुमाझलाकुरीबोट स्वास्थ्य चौकी र अन्तिम दिन फागुन २३ गते पाँचखुवा देउराली स्वास्थ्य चौकीमा शिविर हुने बताएको छ । ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका सम्पूर्ण महिलाहरुले शिविरबाट सेवा लिन सक्ने छन् ।

  • अन्तर्राष्ट्रिय डाइबेटिज कन्फरेन्स-२०२५ हुँदै

    काठमाडौँ, सोमबार, २८ माघ २०८१ । मधुमेह (डाइबेटिज) सम्बन्धी एकदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन आउँदो फागुन १७ गते द म्यासिफ होटलमा हुन लागेको हो ।

    धन-योग फाउण्डेसन अमेरिकाले डायबिटिज एण्ड इन्डोक्राइनोलोजी सोसाइटीसँगको सहकार्यमा काठमाडौंमा उक्त सम्मेलन गर्न लागेको हो । नेपाललगायत दक्षिण एसियामा मधुमेहका बिरामीको समस्या बढेकाले त्यसको निराकरणका लागि सम्मेलन गर्न लागिएको बताइएको छ ।

    आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल एनसिडी अलायन्सका डा. प्रज्ज्वल प्याकुरेलले सम्मेलनबारे जानकारी दिनुभएको हो । सम्मेलनमा विभिन्न राष्ट्रहरूको छाता संगठनमा आबद्ध इण्डोक्राइनो लोजिष्टसहित अध्ययन अनुसन्धानकर्ताहरू सहभागी रहने बताइएको छ । सम्मेलनमा नेपाल, अमेरिका, भारतलगायत देशका विज्ञहरूसमेतको सहभागिता रहनेछ ।

    सम्मेलनमा विभिन्न देशका विज्ञहरूबाट विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ ।

    सम्मेलनमा प्रशिक्षकहरू, सम्बन्धित चिकित्सकहरू, मेडिकल चिकित्सकहरू, विभिन्न विश्वविद्यालयका रिसर्जरहरू, देशविदेशमा रहेका प्रोफेसरहरूलगायत दुई सय बढीको सहभागिता रहने बताइएको छ । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इण्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा. नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा. राजु पन्त, अमेरिकाबाटै डा. अजय चौधरी, प्राडा मेरेडिथ हकिन्स, डा. राल्फ डेफरेन्जो, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रोबिन मास्के, भारतका डा. निहाल थोमस, विश्व स्वास्थ्य संगठनबाट डा. ग्याम्पो दोर्जी, नेपाल एनसिडी अलायन्सका डा. प्रज्ज्वल प्याकुरेल र नेपाल विकास समाजका डा. श्वेता कोइराला सहभागी हुने पक्का भइसकेको छ ।

    सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यास्सचुसेट्स, डायबिटिज एण्ड इण्डोक्राइनोलोजी एसोसिएसन नेपाल र नेपाल हेल्थ क्रप्सले सहकार्य गर्नेछन् । मुख्य आयोजक संस्था धन-योग फाउण्डेसन अमेरिकामा दर्ता भएको संस्था हो । यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ । मधुमेह र मोटोपनको अन्योन्याश्रित सम्बन्धका बारेमा अन्तर्राष्ट्रियरूपमा जनचेतना जगाउने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको डा. प्याकुरेलले बताउनुभयो ।

  • निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

    काठमाडौँ, शुक्रबार, २५ माघ २०८१ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारीसरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबिचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय रुपियाँ) कायम गर्नुपर्ने पनिर्णय भएको को हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ ।

    बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामकोे सम्झौता गर्न नमान्ने विद्यार्थीसँग कुल २३ लाख रुपियाँ शुल्क लिने विषयमा पनि छलफल भएको छ । हाल निजी मेडिकल कलेजले मासिक २० हजार रुपियाँ निर्वाह भत्ता दिँदै आएका छन् ।

    पोष्ट ग्राजुएट तहका विद्यार्थीले समान सुविधाका लागि आन्दोलन जारी राखेको र आयोगका परीक्षासमेत प्रभावित हुने स्थितिमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको अग्रसरतामा समस्या समाधानको पहल भएको हो ।

    बैठकमा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यविधि बनेपछि निर्णय गर्न आग्रह गर्नुभएको थियो तर आयोगका प्रधानमन्त्री ओली, सहअध्यक्षहरु स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भटराईले आवासीय चिकित्सकको समान सुविधाको प्रतिबद्धताबाट पछि हट्न नसकिने स्पष्ट गर्नुभएको थियो ।

    चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको आयोगको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा आवश्यक संशोधनको प्रक्रिया थाल्ने विषयमा पनि छलफल भएको थियो ।