Author: ipmsamachar

  • काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

    काठमाडौँ, सोमबार, १७ मङ्सिर २०८१ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी हुनु भएका छन् ।

    निर्वाचन आयोगका अनुसार उहाँले एक हजार ५८४ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत प्राप्त गर्नुभयो । उता नेकपा (एमाले) का लक्ष्मी रत्न तुलाधरले एक हजार ११८ मत प्राप्त गर्नुभएको छ ।

    स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यस अघि यस क्षेत्रमा काँग्रेस विजयी भएको थियो । काङ्ग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

  • महाबु गाउँपालिका दैलेखको अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

    काठमाडौँ, सोमबार, १७ मङ्सिर २०८१ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।

    यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।

    एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए ।

    एमालेबाट निर्वाचित भएका शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष थिए । उनी उपनिर्वाचनअघि मात्रै एमालेमा फर्किएर टिकट पाएका हुन् ।

    बि स २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही पालिकामा अध्यक्ष जितेका उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीतिरमा लागेका थिए ।

    बि स २०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाटे उठेका उनी २२६८ मत ल्याएर तेस्रो भएका थिए ।

  • ‘तमू ह्युल छोंज धीं’ गुरुङ समुदायलाई गोलबद्ध गर्दै

    पृष्ठभूमि

    नेपाल बुहजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । नेपालमा रहेका १ सय ४२ जातिमध्ये तमू (गुरुङ) जाति पनि एक हो । नेपालको जनगणना २०७८ अनुसार तमू जातिको जनसंख्या ५ लाख ४३ हजार ७ सय ९० रहेको छ । जुन कूल जनसंख्याको १ दशमलव ८० प्रतिशत हो ।

    तमू जातिहरु सातै प्रदेशमा स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेको छन् । उत्पत्ति र बसाइँसराइको इतिहास हेर्ने हो भने गुरुङ जातिको उद्गम थलो नेपालको गण्डक क्षेत्र रहेको छ । तर, सबैभन्दा बढी देशमा पुगेर स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने नेपाली जातिमा गुरुङ अग्रपंक्तिमा आउँछ । हाल संसारका सयौं देशमा गुरुङ जातिले स्थायी तथा अस्थायी रूपमा बसोबास गर्नुका साथै संगठनसमेत निर्माण गरी आफ्नो संस्कृति, भाषा, रीतिरिवाज, कला र परम्पराको संरक्षण गर्दै आएका छन् ।

    तमू (गुरुङ) को छुट्टै मौलिक संस्कार, संस्कृति रहेको छ । धर्म, संस्कार र संस्कृति भनेको समाजको विश्वास, मूल्य र मान्यताको आधार हो । यसैमा ज्ञान, विश्वास, कला, मौलिक कानुन र परम्परा जस्ता महत्वपूर्ण विषय रहेका छन् ।

    तमू जातिको मूल पर्वका रुपमा तमू ल्होसार रहेको छ । यो पर्व हरेक वर्ष पुस १५ गते देश तथा विदेशमा रहेका तमु समुदायले धुमधामका साथ मनाउँछन् । साथै राज्यले पनि राष्ट्रिय पर्वका रूपमा मान्यता दिँदै त्यस दिन सार्वजनिक बिदासमेत दिने गरेको छ । तमूहरुले आफ्नो संस्कार, संस्कृति, रीतिरिवाज एवं परम्परा अनुसार नै कर्मकाण्ड चलाउने गर्दछन् । जसमा तमूहरुले खेगीहरुका रुपमा पच्य, क्ह्लेप्री, लामा र बोन लामालाई अनुशरण गरेको पाइन्छ ।

    देश तथा विदेशमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने सबै तमू (गुरुङ)बीच पारिवारिक सम्बन्ध र समुदायगत एकताको विकास गर्दै तमू (गुरुङ) जातिको इतिहास, भाषा, धर्म, संस्कृति, परम्पराको संरक्षण र संवद्र्धनमा अधिकांश व्यक्ति लाग्नु त्यो समुदायको सुन्दर पक्ष हो । यद्यपि, तमू समुदायबीच भाषिक, सांस्कृतिक तथा सामाजिक रूपमा एकरूपता कायम गर्दै आर्थिक रूपमा समृद्धिको दिशामा अघि बढाउनु पनि उत्तिकै अपरिहार्य छ ।

    तमू (गुरुङ) जातिको मुख्य पेशा भनेको पशुपालन जसमा भेडापालन सँगसँगै कृषि हँुदै राडीपखी बुन्ने साथै समयसापेक्ष वर्तमान समयमा नेपालमा निजमती सेवा क्षेत्र र सुरक्षा क्षेत्र, वैदेशिक रोजगार र भारतीय, बेलायती सेना र सिंगापुर प्रहरीमा सेवारत रहेका छन् । जसले गर्दा व्यक्तिगत, पारिवरिक र राज्यको अर्थतन्त्र मजबुत बनाउनका लागि थप सहयोग पुगेको छ ।

    शिक्षा अँध्यारोबाट उज्यालो तर्फ डो¥याउने एक माध्यम हो । जसले गर्दा प्रत्येक जातिलाई आफ्नो कार्यदिशा निर्माण गर्न र संस्थालाई नेतृत्व एवम राज्य सञ्चालनका निम्ति अपरिहार्य छ । तमू समुदायको भाषा, संस्कार, संस्कृति र धर्मको संरक्षण, सम्वद्र्धन गर्न, समुदायको हक, हित र अधिकारका लागि सशक्त आवाज उठाउन र राज्यलाई दबाब दिनका लागि छाता संगठन निर्माण भएको छ ।

    तमूहरू संगठित

    तमू जातिको संस्थागत विकास क्रमलाई हेर्दा २०११ सालमा स्थापित गुरुङ कल्याणकारी संघबाट शुरू भएको देखिन्छ । तत्पश्चात्् राज्यले प्रदत्त गरेका अधिकारको उपभोग गर्दै राजनैतिक तथा सामाजिक चेतनाको हिसाबले समुदायको हक, हित र अधिकारका लागि संस्थागत भुमिकामा तमूहरुको विभिन्न संघ–संस्थाहरु स्थापित हुन पुगे ।

    राजनैतिक, सामाजिक तथा साँस्कृतिक चेतनाको विस्तारले तमू जातिको इतिहास, ऐतिहासिकता, पहिचान, भाषा, संस्कार, संस्कृतिहरुको जगेर्ना गर्न र राज्यको मूल प्रवाहीकरणमा तमू जातिको तर्फबाट प्रभावकारी भूमिका सहित सहभागी हुनका लागि बलियो साझा, राष्ट्रिय संस्थाको अपरिहार्यत हुन पुग्यो । यसै क्रममा सम्पूर्ण तमू संघसंस्थाहरुको इतिहासलाई सम्मान गर्दै छाता एवं साझा संगठनका रुपमा २०६५ चैत १५–१८ गतेसम्म नारायणगढ, चितवनमा प्रथम तमू एकता राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात् छाता संगठन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् स्थापना भएको छ । यसले दोस्रो राष्ट्रिय महाधिवेशन २०६९ सालमा बिर्तामोड, झापामा, २०७३ सालमा कावासोती, नवलपरासीमा तेस्रो राष्ट्रिय महाधिवेशन र चौथो राष्ट्रिय महाधिवेशन २०७८ चैत्रमा भरतपुर, चितवनमा सम्पन्न गरिसकेको छ । यो तमू (गुरुङ) जातिको अधिकारिक, साझा, राष्ट्रिय, छाता र अधिकारवादी संस्था हो ।

    ‘प्ये म्ह्स्या छ्या म्ह्मु, छ्या म्ह्स्या ल्हु म्ह्मु, ल्हु म्ह्स्या म्हि म्ह्मु ।’ अर्थात् ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मानव जातिको अस्तित्व हराउँछ ।’ भन्ने मूल मर्मका साथ यो संस्था जन्मिएको हो ।

    यस संस्था नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य र नेपालमा रहेको सम्पूर्ण आदिवासी जनजातिहरुको साझा एवं राष्ट्रिय संस्था आदिवासी जनजाति महासंघ संघीय परिषद्को संघीय परिषद् सदस्य हो । यस संस्थाको राज्यको संघीय संरचना अनुरुप सातै वटा प्रदेशमा प्रदेश कार्यसमिति ६५ वटा जिल्ला कार्यसमिति ३ वटा भातृ संस्था महिला, विद्यार्थी, युवा र ७० भन्दा बढी संस्था आबद्ध रहेका छन् ।

    त्यस्तै, ३५ वटा राष्ट्रमा अन्तर्राष्ट्रिय हितैषी संस्थाका रुपमा आबद्ध रहेका छन् साथै यस संस्थाको समन्वयनमा सार्कस्तरीय तमू सम्मेलन २०७३ कार्तिक ७–८ धरान, सुनसरीमा सम्पन्न भइसकेको छ । संसारभर रहेका तमू (गुरुङ)लाई एकताबद्ध, सह–अस्तित्व, पहिचान र भाइचारा अभिवृद्धि गर्नका लागि २०७६ असोज २४–२५ गते काठमाडौंमा प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन सम्पन्न गरी सन् २०२२ अक्टोबर ११–१३ सम्म देन्ताम सिक्किममा दोस्रो अन्तर्राष्ट्रिय तमू सम्मेलन गरेको छ ।

    तमू ह्युल छोंज धींका लक्ष्य र उपलब्धि

    तमू समुदायको संस्कृतिको बारेमा राज्यस्तरबाटै पुस्तक प्रकाशन, पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापन, गीत–संगीत निर्माण तथा प्रशारण, दृश्य चित्रको निर्माण, कला–कौशलहरुको प्रस्तुतीकरणमा जोड, लोपोन्मुख बाजा–गाजा, सीप–कला आदिको संग्रह गरी संग्रहालयको व्यवस्थापन, भाषा–लिपिको पठनपाठनमा जोड र विकास गर्नुपर्दछ । तर, राज्यले गरेको काम पर्याप्त छैन । तसर्थ, समुदाय आफैं पनि अग्रसर हुनुपने देखिन्छ । जसका निम्ति तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले केही लक्ष्य दिएको छ भने केही उपलब्धि हासिल गरेको छ ।

    यस संस्थाअन्तर्गत रहेका भाषा, लिपि तथा साहित्य विभागमार्फत तमू मातृभाषा र खेमा लिपि प्रवद्र्धन अक्षयकोष मार्फत प्राप्त हुने रकमबाट देशभरिका विभिन्न तमूहरुलाई समेटी तमू मातृभाषा तथा खेमा लिपि शिक्षण विधिमार्फत भाषा शिक्षक उत्पादन गर्ने र उनीहरुलाई शिक्षकका रुपमा निश्चित सेवा सुविधासहित परिचालन गर्ने लक्ष्य लिएको छ ।

    केन्द्रीय कार्यालयमा तमू भाषाका प्रकाशित शब्दकोष, व्याकरण तथा तमू भाषा र खेमा लिपिसँग सम्बन्धित सबैखाले सामग्रीहरुको प्रति तथा डाटाहरु संकलन गरी भाषा पुस्तकालय र स्वर्गीय डाक्टर हर्क गुरुङबाट रचना गरिएका विभिन्न पुस्तक, प्रतिवेदन, जर्नल, शोधपत्रहरुको संग्रह गरी डा. हर्क गुरुङ कर्नरको स्थापना गर्ने ।

    तमू जातिको आदिम भूमि कालीगण्डकीदेखि बुढीगण्डकीसम्मको भूूभागमा ऐतिहासिक रुपमा तमू भाषामा राखिएका ठाउँहरुको नामलाई परिवर्तन हुँदा तमू भाषा र सांस्कृतिक स्थल, सम्पदा र किंवदन्तीहरुमा असर गर्ने कार्य तिव्र रुपमा अगाडि बढिरहेको छ । जसको परिणामस्वरुप तमू भाषा र संस्कृतिहरु लोप हुने अवस्था सिर्जना भएको छ ।

    तसर्थ, पहिचानलाई जर्गेना गर्न तमू थातथलोको मौलिक नाम पुनःस्थापित गर्ने । जिल्ला तथा गाउँस्तरमा गई नाम संकलन गर्ने र सो पश्चात् प्रदेशस्तरमा थातथलो नामावलीलाई अन्तिम रुप दिन र कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गर्ने ।

    जलवायु परिवर्तनको असरबाट तमू थातथलोमा पारेको असर र सो असरबाट अस्तित्व लोप हुने र सांस्कृतिक आधारहरु नष्ट हुने चुनौती देखा परिरहेको छ, तसर्थ, तमू समुदायलाई सो बारेमा प्रशिक्षित गर्ने, असरलाई न्यूनीकरण गर्नका साथै तमू थातथलो र सम्पदाको संरक्षणका लागि प्रदेश तथा जिल्ला कार्यसमितिमार्फत स्थानीय कार्यसमितिको अगुवाइमा आवश्यक कार्यक्रम गर्ने ।

    तमू जातिको मातृभाषालाई नेपालको संविधान–२०७२ मा व्यवस्था भएबमोजिम र भाषा आयोगको सिफारिस अनुसार गण्डकी प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा प्रयोगका लागि मागपत्र, ज्ञापनपत्र, ध्यानाकर्षण, प्रदेश मुख्यमन्त्रीसँग भेटघाट, भाषा आयोगसँग सहकार्य गर्नुका साथै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । जसको फलस्वरुप गण्डकी प्रदेश सरकारले २०८१÷०८२ को नीति तथा कार्यक्रममा तमू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिन प्रक्रिया थाल्ने प्रतिबद्धता जनाएको छ ।

    प्रत्येक प्रदेशमा सम्बन्धित प्रदेश कार्यसमितिको संयोजनमा सो प्रदेशभित्रका जिल्ला कार्यसमितिको उपस्थिती रहने गरी तमू समुदायका संस्कार, संस्कृति, परम्परा तथा अन्य विषयहरुलाई समेटी एक महिने प्रशिक्षण अभियान सञ्चालन गर्ने संस्थाले लक्ष्य बनाएको छ ।

    तमू समुदायबाट अध्ययन, अनुसन्धानको क्षेत्रमा लागेका प्राज्ञिक व्यक्तित्वहरु, राज्यका विभिन्न निकायमा विशिष्ट योगदान पु¥याएका तमू व्यक्तिहरु आदिलाई समेटी संगठनको संरचनाभित्र रहने गरी प्राज्ञिक र नीति निर्माण, तमू जातिको विविध विषयमा अध्ययन, अनुसन्धान गर्नका लागि स्वायत्त अधिकार दिने र सो प्रतिष्ठान मार्पmत प्राप्त सुझावहरुलाई संस्थागत प्रक्रिया अन्तर्गत कार्यान्वयन गर्ने दृष्टिकोण सहित तमू खेब प्ह्रीब छोंज (तमू प्रज्ञा प्रतिष्ठान) कार्यविधि तयार र कार्यसमिति गठन गर्ने ।

    त्यस्तै, तमू जातिको प्रमुख चाड ल्होसार÷ल्होछार, माङी, बुद्ध जयन्ती, ट्हे टे, फुतासो दिना, म्हे त्ह ले त्हेँ पर्वलाई देशभरिका स्थानीय महानगर÷उपमहानगर÷नगर÷गाउँपालिका कार्य समितिको संयोजनमा मनाउन पहल गर्ने ।

    तमू समुदायभित्र रहेका परम्परागत ज्ञान, सीप संरक्षण, क्षमता अभिवृद्धि तथा आयआर्जन सम्बन्धी कार्यक्रम र परियोजनाहरु भातृ संस्थाहरु युवा, महिला र विद्यार्थी संस्थाको नेतृत्वदायी भूमिका वा सहकार्यमा पूरा गर्न पहलकदमी गर्ने साथै तमू समुदायको आदिम ज्ञान, सीप, परम्परागत प्रथाजन्य कानुनको ऐतिहासिकता, सांस्कृतिक आधार सम्बन्धी विषयवस्तुलाई समेटी परिचय पुस्तिका प्रकाशनका लागि तमू प्रज्ञा प्रतिष्ठान मार्फत अध्ययन, अनुसन्धानका लागि सहकार्य गर्ने ।

    तमू समुदायका शहीद सुकदेव गुरुङ, सुपति गुरुङलाई राज्यबाट शहीदको मान्यता दिन र स्वर्गीय डाक्टर हर्क गुरुङलाई राष्ट्रिय विभूतिको सम्मान राज्यबाट प्रदान गराउनका लागि आवश्यक पहल र प्रक्रिया थालनी गर्ने । यसै गरी, शहीद सुकदेव गुरुङको जीवनीसँग सम्बन्धित दस्तावेजको खोजी तथा प्रकाशनका लागि केन्द्रीय कार्यसमिति अध्ययन टोली गठन गरी पहल गर्ने ।

    तमू जाति लिपि खेमा लिपिको युनिकोडलाई व्यावहारिक रुपमा प्रयोग गर्न तथा संस्थाको वेबसाइटलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सो सम्बन्धी विज्ञहरुको खोजी गरी सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाउने ।

    तमूहरुको ऐतिहासिक पहिचान बोकेको आदिम थलो क्होल सों प्रे ट्होको ऐतिहासिकताको संरक्षणका साथै आफ्नो सभ्यता र इतिहासलाई जर्गेना गर्नका लागि अन्तर्राष्ट्रिय तहमा क्रियाशील तमू संघ संस्थाहरुसँग सहकार्य गरी पहल गर्ने कार्यको शुरुआत गरिने ।

    यसै गरी, तमू जाति बिचमा उद्गम थलो सम्बन्धी आएका नयाँ तथ्यको थप अध्ययन, अनुसन्धान तथा दस्तावेजीकरणका लागि तमू प्रज्ञा प्रतिष्ठानमार्पmत गर्नका लागि पहल गर्ने र आवश्यक आर्थिक स्रोतका लागि परियोजना प्रस्ताव तयार गर्ने ।

    तमू युुवाहरुलाई स्वदेशमा नै रोजगारको विभिन्न अवसरमा सहभागी गराउनका लागि युवाको भातृ संस्थाको संयोजनमा कार्यशाला गोष्ठी गर्ने, तमू कलाकारहरु मार्फत देशका विभिन्न स्थानहरुमा तमू जातिको साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी तमू जातिको संस्कृतिलाई टेवा दिने कार्यक्रम सञ्चालन गर्ने ।

    प्रस्तुति राजु श्रेष्ठ

    गोरखा, आइतबार, १६ मङ्सिर २०८१ ।

  • आन्तरिक पर्यटनको सम्भावना बुङकोट काहुले भंगार ऐतिहासिक ‘विद्रोही किल्ला’

    राजु मियाँ

    गोरखा, आइतबार, १६ मङ्सिर २०८१ । गोरखाको शहिद लखन गाउँपालिका वडा नं ७ मा अवस्थित बुङकोट काहुले भंगार ऐतिहासिक, अन्तरिक पर्यटकको सम्भावना बोकेको क्षेत्र हो ।

    सो क्षेत्र ऐतिहासिक स्थल नेपालको पहिलो शहिद लखन थापा मगरको लखन किल्ला परिसर र वडा न-८ स्थित महत्वपुर्ण धार्मिक स्थल सन्तानेश्वर महादेव मन्दिर रहेको छ ।

    गोरखाको साविकको वुङ्कोट–४, काहुलेभँगार र हाल शहिद लखन गाउँपालिका–७ मा लखन थापाकै नाममा सालिकसहित स्मारक बनाइएको छ । सदरमुकामदेखि १२ किलोमिटर दक्षिणपूर्वमा रहेको करिव २ रोपनी क्षेत्रफल रहेको यो समथर भू-भागलाई अहिले पनि ‘विद्रोही किल्ला’ भनिन्छ । जस भित्र नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक, पानी पोखरी, मौलिक मगर घुमाउने घर रहेको छ ।

    भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको शहिद लखनका पर्यटकीय क्षेत्रको व्यापक प्रचार–प्रसार गर्न सके जिल्लामा अत्याधिक पर्यटक भित्र्याउन सकिने वडा अध्यक्ष शरण श्रेष्ठले बताउनु भयो । सोही ठाउँमा प्रतिकात्मक मनकामना मन्दिरको निर्माण कार्य जारी रहेको वडा अध्यक्ष शरण श्रेष्ठले बताउनु भयो । साथै, उहाँले जयसिंह चुमीमगरको शालिकसहित ४ जनाको शालिक निर्माण भइसकेको बताउनु भयो । ३ जना शहिदको सालिक राख्न बाकी रहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, आन्तरिक पर्यटक आउने क्रम जारी रहेको छ, चितवन, तनहुँ, लम्जुङ्ग, पोखरा, कास्की, नवलपरासी, हेटौडा लगायत आसपासका जिल्लाहरुबाट अवलोकन भ्रमण गर्न आउनु भएको बताउनु भयो ।

    ऐतिहासिक स्थल एब आन्तरिक पर्यटनलाई नजिकबाट अवलोकन गर्न गोरखा नगरपालिका ११ मा रहेको सेन्ट मेरिज स्कुलमा कक्षा – ४ र कक्षा – ५ मा अध्यायनरत बिधार्थी, सर मिसहरु अवलोकन भ्रमण गर्ने क्रममा एतिहासिक एब पर्यटकीय स्थल बुङकोट काहुले भंगारको अवलोकन गरेका थिए ।

    इतिहास

    अत्याचारी राणाशासन विरुद्ध विद्रोही अभियान संचालनका लागि नेपाली जनताहरुको सहयोगमा लखन थापा मगरले वि.सं. १९२७ मा बलियो किल्ला निर्माण गरे । राणा सरकार विरुद्ध लड्न जनस्तरबाट पहिलो पटक बनाइएको उक्त किल्लाको चारै तर्फ बङकर बनाइएको थियो । किल्लाको बाहिरी भागमा चारैतिरबाट ढुङ्गाको तीन तहको बलियो पर्खाल थियो । किल्ला भित्रबाट बाहिरको गतिविधि सजिलै निगरानी गर्न मिल्ने एबम् आफू सुरक्षित रहेर बाहिरका दुस्मनहरुलाई आक्रमण गर्न सकिने गरि पर्खालको ठाँउ ठाँउमा प्वाँलहरु राखिएका थिए । किल्लाको बाहिरी भागमा घेरिएको ढुङ्गाको बलियो पर्खाल १६ क्युबिट्स उचाई र ८ क्युबिट्स चौडाइको थियो ।

    उक्त किल्लाको चारै तर्फ ढुङ्गाको नै ढोका र नस राखिएको थियो । किल्लाको चारै दिशामा ढोकाहरु थिए भने मूल ढोका उत्तरतर्फ रहेको थियो । किल्ला भित्र मध्य भागमा ७ बर्ग मिटरको छेत्रफलमा मोई थान (मनकामना माई) को मन्दिर निर्माण गरिएको थियो । लखन थापा मगरले किल्ला परिसरमा पाँच तल्ले घर बनाई त्यहाँबाट मोई थान (मनकामना माई) को पुजा समेत चलाएका थिए ।

  • गोरखा नगरपालिकामा ५ मा मतदान सुरु

    गोरखा, आइतबार, १६ मङ्सिर २०८१ । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा हुने उपनिर्वाचन अन्तर्गत आइतवार मतदान हुदैछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेका छन् । मतदान स्थल र केन्द्रहरु शनिवार नै तयार गरिएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए ।

    स्वाँराको गोरखकाली र अमराईको शिवशक्ति आधारभूत बिद्यालयलाई मतदान स्थल तोकिएको उनले जानकारी दिए । ‘कुल दुई वटा मतदान स्थल हो,’ उनले भने, ‘मतदान केन्द्र भने तीन वटा छन् ।’ शिवशक्ति आधारभूत बिद्यालय भएको मतदान स्थलमा क र ख गरी दुई वटा मतदान केन्द्र रहेको उनले बताए ।

    निर्वाचन आयोगले गत कात्तिक २७ गते प्रकाशत गरेको अन्तिम मतदाता नामावली अनुसार उक्त वडामा २ हजार २२५ मतदाता छन् । १ हजार ५०१ जना मतदातालाई शिवशक्ति आवि र बाँकी ७ सय २४ मतदातालाई गोरखकाली आवि मतदान स्थल तोकिएको छ ।

    चुनावलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न आफूहरु लागिपरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । मौन अवधिको समयलाई मध्यनजर गर्दै व्यापक रुपमा सुरक्षा टोली परिचालन गरिएको उनले जानकारी दिए । ‘चुनावमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी परिचालन हुन्छ,’ उनले भने, ‘आवश्यक परे थप मद्दतको रुपमा सेना पनि परिचालन गर्न सक्छौँ ।’

    वडा प्रवेश गर्ने नाकाहरुमा चेकजाँच बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठकले बताए । अवाञ्छित गतिविधि हुन नदिन टोल टोलमा प्रहरी पनि परिचालन गरिएको उनले जानकारी दिए ।

    दुवै मतदान स्थलहरुको शनिवार मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतका टोलीले अनुगमन तथा निरीक्षण समेत गरेका थिए । आज सो वडाक्षेत्रभित्र विना पासका सवारी संचालन गर्न नपाइने बताइएको छ ।

    यसअघिका वडाध्यक्ष स्व. खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते निधन भएपश्चात रिक्त रहेको वडाध्यक्ष पदमा उपचुनाव हुन लागेको हो । चुनावमा नौ दलका उम्मेदवार बीच प्रतिस्पर्धा हुदैछ । चुनावलाई मध्यनजर गर्दै गोरखा नगरपालिकाले आईतबार सार्वजनिक बिदा समेत दिएको छ । गण्डकी प्रदेशभर गोरखा ५ एक मात्र उपनिर्वाचन हुन लागेको क्षेत्र हो । वडाकै भएपनि यो चुनावलाई दलका मुख्य नेताहरुले आफ्नो राजनीतिक प्रतिष्ठासँग जोडेर हेर्ने गरेका छन् ।

  • आज ४१ पदका लागि स्थानीय तहको उपनिर्वाचन

    काठमाडौँ, आइतबार, १६ मङ्सिर २०८१ । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत आज (आइतबार) मतदान हुँदै छ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान हुन लागेको हो । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा आज बिहान ७ देखि अपराहृन ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

    उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो । गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभएको छ । प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

    कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरीशंकर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगंगा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३, झापाको कन्काई नगरपालिका-६, तेह्रथुमको लालिगुराँस नगरपालिका-८, सुनसरीको गढी गाउँपालिका-६, ओखलढुंगाको मोलुङ गाउँपालिका-५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका-९, सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, रौतहतको ईशनाथ नगरपालिका-७, रौतहटका राजपुर नगरपालिका-६ र गढीमाई नगरपालिका-८ मा निर्वाचन हुँदै छ ।

    काठमाडौंको काठमाडौं महानगरपालिका-१६, कीर्तिपुर नगरपालिका-१ र ४, नुवाकोटको ककनी गाउँपालिका-२, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२, गोरखाको गोरखा नगरपालिका-५, गुल्मीको मुसिकोट नगरपालिका-१, कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१, रोल्पाको रुण्टीगढी गाउँपालिका-४, बर्दियाको ठाकुरबाबा नगरपालिका-४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका-५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । यस्तै, दैलेखको दुल्लु नगरपालिका-१३, जाजरकोटको कुसे गाउँपालिका-७, कालीकोटको तिलागुफा नगरपालिका-४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५, बझाङको सूर्मा गाउँपालिका-४, डोटीको पूर्वीचौकी गाउँपालिका-६, दार्चुलाको दुहुँ गाउँपालिका-५ र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा निर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचनमा ३७६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । यसअघि जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका-२ मा नेकपा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो ।

    मत परिणाम वेबसाइटमै
    निर्वाचन आयोगले मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा संकलन भएपछि मतगणना कार्य प्रारम्भ हुने जनाएको छ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ । आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आहृवान गरेको छ । मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिहृन भएको कोठामा स्वस्तिक छापले मत संकेत गर्नुपर्छ । मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुईवटा निर्वाचन चिहृन रहेको कोठाको बीचमा पर्नेगरी मत संकेत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा, निर्वाचन चिहृन रहेको कोठाभन्दा बाहिर मत संकेत गरेमा वा मतपत्रमा स्वस्तिक छापबाहेक औँठा छाप, हस्ताक्षर आदिले मत संकेत गरेमा मत बदर हुने आयोगले स्पष्ट पारेको छ ।

    सोमबार नै सबै ठाउँको नतिजा आउने
    निर्वाचन आयोगले मंसिर १६ गते अर्थात् आज हुन लागेको उपनिर्वाचनको मतपरिणाम भोलिपल्ट वा मंसिर १७ गते सोमबार सार्वजनिक गरिसक्ने जनाएको छ । उपनिर्वाचन हुने ३४ वडामा त्यसैदिन मतगणना सुरु भइसक्ने र कतिपय पालिकामा भने उपनिर्वाचन भएको दोस्रो दिनबाट मात्रै मतगणना सुरु हुने भए पनि त्यसैदिन मतगणना कार्य सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । मतगणना गर्दा कानुनी व्यवस्थाअनुसार सर्वदलीय सहमतिअनुसार गर्नुपर्ने भन्दै राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले निर्वाचन अधिकृतले भने अनुसारको काम गरेमा, विवाद नगरेमा मतपत्र सजिलो र निर्वाचन भएकै ठाउँमा मतगणना हुने भएकाले मतगणना भोलिपल्ट नै सकिने उहाँको दाबी छ । मतपरिणाम सार्वजनिकको विषयमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘निर्वाचन आयोगको तयारीअनुसार उपनिर्वाचनको सम्पूर्ण नतिजा आउन उपनिर्वाचन भएको दिनदेखि पर्सि भन्ने हुँदैन । भोलि त हुने नै भयो । तर, यसमा यो राजनीतिक दल र उम्मेदवारको प्रतिनिधिको सहयोग, समन्वय र व्यवहारमा निर्भर हुन्छ ।

    काठमाडौं र कीर्तिपुरमा बाहेक ३४ वडा वडामा त्यसै दिन सुरु हुन्छ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको पालिकाको केन्द्रमा ल्याउनुपर्छ ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले मतपत्र एकदमै सजिलो र हरेक उम्मेदवारको मतपत्र छुट्टाछुट्टै रहेकाले मतगणना गर्न पर्याप्त टोली परिचालन गरिएका कारण मगणनामा ढिलाइ नहुने दाबी गर्दै भन्नुभयो, ‘काठमाडौंबाहेक सबै स्थानमा मतगणना एकै चरणमा सकिन्छ । काठमाडौंमा भने एकै चरणमा नसकिन सक्छ । यसमा एउटा त हाम्रा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित वडामा नै स्थापना भएका छन् । वडामा जम्मा गरेर त्यसै दिन मतगणना सुरु हुन्छ ।’ मतगणनाको नतिजा प्रत्येक दुई घण्टाको फरकमा आयोगकै वेवसाइटमार्फत सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिँदै थपलियाले भन्नुभयो, ‘आयोगले दुई–दुई घण्टामा मतपरिणाम सार्वजनिक गर्ने भनेर हरेक मतगणना स्थलमा एक-एकजना कम्प्युटर अपरेटर खटाएका छौँ । मतगणना स्थलबाट नतिजाको विवरण राख्नेबित्तिकै आयोगको वेबसाइटबाट सार्वजनिक हुन्छ ।’

    गौरीशंकरबाट हेलिकोप्टरमा मतपेटिका ल्याइने
    निर्वाचन आयोगले दोलखाको गौरीशंकर गाउँपालिकामा मतदान सकिएपछि पालिकाको केन्द्रमा मतपेटिका ल्याउनका लागि हेलिकोप्टरको प्रयोग गर्नुपर्ने देखिएको जनाएको छ । गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय धेरै टाढा रहेकाले हेलिकोप्टरमार्फत नै मतपेटिका ल्याउनुपर्ने अवस्था देखिएको र त्यसको तयारी अघि बढाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘दोलखाको गौरीशंकर गाउँपालिकामा हेलिकोप्टरबाटै मतपेटिका ल्याउनुपर्ने अवस्था देखिएको छ । हेलिकोप्टर प्रयोग नगर्दा करिब १२ देखि १३ घण्टा लाग्ने अवस्था छ । सबै मतपेटिका जम्मा नगरेर गणना गर्न नसकिने हुँदा केही समय लाग्नसक्छ । अन्य सबै पालिकाको त्यसैदिन सुरु हुन्छ ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले गौरीशंकरपछि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका वडा पनि केही टाढा रहेकाले गणना सुरु गर्न केही समय लाग्ने देखिएको जानकारी दिनुभयो । यद्यपि, त्यसै दिनको राति अबेरसम्म भने गणना भइसक्ने उहाँको दाबी छ ।

  • लुम्बिनी प्रदेश प्रमुख कार्यालयमा दुई प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता

    धनगढी, शनिबार, १५ मङ्सिर २०८१ । सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँ र लुम्बिनी प्रदेश प्रमुख माननीय कृष्णबहादुर घर्ती मगरबीच आज भेटवार्ता भएको छ ।

    लुम्बिनी प्रदेश प्रमुख कार्यालयमा दुई प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको हो ।

    आज शनिबार भएको भेटवार्तामा समसामायिक विषयमा छलफल भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँले लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरलाई सुदूरपश्चिम प्रदेशको भ्रमणको निम्तो दिनु भयो । सुदूरपश्चिमको निम्ति स्वीकार गर्दै लुम्बिनी प्रदेश प्रमुखले आगामी २१ गते भ्रमणमा आउने बताउनु भएको छ ।

    भेटमा संविधान सभा सदस्य नेत्र पन्थी, लुम्बिनी प्रदेशका सचिव वेद प्रसाद खरेल, प्रमुख स्वकीय सचिव दलमन पुनमगर, सुदूरपश्चिम प्रदेश प्रमुख प्रमुख स्वकीय सचिव साबिर अली, लुम्बिनी प्रदेश सह-स्वकीय सचिव अजय कुमार महरा राजनीतिक सल्लाहकार लीलाधर आचार्य उपस्थित रहनु भएको थियो ।

  • एसियन प्यासिफिक करातेमा एरिका गुरुङलाई स्वर्ण

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । नेपालकी कराते स्टार एरिका गुरुङ्गले सिंगापुरमा जारी १६औँ एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ ।

    १९औँ एसियन गेम्सकी रजत विजेता एरिकाले सिनियर महिला ६८ केजी तौलमाथि स्वर्ण जित्नुभएको हो । च्याम्पियनसिपमा नेपालकी अन्जली महर्जनले महिला तर्फ–५० केजी तौलमा स्वर्ण जित्नुभएको छ ।

    च्याम्पियनसिपमा महिलातर्फ दुई स्वर्ण जितेको नेपालले थप दुई रजत र पाँच कांस्यगरी नौ पदक जितेको नेपाल कराते महासङ्घले जनाएको छ ।

    च्याम्पियनसिपमा नेपालकी एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्वुले महिलातर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको–५५ किलो तौल समुहमा रजत पदक दिलाउनु भएको छ ।

    यस्तै सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियरतर्फ–४५ किलो तौल समुहमा पोरसिया चौधरी, महिलाकै–६८ किलो तौल समुहमा आशिका राई, पुरुषतर्फको १६ वर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुषतर्फ–८४ किलो तौल समुहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाउनुभयो ।

    च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडी, ब्यवस्थापक, रेफ्री र अफिसियलगरी ३० जनाको सहभागिता रहेको थियो । पतियोगितासँगै आइतबार एसियन प्यासिफिक सितोरियो करातेको विशेष अधिवेशन (कंग्रेस) हुनेछ ।

    जसमा नेपालबाट नेपाल सितोरियो कराते सङ्का अध्यक्ष दावा गुरुङ्ग र सितोरियो करातेका संरक्षक एवं नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले सहभागिता जनाउनुहुनेछ । नेपाली कराते टोली सोमबार स्वदेश फर्कनेछ ।

  • ग्लोबल आईएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा ग्लोबल आईएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो ।

    रोयल्सका तर्फबाट मालिक स्वतन्त्र प्रताप शाह र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन् । मालिक शाहले रोयल्सको एनपीएल यात्रामा सहकार्य गर्न साथ जोडिएकामा ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिए ।

    डेपुटी सीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । सुदूरपश्चिम रोयल्सले यसअघि एनपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एन्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो ।

    एनपीएलको अवधिभर टोलीले म्यारिएट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आज (मंसिर १५) देखि पुस ६ गतेसम्म काठमाडौँको कीर्तिपुरमा एनपीएल हुँदैछ सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

    यस्तो छ सुदूरपश्चिम टोली

    दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (यूएई)

  • जापानमा ‘नेपाल फेस्टिभल’

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ सुरु भएको छ ।

    गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा भोलिसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने यस महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरूको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ ।

    जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिभलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ ।

    फेस्टिभलका आर्थिक सङ्कलन अभियान, स्टल बुकिङ, स्वयंसेवक टिम र विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, नेपाली संस्कृतिका प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिभल मूल आयोजक समितिका संयोजक नवीन निउरेले जानकारी दिनुभयो ।

    धार्मिक र सामाजिक सद्भावसहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यस वर्षको ‘नेपाल फेस्टिभल’ गरिन लागेको एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले बताए। महोत्सवमा नेपाली खानाको र अन्य व्यापारिक प्रयोजनका गरी ४० वटा स्टल राखिएका छन् ।

    महोत्सवमा नेपाली मौलिक कला संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थललगायत समेटिएको विभिन्न वृत्तचित्र तथा फोटो प्रदर्शनी गरिने एनआरएनए प्रवक्ता खगराज गौतमले जानकारी दिनुभयो । एनआरएन जापानले सन् २०१२ देखि जापानमा यस किसिमको महोत्सव गर्दै आएको छ ।