Author: ipmsamachar

  • जाडो मौसम सुरु भएसँगै स्वस्थ रहनका लागि कस्तो खानेकुरा खाने ?

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । जाडो मौसम सुरु भएसँगै स्वस्थ रहनका लागि खानपानमा विशेष ध्यान दिनुपर्दछ । चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ। खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ। जसले गर्दा विभिन्न रोगको संक्रमण सुरु हुन थाल्छ ।

    चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ। तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन । बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ ।

    हरियो सागपातको धेरै प्रयोग
    चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ ।

    बेलुकाको खाना छिटै खाने
    जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ। तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ । रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ । राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ। जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ ।

    सुत्‍नुअघि दुध
    चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ ।

    व्यायाम
    जाडोमा बिहानको समयमा दिँनहु व्यायाम गर्न सकिँदैन् । हप्तामा एकदिन व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ ।

    भिटामिनको भरपुर प्रयोग
    खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन । भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि बढाउने काम गर्छ ।

  • स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

    निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

    उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले राससलाई जानकारी दिनुभयो । गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

    आयोगका प्रवक्तासमेत रहनुभएकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

    कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

    ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुनेछ ।

    काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

    दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

    यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नुभएको छ । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो ।

    मत परिणाम वेबसाइटमा हेर्न सकिने

    मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइट धधध।चभकगति।भभिअतष्यल।नयख।लउ मा हेर्न सकिने आयोगले जनाएको छ ।

    आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ । मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ ।

    मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत सङ्केत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत सङ्केत गरेमा वा मतपत्रमा स्वस्तिक छाप बाहेक औँठा छाप, हस्ताक्षर आदिले मत सङ्केत गरेमा मत बदर हुने आयोगले जनाएको छ ।

  • पत्रकार केदार रायमाझी ‘लिभिङ फर अदर’ अवार्डबाट सम्मानित हुँदै

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । युनिभर्सल पिस फेडेरेसनद्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिने भएको छ । शनिवार साँझ रायमाझीलाई अवार्ड प्रदान गरिने भएको हो ।

    रायमाझीलाई प्रदान गरिने यस सम्मानले नेपाली समुदायभित्र समाजसेवाको महत्व र त्यसप्रतिको प्रतिबद्धतालाई थप उर्जा दिने विश्वास गरिएको छ। ‘अरूका लागि बाँच्ने’ विचारधाराले समाजलाई नैतिक उत्तरदायित्वप्रति सचेत बनाउँदै सेवाभावलाई प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।

    युनिभर्सल पिस फेडेरेसनका एक प्रतिनिधिले भने, ‘केदार रायमाझीले अरूका लागि बाँच्ने संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याएका छन्। उनको योगदानले समाजमा सकारात्मक प्रभाव पारेको छ। उनीजस्ता समर्पित व्यक्तिलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो।’

    नेपालदेखि अष्ट्रेलियासम्म रायमाझीको यात्रा निस्वार्थ सेवाको उदाहरण बनेको छ। २०१८ मा अष्ट्रेलिया आएपछि पनि उनले नेपाली समुदाय र अन्य समुदायहरूबीच समानुभूतिको पुल निर्माण गर्न सफल भएका छन्। ग्लोबल गस्पेल मिनिस्ट्रीको नेतृत्वमा उनले परामर्श, राहत, र विभिन्न सामाजिक सेवाहरू संचालन गर्दै समाजमा प्रेरणादायी प्रभाव पुर्‍याएका छन्।

    रायमाझी बचन न्यूज का सम्पादक तथा प्रकाशकको भूमिकामा रहेर नेपाली पत्रकारितामा योगदान दिँदै आएका छन्। साथै, सिड्नीको गस्पेल नेपाली चर्च का प्रमुख पाष्टरका रूपमा उनले धार्मिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

  • टेलिकमको “एनटी क्रिकेट धमाका प्याक” सार्वजनिक

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै सम्पूर्ण क्रिकेटप्रेमीहरुले अनवरत रुपमा खेलको आनन्द लिन पाउन् भन्ने उद्देश्यसाथ नेपाल टेलिकमले NT Cricket Dhamaka Pack सार्वजनिक गरेको छ ।

    बिहीबार लाजिम्पाटस्थित होटल ¥याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको MEET & GREET कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गर्नुभयो।

    यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि रु. ६९९ मा ३०० जीबी डाटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। यसैगरी रु. ४९९ मा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डाटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समेत समावेश गरिएका धमाका प्याकहरुको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ ।

    आज (२०८१ मङ्सिर १४) देखि आगामी पौष ६ गते सम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरु मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ ।

    कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरु सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकुन् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताउनुभयो ।

    यसका साथै नेपाल प्रिमियर लिग सम्पन्न हुने किर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि small cell लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा Media Centre सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान FTTH नि:शूल्क जडान कार्य समेत सम्पन्न गरिसकिएको छ ।

  • केयरगिभरमा छनोट भएका श्रमिकलाई छिटो पठाउने व्यवस्था

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले इजरायली राजदूतसँग केयरगिभरमा छनोट भएका नेपाली श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ । श्रममन्त्री भण्डारीले नेपालका लागि इजरायली राजदूत ‘स्मुलिक एरी वास’ सँगको भेटमा सहायक श्रमिकका रूपमा (केयरगिभर) इजरायल जान दोस्रो चरणमा छनोट भएका नेपाली श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।

    इजरायलका राजदूत वासले नेपाली श्रमिक केयरगिभरको क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविरामसमेत घोषणा भइसकेकाले छनोट भएका नेपाली श्रमिक क्रमशः लैजाने जानकारी दिनुभयो । राजदूतवासले अघिल्लो पटक केयरगिभरमा गएका नेपाली श्रमिक केयरगिभरको क्षेत्रमा उत्कृष्ट भएकाले दोस्रो चरणमा छनोट भएका सबै लैजाने आश्वासन दिनुभयो ।

    गत असोजमै इजरायलमा केयरगिभरका लागि जान छनोट भएका श्रमिकको नाम सार्वजनिक गरे पनि इजरायल र लेबनानबिचको युद्ध लम्बिएपछि ढिला भएको हो । दोस्रो चरणमा इजरायलको केयरगिभरका लागि लैजाने दुई हजार ११२ जनाको नाम सार्वजनिक गरिएको छ । इजरायल सरकारले रोजगारीका लागि आवेदन दिएकामध्येबाट गोलाप्रथा (लट्री) मार्फत सो सङ्ख्याका श्रमिक छनोट गरेको हो ।

    गोलाप्रथामा छनोट भएका ८८ जनाको प्रमाणपत्र नै नक्कली भटिएपछि विभागले नक्कलीको नाम हटाएको थियो । नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाइँदै आएको छ । यसमा निजी क्षेत्रको संलग्नता छैन ।

    श्रममन्त्री र राजदूतबिच भएको भेटमा नेपाल र इजरायलबिच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन गर्ने, श्रमिकको स्रोत देशका रूपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने, कृषि निर्माणलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक पठाउनका लागि पहल गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

    यस्तै कृषि प्रविधि हस्तान्तरण गर्ने, सिप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हक अधिकार संरक्षण र सुरक्षालगायतका विषयमा दुवै देशबिच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

  • प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिच वार्ता हुने

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ता हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र चीनको विदेश मन्त्रालयले शुक्रबार एकैसाथ प्रधानमन्त्री ओलीको भ्रमणको कार्यसूची सार्वजनिक गर्दै प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच उच्चस्तरीय वार्ता हुने जानकारी दिएका छन् ।

    प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि यही मङ्सिर १७ गते त्यसतर्फ प्रस्थान गर्नुहुँदै छ । सोही भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबिच उच्चस्तरीय भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति सीसँग दुई देशको सम्बन्धलाई नयाँ आयाम दिने गरी छलफल हुने सम्भावना छ । राष्ट्रपति सीको बहुआयामिक परिकल्पनाका रूपमा रहेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स परियोजनामा दुई देशको विकासलाई समृद्धिसँग जोडेर अगाडि बढ्नुपर्ने विषयमा अघिल्लो कार्यकालको भ्रमणमा भएका सहमति र समझदारीलाई कार्यान्वयनमा उतार्ने विषयमा पनि दुई उच्च नेतृत्वबिच छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रधानमन्त्रीको चीन भ्रमण र राष्ट्रपति सीसहित बेइजिङमा हुने उच्चस्तरीय वार्ताको तयारी उच्चस्तरमा भइरहेका दुई मन्त्रालयले प्रस्ट पारेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीको चार दिनको औपचारिक चीन भ्रमण हुन लागेको हो ।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओली र लीबिच द्विपक्षीय भेटवार्ता हुने कार्यसूची छ । सो भेटवार्तामा आपसी हित तथा दुई देशको सहकार्यलाई थप प्रगाढ बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै कार्यसूची अनुसार प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि छुट्टै भेटवार्ता हुने छ । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा गर्दै त्यहाँका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा यो भ्रमण हुन लागेको जानकारी दिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले प्रधानमन्त्री ओलीको चारदिने भ्रमणका बारेमा जानकारी दिनुभएको हो ।

    प्रधानमन्त्री हुनुभएपछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो । छिमेकी मुलुकमा पहिलो औपचारिक भ्रमण गर्ने परम्परागत चलन अनुसार चीन सरकारको निमन्त्रणामा हुन लागेको यस भ्रमणलाई महìवका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई तयारी स्वरूप परराष्ट्रमन्त्री आरजु राणा बिहीबार चीन पुग्नुभएको छ । बेइजिङस्थित नेपाली दूतावासले पनि प्रधानमन्त्री ओलीको भ्रमणको तयारी तीव्र पारेको जनाएको छ ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुने छ । त्यस्तै प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडासहित सरकारका उच्च अधिकारी, निजी क्षेत्रका विज्ञ व्यक्तिहरू सहभागी रहनुहुने जनाइएको छ । प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

  • काठमाडौंमा आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । नेपालमा पहिलोपटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट आज (शनिबार) काठमाडौंमा सुरु हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपिएलको भव्य शुभारम्भ हुनेछ ।

    देशभित्र मात्र नभएर विदेशमा समेत धेरैको ध्यान तानिरहेको नेपाली क्रिकेटको महाकुम्भ मेलाको पहिलो खेल दिउँसो साढे १२ बजेबाट हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । जसमा विराटनगर किङ्स र जनकपुर बोल्ट भिड्नेछन् । खेलभन्दा अगाडि क्यानले औपचारिक समारोहको आयोजना गरेको छ । उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भइसकेको छ । क्यानले उद्घाटन खेलका लागि भिआइपीतर्फ ६ सय र साधारणतर्फ नौ हजार दुई सय टिकट बिक्री गरिसकेको छ ।

    एनपिएलमा विभिन्न ठाउँको प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि दाबेदारी पेस गर्नेछन् । घरेलु मैदानमा मात्र नभई अन्तर्राष्ट्रिय मैदानमा पनि तहल्का मच्चाउन सफल नेपाली खेलाडीसँगै विदेशी खेलाडीलाई अनुबन्ध गरेर टोलीहरू बलियो देखिने होडमा छन् । क्यानले आयोजना गरेको पहिलो संस्करणको एनपिएल सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिता छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति धेरैको चासो बढेको छ ।

    नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो । ‘नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि हो, देश विदेशका नेपाली र विदेशी क्रिकेट प्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘क्रिकेटप्रति नेपालीहरूले देखाएको उत्साह र समर्पणले क्यानलाई पनि ऊर्जा थपिएको छ ।’ क्रिकेटप्रेमीको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विश्वकपसहित उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रँदै छन् । हरेक टिममा न्यूनतम् चारदेखि अधिकतम् छ जनासम्म विदेशी खेलाडी रहने क्यानले जनाइएको छ ।

    दर्शकको बाक्लो उपस्थिति रहने निश्चित
    स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ । योपटक आठवटा पिचलाई नयाँ तरिकाले निर्माण गरिएको छ । साथै दर्शकले पहिलोपटक डिजिटल स्कोर बोर्डको आनन्द उठाउन पाउनेछन् । त्यस्तै, मैदानमा बाउण्ड्री पनि बढाइएको छ । दर्शकहरूका लागि भिआइपी र साधारण दुवैतर्फ बस्ने व्यवस्था गरिएको छ । त्यस्तै, फिक्स्ड साइड स्क्रिन, मिडिया बक्स, प्राक्टिस पिचहरूमा समेत राम्रो मिहिनेत गरिएको छ ।

    यसपटक दर्शकका लागि जोन छुट्याएर निश्चित संख्यामा मात्र राख्नेगरी निर्माण सम्पन्न गरेको छ । सधैँ दर्शकका लागि शौचालय नभएको समस्या यसपालि समाधान भएको छ । महिला र पुरुष दर्शकका लागि अलग-अलग बाथरुम व्यवस्था भएको छ ।
    एनपिएल पहिलोपटक विश्वचर्चित स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा लाइभ हुनेछ । त्यस्तै, टिभी नहुनेहरूले पनि एनपिएल सहज रूपमा युट्युबमा समेत हेर्न पाउनेछन् । योपटक एनपिएलको युट्युब राइट डिश मिडिया नेटवर्कले लिएको छ । एनपिएलको सबै खेल युट्युबमा डिस होमको एक्सन स्पोर्ट्सबाट लाइभ हुनेछ ।

    यस्तो छ आठ टिमको ‘स्क्वाड’
    लिगमा आठ टिमको सहभागिता छ । जसमध्ये जनकपुर बोल्ट्समा आसिफ शेख मार्की खेलाडी हुनुहुन्छ । टिममा ललित राजवंशी, अनिलकुमार साह, रूपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापामगर, जिमी निशम (न्युजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) र प्रशिक्षक पुबुदु दासानायके रहनुभएको छ ।

    विराटनगर किंग्समा सन्दीप लामिछानेको कप्तानी रहेको छ । विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामीमगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्याण्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्याण्ड), इस्मल आलम (अफगानिस्तान) रहनुभएको छ भने प्रशिक्षक केभिन ओ ब्राइन रहनुभएको छ ।

    लुम्बिनी लायन्समा नेपालका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहनुभएको छ । उहाँका साथै सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अष्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इङ्ल्याण्ड), रेमन सिमन्ड्स (वेस्टइण्डिज), शादबिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक) हुनुहुन्छ । प्रशिक्षक नन्दन फाडनिस रहनुभएको छ ।

    चितवन राइनोजमा कुशल मल्ल मार्की खेलाडी रहनुभएको छ । रिजन ढकाल, कमलसिंह ऐरी, शरद् भेषावकर, विपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमरसिंह रटैला, दीपक बोहरा, रञ्जीतकुमार, गौतम केसी, रवि बोपारा (इङ्ल्याण्ड), मार्चण्ड डे लांग (दक्षिण अफ्रिका), (चोटले अनुपस्थित हुने) हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्युक मार्टिन बेनकेन्स्टाइन (इङ्ल्याण्ड), सलाहुद्दिन खान (आइकोनिक) खेलाडी तथा उमेश पटवाल प्रशिक्षक रहनुभएको छ ।

    करण केसीको कप्तानीमा रहेको टिम काठमाडौंमा शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्याण्ड), स्टेफन इस्किनाजी (इंग्ल्याण्ड), ड्यान डौथवेट (इंग्ल्याण्ड), माइकल लेभिट (नेदरल्याण्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक) रहनुभएको छ । वसन्त शाही काठमाडौंको प्रशिक्षक हुनुहुन्छ ।

    फ्रेञ्चाइज टिम पोखरा एभेन्जर्समा कुशल भुर्तेलको कप्तानी रहेको छ । पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्याण्ड्स), म्याट क्रिचली (इंग्ल्याण्ड), रेमन राइफर (वेस्टइण्डिज), माइकल लिस्क (स्कटल्याण्ड), सुदीप आर्याल (आइकोनिक) खेलाडी हुनुहुन्छ । पोखरा एभेन्जर्सले राजीव कुमारलाई प्रशिक्षक बनाएको छ ।

    कर्णाली याक्समा सोमपाल कामी मार्की खेलाडी रहनुभएको छ । गुल्शनकुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्टइण्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक) तथा ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहनुभएको छ ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अभिनाष बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्राण्डन मक्मलेन (स्कटल्याण्ड), सेफ अलि जेब (इंग्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (युएई), वसन्त खत्री (आइकोनिक) खेलाडी रहनुभएको छ ।

    नेपालसँगै १६ भन्दा बढी देशका खेलाडी प्रतियोगितामा सहभागी हुँदै छन् । यी खेलाडीलाई मैदानमा उत्रन तिखार्ने भूमिकामा रहेका मुख्य प्रशिक्षक तम्तयारी अवस्थामा छन् । एनपिएलका आठ प्रशिक्षकमा घरेलु टोली नेपाल र छिमेकी भारतको वर्चस्व छ । नेपाल र भारतका तीन-तीनजना प्रशिक्षक छन् । यस्तै, श्रीलंका र आयरल्याण्डका एक-एकजना छन् ।

  • बालबालिकाको अवस्था बुझ्न चार प्रदेशमा स्थलगत भ्रमण गर्ने

    काठमाडौँ, शुक्रबार, । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो ।

    उहाँले भन्नुभयो, ‘कोशी र मधेश प्रदेशमा र लुम्बिनी र कर्णाली प्रदेशमा अनुगमन गर्ने कार्यतालिका बनाएका छौं । भ्रमणमा हामी विषेश गरी तीन वटा विषयमा केन्द्रित रहनेछौं । एउटा हामी बालबलिकासँग छुट्टै छलफल गर्छौं । स्थानीय तहहरुमा सङ्गठित भएका बालबालिकाहरुसँग क्लव विभिन्न जाती, भाषा, लिङ्गको आधारमा बनेको छ कि छैन ? र बालबालिकाको स्थिति के छ भनेर स्थानीय तहमा छलफल गर्छौं । त्यहाँका स्थानीय सरकारसँग पनि हामी छलफल गर्छौं । जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुखहरु र महिला बालबालिका शाखा हेर्ने सरोकारवालाहरुसँग छलफल गर्छौं । बालबालिकाको नेटवर्कका लागि स्थानीय सरकारहरुले बनाएको ऐनको विषयमा पनि हामी अध्ययन गर्नेछौं ।’’

    बालबालिकाका सङ्गठनहरु, बालबालिकाका लागि स्थानीय तथा प्रदेश सरकारले बनाएका ऐन र तिनको कार्यान्वयनको अवस्था लगायत विषयमा अध्ययन गर्न समितिले स्थलगत भ्रमण गर्न लागेको समिति सभापति तुलसाकुमारी दाहालले बताउनुभयो । उहाँकाअनुसार समितिले स्थानीय तहहरुमा सङ्गठित भएका बालबालिकाहरुसँग क्लवहरु विभिन्न जाती, भाषा र लिङ्गको आधारमा छन् कि छैनन् भने छुट्टै छलफल गर्नेछ ।

    समितिले बालबालिकासम्बन्धी स्थानीय तहहरुले बनाएको ऐन र ऐनको कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तहका सामाजिक तथा बालबालिका शाखा, शिक्षा शाखा र सरोकारवालाहरुसँग छलफल गर्ने सभापति दाहालले बताउनुभयो । उहाँले कोशी प्रदेशमा मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेश प्रदेशमा मधेशी समुदायका बालबालिकाको अवस्थाका बारेमा अध्ययन गरिने पनि जानकारी दिनुभयो ।

    ‘‘त्यस्तै प्रदेश सरकारले बालबालिका सम्बन्धी कस्तो नीति बनाएको छ ? र त्यो नीतिको कार्यान्वयनको अवस्था के छ ? भनेर बाल सहभगिताको विषयलाई हामी अध्ययन गर्छौं । अध्ययनका क्रममा हामी पत्रकारहरु, त्यो क्षेत्रका विज्ञहरु र सम्बन्धित मन्त्रालयका मन्त्रीहरु र महिला तथा बालबालिका समितिहरुमा समेत छलफल र अध्ययन गर्नेछौं ।,’’ सभापति दाहालले भन्नुभयो, ‘‘खासगरी एकल अधिकारको सूचि र साझा अधिकारको सूचिका लागि कस्ता कस्ता ऐनहरु उहाँहरुले निर्माण गर्नुभयो र ति ऐनहरुको कार्यान्वयनको अवस्था के छ ? र त्यसमा बालबालिकाको सहभागिताको कुरालाई हेर्नेछौं । कोशी प्रदेशमा खासगरी मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेश समुदायको बालबालिकाको अवस्था पनि हामी अध्ययन गर्नेछौं ।’’

    समितिका दुई वटा टोली स्थलगत अध्ययन तथा भ्रमणका लागि भ्रमणमा जानेछन् । कोशी तथा मधेश प्रदेशको स्थलगत भ्रमणमा जने टोलीले विराटनगर, जनकुपर, सिराहा र उदयपुरमा रहेका स्थानीय तह र बाल क्लवहरुसँग छलफल गर्नेछ । यता कर्णाली तथा लुम्बिनी प्रदेशमा जाने टोलीहरुले नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रमा छलफल तथा अध्ययन गर्नेछ । भ्रमण तालिका चार दिनको रहने सभापति दाहालले बताउनुभयो ।

  • सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिदै

    काठमाडौँ, शुक्रबार, १४ मङ्सिर २०८१ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिएका छन् ।

    काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देयक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताए।

    उनले भने “सुस्मा कोइराला मेमोरियल अस्पताल जलन उपचारका लागि एक विशिष्टिकृत अस्पताल हो, सरकारले भर्खरै देशभरका आठ अस्पताललाई जलन उपचार गर्न सकिने अस्पतालका रुपमा घोषणा गरेको छ, यसमा सुस्मा कोइराला अस्पताललाई समेत थप गरेर अगाडि बढ्न सकिन्छ । ”

    स्वास्थ्यमन्त्री पौडेलले जर्मनको सहयोगमा सुस्मा कोइराला मेमोरियल ट्रष्टद्धारा सञ्चालित उक्त अस्पतालले अन्य अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सलाई जलन उपचारसम्बन्धी तालिम प्रदान गर्न सक्ने बताए । जलन उपचारको नेतृत्व सुस्मा कोइराला अस्पतालले गर्न सक्ने उनको भनाइ थियो ।

    कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सुरुको समयमा दुर्गम क्षेत्रमा अस्पताल खोल्नका लागि निकै समस्या झेल्नुपरेको बताए । सुरुको बेलामा देशभर नै जलनको उपचार नहुँदा उक्त अस्पताल स्थापना गरिएको उनको भनाइ थियो ।

    कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा चन्द्र भण्डारीले आफ्नो जीवनको महत्वपूर्ण २७ वर्ष नेपालका लागि दिएकोमा स्टाललाई धन्यवाद दिए ।

    उनले देशैभर जलनको उपचार गर्ने अस्पताल आवश्यक रहेको उल्लेख गरे । शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले सबैभन्दा पुरानो जलन हस्पिटलको रूपमा सुष्मा कोइराला मेमोरियल अस्पताल रहेको उल्लेख गर्दै जलनका बिरामी उपचारको लागि बाहिर जानुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

    अस्पतालका मेडिकल डाइरेक्टर सन्तोषविक्रम भण्डारीले अस्पताल निर्माणका क्रममा भोगेको समस्या र चुनौतीको उल्लेख गर्दै स्थानीय तथा कर्मचारीले गरेको साथ र सहयोगप्रति धन्यावाद दिए।जलनको उपचारका लागि नेपालकै पहिलो अस्पतालका रुपमा विस २०५४ सालमा सुस्मा कोइराला मेमोरियल अस्पतालको स्थापना गरिएको थियो ।

    अस्पतालले स्थापना कालदेखि हालसम्म आइपुग्दा चार लाख ८३ हजार २२ जनाको उपचार गर्नुका साथै ३२ हजार ८६४ जनाको शल्यक्र्रिया सम्पन्न गरेको छ ।

    जर्मनी सहयोगमा सञ्चालित उक्त अस्पतालले हालसम्म १५ हजार ३७५ जनाको निःशुल्क उपचारसमेत गरिसकेको छ । आठ जना डाक्टर तथा कर्मचारीबाट सुरु भएको उक्त अस्पतालमा हाल १०० कर्मचारी कार्यरत रहेको अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले जानकारी दिए ।

  • मङ्सिर १६ गते गोरखा नगरपालिकामा सार्वजनिक विदा

    गोरखा, शुक्रबार, १४ मङ्सिर २०८१ । गोरखा नगरपालिका गोरखाले यहीँ मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि नगरपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचनामार्फत उपनिर्वाचनका दिन नगरपालिका भित्र सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।

    गोरखा नगरपालिका वडा नम्बर ५ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचनको दिन उक्त वडामा सार्वजनिक विदा भएतापनि आसपासको वडाहरुमा समेत सो निर्वाचन कार्यक्रमबाट आवत जावतमा कठिनाई हुने र अन्यत्र कार्यरत रहेका वडा नम्बर ५ मा मतदान गर्न योग्य मतदाताहरुलाई समेत विदा वा वैकल्पिक व्यवस्था आवश्यक भएकोले नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

    नगरपालिकाले निर्वाचनलाई सफल पार्ने उद्देस्यसहित नगरप्रमुख स्तरीय निर्णयबाट विदाको घोषणा गरको हो । सार्वजनिक विदाका दिन नगरपालिका भित्रका रहेको नगरपालिका अन्र्तगतका सवै सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था एवम् अन्य संघ संस्थाहरु बन्द रहने जनाइएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्ष पदका लागि ९ जनाको उमेद्वारी रहेको छ ।