Author: ipmsamachar

  • एन्फामा सिस्नेरी घटनाका पीडित परिवारको धर्ना

    काठमाडौँ, शुक्रबार, ७ मङ्सिर २०८१ । सिस्नेरी घटनाका पीडित परिवारले न्यायको माग गर्दै बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् । गत असोज ११ गते देशभर भएको अविरल वर्षका कारण एन्फाले मकवानपुरस्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट सुरक्षित स्थानमा सर्ने क्रममा आएको पहिरोमा परी ६ जना बालकले ज्यान गुमाएका थिए ।

    घटनामा परी प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योञ्जन, आदित्य बलम्पाखी र विवश बानियाँको मृत्यु भएको थियो । सिस्नेरीको घटना फगत प्राकृतिक प्रकोपमात्र थिएन । त्यहाँ एकेडेमीमा थुप्रै लापरबाही भएको र त्यही लापरबाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको विश्लेषणहरू पनि आइरहेका थिए ।

    संघीय संसद् चलेको थिएन । तथापि समितिमार्फत् यो घटनामाथिको छलफल संसद्सम्म पुग्यो । आफ्ना अबोध सन्तानले अनाहकमा ज्यान गुमाउनुपरेको विषयले संसदीय छलफलमै प्रवेश पाएपछि अभिभावकलाई सन्तान गुमाए पनि कम्तीमा न्याय पाउने आशा थियो । यही आशा बोकेर प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्यायको भिख माग्दै धाउनमै अभिभावकहरूले झण्डै दुई महिनाको समय खर्चिए ।

    यसअघि अभिभावकले अब नबोली न्याय नपाउने ठहर गर्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए । जहाँ सिस्नेरी घटनामा ज्यान गुमाएका सबै ६ खेलाडीका अभिभावक थिए । बारम्बार न्यायको माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरूले एन्फा मुख्यालयमा धर्ना दिएका हुन् । धर्नाका क्रममा सातदोबाटोको माहोल केही तनावपूर्ण बनेको थियो ।

    धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल भएको थियो । केही अभिभावकलाई प्रहरीले लछारपछारसमेत गरेका थिए । पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका थिए । एन्फाले पीडित परिवारलाई आठ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन् ।

    एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित वत्सला माविमा ४० जना बालकहरूलाई फुटबल प्रशिक्षणका लागि क्याम्पमा राखेको थियो । दुई महिनाअगाडि देशभर बाढीपहिरो आउँदा कुलेखानीको बाँध फुट्न सक्ने भन्दै त्यहाँबाट केही बालकहरू सुरक्षित स्थानतर्फ भागेका थिए । तर, बाटोमा उनीहरूलाई पहिरोले पुरेको थियो ।

    यसैबीच खेलाडीका परिवारले बिहीबार एन्फा मुख्यालयमा ताला लगाएका थिए । तर, एन्फा पदाधिकारीबाट कुनै पनि प्रतिक्रिया नआएपछि उनीहरूले करिब तीन घण्टापछि ताला खोलेका थिए ।

  • रुसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

    एजेन्सी, शुक्रबार, ७ मङ्सिर २०८१ । रुसले बिहीबार पहिलो पटक युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको किएभले जनाएको छ । युक्रेनले रूसमा गरेको आक्रमणको दुई दिनपछि रूसले पनि जवाफी कारबाही गरेको हो । रूसले एक हजार दिनदेखि जारी यो युद्धका क्रममा पहिलो पटक शक्तिशाली र लामो दूरीको मिसाइल प्रयोग गरेको हो ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशमा निर्मित लामो दूरीका मिसाइल रुसका भित्री सहरसम्म हान्न युक्रेनलाई अनुमति दिएलगत्तै युद्ध बढ्ने चिन्ता विश्वजगतमा छ ।

    यस्तोमा युक्रेनले केही मिसाइल रुसका भित्री भागसम्मलाई लक्षित गर्दै हानेपछि मस्कोले जवाफस्वरुप अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हानेको हो । यसबारेमा मस्कोले दुई महिनाअघि नै अमेरिकाले यदि लामो दूरीका हतियार युक्रेनलाई चलाउन दिए युद्ध र तनाव उचाइमा पुग्ने चेतावनी दिएको थियो ।

    रूसले निप्रो शहरको मध्य-पूर्व क्षेत्रमास्थित उद्यम र महत्वपूर्ण पूर्वाधारलाई मिसाइलबाट निशाना बनाएको छ । तर, अहिलेसम्म अन्तरमहादेशीय मिसाइलबाट सैन्य या गैरसैन्य कुन पूर्वाधारलाई लक्षित गरिएको हो खुलिसकेको छैन । यसबाट भएको क्षतिको विवरण पनि आइसकेको छैन ।

    अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको दूरी कम्तीमा पनि हजार किलोमिटर हुन्छ । यिनलाई परमाणु वारहेड पठाउने काममा प्रयोग गर्न सकिन्छ । अर्कातिर यिनको प्रयोग परम्परागत वारहेडका लागिसमेत प्रयोग गरिन्छ । युक्रेनको वायु रक्षा प्रणालीले यस हमला क्रममा ६ केएच-१०१ मिसाइल नष्ट गरिएको दाबी गरेको छ ।

    युक्रेनी वायुसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल रूसकोे आस्त्रखान क्षेत्रबाट हानिएको थियो । यस हमलाका क्रममा प्रयोग गरिएको हतियारबारे पनि रुसी सेनाले जानकारी दिएको छ । रसियन सेनाले कुन प्रकारको अन्तरमहादेशीयय ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको भन्ने खुलाएको छैन । यी दुई छिमेकी देशबीच ३३ महिनादेखि युद्ध जारी छ । युक्रेन सुरुदेखि नै अमेरिकाको आडमा युद्ध लडिरहेको छ ।

    यसैबीच युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै रूसी सेनाले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरेको जनाएको छ । विज्ञप्तिका अनुसार रूसको आस्ट्राखान क्षेत्रबाट अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो ।

    युक्रेनी सेनाले क्रेमलिनले आक्रमण सुरु गरेपछि पहिलो पटक आफ्नो सेनाले हतियार तैनाथ गरेको पुष्टि गरेको छ । हजारौँ किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रहारको विषयमा सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफूले यस विषयमा केही भन्न नसक्ने बताउनु भएको छ ।

    वायु सेनाले पाँचवटा मिसाइल खसालिएको डिनिप्रो सहर क्षेत्रका प्रमुखले रूसी प्रहारले पुनर्वास केन्द्र, घरहरूका साथै औद्योगिक क्षेत्रमा क्षति पुर्‍याएको जनाएको छ । प्रहारमा घाइते भएकालाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको युक्रेनी अधिकारी सेर्गी लिसाकले बताउनुभएको छ ।

  • शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक

    काठमाडौँ, बिहिबार, ६ मङ्सिर २०८१ । शंकर लामिछानेको शब्द र संगीतमा राजेशपायल राईले गाएको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक भएको छ ।

    मंगलवार ओएसआर डिजिटलबाट गीत सार्वजनिक गरिएको हो । लामिछानकै शब्द र संगीतमा रहेको गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् । यस म्यूजिक भिडियोलाई विकास प्रसाईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मिस पविको रुपमा चर्चा कमाइरहेकी पवित्रा साकी , शंकर लामिछाने , लगायतका कलाकारको अभिनय रहेको छ ।

    गीतको अन्त्यतिर भिडियोमा समावेश गरिएको संवाद सहितको दृश्यले धेरैको ध्यान तान्ने देखिएको छ । देशप्रेम र इमान्दारितालाई लामिछानेले बलियो रुपमा प्रस्तुत गरेका छन् । सो संवादमा चर्चित कानुन व्यवसायी स्वागत नेपाललाई समेत अतिथी कलाकारका रुपमा देख्न सकिन्छ ।

    लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका लामिछानेको यसअघि दर्जनौं गीत बजारमा आएका छन् । छमछम , झुक्कायो ऐनाले जस्ता गीत लोकप्रिय भएका छन् । मेलिना राईको आवाजमा रहेको सबकुरा नक्कली बनायो चाईनाले मै राम्री हो कि झुक्कायो ऐनाले बोलको गीत बहुचर्चित भएको थियो ।

    लामिछानेले नेपाली कथानक चलचित्र किन लाग्छ मायाँ को मुख्य भूमिकामा अभिनय गरेका छन् । लामिछानेले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’ मा आधारित चलचित्र ‘बोक्सी’ लगायत अन्य केही नाटकमा समेत काम गरेका छन् ।

  • ‘प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउँछ’

    काठमाडौँ, बिहिबार, ५ मङ्सिर २०८१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच दुई पक्षीय भेटघाट भएको छ । चीनको राजधानी बेईजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट छिमेकी दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाईमा पुर्‍याउने बिश्वास व्यक्त गरेको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए ।

    सो अवसरमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ट बनाउने विश्वास व्यक्त गरे । उनले नेपाल र चीनबीच भएका पुराना सम्झौता कार्यान्वयनका क्रममा ठोस योजना तयार गरी अघि बढ्न र दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउन प्रधानमन्त्री आलीको आसन्न चीन भ्रमण कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गरे ।

    चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियन चाओले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनियाँ र नेपाली जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई स्वागत गर्न चिनियाँ पक्ष आतुर रेहेको बताए । उनले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको ऐतिहासिक सम्बन्धलाई विकास र समृद्धिको दिशामा अधिकतम् सदुपयोग गर्नुपर्नेतर्फ दुवै देशको ध्यान जानुपर्नेमा जोड दिए ।

    चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सन हाईयानले असल छिमेकी देश नेपालको विकास र समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चिनियाँ पक्ष तयार रहेको बताए । चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत बिदेश बिभागको निमन्त्रणामा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा रहेको सदस्य ज्ञवालीले जानकारी दिए ।

  • गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण

    गोरखा, बिहिबार, ६ मङ्सिर २०८१ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो ।

    धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कूल रु दुई करोड २८ लाखको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।”

    नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ । अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनुभयो ।

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ को पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

    गोरखा, बिहिबार, ६ मङ्सिर २०८१ । गोरखा सदरमुकाममा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ आज सुरु भएको छ । दुई दिन सम्म चल्ने भेलाको आज पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

    गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्देश्यसहित सदरमुकाममा भेला सुरु भएको आयोजक होटल सङ्घ गोरखाले जनाएको छ । जिल्लामै पहिलोपटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो । भेलामा जिल्लाभित्र स्थायी घर भई देशभर पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहेको होटल व्यवसायी सङ्घ गोरखाका अध्यक्ष केशव कुँवरले जानकारी दिनुभयो ।

    भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसके जिल्लामा अत्यधिक पर्यटक भित्र्याउन सकिने आयोजकको भनाइ छ ।

    भेलामा एक सय ५० बढी पर्यटन व्यवसायीको सहभागिता रहेको सङ्घका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने भेलामा जिल्लाभित्रका ११ वटै स्थानीय तहले आआफ्ना स्थानीय भित्रको पर्यटकीय सम्भावना बोकेका क्षेत्रको भिडियो सामग्री प्रस्तुत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

  • सिनामंगलको हवाई इन्धन डिपो गुहृयेश्वरी सारिँदै

    काठमाडौँ, बिहिबार, ६ मङ्सिर २०८१ । नेपाल आयल निगमले काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो अन्यत्र सार्ने भएको छ । सिनामंगलको घना बस्तीका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै डिपो जोडिएका कारण अधिक जोखिम बढेपछि सरकारको निर्देशनअनुसार निगमले डिपो स्थानान्तरण प्रक्रिया सुरु गरेको हो ।

    उक्त डिपो ५० वर्षअघि निर्माण भएको थियो । हालको स्थानबाट अन्यत्र डिपो सारेर निर्माण कार्यका लागि विस्तृत परियोजना अध्ययन(डिपिआर)का लागि निगमले पुल्चोकस्थित इञ्जिनियरिङ संस्थानलाई जिम्मा दिएको छ ।

    डिपिआरका लागि संस्थानको कन्सल्टेन्सी सेवा विभाग र आयल निगमअन्तर्गतको सिनामंगलस्थित हवाई इन्धन डिपोबीच बुधबार द्विपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा निगमतर्फबाट डिपो प्रमुख प्रदिप यादव र संस्थानको कन्सल्टेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतमले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा डिपो प्रमुख यादवले तत्कालीन समयमा निर्माण भएको डिपोले अहिलेको विश्वस्तरीय सुरक्षाको मापदण्ड र सुविधा दिन नसकेकाले नयाँ मापदण्डअनुसार नयाँ स्थानमा सारेर अत्याधुनिक सुविधासहित निर्माण गर्न लागिएको बताउनुभयो । यादवका अनुसार डिपिआर गर्न छ महिनाको समय तोकिएको छ । निगमको सञ्चालक समितिले डिपिआर र डिपिआरमा लाग्ने खर्च एक करोड ९८ लाख रुपैयाँ विनियोजनसमेत गरिसकेको छ ।

    डिपिआरपछि बजेट व्यवस्थापन गरी निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाइने र डिपो निर्माण आगामी वर्ष २०८४ मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ । यसअघि एक जर्मन कम्पनीले गरेको डिपिआरअनुसार डिपो सार्न छ अर्ब रुपैयाँ लाग्ने बताइएको थियो । त्रिभुवन विमानस्थल परिसरमै हवाई दुर्घटना बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि हवाई इन्धन डिपो अन्यत्र सार्न निगमलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनसँगै डिपो सार्ने विषयमा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका साथै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहितको टोलीले स्थलगत भ्रमण गरी भवितव्य जोखिम विचार गरी सार्न निगमलाई सुझाव दिएको थियो । मन्त्रिपरिषद्को बैठकले पनि एक वर्षभित्र डिपो सार्न निगमलाई निर्देशन दिएको थियो ।

    हवाई इन्धन डिपोका कारण सिनामंगल र जागृतिनगरका हजारौं घर उच्च जोखिममा रहे पनि यसअघि निगमले डिपो सार्न खासै चासो देखाएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले हवाई इन्धन भएको डिपो क्षेत्र खाली गर्न निगमलाई आग्रह गर्दै आएको थियो ।

    विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको उक्त डिपोका कारण विमानस्थल र जहाजसमेत उच्च जोखिममा रहेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन समिति (आइकाओ) ले पनि डिपो सेफ्टी मापदण्डविपरीत रहेको जनाउँदै आएको थियो । पछिल्लो समय निगमले पनि उक्त तथ्य स्वीकार गर्दै डिपो अन्यत्र सार्न राजी भएको हो । डिपो घना बस्ती र आइकाओको सेफ्टी मापदण्डविपरीत स्थानमा रहेकाले पनि सार्नुपर्ने अवस्था रहेको डिपो प्रमुख यादवले बताउनुभएको छ । गत साउनमा सौर्य एयरको जहाज डिपोको ठीक विपरीत पूर्वी क्षेत्रमा दुर्घटना भएको थियो भने टर्किस एयरलाइन्स र विमान बंगलादेशको जहाज पनि सोही आसपास दुर्घटना भएको थियो ।

    यादवका अनुसार विश्वमा सबैभन्दा बढी विमानस्थलको रनवे (एयरपोर्ट) निर्माण गरेको जर्मनीको हंसा कन्सल्टेन्टले समेत त्रिभुवन विमानस्थलको रनवेसँगै टाँसिएको हवाई इन्धन डिपोका कारण विमानस्थल उच्च जोखिममा रहेको जनाउँदै आएको थियो । आइकाओ र मास्टर प्लानअनुसार मूल रनवेको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ । त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने मास्टर प्लानमा उल्लेख छ ।

    गुहृयेश्वरी सारिँदै हवाई इन्धन डिपो
    सुरक्षाको दृष्टिकोणले हंसा कन्सल्टेन्सी, आइकाओ र विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको मास्टर प्लानअनुसार विमानस्थलको उत्तर पश्चिमको गुहृयेश्वरीस्थित गल्फ कोर्सनजिकैको खाल्डो भएको क्षेत्र सबैभन्दा राम्रो मानेको छ । डिपो सार्न करिब ५० रोपनी जग्गा पनि छुट्याइएको छ । छुट्याइएको खाल्डो भएको जग्गामा माटो पुरेर डिपो निर्माण गर्नुपर्ने अवस्था छ । गहिरो स्थानमै भर्टिकल ट्यांकीसहितको डिपो निर्माण गर्ने निगमको तयारी छ ।

    अहिलेको रनवेबाट पाँच मिटर गहिराइमा ट्यांकीसहितको डिपो निर्माण हुने भएकाले भविष्यमा कुनै पनि प्रकारको जोखिम निम्तिन नसक्ने निगमको दाबी छ । डिपो प्रमुख यादवका अनुसार हाल रनवे र पहिलो डिपोबीच ९० मिटर दूरी रहेको छ । माथिल्लो डिपोमा ७० किलोलिटरको ट्यांकी भूमिगत गरेर राखिएको छ भने सात सय ६० किलोलिटर क्षमताका तीन भर्टिकल ट्यांकी रहेका छन् ।

    रनवेदेखि एक सय ६० मिटर दूरीमा १६ सय किलोलिटरका तीन ट्यांकीसहितको दोस्रो डिपो रहेको छ । डिपोमा एक हजार सय किलोलिटरका तीन, सात सय ६० किलोलिटरका तीन र ७० किलोलिटर क्षमताका आठ इन्धन ट्यांक जमिनमुनि रहेका छन् । १५ दिनको माग धान्ने गरी डिपोको कुल भण्डारण क्षमता ७६ लाख ४० हजार लिटर छ । डिपोबाट दैनिक करिब चार लाख ७५ हजार लिटर हवाई इन्धन बिक्री हुँदै आएको छ । तर, दशैँको समयमा अधिक उडान हुने भएकाले १५ दिन पुग्ने भण्डारणले पाँच दिनको मागमात्रै धान्न सक्ने अवस्था रहेको छ ।

  • रुपन्देहीमा मङ्सिर २१ र २२ गते प्रथम मगर साहित्य महोत्सव

    बुटवल, बुधबार, ५ मङ्सिर २०८१ । नेपाल मगर महिला संघ रुपन्देहीले आगामी मङ्सिर २१ र २२ गते प्रथम मगर साहित्य महोत्सव आयोजना गरेको छ । महोत्सव मूल आयोजक समितिको सचिवालय बैठकले तयारीलाई तिब्रता दिन कार्यतालिका सार्बजनिक गरेको छ ।

    सचिवालय सदस्य तथा प्रचार प्रसार समितिका संयोजक यम रानाका अनुसार मङ्सिर ५ गते प्यानल डिस्कशनको विषय छनोट तथा पात्रका बारेमा तयारी बैठक आयोजना, ८ गते स्वयम् सेवकका लागि अभिमुखीकरण कार्यक्रम, मङ्सिर १२ गते आयोजक समितिको पूर्ण बैठक आयोजना तथा मङ्सिर १६ गते पत्रकार सम्मेलन लगायतका कार्यतालिका सार्बजनिक गरेको हो ।

    मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसनको आयोजना गरिने महोत्सव प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए ।

    देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।

    उक्त सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ दर्जन बढी देशहरुमा उप समिति गठन गरी तयारीलाई अघि बढाइएको प्रचार संयोजक रानाले जानकारी दिए ।

    महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने गाहाले जानकारी दिए ।

    सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने महोत्सव मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् ।

    सो सम्मेलन सम्पन्न गर्न २० लाख खर्च अनुमान गरिएको छ भने उक्त रकम दान दातव्य, मगर चलचित्र च्यारिटी शो, विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन, क्यूआर कोटबाट न्यूनतम १० रुपैयाँ दान अभियान तथा स्थानीय सरकारसँग सहकार्य गरी संकलन गरिने थापाले जानकारी दिइन् ।

  • गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै चलचित्र ‘रिमै’ को छायांकन सुरु

    गोरखा, बुधबार, ५ मङ्सिर २०८१ । चलचित्र ‘रिमै’ को छायांकन सुरु भएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए ।

    चलचित्रको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन् । चलचित्र अब एक महिना गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा छायांकन हुनेछ ।

    रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

    चलचित्रमा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।

    वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको चलचित्रमा बिनु गुरुङ, रोशन भट्टराई, राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।

    उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् ।

  • सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति मागे माफी

    काठमाडौँ, बुधबार, ५ मङ्सिर २०८१ । सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् ।

    “सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,” बजगाईंले एक्समार्फत भनेका छन्, “मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।”

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद बजगाईंसँग स्पष्टीकरण लिएको थियो ।

    केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको थियो ।