Author: ipmsamachar

  • मनकामनादेखि गोरखा दरबारसम्म ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन हुने

    गोरखा, मंगलबार, ४ मङ्सिर २०८१ । गोरखामा पहिलो पटक मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन दौड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, गोरखाको आयोजनामा यही मंसिर २९ गते म्याराथन दौड हुन लागेको हो ।

    खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित म्याराथनको आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिंह बस्नेत(शान्तसिँह)ले बताए । मनकामना मन्दिर परिसरबाट सुरु हुने म्याराथन ताक्लुङ, तीनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भँगार (लखन थापा स्मारक), बुङ्कोट, ढुंगागाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, कालोबरचौतारा तीनचापेखानेपानी कार्यालय, पस्लाङ चौतारा, धारापानी, विपिचौतारा, ठूलोआँगन हुँदै सतिपिपल, गैह्रीकुवा, हनुमानढोका, गोरखकाली मन्दिर, हनुमान थानसम्म ४२.१९५ किलोमिटरको म्याराथन हुन लागेको हो ।

    ‘धार्मिक रुपमा निकै महत्वपुर्ण मानिने मनकामना भगवती र गोरखकाली भगवती दिदी बहिनी हुन् तर मनकामनाको तुलनामा गोरखकाली मन्दिर ओझेलमा परेको अवस्था छ’, अध्यक्ष बस्नेतले भने, ‘मनकामना आएका पर्यटकहरुलाई गोरखकाली मन्दिरसम्म आउने वातावरण सिर्जन गर्ने प्रमुख उद्देश्यका साथ यो म्याराथनको आयोजना गरिएको हो ।’

    म्याराथनका लागि करिब २७ लाख ११ हजार २५० रुपैँया खर्च लाग्ने अनुमान गरिएको उनले बताए । जसमध्य प्रदेश खेलकुद परिषदको रु ५ लाख रकम सुनिश्चित भईसकेको उनको भनाइ छ । स्थानीय सरकार र विभिन्न संघ संस्थाहरुबाट रकम संकलन गरेर कार्यक्रम सम्पन्न गर्न लागेको उनले बताएका छन् ।

    म्याराथनको उद्घाटन तथा समापन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् भने स्वयमसेवकको भूमिका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाह गर्ने छन् । प्रतियोगिताका लागि सातैवटा प्रदेशका खेलकुद परिषदहरुलाई आह्वान गरिएको बताइएको छ ।

    उक्त प्रतियोगितामा १५० भन्दा बढीले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलाडी प्रवेशशुल्क जिल्लाबासीको हकमा निशुल्क र अन्यको हकमा रु पाँच सय रहेको समितिको भनाइ छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौँथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ पुरस्कार क्रमशः रु डेढ लाख, एक लाख, ७५ हजार, ६० हजार, ५० हजार, ४० हजार, ३५ हजार, २५ हजार, २० हजार र १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समितिको भनाइ छ ।

  • शहिद लखन गाउँपालिकामा सार्वजनिक बिदा, मनकामना मन्दिरमा भाेली पञ्चमी मेला

    गोरखा, मंगलबार, ४ मङ्सिर २०८१ । गोरखाको शहिद लखन गाउँपालिकाले भाेली गुठि पञ्चमीकाे अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै भाेली बुधबार मङ्सिर ५ गते परेको गुठी पञ्चमीको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

    देशकै प्रसिद्ध धार्मिकस्थल तिर्थ स्थल मनकामना मन्दिरमा बिशेष मेला लाग्ने भएकाले भाेली (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    गाउँपालिकाले हरेक बर्ष गुठी पञ्चमकीको अबसरमा पालिका भित्र सार्वजनिक बिदा दिदै आएको गाउँपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत यामबहादुर बृकट्टाले जानकारी दिनुभयो ।

    शहिद लखन गाउँपालिकाद्वारा जारी सार्वजनिक बिदा सम्बन्धि सुचना

  • गोरखाको बारपाक सुलिकोट ६ ताकुकोटमा मङ्सिर ५ र ६ गते न्वागी मेला

    गोरखा, मंगलबार, ४ मङ्सिर २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा न्वागी मेला हुने भएको छ । वडा नम्बर ६ स्थित ताकुकोटमा रहेको माइ भगवाती मन्दिरमा यहि मंसिर ५ गते बेलुका र ६ गते वा भोली र पर्सी मेला लाग्ने न्वागी मेला आयोजक मुल समितिले जनाएको छ । मेलाको अघिल्लो दिन आज मंगलबार निराहार ब्रत बसी रातभर मन्दिरमा पूजा गर्ने तथा बत्ति बाल्ने गरिन्छ भने,भोलि पल्ट बिहान साइत हेरेर न्वागी खाने प्रचलन रहेको छ ।

    प्रत्येक वर्ष कात्तिक महिनाको १५ गते भन्दा पछि उपयुक्त दिन हेरी माइ भगवती मन्दिरका पुरोहितले कात्तिके पुजा गर्ने चलन रहेकोे मुल आयोजक समितिले जनाएको छ । पुजाको दिनमा मुट्ठी लिने तथा न्वागी खाने दिन जुराउने गरिन्छ । मुट्ठी लिने भन्नाले किसानले खेतमा फलाएको धानको एक गाँज पुजा गरी उक्त धानको गाँज काटी घरमा ल्याउने चलन हो । यसरी विभिन्न रुपमा मुट्ठी लिएपछि मात्रै खेतको धान काट्ने गरिन्छ ।

    यसरी काटिएको नयाँ धान कुटेर सो धानको चामलमा दहि, केरा, तिल, नरिवल आदि मिसाइ दहि चामल खाने गरिन्छ । यसरी खाइने दहि चामललाई ‘न्वागी खाने’ भन्ने चलन छ । मेलामा बारपाक सुलिकोट गाउँपालिकाका छिमेकी जिल्ला तनहुँ, चितवन र छिमेकी वडाहरुबाट हजारौ भक्तजनहरु आउने अपेक्षा गरीएको छ ।

    मेलामा विभिन्न समुदायको पहिचान झल्कने झाँकीका साथमा जातिय पहिचान बोकेको मारुनी, सोरठी, चुड्का, भजन, झ्याउरे लगायतका नाचहरु देखाउने छ ।

    यस बर्षको पर्वमा माई भगवाती पूजा समिति तथा स्थानियहरुको सहकार्यमा कलाकारहरू ईन्द्रणी कार्यक्रमको चर्चित लोक दोहोरी गायिका टिका सानु, लोक गायक सागर गुरुङ, लोक दोहोरी गायक सुमन परियार, हककास्य कलाकार पल्पसा डंगोल लगायतको राष्ट्रिय र स्थानीय कलाकारहरुको भव्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।

  • न्वागी पर्व, श्रीनाथ मण्डली :आस्था र बिस्वासको धरोहर

    राजु मियाँ

    गोरखा, सोमबार, ३ मङ्सिर २०८१ । ऐतिहासिक, पुरातात्विक गढी (जेठा कोट, माइला कोट, कान्छा कोट) एवं श्रीनाथ बाबा र श्रीनाथ मण्डली, जोगी गुफा भन्ने स्थानमा रहेको महादेव शिवालय समेत रहेको सिरानचोक गाँउपालिकाको नामाकरण गरिएको हो ।

    श्रीनाथकोट गोर्खा जिल्लामा पर्ने एउटा ऐतिहासिक महत्व बोकेको ठाउँ हो । सिरानचोक गाउँपालिका वडा नं. ७ मा पर्ने यो कोट नेपाल एकीकरणको यात्रा प्रारम्भ भएको स्थानका रुपमा परिचित छ । पूर्वमा दरौंदी पारि ताकुकोट, सुलिकोट पश्चिममा चेपे नदी, राइनासकोट, उत्तरमा अजिरकोट र दक्षिणमा दरौंदी नदी वारीका मिर्कोट, धुवाँकोट, लिगलिगकोट र हर्मीकोटको बीचमा रहेको सबैभन्दा अग्लो स्थानको नाम हो श्रीनाथकोट अर्थात् सिरानचोक दरबार । यो समुन्द्र सतहबाट करिब १९७४ मीटरको उचाइमा रहेको छ ।

    ऐतिहासिक चिनारी तथा नामाकरण
    ऐतिहासिक, पुरातात्विक गढीका रुपमा यसलाई लिइएको छ । यहाँ मूलकोट, जेठो कोट, माइलो कोट, कान्छो कोट गरी ३ वटा सैन्य दरबारको अवशेष भेटिन्छन् । त्यस्तै श्रीनाथ बाबा आश्रम, श्रीनाथ मण्डली देवीको मन्दिर र दुई किलोमिटरको उत्तर पूर्वमा रहेको छेंडा भन्ज्याङको जोगी गुफा र महादेव शिवालयसमेत रहेको छ । सिरानचोक नामाकरण सम्बन्धमा विभिन्न भनाईहरु रहेका छन् जसमध्ये एउटा प्रचलित भनाई अनुसार सिरानचोकको पुरानो नाम स्यार्तन हो । स्यार्तनको अर्थ सबैको प्रिय अग्लो डाँडा भन्ने हुन्छ । वरिपरिका डाँडाहरु मध्ये, गोरखादेखि सबै भन्दा नजिकको अग्लो डाँडाको रुपमा चिनिने यस क्षेत्र नेपाल एकिकरणको प्रारम्भिक स्थान हो । तत्कालिन अवस्थामा गोरखा राज्य बचाउन वाइसे चौविसे राज्यहरुको आक्रमणबाट बच्नका लागि उनीहरु सँग लडाई गर्ने रक्षा किल्लाको रुपमा परिचित छ । वडाकाजी अम्मर सिंह थापाको बुबा बाघ भिमसेन (भिमसिंह) थापाले समेत नेतृत्व गरेको किल्लाको रुपमा परिचित छ । गोरखा राज्यको निर्माणको क्रममा वि.सं. १६१६ देखि १८३७ सम्म विभिन्न पटक चौविसे राज्यहरुसँग लडाई भएको थियो । सिरानचोक गढीमा अन्तिम पटक वडाकाजी अम्मर सिंह थापाको नेतृत्वमा चौविसे राज्यहरुलाई पराजित गरिएको थियो । त्यसपछि गोरखा राज्यको सिमाना चेपे र मस्र्याङदी नदीको किनार पार गरी अगाडी बढेको ईतिहासमा पाइन्छ । बाघ भिमसेन थापा र वडाकाजी अम्मर सिंह थापाको जन्म सिरानचोकमा नै भएको देखिन्छ र तत्कालिन गोरखा राज्यका सेना प्रमुख झागल गुरुङको जन्मस्थल समेत सिरानचोक रहेको इतिहास छ । हाल ऐतिहासिक गढीको नामबाट नै सिरानचोक गाउँपालिका नाम राखिएको छ ।

    श्रीनाथ मण्डली देवीको शक्तिपिठ
    प्राचिन इतिहासलाई हेर्दा परापूर्बकालमा नाथ सम्प्रदायका एक जना जोगीले सिरानचोकमा मण्डली नामकी देवीको मुर्ति स्थापना गरी उक्त मूर्तिमा नित्य पूजा प्राथना गर्ने गर्दथे । उक्त मण्डली देवीको मन्दिरमा श्रीनाथ बाबाले दैनिक पूजा आरधना गर्ने भएकाले उक्त मन्दिरको नाम पनि श्रीनाथ मन्डली रहन गएको हो भन्ने भनाइ पनि छ । इतिहासकारहरुले यो गढी र श्रीनाथ मण्डली देवीको मन्दिर चौबसी राज्यकालमा स्थापना भएको मान्दछन् । द्रव्यशाहको पालामा गणेश पाँडेको मातहतमा गएको गोरखाली फौजले सिरानचोकमा कब्जा जमाएपछि यो गोरखा राज्यको सामरिक महत्वको किल्ला बनेको थियोे । मण्डली देवी र श्रीनाथ बाबाको आश्रम लिएर १६ औं शताब्दीमा एक भण्डारी थरको राजाले सिरानचोक कोटमा राज्य स्थापना गरी आफ्नो राज्यलाई सिरानचोक कोट नामकरण गरेको पाइन्छ । प्राचिनकालमा स्थापन गरिएको श्रीनाथ मण्डली मन्दिरलाई तत्कालीन राज्यले इष्ट देवताको रुममा पूजा आजा गर्ने गरेको पनि पाइन्छ ।

    अहिले श्रीनाथ मण्डली तथा कोट विकास समिति र स्थानीय समुदाय मिली पूजा र अन्य व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएका छन् । खडेरीमा यस मन्दिरमा बली पूजा गरी जलधारा गरेमा पानी पर्ने विश्वास रहि आएको छ । जसले गर्दा यस देवीलाई किसानको देवीका रुपमा पनि चिन्ने गरिन्छ । यस मन्दिरमा नयाँ अन्नबाली चढाउने प्रचलन रही आएको छ ।

    श्रीनाथ र मण्डली दुई छुट्टा छुट्टै देवता हुन् । श्रीनाथ र मण्डलीको मन्दिर एउटै घेराभित्र रहेता पनि छुट्टाछुट्टै ठाउँमा पूजा गर्ने गरिन्छ । यहाँ मूर्ति छैन, प्राकृतिक शिलालाई श्रीनाथ र मण्डलीको अलग अलग प्रतिक मानी पूजा गरिन्छ । यो स्थान चतुष्कोणाकार स्वरुपमा रहेको छ । ढुङ्गा माटोको पर्खाल लगाई छानाविहीन रुपमा श्रीनाथ-मण्डली बनेको छ । श्रीनाथ-मण्डली ११.७० मीटर लम्बाई, ८.२० मिटर चौडाई र २.३० मीटर उचाईमा बनेको छ । हाल मण्डलीको पूर्वतर्फ श्रृङ्गी ऋषिको नयाँ मूर्ति स्थापना गरिएको छ ।

    पूर्वतर्फ पूरानो घण्टा यधपी देख्न सकिन्छ । झ्याल ढोका सादा छन् | स्थान वरिपरि भक्तजन बस्ने पाटीहरु बनाइएको छ । पूर्वतर्फ श्रृङ्गी ऋषिको नयाँ मूर्ति स्थापना गरिएको छ । देवताको पूजा गर्न पिता पुर्खाको पालादेखिनै पूजारी चुनेर पुजाको राम्रो व्यवस्था मिलाउँदै आइरहेका छन् । यी देवतालाई सिरानचोकवासीहरुले सत्को देवता मानी आध्यात्मिक आस्थाको धरोहरको रुपमा श्रीनाथ-मण्डलीलाई मान्दै आइरहेका छन् ।

    सिरानचोकको शिरमा घना जंगलको बीचमा अवस्थित श्रीनाथ-मण्डली मन्दिरले यस क्षेत्रलाई धार्मिक स्थलको रुपमा परिचय दिएको छ । श्रीनाथ-मण्डलीको स्थापना कसरी भयो भन्ने विषयमा ऐतिहासिक तथ्य र घटना रहेको छ : उहिले द्रव्य शाहले सिरानचोकको राज्य सञ्चालन गर्ने क्रममा औषधी उपचार गर्ने भनि एकजना जोगीको व्यवस्था गरेका थिए । जुन जोगीलाई नाथ भन्ने गरिन्थ्यो । त्यसबेला आधुनिक उपचार पद्दति र अस्पताल नभएका कारणले गर्दा पनि आफ्नो निजी वैद्यको रुपमा जोगीलाई राखेको तथ्य प्रष्ट रहेको छ । द्रव्य शाहको श्रीमती (रानी) लाई हेरचाह गर्न एकजना क्होला-गुरुङ महिलालाई सुसारेको रुपमा नियुक्त गरिएको थियो । पछि जोगी (नाथ) र सुसारे महिलाको मृत्यु भयो । बाइसे-चौविसे शासनकालमा जब कोट–कोट बीचमा लडाई सुरु भयो ।

    तत्कालिन राजा द्रब्य शाह सिरानचोकबाट राज्य विस्तारको क्रममा गोर्खा (हाल गोर्खा दरबार रहेको ठाउँ) तिर लागे त्यसपछि राजाको सेवक जोगीनाथ र सेविका महिलाको मृत्तात्मालाई पुजा गर्ने कोही भएनन् । उनीहरुको आत्माले सिरानचोकवासीलाई दुःख दिन थाल्यो । दुःख, पीडाले आर्जित बनेका सिरानचोकवासीले अन्ततः उनीहरुको मृत्तात्मा (प्रेत्तात्मा) ले शान्ति पाओस् भनी थान (मण्डप) बनाएर सामूहिक रुपमा पुजा गर्न थालियो । कालान्तारमा त्यहि मन्दिर नै श्रीनाथ-मण्डलीको रुपमा परिचित हुन पुग्यो । अतः श्रीनाथ मण्डलीको स्थापना यसरी भएको हो भन्ने तथ्य ऐतिहासिक घटनाद्धारा नै प्रमाणित भएको छ ।श्रीनाथ मण्डलीको काखमा शिव, पार्वती, गणेश, ऋगी, ऋषि र नागको स्थापना गरिएको छ । मन्दिरको कम्पाउण्ड (घेरा) लगाउन सुरुवात गर्ने समाजसेवी चाहिँ क्होला आरुबोट निवासी स्व। मनि गुरुङ हुन् ।

    श्रीनाथ मण्डलीमा नित्यपूजाको व्यवस्था छ । थालाजुङ्ग श्रीनाथकोट र हर्मी, छोप्राक मानिसहरु मिली पूजारीको खर्च बेहोर्दछन् । यहाँ न्वागी पर्वमा मेला लाग्ने गरेको छ ।

    बि स २०७८ साल जेठमा गोरखाको श्रीनाथ मण्डलीलाई पहिलो पटक सवालाख रोट अर्पण गरिएको थियो । श्री श्री गुरु गोरक्ष धाम सिद्वाश्रम केन्द्र गोरखाको आयोजनामा पहिलो पटक १ लाख २५ हजार रोट अर्पण गरिएको हो । गुरु गोरखनाथको बाल्यकालदेखिको क्रिडा स्थल भनेर परिचित मण्डलीलाई पहिलो पटक सवालाख रोट अर्पण गरिएको थियो ।

    गोरखा दरबार र ऐतिहासिक सिरानचोक गढीबिच धार्मिक, साँस्कृतिक र ऐतिहासिक सम्वन्ध बलियो बनाउने हिसाबले मण्डलीमा रोट चढाउने कामको सुरुवात गरिएको सिरानचोक गाउँपालिका पुर्व अध्यक्ष राजु गुरुङले बताउनु भयो ।

    प्राचिन इतिहासलाई हेर्दा परापूर्वकालमा नाथ सम्प्रदायका एक जना जोगीले सिरानचोकमा मण्डली नामकी शक्ति अर्थात देवीको मुर्ति स्थापना गरी उक्त मूर्तिमा नित्य पूजा प्राथना गर्ने गर्दथे। उक्त मण्डली देवीको मन्दिरमा श्रीनाथ बाबाले दैनिक पूजा आरधना गर्ने भएकाले उक्त मन्दिरको नाम पनि श्रीनाथ मन्डली रहन गएको हो भन्ने भनाइ छ । तिनै देवी र श्रीनाथ बाबाको आश्रम लिएर १६औं शताब्दीमा स्थापनमा गरिएको श्रीनाथ मण्डली मन्दिरलाई तत्कालीन राज्यले इष्ट देवताको रुममा पूजा ससम्मान गर्ने गरेको पाइन्छ ।

    ‘नेपाल राज्यको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरु जसको इतिहास सिरानचोकसँग जोडिएको छ । श्रीनाथ मण्डली ऐतिहासिक धार्मिक, एवं पुरातात्विक महत्व बोकको ठाउँ हो । तत्कालिन राजा द्रब्य शाह १६१६ मा लिगलिगकोटको राजा भएपछि सिरानचोक हुँदै गोरखा सम्म राज्यविस्तार गरेको इतिहास छ । तर, सिरानचोक गढीलाई गोरखा राज्यका रक्षक किल्लाको रुपमा विकास गर्दै राज्य बिस्तारको काम अघि बढाइएको थियो ।

    पश्चिम नेपालको एकिकरण सम्पन्न नहुँदासम्म करिब २२२ वर्ष रणनैतिक किल्लाको रुपमा सिरानचोक गढी प्रयोग गरिएको गाउँपालिका पुर्व अध्यक्ष राजु गुरुङको भनाइ छ । ‘यस्तो ऐतिहासिक ठाउँ अहिलेसम्म किताबमा मात्र सिमित छ, बाहिर प्रचारप्रचार हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसको प्रवद्र्धनका लागि हामीले प्रयास थालेका छौं । अझै धेरै काम गर्न बाँकी छ ।’ नेपाल राज्य विस्तारका क्रममा तत्कालिन राजा पृथ्वीनारायण शाहले सोही क्षेत्रमा गएर सेनाको पहिलो गणको रुपमा श्रीनाथ गण स्थापना गरेको इतिहासमा उल्लेख छ ।

    एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार २०७६ माघ २, गते नेपाली सेनाको हेडक्वार्टर, काठमाडौं

    तत्कालिन समय बाइसे चौबिसे राज्यबाट गोरखा राज्यलाई आक्रमण गर्नबाट जोगाउन सिरानचोकमा कोटगढी निर्माण गरिएको इतिहास रहेको छ । बि.सं.१६१६ मा तत्कालिन सेनाका कमाण्डर गणेश पाण्डेको नेतृत्वमा लिगलिगकोटपछि सिरानचोकगढीमा आक्रमण भएको अनुसन्धानमा भेटिएको छ । ‘गणेश पाण्डेको नेतृत्वमा यहाँ आक्रमण भएको थियो । त्यसपछि छोप्राकमा बसेर गोरखा राज्यमाथि आक्रमण गर्ने योजना बनाइएर गोरखा दरबार आक्रमण गरेको इतिहास रहेको छ । ‘१६१६ देखि १८३९ सम्म सिरानचोक कोटले गोरखा राज्य निमार्णको क्रममा ठूलो योगदान दिएको विभिन्न प्रमाण देखिन्छन ।’ गोरखा राज्यका तत्कालिन राजा रामशाहको पालामा सिरानचोकका कोट एवं गढीहरुको निर्माण एवं व्यवस्थित गरिएको इतिहास रहेको गाउँपालिकाको दाबी रहेको छ । धार्मिक रुपमा पनि उत्तिकै महत्वपूर्ण रहेको उक्त स्थानमा श्रीनाथबाब र मण्डली माईको नित्य पुजा आजा हुने गरेको छ ।

    सिरानचोक कोटमा रहेको श्रीनाथ मण्डलीको धार्मिक महत्व पनि ठूलो छ । योगी नरहरी नाथ लेखेको स्कन्द पुराणमा गोरखनाथ बाबाको वाल्यकाय सोही क्षेत्रमा बितेको उल्लेख गरिएको उहाँले बताउनुभयो ।

    स्थानीय मानिसहरु चौबसी राज्यकालमा स्थापना भएको मान्दछन् । द्रव्यशाहको पालामा गणेश पाँडेको मातहतमा गएको गोरखाली फौजले सिरानचोकमा कब्जा जमाएपछि यो गोरखा राज्यको सामरिक महत्वको किल्लाका बन्यो । गोरखा राज्यमा गाभिनु अघि यहाँ भण्डारीथरका राजाले शासन गरेको विश्वास गरिन्छ । सायद त्यसैबेला श्रीनाथमण्डलीको स्थापना भएको हुन सक्दछ । यसरी सोह्रौ सत्रौं शताब्दितिर यस सम्पदाको स्थापना भएको अनुमान गर्न सकिन्छ ।

    सिरानचोककोटको अन्य महत्वपूर्ण वस्तुहरुमा दक्षिणतर्फ रहेका मुलकोट जेठो कोट माइलो कोट र कान्छो कोट छन् । वरिपरि खाइ समेत निर्माण गरिएका यी कोटहरु प्रस्तरको प्रयोग गरी कलात्मक किसिमले बनाइएका हुन् । मूलकोटमा झिगटीका टुक्राहरु पाइएबाट त्यहाँ दरबार रहेको र छाना झिगटीको भएको भग्नावशेषबाट थाहा हुन्छ । यस्तै दक्षिण पूर्वतर्फ रहेको शिवालय प्रस्तरकलाको दृष्टिले निकै आकर्षक छ । ३ वटा कोटहरु केही दुरीको अन्तरमा रहेका छन् ।

    श्रीनाथ मण्डलीमा नित्यपूजाको व्यवस्था छ । थालाजुङ्ग श्रीनाथकोट र अन्य गाविसका मानिसहरु मिली पूजारीको खर्च बेहोर्दछन् । यहाँ न्वागी पर्व पनि साचालन गरिन्छ ।

    एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार २०७६ माघ २, गते नेपाली सेनाको हेडक्वार्टर, काठमाडौं

    प्राज्ञ डा. जगमान गुरुङको भनाइ अनुसार ।।गोरखा,श्रीनाथमण्डली र रोट ।।

    गोरखाको सिरानचोक माथी डाँडाको टुप्पामा श्रीनाथकोट, श्रीनाथमण्डली आदि धार्मिक एवं ऐतिहासिक स्थलहरु छन् । श्रीनाथलाई महासिद्ध योगी गुरु गोरखनाथको गुरु मानिन्छ।वास्तवमा गोरखाको श्रीनाथमण्डलीमा गाई गोठालाको घरमा वैशाखशुक्लपूर्णिमाका दिन महासिद्ध योगी गुरु गोरखनाथको जन्म भएको हो ।

    गो अथवा गाईको सेवा गरेर सिद्धि प्राप्त गरेको हुनाले गोरक्षनाथ-गोरखनाथ नामबाट प्रसिद्ध भई जन्मभूमिको नाम पनि गोरखा रहेको हो । गोरखा, सिरानचोकको श्रीनाथमण्डलीमा जन्मनु भएका महासिद्ध योगी गुरु गोरखनाथले गोरखाको गोरखनाथगुफामा गई वज्रभैरवको साधना गरेर सिद्धि प्राप्त गर्नु भएको हो । महासिद्ध योगी गुरु गोरखनाथको शुभ आशिर्वादबाट द्रव्य शाह गोरखाका राजा भए।द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा उनलाई अट्ठार जना गुरुङ उमराले साथ दिएका थिए । गुरु गोरखनाथ कै शुभ आशिर्वादबाट राम शाह पुण्यात्म राजा भए ।

    राजा राम शाहका आमा आज धादिङ , सल्यानकोटका माई त्रिपुरसुन्दरी र उनका रानी मनकामनाका रूपमा प्रसिद्ध छन् । राजा राम शाहले अर्जेको पुण्य र महासिद्ध योगी गुरु गोरखनाथको वरदानबाट पृथ्वीनारायण शाह नेपालका राजा भएका थिए । अत: यो नेपाल अधिराज्य महासिद्ध योगी गुरु गोरखनाथले धानेर राखेको छ ।

    गोरखाको सिरानचोकस्थित श्रीनाथमण्डलीमा प्रत्येक वर्ष मंसिर महिनामा न्वागीको अवसरमा विधिपूर्वक रोट चढाइन्छ । यो साल २०८१ मङ्सिर २ गते, आइतवार श्रीनाथमण्डलीमा रोट चढाउने कार्यक्रम रहेको थियो ।

    सिरानचोकलाई गुरुङ भाषामा सिराँ भन्दछ । त्यसकारण सिराँमा बसेका लामछाने गुरुङहरुको सिराँक्ह्रोँ पद रहेको छ ।
    यो सिरानचोक अघि द्रव्य शाहको पालाका गणेश पाण्डे,पृथ्वीनारायण शाहको पालाका झाँगल गुरुङ र रणबहादुर शाह र गीर्वाणयुद्ध वीर विक्रम शाहको पालाका बडाकाजी अमरसिंह थापाको थलो किलो हो। सिरानचोकको फेरोलाई बाह्र थरी र सात वराहले घेरेर राखेको छ। यी बाह्र थरी र सात वराह मध्ये सिरानचोक मौलोको जिम्मावाल सिरानचोक, थालाजुङ, रामच्येका कोके गुरुङ थिए । यी कोके गुरुङहरुका पुर्खा उमरा वीरभद्र कोके गुरुङ अघि द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा द्रव्य शाहसंगै लमजुङको पुरानोकोटबाट गोरखा आएका थिए ।

    प्राज्ञ डा. जगमान गुरुङ

    कुश्माकर घिमिरे र खजे दुराले कालु शाह र यशोब्रह्म शाहलाई लमजुङ , पुरानोकोटमा राजा थापेका थिए । शाह राजाहरु गाउँशहरतिर, घिमिरे बाहुनहरु बाहुनबेसीतिर र दुराहरु दुराडाँडातिर सरे पछि कोके गुरुङहरुले लमजुङ, पुरानोकोटको मौलो थामेको हो । अहिले पनि पुरानोकोटका कोके गुरुङहरुले पुरानोकोटको चण्डीथानमा शाह राजाहरुको पुस्तावली फलाकेर पूजा गर्दछन् ।

    जङ्गबहादुर राणाको पालामा भोटको लडाईँ हुँदा भारत कोके गुरुङ सुबेदार थिए । भोटको लडाईँ जिते पछि उनी लप्टन भए।वीर शमशेर ज.ब. रा. को पालामा लप्टन भारत गुरुङ पल्टन हाँक्न सक्ने सैनिक अफिसरमा दरिएका थिए।यीनै उमरा वीरभद्र कोके गुरुङ र लप्टन भारत कोके गुरुङको वंशजले सिरानचोक मौलोको जिम्मावाली चलाई आएका थिए । मैले सिरानचोक मौलोका जिम्मावाल गोलबहादुर कोके गुरुङलाई भेटेको छु । अहिले जिम्मावाल गोलबहादुर कोके गुरुङका छोरा वीरसिंह कोके गुरुङ श्रीनाथमण्डलीका पूजारी हुनुहुन्छ । यसैगरी सिरानचोक मौलोका द्वारे त्हार- दर्लामी गुरुङ थिए । यी दर्लामी गुरुङका पुर्खा उमरा सबल दर्लामी गुरुङ अघि द्रव्यको पालाका अट्ठार जना गुरुङ उमरा मध्ये एक थिए।मैले सिरानचोक, उपल्लो पामका मुखिया जमदार सनपसिंह दर्लामी गुरुङ र तल्लो पामका द्वारे माहिला टंकमान दर्लामी गुरुङलाई भेटेको छु।यसरी नेपालको राजनीति र संस्कृतिको संरक्षण र संवर्द्धनमा गुरुङहरुको महत्त्वपूर्ण भूमिका रहेछ। अत: आजका गुरुङ महोदयहरुले नेपाल राष्ट्रको निर्माणमा गुरुङहरुको योगदानलाई राम्ररी बुझ्न सक्नु पर्दछ ।
    जय गोरख !!

    यसको पर्यटकीय सम्भावना र महत्व
    श्रीनाथ मण्डली थान तथा वरिपरिका कोट किल्लाहरु जिर्ण बन्दै गएका छन् । पर्यटकीय हिसाबले पनि सिरानचोककोटको अन्य महत्वपूर्ण वस्तुहरुमा दक्षिणतर्फ रहेका मुलकोट जेठो कोट माइलो कोट र कान्छो कोट छन् । यी कोटहरुमा पुराना संरचनालाई बचाउँदै नयाँ पर्यटकीय स्थानहरुको निर्माणमा गाउँपालिका र कोट व्यवस्थापन समिति जुटेको छ । मूलकोटमा झिगटीका टुक्राहरु पाइएबाट त्यहाँ दरबार रहेको र छाना झिगटीको भएको भग्नावशेषबाट थाहा हुन्छ । यस्तै दक्षिण पूर्वतर्फ शिवालय रहेको छ । ३ वटा कोटहरु केही दुरीको अन्तरमा रहेका छन् भने टुँटिखेल जेठो कोटसँगै अवस्थित छ ।

    त्यहाँको पर्यटकीय सम्भावनालाई लिएर थालाजुङ नयाँबजारबाट केही माथिसम्म मोटरबाटो निर्माण गरिएको छ । मोटरबाटो सकिएसँगै ६ सय खुड्किला सिँढी चढेर मन्दिरमा पुग्न सकिन्छ ।

    त्यस्तै आरुबोटतर्फबाट मन्दिरसम्म नै मोटरबाटो पु¥याइएको छ । मन्दिर वरिपरि पिकनिक स्पटक बनाउने तयारी भइरहेको छ । चित्रेभागे तर्फबाट उकालो सिंढी चढेर जानका लागि बाटो बनाइएको छ ।

    यस श्रीनाथ मण्डली मन्दिरमा पुग्नका लागि गोरखाको बाह्रकिलो छेपेटार हुँदै तार्केडाँडा चित्रे भन्ज्याङ देखि भच्चेक जाने पक्की सडकको बीचमा यो कोट पर्दछ । त्यस्तै तनहुँको डुम्रे हुँदै पालुङ्टार, लिगलिगकोट हुँदै भच्चेकसम्म जाने पक्की सडकबाट यो मन्दिरमा पुग्न सकिन्छ ।
    यहाँबाट गणेश हिमाल, बौद्ध हिमाल, मनास्लु हिमाल, अन्नपूर्ण र माछापुच्छ«्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ । तत्कालिन बाइसे चौविसे राज्य अन्तर्गत अजिरकोट ताकुकोट लिगलिगकोट, हर्मीकोट, माझकोट, धुवाँकोट, मिरकोट, भिरकोट, तान्द्राङकोट सुलिकोट, बारपाककोट, राइनासकोट, तनहुँसुरकोट आदि स्पष्ट रुपमा पाइन्छ । त्यस्तै गोरखा जिल्लाको सदरमुकाममा अवस्थित धार्मिक स्थल गोरखकाली मन्दिरमा, दक्षितर्फ रहेको छिमकेश्वरी मन्दिर र मनकामना मन्दिरसम्मका भूभाग देख्न सकिन्छ । त्यस्तै दूधपोखरीदेखि चेपे नदीका भूभाग, दरौंदी नदी वरपरका फाँटहरुको मनोरम अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा नेपालको राष्ट्रिय फुल लालीगुँरास ढकमक्क फुलेर सिरानचोक डाँडालाई रातो घम्टो ओढाउँदा देखिने मनोहक देखिन्छ । यो स्थान चैत वैशाखमा वरपरका मानिसरहरु ऐंसेलु र काफल खान आउने गर्छन् भने मण्डली देवीको मन्दिरमा पूजा गर्न आउनेहरुको पनि भीड लाग्न थालेको छ ।

  • गोरखाको वारपाकबासी पहिरो नियन्त्रणपछि गाउँ फर्किए

    गोरखा, आइतबार, २ मङ्सिर २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिङ्गो गाउँ नै पहिरोको जोखिममा पर्यो । पहिराले गाउँ नै भासिने अवस्था आएपछि खारुङका केही परिवार विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायतका ठाउँमा बसाइँ सरे ।

    पहिराले सिङ्गो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेकाहरू पुरानै थाकथलोमा फर्किन थालेको स्थानीयवासी सुकबहादुर तामाङले बताए । “पहिरोले गाउँले सबै तितरवितर भएका थिए”, उनले भने, ‘‘अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन्, यो वर्षदेखि बल्ल अलि ढुक्क भएको छ ।”

    जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षरोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ्ग गुरुङले जानकारी दिए । पहिरो नियन्त्रण भएपछि गाउँ छाडेर बसाइँ गरेकाहरू अहिले गाउँमै फर्किएको उनको भनाइ छ । अहिलेसम्म पहिराले विस्थापित भएका छ घरपरिवार गाउँ फर्किसकेको गुरुङले जानकारी दिए ।

    “पहिरोले गाउँ नै लैजान थालेपछि परिवार नै गाउँ छाडेर बसाइँ सरेका थियौँ । नजिक बस्ने ठाउँ थिएन, घरवरपर जताततै पहिरोको त्रासले झण्डै चार वर्ष चितवनमा गएर बसे पनि पहिरो रोकिएपछि गाउँ फर्किएका छौँ”, पहिरोबाट विस्थापित भएका स्थानीय शेरबहादुर गुरुङले भने । पहिरो नियन्त्रण भएसँगै गाउँमा ढुक्कले बस्नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।

    पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेका क्षेत्रमा गाउँलेहरूले पशुवस्तु चरनमा समेत पूर्ण रूपमा रोक लगाएका छन् । पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आयआर्जन गर्ने लक्ष्यसमेत लिएको उनको भनाइ छ । गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्णचेतावनी प्रणाली जडान भएकाले स्थानीयले सुरक्षित महसुस गर्न थालेका छन् ।

  • गोरखा नगरपालिका ५ को वडा अध्यक्षमा दश जनाको उम्मेदवारी

    गोरखा, आइतबार, २ मङ्सिर २०८१ । आगामी मङ्सिर १६ गतेका लागि गोरखा नगरपालिका वडा नम्वर ५ को वडा अध्यक्ष पदमा हुने उपनिर्वाचनका लागि दश जनाको उम्मेदवारी परेको छ । आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् ।

    नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा एमालेबाट दुर्गा माया थापा राना र नेकपा माओवादी केन्द्रबाट बिष्णुबहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीबाट खङ्गबहादुर भुजेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना राना, नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रुप सिंह रानाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए ।

    त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट भवानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सविना तामाङले मनोनयन दर्ता गरेको उनले जानकारी दिए ।

    निर्वाचन आयोगले आइतवार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । सोही अवधिमा उम्मेदवारहरुले चिल्ड्रेनपार्क स्थित वडा नम्वर ५ को कार्यालयमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

    मंसिर ४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र मंसिर ५ गते दिउँसो एक बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्न सकिने जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले बताए ।

  • नेकपा एमालेबाट गोरखा नगरपालिका ५ मा दुर्गा उम्मेद्बार

    गोरखा, शनिबार, १ मङ्सिर २०८१ । गोरखा नगरपालिका वडा नम्वर ५ मा उपनिर्वाचनको चहल पहल बढेको छ ।

    गोरखा नगरपालिका वडा नम्वर ५ को वडाअध्यक्ष पदमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले दुर्गा माया रानामगरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । खिल बहादुर रानाको निधन भएपछि वडा अध्यक्षको पदका लागि दुर्गा माया रानामगरलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

    बि स २०७४ सालको स्थानीय तह निर्वाचनमा उक्त वडा कांग्रेसले जितेको थियो । माओवादी दोस्रो बनेको थियो भने एमाले तेस्रो बनेको थियो ।

    २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसलाई हराउँदै एमालेका उम्मेदवार खिलबहादुर राना बिजयी बनेका थिए । २६ मतले हारेर कांग्रेस दोस्रो बनेको थियो भने माओवादी तेस्रो बनेको थियो ।

    आगामी मङ्सिर १६ गते हुने उप निर्वाचनमा कसले बाजी मार्ला भनेर सहजै अनुमान गर्न कठिन छ । तीन दलबीच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ । तीनै दलहरु आफू जित्नेमा ढुक्क छन् ।

    उपनिर्वाचनका लागि आवश्यक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने छ । मङ्सिर ४ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ । उम्मेदवारको नाम फिर्ताका लागि मङ्सिर ५ गते दिउँसो एक बजेसम्मको समय दिइएको छ ।

  • कांग्रेसको तर्फबाट कीर्तिपुरको मेयरमा कृष्णमान डंगोल उम्मेदवार

    काठमाडौँ, शनिबार, १ मङ्सिर २०८१ । नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । आज बसेको बागमती प्रदेश समितिको बैठकले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    उम्मेदवार चयन भएका डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुन् ।

    त्यहाँ एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन चुनावी मैदानमा छन्। यस्तै रवि लामिछाने नेतृत्वको रास्वपाले पनि त्यहाँ प्रतिस्पर्धा गर्दैछ ।

    त्यहाँ गत स्थानीय चुनावमा वामपन्थी उम्मेदवार बढार्दै कांग्रेसले क्लीनस्वीप गरेको थियो । अहिले मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षको लागि पनि उपनिर्वाचन हुँदैछ ।

    गत निर्वाचन विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो ।

    कांग्रेसका नकर्मीले ९,०४३ मत ल्याउँदा एमालेका केशरत्न बज्राचार्यले ५,५०७, माओवादी केन्द्रका शिवशंकर महर्जनले ४,०९० र एकीकृत समाजवादीका बटुकृष्ण थापाले १,१५३ मत ल्याएका थिए ।

    विभिन्न ४४ रिक्त स्थानीय तहको उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

  • नेवार समुदायले मनाए गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व

    गोरखा, १ मङ्सिर २०८१ । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो ।

    ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जुनको उज्यालोमा सामूहिकरुपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

    ठूलो आँगनमा प्लाष्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएको थियो । “पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्नबाली ल्याउनुभएको थियो, यसरी सुकाएको अन्नलाई प्रसादका रुपमा ग्रहण गर्ने चलन छ ।”

    नेवार समुदायका अगुवासमेत रहनुभएका ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले झण्डै ४० वर्षदेखि मनाउन छोडिएको यो पर्व विगत तीन वर्षदेखि सामूहिक रुपमा मनाउन थालिएको जानकारी दिनुभयो । कात्तिक शुल्क पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायतका गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको उहाँको भनाइ छ ।

    शुक्ल पूर्णिमाको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वाससमेत रहेको उहाँको भनाइ छ । यो पर्व परम्परागत रुपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरुपमा मनाउन थालिएको छ ।

    परम्परा र संस्कतिलाई पुस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको तीन वर्षदेखि पुनः मनाउन थालिएको श्रेष्ठको भनाइ छ ।

    कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले लोप हुनै लागेको मकै सुकाउने पर्वको जर्गेना गर्न स्थानीय समुदायले थालेको प्रयास सराहनीय भएको बताउनुभयो । सोही अवसरमा नेवार समुदायको परम्परा र संस्कृति झल्कने पोसाकमा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको आयोजकले जनाएको छ ।

  • डिजिटल लाइसेन्स नियमनका लागि स्मार्ट फोन हस्तान्तरण

    काठमाडौँ, शनिबार, १ मङ्सिर २०८१ । डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई चार सय आठ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।

    बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज ललितपुरमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।

    मुख्यमन्त्री लामाले यसबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए । उनले नागरिकको गुनासालाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने बताए ।

    कार्यक्रममा बागमतीका यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेल, बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले उक्त स्मार्ट फोनले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    त्यस अवसरमा प्रदेश यातायात मन्त्रालयका सचिव बलराम निरौलाले मन्त्रालयका भावी योजनाबारे जानकारी दिएका थिए । प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गरिहरेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगीसिद्ध हुने विश्वास लिएको बताए ।

    प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकाले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिस्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उनले उल्लेख गरे ।