Author: ipmsamachar

  • सुमोबाट खसेर बालकको मृत्यु

    खोटाङ, शुक्रबार, २ कात्तिक २०८१ । गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दीपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतीक बिष्टका अनुसार बिहीबार राति करिब ८ः३० बजेको समयमा बालक गाडीबाट खसेका हुन् । खाल्लेबाट खानीडाँडातर्फ आउँदै गरेको ना १ ज ५७४३ नम्बरको सुमो गाडीबाट बालक हेमन्त खसेको बताइएको छ । गाडी चालक गोविन्द कट्वाललाई नियन्त्रणमा लिइएको (डिएसपी) बिष्टले बताउनुभयो ।

    बालक सडकमा घाइते अवस्थामा लडिरहेको आफन्तले भेटाएपछि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । बालकको अवस्था जटिल रहेकाले जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको छ । काठमाडौं लाँदैगर्दा हलेसीमा पुगेपछि बालक हेमन्तको मृत्यु भएको (डिएसपी) बिष्टले बताउनुभयो ।

    मृतक बालकको शव हाल जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । बालक कसरी गाडीबाट खसे भनेर अनुसन्धान सुरु गरिएको (डिएसपी) बिष्टले बताउनुभयो ।

  • ललितपुरका जनप्रतिनिधिसहित खानेपानी मन्त्री पुगे फिल्ड

    ललितपुर, शुक्रबार, २ कात्तिक २०८१ । खानेपानी तथा सरसफाई मन्त्री प्रदीप यादव ललितपुरका जनप्रतिनिधिसहित बाढी र पहिरोले खानेपानीको संरचनामा पु¥याएको क्षति अवलोकन गर्न फिल्डमा पुगेका छन् ।

    दशैं सकिएर सरकारी कार्यालय खुलेकै दिन मंगलबार सिंहदरबार पुगेर ललितपुर क्षेत्र नं.१ का संघीय सांसद उदय शमशेर राणा, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन , उपप्रमुख मुना अधिकारी , जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुयाँलले मन्त्री प्रदीप यादवलाई ललितपुरमा भएको पानीको हाहाकार बारे अवगत गराएका थिए ।

    चाडपर्वको बेला खानेपानीको चरम अभाव भोगेका ललितपुरबासीको आवाज बोकेर कार्यालय खोलेकै दिन मन्त्रालय पुगेका जनप्रतिनिधिले अनुगमनमा जान आग्रह गर्दा मन्त्री यादवले उक्त प्रस्तावलाई स्वीकार गरिहाले । मन्त्रीले भने, जाउँ, आजै जाउँ, भोलिको काम आज गरौँ, आजको काम अहिले नै गरौँ भन्ने मान्छे हुँ म,किन ढिला गर्ने ? ’ जनप्रतिनिधिले मन्त्रीलाई बिहान ११ बजे भेटेका थिए ।

    दिउँसो १ बजे उनीहरुको टिम फिल्ड तर्फ हिडिसकेको थियो । स्थानीय तहको निर्वाचन २०७४ पछि गोदावरी नगरमा खानेपानीको समस्या ८० प्रतिशत भन्दा बढी समाधान भएको थियो । असोजको दोस्रो साता आएको बाढी —पहिरोका कारण गोदावरीमा पानीको समस्या बढ्दै गएको छ । मन्त्रालयमा भएको छलफल लगत्तै मन्त्री यादवले आफ्नो प्रविधिक टोली र जनप्रतिनिधिसहित नल्लु, बासुकी र देवकी मुहान पुगेर त्यहाँको अवस्था बुझेका थिए । फिल्डमा पुगेका मन्त्री यादवले भने, पन्ध्र दिनभित्र धारामा पानी आउने गरी काम गर्न निर्देशन दिएको छु । ’ छिटोभन्दा छिटो धारामा पानी आउने व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) र खानेपानी तथा ढल व्यवस्थापन विभाग लगायतका अधिकारीलाई छिटो काम फत्ते गर्न आग्रह गरे ।

    संघीय सांसद उदय शमशेर राणाले पानीका यी मुहानमा पुगेको अवरोध र पाइपहरु पुरिएको ,भाँचिएको कारणले चापागाउँ,सुनाकोठी धापाखेललगायतका ठाउँ प्रत्यक्ष रुपमा प्रभावित भएको बताए । उनले भने, ‘ प्राविधिक टोली सहितले टिमले अनुगमन गर्दा क्षतिको आंकलनदेखि काम गर्न लाग्ने समयसम्म तय भएको छ । ’ उनले मन्त्री लगायत प्राविधिक टोलीलाई धन्यवाद दिए ।

    नगर प्रमुख गजेन्द्र महर्जनले बजेटको अभावमा काम नरोकिने बताए । मन्त्रालय लगायत अन्य निकायबाट आउने बजेट ल्याउन पुरा गर्नुपर्ने प्रक्रिया कारण समय लाग्न सक्ने तर्फ इंगित गर्दै नगर प्रमुख महर्जनले भने, ‘अहिले नगरपालिकाकै बजेटबाट काम गरौँ , पछि शोधभर्ना गरौँला । ’ अहोरात्र काम गरेर भएपनि खानेपानीको समस्या छिटो समाधान गर्ने प्रतिबद्धता नगर प्रमुख महर्जनले गरे ।

    उपप्रमुख मुना अधिकारीले मन्त्री यादवले देखाउनु भएको तदारुकताप्रति धन्यवाद दिइन् । खानेपानीको समस्या गर्न नगरपालिकालाई खानेपानी मन्त्रालय र अन्य निकायको सहयोग अपरिहार्य हुने बताइन् । जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुयाँलले असोजको दोस्रो साता गएको बाढीले क्षतिग्रस्त बनाएको खानेपानीको मुहान र संरचनालाई पहिलाकै अवस्थामा ल्याउन सहकार्य आवश्यक भएको बताए ।

  • पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

    वालिङ, स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आईसिसि) को आयोजनामा ‘स्याङ्जा आईसिसि प्रथम भलिबल कप’ सुरु भएको हो ।

    स्याङ्जाको वालिङ खेल मैदानमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ११ वटै पालिकाको सहभागिता रहेको आईसिसिका अध्यक्ष वीरेन्द्रजंग केसीले जानकारी दिनुभयो । प्रतियोगिताको गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति तथा सांसद भोजराज अर्यालले शुभारम्भ गर्नुभएको हो ।

    प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार रुपियाँ, दोस्रो हुने समूहले एक लाख रुपियाँ, तेस्रो र चौथो हुने समूहले क्रमशः ५० हजार रुपियाँ र २५ हजार रुपियाँ प्राप्त गर्ने खेलका व्यवस्थापक गुप्तप्रसाद गैह्रेले जानकारी दिनुभयो ।

    स्याङ्जाबाट रोजगारी तथा विभिन्न कामका सिलसिलामा विदेशमा रहेकाहरुको साझा संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

    दसैँ र तिहारको अवसर पारेर पहिलोपटक समितिले पालिका स्तरको भलिबल प्रतियोगिता गरेको हो । ‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने नाराका साथ स्थापना भएको समितिको विभिन्न २० देशमा राष्ट्रिय समितिहरु छन् । प्रतियोगिताका लागि भनेर विभिन्न देशबाट प्रतिनिधिहरु जिल्ला आइपुगेका छन् ।

    पाँच नगरपालिका र ६ गाउँ पालिकालाई चार वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिता कात्तिक ५ गते सम्म सञ्चfलन हुने आयोजकले जनाएको छ ।

  • कपास फ्याक्ट्रीमा आगलागी : ४० लाखको क्षति

    बिर्तामोड, शुक्रबार, २ कात्तिक २०८१ । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ । शुक्रवार बिर्तामोड– १ स्थित वरपीपल चोकमा नेक मोहमदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो ।

    आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ ।

    बिर्तामोड, मेचीनगर, भद्रपुर नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान ९.४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।

    आगलागीबाट कपास बनाउने मेसिनसहित अन्दाजी ४० लाख बराबरको क्षति भएको जनाइएको छ ।

  • उच्च अदालत पाटनद्वारा धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । समितिले पशुपति क्षेत्र विकास कोषसमेत ११ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।

    महानगरपालिकाले पशुपति क्षेत्र विकास कोषको नौ रोपनी नौ आना दुई पैसा जग्गा कब्जा गरेर मारवाडी सेवा समितिले निर्माण गरेका अवैध संरचना हटाउन र पशुपति गौशाला धर्मशाला खाली गर्न खोजेको थियो ।

    श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच २०६० मा भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाउने समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर दुध व्यापार गर्दै आएको छ । साथै समितिले धर्मशालाका १९ वटा सटर भाडामा लगाएर प्रतिसटर मासिक ३५ हजार रुपियाँभन्दा बढी असुल्ने गरेको छ ।

  • बलिराजाले पठायो कि बलिहाङले ?

    बलिराजा होइन बलिहाङ 

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । बलिराजाले पश्चिम नेपालको कुन ठाउँमा कति वर्ष शासन गरेका थिए? उनको पुस्ताले कति वर्ष शासन गर्‍यो? त्यस्तो समृद्ध राज्य कसरी पतन भयो ? जान्न हुटहुटी बढ्यो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासीको मूर्त-अमूर्त संस्कृति सम्बन्धी बल्ढ्याङगढी वृत्तचित्रमा काम गर्ने अवसर जुरायो ।

    नेपालको भूगोल र यहाँका आदिवासीको जीवनशैलीबाट निर्मित तिहार जस्ता चाडलाई राज्यसत्ता हातमा लिएका टाठाबाठाले आफ्ना खास स्वार्थका निम्ति हिन्दूकरण गर्दै लगे । त्यसैकारण होला, तिनले तिहारलाई आफ्नो मान्यतासँग जोड्न खोज्दा त्यो चाडको दर्शन र व्यवहार नै अमिल्दो हुन आउँछ ।

    पाल्पाको इतिहास र गढी सम्बन्धी पुस्तकहरू अध्ययन र केही इतिहासकार, खोज अनुसन्धातासँगको भेटघाटले बलिराजा सम्बन्धी धूमिल मिथक छाँटिदै थियो ।

    बल्ढ्याङगढी र बलिराजाबारे अध्ययन अनुसन्धान गरेका प्रा. राजाराम सुवेदीको शोधमाला जर्नलमा लेखिएको बाह्र मगरातको स्वर्णकालमा बल्ढेङगढी सभ्यताबारे लेखिएको छ। त्यसमा उनले लेखेका छन्, ‘कर्णाली प्रदेशको खस मल्ल साम्राज्यको शक्ति कमजोर भएपछि मगरको नायक बलिहाङ (बलिराजा) को चार हजार योद्धा भएको राज्यलाई मगर भाषामा बुलीह्वाङ भनियो । बुलीह्वाङ सेनाले निर्माण गरेको कटक किल्लालाई बलिहाङगढी भनियो। आजकल बल्ढेङगढी भनिन्छ। यो पाल्पा जिल्लामा पर्छ’ (‘मगर जातिको नालिबेली’ २०६३, पृष्ठ ८-९)।

    नेपाली समाज र संस्कृतिका अनुसन्धाता मीन श्रीस मगरका अनुसार मगरात क्षेत्रको पहिलो शक्तिशाली बल्ढ्याङगढी राज्यको स्थापना विसं १४४८ तिर भएको थियो । करीब १५२ वर्ष अस्तित्वमा रहेको राज्यमा पाँच जना राजाहरूले राज्य गरेका थिए ।

    किरातीहरूले बलिहाङ मगरात क्षेत्रमा प्रचलित बलिराजा नामले चिनिएका वास्तविक बलि राना मगर नै त्यस राज्यका संस्थापक राजा हुन् । दोस्रो अभय राना मगरको नाम देखिन्छ भने तेस्रो र चौथोको चाहिं इतिहासमा कतै उल्लेख भएको पाइएको छैन । 

    अन्तिम राजा रनवीर राना मगर थिए। पाल्पाली राजा मुकुन्द सेनको नेतृत्वमा सात वटा राज्यको सेनाले पराजित गरेकोले बल्ढ्याङगढीको अस्तित्व १६१६ सम्म रहेको पाइन्छ (मगर जातिको इतिहास, पृष्ठ ८५)।

    वृत्तचित्र बनाउने क्रममा बल्ढ्याङगढी पुगेर राजा बलि राना मगरका सन्तान र स्थानीयसँग कुराकानी गर्दा बलिराजा सम्बन्धी मिथक अझ स्पष्ट हुँदै गयो। बलिराजाका सन्तान अहिलेको बल्ढ्याङगढीबाट वल्लोपल्लो गाउँतिर बसाइँ सरेका थिए ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपयाँ वृद्धि गरेको हो ।

    मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६।५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८।५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु एक सय ५१ कामय भएको छ ।

    निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

  • माछापुच्छ्रे सहकारी घोटाला प्रकरणमा १०९ जनाविरुद्ध मुद्दा दायर

    विराटनगर, शुक्रबार, २ कात्तिक २०८१ । विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताको ७ करोड ८४ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

    सहकारीका अध्यक्ष अमलेश कर्णसहित सहकारीका पदाधिकारी, सञ्चालक समितिदेखि ऋण उपसमितिका संयोजकदेखि सदस्यहरू गरी २१ जना र ८८ जना ऋणी गरी कुल १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

    मोरङ प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत उनीहरू विरुद्ध सहकारी ठगी विरुद्ध मुद्दा दायर गरेको हो । गत भदौमा १०३ जना सहकारी पीडितहरूले अध्यक्ष कर्णसहित सञ्चालकहरू विरुद्ध ‘सहकारी ठगी’ मा उजुरी दिएका थिए ।

    प्रहरीले अध्यक्ष कर्णलाई पक्राउ गरिसेको छ । सञ्चालक समिति उपाध्यक्ष सनातन कुमार मण्डल, लेखा समितिको सदस्य तथा हालको सञ्चालक समिति सचिव उत्तम ढुङ्गेल, कोषाध्यक्ष सोमी भगत, सञ्चालक समिति सदस्य सञ्जय भन्ने प्रभाकर थापा, तीर्थ प्रसाद यादव, श्यामराज कोइराला, लेखा समिति संयोजक तथा बजार प्रतिनिधि गोपालप्रसाद ढकाल, लेखा समिति सदस्य सञ्जय कुमार कर्ण, निर्मला चौधरी, ऋण उप–समिति सदस्य पङ्कज कुमार बर्मा, उपाध्यक्ष गोकुल थापा, कोषाध्यक्ष तथा २०७३ पुस १६ गतेको कार्यसमिति सचिव रहेका अमित कार्की, विजय कुमार कर्ण, इन्द्रेश कुमार कर्ण, कोषाध्यक्ष राधादेवी लिम्बू, ऋण उप–समिति सदस्य दिलिपकुमार साह, कार्यसमिति उपाध्यक्ष विनोद महत, सदस्य सूर्यकुमार साह, लेखा समिति सदस्य भीम प्रसाद सिंह र ऋण उप–समिति सदस्य राजु गुप्ता भने फरार छन् ।

    सहकारी ठगी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले १२० जनालाई प्रतिवादी बनाएको थियो । प्रतिवादी बनाएको मध्ये ११ जनाको तीन पुस्ते नखुलेपछि प्रारम्भिक चरणमा १०९ जनालाई मात्रै प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता भएको हो । ११ जनाको हकमा तीन पुस्ते खुलेपछि कानुन बमोजिम प्रतिवादी बनाएर कारबाहीको प्रक्रिया अगाडी बढ्ने जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता सुवास कुमार भट्टराईले जानकारी दिए ।

    यसैबिच सहकारी ठगी मुद्दामा पक्राउ परेका सहकारीका अध्यक्ष अमलेश कुमार कर्णको अदालती बयान सकिएको छ । मोरङ अदालतको ११ नम्बर इजालशको न्यायाधीश अरुण कुमार झाको इजलासमा शुक्रबार बयान भएको थियो । बयान सकिएपछि आजै थुनछेक बहस सुरु हुने मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

  • कर्मचारीतन्त्रले चाहेन भने जनप्रतिनिधिहरू सफल हुन सक्दैनन् : सांसद रायमाझी

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । कर्मचारीतन्त्रलाई स्थायी सरकारका रूपमा लिइन्छ । कर्मचारीहरूले भित्री रूपमा चाहेनन् भने जनप्रतिनिधिहरू सफल हुन सक्दैनन् । जनप्रतिनिधिहरूलाई सफल बनाउन कर्मचारीतन्त्रको महत्त्वपूर्ण भूमिका रहने नेकपा एमालेकी सांसद बिजुला रायमाझी बताउँछिन् ।

    ‘कर्मचारी राष्ट्र सेवक हो भन्ने हिसाबले अघि बढ्यो भने देशमा जनताले दुःख पाउँदैनन्’, उनी भन्छिन्, ‘पछिल्लो समय कर्मचारीहरूमा सुधार आएको छ ।’ कर्मचारीले सेवा नै धर्म हो भन्ने भावनाले मुस्कानसहितको सेवा दिनुपर्ने उनको भनाइ छ । संसदीय भूमिका र कर्मचारी प्रशासनसँग सम्बन्धित रहेर नेकपा एमालेकी सांसद बिजुला रायमाझीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

    संसदमा आफ्नो उपस्थितिलाई कसरी लिनु भएको छ ?
    सकेसम्म जनताका बोली बोल्ने, जनजीविकाका समस्याहरूलाई उठान गर्ने र कानून निर्माणमा अधिकतम प्रयत्न गर्ने प्रतिनिधि पात्रको कर्तव्यको रूपमा आफ्नो उपस्थितिलाई लिएको छु ।

    कस्ता विषयवस्तुलाई प्राथमिकतामा राख्नु हुन्छ ?
    वर्गीय आन्दोलनको प्रतिनिधिको रूपमा संसदमा पुगेको हुनाले समग्र नेपाली महिलाहरू, मजदुरहरू, किसानलगायतका समस्याहरू प्राथमिकतामा रहन्छन् । कहिलेकाहीँ जिल्लासँग सम्बन्धित समस्या पनि उठाउने गरेकी छु । प्रायः गरेर साझा मुद्दालाई नै प्राथमिकता दिएकी हुन्छु ।

    सांसदको रूपमा आफूले खेलेको भूमिका प्रति सन्तुष्ट हुनुहुन्छ ?
    पहिलो पटक सांसदको रूपमा भूमिका निर्वाह गर्दैछु । भूमिकालाई लिएर असन्तुष्टि हुनैपर्ने र पूर्ण सन्तुष्टि छु भन्नै पर्ने अवस्था छैन । संसदमा कुरा उठान गर्न हामीलाई तीन किसिमका समय उपलब्ध हुन्छन् । त्यो समयलाई अधिकतम प्रयोग गर्ने प्रयत्न गरिरहेकी छु ।

    विधेयकमाथिको छलफलमा पनि जुन कामको लागि म आएको हो त्यो काममा केन्द्रित हुनुपर्छ भनेर अत्यन्तै सजक छु । संसदमा भूमिका निर्वाह गर्ने समय अझै पनि बाँकी रहेकोले त्यो अवधिसम्म आफ्नो कर्तव्य पुरा गर्दै जाँदा सन्तुष्टि मिल्न सक्छ । आफूले चाहेका सबै काम सफल हुन पनि सक्छन् नहुन पनि सक्छन् । तर, जनताका समस्या निरन्तर उठाइ रहनुपर्छ भन्ने कुरामा म सजक छु ।

    संसदमा बोलेका कुरा कति सम्बोधन हुन्छन् ?
    सम्बोधन भएका छन् । संसदमा उठाएका विषयहरू ठ्याक्कै आजको भोलि नै सम्बोधन नहुन पनि सक्छन् । कतिपय कुराहरू आजको भोलि नै सम्बोधन भए भनेर प्रत्यक्ष नदेखिन पनि सक्छन् । तर, सम्बोधन भएन भनेर कुरा उठाउन छोड्नु हुँदैन ।

    सदनमा निरन्तररुपमा विभिन्न खालका प्रस्तुति हुन्छन् । आफ्नो दललाई माथि पुर्‍याउनका निम्ति दलको पक्षका बोल्ने कुरा हुन्छन् । व्यक्तिको पक्षमा बोल्ने कुरा हुन्छन् । आमजनताका विषय पनि हुन्छन् । त्यहाँ उठान गरेका विषयहरू तत्कालै सम्बोधन नभए पनि सरकारलाई दबाब दिने काम हुन्छ । आफूले बोलेका विषयहरू सम्बोधन भए पनि नभए पनि जनताले पठाएका प्रतिनिधिहरूले जनताका आवाज उठाउन छोड्नु हुँदैन ।

    सांसदको काम विकास गर्ने कि कानून बनाउने ? के भन्नु हुन्छ ?
    वास्तवमा संघीय सांसदको काम विधायिकी नै हो, कानून बनाउने नै हो । सदनमा प्रस्तुत भएका विधेयकमाथि सजक र सचेत भएर छलफलमा भाग लिने, संशोधन हाल्ने, आफ्ना विचार तथा विषयहरूमा अडानमा रहनुपर्ने हो ।

    भूमिकाले कानून निर्माण नै हो । तर, जनताले विकासको पनि अपेक्षा गर्दछन् । प्रक्रिया बुझेकाले कानून निर्माण गर्ने थलोमा कत्तिको पहल कदमी लिएको छ भन्ने विषयलाई हेर्छन् भने आमजनताले विकास निर्माणसँगै टोल बस्तीका समस्यासँग पनि जोडिनु पर्छ भन्ने अपेक्षा राख्दछन् ।

    खास गरी योजनासँग मात्रै जोडेर हेर्ने वर्ग पनि छ । त्यसरी हेरिनु हुँदैन । विकास निर्माणका लागि तीन तहका सरकार छन् । उनीहरूले पनि काम गर्दछन् ।

    संघीय सांसद भनेको विधायिका नै हो र कानून निर्माणमा नै केन्द्रित हुनुपर्छ । नेपालको परिस्थिति र जनताको बुझाईले गर्दा विकास निर्माणसँग पनि जोडिनुपर्ने बाध्यता छ । जनताको प्रतिनिधि भएको हुनाले स्वतः जनजीविका र विकास निर्माणका कुरामा पनि जोडिनु पर्छ ।

    कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?
    कर्मचारीतन्त्रलाई स्थायी सरकारको रूपमा लिइन्छ । निर्वाचनबाट आउने सरकार क्षणिक सरकार हो । अझै नेपालको राजनीतिक परिस्थिति हेर्दा धेरै वर्षदेखि स्थायी सरकार हुन सकेको छैन ।

    कर्मचारी प्रशासनले नै देश चलाएको छ । बाहिर नेपालको सरकार प्रशासनिक हिसाबले कर्मचारीतन्त्रबाटै चलेको छ भन्ने पनि गरिन्छ । जनताप्रतिको सेवा र जनताका समस्याहरूलाई छिटो छरितो सुल्झाउनका निम्ति राजनीतिज्ञको भन्दा कर्मचारीको भूमिका ठूलो छ ।

    कतिपय अवस्थामा कर्मचारीतन्त्रले भित्री रूपमा चाहेन भने जनप्रतिनिधिहरू पनि सफल हुन सक्दैनन् । जनप्रतिनिधिहरूलाई सफल बनाउने भनेको कर्मचारीतन्त्र र एउटा संरचना नै हो । अहिलेसम्म यही कुरा नै देखिएको छ ।

    कर्मचारी राष्ट्र सेवक हो भन्ने हिसाबले अघि बढ्यो भने देशमा जनताले दुःख पाउँदैनन् । पछिल्लो समय कर्मचारीहरूमा धेरै सुधार आएको छ । जनतालाई अलमलाउने, काममा ढिलासुस्ती गर्ने जस्ता कुरामा कमी आएको छ । केही व्यक्तिगत प्रवृत्तिका कारण अझै पनि केही कुरामा अल्झन हुन सक्छन् । अझै पनि पूर्णरुपमा जनता सन्तुष्ट हुन बाँकी रहेको हुनाले सुधार गर्नुपर्ने धेरै बाँकी छ ।

    कर्मचारीतन्त्रमा तपाईँले देख्नु भएका मुख्य समस्या के हुन् ?
    कर्मचारीसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ हुँदा केही समस्याहरू देखिएका छन् । संघीय संरचनाअनुसार कर्मचारी ऐन नहुँदा पुरानो राज्यसत्ताका आधारमा नै कर्मचारीतन्त्र चल्दा कर्मचारीहरूलाई अलमलमा पारेको छ । अधिकार प्रत्यायोजन गर्ने कुरामा पनि समस्या देखिएको छ ।

    छलफलको क्रममा रहेको निजामती ऐन जारी भयो भने यसले पनि कर्मचारीतन्त्रमा देखिएका धेरै समस्याहरू समाधान गर्नेछ । केही कर्मचारीहरूमा आफ्नो भूमिका निर्वाह गर्ने भन्दा पनि रोजेको ठाउँमा सरुवा बढुवाका लागि समय र दिमाग खर्च गरेको, दौडधुप गर्ने गरेको पाइन्छ । सिस्टमबाट फाइल अघि बढेर मर्यादित ढंगबाट भन्दा पनि भनसुनको आधारमा भनेको स्थानमा सरुवा हुनका निम्ति केन्द्रित भएको जस्तो देखिन्छ । म त्यहाँ गएर के गर्न सक्छु भन्दा पनि म त्यहाँ गए भने कति कमाई हुन्छ भन्नेमा बढी ध्यान दिएको पाइन्छ ।

    सार्वजनिक सेवा सुधारका लागि के गर्नुपर्छ, तपाईँका सुझाव के छन् ?
    कर्मचारीमा मैले जनताको करबाट तलब खाएको छु र म जनताको सेवामा समर्पित हुनुपर्छ भन्ने भावना हुनुपर्छ । सेवा नै धर्म हो भन्ने भावनाले मुस्कानसहितको सेवा दिनुपर्छ ।

    कर्मचारीमाथि जनताको भरोसा छ र हामीले जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने कर्मचारीमा हुनुपर्छ । राजनीतिक उथलपुथल भए पनि, सरकार बने पनि नबने पनि कर्मचारीतन्त्र स्थायी सरकार हो र त्यो अनुसार नै कर्मचारीतन्त्र चल्नुपर्छ जिम्मेवार बन्नुपर्छ ।

    सांसदसँग आम नागरिकको अपेक्षा के हुँदो रहेछ ?
    सांसदसँग नागरिकको प्रमुख अपेक्षा रोजगारीसँग सम्बन्धित रहन्छ । हामीले भोट दिएर जिताएर पठाएपछि हाम्रा समस्या हल हुनुपर्छ भन्ने नागरिकको अपेक्षा हुन्छ ।

    सांसदहरुले चाह्यो भने वा सांसदहरुले भन्यो भने जुन कुनै समस्याको पनि समाधान हुन्छ, काम बन्छ भन्ने मनोविज्ञान छ जनतामा । जनताको प्रतिनिधि भएपछि जनताका सबै काम सांसदले गर्न सक्नु पर्छ भन्नेहरू पनि छन् ।

    सबै कुरा विकास र बजेटसँग जोड्ने गरिन्छ । बजेट ल्यायो भने राम्रो रोल खेलेको भन्ने बुझाई पनि छ । बजेट पायो भने जनताको नजरमा छिटो मूल्यांकन हुने पनि देखिएको छ ।

    अन्त्यमा के भन्न चाहनु हुन्छ ?
    दसैँ, तिहार र छठको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । बाढी पहिरोबाट मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

    चाडपर्व मनाउने नाममा फजुल खर्च गर्नुको साटो बाढी पहिरो प्रभावितहरूलाई सहयोग गर्न अपिल गर्दछु । प्राकृतिक विपद् जुनकुनै ठाउँमा पनि आउन सक्छ त्यसैले विपदमा परेकाहरूलाई सहयोग गर्नुपर्छ ।

  • सीजी मोटर्सद्वारा हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो– रैली संस्करण सार्वजनिक

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक विक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो – रैली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    शहर तथा अफ–रोड दुबै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दावी छ । साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सीजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सको पनि आयोजना गर्दै आइरहेको छ ।

    एक्सपल्स प्रोले आफ्ना सवारहरूलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भू–भागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्छ । यसमा डुअल–पर्पस टायरहरू उपलब्ध गरिएका छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले शहरी क्षेत्रका साथै अफ–रोड क्षेत्रमा समेत पूर्ण ग्रिप प्रदान गर्ने क्षमता राख्छ ।

    हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधा समेत उपलब्ध छ । २५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सन सहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभरपनि उपलब्ध गरिएको छ ।

    २७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स सहितको एक्सपल्स प्रो मा १९९.६ सीसी क्षमताको इन्जिन दिइएको छ । यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपीएम र १७.३५ एनएम टर्क मा ६५०० आरपीएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पीड गियरबक्स उपलब्ध गरिएको छ भने, १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ ।