Category: पालिका विशेष

  • बारपाक सुलिकोटमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    गोरखा, बिहिबार, ८ कात्तिक २०८१ । बारपाक सुलिकोट गाउँपालिकामा पाँचौँ बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गर्दै पालिकाको मा वि स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

    बिहिबारबाट सुरु भएको सो प्रतियोगिता शनिबारबारसम्म संचालन हुने गाउँपालिका शिक्षा शाखा प्रमुख भिमकुमार श्रेष्ठले बताए । प्रतियोगिताको पहिलो दिन महिलातर्फको कबड्डी खेल सुरु गरिएको उनले जानकारी दिए । सो प्रतियोगितामा पालिका भित्रका १२ वटा माविका करिब पाँच सय विद्यार्थीको सहभागिता रहेको उनले बताए । यो प्रतियोगितामा १५ वटा विधाका खेलहरुमा उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् ।

    गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टको अध्यक्षता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठक, राष्ट्रिय अनुसन्धान आयोग गोरखाका प्रमुख हुमाकान्त पौडेल, सशस्त्र प्रहरी बल २९ गुल्म गोरखाका डीएसपी केशवराज वलिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वडा नं. ३,४, ५, ६, ७, ८ का वडाध्यक्षहरु तथा राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

  • पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

    वालिङ, स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आईसिसि) को आयोजनामा ‘स्याङ्जा आईसिसि प्रथम भलिबल कप’ सुरु भएको हो ।

    स्याङ्जाको वालिङ खेल मैदानमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ११ वटै पालिकाको सहभागिता रहेको आईसिसिका अध्यक्ष वीरेन्द्रजंग केसीले जानकारी दिनुभयो । प्रतियोगिताको गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति तथा सांसद भोजराज अर्यालले शुभारम्भ गर्नुभएको हो ।

    प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार रुपियाँ, दोस्रो हुने समूहले एक लाख रुपियाँ, तेस्रो र चौथो हुने समूहले क्रमशः ५० हजार रुपियाँ र २५ हजार रुपियाँ प्राप्त गर्ने खेलका व्यवस्थापक गुप्तप्रसाद गैह्रेले जानकारी दिनुभयो ।

    स्याङ्जाबाट रोजगारी तथा विभिन्न कामका सिलसिलामा विदेशमा रहेकाहरुको साझा संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

    दसैँ र तिहारको अवसर पारेर पहिलोपटक समितिले पालिका स्तरको भलिबल प्रतियोगिता गरेको हो । ‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने नाराका साथ स्थापना भएको समितिको विभिन्न २० देशमा राष्ट्रिय समितिहरु छन् । प्रतियोगिताका लागि भनेर विभिन्न देशबाट प्रतिनिधिहरु जिल्ला आइपुगेका छन् ।

    पाँच नगरपालिका र ६ गाउँ पालिकालाई चार वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिता कात्तिक ५ गते सम्म सञ्चfलन हुने आयोजकले जनाएको छ ।