Category: पालिका विशेष

  • गोरखाको धार्चे गाउँपालिकाले महिलाहरुलाई डकर्मी तालिम

    गोरखा, बुधबार, ७ जेठ २०८२ । गोरखाको धार्चे गाउँपालिकाले महिलाहरुलाई डकर्मी तालिम संचालन गरेको छ । महिलाहरुको क्षमता विकास गर्ने र आयआर्जन गरी आत्मनिर्भर गराउने उद्देश्यले एकहप्ते आधारभूत डकर्मी तालिम दिएको पालिकाले जनाएको छ ।

    तालिममा पालिकाभित्रको सातै वटा वडाबाट ४२ जना महिलाहरुको सहभागिता रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए । उनका अनुसार तालिम महिलाका लागि लक्षित गरेर संचालन गरिएकाले महिलाहरुको सहभागितालाई प्राथमिकता दिइएको छ । महिलाहरुलाई गारो तथा पर्खाल लगाउने, प्लास्टर गर्ने, काठ चिर्ने लगायत डकमीं सीपहरु सिकाइएको उनले बताएका छन् ।

    ‘तालिममा पुरुषभन्दा महिला धेरै हुनुहुन्छ । सहभागी छनोट गर्ने क्रममा पनि हामीले महिलाहरुलाई प्राथमिकतामा राखेका थियौँ’, उनले भने, ‘पालिकाका अधिकांश पुरुषहरु वैदेशिक रोजगारीमा छन् । यहाँ संचालन हुने विकास निर्माणका योजनाहरुमा बाहिरबाट कामदार मगाउनुपर्ने बाध्यता छ । यो तालिम दिइसकेपछि यहाँका विकासे योजनाहरुमा स्थानीयहरुको केही हदसम्म भएपनि सहभागिता बढ्ने पालिकाको अपेक्षा हो ।’

    अहिले पुरुषहरु प्राय वैदेशिक रोजगारीमा जाने, गाउँमा प्राय महिलाहरु धेरै हुने भएकाले पनि महिलाहरुलाई आत्मनिर्भर गराउन र कामका लागि आवश्यक जनशक्ति तयार गर्न सो तालिम आवश्यक रहेको बताइएको छ ।

    डकर्मीको काम महिलाहरुले पनि सजिलै गर्न सक्ने भएकाले तालिमका लागि पालिकाले महिलाहरुलाई बढी जोड दिएको सुनारले जानकारी दिए । उनी भन्छन, ‘सामान्य पर्खाल लगाउने, प्लास्टर गर्ने काम महिलाहरुले पनि सजिलै गर्न सक्छन् । फेरि धार्चेको सन्दर्भमा गाउँघरमा प्राय महिलाहरु मात्र हुनुहुन्छ । यहाँ संचालन भएका ठुला साना योजनाहरुमा महिलाहरुको सहभागिता बढाएर उहाँहरुको जीविकोपार्जन बढाउने पनि हाम्रो उद्देश्य छ ।’

    यही जेठ १ गते बिहिबारबाट सुरु भएको तालिम बुधबारसम्म संचालन हुनेछ । पालिकाले रु १६ लाख रुपैँया बिनियोजन गरेर डकर्मी सीप विकास तालिम संचालन गरेको बताइएको छ ।

  • गोरखाको धार्चे गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

    गोरखा, शुक्रबार, २६ वैशाख २०८२ । बैशाख शुक्ल चतुर्दशीको अवसर पारेर धार्चे गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले आइतबार पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरु बन्द हुने जनाएको छ ।

    पालिकाको गत बैशाख २२ गते बसेको गाउँकार्यपालिका बैठकले बुद्ध जयन्तीको अघिल्लो दिन बैशाख शुक्ल चतुर्दशीमा बिदा दिने निर्णय गरेको थियो । प्रत्येक वर्ष बैशाख शुक्ल चतुर्दशीको अवसरमा धार्चेमा पुर्खारपितृहरुको सम्झनामा पितृ तथा कुलको पुजाआजा गर्ने, घाटु नाच्ने, इष्टमित्र भेटघाट गर्ने, खुसियाली आदनप्रदान तथा भाइचारा बाड्ने गतिविधिहरु हुने गर्दछ ।

    यो वर्ष पनि प्रचलित परम्परा अनुसार धुमधामका साथ पर्व मनाउने उद्देश्यले पालिकाभर सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । यसअघि बिगत बर्षदेखि नै सो पालिकाले नियमित रुपमा यस दिन सार्वजनिक विदा दिने गर्दछ ।

  • अजिरकोट गाउँपालिकाको केन्द्र जोड्ने सडक गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा शिलान्यास

    गोरखा, शुक्रबार, २६ वैशाख २०८२ । गोरखा चनौटे डिस्का भच्चेक सडक (१४.३० किमि) कालोपत्रे हुने भएको छ । आज भएको एक कार्यक्रमका बिच उक्त सडकको गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नु भएको छ ।

    सडक शिलान्यास गर्दै मन्त्री सुरेन्द्रराज पाण्डेले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्वता पूरा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । सो सडक अजिरकोट गाउँपालिकाको केन्द्र जोड्ने मुख्य र छोटो सडक भएको बताउँदै उहाँले समयभित्रै सम्पन्न भएमा बजेट अभाव हुन नदिने बताउनुभयो ।साथै, उहाँले समयभित्रै गुणस्तरीय सडक निर्माण गर्न व्यवशाीलाई आग्रह गर्दै सहयोग गर्न स्थानीयलाई पनि अनुरोध गर्नुभयो ।

    चुनावका बेला हरेक वडाको एउटा मुख्य सडक (अल वेदर रोड) ब्राहै महिना चल्ने बनाउने प्रतिबद्वता अनुसार सबै पालिका र वडामा बजेट विनियोजन भएर काम भइरहेको उहाँले बताउनुभयो । धेरै बर्ष देखिको कालोपत्रे सडकको सपना अब पूरा हुने भयो भन्दै स्थानीयले खुशी व्यक्त गर्नु भयो ।

    गण्डकी प्रदेश सरकारले ६५ करोड ९९ लाखमा प्रस्ताव गरेको यो सडकको ठेक्का सम्झौता ४४ करोड ४६ लाखमा भएको हो । एमएस् खड्का-नव कान्तिपुर जेभीले २०८४ असार २५ गते सम्पन्न गर्ने गरी कामको जिम्मा लिएको छ ।

  • लालपुर्जा पाएपछि गोरखा धार्चेका भूमिहीन परिवार खुशी

    गोरखा, आइतबार, १४ वैशाख २०८२ । धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

    मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो । विसं २०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको भए पनि सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरणको काम झन्डै डेढ वर्षदेखि रोकिँदै आएको थियो ।

    गाउँपालिकामा भूमिहीन सुकुम्बासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । धार्चेमा अव्यवस्थित बसोबासी भने दुई सय ५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।

    गण्डकी प्रदेशसभाका सदस्य नन्दप्रसाद न्यौपानेले दलित पविारलाई पुर्जा हस्तान्तरण गर्नुभएको हो । विसं २०७९ असारमा आयोगसँग गोरखाका ११ स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने सहमति गरेका थिए ।

    वर्षौँपछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी भएका छन् । “आफ्नो नाममा जग्गाको पुर्जा नपाई मरिन्छ कि भन्ने लागेको थियो, भूमिहीन दलितमध्येका एक आइतसिंहले भन्नुभयो, “गाउँपालिकाले पहल गरेर पुर्जा आफ्नै नाममा दिनुभयो, धेरै खुसी लागेको छ ।”

  • शिक्षक आन्दोलनमा गोरखाका ११ वटै पालिकाको ऐक्यबद्धता

    गोरखा, मंगलबार, २६ चैत्र २०८१ । गोरखाका ११ वटा पालिकाहरूले काठमाडौंमा जारी शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । गोरखाका दुई नगरपालिका र नौवटा गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरूले संयुक्त वक्तव्य जारी गरेर शिक्षक आन्दोलनलाई समर्थन गरेका हुन् ।

    यसरी वक्तव्य जारी गर्नेमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर छन् ।

    वक्तव्यमा भनिएको छ, “लामो समयदेखि संघीय संसद् प्रतिनिधिसभामा प्रक्रियामा रहेर जारी गर्नका लागि विलम्ब भइरहेको शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको अनिश्चितकालीन शिक्षा आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दछौँ ।”

    संसदमा दर्ता भएको शिक्षा विधेयकलाई नजर अन्दाज गरी अकस्मात् संसद् अधिवेशन अन्त्य गरिनुले राज्यले शिक्षा क्षेत्रलाई नै अवमूल्यन र अवहेलना गरेको प्रतित भइरहेको पालिका प्रमुखहरूको ठहर छ । संविधान जारी भएको एक दशक पूरा हुँदा पनि संविधान कार्यान्वयनका लागि विद्यालय शिक्षा ऐन जारी हुन नसक्नु अत्यन्तै लाजमर्दो र दुःखद् भएको उनीहरूले बताएका छन् ।

    “विद्यालय शिक्षासम्बन्धी संवैधानिक प्रावधान र सरकारले गरेका सम्झौता एवं प्रतिबद्धता कार्यन्वयन गर्दै समयानुकूल र बालबालिकाको हित अनुकूल हुने गरेर विद्यालय शिक्षा ऐन जारी गर्नुहुन र राजधानीको सडकमा आफ्ना माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण निर्माण गर्नुहुन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौ,” विज्ञप्तिमा उल्लेख छ ।

  • माछाखोला, लप्सीबोट, यामगाउँ गुम्दा सडक स्तरोन्नतीको काम तिब्र

    गोरखा, आइतबार, २४ चैत्र २०८१ । माछाखोला–लप्सीबोट–यामगाउँ गुम्दा सडक स्तरोन्नतीको काम भइरहेको छ ।

    अहिले सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगिसकेको गण्डकी प्रदेश मातहको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । ‘सडक निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको छ,’ कार्यालयका प्रमुख गणेश सुवेदीले भने,‘अब धेरै काम बाँकी छैन् ।’

    अहिलेसम्म ६५० मिटर आरसिसि (ढलान) र १०.३७ किलोमिटर गरी झण्डै १७ किलो मिटर सडक स्तोन्नतीको काम हुने बताइएको छ । हाल सम्म ग्याबिन वाल, मेसिनरी वाल लगाउने काम अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । ‘अहिले काम सुरु गरेको पनि ४ वर्ष बित्यो, तीन पटक म्याद थप भइसक्यो,’ उनले भने, ‘सडक स्तोन्नतीको अन्तिम म्याद आउदो असार मसान्त सम्म छ, ठेकेदारले यसपाली समयमै काम सक्छु भनेको छ, धमाधम भयो भने त्यसैको रिजल्ट चाडै आउनेछ ।’

    उक्त सडकमा ७ मिटर चौडाइ र एक÷एक मिटर नाला निर्माण गरिएको छ । ठेकेदारले भौगोलिक अवस्थाका समस्याहरु देखाएर यसअघि काम गर्न ढिलाई गरेता पनि अहिले क्रमिक रुपमा काम भइरहेको उनले बताए । ‘गत वर्ष भण्डै ७ किलोमिटर सडक ग्राबेल गर्नै काम सम्पन्न भएको थियो,’ उनले भने, ‘अन्य क्षेत्रमा नाली बनाउने र ग्राबेल गर्ने काम भइरहेको छ ।’

    बाटोमा पहिरो गएपछि लामो समय सामान ढुवानीमा समस्या भएको थियो । अहिले पहिरो पन्छाएपछि सहज रुपमा निर्माण सामग्री ढुवानी भइरहेकाले काममा पनि राम्रो प्रगति भएको कार्यांलयले जनाएको छ ।

    ३२ करोड १० लाख ८७ हजार ६९२.१७ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी २०७७ भदौ १ गते अमर.पि. आर नाना जेभीसँग सम्झौता भएको थियो । ४ वर्षमा उक्त सडक सक्नु पर्ने भएपनि पटक म्याद थप हुँदा पनि काम सम्पन्न भने भइसकेको छैन । उक्त सडक निर्माणमा ढिलाई हुँदा सो क्षेत्रका सर्वसाधारणलाई आवात जावतमा समस्या भएको छ । बिरामी पर्दा, सामान ढुवानी गर्न र आवातजावत गर्न सास्ती झेल्नु परेको छ ।

  • गोरखाको धार्चे गाउँपालिकाको पहलमा खोर्लावेशीमा बेलीब्रिज निर्माण हुने

    गोरखा, शनिबार, ९ चैत्र २०८१ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, खोर्लावेशीस्थित मिङरुङ खोलामा करिब ५ करोडको लागतमा बेलीब्रिज निर्माण हुने भएको छ । गाउँपालिकाको समन्वय तथा टाइम्स इनर्जी प्रा.लिको आर्थिक एवं प्राविधिक सहयोगमा मिङरुङ खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

    ‘‘बर्खाका बेला सवारीसाधन ओहोरदोहोर गर्न कठिनाइ हुँदा त्यसक्षेत्रका नागरिकलाई समस्या हुँदै आएको छ, उहाँले भन्नुभयो, ‘‘पालिका क्षेत्रमा हाइड्रो निर्माण गर्न लागेकाले टाइम्स इनर्जीेको सामाजिक उत्तरदायित्वको बजेटमार्फत बेलीब्रिज निर्माण गर्न लागिएको हो ।’’ उक्त बेलिब्रिज ३० मिटर लम्बाइ र ४ मिटर चौडाइको हुने गरी स्टमेट डिजाइन गरिएको छ ।

    बेलीबिज्र निर्माणपछि धार्चेको खोर्लावेशी, हुलचुक, उहियाँ, रुन्चेत, चुमनुब्री गाउँपालिका सातवटै वडाका नागरिकहरु लाभाव्दित हुने उहाँले बताउनुभयो । बेलीब्रिज निर्माणको काम तीन महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका प्रवन्ध निर्देशक हिम पाठकले जानकारी दिनुभयो ।

    ‘‘पारिपट्टीको चट्टान ‘ब्लास्टिङ’ ढुङ्गा फाल्न सकियो भने तीन महिना भित्रमा पुल निर्माण सक्नेगरि काम अगाडी बढाउन लागिएको छ, उहाँले भन्नुभयो, ‘‘अहिले हिउँदमा मात्र सडक सञ्चालनमा रहेको यसक्षेत्रमा पुल निर्माण भएपछि बर्खाका बेलामा समेत नियमित यातायात सञ्चालन गर्न सकिनेछ ।’’

    उक्त बेलीब्रिजको बुधबार एक कार्यक्रममा बिच गाउँपालिका अध्यक्ष गुरुङले शिलन्याससमेत गर्नुभएको छ । टाइम्स इनर्जी प्रा.लिले धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रमा पर्नेगरि बुढीगण्डकी नदीमा ३४१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अघि बढाइसकेको छ । आगामी ५ बर्ष भित्रमा आयोजना निर्माण सम्पन्न हुने पाठकले बताउनुभयो ।

  • गोरखाको भिमसेन थापा गाउँपालिकाका नगर प्रहरी विपदमा

    गोरखा, बुधबार, २८ फागुन २०८१ । गोरखाको भिमसेन थापा गाउँपालिकाका नगर प्रहरी विपदमा पनि सक्रिय हुने भएका छन । संविधानको अनुसूची ८ र ९ अनुसार स्थानीय सरकारका काम, कर्तव्य र अधिकार २२ प्रकारका छन् ।

    यीमध्ये सबैभन्दा पहिलो नगर प्रहरी राख्ने अधिकार छ । स्थानीय सरकारको अभ्यास सुरु भएको ८ वर्ष बित्दा गोरखाकोे भिमसेन थापा गाउँपालिकाले पहिलाे पटक नगर प्रहरीमार्फत सुरक्षामात्र नभइ विपतमा पनि नागरिकको जीउधन बचाउन काम थालेको छ ।

    गाउँपालिकाले नियुक्त गरेको नगर प्रहरी टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण र नियमित बजार अनुगमनलगायतका काममा पनि खट्दा स्थानीयबासीले सजिलो महसुस गरेका छन् ।

    भीमसेन थापा गाउँपालिकाले १ वर्ष अघि आफ्नै आन्तरिक स्रोत परिचालन गरेर पालिका भित्रको सुरक्षाको जिम्मा नगरप्रहरीलाई दिएको छ ।

    प्रहरीको सक्रियतासँगै अवैध नदीजन्य पदार्थको उत्खनन्को रोकथाम र राजश्व बढाउन पनि सजिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

    पालिकामा सेवा लिन आउने नागरिकका लागि हेल्प डेक्समार्फत समन्वय गर्ने कम पनि नगर प्रहरीमार्फत भएको उनले जानकारी दिए । गाउँपालिकाले नगरप्रहरीको भर्ना छनौटसँगै करिब ३ महिना आधारभूत सुरक्षा तालिम दिएर परिचालन गरेको हो ।

  • धार्चे गाउँपालिकाको स्थापना दिवसमा पहिलो अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    गोरखा, बुधबार, २८ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिकामा सम्पन्न राष्ट्रिय पुरुष युगल (एक्सेप्ट टप २०) विधा अन्तरगतको ब्याटमिण्टन प्रतियोगिताको उपाधि विधान अधिकारी र पविन लिङथेपको जोडीले हात पारेको छ । गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित ‘पहिलो अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधि त्रिभुवन आर्मी क्लवका अधिकारी र लिङथेपको जोडीले जितेको हो ।

    विजेता द्वयले रु ७५ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाले जनाएको छ । यस्तै, सुप्रिम पन्त र सुविन श्रेष्ठको जोडी दोस्रो भएका छन् । भने विवेक चौधरी, हिमान्सु कँवर मगर र राम मल्ल ठकुरी, सुजन थापाको जोडी प्रतियोगितामा तेस्रो भएका छन् । उनीहरुले क्रमश रु ३० हजार र २०÷२० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    खुल्ला जिल्ला स्तरीय पुरुष युगल व्याटमिण्टन प्रतियोगितामा धादिङका भिषण श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी पहिलो भएका छन् । प्रतियोगितामा धादिङकै जेनिश अमात्य र वुद्धि थापाको जोडी दोस्रो भएका छन् । यस्तै, गोरखाको मुकुल गुरुङ र छत्र थापाको जोडी र धादिङको विष्णुलाल श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठको जोडी तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेहरुले क्रमश रु ४५ हजार, ३० हजार र १५\१५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाका कर्मचारी सन्देश गौडेलले बताए ।

    अन्तरपालिका स्तरीय युगल विधामा बारपाक सुलिकोट गाउँपालिकाका कृष्ण गुरुङ र रमेश थापाको जोडी प्रथम भएको उनले जानकारी दिए । यसैगरी, जिल्ला प्रहरी कार्यालयका लिला बहादुर रानाभाट र विर कुमार थापाको जोडी प्रतियोगितामा दोस्रो बनेको राज गुरुङले जानकारी दिए । सहिदलखन गाउँपालिका र गोरखा नगरपालिकाले भने तृतीय स्थान हासिल गरेका छन् । सहिदलखनका डिल थापा, निर्मल थापा र गोरखा नगरपालिकाका सुजन भट्ट र अन्जित श्रेष्ठको जोडीले तेस्रो स्थान हात पारेको हो ।

    अन्तरपालिका स्तरीय युगलका बिजेताहरुले क्रमश रु ३० हजार, २० हजार र १०÷१० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गत आइतबारबाट सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । प्रतियोगिता अन्तरगत राष्ट्रिय पुरुष युगल, खुल्ला जिल्ला स्तरीय पुरुष युगल र गोरखा जिल्ला अन्तर पालिका स्तरीय युगल गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो ।

    साथै, स्थापना दिवसको अवसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्नेहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट कर्मचारीका रुपमा पालिकाका जिन्सी शाखामा कार्यरत विजयकुमार श्रेष्ठ, उत्कृष्ट विद्यालयका रुपमा जनजागृति मावि माछीखोलालाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट शिक्षकका रुपमा प्रभातकिरण मावि लापुवेशीकी शिक्षिका संसरी गुरुङ, उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा केरौँजा स्वास्थ्य चौकीकी सरिस्मा घलाङ तामाङलाई सम्मान गरिएको छ ।

  • धार्चे गाउँपालिकामा आज मंगलबार सार्वजनिक बिदा

    गोरखा, मंगलबार, २७ फागुन २०८१ । स्थापना दिवसको अवसर पारेर धार्चे गाउँपालिकाले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।

    सार्वजनिक सूचना जारी गर्दै पालिकाले मंगलबार (फागुन २७ गते) पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरु बन्द हुने जनाएको छ ।

    पालिकाको गत फागुन २३ गते बसेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाको स्थापना दिवसको दिन बिदा दिने निर्णय गरेको थियो ।

    पालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी भव्य रुपमा मनाउन लागेकाले सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।