Category: पालिका विशेष

  • कार्यसम्पादनमा बारपाक सुलीकोट गाउँपालिका पहिलो हुन सफल

    गोरखा, शनिबार, ३ फागुन २०८१ । स्थानिय तह कार्यसम्पदानमा गोरखाका ११ वटा पालिकाहरू मध्ये वारपाक सुलीकोट गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको अन्तिम नतिजा अनुसार वारपाक सुलीकोट गाउँपालिका ७०.०८ अङ्क प्राप्त गरी जिल्लाको पहिलो भएको हो ।

    गोरखाको दोस्रो भएको भिमसेनथापा गाउँपालिकाले ६९.०१ अङ्क ल्याएको छ । त्यस्तै तेस्रो भएको आरुघाट गाउँपालिकाले ६८.०९ अङ्क प्राप्त गरेको छ । आयोगले सार्वजानिक नतिजा अनुसार चुमनुब्री गाउँपालिकाले ६७.०१ अङ्क प्राप्त गरेको छ भने धार्चे गाउँपालिका र पालुङटार नगरपालिकाले समान ६६.८ अङ्क प्राप्त गरेको छ ।

    त्यस्तै, शहीद लखन गाउँपालिकाले ६६.४ अङ्क प्राप्त गर्न सफल भएको छ । गोरखाको पहिलो नगरपालिका गोरखा नगरपालिकाले ६०.७ र गण्डकी गाउँपालिकाले ६०.० अङ्क प्राप्त गरेका छन् । सिरानचोक गाउँपालिकाले ५८.६ अङ्क प्राप्त गरेको छ भने जिल्लाको सबैभन्दा कम अजिरकोट गाउँपालिकाले ५७.१ अङ्क प्राप्त गरेको छ ।

    आयोगले प्रदेश तथा स्थानिय तहको कार्य सम्पादन मूल्याङ्कनमा कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गरेको छ । जसमा असार १० भित्र बजेट पेस गरे नगरेको, असार मसान्त भित्र बजेट पारित गरे नगरेको, आय व्यायको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजानिक गरे नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानिय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र प्रयोग भए नभएको जस्ता सूचकका आधारमा मूल्याङ्कन गरिएको छ ।

    त्यस्तै, स्वास्थ्य र शिक्षालाई पनि मुख्य सूचकको रूपमा लिदै गर्भवती महिलाको ४ पटक गर्भ जाँच गरेको महिलाको अनुपात, पूर्ण खोप लगाएका बालबालिका र शिक्षामा सामुदायिक विद्यालयमा कक्षा १० मा १.६ भन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी कक्षा ८ भन्दा बढी कक्षा ९ मा विद्यार्थी टिकाउ दर लगायतका सूचकहरू रहेका छन् ।

    वित्त आयोगले वित्तीय अनुदान दिँदा स्थानिय तहको कार्य सम्पादनलाई पनि हेरेर सिफारीस गर्नका लागि कार्यसम्पादन मूल्याङ्कन हेर्ने गरिएको छ । हाल भएको उपलब्धीलाई रक्षा गर्दै अगामी दिनहरूमा आयोगले तोकेका सबै सूचकहरूलाई केन्द्रमा राखेर अघि बढ्ने योजनामा गाउँपालिका रहेको वारपाक सुलीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबास आलेमगरले जानकारी दिनुभयो ।

  • गोरखा काहुले भंगार लखन किल्लामा प्रथम शहीद लखन थापाको १४८ औं स्मृति दिवस मनाइदै

    गोरखा, बिहीबार, १ फागुन २०८१ । गोरखाको शहिद लखन गाउँपालिकाको आयोजनामा प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवस मनाउने भएको छ ।

    स्मृति दिवस फागुन २ गते शुक्रबार गाउँपालिकाको वडा नं. ७, काहुले भंगारको लखन किल्ला परिसरमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । साथै,अन्तर वडा दोस्रो शहीद लखन कप पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल हुने छ ।

    पालिका भित्रका उत्कृष्ट कृषक पुरस्कार वितरण, शहीद तथा वेपत्ता परिवारहरु लाई सम्मानित् गरिनुका साथै विविध सांस्कृतिक झाँकी तथा बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवस मनाइने पालिकाले जनाएको छ ।

    प्रथम शहीद लखन थापा मगर
    गोरखाको बुङ्कोटमा साधारण फौजी परिवारमा जन्मिएका लखन ‘पुरानो गोरख पल्टन’ का कुशल सैनिक थिए । परिस्थिति अनुसार सही कदम उठाउने खूबी भएकाले यिनी योग्य सैन्य अधिकारीमा गनिन्थे । तर‚ राणाहरूको एकाधिकार र पक्षपातले गर्दा यिनको उन्नयन भएन, पुर्खाहरूले झैं उच्च ओहोदा सम्हाल्न पाएनन् । त्यसपछि सैन्य सेवा त्यागेर राणाहरूको अराजकता र थिचोमिचो विरुद्ध जनस्तरबाटै लड्ने अठोट गरी आफ्ना विश्वासी मित्र जयसिंहसँगै बुङ्कोट फर्किए ।

    प्रमोदशमशेरका अनुसार‚ योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरङ्कुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन् ।

    गोरखाको समग्र इतिहासका जानकार दण्डपाणि अर्ज्याल (१९६३-२०४५)का अनुसार‚ श्री ५ सुरेन्द्रविक्रम शाहका समयमा जंगबहादुरले हुकुम लिएपछि गोरखाका भारदार राजनैतिक बौलाहा भए । जंगबहादुर गोरखा आउँदा गोरखालीहरू पस्लाङ चौतारामा जम्मा भई सभा गरी यिनको स्वागतै नगर्ने निधो गरेर बसे, स्वागत गरेनन् पनि । जंगबहादुर आएर कालिकाको दर्शन गर्न ढोका खोल्न आदेश गरे तर पाले, सुसारेले हुकुम छैन भने । कसको हुकुम छैन भनी जंगिन लाग्दा भगवतीको हुकुम छैन भनिदिंदा चुप लागे र ढोका खोल्न सकेनन् । …यसपछि गोरखादेखि चिढिएका हुँदा गोरखालीले जागिर नपाउने बनाइयो । वेख-विर्ता, माना-चामल हरण भए । उनका विश्वासीले मात्र जागिर पाए, यसरी गोरखाको नाकाबन्दी भयो र क्रमशः अवनति हुन लाग्यो। …

    विसं १९३२ सालमा युवराज त्रैलोक्यविक्रमका आठपहरिया लखन थापाको नेतृत्वमा गोरखालीले जंगबहादुर उपर विद्रोह शुरू गरे । हातहतियार, खजाना जोडिंदै थियो। लखन थापालाई पक्रिएर गोरखाबजार ठूलो आँगनमा झुण्ड्याई साविती गराई हातहतियारको भण्डार पत्ता लगाए । लखन थापालाई उनकै घर भाङ्राभञ्ज्याङ बुङ्कोटमा लगी झुण्ड्याएर मारियो । त्यस बापत गोरखालीलाई दिइएको बकसबाट गोरखकालीलाई १९३३ माघ सुदी ८ मा (लखन थापाकै स्मृतिमा) घण्टा चढाइयो (गोरखाको ऐतिहासिकता, ज्ञानविन्दु, वर्ष-१, अंक-१,२०६४:पृ.११-१२, दण्डपाणि अर्ज्याल स्मृति केन्द, काठमाडौं)। 

    त्यस वेलाको समाजमा रूढिवादी परम्परा र अन्धविश्वास व्याप्त थियो । दैवीशक्तिमा गहिरो आस्था राख्ने समाजलाई आकर्षित गर्न त्यही आस्थाको उपयोग गर्दै लखनले आफूलाई ‘प्राचीन कालका सिद्ध लखन थापाको अवतार’ बताउँदै ‘देवी मनकामनाले सपनामा जंगबहादुरलाई मारी त्यसको स्थानमा आफूलाई शासन गर्न अह्राएको’ प्रचार गरे। यसले प्रसिद्धि पायो। स्थानीयहरू बुङ्कोटमा भेला हुन थाले।

    धर्मका नाममा फैलाइएको उँचनीच र छुवाछूत जस्ता कुरीति हटाउन लखनले जोसमनी विचारधारा अघि सारे । यो विचारले न्याय र समानतामा आधारित नयाँ समाजको निर्माण गर्ने र परस्पर एकता कायम गर्न सघाउने हुँदा सर्वसाधारण यसप्रति आकर्षित हुँदै गए । त्यसपछि सन्तहरूको संगठन खोली लखनले विद्रोही गतिविधि चलाए । गाउँ गाउँमा शासकको कुकृत्य भण्डाफोर गर्दै हिंडे, आफूले सत्ययुग अर्थात् उदार व्यवस्था (प्रजातन्त्र) ल्याउने वाचा गरे। सबैलाई एकत्रित गरेर लडाकू सहितको किल्ला बनाई त्यसैको बलमा जंगबहादुरलाई चुनौती दिए । 

    आफ्ना विरोधीलाई सखाप पारी सर्वशक्तिमान् बनेका जंगबहादुर त्यसै गरी अरूले पाखा लगाउलान् भनेर सधैं चिन्तित रहन्थे । त्यसैले भारतभूमिमा उपनिवेश कायम गर्दै राज गरिरहेको विस्तारवादी, साम्राज्यवादी अंग्रेजलाई रिझाई आफ्नो अधिनायकवादी सत्तालाई जोगाइरहन चाहन्थे । अतः देशको स्वाभिमानमै खलल पुग्ने गरी यिनले आत्मसमर्पणवादी नीति अँगाले। देशको शत्रु अंग्रेजसामु जंगबहादुर नतमस्तक भएको देख्दा जनतामा असन्तोष फैलिएको थियो । सर्वसाधारणको यही भावना बुझी लखन शासक विरुद्ध कठोरतापूर्वक उभिए। ‘जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो’ भनेर आक्षेप लगाए । 

    बुङ्कोट विद्रोह अद्‌भुत प्रकृतिको थियो । जसले जंगबहादुर जस्ता तानाशाहलाई पनि भयभीत बनायो । प्रमोदशमशेरका अनुसार‚ ‘योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरंकुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन्।’ (राणाशासनको वृत्तान्त, २०७०: पृ.८९)। 

    विद्रोहलाई देवीदत्त पल्टन लगाएर निर्ममतापूर्वक दबाइयो। जंगबहादुरको शासन विरुद्ध १९३२-३३ सालमा जनस्तरबाट एकत्रित, संगठित भई सशस्त्र संघर्ष गर्ने क्रममा लखन थापा र उनका ६ जना समर्थकलाई तिनकै किल्लामा झुन्ड्याएर मारियो । 

    बुङ्कोटको यो ऐतिहासिक घटनाले आम समुदायमा शासकसामु लड्ने विद्रोही भावनाको विकास गरायो । शासकवर्गले जतिसुकै थिचोमिचो गरे पनि चूपचाप सहने जमानामा लखनले जनचेतना फैलाए । अन्याय, अत्याचार विरुद्ध जनस्तरबाट लड्ने माहोल बनाए । जन जनमा हिम्मत, हौसला र साहस जगाए। त्यही चेतनाको आलोकमा कैयौं विद्रोह र परिवर्तन भए । हामीले पाएको लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, न्याय, समानता र सुशासन लगायतका मुद्दालाई वर्तमान संविधानमा समेट्न यो विद्रोहले पनि प्रेरित गरेको हो। त्यसैले नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ बुङ्कोट विद्रोहबाटै भएकोमा कुनै शङ्का छैन । 

    विर योद्धा जयसिंह चुमी राना मगर

    राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कानुनी राज्य स्थापना लगायत सबै खाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हँुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान् सहिद हुन्, जय सिंह चुमी राना मगर । उहाँको जन्म गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गाविस वडा नं ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको चुमी मगर र लखन थापा मगर घनिष्ट साथी थिए ।

    जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।

    सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

  • गोरखाको बारपाक सुलिकोटमा व्यवसायिक ओखर खेती सुरु

    गोरखा, मंगलबार, ३० माघ २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरु गरिएको छ । किसानहरुको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि गाउँपालिकाको वडा नम्बर ३ स्वाँरा र वडा नम्बर ४ सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखर खेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिनुभयो ।

    ‘‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरुलाई समेटेर कागतेखर्क बहुउद्देस्सीय कृषक समुह गठन गरिएको छ, उहाँले भन्नुभयो, ‘‘सोही समुहमा आवद्ध किसानलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ सोही अनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो ।’’

    मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सयवटा ओखरका बेर्ना वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका विरुवा खरिद गरेर ल्याई किसानलाई वितरण गरेको हो । ओखर खेतीका लागि छनोट गरिएको जग्गालाई चारवटा ‘प्लट’ बनाएर बेर्ना लगाउन थालिएको उहाँको भनाई छ ।

    किसानहरुलाई वितरण गरिएका बेर्ना प्रत्येक १० मिटरको फरकमा खाडल खनेर आवश्यक मलखादको व्यवस्था गरी किसानहरुले रोप्न सुरु गरिसकेका छन् । अहिले लगाइएको विरुवाले करिब चार बर्षपछि उत्पादन दिन सुरु गर्ने उहाँले बताउनुभयो ।

    ‘‘कृषि प्राविधिकसहितको टोलीले माटो परीक्षण गर्दा ती क्षेत्र ओखर खेतीका लागि अत्यन्तै उपयुक्त रहेको पाइयो, उहाँले भन्नुभयो, ‘‘भिरालो पानी नजम्ने जमिन र त्यहाँको हावापानी पनि ओखर खेतीका लागि सुहाउदो भएकाले यसबर्षदेखि ओखरी खेतीको थालनी गरिएको हो ।’’

    ओखरका विरुवा खरिदका लागि रु १० लाख र ढुवानीका लागि मात्रै एकलाख रुपैया भन्दाबढी खर्च भएको उहाँले बताउनुभयो ।

  • शहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको पुन:निर्माण कार्य सम्पन्न

    गोरखा, सोमबार, २८ माघ २०८१ । गोरखा जिल्ला शहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको पुन:निर्माण कार्य सम्पन्न भएको छ ।

    बि स २०७२ बैशाख १२ गते गएको गोरखा भूकम्पका कारण क्षति भएको गोरखाको शहिद लखन गाउँपालिका वडा नं ६ स्थित घैरुङ स्वास्थ्य चौकी भवन नेपाल सरकार स्वास्थ्य मन्त्रालय र भारत सरकारको सहयोगमा पुन:निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष अध्यक्ष रमेश थापा मगरले बताउनु भयो, साथै उहाँले PHB- 3 टाईपको यस स्वास्थ्य चौकी भवनको लागत स्टमेट रु ११,२३,१३३०४.४/- रहेकोमा खानी निर्माण सेवा कम्पनीले बोलपत्र मार्फत ठेक्का संझौता गरि रु ८,५४,०६००१.७/- लागतमा सम्पन्न गरिएको उहाँले बताउनु भयो ।

    स्वास्थ्य चौकी भवन निर्माणसँगै घैरुङ लगायतका आसपासका क्षेत्रका नागरिकहरुले सजिलै स्वास्थ्य सेवा प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो ।

    जिल्लाको शहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको शिलान्यास गत २०७८ साल चैत्र १२ गते शुक्रबारका दिन एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश थापा मगरले स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नु भएको थियो ।

  • गोरखाको धार्चे ४ लाप्राकमा निर्माण हुने सुपर माछा खोला जलविद्युत् आयोजनालाई जुट्यो लगानी

    गोरखा, आइतबार, २७ माघ २०८१ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ । आज यहाँ आयोजित कार्यक्रममा बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सा ेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

    कूल रु ९६ करोड ३८ लाख ३० हजार लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

    प्रवद्र्धक कम्पनीका अनुसार वाणिज्य बैङ्कले रु ६७ करोड ४६ लाख ८० हजार लगानी गर्नेछ । बाँकी रु २८ करोड ९१ लख ५० हजार स्वपूँजी लगानी हुनेछ । करिब १८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाबाट वार्षिक २७ दशमलव ३७९ गिगावट आवर विद्युत् उत्पादन हुनेछ । वर्षायाममा १८ दशमलव ६२१ गिगावट आवर र हिउँदमा ८ दशमलव ७५ गिगावाट आवर बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

    आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच गत असार २१ गते विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाबाट उत्पादित विद्युत् विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सवस्टेसनमा जोडिने छ । ऋण लगानी सम्झौता पश्चात कम्पनीका अध्यक्ष न्यौपानेले नेपालको विकासका लागि जलविद्युत् क्षेत्रमा लगानी बढाएर लैजानुपर्ने आवश्यकता बोध गरी आयोजना निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले लगानीकर्ता डुब्न नदिने र समयमै पर्याप्त प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत खनालले निजी क्षेत्रले ऊर्जा क्षेत्रमा फड्को मार्नुपर्नेमा जोड दिँदै राबा बैङ्कले सुरुआतदेखि नै जलविद्युत् क्षेत्रमा लगानी गर्दै आइरहेको बताउनुभयो । उहाँले वित्तीय अनुशासनमा रहेर निर्धारित अवधिमा आयोजना सम्पन्न गर्न कम्पनी सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

    जलविद्युत् क्षेत्रमा अनुभव हासिल गरिसकेको सो समूहले ४ दशमलव ५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यसैवर्ष थप २२ मेगावाट क्षमताको जल्दीगाढ जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीले जनाएको छ ।

  • लखन थापाका सहयोद्धा जयसिंह चुमीलाई शहिद घोषणा गर्न माग

    गोरखा, बुधबार, १६ माघ २०८१ । लखन थापाका सहयोद्धा जयसिंह चुमीलाई शहिद घोषणा गर्न माग गरेका छन् । राणा शासनविरुद्ध पहिलो पटक विद्रोह गर्ने लखन थापाका सहयोद्धा जयसिंह चुमी मगरका चौथो पुस्ताका सन्तान हुन्, रत्नसिंह । ९० वर्ष टेकेका रत्नसिंहको एउटै माग छ, ‘मेरो बाजे (जयसिंह) लाई सहिद घोषणा गर्नुपर्‍यो ।’

    वि.सं. १९३३ फागुन २ मा लखन थापासँगै जयसिंह चुमी मगरलाई हालको सहिद लखन गाउँपालिका–७ काहुले भंगारमा तत्कालीन राणा सरकारले झुण्ड्याएर फाँसी दिएको थियो ।

    तत्कालीन गोरख गणमा कार्यरत लखन र जयसिंह १९२७ सालमा एकमहिने बिदामा आएपछि पल्टनमा नफर्की जनविद्रोह सुरु गरेका थिए । काउले भंगारमा किल्लाले घेरी दरबार बनाए । दरबार सम्हाल्न जिम्मा उनै चुमीले पाएका थिए । राणा शासनविरुद्ध विद्रोह गरेको भन्दै राणा प्रधानमन्त्री जंगबहादुरको आदेशमा १९३३ फागुन २ मा एकैदिन उक्त किल्ला परिसरमा लखन र चुमीलाई मृत्युदण्ड दिइएको थियो । उनै जयसिंह चुमी मगरलाई सहिद घोषणा गर्नुपर्ने माग पटक/पटक उठ्दै आएको छ ।

    २०५६ सालमा मन्त्रिपरिषद् बैठकले लखन थापालाई सहिद घोषणा गरेको थियो । २०७२ असोज ३ को तत्कालीन मन्त्रिपरिषद् बैठकले लखन थापालाई नेपालकै पहिलो सहिद भनी घोषणा गर्‍यो । थापासँगै मृत्युदण्ड पाएका जयसिंह भने अहिले पनि राज्यको उपेक्षामा परेको स्थानीयको गुनासो छ ।

  • सिरानचोक गाउँपालिकालाई चौंथो पटक राष्ट्रपति रनिङशिल्डको उपाधि

    गोरखा, मंगलबार, ८ माघ २०८१ । यसअघि तीन पटक राष्ट्रपति रनिङशिल्डको उपाधि जितिसकेको सिरानचोक गाउँपालिकाले चौथो पटक उपाधि हात पारेको छ । सोमबार पालुङटारमा सम्पन्न १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि सिरानचोकले हात पारेको हो ।

    तीन पटक उपाधि विजेता बनेसँगै रनिङ शिल्ड पनि सो पालिकाले आफ्नो बनाइसकेको छ । सोमबार भएको फाइनल खेलमा ७ स्वर्ण, ९ रजत र ३ कास्य गरी कुल १९ पदक जित्दै सिरानचोक उपाधि विजेता बनेको हो । यसअघि सम्पन्न ८ औं, १० औं र ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि सिरानचोक उपाधि विजेता बनेको थियो । प्रतियोगिताको १२ औं संस्करणमा पनि पुनः सिरानचोक नै उपाधि विजेता बनेको हो ।

    यस्तै, प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० पदकसहित पालुङटार नगरपालिका दोस्रो बनेको छ भने ५ स्वर्ण, ४ रजत र ३ कास्य गरी १२ पदक जित्दै भिमसेनथापा गाउँपालिका तेस्रो बनेको छ । प्रतियोगितामा गोरखा नगरपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य, सहिदलखन गाउँपालिकाले ३ कास्य र गण्डकी गाउँपालिकाले ४ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पारेको छ ।

    यसैगरी, बारपाक सुलिकोट गाउँपालिकाले ३ स्वर्ण, ४ रजत र ३ कास्य, चुमनुब्री गाउँपालिकाले २ कास्य, धार्चे गाउँपालिकाले १ रजत र आरुघाट गाउँपालिकाले १ कास्य पदक प्राप्त गरेको छ । अजिरकोट गाउँपालिकाले भने ३ स्वर्ण, ३ रजत र ४ कास्यपदक हात पारेको आयोजकले जानएको छ ।

    जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा पालुङटार नगरपालिकाको सहआयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म संचालन भएको जिल्ला स्तरीय प्रतियोगिता पालुङटारस्थित भवानी मावि, माझटार खेलमैदानमा संचालन गरिएको थियो ।

    जिल्लाका ११ वटै स्थानीय तहहरुले प्रतियोगितामा सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिँह बस्नेत (शान्तसिँह)ले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्टस् विधामा प्रतिस्पर्धा भएको उनले जानकारी दिए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।

  • प्रमुख प्रशासकीय अधिकृतको पद विशिष्टीकृत सेवा बन्नुपर्ने

    काठमाडौँ, मंगलबार, ८ माघ २०८१ । कर्मचारी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा जान नमानेपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको छ । स्थानीय तहमा दैनिक प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदै गएपछि उक्त पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको हो ।

    अहिले पनि कुल ७५३ मध्ये २४७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतविहीन हुने अवस्था अन्त्य गर्न सो पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरेका हुन् ।

    प्रमुख प्रशासकीय अधिकृत छोटो समयमै सरुवा हुँदा स्थानीय तहमा नियमित सेवा प्रवाह, विकास निर्माणमा सुशासन कायम गर्न अवरोध हुँदै आएको छ । अहिले पनि कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तीन महिना टिक्दैनन् ।

    निजामती सेवा ऐनले एउटा कार्यालयमा कर्मचारी कम्तीमा दुई वर्ष नभई सरुवा हुन नपाउने भनिए पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विशिष्टीकृत सेवा नबनाएसम्म स्थानीय तहमा प्रशासनिक चुस्तता र सेवा प्रवाह प्रभावकारी हुन नसक्ने बताउनुभयो ।

    प्याकुरेलले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारी बन्नका लागि जसरी निश्चित समय, निश्चित विषयमा तालिम लिनु पर्छ, त्यस्तै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत बन्न पनि निश्चित विषयमा निश्चित समय तालिम लिनुपर्ने गरी विशिष्टीकृत सेवा बनाउनु पर्छ ।” यो पदलाई विशिष्टीकृत सेवा बनाउनका लागि सङ्घीय निजामती सेवा ऐनमै व्यवस्था गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । सङ्घीय निजामती सेवा ऐनको विधेयक अहिले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको छ ।

    उहाँका अनुसार मन्त्रालयले स्थानीय तहमा भएका अन्य सेवाका कर्मचारीभन्दा प्रमुख प्रशासकीय अधिकृत एक तहमाथिको कर्मचारीलाई खटाउनुपर्ने, कम्तीमा दुई वर्ष अनिवार्य स्थानीय तहमा बस्नुपर्ने, दुई वर्ष बस्न नसक्ने अवस्था भए मन्त्रालय र स्थानीय सरकारको सहमतिमा मात्र सरुवा गर्नुपर्ने व्यवस्था गर्नु पर्छ । प्रमुख प्रशासकीय अधिकृतलाई जुन स्थानीय तहमा सेवा गर्‍यो, सोही स्थानीय तहप्रति जवाफदेही बनाउनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन मूल्याङ्कनको अङ्क दिँदा स्थानीय तहका प्रमुखको भूमिका जोडिनुपर्ने, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएपछि अन्य कर्मचारीको भन्दा केही बढी सेवा सुविधा व्यवस्था गर्नुपर्ने गरी ऐनमा व्यवस्था गर्न आग्रह गर्नुभयो ।

    नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद सङ्घमा मन्त्रीपरिषद्मा मुख्य सचिवजत्तिकै भूमिकामा हुने भएकाले उक्त पदलाई विशिष्टीकृत सेवा बनाउन आग्रह गर्नुभयो । “स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृत पदलाई हलुका र सामान्य रूपमा नहेरी विशिष्टीकृत गर्नु पर्छ, त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानु पर्छ,” उहाँले भन्नुभयो ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टीकृत सेवा बनाउने गरी अहिलेको सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव नभएको जनाएको छ । संसद्ले प्रमुख प्रशासकीय अधिकृत पदलाई विशिष्टीकृत सेवा बनाउन आवश्यक ठान्यो भने बनाउन सक्ने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको स्थायित्वका लागि विकल्प भने खोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

  • गोरखाको धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढ्यो

    गोरखा, बिहिबार, ३ माघ २०८१ । उत्तरी गोरखास्थित धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढेको छ । विगत दुई बर्षदेखि अंक बढ्दो क्रममा रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्थानीय तहहरुको क्षमता स्वमूल्याकंन नतिजामा उल्लेख छ ।

    गत आर्थिक बर्ष २०८०/८१ मा धार्चेको संस्थागत क्षमता स्वमूल्याकंन अंक ९४.७५ प्रतिशत रहेको छ । आव २०७९÷८० मा ७५.७५ प्रतिशत अंक प्राप्त गरेको धार्चेले आव २०७८/७९ मा ४३.५ प्रतिशत मात्र अंक प्राप्त गरेको थियो ।

    हरेक वर्ष संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याकंन नतिजा प्रकाशन गर्ने गरेको छ । विभिन्न १० सूचक (शासकिय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय) र १०० उपसूचकका आधारमा स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याकंन गर्ने गरिन्छ ।

    स्वमूल्याकंनमा धार्चे गाउँपालिकाले दश सूचकमध्ये शासकिय प्रबन्धतर्फ शत प्रतिशत (१०० प्रतिशत) अंक प्राप्त गरेको छ । संगठन तथा प्रशासन तर्फपनि उक्त पालिकाले पूर्णाङ्क प्राप्त गरेको छ । पालिकाको वार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फको अंक क्रमश ९५.५४ र १०० रहेको तथ्याङ्कमा उल्लेख छ ।

    सेवा प्रवाह तर्फ पालिकाले ९३.७५ प्रतिशत अंक प्राप्त गरेको छ भने न्यायिक कार्य सम्पादनतर्फ शत प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै, पालिकाले भौतिक पूर्वाधार तर्फ ८८.४६ र सामाजिक समावेशीकरण तर्फ ९० प्रतिशत अंक प्राप्त गरेको नतिजामा उल्लेख छ । वातावरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ८८.८९ प्रतिशत र सहकार्य र समन्वयतर्फ ९५.८३ प्रतिशत अंक प्राप्त गरेको बताइएको छ ।

    पालिकाले १० वटै क्षेत्रका सूचकहरुको आधारमा काम गरेकाले नै उत्कृष्ट अंक प्राप्त गरेको धार्चेको प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए । ‘निर्धारित सूचकहरुका आधारमा काम गर्ने र आफूले गरेका कामहरु सिस्टममा अपडेट गर्ने कामलाई महत्व दिएर गरेकाले नै विगतमा भन्दा यो वर्ष राम्रो नतिजा आएको हो’, उनले भने ।

  • ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना

    ललितपुर, मंगलबार, १ माघ २०८१ । ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनःनिर्माण सुरु गरेको छ ।

    राजकुलो विस्तारका लागि महानगरले रु २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिनुभयो । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उहाँले बताउनुभयो ।

    लगनखेलको सप्ताताल पोखरी पुनः निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुङ्गेधारामा पानी झार्ने महानगरको योजना उहाँले सुनाउनुभयो । महानगरप्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दाबढी ढुङ्गेधारा छन् ।

    आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टङ्ग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मङ्गल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन् । मङ्गल हिटीमा बाह्रैमास पानी आउने गरेको छ । ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जन ढुङ्गेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

    ललितपुर महानगरपालिका–६ र वडा नं १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छीविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउनुहुन्छ । ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर २०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनःनिर्माण गरेका थिए । पुनः निर्माणपश्चात बाह्रैमास धारामा पानी झरे पनि केही वर्ष यता पानी आउन छाडेको छ ।

    ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक ढुङ्गेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् । ललितपुर महानगरपालिका–६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउनुहुन्छ । लिच्छिवीकालदेखिको इतिहास बोकेका ढुङ्घेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।