Category: पालिका विशेष

  • सडकको क्षेत्राधिकार भित्र निर्माण भएका संरचना हटाउन शहिद लखन पालिकाको आग्रह

    गोरखा, आइतबार, २५ फ़ागुन २०८१ । शहिदलखन गाउँपालिकाले सार्वजनिक सडकको क्षेत्राधिकारभित्र निर्माण भएका संरचना तथा सडक अवरोध हटाउन आग्रह गरेको छ । पालिकाले सार्वजनिक सूचना जारी गर्दै सडकको क्षेत्राधिकारभित्र कुनै पनि संरचना निर्माण नगर्न र निर्माण भएको भए हटाउन आग्रह गरेको हो ।

    ‘गाउँपालिकाको सडक मापदण्डको क्षेत्राधिकारभित्र स्वीकृतिबिना संरचना निर्माण गर्ने, अनावश्यक रुपमा खाल्डो खन्ने, माटो थुपार्नेलगायत विभिन्न निर्माण सामाग्रीहरु सञ्चय गर्ने र सवारी आवत जावतमा बाधा पु¥याउने, सार्वजनिक सम्पत्तिको रुपमा रहेको सडकलाई बिगार्ने वा क्षति पु¥याउने कार्य नगर्न/नगराउनुहुन अनुरोध छ’, सूचनामा भनिएको छ ।

    साथै, पालिकाले सडकको क्षेत्राधिकारभित्र कुनै पनि संरचना निर्माण गरेको भए उक्त संरचना चैत मसान्तभित्र हटाउन अनुरोध गरेको छ । संरचना नहटाए कानुनबमोजिम संरचना भत्काइ/हटाइ आवश्यक कारबाही गर्ने भन्दै पालिकाले सचेत गराएको छ ।

    शहिदलखनको सडक मापदण्डअनुसार, मध्य र महत्वपूर्ण स्थानमा रहेको स्थानीय सडकको चौडाई ९ मिटर हुनुपर्दछ । ग्रामीण सडक अर्थात पालिकाको बस्तीहरुमा यातायात पहुँचका लागि बनाइएका सडकको चौडाई न्युनतम ६ देखि ७.५ मिटरको हुनुपर्दछ भने पालिकाको भित्र मुख्य मुख्य कृषि उत्पादन क्षेत्र र बजारलाई जोड्ने सडकको चौडाई न्युनतम ५.७५ मिटरको हुनुपर्ने मापदण्ड छ ।

  • गोरखाको धार्चेमा आयआर्जनसंग जोड्न मुढा बुन्ने तालिम

    गोरखा, आइतबार, २५ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई आयआर्जनसंग जोड्दै स्वरोजगार बनाउन मुढा बन्ने तालिम प्रदान गरेको छ । पालिकाले ‘ग’ र ‘घ’ बर्गको अपांगता परिचय भएका व्यक्तिलाई छनौट गरेर १० दिने मुढा बुन्ने तालिम दिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

    ‘‘अपांगता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने सोचाइ समाजमा छ, उहाँले भन्नुभयो, ‘‘त्यस्तो धारणालाई परिवर्तन गर्दै अपांगता भएका व्यक्तिलाई सीप प्रदान गरेर आत्मानिर्भर बनाउन तालिम दिइएको हो ।’’ गाउँपालिकाले तालिमपछि उनीहरुले उत्पादन गरेका मुढा वडावडामार्फत बजार व्यवस्थापनको पहल गर्ने उपाध्यक्ष गुरुङको भनाई छ ।

    तालिममा लाप्राक, खोर्लावेशी, हुल्चुक, सिङ्लालगायतका बिभिन्न क्षेत्रका गरि १५ भन्दाबढीको सहभागिता रहेको थियो । ‘‘सामाजिक सुरक्षा भत्ता ‘ग’ र ‘घ’ बर्गका अपांगता भएका व्यक्तिले पाउँदैनन्, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘‘उनीहरुलाई केही न केही सीप सिकाउन सके आयआर्जनसंग जोड्न सकिने र आत्मानिर्भर बनाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास हो ।’’

    गाउँपालिकाले धादिङबाट अपांगता भएका व्यक्तिलाई नै प्रशिक्षकका रुपमा ल्याएर तालिम प्रदान गरेको हो । पालिकाले आवासीय सुविधासहित सहभागीहरुलाई तालिम दिएको उहाँले बताउनुभयो । ‘‘सीप सिकेर मुढा उत्पादन गर्ने चाहानेहरुले आआफ्नो उत्पादन सम्बन्धित वडाका बजारमा बिक्रीका लागि व्यवस्था मिलाइने छ, उपाध्यक्ष गुरुङले भन्नुभयो, ‘‘वडाबाट बाहिर पठाउन परेपनि पालिकाले आवश्यक पहल गर्नेछ ।’’

    तालिमले अपांगता भएका व्यक्तिलाई घरमै बसेर जिविकोपार्जनसंग जोड्न मद्दत पुग्ने उहाँले बताउनुभयो । धार्चे गाउँपालिका भित्र प्रसस्त मात्रामा निगालो पाइने भएकाले पनि कम लागतमा मुढा उत्पादन गर्न सकिने हुँदा मेहनत गरे सीप सिकेकाहरुले राम्रो आम्दानी गर्न सक्नेछन् ।

  • अजिरकोट गाउँपालिकामा ‘जीविकोपार्जन सुधार कार्यक्रम’

    गोरखा, आइतबार, २५ फागुन २०८१ । जिल्लाको अजिरकोट गाउँपालिकाले दलित समुदाय लक्षित ‘जीविकोपार्जन सुधार कार्यक्रम’ संचालन गरेको छ । पिछडिएका दलित समुदायको जीवनस्तर उकास्ने उद्देश्यसहित जीविकोपार्जन सुधार कार्यक्रम संचालन गरिएको पालिकाले जनाएको छ ।

    जीविकोपार्जन सुधार कार्यक्रम अन्तरगत दलित समुदायका व्यक्तिहरुलाई व्यवसाय संचालन रबिस्तारमा सघाउ पु¥याउने कार्यक्रम रहेको पालिकाकी रोजगार संयोजक सञ्जु लामिछानेले बताइन् । ‘पहिलेदेखि कुनै व्यवसाय गरेर बस्नु भएकाहरुलाई व्यवसाय सुधार र बिस्तारमा सघाउने कार्यक्रम छ’, उनले भनिन्, ‘व्यवसाय नगरेकाहरुको हकमा भने उहाँहरुको इच्छा अनुसारको व्यवसाय संचालन गर्न मद्दत गर्छौँ ।’ कार्यक्रमका लागी पालिकाले सात लाख रुपैँया बजेट बिनियोजन गरेको उनले जानकारी दिइन् ।

    आर्थिक वर्ष २०८०/८१ मा समेत संचालन गरिएको सो कार्यक्रम निकै प्रभावकारी बनेकाले यो वर्षपनि निरन्तरता दिइएको पालिका अध्यक्ष दिपक देवकोटाले बताए । पालिकाभित्रका दलित समुदायमा पर्ने जोकोहीले कार्यक्रमका लागी आवेदन दिन सक्ने उनले जानकारी दिए ।

    ‘गत वर्ष अनुदान पाउनेहरु बाहेक अन्य जोकोहीले आ–आफ्नो वडा कार्यलयमा गएर आवेदन दिन सक्नुहुन्छ’, उनले भने, ‘फागुनभित्र वडामा आवेदन दिनुपर्छ । वडा कार्यालयले आवेदनहरु हेरेर आवश्यक छानबिन गरी पालिकामा सिफारिस गर्छ ।’ पालिकाले वडा कार्यालयहरुको सिफारिसका आधारमा लक्षित समुदायका व्यक्तिको जीविकोपार्जन सुधारका लागी कार्यक्रमहरु संचालन गर्ने उनको भनाई छ ।

    पालिकाकी रोजगार संयोजक सञ्जु लामिछानेले गत वर्ष आएका आवेदनहरुमध्य ९० प्रतिशतले बाख्रा पालन छानेट गरेको बताएकी छिन् । ‘पालिकामा बाख्रा पालनको सम्भावना निकै राम्रो छ, त्यसैले पनि पोहोर छनोट भएकाहरुमध्य ९० प्रतिशतले बाख्रा पालन नै गर्नुभयो’, उनले भनिन्, ‘छनोट भएकामध्य बाख्रा पालन गर्न चाहानेलाई बाख्रा, सिलाईको काम गर्नेलाई मेसिन र आरनको काम गर्नेलाई आवश्यक औजार खरिद गरिदिएका थियौँ ।’ यो वर्ष पनि आवेदकहरुको इच्छा अनुसारका व्यवसाय संचालनमा पालिकाले सक्दो सघाउ गर्ने उनी बताउँछिन् । अबको डेढ महिनाभित्र आवश्य प्रक्रिया पुरा गरेर कार्यक्रम संचालन गर्ने उनले जानकारी दिइन् ।

  • धार्चे गाउँपालिकामा दश दिनसम्म बाँसको मुढा बनाउने तालिम

    गोरखा, बुधबार, १४ फागुन २०८१ । सामाजिक सुरक्षा सुविधा उपभोग नगर्ने (ख र ग वर्गका) अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी धार्चे गाउँपालिकामा बाँसको मुढा बनाउने तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजनामा मंगलवारबाट तालिम सुरु भएको हो ।
    दश दिनसम्म चल्ने तालिममा ११ जना सहभागी छन् ।

    पालिकाले सहभागीलाई खान र बस्नको निशुल्क व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमूलक तालिम प्रदान गरी आर्थिक रुपले सबल बनाउने उद्देश्य सहित तालिम संचालन गरिएको पालिकाकी सामाजिक बिकास शाखा प्रमुख रेनुका चालिसेले बताइन् । ‘तालिम पश्चात सहभागीहरुले उत्पादन गर्ने मुढाको बजार व्यवस्थापनका लागि पनि पालिकाले सहजिकरण गर्छ,’ उनले भनिन् ।

    तालिमको बुधवार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका हुन् । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । तालिम अवधिभर प्रशिक्षक झम्कप्रसाद तिवारीले सहजिकरण गर्ने छन् ।

  • सिरानचोक गाउँपालिकाका नौ विद्यालयलाई प्याड भेण्डिङ र इन्सिनेटर मेसिन सहयोग

    गोरखा, बिहीबार, ८ फागुन २०८१ । रोटरी क्लब अफ गोरखाले सिरानचोक गाउँपालिकाका नौ माध्यामिक विद्यालयलाई प्याड भेण्डिङ र इन्सिनेटर मेसिन सहयोग गरेको छ ।

    फाउण्डेशन नेपालमेडसंगको सहकार्यमा रोटरी गोरखाले सिरानचोक गाउँपालिकाका सबै वडालाई समेटिने गरी नौ विद्यालयलाई सो स्यानिटरी प्याड भेण्डिङ मेसिन र सेफ्टी इन्सिनेटर (सुरक्षित जलाउने) मेसिन सहयोग गरेको हो ।

    ४ लाख ५० हजार रुपैया बराबरको सो मेसिनहरु आज एक कार्यक्रमकावीच गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष विनोद कुमार बस्न्यातले बताए ।

    रोटरी क्लबबाट प्राप्त मेसिनहरुले पालिभरका माविमा अध्ययनरत छात्रा विधार्थीहरुलाई सहज हुने पालिका अध्यक्ष गुरुङले विश्वास ब्यक्त गरे । कार्यक्रममा रोटरीका डिष्ट्रिक्ट अफिसर पवनरवण खनाल, क्लबका पूर्व अध्यक्ष भेषबहादुर खड्का लगायतले बोलेका थिए ।

  • धार्चेमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन सम्बन्धी एक दिने पालिकास्तरीय अन्तरक्रिया

    गोरखा, बिहीबार, ८ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन सम्बन्धी एक दिने पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा मंगलबार कार्यक्रम भएको हो ।

    कार्यक्रममा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो पदको सदुपयोग कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए । साथै पालिकास्तरमा आउने मुद्दा र उजुरीका बारेमा पनि छलफल गरिएको उनले जानकारी दिए । कार्यक्रमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख असमान तामाङले सहजीकरण गरेका थिए ।

    तामाङको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु, वन उपभोक्ता समितिका अध्यक्ष/सदस्य, खानेपानी उपभोक्ता समितीका अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

  • कोन्ज्योसोम गाउँपालिकामा आचार्यको प्रशासनिक नेतृत्वमा अब्बल सावित

    ललितपुर, मंगलबार, ६ फागुन २०८१ । ललितपुरको कोन्ज्योसो गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा जनप्रतिनिधि बहाल भएको दोस्रो प्रमुख प्रशासकीय अधिकृतको रुपमा युवराज आचार्यले प्रशासनिक नेतृत्व गरेसँगै गाउँपालिकामा अपेक्षाकृत उपलब्धि हासिल भएको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले १८ महिने कार्यकालमा ३६ बुँदे महत्वपूर्ण उपलब्धि गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेमार्फत अध्यक्षलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कृष्णमान लामा स्वास्थ्य समस्याले बिदामा रहनुु भएकाले आचार्यले उपाध्यक्षमार्फत अध्यक्षलाई १८ महिने महत्वपूर्ण उपलब्धि हस्तान्तरण गरेका छन ।

    कुुशल प्रकाशक तथा व्यवस्थापकको भूमिका निर्वाह गर्न सक्ने काविल क्षमतावान प्रशासकको रुपमा चिनिदै आउनुु भएका आचार्यको प्रशासनिक नेतृत्वमा अपेक्षा गरे भन्दा धेरै उपलब्धि हासिल भएको गाउँपालिकाले जनाएको छ ।

    उनको यस अगाडि कार्यरत रहेको सबै स्थानीय तहलाई अब्बल सावित गराउने कार्यमा भूमिका निर्वाह गर्दै आउनुु भएको छ ।

    आचार्यले कोन्ज्योसोम गाउँपालिकामा डेढ वर्ष प्रमुख प्रशासकीय अधिकृत रहँदा स्थानीय नागरिकलाई स्थानीय सरकार भएको महशुस गर्ने गरी प्रशानिक सहजिकण गर्नेदेखि नीतिगत निर्णय गर्ने कार्यमा समेत सहजिकरण गर्दै आउनुु भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले आचार्यको कार्यकालमा गाउँपालिकाले अपेक्षाकृत उपलब्धि हासिल गरेको बताए । कर्मचारी बैठकबाट इनोभेटि आइडिया संकलन गरी गाउँ सभामार्फत नीति कार्यक्रममा समावेश गर्ने गरिएको, स्थानीय सरकार सञ्चालनको प्रारम्भिक आधारको रुपमा राखिएको गाउँपालिकाको कार्यसम्पादन कार्यविभाजन, निर्णय वा आदेश वा प्रमाणिकरण गर्ने कानुुनहरु कार्यपालिकाबाट पारित गराउन भूमिका निर्वाह गरेको छ ।

    गाउँपालिकामा निर्मित कानुनुहरु समेटि पहिलो पटक कानुन संग्रह प्रकाशन गर्ने भूमिका निर्वाह गरिएको, गाउँपालिकाको डयारी प्रकाशन, स्थानीय भाषाको समबोटालिपिमा गाउँपालिकाको नाम लेटर प्याड र साइनबोर्डमा लेख्नका लागि आचार्यले भुमिका निर्वाह गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका सबै शाखा, उपशाखा, इकाइ, केन्द्र वडा कार्यालय र स्वास्थ्य चौकी समेतले प्रयोग गर्ने गाउँपालिकाको लेटर प्याडमा एकरुपकता ल्याइएको, धुलिखेलमा गाउँपालिकाको आर्थिक वर्ष २०७९÷ ८० को वार्षिक प्रगति समिक्षा गरी धुलिखेल घोषणा पत्र जारी गरिएको , गाउँ कार्यपालिकाको बैठक, निर्णय हस्तलिखित हुने गरिएकोमा बैठक समयमा नै डिस्प्ले हुने गरि टाइप गरी नेपाली कागजमा प्रमाणिकरण गरी अभिलेख राख्ने व्यवस्था गरिएको, आन्तरिक राजश्व बढाउन सिर्जनात्मक विचारहरु लिइ सोही आधारमा गाउँसभाबाट आर्थिक ऐन संशोधन गरिएको, गाउँपालिकाको संस्थागत स्मरण थप बलियो बनाउनका लागि शाखा उपशाखाहरुबीच परस्सपरमा बरबुुझारथ गर्ने कर्या गरिएको, राज पत्र प्रकाशनको अभिलेख राख्ने कार्य पहिलो पटक सुुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    जिन्सी सामान व्यवस्थापनका लागि पाम्स लागूू गरिएको, निर्णय वा आदेश र अधिकार पत्र प्रमाणिकरण नियमावली २०८० बमोजिम कानुुनहरु नेपाली कागजमा प्रिन्ट गरी सम्बन्धि अधिकार प्राप्त अधिकारीबाट प्रमाणित गराई अभिलेख राख्ने कार्य गरिएको, प्रधानमन्त्रीको उपस्थितिमा कोन्ज्योसोम प्रतिमा उद्घाटन गरिएको, गाउँपालिकाको संगठन तथा व्यस्थापन सर्वेक्षणको पहल लिइएको, कर्मचारीको सेवा शर्त सम्बन्धि कानुन निर्माण गरी सभाबाट पारित गर्न पहल लिइएको, गाउँपालिाको सम्पत्ति करण प्रणालीको सुुरुवात गर्ने पहल लिइएको, गाउँपालिकामा पहिलो पटक स्थानीय दररेट पारित गरि लागू गर्ने पहल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

    गाउँपालिका अनुसार

    गाउँपालिकामा पहिलो पटक वार्षिक खरिद योजना तयार गरिएको, गाउँ कार्यपािलकाको बैठकमा नियमावलिमा तोकिएको ढाँचा बमोजिम लिखित प्रस्ताव पेश गर्ने र सोको अभिलेख राख्ने प्रणालीको सुुरुवात गरिएको, गाउँपालिकाको वस्तुस्थित विरण र डिजिटल प्रोफाइल निर्माणको पहल लिइएको, गाउँपालिकाको वेबसाइडमा विपत पोर्टल थप गरी विपत सम्बन्धि सम्पूर्ण सूचनाहरु प्रवाह गर्ने गरिएको, गाउँसभा बैठकको पुूरा भिडियो तयार गर्ने पद्धतिको सुुरुवात गरिएको, संगठन विकास प्रतिवेदन अनुसार सबै शाखा उपशाखा र इकाइ र केन्द्रमा कार्यरत कर्मचारीहरुलाई कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको , गाउँपालिकाले प्रदान गर्ने सेवाको मापदण्ड तयार गरिएको , दिगो विकासको लक्ष्यलाई स्थानीयकरण सम्बन्धि नीति तथा योजना तयार गरिएको, गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धि कार्यविधि तयार गरिएको छ ।

    त्यस्तै अन्तर स्थानीय तहको असर अभ्यास आदानप्रदान अन्तरगत खाँदबारी नगरपालिकाका उपप्रमुख नेतृत्वको न्यायिक समितिका टिम गाउँपालिकामा भ्रमण गरिएको, गाउँपालिकामा पहिलोट पटक सामाजिक परीक्षण कार्यको सुरुवात गरिएको, गाउँपालिकाको सबै गतिविधिहरु, सरोकारवालाहरुको जानकारीका लागि विभिन्न सञ्चार माध्यमबाट निरन्तर प्रकाशनको रुपमा सञ्चार माध्यममा कोन्ज्योजम पुस्तिका प्रकाशन गरिएको, नेपाल उद्योग वाणिज्य माहासंघ, लघु उद्यम विकास केन्द्र र कोन्ज्योसोम गाउँपालिकाबीच कृषि तथा पशुपालनको क्षेत्रमा साझेदारी गर्नका लागि मझादारी पत्रमा हस्ताक्षरण गरिएको, स्वास्थ्य संस्था प्रमुखका लागि मोबाइ सेट र नम्बर उपलब्ध गराइएको, वडा सचिवहरुका लागि आभाव सुविधाको लागि पहल भएको र कर्मचारीको बैठक नियमित गर्ने गरिएको छ कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

  • गोरखाको धार्चे माछीखोला जलबिद्युतको रोकिएको काम पुनः सुरु

    गोरखा, मंगलबार, ६ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिका–३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुचारु भएको छ । पालिकाका कारण केही समयदेखि रोकिएको कार्य पुनः सुचारु भएको हो ।वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको र सम्बन्धित निकायबाट अनुमति समेत नलिएको भन्दै पालिकाले आयोजनाको काम बन्द गर्न भनेको थियो ।

    आयोजनाका कारण माछीखोला बजार जोखिममा पर्न सक्ने भन्दै अत्याधिक जोखिम भएको ठाउँलाई पालिकाको समन्वयमा प्रालिले संरक्षण गर्ने सहमति भएको छ ।

    सोही कारण पुस महिना लागेसँगै काम भएको थिएन । आयोजना निर्माण कम्पनी वाटर इनर्जी डेभलपमेन्ट प्रालिका संचालक र गाउँपालिकाबीच बैठक बसेर विभिन्न बिषयमा सहमति गर्दै आयोजना निर्माणको काम सुचारु गर्ने निर्णय गरेको हो ।

    बैठकमा हाइड्रोको काम गर्दा वातावरण प्रभाव प्रतिवेदनमा भएको बिषय कार्यान्वयन गर्ने सहमति भएको छ । माछीखोला बजारदेखि रेसेफाँट हुदैं लाप्राक जोड्ने सडक बाटो तटवन्धनका कारण बन्द हुने प्रवल सम्भावना रहेकोले प्रालिले बैकल्पिक बाटो निर्माण तथा स्तरोन्नती गर्ने भनिएको छ ।

    प्रभावित पालिकावासीलाई आफ्नो सिप, क्षमता र योग्यताको आधारमा रोजगारको अवसर प्रदान गरिन बताइएको छ । आयोजना स्थलमा पर्ने निजी जग्गा प्रयोग भएका व्यक्तिहरुको विवरण प्रालिले पालिकालाई बुझाउने र स्थानीय र पालिकासँग आवश्यक समन्वय गरेर आयोजनाले काम अघि बढाउने सहमति समेत भएको छ ।

  • उत्तरी गोरखाको धार्चे सिङ्ला पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

    गोरखा, मंगलबार, ६ फागुन २०८१ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ ।

    वाटरइनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

    ‘‘गाउँपालिकाको पहलमा कम्पनीसंग प्रतिमृतक रु ३ लाख र घाइतेलाई रु ६ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, उहाँले भन्नुभयो, ‘‘सोही सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक रु १ लाख ५० हजार र घाइतेलाई रु ३ लाख उपचार खर्च सोमबार उपलब्ध गराइएको हो ।’’

    कम्पनीका कर्मचारीसमेत भएकाले मृतक रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहतवाहेक थप रु ७ लाख दिने सहमति अनुसार पहिलो किस्ताको रु ३ लाख ५० हजार पनि प्रदान गरिएको प्रशासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।

    कम्पनीले बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने उहाँको भनाई छ । गएको गत साउन १३ गते करिब ३ बजेको समयमा राती रेसेफाँटको पहिरोमा परेर एकै परिवारका तीन जनासहित ५ जनाले ज्यान गुमाएका थिए ।

    गाउँपालिका र कम्पनी बीच गत पुस २५ गते बैठक बसेर मृतकका परिवार र घाइतेलाई राहत रकम उपलब्ध गराउने सहमति भएको थियो । पहिरोमा परी घाइते हुनुभएका दिलिप गुरुङलाई गाउँपालिकाको तर्फबाट सामेबार नै रु १ लाख राहत उपलब्ध गराएको प्रसासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।

    गाउँपालिकाले भने मृतकका परिवारलाई यसअघि नै राहत रकम उपलब्ध गराइसकेको छ ।

  • कहिले सम्पन्न होला पन्थडिही, कटहरे, हर्मी, साहिँलटार सडक स्तरोन्नतिको काम

    गोरखा, आइतबार, ४ फागुन २०८१ । गोरखामा चलिरहेका योजनामध्य सबैभन्दा ठूलो मानिएको पन्थडिही, कटहरे, हर्मी, साहिँलटार सडक स्तरोन्नति गर्ने कामको ४९ प्रतिशत प्रगति भएको छ । ८१ करोड ६० लाख रुपैयाँ लागतमा २० किलोमिटर सडक कालोपत्रे गर्ने काम धमाधम अघि बढिरहेको कार्यान्वयन गर्ने निकाय गोरखा सडक योजना कार्यालयले जनाएको छ ।

    अहिलेसम्म १९ किलोमिटर सडकसम्म कटिङको काम गरिसकिएको योजना प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । ‘१९ किलोमिटरसम्म नालीसहित ९.५ मिटर चौडा बढाउने काम सकिएको छ’, खड्काले भने, ‘६० वटा क्रस ड्रेन(कल्भर्ट) निर्माण भइसकेको छ । १३ किलोमिटर पक्की नाली निर्माणको काम पनि भइसकेको छ ।’ भौतिक प्रगति ४९ प्रतिशत र वित्तीय प्रगति ४३ प्रतिशत भएको उनले बताए ।

    भारतीय एक्जिम वैंकको ऋण सहयोगमा सो सडक स्तरोन्नतिको आयोजनाको काम बढाइएको हो । सो सडक कालोपत्रेका लागि उडहिल, लामा जेभीले जिम्मा लिएको छ । आउँदो भदौ मसान्तभित्र कालोपत्रे गरिसक्ने गरी २०७९ फागुन १५ गते योजना सम्झौता भएको हो । सो सडक कालोपत्रे गर्ने कार्यको २०७९ चैत ८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिलान्यास गरेका थिए ।

    सडकको ट्रयाक खन्ने काम भने बाबुराम भट्टराई अर्थमन्त्री तथा हिसिला यमी भौतिक पूर्वाधार मन्त्री हिसिला यमी हुँदा सुरु गरिएको थियो । सो सडक आसपास घर भएका पूर्व प्रधानमन्त्री भट्टराईले त्यसयता सो सडक स्तरोन्नतिका लागि ताकेता गरिरहेका थिए । भारतीय एक्जिम वैंकमार्फत स्तरोन्नति गर्ने गरी स्रोत सुनिश्चित पनि गरेका थिए ।

    २०७७/०७८ र ०७८/०७९ मा लगातार दुईपटक ठेक्का आह्वान गर्दापनि यो सडक स्तरोन्नतिको काम सुरु हुन सकेको थिएन ।अहिले कामको गति हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न हुने पूर्वअनुमान गर्न सकिन्छ, तर बर्सातको समयमा काम अपेक्षित रुपमा अघि बढ्न नसक्ने हुँदा केही लम्बिन पनि सक्ने योजना प्रमुख खड्काले बताए ।