Category: प्रदेश विशेष

  • विश्वभर भिसी गजे घलेका कारण गोरखाको बारपाक वीरताको प्रतिक

    गोरखा, शनिबार, २८ वैशाख २०८२ । गोरखाको बारपाकमा रहेको भिसी गजे घले सङ्ग्रहालय तारा स्मारकको उद्घाटन भएको छ । शुक्रबार बारपाकमा एक कार्यक्रमबिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गजे घले सङ्ग्रहालयको उद्घाटन गर्नुभएको हो ।

    विश्वभर भिसी गजे घलेका कारण गोरखाको बारपाक वीरताको प्रतिकको रूपमा साथै वीर सपुत भिसी गजे घलेले बारपाक भनेर चिनाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

    भिसी गजे घलेको योगदानको स्मरण र उहाँप्रति सम्मान गर्दै घलेको जीवन र योगदानले नेपालीको आँट साहस र उत्साह र देशप्रतिको कर्तव्य बोध गराएको उहाँको भनाइ छ।

    घले दोस्रो विश्वयुद्धमा वीरता प्रर्दशन गरी बेलायतको सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्राप्त गर्ने गोरखा सैनिक भएको उहाँले बताउनुभयो । साथै, उहाँले बारपाकको भूमिमा बहादुरी जोड्ने काम गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले हरेक बेलायती र अझै गोरखा सैनिकले उहाँको बहादुरी प्रति गर्व गर्ने गरेको बताउनुभयो ।

  • गोरखाका ११ स्थानीय तहलाई ४ अर्ब ५८ करोड ३७ लाख बजेट

    गोरखा, आइतबार, २४ चैत्र २०८१ । आगामी आर्थिक वर्ष संघीय सरकारबाट स्थानीय तहमा १ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ पाउने भएका छन । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा स्थानीय तहमा जाने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानित अनुसार यस्तो अवस्था देखिएको हो ।

    मन्त्रालयले संविधानले तोकेको व्यवस्था एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सूत्रमा आधारित भई ७५३ वटा स्थानीय तहमा राजश्व बाँडफाँट ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ जाने अनुमान प्रस्तुत गरेको छ । त्यस्तै, वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान समेत गरी ८८ अर्ब ९६ करोड ८० लाख हस्तान्तरण हुने अनुमान गरिएको छ ।

    राजश्व बाँडफाँडबाट यो वर्ष गोरखाको ११ स्थानीय तहले १ अर्ब ६ करोड ४५ लाख रुपैयाँ पाउने भएका छन् । राजश्व बाँडफाँडमा सबैभन्दा धेरै चुमनुब्री गाउँपालिकाले र सबैभन्दा कम भिमसेन थापा गाउँपालिकाले पाउने भएको छ ।

    चुमनुब्रीले ११ करोड ९९ लाख पाउदा भिमसेन थापाले ७ करोड ९५ लाख रुपैयाँ पाउने भएको हो ।

    राजश्व बाँडफाँड अन्तरर्गत गोरखा नगरपालिकाले ११ करोड ६९ लाख, पालुङटार नगरपालिकाले १० करोड ७५ लाख, धार्चे गाउँपालिकाले १० करोड २६ लाख र बारपाक सुलिकोटले ९ करोड ८८ लाख र आरुघाट गाउँपालिकाले ९ करोड ३५ लाख पाउने भएको छ ।

    त्यस्तैगरी, शहिदलखन गाउँपालिकाले ९ करोड ३३ लाख, गण्डकीले ८ करोड ५० लाख, सिरानचोकले ८ करोड ४२ लाख र अजिरकोटले ८ करोड ३३ लाख रुपैयाँ पाउने भएको छ ।

    समानीकरण अनुदानमा १ अर्ब ४६ करोड ७१ लाख

    वित्तीय समानीकरणबापत स्थानीय तहमा ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ अनुदान वितरण रकममध्ये न्यूनतम अनुदानतर्फ ३० अर्ब ८३ करोड, सूत्रमा आधारित ५४ अर्ब ५७ करोड ८७ लाख रुपैयाँ, कार्यसम्पादनमा आधारित ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

    यो रकममध्ये गोरखा नगरपालिकाले सबैभन्दा बढी र चुमनुब्री गाउँपालिकाले सबैभन्दा कम रकम पाउने छन् । गोरखा नगरपालिकाले २० करोड ७९ लाख रुपैयाँ पाउदा चुमनुब्रीले ८ करोड ७३ लाख रुपैयाँ पाउने छ ।

    समानीकरण तर्फ पालुङटार नगरपालिकाले १६ करोड ७९ लाख रुपैयाँ, शहिदलखन गाउँपालिकाले १४ करोड १६ लाख, बारपाक सुलिकोटले १३ करोड ७८ लाख, गण्डकीले १२ करोड ९४ लाख र सिरानचोक गाउँपालिकाले १२ करोड ९१ लाख रुपैयाँ पाउने छन् ।

    त्यस्तैगरी, आरुघाटले १२ करोड ७८ लाख, भिमसेन थापाले १२ करोड ५० लाख, अजिरकोटले १० करोड ७३ लाख र धार्चे गाउँ पालिकाले १० करोड ६० लाख रुपैयाँ पाउने छन् ।

    सरकारले राजश्व बाँडफाँटबापत स्थानीय तहलाई आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तशुल्कबापत १५ प्रतिशत दिने व्यवस्था गरेको छ । सूत्र निर्धारण गर्न भूगोल र जनसङ्ख्यालाई आधार लिने गरिएको छ ।

    अहिले संघीय सरकारदेखि स्थानीय तहहरूसम्म नयाँ आर्थिक वर्षको बजेटको तयारी गर्दैछन् । नयाँ आर्थिक वर्षको बजेटमा लागि आफू अन्तर्गतका निकायलाई सिलिङ निर्धारण गर्ने गरिएकोमा सोही अनुसार स्थानीय तहमा भने अनुमानित विवरण सार्वजनिक गरिएको हो ।

  • धार्चे ७ लापुबेंशीको प्रभात किरण माध्यामिक विद्यालयमा निर्माण भएको भवन हस्तान्तरण

    गोरखा, बिहीबार, ७ चैत्र २०८१ । गोरखाको धार्चे गाउँपालिका–७ लापुबेंशीको प्रभात किरण माध्यामिक विद्यालयमा निर्माण भएको भवन हस्तान्तरण भएको छ ।

    जापान सरकार परराष्ट्र मन्त्रालयको अनुदान सहयोग एवं चाइल्डफण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले निर्माण गरेको उक्त भवन मंगलबार एक कार्यक्रमका विच विद्यालय लाई हस्तान्तरण गरिएको हो ।
    नेपालको लागि जापानको दुतावासका चार्ज डी अफ्यर एड इन्टेरियमतामुरा ताकाहिरो र गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङले संयुक्त रुपमा भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

    सो अबसरमा बोल्दै ताकाहिरोले गोरखाको दुर्गम गाँउमा आएर विद्यालय बनाउन पाउँदा खुशी लागेको बताए । विद्यालय भवन निर्माण भएपछि बालबालिकाहरुले सुरक्षित रुपमा पढ्न पाउने भन्दै उनले पढाईको गुणस्तरमा समेत सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरे । गाउँपालिकाको अध्यक्ष गुरुङले ९ महिनामै भवन निर्माण सम्पन्न गरेको भन्दै संस्था प्रति आभार व्यक्त गरेका थिए ।

    २०७२ सालको भुकम्प भत्काएपछि लामो समयसम्म पुर्ननिर्माण हुन नसकेको उक्त विद्यालय भवन वडा कार्यालय, गाउँपालिकाको अनुरोधमा एकिकरण नेपाल गोरखाले निर्माण सम्पन्न गरेको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए । झण्डै ४ करोड लगानीमा बनेका भवनमा ८ वटा कक्षा कोठा रहेका छन् ।

    ग्याबिन पर्खाल, कक्षा कोठा फर्निचर, खानेपानीको व्यवस्था, खेल मैदान लगायतका संरचना निर्माण गरिएको उनले जानकारी दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, चाइल्डफण्ड जापानको कार्यक्रम निर्देशक माछाहिरो, नेपालको निर्देशक आङ पासाङ शेर्पा, वडा नं. ७ का अध्यक्ष राकेश गुरुङ, विद्यालयको प्रधानाध्यापक जीबबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

  • जनयुद्धमा तीन छोराछोरी गुमाएका बुबाआमालाई गोरखा पुगेर प्रचण्डले भेटे

    गोरखा, बिहीबार, ८ फागुन २०८१ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको र उनीहरू देशका साझा सम्पत्तिको रूपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

    गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    ‘‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरू भएका छन्, तीमध्ये सबैभन्दा ठुलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो ।,’’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरू देशका साझा सहिद हुन्, उनीहरूको सम्मान गर्नु राज्यको दायित्व हो ।’’

    पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरूको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुहुँदै उहाँले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रूपमा स्थापित गरेको बताउनुभयो । यसमा छुटेका नामहरू निरन्तर सहिदको सूचीमा समावेश गरिने जानकारी पनि उहाँले दिनुभयो ।

    सहिदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब बदलिएको व्यवस्थाअनुकुल जनताको अवस्था बदल्न अभियानात्मक रूपमा अघि बढ्ने जानकारी दिनुभयो । शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गर्दै उहाँले पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरू पार्टी रूपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशव्यापीरूपमा अघि बढेको जानकारी दिनुभयो ।

    अध्यक्ष प्रचण्डले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्नुहुँदै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको घेटघाटमा आइरहने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रूपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गर्नुभयो ।

    सो क्रममा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङ निवासी सहिदहरूका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गर्नुभएको थियो । उहाँका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरू सरस्वती नहर्की ‘विपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूना’ले २०५८ असार २३ गते लमजुङ बिचौरमा सहादत प्राप्त गर्नुभएको थियो ।

    त्यसलगत्तै अध्यक्ष प्रचण्ड गोरखाको पालुङ्टार ८ स्थित घरमा पुगेका सहिद विरेन ओलियाका बिरामी बुवा देवराज ओलियालाई पनि भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सो क्रममा उहाँले सहिद परिवार र स्थानीयसँग साक्षात्कार गर्नुभएको थियो ।

  • गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा साझा सहमति

    पोखरा, बुधबार, ३० माघ २०८१ । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनको पहलका लागि साझा सहमति गरेका छन् ।

    लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच पहिलोपटक पाल्पाको ऐतिहासिक दरबार रानीमहलमा आयोजना गरिएको संयुक्त बैठकमा संघीय सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अघि सारेको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्ने सहमति गरिएको हो ।

    सरकारले चालु आवको बजेट वक्तव्यमार्फत एकीकृत विकासको अवधारणाअनुसार नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने घोषणा गरेको थियो । परियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्न रु दुई अर्ब विनियोजन गरिएको बजेट वक्तव्यमा घोषणा गरिएको थियो ।

    परियोजनाअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गरिने उल्लेख छ ।

    यस्तै परियोजना कार्यान्वयका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्चशिक्षा र बुटवल–भइरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने रहेको छ ।

    उक्त बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशस्तरीय समन्वय र सहकार्यलाई सुदृढ गर्दै प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको छ ।

    नेपालको संविधानको धारा ५६ अनुसार राज्यशक्तिको बाँडफाँट, सङ्घीय ढाँचाको शासकीय अभ्यास तथा तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गर्दै लुम्बिनी र गण्डकी प्रदेश सरकारबीचको पहिलो ऐतिहासिक बैठक पाल्पाको ऐतिहासिक दरबार रानीमहलमा सम्पन्न भएको हो । उक्त बैठकमा दुवै प्रदेशका साझा सम्भावनालाई सम्बोधन गर्ने तथा प्रदेश सरकारलाई जनताको अझ नजिक पु¥याउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।

    साझा प्रतिबद्धताअनुसार दुवै प्रदेशबीच नेपालगञ्ज–जोमसोम र भैरहवा–जोमसोम हवाई सेवा विस्तार गर्न पहल गर्ने, लुम्बिनी–लोमान्थाङ (लुम्बिनी–मुक्तिनाथ) सिल्क रोड, लुम्बिनी–त्रिवेणी–दुम्किबास सडक, गैँडाकोट–कालीगण्डकी कोरिडोर, भीमगिठे–बुर्तिवाङ–गौमुखी–झिमुक सडकलगायतका अन्तरप्रदेशीय सडक सञ्जालको स्तरोन्नतिका लागि पहल गर्ने तथा बुटवल–पोखरा सिद्धार्थ राजमार्गलाई दुई लेनमा विस्तार गर्न सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।

    प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने र स्थानीय उत्पादन तथा रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक वर्षमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने विषयसमेत प्रतिबद्धतामा समेटिएको छ । कृषि तथा पशुपन्छीजन्य उत्पादनको बजारीकरण, गुणस्तर सुनिश्चितता तथा वितरण प्रणाली सुधार गर्न पोखरा र लुम्बिनीमा चिस्यान केन्द्रसहितको बिक्री कक्ष तथा खाद्य गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिने, कृषि तथा पशुजन्य उत्पादनलाई दुवै प्रदेशका मुख्य बजार केन्द्रहरुसम्म पु¥याउन बजार पूर्वाधार तयार गर्न संयुक्त सम्भाव्यता अध्ययन समिति गठन गरिने उल्लेख छ ।

    उत्तर–दक्षिण कालीगण्डकी कोरिडोरलाई आर्थिक कोरिडोरका रूपमा विकास गरी हिमाली तथा पहाडी जिल्लाका उत्पादनलाई तराई तथा सीमापार बजारसँग जोड्न दुवै प्रदेशले व्यवसाय, कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्नेछन् । होटल व्यवसाय सञ्चालनका लागि प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइने, दुवै प्रदेशमा उत्पादन भएका कृषि उपज तथा वनजन्य जडीबुटीलाई मूल्य शृङ्खलासँग जोड्न प्रशोधन केन्द्र स्थापना गर्न निजी क्षेत्रसँग सहकार्य गरिने, साथै, सोका लागि आगामी आर्थिक वर्षदेखि दुवै प्रदेशबाट व्याज अनुदान दिने गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

    दुवै प्रदेशको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदामा आधारित पर्यटनको एकीकृत विकास गर्न साझा कार्यक्रम तयार गरिने, लुम्बिनी–पोखरा–मुक्तिनाथलाई मुख्य पर्यटन मार्गका रूपमा विकास गरी दुवै प्रदेशका पर्यटकीय गन्तव्यसम्म जोड्ने एकीकृत पर्यटन मार्ग निर्माण गर्न संयुक्त गुरुयोजना तयार गरिने, त्रिवेणी–देवघाट–रिडी रुरु क्षेत्र–मुक्तिनाथलाई धार्मिक तथा सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्न संयुक्त कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

    गोरखा–तनहुँ–स्याङ्जा–पाल्पा–गुल्मी–प्यूठान–रोल्पा मगर सांस्कृतिक पर्यटकीय पदमार्ग, लुम्बिनी प्रदेशमा थारू–अवध–नेवार तथा गण्डकी प्रदेशमा गुरुङ–थकाली–नेवार समुदाय विशेष पर्यटकीय पदमार्ग विस्तारका लागि एकीकृत कार्यक्रम बनाइने, लुम्बिनी प्रदेशको लुम्बिनीमा बुद्ध सर्किट (तिलौराकोट–लुम्बिनी–रामग्राम) को विकास गरी धार्मिक तथा स्वास्थ्य पर्यटन प्रवद्र्धन गरिनेछ भने गण्डकी प्रदेशका मनास्लु, अन्नपूर्ण र मुक्तिनाथ क्षेत्र तथा पोखरालाई साहसिक, धार्मिक तथा स्वास्थ्य पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जोड दिने सहमति भएको ।

    लुम्बिनी प्रदेशका बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा गण्डकी प्रदेशका चितवन राष्ट्रिय निकुञ्ज, मनास्लु तथा अन्नपूर्ण संरक्षण क्षेत्र र दुवै प्रदेशमा पर्ने ढोरपाटन सिकार आरक्षलाई समेटी पर्यावरणीय तथा साहसिक पर्यटन सर्किटका रूपमा विकास गरिने उल्लेख छ ।

    दुवै प्रदेशमा रहेका उद्योगहरूको कार्यक्षेत्र विस्तार गर्दै बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र र गण्डकी प्रदेशमा निर्माणाधीन लोकाहा खोला औद्योगिक क्षेत्रको उपयोग गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने, खानी तथा खनिज उद्योगको स्थापना, सञ्चालन तथा विस्तार गर्न तथा प्राकृतिक स्रोतजन्य उत्पादनको बिक्री वितरण व्यवस्थित गर्न सेवा शुल्क तथा दस्तुरमा एकरुपता कायम गरिने उल्लेख छ ।

    औद्योगिक सुरक्षा, बजारीकरण र ढुवानीको सहजीकरणका लागि आवश्यक वातावरण तयार गरिने, दुवै प्रदेशलाई अधिकतम फाइदा हुने बहुउद्देश्यीय बृहत् जलस्रोत आयोजनाको निर्माण तथा सञ्चालन आपसी समझदारीका आधारमा गरिने उल्लेख छ ।

    प्रदेश कानुनअनुसार नदीजन्य पदार्थको उपयोगमा लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गरिने, सार्वजनिक सवारीको यात्रु भाडादर सम्भव भएसम्म एकरुप बनाइने तथा सडक दुर्घटना न्यूनीकरणका लागि सवारी गति नियन्त्रण, मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षणलगायतका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिने उल्लेख छ । यस्तै रामपुर–चापाकोट एकीकृत सहरी विकास आयोजना कार्यान्वयनका लागि सङ्घीय सरकारलाई सिफारिस गरिने, पाल्पाको रानीमहल प्रवद्र्धन तथा संरक्षण गर्दै जलाशयसहितको पर्यटकीय पूर्वाधार विकास गर्न संयुक्त कार्य गरिने उल्लेख छ ।

    कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध क्षेत्रदेखि रानीमहल हुँदै बग्ने तल्लो तटीय क्षेत्रमा पानीको बहाव तथा परिमाण बढाउन सम्बन्धित आयोजनामार्फत सङ्घीय सरकारलाई सिफारिस गरिने उल्लेख छ । दुवै प्रदेशबीच सहकार्य, समन्वय र साझेदारी प्रवद्र्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिइने तथा आगामी बैठक गण्डकी प्रदेशले आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले अन्तरप्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताउनुभयो । यस्तै बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले अन्तरप्रदेश साझा सरोकारका विषयलाई सामूहिक रुपमा सम्बोधनका लागि पहल आवश्यक पर्ने बताउनुभयो । सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटनलगायत साझा सरोकारका विषयलाई प्राथमिकमा राखेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले सुनौली नाका हँुदै भित्रीने भारतीय पर्यटकलाई पोखरासम्म पु¥याउने बारेमा पनि साझा योजना आवश्यक पर्ने बताउनुभयो ।

  • व्यवसाय क्षेत्रको संवर्धन र प्रवर्धनका लागि अध्यादेश : मुख्यमन्त्री पाण्डे

    पोखरा, मंगलबार, २९ माघ २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले वर्तमान अवस्थामा कांग्रेस र एमालेको सरकार बनेको बताउनुभयो । सरकारमा स्थायित्व भएकाले व्यावसायिक हकहितका लागि अध्यादेश ल्याएको उहाँले बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आठौं प्रदेश सभाको पोखरामा उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रको संवर्धन र प्रवर्धनका लागि अध्यादेश ल्याएको बताउँदै व्यावसायीलाई लगानीमैत्री वातावरण सिर्जना भएको दाबीसमेत गर्नुभयो ।

    मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले निजी क्षेत्रको संवर्धन र प्रवर्धनका लागि प्रदेश सरकारले पनि व्यावसायीको आवश्यकता अनुरूप कानुन ल्याउने र भएका कानुनसमेत संशोधन गर्न तयार रहेको बताउनुभयो ।

    गण्डकी प्रदेशमा लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्न र लगानीको पूर्ण सुरक्षा गर्न पनि सरकार तयार रहेको उहाँको भनाइ थियो। उहाँले लगानीको सुरक्षा र सुनिश्चितता तथा लगानीकर्ताको प्रतिफलका लागि सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।

    मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पुडिटार र लोकाहाखोलामा औद्योगिक ग्राम सञ्चालनमा ल्याउने भन्दै प्रदेश सरकारले कृषि, पर्यटन र उद्योगलाई जोड दिएको बताउनुभयो। गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य सरस्वती अर्यालले व्यावसायीका साझा एजेन्डा सम्बोधन गरी अगाडि बढाएमा प्रदेश सरकारले छलफल गरी पूरा गर्ने आश्वासन दिनुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले पाथीभरामा केबलकार निर्माणमा भएको अवरोधले निजी क्षेत्र लगानी गर्न तर्सिएको बताउनुभयो। त्यसैगरी, महासङ्घका अर्का उपाध्यक्ष सुरथकृष्ण वैद्यले बैँकले व्याज घटाए पनि पुराना ऋणीको ब्याज घट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्र अझै गतिशील हुन नसकेको बताउँदै सरकारले पुँजीगत खर्च गर्न नसक्दा पनि मुलुकको आर्थिक सूचक सन्तोषजनक नभएको बताउनुभयो। उहाँले सम्पत्ति शुद्धीकरणको विधेयक पास हुन नसक्दा भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रत्याभूति हुन नसक्दा मुलुकको आर्थिक स्थिति धराशयी बन्न सक्ने बताउनुभयो ।

    महासङ्घ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले निजी क्षेत्र अप्ठेरो अवस्थामा परिरहँदा अन्य क्षेत्र पनि प्रभावित भएको बताउनुभयो। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटामात्र निर्णयले विश्वको आर्थिक बजारमै हलचल आएको बेला राजनीतिक क्षेत्रबाट गरिने निर्णयमा विचार पुर्‍याउनुपर्नेमा सुझाव दिनुभयो ।

    कार्यक्रममा उत्कृष्ट जिल्ला नगरमा गैंडाकोट र एसोसिएटमा सूर्य नेपाल प्रालिलाई मुख्यमन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो। सो अवसरमा संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइराला, महासचिव सूर्य भुजेल, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तोयनाथ लम्साल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठ, महिला उद्यमी सीता गुरुङ लगायत उद्योगी व्यवसायीले उद्योग व्यवसाय र लगानी प्रवर्धनबारे बोल्नुभएको थियो ।

  • बारपाक सडक : अर्कुल बजारदेखि बालुवासम्मको खण्ड कालोपत्रेको काम अलपत्र

    गोरखा, सोमबार, २८ माघ २०८१ । गोरखा सडक योजनाले लोहनी एण्ड ब्रदर्शसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । दुई बर्षमा सक्नुपर्ने बाह्रकिलो बारपाक सडक अन्तरगत अर्कुल बजारदेखि बालुवासम्मको खण्ड कालोपत्रेको काम नौ बर्षदेखि अलपत्र पारेको भन्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

    ‘ठेक्का किन नतोड्ने भनेर पत्रिकामा सूचना प्रकाशन गरेका छौं,’ कार्यालयका इन्जिनियर आशिक रिजालले भने, ‘सम्पर्कमा आउनु भनेर सात दिनको म्याद तोकिएको छ ।’ तोकिएको समयभित्र सम्पर्कमा नआए ठेक्का तोड्नका लागि बिभागमा लेखेर पठाइने उनले जानकारी दिए । काम सुरु गर्न उक्त निर्माण कम्पनीलाई यसअघि पनि पटक पटक पत्राचार गरेपनि वेवास्ता गर्दै आएको कार्यालयले जनाएको छ ।

    कुल ८ किलोमिटर सडक कालोपत्रेका लागि २०७२ साल असार ३१ गते कार्यालय र उक्त निर्माण कम्पनीबीच सम्झौता भएको थियो । काममा लापरवाही गर्दै आएपनि हालसम्म सातौँ पटक म्याद थप भइसक्यो तर कामको प्रगति सुन्य छ । ‘करिव ८० प्रतिशत मात्र काम सकेर राखेको छ,’ उनले भने, ‘केही खण्ड कालोपत्रे गर्नुपर्ने छ र कालोपत्रे भइसकेको केही खण्ड बिग्रिएकाले त्यसलाई पनि मर्मत गर्नुपर्छ तर, पटक पटक म्याद थप भएपनि फिल्डमा काम भएको छैन ।’

    यता बालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सूर्य जेभीको पनि हालसम्म सातौँ पटक म्याद थप भइसक्यो । तर काम सम्पन्न भएको छैन । विगत केही बर्षदेखि अलपत्र छाडेको काम अहिले पुनः सुरु गरेको कार्यालयका इन्जिनियर कल्याण खड्काले बताए । ‘अहिले राङरुङदेखि माथि कालोपत्रेको काम भइरहेको छ,’ उनले भने, ‘राङरुङदेखि तल नाला र रिर्टनिङ वाल लगायतका संरचना निर्माणका काम भइरहेको छ ।’

    उक्त खण्डमा यसअघि काम कालोपत्रे भइसकेको केही ठाउँहरु भत्किएकाले त्यसको पनि मर्मत गर्नुपर्ने उनले जानकारी गराए । उनका अनुसार हालसम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको छ । २०७३ असार ३० गते सम्झौता भएर काम शुरु भएको थियो । अन्तिम पटक थप भएको म्याद यही असारसम्म मात्र छ । असारमा काम सक्ने आश्वासन निर्माण कम्पनीले दिएको कार्यालयले जनाएको छ ।

    बाह्रकिलो देखि बारपाकसम्मको कुल ४६ किलोमिटरको सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको हो । बाह्र किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोप्रियट फर कन्स्ट्रक्सनले पाएको हो भने निवेलदेखि अर्कुलसम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको हो ।

    यी दुवै खण्डमा काम सम्पन्न भइसकेको छ । तर बाँकी दुई खण्डमा भने ठेकेदारको लापरवाहीका कारण काम अलपत्र बनेको हो । उक्त सडक योजनाका लागि यो बर्ष २० करोड रकम विनियोजन भएको छ । उक्त रकमले उक्त खण्ड अन्तरगत यसअघि कालोपत्रे भइसकेका सडक मर्मत गरिने इन्जिनियर खड्काले बताए । ‘उक्त खण्डको काम सम्पन्न भएर पाँच बर्ष पुगेको सडक मर्मत गर्छाै, नालासहित मर्मतको काम हुन्छ,’ उनले भने ।

  • भोली (मंगलबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    पोखरा, मंगलबार, २१ माघ २०८१ । गण्डकी प्रदेश सरकारले भोली (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशद्धारा जारी सूचनामा उल्लेख छ । मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने सूचनामा छ ।

  • जनताको चाहनालाई केन्द्रमा राखेर काम गरिने : मुख्यमन्त्री पाण्डे

    लमजुङ, बुधबार, १६ माघ २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधूरा योजना र जनताको चाहनालाई केन्द्रमा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।

    आज लमजुङ मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती समापन कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले सबै जिल्लामा अधूरा योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको र कुनै जिल्लामा अधूरा योजना छुटेमा आफूलाई खबर गर्न जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

    उहाँले जनताको दुःख मर्म बुझ्दै जनताको चाहनालाई प्रदेश सरकारले पूरा गर्ने गरी काम गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । प्रदेश सरकारले घरघरमा खानेपानी, बिजुली पु¥याउने, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

  • मुस्लिम समुदायका अधिकारलाई प्राथमिकता

    रूपन्देही, बिहीबार, २५ पौष २०८१ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरणलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताएका छन् ।

    मुख्यमन्त्री आचार्यले बिहीबार दाङको लमहीमा मुस्लिम आयोगद्वारा आयोजित मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध विषयमा सशक्तिकरण तथा क्षमता विकाससम्बन्धी कार्यक्रम उद्घाटन गर्दै प्रदेश सरकारले समुदायलाई सशक्तिकरण र जागरणका लागि आवश्यक सहयोग गर्ने बताए ।

    ‘मुस्लिम समुदायका बालबालिका अझै पनि शिक्षाबाट टाढा छन्। प्रदेश सरकारले उच्च शिक्षामा किशोरीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ, तर यसलाई लिने किशोरीहरूको संख्या निकै कम छ’, मुख्यमन्त्री आचार्यले भने । ‘समुदायका अगुवाहरूले समाज परिवर्तन र जागरणमा अग्रसर हुन जरुरी छ ।’

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकारद्वारा मुस्लिम समुदायको निजामती क्षेत्रमा ७ प्रतिशत समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए। साथै, मदरसा शिक्षालाई सुधार गर्न सरकारबाट सहकार्य भइरहेको बताउँदै यस शिक्षालाई समयानुकूल बनाउनुपर्नेमा जोड दिए ।

    प्रदेशका तराई क्षेत्रहरूमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणजस्ता समस्या गम्भीर रहेको उल्लेख गर्दै उनले सामाजिक मूल्य र मान्यतामा परिवर्तन ल्याउन आवश्यक रहेको धारणा राखे ।

    ‘मुस्लिम समुदायमा २० वर्ष नपुग्दै छोरीहरूको विवाह गर्ने चलन छ, जसले मातृ मृत्युदर, बाल मृत्युदर र कुपोषण बढाएको छ। यसलाई रोक्न प्रदेश सरकारले पोषण कार्यक्रमलाई प्राथमिकता दिएको छ’, उनले भने ।

    महिला–पुरुषबीचको विभेद अन्त्य गर्न र सामाजिक जिम्मेवारीमा महिलाको सहभागिता बढाउन समुदायका अगुवाहरूले विशेष ध्यान दिनुपर्ने पनि मुख्यमन्त्री आचार्यले उल्लेख गरे ।

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले तीन तहका सरकारले मुस्लिम समुदायको सहभागिता र सशक्तिकरणका लागि विशेष कार्यक्रम प्याकेज निर्माण गरी कार्यान्वयन गर्नुपर्ने धारणा राखे । साथै, शिक्षा, स्वास्थ्य, र रोजगारी सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

    कार्यक्रममा समुदायको समृद्धि र सशक्तिकरणका लागि सरकार र समुदाय मिलेर अघि बढ्नुपर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।