Blog

  • आइपिएल अनिश्चित कालका लागि स्थगित

    नयाँदिल्ली, शुक्रबार, २६ वैशाख २०८२ । भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् । बिहीबार धर्मशालामा भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले टी२० प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन् । धर्मशाला केही घण्टाअघि विस्फोट भएको जम्मू सहरबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा छ ।

    पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सले एक्समा लेखेको छ, “प्रत्येक कदममा साहस । प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनाहरूलाई सलाम !” यो खाताले सशस्त्र सेनाको तस्बिर ट्याग गरेको छ र यसमा लेखिएको छः ‘राष्ट्र पहिले । अन्य सबै कुरा पछि ।’

    दस टोलीको आइपिएल मार्च २२ मा सुरु भएको थियो । आइपिएलमा विश्वभरका धेरै क्रिकेट स्टारहरू छन् र यो खेलको सबैभन्दा धनी प्रतियोगिता हो ।

    लखनऊ सुपर जायन्ट्सले शुक्रबार रोयल च्यालेन्जर्स बेङ्ग्लुरुलाई आतिथ्यता गर्ने तालिका थियो । फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा हुने तालिका थियो र यसले सामान्यतया विश्वभरको ठुलो टेलिभिजन दर्शक सङ्ख्या आकर्षित गर्दछ ।

    विदेशी स्टारहरू मध्ये अस्ट्रेलियाका प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, ट्राभिस हेड र मिच मार्श हुनुहुन्छ भने पूर्व कप्तान रिकी पोन्टिङले पञ्जाबलाई प्रशिक्षण दिइरहनुभएको छ ।

    क्रिकेट अस्ट्रेलियाले स्थगन समाचारअघि शुक्रबार एक वक्तव्यमा भनेको छ, “हामी पाकिस्तान र भारतमा स्थितिको नजिकबाट निगरानी गरिरहेका छौँ… र हाल क्षेत्रमा रहेका हाम्रा खेलाडी र सहयोगी कर्मचारीहरूसँग सञ्चार कायम गरिरहेका छौँ ।”

    पाकिस्तान क्रिकेटले पहिले नै आफ्नो टी२० लिगका बाँकी खेलहरू खेलाडी सुरक्षाका कारण संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरिसकेको छ ।

    भारत र पाकिस्तानले सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि काश्मीरमाथि आफ्ना तीन पूर्ण युद्धमध्ये दुई लडेका छन् । काश्मीर एक विवादित क्षेत्र हो । काश्मीरमाथि दुवै देशले पूर्ण दाबी गर्छन् तर छुट्टाछुट्टै भागहरू प्रशासन गर्दछन् ।

    नयाँदिल्लीले दुई हप्ताअघि भारत–नियन्त्रित काश्मीरमा भएको घातक आक्रमणको बदलामा बुधबार बिहान मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष लगाएको छ । इस्लामाबादले कुनै पनि संलग्नता अस्वीकार गरेको छ ।

    दक्षिण एसियाली यी दुई छिमेकीबिच दशकौँको सबैभन्दा खराब हिंसामा बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ४८ जनाको मृत्यु भएको छ । रासस/एएफपी

  • गोरखामा वैशाख २९ गतेबाट २२औं सवालाख रोट महोत्सव हुने

    गोरखा, बुधबार, २४ वैशाख २०८२ । गोरखा दरबार परिषरमा रहेको गोरखानाथ मन्दिरमा २२औं सवालाख रोट महोत्सवको आयोजना गरीएको छ । महोत्सवको आयोजना सिद्वाश्रम शक्ति केन्द्र नेपालले आयोजना गरेको हो ।

    महोत्सवका बारेमा जानकारी दिने उद्वेश्यले आयोजना गरीएको पत्रकार सम्मेलनमा केन्द्रका संयोजक रामजी अर्यालले महोत्सव बैशाख २९ गतेबाट सुरु भएर जेठ ८ गतेसम्म सञ्चालनमा आउने जानकारी दिए । यस बर्षको महोत्सवमा स्वदेश तथा विदेशबाट ५० हजारभन्दा बढीले महोत्सवमा सहभागिता जनाउने पनि उनले बताए । ‘विश्व भर गुरु गोरखनाथको शक्तिका बारेमा प्रचार गर्न आवश्यक भएको’ भन्दै उनले भने ‘त्यही प्रचार प्रशारकै लागी रोट महोत्सवको आयोजना गरीएको हो ।’

    यो पटकको महोत्सव फरक खालले मनाउने तयारी भएको पनी उनले पत्रकार सम्मेलनमा जानकारी गराए । मानव कल्याण र विश्व शान्तिको कामना गर्दै बिक्रम सम्बत २०६१ सालदेखी नै केन्द्रले गोरखनाथ मन्दिरमा सवालाख रोट अर्पण गर्दै आएको छ ।

    विगतदेखी नै गोरखनाथ जयन्तीको अवशर पारेर आयोजना गरीएको महोत्सवमा देशैभरबाट श्रद्वालु भक्तजनहरु आउने गरेका थिए । यो पटक पनी नेपालको धेरै जिल्लाका साथै भारत र अन्य देशका गुरु गोरखनाथका भक्तजनहरुले सहभागिता जनाउने अनुमान गरीएको छ ।

    महोत्सवको पहिलो दिन गोरखा बजारमा रहेको सिद्वाश्रम शक्ति केन्द्रबाट निकालिने सोभायात्रा गोरखानाथ मन्दिरमा पुगेर समापन गरीने भएको छ । यस पटकको रोट महोत्सवलाई गोरखा नगरपालिकाले मनाउदै आएको ‘गोरखा पर्यटन बर्ष’ को क्यालेन्डरमा समेत समावेश गरिएको छ ।

    रोट महोत्सवभरी दैनिक स्तुती बन्दना, स्तवन पाठ, हवन, पूजन, रोट अर्पण, गुरु आरती, भजन किर्तन र प्रसाद बितरण हुने सिद्वाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए ।

    उक्त दिनमा उभौली पर्व, बुद्व जयन्ती, चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा, बैशाख स्नान समाप्ति, कुर्म जयन्ती, पुर्णीमा ब्रत र अन्तराष्ट्रिय नर्स दिवस समेत परेको छ ।

    रोट के हो ?

    रोट चालम, गहुँ र जौको पिठोमा मसलाहरु मिसाएर बनाएको एक बिशेष परिकार रोट हो ।

    चालम, गहुँ र जौलाई शुद्व मानी ३२ थरिका मसलाहरु जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरु हालेर विशेष बिधिद्वारा बनाईन्छ ।

    रोट २ प्रकारको हुने गर्दछ । भुङ्ग्रे र ताई रोट । गोलाकार आकृतीको पिठोको मिश्रणलाई पातमा राखेर आगो को भुङ्ग्रो पकाईनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखी ठुला आकारमा पनी तयार गरिन्छ ।

    दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाईन्छ । पिठोमा विभिन्न थरीका मसलाहरु हालेर विशेष आकृती अर्थात पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ । यसको बिच भागमा नाभी अर्थात ओमकार राख्ने चलन छ । यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनी बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ ।

    नाथ संप्रदायका मानिसहरुले बनाउने रोटमा त्यस्तो आकृती दिदा भने विशेष मन्त्र उच्चारण गनुपर्ने हुन्छ । गुरु गोरखानाथलाई रोट चढाउदा पनी विशेष रोट पूजा गरी मन्त्र सहित रोटको बिचको भाग काटेर चढाइने गर्दछ ।

    स्वादमा अनि नै उत्कृष्ट मानिने यस प्रकारको रोट, रोट महोत्सवमा सबैको आकर्षणको बिषय हुने गरेको छ ।

  • हवाई हमलापछि भारतीय एयरलाइन्सहरूको ट्राभल एडभाइजरी

    काठमाडौँ, बुधबार, २४ वैशाख २०८२ । भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि विभिन्न भारतीय एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका कारण धेरै उडानहरू रद्द भएका छन् र केही प्रभावित भएका छन् ।

    एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले यात्रुहरूलाई सतर्क रहन आग्रह गर्दै सूचित गरेका छन् । उनीहरूले उत्तर भारतका केही क्षेत्रमा हवाई यातायातमा अस्थायी अवरोध आएको जानकारी दिएका छन् ।

    एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेको छ, ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जाने–आउने सबै उडानहरू रद्द गरेको छ ।’ साथै, अमृतसरका लागि तय दुई अन्तर्राष्ट्रिय उडानलाई दिल्लीतर्फ डाइभर्ट गरिएको जानकारी पनि दिइएको छ ।

    स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरलगायत उत्तर भारतका केही विमानस्थलहरू अर्को सूचनासम्म बन्द गरिएको जनाएको छ ।

    त्यस्तै इन्डिगोले पनि श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ़ र धर्मशालातर्फका उडानहरू प्रभावित भएको जानकारी दिएको छ । तीनवटै एयरलाइन्सले यात्रुहरूलाई फ्लाइटको अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थल पुग्न अनुरोध गरेका छन् ।

  • गैरसरकारी संस्था महासंघ गोरखाको अध्यक्षमा हरि देवकोटा

    गोरखा, मंगलबार, २३ वैशाख २०८२ । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा हरि देवकोटा चयन भएका छन् । महासंघको सोमबार सम्पन्न २२ औँ साधारण सभा तथा छैटौँ अधिवेशनले देवकोटाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

    अधिबेशनले उपाध्यक्षमा बालकृष्ण लामिछाने, सचिवमा प्रमिला अधिकारी, सह-सचिवमा अनिता नेपाली, कोषाध्यक्षमा सुनिल न्यौपाने चयन गरेको छ । त्यस्तै सदस्यहरुमा राजु गुरुङ, साने गुरुङ, मिलनसिंह बस्नेत, प्रतिमा राना, गीतामाया श्रेष्ठ चयन भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए ।

    महासंघका गोरखा अध्यक्ष सिताराम श्रेष्ठको अध्यक्षता भएको अधिवेशन उद्घाटन कार्यक्रममा गैसस महासंघ नेपालका अध्यक्ष अर्जुन भटराईको प्रमुख अतिथ्यता रहेको थियो ।

    कार्यक्रममा समन्वय प्रमुख मोहन बहादुर थापा मगर, उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर, उपप्रमुख मसली माया थोकर, केन्द्रिय महासचिव देवि खड्का, नेपाली काँगेसका सचिव किश्वर जंग थापा, नेकपा एमालेका सचिव काजिराम रोका, माओबादी केन्द्रका सचिव अकुर तिमिल्सीना, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

  • एमालेका दुई पक्षबीच धनुषामा झडप

    काठमाडौँ, मंगलबार, २३ वैशाख २०८२ । नेकपा (एमाले) का दुई पक्षबीच धनुषामा झडप भएको छ । एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनका क्रममा मंगलबार (वैशाख २३) झडप भएको हो । झडपक्रममा केही नेता–कार्यकर्ता घाइते भएका छन् ।

    अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयमा दुई पक्षबीच विवाद भएको थियो । विवाद उग्र र जनकपुरस्थित अधिवेशनस्थलमा झडपसम्म भयो ।

    यही वैशाख २० गतेदेखि अधिवेशन जारी छ । पार्टीको आन्तरिक विवाद भएको र हाल अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं एसपी नरहरि रेग्मीले बताए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो । भोला यादव र लक्ष्मीनारायण यादवले एमालेको धनुषा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

  • हेमोफिलिया बिरामीलाई निःशुल्क औषधी

    काठमाडौँ, मंगलबार, २३ वैशाख २०८२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ । समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच गत फागुन ४ गते सम्झौता भएको थियो ।

    सम्झौताअनुसारको औषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया सुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो । ‘‘पाँच प्रकारका औषधी आएको छ’’, उहाँले भन्नुभयो, ‘‘आवश्यकताअनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने छ ।’’

    मन्त्रालयले सङ्घीय राजधानी काठमाडौँका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पतालमार्फत औषधी वितरण गर्ने भएको छ ।

    यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरूमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलले निर्णय गर्नुभएको थियो ।

    निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । त्यसअनुसार औषधी व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबिच यससम्बन्धी सम्झौता भए पछि वितरणको प्रक्रिया सुरु भएको हो ।

    अब महासङ्घबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधी मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

    विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।

  • “सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा कार्यक्रम आयोजना

    ललितपुर, आइतबार, २१ वैशाख २०८१ । सामाजिक सञ्जालको जिम्मेवार र आत्मअनुशासित प्रयोगबारे सचेतना फैलाउने उद्देश्यले अप्टिमिष्टिक क्लब अफ डेरी ईन्टरप्रेनरर्सले विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । “सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा केन्द्रित कार्यक्रम आगामी २०८२ साल वैशाख २३ गते, मङ्गलबार नेपाल डेरी एसोसिएसनको सभा हल, शंखमूल, ललितपुरमा हुने क्लबका सचिव सरोज ओझाले जानकारी दिनुभयो।

    “आजको पुस्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा आत्मअनुशासन र विवेक आवश्यक छ,” उहाँले भन्नुभयो, “यस विषयमा गहिरो बहस र विचार आदानप्रदान जरुरी भएकाले कार्यक्रम आयोजना गर्न लागिएको हो।”

    क्लबका अध्यक्ष प्रल्हाद दाहालले सामाजिक सञ्जालले मानिसको सोच, व्यवहार र समाजमा गहिरो प्रभाव पारेकाले संवाद, जागरण र आत्मअनुशासन आवश्यक भएको बताउनुभयो। “डिजिटल युगसँगै अवसर र चुनौती दुवै छन्,” उहाँले भन्नुभयो, “हाम्रो क्लबले समाजप्रति जिम्मेवार भूमिका निर्वाह गर्ने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको हो।”

    सचिव ओझाले सामाजिक सञ्जालले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने भए पनि अनियन्त्रित प्रयोगले मानसिक, सामाजिक र नैतिक चुनौती खडा गर्ने उल्लेख गर्दै, “यस्ता चुनौतीहरूसँग जुझ्न सचेत प्रयोगको संस्कार विकास गर्न हामीले यो कार्यक्रम ल्याएका हौं,” भन्नुभयो।

    कार्यक्रममा अप्टिमिष्टिक इन्टरनेशनल नेपाल डिस्टृकका पदाधिकारीहरु, विभिन्न क्षेत्रका युवा, सञ्चारकर्मी, उद्यमी, शिक्षाविद तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

    कार्यक्रमको उद्देश्य सामाजिक सञ्जालप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने र अनुशासित प्रयोगको व्यवहारिक संस्कार विकास गर्नु रहेको क्लबका अध्यक्ष दाहालले बताउनुभयो।

  • शिक्षक आन्दोलन : निषेधित क्षेत्र तोडेपछि प्रहरी हस्तक्षेप, १९ जना घाइते

    काठमाडौँ, आइतबार, १४ वैशाख २०८२ । नेपाल शिक्षक महासङ्घको अगुवाइमा निरन्तर चल्दै आएको आन्दोलनमा १९ जना शिक्षक घाइते भएका छन् ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आन्दोलनकर्मीले बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्न खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो ।

    उहाँका अनुसार १९ जना शिक्षकसहित पाँच जना प्रहरी एक पत्रकार सबिना कार्की घाइते हुनुभएको छ। १९ शिक्षक र पाँच प्रहरीको पुरा विवरण आइनसकेको उहाँको भनाइ छ।

    प्रवक्ता आचार्यले भन्नुभयो, “निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि फोर्स प्रयोग भएको हो।”

  • स्थानीय तहमा आपतकालीन गोदाम घर बनाउनुपर्नेमा जोड

    काठमाडौँ, आइतबार, १४ वैशाख २०८१ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । आज गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा उहाँले विपद्का घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताउनुभयो ।

    “यहाँबाट तपाईं हामी बसेर नीतिनिर्माण गर्ने हो”, गृहमन्त्री लेखकले भन्नुभयो, “यसलाई लागू गर्ने भनेको स्थानीय तहले भएकाले स्थानीय तहरूलाई सक्षम बनाउन पनि आपत्कालीन गोदाम घर अनिवार्य आवश्यकता हो ।” उहाँले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामग्रीहरू राख्नुपर्ने बताउनुभयो ।

    “प्रत्येक पालिकमा गोदामघर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन्, ती कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ”, मन्त्री लेखकले भन्नुभयो, “त्यसमा आधारभूत सामग्री राखौँ । ती गोदामघरलाई सङ्घ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौँ । तर आधार स्थानीयलाई बनाऔँ । हामी सबै त्यसमा समन्वय गर्न तयार छौँ ।”

    उहाँले चार वटा प्रदेशमा आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिँदै काठमाडौँबाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उल्ल्ेख गर्नुभयो । “प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमाडौँमा प्राधिकरणसँग समन्वय गर्नुपर्ने स्थिति थियो”, उहाँले भन्नुभयो, “अहिले नीतिगत तहबाट निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गर्ने काम भएको छ ।”

    विपद् व्यवस्थापनका विषयमा सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका रहने गृहमन्त्रीको भनाइ छ । “विपद्का विषय सम्बोधन हुनका लागि पूर्वसूचना समयमा हुनुप¥यो”, उहाँले भन्नुभयो, “विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुनर्निमाण र पुनःस्थापन महत्त्वपूर्ण विषय हुन् ।” उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सङ्गठित भएर सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

    “तपाईंहरूले सिकेका ज्ञान, सीप अनुभवले यो क्षेत्रलाई व्यवस्थित गर्न, नागरिकलाई हुनसक्ने जोखिमबाट जोगाउने काम गर्न सक्छौँ”, लेखकले भन्नुभयो, “त्यसका लागि सङ्गठित रूपले अगाडि बढ्नसके परिणाम दिनेछ । जोखिम न्यूनीकरण गर्न काम गर्न सकिन्छ ।”

  • लालपुर्जा पाएपछि गोरखा धार्चेका भूमिहीन परिवार खुशी

    गोरखा, आइतबार, १४ वैशाख २०८२ । धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

    मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो । विसं २०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको भए पनि सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरणको काम झन्डै डेढ वर्षदेखि रोकिँदै आएको थियो ।

    गाउँपालिकामा भूमिहीन सुकुम्बासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । धार्चेमा अव्यवस्थित बसोबासी भने दुई सय ५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।

    गण्डकी प्रदेशसभाका सदस्य नन्दप्रसाद न्यौपानेले दलित पविारलाई पुर्जा हस्तान्तरण गर्नुभएको हो । विसं २०७९ असारमा आयोगसँग गोरखाका ११ स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने सहमति गरेका थिए ।

    वर्षौँपछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी भएका छन् । “आफ्नो नाममा जग्गाको पुर्जा नपाई मरिन्छ कि भन्ने लागेको थियो, भूमिहीन दलितमध्येका एक आइतसिंहले भन्नुभयो, “गाउँपालिकाले पहल गरेर पुर्जा आफ्नै नाममा दिनुभयो, धेरै खुसी लागेको छ ।”