Blog

  • साेमबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

    काठमाडौँ, सोमबार, १८ चैत्र २०८१ । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले बिदा दिइएको हो ।

    गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी सोमबार बिदा दिइने निर्णय भएको जानकारी दिनुभएको छ ।

    इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

    रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

  • प्रेस सेन्टर नेपालको केन्द्रिय समावेशी उपाध्यक्षमा गोरखाका श्रेष्ठ निर्विरोध चयन

    गोरखा, सोमबार, १८ चैत्र २०८१ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको समावेशी उपाध्यक्ष पदमा गोरखाका दिपक श्रेष्ठ जलन निर्विरोध चयन हुनुभएको छ । आइतबार मनोनयन दर्ता हुँदा तोकिएको समयमा उहाँको मात्र एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित हुनुभएको हो ।

    उहाँ यस अघि गण्डकी प्रदेशका इन्चाज हुनुहुन्थ्यो । उहाँ गोरखामा रहेको सामुदायिक रेडियो रेडियो मनास्लुका स्टेशन म्यानेज हुनुहुन्छ भने उहाँ आफैले नागरिक अनलाइन डटकम समेत सञ्चालन गर्दै आउनुभएको छ ।

    प्रेस सेन्टरमा धेरै पदहरुमा सहमति जुट्न नसकेपनि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा अध्यक्षका लागि कमल गिरी र दीपेन्द्र रावल प्रतिस्पर्धामा छन् ।

  • सञ्चारकर्मी र सञ्चार गृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न समिति गठन

    काठमाडौँ, शनिबार, १६ चैत्र २०८१ । नेपाल पत्रकार महासंघले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चार गृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ ।

    महासंघको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिमा महासंघका छ जना सचिव सदस्य रहेका छन् । समितिमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहेको महासंघले जनाएको छ ।

    समितिले आजै आक्रमण गरिएका सञ्चार गृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले जानकारी दिए । समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ । समितिले घटना के, कसरी भयो ?, अब महासंघ कसरी अघि बढ्ने ? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ ।

    पूर्वराजा समर्थित समूहहरूले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए । प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए ।

  • ‘गर्भवती र नवजात शिशु’ को पोषण सुधारमा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण

    काठमाडौँ, शनिबार, १६ चैत्र २०८१ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नवजात शिशु र गर्भवतीको पोषण सुधारमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

    फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘न्युट्रिसन फर ग्रोथ पेरिस २०२५’ मा सम्बोधनका उनले मातृ शिशु पोषण सुधारमा नागरिक तहसम्मै सचेतना तथा सेवा प्रवाहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथ महत्त्वपूर्ण रहेको बताएका हुन् ।

    मन्त्री पौडेलले पछिल्ला दुई दशकमा नेपालले पाँच वर्षभन्दा मुनिका बालबालिकामा हुने पुड्कोपनामा ३२ प्रतिशत कमी ल्याएको बताए । सन् २००१ मा नेपालमा ५७ प्रतिशतमा समस्या देखिए पनि हाल यो २५ प्रतिशतमा घटेको सरकारी तथ्यांक छ ।

    गर्भवतीलाई आइरन र फोलिक एसिड पूर्तिका लागि सरकारले दिने चक्कीका कारण यसको उपलब्धतामा ६५ प्रतिशत वृद्धि भएको उनले स्पष्ट पारे । नेपालमा छ प्रतिशत गर्भवतीमा आइरन र फोलिक एसिडको पूरकता रहेकामा हाल यसमा वृद्धि भएर ७१ प्रतिशत पुगेको छ ।

    उनले भने, “दुवै क्षेत्रमा हामीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । यस कार्यक्रमलाई समुदाय स्तरमै पुर्‍याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र सरकारहरुबीचको समन्वयको भूमिका महत्त्वपूर्ण छ ।’

    मन्त्री पौडेलले विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषक आहारा तथा नगद सहायताका साथै गर्भवती र नवजात शिशुलाई भिटामिन ए पूर्ति, आइरन चक्की जस्ता कार्यक्रमजस्ता नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

    उनले स्थानीय स्वयंसेविकाको क्षमता अभिवृद्धिमा न्यून कार्यक्रम, बजेटमा कमी तथा विभिन्न क्षेत्रको सहकार्य चुनौती भने नेपालसामु रहेको उल्लेख गरे । नेपालको मातृ शिशु पोषण सुधारको अनुभवले बहुक्षेत्रीय सहकार्य, सामुदायिक संलग्नता तथा दिगो राजनीतिक प्रतिबद्धताले कुपोषणको समस्या सम्बोधन गर्न भूमिका खेलेको अनुभव मन्त्री पौडेलले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायसँग साझा गरे ।

    सम्मेलनमा सहभागी हुनु पूर्वमन्त्री पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुको पोषण स्तरमा सुधारका लागि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थासँग वार्ता गरेका थिए । अमेरिकी परोपकारी संस्था ‘एलेनर क्रुक फाउण्डेसन’ले गर्भवती र नवजात शिशुमा विभिन्न १५ प्रकारका पोषण आपूर्ति गर्ने मन्त्रालयको योजनामा साथ दिने प्रतिबद्धता जनाएको छ ।

  • तालिम प्रदायकलाई निवेदन दिन आग्रह

    काठमाडौँ, शनिबार, १६ चैत्र २०८१ । वैदेशिक रोजगार विभागले देशगत क्लस्टर अनुसार अभिमुुखीकरण तालिम सञ्चालन गर्न इच्छुुक तालिम प्रदायक संस्थालाई क्लस्टर छनोट वा परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ ।

    अभिमुुखीकरण तालिम सञ्चालन कार्यविधि–२०७६ (दोस्रो संशोधन) ले छ वटा क्लस्टरमध्ये एकभन्दा बढी (बढीमा दुुई) मा तालिम सञ्चालन गर्न सकिने व्यवस्थाबमोजिम यो अवसर उपलब्ध गराएको हो । विभागले शुक्रबार सूचनामार्फत क्लस्टर छनोट वा परिवर्तन गर्न चाहने तालिमप्रदायक संस्थालाई सात दिनभित्र विभागमा निवेदन पेस गर्न आग्रह गरेको छ ।

    विभागका अनुसार विभिन्न छ वटा क्लस्टरमा मलेसिया, जिसिसीमा आबद्ध देश (साउदी अरब, कतार, कुवेत, युुएई, बहराइन र ओमान), जिसिसीमा आबद्ध नभएका देशहरू (किटानी साथ अन्य क्लस्टरमा नतोकिएका एसिया महादेश, अफ्रिका महादेश र अमेरिका महादेशका देश समावेश हुुने), जापान र दक्षिण कोरिया, इजरायल, टर्की र साइप्रसलगायतका युुरोप महादेशका देश समावेश हुुने उल्लेख छ ।

    अभिमुुखीकरण तालिमप्रदायक संस्थाले क्लस्टर छनोटका लागि सम्पूर्ण विवरण खुुलाई निर्वेदन दिएमा विभागबाट अनुुगमन गरी प्राप्त अनुुगमन प्रतिवेदनको विश्लेषणका आधारमा विभागलाई उपयुक्त लागेमा एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न अनुुमति दिन सक्ने छ । साथै यसरी क्लस्टर छनोट भइसकेपछि विभागबाट अर्को निर्णय नहुन्जेलसम्म क्लस्टर परिवर्तन गर्न नपाइनेसमेत सोही सूचनामार्फत जानकारी गराइएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानुअघिको तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन देशगत तालिमको व्यवस्था गर्दै तालिम कार्यविधि–२०७६ मा दोस्रो संशोधन गरेको थियो ।

    विभागले गरेको देशगत क्लस्टर छनोटका लागि १४३ वटा तालिमप्रदायक संस्थाले तोकिए अनुसारको पूर्वाधार निर्माण गरी देशगत क्लस्टर रोज्नुुपर्ने छ । जस अनुसार हाल गल्फ कोअर्डिनेसन काउन्सिल (जिसिसी) अन्तर्गतको खाडी मुलुकका लागि १०२ वटा, युरोप समूहका लागि २४ वटा, जापान–कोरिया समूहका लागि नौ वटा, मलेसियाका लागि छ वटा, जिसिसीबाहेकका लागि दुुई वटा र इजरायलका लागि सरकारी तालिम केन्द्र छुट्याएको थियो ।

  • गोरखाको धार्चे गाउँपालिकाको पहलमा खोर्लावेशीमा बेलीब्रिज निर्माण हुने

    गोरखा, शनिबार, ९ चैत्र २०८१ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–३, खोर्लावेशीस्थित मिङरुङ खोलामा करिब ५ करोडको लागतमा बेलीब्रिज निर्माण हुने भएको छ । गाउँपालिकाको समन्वय तथा टाइम्स इनर्जी प्रा.लिको आर्थिक एवं प्राविधिक सहयोगमा मिङरुङ खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

    ‘‘बर्खाका बेला सवारीसाधन ओहोरदोहोर गर्न कठिनाइ हुँदा त्यसक्षेत्रका नागरिकलाई समस्या हुँदै आएको छ, उहाँले भन्नुभयो, ‘‘पालिका क्षेत्रमा हाइड्रो निर्माण गर्न लागेकाले टाइम्स इनर्जीेको सामाजिक उत्तरदायित्वको बजेटमार्फत बेलीब्रिज निर्माण गर्न लागिएको हो ।’’ उक्त बेलिब्रिज ३० मिटर लम्बाइ र ४ मिटर चौडाइको हुने गरी स्टमेट डिजाइन गरिएको छ ।

    बेलीबिज्र निर्माणपछि धार्चेको खोर्लावेशी, हुलचुक, उहियाँ, रुन्चेत, चुमनुब्री गाउँपालिका सातवटै वडाका नागरिकहरु लाभाव्दित हुने उहाँले बताउनुभयो । बेलीब्रिज निर्माणको काम तीन महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका प्रवन्ध निर्देशक हिम पाठकले जानकारी दिनुभयो ।

    ‘‘पारिपट्टीको चट्टान ‘ब्लास्टिङ’ ढुङ्गा फाल्न सकियो भने तीन महिना भित्रमा पुल निर्माण सक्नेगरि काम अगाडी बढाउन लागिएको छ, उहाँले भन्नुभयो, ‘‘अहिले हिउँदमा मात्र सडक सञ्चालनमा रहेको यसक्षेत्रमा पुल निर्माण भएपछि बर्खाका बेलामा समेत नियमित यातायात सञ्चालन गर्न सकिनेछ ।’’

    उक्त बेलीब्रिजको बुधबार एक कार्यक्रममा बिच गाउँपालिका अध्यक्ष गुरुङले शिलन्याससमेत गर्नुभएको छ । टाइम्स इनर्जी प्रा.लिले धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रमा पर्नेगरि बुढीगण्डकी नदीमा ३४१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अघि बढाइसकेको छ । आगामी ५ बर्ष भित्रमा आयोजना निर्माण सम्पन्न हुने पाठकले बताउनुभयो ।

  • धार्चे ७ लापुबेंशीको प्रभात किरण माध्यामिक विद्यालयमा निर्माण भएको भवन हस्तान्तरण

    गोरखा, बिहीबार, ७ चैत्र २०८१ । गोरखाको धार्चे गाउँपालिका–७ लापुबेंशीको प्रभात किरण माध्यामिक विद्यालयमा निर्माण भएको भवन हस्तान्तरण भएको छ ।

    जापान सरकार परराष्ट्र मन्त्रालयको अनुदान सहयोग एवं चाइल्डफण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले निर्माण गरेको उक्त भवन मंगलबार एक कार्यक्रमका विच विद्यालय लाई हस्तान्तरण गरिएको हो ।
    नेपालको लागि जापानको दुतावासका चार्ज डी अफ्यर एड इन्टेरियमतामुरा ताकाहिरो र गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङले संयुक्त रुपमा भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

    सो अबसरमा बोल्दै ताकाहिरोले गोरखाको दुर्गम गाँउमा आएर विद्यालय बनाउन पाउँदा खुशी लागेको बताए । विद्यालय भवन निर्माण भएपछि बालबालिकाहरुले सुरक्षित रुपमा पढ्न पाउने भन्दै उनले पढाईको गुणस्तरमा समेत सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरे । गाउँपालिकाको अध्यक्ष गुरुङले ९ महिनामै भवन निर्माण सम्पन्न गरेको भन्दै संस्था प्रति आभार व्यक्त गरेका थिए ।

    २०७२ सालको भुकम्प भत्काएपछि लामो समयसम्म पुर्ननिर्माण हुन नसकेको उक्त विद्यालय भवन वडा कार्यालय, गाउँपालिकाको अनुरोधमा एकिकरण नेपाल गोरखाले निर्माण सम्पन्न गरेको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए । झण्डै ४ करोड लगानीमा बनेका भवनमा ८ वटा कक्षा कोठा रहेका छन् ।

    ग्याबिन पर्खाल, कक्षा कोठा फर्निचर, खानेपानीको व्यवस्था, खेल मैदान लगायतका संरचना निर्माण गरिएको उनले जानकारी दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, चाइल्डफण्ड जापानको कार्यक्रम निर्देशक माछाहिरो, नेपालको निर्देशक आङ पासाङ शेर्पा, वडा नं. ७ का अध्यक्ष राकेश गुरुङ, विद्यालयको प्रधानाध्यापक जीबबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

  • आजदेखि आठौं संस्करणको निफ महोत्सव

    काठमाडौँ, बिहीबार, ७ चैत्र २०८१ । आज (बिहीबार)देखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुन गइरहेको छ । सोमबारसम्म काठमाडौंमा हुने आठौं संस्करणको निफमा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

    आज दिउँसो डेढ बजे क्युएफएक्स सिभिल मलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा उद्घाटन हुने महोत्सवको पहिलो दिन मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन हुनेछ । अन्तिम दिन अर्थात् चैत ११ गते सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट समापन हुनेछ ।

    ‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।’ प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सोसम्बन्धी विषयमा बनेका चलचित्रको प्रतिस्पर्धा पनि हुने उल्लेख छ ।

    महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।

    एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

    महोत्सवमा सहभागी हुन ५० बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरू नेपाल आएकोे आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्वारा जारी विज्ञप्तिमार्फत् जनाइएको छ ।

    यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा, चलचित्र समीक्षक सम्पादक रीता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाहलगायत रहनुभएको छ ।

    महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई विशेष प्रदर्शन गर्ने योजनाअनुसार यस वर्ष महोत्सवको तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

    महोत्सवअन्तर्गत नै शनिबार आयोजना हुने उक्त फिल्म डेमा रसियाका तीनवटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा तीनवटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डका लागि चैत ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म खल्ती एपबाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको आयोजकले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

  • ग्लोबल आइएमई बैंकद्वारा दुर्लभ तस्वीर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौँ, बिहीबार, ७ चैत्र २०८१ । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गर्नुभएको हो ।

    क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छ ।

    तस्वीरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ ।

    क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउनु भयो ।

    विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’

    कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ५० लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

  • आजदेखि एसइई, दुई हजार ७९ परीक्षा केन्द्र, पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी

    काठमाडौँ, बिहीबार, ७ चैत्र २०८१ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।

    परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।

    यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।

    परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।

    यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।