Blog

  • गोरखाका आठ स्थानमा विद्युत् आयोजनाको सर्वेक्षण

    गोरखा, मंगलबार, २० फागुन २०८१ । गोरखा जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् ।

    बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर कम्पनीलाई सर्वेक्षण अनुमति दिइएको हो । चालु आर्थिक वर्षभित्र सर्वेक्षण पूरा गर्न दुवै कम्पनी सर्वेक्षणमा जुटेका छन् ।

    चुन्चेत र सिर्दिबासमा २०३ मेगावाट क्षमताको ‘माथिल्लो बूढीगण्डकी जलविद्युत् आयोजना’ निर्माणको अनुमित नबिल डेभ्लोपर्सले पाएको छ । मस्र्याङ्दीबाट ९० मेगावाट जलविद्युत् निकाल्न पेल्मा हाइड्रोपावर प्रोजेक्टलाई सर्वेक्षण अनुमति दिइएको छ । यो कम्पनीले गोरखाको पालुङटार नगरपालिका र तनहुँको भानु नगरपालिकामा ‘मस्र्याङ्दी खोला जलविद्युत् आयोजना’ निर्माणका लागि आगामी असोजभित्र सर्वेक्षणको काम सम्पन्न गर्ने जनाएको छ ।

    एमए इनर्जी भेञ्चर्सले पनि गोरखामा जलविद्युत् सर्वेक्षण गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको छ । कम्पनीले सहिद लखन गाउँपालिकास्थित देउराली, मनकामना र बक्राङको दरौँदीबाट १४।९ मेगावाट क्षमताको ‘दरौँदी÷मस्र्याङ्दी जलविद्युत् आयोजना’ निर्माणको सर्वेक्षण गर्न लागेको हो ।

    खानदह हाइड्रोपावर प्रालिले ‘सुपर दरौँदी खोला ई जलविद्युत् आयोजना’ निर्माणका लागि सर्भेक्षण गर्न सुरु गरेको छ । बारपाकमा निर्माण गरिने प्रस्तावित ९।४ मेगावाट क्षमताको सो आयोजनाको २०८३ साउनसम्ममा सर्वेक्षण हुने उक्त कम्पनीले जनाएको छ ।

    बारपाककै दोर्दी खोलामा सात मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि गोरखा दरौँदी हाइड्रोपावर प्रालिले अनुमतिपत्र लिएको छ । कम्पनीले २०८३ असोजभित्र ‘सुपर दरौँदी–पाउखोला जलविद्युत् आयोजना’ निर्माणका लागि सर्वेक्षण गरिरहेको छ । मेटा ऊर्जा प्रालिले धार्चे गाउँपालिका–१ को दोभान खोलामा ५।२ मेगावाटको ‘माथिल्लो दोभान खोला जलविद्युत् आयोजना’ निर्माणका लागि २०८३ पुसभित्र काम सक्ने गरी सर्वेक्षण गरिरहेको बताएको छ ।

    यसैगरी, पेल्टोन हाइड्रो इनर्जी प्रालिले केरौँजाको यारु खोलाबाट १३ मेगावाट क्षमताको ‘माथिल्लो यारु खोला जलविद्युत् आयोजना’ निर्माणका लागि सर्वेक्षण अनुमति लिएको छ । कम्पनीले २०८३ पुसभित्र सम्पन्न गर्ने गरी सर्वेक्षणको काम सुरु गरेको जनाएको छ ।

  • “सहिष्णुताका लागि सञ्चार” आईपीएम समाचार आजदेखि आठौँ बर्षमा प्रबेश

    आई.फूलबारी मिडिया नेटवर्क प्रा. लि द्वारा सञ्चालित “सहिष्णुताका लागि सञ्चार” आईपीएम समाचार डट कम (www.ipmsamachar.com) आजदेखि सातौ वर्ष पुरा गरी आठौँ वर्षमा प्रबेश गर्न सफल भएको छ । आज फागुन २० गते, आजको दिन हामी नेपाली डिजिटल पत्रकारितामा नयाँ आयामका साथ सन्चालन गरेका थियौ । यो सानो यात्रा हो । यो यात्रालाई अझै सशक्त र मजबुत बनाउने हाम्रो प्रण छ ।

    आठौँ बर्षमा प्रवेश गरेको सुखद् अनुभुति तपाई पाठक र दर्शकलाई सुनाउन पाउँदा हामी मन प्रफुल्ल भएका छौ । आठौँ बार्षिक उत्सबको अवसरमा दु:ख बिर्साउन सहयोग गर्ने आम पाठकवर्ग, बिज्ञापनदाता, सम्पादक मण्डल, सहयोगी, नेपाल पत्रकार महासंघ, सम्बाददाता, प्रत्यक्ष तथा अ-प्रत्यक्ष रुपमा सहयोग गर्नुहुने र अगाडी बढ्न हौसाउने बौद्धिक बर्गलाई एक पटक कम्पनीको तर्फबाट सम्पूर्ण महानुभाबहरुप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ब्यक्त गर्न चाहन्छौ ।

    बिश्वभरी छरिएर रहनु भएका नेपालीहरु बिच निकै लोकप्रिय रहेको ipmsamachar अनेक आरोह र अवरोहका बिच आजदेखि आठौँ बर्षमा पाइला टेक्न सफल भएको छ । देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्रिका उपस्थित भएको छ ।

    जहाँ इच्छा आकांक्षासंगै कर्ममा निरन्तरता हुन्छ, त्यसले सफलता पाउछ भन्ने लामो उद्देश्य र लक्ष्यका साथ हामी अडिक भएर अगाडि बढेका छौं । यस संचार माध्यमले छोटो समयमा नै देश-विदेशमा रहनु भएका समस्त आम नेपालीहरुको मन जित्न सफल भएको छ । मुलुकको केन्द्रमा रहेर पनि आवाजबिहिनहरूको आवाज बनि सुचनाको सम्बाहक, ग्रामिण भेग र खोज पत्रकारीता निरन्तरता दिँदै यस अनलाइनले नेपाल र नेपालीको मात्र नभइ राष्ट्रिय तथा अन्तराष्ट्रिय तथा प्रवासका समाचारलाई समेत द्रुत गतिमा प्रकाशन, प्रसारण गर्दै आइरहेको यहाँहरुलाई अवगत नै रहेको छ ।

    स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको उच्च रोजाइमा पर्न सफल यस अनलाइनले पाठक, दर्शकहरू माझ निष्पक्ष, पारदर्शी एवम सत्य तथ्य समाचार प्रकाशन गर्दै आइरहेको छ । विश्वभरीका पाठकहरूसमक्ष सत्य तथ्य समाचार प्रकाशन गर्दै आएको यस अनलाइनले ipmsamachar आठौँ बर्षमा प्रवेश गरेसंगै आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रण पनि यहाँहरु सामु गर्न चाहान्छौं ।

    साथै, आगामी दिनहरूमा पनि तपाइहरुको साथ सहयोग, सल्लाह, सुझाबको अपेक्षा राखेका छौं । तपाई पाठकवर्गको चाहना अनुरुप, जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम प्रयोग गरेर विभिन्न असहज परिस्थितिहरुलाई पनि सहज रुपमा लिदै यात्राका अझ फराकिला बाटाहरु बनाउदै युद्द गतिमा हामी सशक्त रुपमा अगाडी बढी रहेका छौ ।

    जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन । भ्रष्टाचार, कालोबजारी, करछली र जनतालाई आर्थिक, सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह, व्यक्ति वा प्रवृत्तिविरूद्ध समाजलाई जागरुक बनाउने एउटा अभियानकै रूपमा सिमपानी न्युजलाई यसका शुभचिन्तकले मान्ने र माया गर्ने विश्वास हामीले लिएका छौँ ।

    देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा ipmsamachar को दैनिक क्रियाकलाप हुनेछ । तपाईहरुको समय समयमा दिनु भएका राय सल्लाह, सुझाब एब प्रतिक्रियाहरुलाई हामीले हाम्रो मार्गदर्शन बनाएका छौ । आगामी दिनमा पनि तपाईहरुको राय सल्लाह, सुझाब एब प्रतिक्रियाको अपेक्षा गरेका छौ ।

    हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगर्ने र ताजा समाचार, मनोरञ्जन, बिचार, प्रवास, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ । हाम्रा अगाडि चुनौतीहरु होलान् तर हामी अवसर सिर्जना गर्न लाग्नेछौँ । हाम्रा अगाडि अप्ठ्याराहरु होलान् तर हामी सम्भावनाका खोजीमा अघि बढ्नेछौँ ।

    हाम्रा अगाडि समस्या होलान् तर हामी समाधानका मार्गहरु प्रशस्त गर्न दृढ रहनेछौँ । हाम्रो यात्रा गन्तव्य प्राप्तिका लागि नभई गन्तव्यतर्फको मार्ग प्रशस्त गर्नका लागि हो । हामी मात्र संख्याको रुपमा होइन, हामी हाम्रो उपस्थितिलाई जिम्मेवारीपूर्वक दर्शाउन प्रतिबद्ध छौँ । समाजका विभिन्न क्षेत्र र पक्षका आम जनजीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने सबै खालका घटना हाम्रो लागि सूचना र समाचारका आधारहरु हुनेछन् । गम्भीर र गहन विषयवस्तु मात्र नभएर मनोरञ्जनका विविध पक्षलाई पनि हामी हाम्रो विषयवस्तुमा समेट्ने छौं ।

    समग्रमा हामी तपाईंलाई समाचार होइन हामी तपाईंको समाचार बनेर तपाईं सामू प्रस्तुत हुनेछाैँ । हामी यहाँहरुको साथ, शुभेच्छा, सल्लाह, सुझाव र मार्ग निर्देशनलाई सकरात्मक रुपमा ग्रहण गरी अझ परिमार्जित र परिष्कृत रुपमा प्रस्तुत हुन सदैव अग्रसरता देखाउनेछौँ ।

    शुभ बिहानी देखि मध्यरातसम्म हाम्रो प्रयास रहनेछ, सन्तुलित र तथ्यसहितको समाचार दिन । हामीलाई साथ दिनुहाेस्, हामी तपाईंलाई तपाईंका कुरा पस्कनेछौँ । जुन तपाईंलाई अझै प्रिय लाग्नेछ । नयाँ यात्राको लागि हामी तपाईंसँगै छौँ । आउनुहोस् हातेमालो गरौँ । अन्त्यमा, हामी मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमानप्रति जिम्मेवार छौं र रहने छौं भन्ने प्रण समेत दिलाउदैँ आगामी दिनमा अझ सशक्त कलम चलाउने प्रतिबद्धता जनाउन चाहन्छौं ।

    आई. फूलबारी मिडिया नेटवर्क प्रा.लि.
    २०८१ साल फागुन २० गते मंगलबार ।

  • मन्त्रालयले कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी

    काठमाडौँ, सोमबार, १९ फागुन २०८१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघदेखि स्थानीय तहसम्मका सबै निकायलाई कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी गरेको छ ।

    संघीय तथा प्रादेशिक कर्मचारी शाखाद्वारा प्रेषित पत्रमा पदस्थापना सरुवा गरिएका, काज खटाइएका तथा काज फिर्ता गरिएका, कर्मचारी समायोजन ऐनअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई अहिलेसम्म रमाना नदिएको भन्दै पुन: ताकेता गरिएको छ ।

    स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका कर्मचारीलाई पनि रमाना नदिएको/नलिएको भन्दै यसबाट सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

    त्यस्ता कर्मचारीलाई ५ दिनभित्र रमाना दिन, रमाना अवधि गुज्रिएकाको किरिया बिदा, बिरामी बिदा र प्रसूति बिदाबाहेक अरु बिदा स्वीकृत नगराउन, तलब हाकिम र लेखापालबाट भराउन र कार्यान्वयन नगरे कार्यालय प्रमुखलाई कारवाही गर्न भनिएको छ ।

  • भूकम्पले सिन्धुपाल्चोकको दुगुनागढीमा पहिरो

    काठमाडौँ, शुक्रबार, १६ फागुन २०८१ । सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पहिरो गएको छ ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो ।

    “मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको छ,” प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, “घर नभएको ठाउँमा पहिरो गएकाले मानवीय क्षति हुन पाएन ।” हालसम्म मानवीय क्षेतिको जानकारी नआएको उनले बताए ।

    जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दी घाइते भएका छन् । “भूकम्प आएपछि आत्तिएर दोस्रो तलाबाट हामफाल्ने क्रममा एकजना कैदीको हात भाँचिएको छ,” जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक किरण लामाले भने, “उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ ।”

    क्षतिको अन्य विवरण नआएको उनले बताए ।

    राति २ : ५१ बजे सिन्धुपाल्चोकका भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • शुक्रबार ७:३५ सम्म २३ परकम्प, परकम्प अझै रोकिएको छैन : भूकम्पविद्

    काठमाडौँ, शुक्रबार, १६ फागुन २०८१ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ ।

    “२.३ देखि ३.८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्,” भूकम्पविद् कोइरालाले भने, “सानासाना करकम्प आउनेक्रम जारी छ ।”

    गोरखा भूकम्पको परकम्प गएकाले सानासानो ‘आफ्टर सक आइरहने उनले बताए । राति २:५१ बजे सिन्धुपाल्चोकका भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • धार्चे गाउँपालिकामा दश दिनसम्म बाँसको मुढा बनाउने तालिम

    गोरखा, बुधबार, १४ फागुन २०८१ । सामाजिक सुरक्षा सुविधा उपभोग नगर्ने (ख र ग वर्गका) अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी धार्चे गाउँपालिकामा बाँसको मुढा बनाउने तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजनामा मंगलवारबाट तालिम सुरु भएको हो ।
    दश दिनसम्म चल्ने तालिममा ११ जना सहभागी छन् ।

    पालिकाले सहभागीलाई खान र बस्नको निशुल्क व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमूलक तालिम प्रदान गरी आर्थिक रुपले सबल बनाउने उद्देश्य सहित तालिम संचालन गरिएको पालिकाकी सामाजिक बिकास शाखा प्रमुख रेनुका चालिसेले बताइन् । ‘तालिम पश्चात सहभागीहरुले उत्पादन गर्ने मुढाको बजार व्यवस्थापनका लागि पनि पालिकाले सहजिकरण गर्छ,’ उनले भनिन् ।

    तालिमको बुधवार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका हुन् । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय तिमिल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । तालिम अवधिभर प्रशिक्षक झम्कप्रसाद तिवारीले सहजिकरण गर्ने छन् ।

  • गोदावरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मिलन सिलवाल सम्मानित

    गोदावरी, बुधबार, १४ फागुन २०८१ । नेपाली सेनाले विविध कार्यक्रम गरी आज २६२ औं सेना दिवस मनाएको छ ।

    गोदावरी नगरपालिका प्रवक्ता एव वडा नं ५ का वडा अध्यक्ष मिलन सिलवाल सम्मानित हुनु भएको छ । २६२ औँ सेना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मिलन सिलवाललाई “प्रधान सेनापति प्रशंसा निशान” बाट सम्मानित गरिएको हो ।

    दिवसको अवसरमा काठमाडौंस्थित सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहका बीच सेनाले युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजीलगायतको आकर्षक सैनिक कौशल प्रदर्शन गरेको थियो ।

    सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

  • महाशिवरात्रीको अवसर पारेर रक्तदान सम्पन्न

    काठमाडौँ, मंगलबार, १३ फागुन २०८१ । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् ।

    हिन्दु धर्मावलम्बिहरुको महान चार्ड महाशिवरात्रीको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रम हिमाल व्लर्ड एशोशियसनसंगको सहकार्यमा सम्पन्न भएको थियो ।

    रक्तदान जीवन दान, आत्माज्ञान अति महान भन्ने नाराका साथ सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले आपतकालिन अवस्थामा संस्था सधै रक्तदान गर्न तयार रहेको बताए । उनले भने, ‘रगतको अभाव अरु कुनै पनि कुराले पुरा गर्न सक्दैन । त्यसै खेर जाने रगत दिदा कसैको जीवन वचाउन सकिन्छ भने किन नदिने ?’ यस्तै, हिमाल हस्पिटलकी ल्याव टेक्नोलोजिष्ट निशा भण्डारीका अनुसार अरु संस्थामा भन्दा मानव धर्ममा भएको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बताए । उनले भनिन्, ‘अन्त संकलनका लागि जादा पुरुषको संख्या बढी हुने गरेको तर यहाँ भने महिलाहरु नै स्वः स्फुर्त रुपमा आएको देखेर खुसि लाग्छ ।’ भण्डारीका अनुसार समितिमा सबै शाकाहारी भएको र अल्कोहका कारण रिजेक्सन नभएका कारण पनि संकलन राम्रो हुने गरेको छ ।

    २० पटक रक्तदान गरिसकेका कुमार ओझाका अनुसार शुरुमा आफुले दिएको रगतले एउटी सुत्केरी महिलालाई बचाउन सकेको र उनले पाएको पुर्नजीवनले परिवारमा ल्याएको खुसीले आफूलाई सधैभरी रक्तदान गर्न प्रेरणा दिएको बताए । समितिले हरेक वर्ष विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

  • बिलिङ प्रणालीको नयाँ टेन्डर आह्वान गर्ने अन्तिम तयारीमा टेलिकम

    काठमाडौँ, मंगलबार, १३ फागुन २०८१ । नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदका निम्ति टेन्डर (बोलपत्र) आह्वान गर्ने भएको छ । बिलिङ प्रणाली खरिदका निम्ति आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको टेलिकमले जनाएको छ ।

    टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ सिस्टम (सीआरटीबी) का निम्ति यसअघि ०८० चैत १८ गते टेन्डर आह्वान गरेको थियो । तर, विवादपछि उक्त टेन्डर प्रक्रिया रद्द भएको थियो । सर्वाेच्च अदालतमा मुद्दा नै परेको थियो ।

    सर्वोच्चले बिलिङ प्रणाली खरिद गर्दा नागरिकको विवरण सुरक्षित राख्न र कम्पनीको हितलाई प्राथमिकता दिन आदेश गरेको थियो । त्यसपछि टेलिकमले प्राविधिक टिमबाट थप अध्ययन गराउँदै नयाँ खरिद प्रक्रिया अघि बढाएको हो ।

    बिलिङ प्रणाली खरिदको टेन्डर चाँडै आह्वान गरिने टेलिकमका प्रवक्ता हरि ढकालले बताए । “आवश्यक प्रक्रिया सबै पूरा भइसकेको छ, चाँडै टेन्डर आह्वान हुन्छ,” उनले भने ।

  • महाशिवरात्री बिशेष : पशुपतिमा सशस्त्रका स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित १३ सय जनशक्ति परिचालन

    काठमाडौँ, मंगलबार, १३ फागुन २०८१ । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब १३ सय जनशक्ति परिचालन गरेको छ ।

    शिवरात्रिको दिन स्वेदश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रूपमा दर्शन गर्ने वातावरण मिलाउन सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमान्डमा मंगलबार १० बजेदेखि नै सुरक्षाकर्मी परिचालन गरेको हो । मेलाको समग्र नेतृत्व नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ ।

    उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन् । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सुरक्षा र आसपासका क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सादा पोसाकमा समेत सशस्त्र प्रहरी परिचालन गरिएको छ । सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले त्यस क्षेत्रमा भएका कामकारबाहीको सूक्ष्म रूपले खबर संकलन गर्नेछन् ।

    त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतका लागि नं १९ बगलामुखी विशेष कार्यदल गणमा ३ प्लाटुन सुरक्षा फौज जुनसुकै बेला परिचालन हुन सक्नेगरी तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । मेला अवधिभर भक्तजनको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले खानेपानी तथा घुम्ती शौचालयको समेत व्यवस्था गरेको छ ।

    त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले नेपाल एपिएफ अस्पतालका स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेस्कबाट ४ जना चिकित्सकसहित २५ जनाले मेला अवधिभर स्वास्थ्य सेवा प्रदान गर्नेछन् भने नं २० विपद् उद्धार गणमा विपद् व्यवस्थापन तालिमप्राप्त १५ जनाको टोली आवश्यक सामग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको सशस्त्रका सहप्रवक्ता एसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।