Blog

  • गलत र नकारात्मक सन्देश फैलाउने काममा नलाग्न गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको आग्रह

    ललितपुर, फागुन ९ गते । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले बिहीवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो धारणा राख्नुभएको हो ।

    गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले पत्रकारलाई गलत र नकारात्मक सन्देश फैलाउने काममा नलाग्न आग्रह गर्नुभयो । पेशाप्रति प्रतिबद्ध भएर समाजप्रतिको जिम्मेवारीबोध गर्दै निर्धक्कसाथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।

    “वाक् तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने काम पनि स्वीकार्य हुँदैन, पत्रकारितामा प्रश्न नउठ्नेगरी काम गर्न मेरो आग्रह छ, अदृश्य लगानीका कारण केही समय मिडिया सञ्चालन हुने अनि निरन्तरता नपाउने अवस्था हुनुहुँदैन” उहाँले भन्नुभयो । नकारात्मकता र एक पक्षको पक्षपोषक भएर पत्रकारिता नगर्न आग्रह उहाँले गर्नुभयो ।

    उहाँले वर्तमान समयमा आशावादी कुरालाई सञ्चार गर्नुपर्ने र सकारात्मक सन्देश दिनुपर्ने आवश्यकता छ भन्दै हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्ने जिम्मा पत्रकारमा रहेको बताउनुभयो। उहाँले विदेशमा रहेका नागरिकले आफ्नो देशको बारेमा राम्रो कुरा सुन्न पाउन् भन्दै पत्रकारिताले सकरात्मक सन्देश दिन सकोस्’ भन्नुभयो । कार्यक्रममा मिडिया कुराकानीका सम्पादक एवम् प्रशिक्षक रविराज बरालले पत्रकारितामा एआईको प्रयोग र चुनौती विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष भवानी बरालले पत्रकारितामा सूचना प्रविधिको प्रभाव, पत्रकारको जिम्मेवारी, समाजप्रतिको दायित्व, प्रविधिको उपयोग, पक्षधरताका विषयमा प्रशिक्षण दिनुभयो ।

    त्यसैगरी, राजधानी दैनिकका पूर्व सम्पादक डिल्ली आर्चायले पत्रकारिताको आधारभूत अवधारणा विषयमा प्रशिक्षण दिनुभयो । पत्रकार महासङ्घका अध्यक्ष रामहरि कार्कीले गोदावरी नगरपालिकासँग निरन्तर सहकार्य हुने अपेक्षा राख्दै महासङ्घले नगरपालिकाको सञ्चारनीति र विज्ञापन नीतिमा आवश्यक सहयोग र सुझाव दिनसक्ने बताउनुभयो ।

  • लखन थापा फुटबल प्रतियोगिताः प्रथम हुनेलाई एक लाख

    दाङ, शुक्रबार, ९ फागुन २०८१ । नेपालका प्रथम सहिद लखन थापा मगरको १४८ औँ स्मृतिमा घोराहीमा जारी खुल्ला नकआउट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वाटरफाइनलमा सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टीमको टुंगो लागेको हो ।

    प्रतियोगिताको सेमिफाइनलमा बिएफएल, युएनबीसी, नवलपुर फुटबल एकेडेमी र चौघेरा स्पार्ट्स एकेडेमी प्रवेश गरेका हुन्। नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका वडा १८ नवलपुर फुटबल मैदानमा जारी खुल्ला नकआउट प्रतियोगितामा बिहीबार भएको तेस्रो क्वाटरफाईनलमा युएनबीसीले युनाईटेड लालमटिया फुटबल क्लबलाई २–१ गोल अन्तरले तथा चौथो क्वाटरफाईनलमा नवलपुर फुटबल एकेडेमीले टरीगाउँ युथ क्लबलाई ३–० गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

    १–० को अग्रता जोगाउन नसक्दा लालमटिया युएनबीसीसँग हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । नवलपुर फुटबल एकेडेमीले टरीगाउँ युथ क्लब विरुद्ध सहज जीत निकाल्दै अन्तिम चारमा पुगेको छ ।

    यसअघि बुधबार भएको पहिलो क्वाटरफाईनलमा खेलमा चौघेरा स्पोर्टस् एकेडेमीले माडीचौर फुटबल क्लब रोल्पालाई ५–१ गोलले तथा दोस्रो क्वाटरफाईनलमा बिएफएलले खोजरफ्तारको टीमलाई ५–० गोलले हराउँदै सेमिफाईनल प्रवेश गरेका हुन् । अब प्रतियोगिता अन्तर्गत आज शुक्रबार सेमीफाईनलका दुई खेल हुनेछ । जसअनुसार दिउँसो १२ बजे पहिलो सेमीफाईनल चौघेरा स्पोर्ट्स एकेडेमी र युएनबीसीबिच खेल हुनेछ । दोस्रो सेमीफाईनल बिएफएल र नवलपुर फुटबल एकेडेमीबिच खेल हुने प्रतियोगिता संयोजक इराक घर्तीले जानकारी दिनुभयो ।

    दाङसहित सल्यान, रोल्पाका गरी कुल १६ टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक घर्तीले बताउनुभयो । फागुन १० गते फाईनल खेल हुनेगरी तयारी गरिएको प्रतियोगिता सहसंयोजक अशोक घर्तीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमलाई ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकको भनाइ छ ।

  • बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

    काठमाडौँ, बिहीबार, ८ फागुन २०८१ । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई औषधि हस्तान्तरण गरेका हुन् । प्राप्त औषधि भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारमा प्रयोग हुने जनाइएको छ ।

    नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधि केही दिनअघि प्राप्त गरेको थियो । पहिलो चरणमा एक वर्षका लागि तीन प्रकारका औषधि प्राप्त भएका थिए । डब्लुएचओ र ‘सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’को संयुक्त सहकार्यमा विसं २०८० चैत १४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र डब्लुएचओबीच बाल क्यान्सर उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सम्झौता भएको थियो ।

    औषधी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनको काम गरिरहेको बताए । उनले भने, “कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट वञ्चित हुन नपरोस् भनी निःशुल्क उपचारको व्यवस्था गरेका छौँ । औषधिको सहयोगले बालबालिकाको क्यान्सर उपचार प्रभावकारी हुनेमा विश्वस्त छौँ ।”

    सम्झौताअनुसार आगामी पाँच वर्ष (सन् २०२५ देखि २०३० सम्म) का लागि ती संस्थाले ले ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउनेछ । यस कार्यक्रममार्फत औषधि प्रदान गर्नुको साथै ती औषधिको उचित भण्डारण र व्यवस्थापनमा चार वटा अस्पताललाई आवश्यक ‘रेफ्रिजेरेटर’ र ‘हाइग्रोमिटर’ खरिद गरी सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा हरेक वर्ष करिब एक हजार पाँच सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सीमित पहुँच र स्रोत अभावका कारण तीमध्ये करिब एक–तिहाइले मात्र उपचार पाउने गरेका छन् । नेपालमा क्यान्सरपीडित बालबालिकाको बाँच्ने सम्भावना दर केवल ३० प्रतिशत छ । विकसित मुलुकमा यो दर ८० प्रतिशत भन्दा बढी छ ।

  • जनयुद्धमा तीन छोराछोरी गुमाएका बुबाआमालाई गोरखा पुगेर प्रचण्डले भेटे

    गोरखा, बिहीबार, ८ फागुन २०८१ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको र उनीहरू देशका साझा सम्पत्तिको रूपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

    गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    ‘‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरू भएका छन्, तीमध्ये सबैभन्दा ठुलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो ।,’’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरू देशका साझा सहिद हुन्, उनीहरूको सम्मान गर्नु राज्यको दायित्व हो ।’’

    पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरूको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुहुँदै उहाँले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रूपमा स्थापित गरेको बताउनुभयो । यसमा छुटेका नामहरू निरन्तर सहिदको सूचीमा समावेश गरिने जानकारी पनि उहाँले दिनुभयो ।

    सहिदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब बदलिएको व्यवस्थाअनुकुल जनताको अवस्था बदल्न अभियानात्मक रूपमा अघि बढ्ने जानकारी दिनुभयो । शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गर्दै उहाँले पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरू पार्टी रूपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशव्यापीरूपमा अघि बढेको जानकारी दिनुभयो ।

    अध्यक्ष प्रचण्डले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्नुहुँदै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको घेटघाटमा आइरहने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रूपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गर्नुभयो ।

    सो क्रममा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङ निवासी सहिदहरूका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गर्नुभएको थियो । उहाँका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरू सरस्वती नहर्की ‘विपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूना’ले २०५८ असार २३ गते लमजुङ बिचौरमा सहादत प्राप्त गर्नुभएको थियो ।

    त्यसलगत्तै अध्यक्ष प्रचण्ड गोरखाको पालुङ्टार ८ स्थित घरमा पुगेका सहिद विरेन ओलियाका बिरामी बुवा देवराज ओलियालाई पनि भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सो क्रममा उहाँले सहिद परिवार र स्थानीयसँग साक्षात्कार गर्नुभएको थियो ।

  • सिरानचोक गाउँपालिकाका नौ विद्यालयलाई प्याड भेण्डिङ र इन्सिनेटर मेसिन सहयोग

    गोरखा, बिहीबार, ८ फागुन २०८१ । रोटरी क्लब अफ गोरखाले सिरानचोक गाउँपालिकाका नौ माध्यामिक विद्यालयलाई प्याड भेण्डिङ र इन्सिनेटर मेसिन सहयोग गरेको छ ।

    फाउण्डेशन नेपालमेडसंगको सहकार्यमा रोटरी गोरखाले सिरानचोक गाउँपालिकाका सबै वडालाई समेटिने गरी नौ विद्यालयलाई सो स्यानिटरी प्याड भेण्डिङ मेसिन र सेफ्टी इन्सिनेटर (सुरक्षित जलाउने) मेसिन सहयोग गरेको हो ।

    ४ लाख ५० हजार रुपैया बराबरको सो मेसिनहरु आज एक कार्यक्रमकावीच गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष विनोद कुमार बस्न्यातले बताए ।

    रोटरी क्लबबाट प्राप्त मेसिनहरुले पालिभरका माविमा अध्ययनरत छात्रा विधार्थीहरुलाई सहज हुने पालिका अध्यक्ष गुरुङले विश्वास ब्यक्त गरे । कार्यक्रममा रोटरीका डिष्ट्रिक्ट अफिसर पवनरवण खनाल, क्लबका पूर्व अध्यक्ष भेषबहादुर खड्का लगायतले बोलेका थिए ।

  • ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन प्रेस युनियनको माग

    काठमाडौँ, बिहीबार, ८ फागुन २०८१ । नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।

    युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ ।

    विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो ।

    सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षेत्रमा थपेका चुनौती, सञ्चारसँग सम्बन्धित ऐन, कानुन, सञ्चारमाध्यमका समस्यालगायत विषयमा घनिभूत छलफल गरी १२ बुँदे घोषणापत्र सार्वजनिक गरिएको जनाएको छ ।

    सम्मेलनमा महासचिव दिलीप पौडेलद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग संयोजक प्रेम केसीद्वारा प्रस्तुत अनुशासन समितिको प्रतिवेदन पारित गरिएको छ । सम्मेलनले दिएको सुझावका आधारमा केन्द्रीय समितिले तयार गर्ने कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा पनि युनियनले गरेको छ ।

    सदस्यतालाई थप व्यवस्थित गर्दै युनियनको विधानमा भएको व्यवस्थाअनुसार क्रियाशील पत्रकारलाई समावेश गरेर सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने र प्रदेश तथा शाखाहरूले वैशाख मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने पनि घोषणा गरिएको छ ।

    श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन, नियमित पारिश्रमिक भुक्तानी, पत्रकारको पेसागत, भौतिक, आर्थिक, सामाजिक सुरक्षालगायत विषयमा सरकार तथा सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै आवश्यकताअनुसार युनियनका सबै संरचनाले दबाबमूलक अभियान अघि बढाउने पनि घोषणा गरिएको छ ।

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाबारे ध्यानाकर्षण भएको जनाउँदै संविधानप्रदत्त अधिकार सुनिश्चित हुने गरी सञ्चारसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन, नियमावली बनाउन तीनै तहका सरकारसँग युनियनले जोडदार माग गरेको छ ।

    “मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको प्रभाव विज्ञापन बजारमा परेकाले छापा, टेलिभिजन, रेडियो सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । अनलाइन सञ्चारमाध्यम खोल्ने क्रमले व्यापकता पाएको अवस्थामा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनमा समावेश गरी विज्ञापनको रकम वृद्धि गर्न प्रदेश एवं शाखा अध्यक्षको सम्मेलन आग्रह गर्दछ”, जारी घोषणापत्रमा भनिएको छ ।

    व्यावसायिक पत्रकारिता, पत्रकारको पेसागत सुरक्षा, पत्रकारको क्षमता विकासलगायत विषयमा केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकारसँग प्रेस युनियन’ अभियानलाई प्रभावकारी बनाउन क्षमता विकास, पत्रकारिताको विधागत प्रशिक्षण, पत्रकार दुःखसुखमा साथ दिने कार्यक्रम, बिमा, सामाजिक सुरक्षा, प्रोत्साहन तथा लेखनवृत्तिलगायत कार्यक्रम सबै शाखा र प्रदेश समितिले कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलनले व्यक्त गरेको छ ।

    प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) लाई समयानुकूल र व्यावहारिक बनाउन विधान संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ ।

  • धार्चेमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन सम्बन्धी एक दिने पालिकास्तरीय अन्तरक्रिया

    गोरखा, बिहीबार, ८ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन सम्बन्धी एक दिने पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा मंगलबार कार्यक्रम भएको हो ।

    कार्यक्रममा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो पदको सदुपयोग कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए । साथै पालिकास्तरमा आउने मुद्दा र उजुरीका बारेमा पनि छलफल गरिएको उनले जानकारी दिए । कार्यक्रमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख असमान तामाङले सहजीकरण गरेका थिए ।

    तामाङको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु, वन उपभोक्ता समितिका अध्यक्ष/सदस्य, खानेपानी उपभोक्ता समितीका अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

  • कोन्ज्योसोम गाउँपालिकामा आचार्यको प्रशासनिक नेतृत्वमा अब्बल सावित

    ललितपुर, मंगलबार, ६ फागुन २०८१ । ललितपुरको कोन्ज्योसो गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा जनप्रतिनिधि बहाल भएको दोस्रो प्रमुख प्रशासकीय अधिकृतको रुपमा युवराज आचार्यले प्रशासनिक नेतृत्व गरेसँगै गाउँपालिकामा अपेक्षाकृत उपलब्धि हासिल भएको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले १८ महिने कार्यकालमा ३६ बुँदे महत्वपूर्ण उपलब्धि गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरेमार्फत अध्यक्षलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष कृष्णमान लामा स्वास्थ्य समस्याले बिदामा रहनुु भएकाले आचार्यले उपाध्यक्षमार्फत अध्यक्षलाई १८ महिने महत्वपूर्ण उपलब्धि हस्तान्तरण गरेका छन ।

    कुुशल प्रकाशक तथा व्यवस्थापकको भूमिका निर्वाह गर्न सक्ने काविल क्षमतावान प्रशासकको रुपमा चिनिदै आउनुु भएका आचार्यको प्रशासनिक नेतृत्वमा अपेक्षा गरे भन्दा धेरै उपलब्धि हासिल भएको गाउँपालिकाले जनाएको छ ।

    उनको यस अगाडि कार्यरत रहेको सबै स्थानीय तहलाई अब्बल सावित गराउने कार्यमा भूमिका निर्वाह गर्दै आउनुु भएको छ ।

    आचार्यले कोन्ज्योसोम गाउँपालिकामा डेढ वर्ष प्रमुख प्रशासकीय अधिकृत रहँदा स्थानीय नागरिकलाई स्थानीय सरकार भएको महशुस गर्ने गरी प्रशानिक सहजिकण गर्नेदेखि नीतिगत निर्णय गर्ने कार्यमा समेत सहजिकरण गर्दै आउनुु भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले आचार्यको कार्यकालमा गाउँपालिकाले अपेक्षाकृत उपलब्धि हासिल गरेको बताए । कर्मचारी बैठकबाट इनोभेटि आइडिया संकलन गरी गाउँ सभामार्फत नीति कार्यक्रममा समावेश गर्ने गरिएको, स्थानीय सरकार सञ्चालनको प्रारम्भिक आधारको रुपमा राखिएको गाउँपालिकाको कार्यसम्पादन कार्यविभाजन, निर्णय वा आदेश वा प्रमाणिकरण गर्ने कानुुनहरु कार्यपालिकाबाट पारित गराउन भूमिका निर्वाह गरेको छ ।

    गाउँपालिकामा निर्मित कानुनुहरु समेटि पहिलो पटक कानुन संग्रह प्रकाशन गर्ने भूमिका निर्वाह गरिएको, गाउँपालिकाको डयारी प्रकाशन, स्थानीय भाषाको समबोटालिपिमा गाउँपालिकाको नाम लेटर प्याड र साइनबोर्डमा लेख्नका लागि आचार्यले भुमिका निर्वाह गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका सबै शाखा, उपशाखा, इकाइ, केन्द्र वडा कार्यालय र स्वास्थ्य चौकी समेतले प्रयोग गर्ने गाउँपालिकाको लेटर प्याडमा एकरुपकता ल्याइएको, धुलिखेलमा गाउँपालिकाको आर्थिक वर्ष २०७९÷ ८० को वार्षिक प्रगति समिक्षा गरी धुलिखेल घोषणा पत्र जारी गरिएको , गाउँ कार्यपालिकाको बैठक, निर्णय हस्तलिखित हुने गरिएकोमा बैठक समयमा नै डिस्प्ले हुने गरि टाइप गरी नेपाली कागजमा प्रमाणिकरण गरी अभिलेख राख्ने व्यवस्था गरिएको, आन्तरिक राजश्व बढाउन सिर्जनात्मक विचारहरु लिइ सोही आधारमा गाउँसभाबाट आर्थिक ऐन संशोधन गरिएको, गाउँपालिकाको संस्थागत स्मरण थप बलियो बनाउनका लागि शाखा उपशाखाहरुबीच परस्सपरमा बरबुुझारथ गर्ने कर्या गरिएको, राज पत्र प्रकाशनको अभिलेख राख्ने कार्य पहिलो पटक सुुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    जिन्सी सामान व्यवस्थापनका लागि पाम्स लागूू गरिएको, निर्णय वा आदेश र अधिकार पत्र प्रमाणिकरण नियमावली २०८० बमोजिम कानुुनहरु नेपाली कागजमा प्रिन्ट गरी सम्बन्धि अधिकार प्राप्त अधिकारीबाट प्रमाणित गराई अभिलेख राख्ने कार्य गरिएको, प्रधानमन्त्रीको उपस्थितिमा कोन्ज्योसोम प्रतिमा उद्घाटन गरिएको, गाउँपालिकाको संगठन तथा व्यस्थापन सर्वेक्षणको पहल लिइएको, कर्मचारीको सेवा शर्त सम्बन्धि कानुन निर्माण गरी सभाबाट पारित गर्न पहल लिइएको, गाउँपालिाको सम्पत्ति करण प्रणालीको सुुरुवात गर्ने पहल लिइएको, गाउँपालिकामा पहिलो पटक स्थानीय दररेट पारित गरि लागू गर्ने पहल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

    गाउँपालिका अनुसार

    गाउँपालिकामा पहिलो पटक वार्षिक खरिद योजना तयार गरिएको, गाउँ कार्यपािलकाको बैठकमा नियमावलिमा तोकिएको ढाँचा बमोजिम लिखित प्रस्ताव पेश गर्ने र सोको अभिलेख राख्ने प्रणालीको सुुरुवात गरिएको, गाउँपालिकाको वस्तुस्थित विरण र डिजिटल प्रोफाइल निर्माणको पहल लिइएको, गाउँपालिकाको वेबसाइडमा विपत पोर्टल थप गरी विपत सम्बन्धि सम्पूर्ण सूचनाहरु प्रवाह गर्ने गरिएको, गाउँसभा बैठकको पुूरा भिडियो तयार गर्ने पद्धतिको सुुरुवात गरिएको, संगठन विकास प्रतिवेदन अनुसार सबै शाखा उपशाखा र इकाइ र केन्द्रमा कार्यरत कर्मचारीहरुलाई कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको , गाउँपालिकाले प्रदान गर्ने सेवाको मापदण्ड तयार गरिएको , दिगो विकासको लक्ष्यलाई स्थानीयकरण सम्बन्धि नीति तथा योजना तयार गरिएको, गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धि कार्यविधि तयार गरिएको छ ।

    त्यस्तै अन्तर स्थानीय तहको असर अभ्यास आदानप्रदान अन्तरगत खाँदबारी नगरपालिकाका उपप्रमुख नेतृत्वको न्यायिक समितिका टिम गाउँपालिकामा भ्रमण गरिएको, गाउँपालिकामा पहिलोट पटक सामाजिक परीक्षण कार्यको सुरुवात गरिएको, गाउँपालिकाको सबै गतिविधिहरु, सरोकारवालाहरुको जानकारीका लागि विभिन्न सञ्चार माध्यमबाट निरन्तर प्रकाशनको रुपमा सञ्चार माध्यममा कोन्ज्योजम पुस्तिका प्रकाशन गरिएको, नेपाल उद्योग वाणिज्य माहासंघ, लघु उद्यम विकास केन्द्र र कोन्ज्योसोम गाउँपालिकाबीच कृषि तथा पशुपालनको क्षेत्रमा साझेदारी गर्नका लागि मझादारी पत्रमा हस्ताक्षरण गरिएको, स्वास्थ्य संस्था प्रमुखका लागि मोबाइ सेट र नम्बर उपलब्ध गराइएको, वडा सचिवहरुका लागि आभाव सुविधाको लागि पहल भएको र कर्मचारीको बैठक नियमित गर्ने गरिएको छ कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

  • फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना

    काठमाडौँ, मंगलबार, ६ फागुन २०८१ । कागेश्वरी मनोहरा नगरपालिकाले फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ । स्थानीय कला र सँस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले महोत्सव आयोजना गर्न लागेको हो ।

    स्थानीय उत्पादनको थप प्रचारप्रसास गरी नगरपालिका क्षेत्रमा भएका धार्मिक, पर्यटकीय तथा साँस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।

    मनोहरा नगरपालिका वडा नं. १ का वडाध्यक्ष मकुन्द गजुरेलले नगरपालिकाले समृद्धि कागेश्वरी निर्माण गर्न स्थानीय कला साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न महोत्सव अआयोजना गर्न लागेको बताए । धार्मिक, पर्यापर्यटन र खेलकुदको दृष्टिकोणले अत्यन्त संभावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा अध्यक्षको समन्वयमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सव तयारी गरिएको छ ।

    महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदलगायतका क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने गरी रचनात्मक कार्यक्रम तय गरिएको जनाइएको छ ।

    महोत्सवका अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक, सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवद्र्धनात्मकसँग सम्बन्धित कार्यक्रम हुनेछ । साथै, उद्यमशीलताको विकास एवम् प्रबद्र्धनसँग सम्बन्धित कार्यक्रम हुुनुुका साथै महोत्सवमा छिमेकी गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकासहित काठमाडौँ उपत्यकाबासीको बाक्लो उपस्थिति हुनेछन् ।

    कागेश्वरी मनोहरा नगरपालिकाले २०७० सालदेखि नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको छ । वडाध्यक्ष गजुरेलले महोत्सवमा सहभागी हुन वडा, नगरवासी तथा उपत्यकावासीहरूलाई सक्रिया सहभागिता जनाउन आग्रह गरे ।

    महोत्सवमा महिला समूह, संघसंस्थाहरूको विशेष सहभागीता सहित स्थानीय खाना परिकार, संस्कार, संस्कृति तथा स्थानीय रक्सीको प्रवद्र्धनमा जोड दिन मेला क्षेत्रमा प्रदर्शन समेत हुनेछ ।

  • ओडिसा घटना : प्रहरी भन्छ-आरोपितलाई पक्राउ गरिसक्यौँ,अनुसन्धान जारी छ

    काठमाडौँ, मंगलबार, ६ फागुन २०८१ । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनामा आरोपित व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको भुवनेश्वर–कटक प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले प्रेस नोट जारी गर्दै सोमबार नै अद्विक श्रीवास्तवालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको हो ।

    प्रहरीका अनुसार सोही विश्वविद्यालयको बीटेक मेकानिल तेस्रो वर्षमा अध्ययनरत २४ वर्षीय सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी थानामा आइतबार उजुरी दर्ता गरेका थिए । उजुरीमा बीटेक मेकानिल तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीय अद्विक श्रीवास्तवाले दुर्व्यवहार गरेपछि लम्सालले आत्महत्या गरेको उल्लेख थियो ।

    उजुरीका आधारमा सोही दिन श्रीवास्तावविरुद्ध आत्महत्या दुरुत्साहनको एफआईआर दर्ता गरिएको प्रहरीको भनाई छ । प्रहरीले सोमबार श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको पनि जानकारी दिएको छ ।

    प्रहरीले श्रीवास्तवको दस्ताबेज र विद्युतीय उपकरणहरू प्रहरीले प्रमाणका रूपमा संकलन गरेको र यसबारे अनुसन्धान जारी रहेको बताएको छ ।

    प्रहरीले विश्वविद्यालयमा प्रदर्शनरत नेपाली विद्यार्थीहरूलाई घर फर्कन निर्देशन जारी गरेकोमा त्यसलाई फिर्ता लिई विद्यार्थीहरूलाई फिर्ता हुन अपिलसमेत गरिएको प्रहरीको भनाई छ । नेपाली विद्यार्थीहरूको सुरक्षा पनि सुनिश्चित गरिएको जानकारी दिइएको छ । प्रहरीले यस मुद्दामा निष्पक्ष छानबिन हुने प्रतिबद्धतासमेत जनाएको छ । केआईआईटी विश्वविद्यालयमा आइतबार राति २० वर्षीया लम्साल मृत फेला परेकी थिइन् ।