Blog

  • गोरखाको धार्चे माछीखोला जलबिद्युतको रोकिएको काम पुनः सुरु

    गोरखा, मंगलबार, ६ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिका–३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुचारु भएको छ । पालिकाका कारण केही समयदेखि रोकिएको कार्य पुनः सुचारु भएको हो ।वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको र सम्बन्धित निकायबाट अनुमति समेत नलिएको भन्दै पालिकाले आयोजनाको काम बन्द गर्न भनेको थियो ।

    आयोजनाका कारण माछीखोला बजार जोखिममा पर्न सक्ने भन्दै अत्याधिक जोखिम भएको ठाउँलाई पालिकाको समन्वयमा प्रालिले संरक्षण गर्ने सहमति भएको छ ।

    सोही कारण पुस महिना लागेसँगै काम भएको थिएन । आयोजना निर्माण कम्पनी वाटर इनर्जी डेभलपमेन्ट प्रालिका संचालक र गाउँपालिकाबीच बैठक बसेर विभिन्न बिषयमा सहमति गर्दै आयोजना निर्माणको काम सुचारु गर्ने निर्णय गरेको हो ।

    बैठकमा हाइड्रोको काम गर्दा वातावरण प्रभाव प्रतिवेदनमा भएको बिषय कार्यान्वयन गर्ने सहमति भएको छ । माछीखोला बजारदेखि रेसेफाँट हुदैं लाप्राक जोड्ने सडक बाटो तटवन्धनका कारण बन्द हुने प्रवल सम्भावना रहेकोले प्रालिले बैकल्पिक बाटो निर्माण तथा स्तरोन्नती गर्ने भनिएको छ ।

    प्रभावित पालिकावासीलाई आफ्नो सिप, क्षमता र योग्यताको आधारमा रोजगारको अवसर प्रदान गरिन बताइएको छ । आयोजना स्थलमा पर्ने निजी जग्गा प्रयोग भएका व्यक्तिहरुको विवरण प्रालिले पालिकालाई बुझाउने र स्थानीय र पालिकासँग आवश्यक समन्वय गरेर आयोजनाले काम अघि बढाउने सहमति समेत भएको छ ।

  • उत्तरी गोरखाको धार्चे सिङ्ला पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

    गोरखा, मंगलबार, ६ फागुन २०८१ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ ।

    वाटरइनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

    ‘‘गाउँपालिकाको पहलमा कम्पनीसंग प्रतिमृतक रु ३ लाख र घाइतेलाई रु ६ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, उहाँले भन्नुभयो, ‘‘सोही सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक रु १ लाख ५० हजार र घाइतेलाई रु ३ लाख उपचार खर्च सोमबार उपलब्ध गराइएको हो ।’’

    कम्पनीका कर्मचारीसमेत भएकाले मृतक रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहतवाहेक थप रु ७ लाख दिने सहमति अनुसार पहिलो किस्ताको रु ३ लाख ५० हजार पनि प्रदान गरिएको प्रशासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।

    कम्पनीले बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने उहाँको भनाई छ । गएको गत साउन १३ गते करिब ३ बजेको समयमा राती रेसेफाँटको पहिरोमा परेर एकै परिवारका तीन जनासहित ५ जनाले ज्यान गुमाएका थिए ।

    गाउँपालिका र कम्पनी बीच गत पुस २५ गते बैठक बसेर मृतकका परिवार र घाइतेलाई राहत रकम उपलब्ध गराउने सहमति भएको थियो । पहिरोमा परी घाइते हुनुभएका दिलिप गुरुङलाई गाउँपालिकाको तर्फबाट सामेबार नै रु १ लाख राहत उपलब्ध गराएको प्रसासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।

    गाउँपालिकाले भने मृतकका परिवारलाई यसअघि नै राहत रकम उपलब्ध गराइसकेको छ ।

  • गोरखाको सिरानचोक गाउँपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न

    गोरखा, मंगलबार, ६ फागुन २०८१ । गोरखाको सिरानचोक गाउँपालिकामा नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

    सिरानचोक गाउँपालिकाको आयोजनामा नेपाल नेत्रज्योति संघ,भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा सिरानचोक गाउपालिका वडा नं
    ४ चोरकाटे आधारभुत स्वास्थ्य केन्द्रमा सोमाबार शिविर सम्पन्न भएको हो । उक्त नि:शुल्क आँखा शिविरमा ६१ जनालाई गरिएको आँखा परिक्षणमा १७ जनालाई मोति बिन्दु देखिएको सिरानचोक गाउँपालिका स्वास्थ साखा प्रमुख टुकमान श्रेष्ठले जानकारि दिनुभयो ।

    १६१ जनामा आँखा जाँच गरिएकोमा १७ जनालाई मति बिन्दु, ५८ जनालाई चस्मा वितरण गरिएको र बाँकीलाई सामान्य सल्लाह सहित ओैषधि बितरण गरिएको थियोू श्रेष्ठले बताउनुभयो । मोतिबिन्दु भएका बिरामीलाई भरतपुर आँखा अस्पतालमा निसुल्क सल्यक्रिया हुनेछ। सल्यक्रिया गर्ने १७ जना बिरामीलाई फाल्गुन ५ गते नै भरतपुर अस्पताल लगिएको छ भने ६ गते सल्यक्रिया हुने छ । ूदृष्टिमा समस्या भएका ५८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको श्रेष्ठले भन्नूभयो ।

    साथै, गाउँपालिकाद्वारा ५८ जनालाई चश्मा समेत बितरण गरिएको उहाँले बताउनु भयो । १७ जनालाई मोतियाबिन्दु अप्रेशनको लागि भरतपुर आँखा अस्पतालमा पठाइएको छ ।

  • रमजानको समयमा मधुमेहका बिरामी र जोखिममा रहेकाहरुले अपनाउनुपर्ने सावधानी

    डा अनिल यादव, मधुमेह, थाइरोइड र हर्मोन विशेषज्ञ

    काठमाडौँ, सोमबार, ५ फागुन २०८१ । मुस्लिम समुदायका लागि वर्षको सबैभन्दा पवित्र महिना रमजान नेपालमा फेब्रुअरी २८ देखि शुरु हुन गइरहेको छ । रमजानको पालना इस्लामको ५ वटा स्तम्भमध्ये एक हो र विश्वभरका मुस्लिमहरु पूरा महिना व्रत (रोजा) बस्छन् । कुरानमा वर्णन गरेअनुसार रमजानको पवित्र महिनाको अबधिमा ज्यान जोखिम बनाउन सक्ने दीर्घ रोगहरु जस्तो मधुमेह भएका केही व्यक्तिहरु वाहेक सवै स्वस्थ्य वयस्क मुस्लिमहरु रोजा बस्नु अनिवार्य हुन्छ । यस अवधिमा दीर्घ रोगीहरु जस्तो मधुमेह लगायत केही व्यक्तिहरुलाइ रोजा बस्न छुट दिइएको भएतापनि धेरै मुस्लिम मधुमेह रोगीहरु पनि रोजा बस्ने गर्छन् (सुरह अल बाक्वाराह १८४-१८५) ।

    रमजानको महिनामा जीवनशैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण व्रत (रोजा)ले शरीरमा हुने मेटाबोलिज्ममा पनि गडबडी ल्याउँछ । त्यसैगरी मधुमेह बिरामीमा हृदय, मिर्गौला र अन्य जटिलता हुँदा मधुमेह रोगीहरुमा रोजा बस्दा जोखिम बढेर जान्छ । त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्नको लागि मधुमेह बिरामीहरुले रोजा राख्नुअघि चिकित्सक र धार्मिक सल्लाह लिनुपर्छ ।

    बिश्वभरी १५ करोड भन्दा बढी मुस्लिमहरु मधुमेहका रोगी छन्। नेपाल जनगणना २०११ अनुसार नेपालमा १० लाख मुस्लिमहरु छन् तर मधुमेह लागेका मुस्लिमहरुको जनसंख्याको कुनै तथ्याङ्क छैन ।

    रोजा राख्दा हुने शारीरिक लाभहरु

    • शरीरको वजन कम हुन्छ
    • ग्लुकोज को नियन्त्रण हुन्छ
    • बोसोको मात्रामा सुधार हुन्छ
    • रक्तचाप नियन्त्रण हुन्छ
    • प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ
    • शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कन्छ

    रमजानको समयमा मधुमेह बिरामीहरुमा हुने जोखिमहरु

    • रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु
    • रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु
    • शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (जलवियोजन हुनु)
    • टाइप १ मधुमेह विरामीहरुको रगतमा एसिड जम्मा हुनु

    जोखिम कम गर्न के गर्नुपर्छ ?

    • रोजा बस्ने निर्णय गर्नु भन्दा ६-८ हप्ता अगाडी चिकित्सक र धार्मिक सल्लाहको अधारमा जोखिमको मूल्याङ्कन गर्नपर्छ ।
    • ‘अन्तराष्ट्रिय मधुमेह महासंघ (आईडीएफ)’ र ‘मधुमेह र रमजान (डीएआर)’ अन्तर्राष्ट्रिय गठबन्धन (आईडीएफ-डीएआर) २०१६’मा रमजानको समयमा रोजा बस्न चाहने मधुमेह बिरामीहरुलाई ३ जोखिम समूहमा वर्गीकृत गरिएको छ । यसलाइ इजिप्टको मोफ्टीले अनुमोदन गरेको छ ।

    o धेरै उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नै मिल्दैन।
    o उच्च जोखिम:- मधुमेह बिरामीले रोजा राख्नु हुदैन।
    o मध्यम/कम जोखिम:- मधुमेह बिरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ।

    • मधुमेह बिरामी र परीवारिक सदस्यहरुले निम्न कुराहरुको वारेमा जानकारी राख्नुपर्छः
      o स्वस्थ्य पोषण
      o नियमित व्ययाम
      o औषधि र मात्रा को समायोजन
      o नियमित ग्लुकोजको जाँच
      o रगतमा अत्यधिक कम ग्लुकोज (हाइपोग्लिसिमिया) हुँदा देखिने लक्षणहरु
      o रोजा तोड्न मिल्ने अवस्थाहरु

    रमजानको समयमा भोजनको योजना
    शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालोरिजलाई सेहरी र इफ्तारको बिचमा सही मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ ।

    • अत्यधिक फाइबरयुक्त खाना खानुपर्छ ।
    • फलफूल, तरकारीहरु र सलादहरु प्रशस्त मात्रामा खानुपर्छ ।
    • सुर्यास्त र सुर्योदयको विचमा प्रशस्त तरल पदार्थ पिउनुपर्दछ ।
    • गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरलपदार्थको सेवन गर्नुहुँदैन ।

    इफ्तार

    • तरल पदार्थहरू – नरिवल पानी / कागती पानी (चिनी नभएको), अमिलो फल को रस – १ गिलास
    • फलहरू – कुनै एक गुलियो फल (१-२ भाग)
    • मुरी / चिउरा / ओट्स / नूडल्स- १ कप
    • पियाजी- १ पिस
    • उमालेको छोला -१/२ कप, चप – १ पिस, कबाब- १-२ पिस
    • काक्रो, अमिलो फलको रस, नरिवल पानी – इच्छा अनुसार

    बेलुकाको खाना

    • रोटी- २ / चामल १-१.५ कप (१२०-१८० ग्राम)
    • माछा / मासु / अण्डा – १ पिस
    • तरकारी, सलाद – इच्छा अनुसार
    • दाल- १ कप

    सेहरी

    • चावल- २ कप (२५०-३०० ग्राम)
    • माछा / मासु- २ पिस
    • तरकारी, सलाद – इच्छा अनुसार
    • दाल- १ कप
    • दूध- १ कप

    रमजानको समयमा व्यायाम

    • रोजाको समयमा कठोर व्यायाम नगर्नुहोस्, किनभने यसले गर्दा रगतमा ग्लुकोजको मात्रामा अत्याधिक कमी हुनुको साथै शरीरमा पानीको मात्रा पनि अत्याधिक कम हुन सक्छ (जलवियोजन हुन सक्छ) ।
    • तारावीह प्रार्थनामा गरिने शारीरिक श्रमलाई दैनिक व्यायामको भागको रूपमा मान्न सकिन्छ ।
    • खाना खाएको १-२ घण्टा पछि व्यायाम गर्न सकिन्छ ।
      रमजानको बेला औषधिको समायोजन तथा परिमार्जन
    • औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्नुहोस् ।

    रमजानको समयमा ध्यान दिनुपर्ने कुराहरु

    • कुरानले स्पष्ट रूपमा भनेको छ कि यदि कुनै बिरामी छ भने ‘छुटेको रोजा (ब्रत) अर्को समयमा पूरा गर्नुपर्दछ’ किनकि ‘अल्लाह तपाईंको लागि सहजता चाहन्छन् र तपाईंलाई कठिनाइमा राख्न चाहदैनन्।’ मधुमेह बिरामीहरू ‍खानेकुरा तथा औषधिको समुचित प्रयोग बारे जानकार नभएमा रोजा राख्ने अवस्थामा विभिन्न प्रकारका जोखिमहरूमा हुन्छन्, किनकि तिनीहरू एकल वा बहु‍औषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन् । जसले हाइपोग्लिसेमिया वा हाइपरग्लिसेमिया निम्त्याउन सक्छ । मधुमेह बिरामीहरूले कुनैपनि शारीरिक रोगमा रोजा (ब्रत) तोड्नुपर्ने हुन सक्छ । यो सिफारिस इजिप्टको मोफ्टीद्वारा अनुमोदित छ, जुन इजिप्टको सर्वोच्च धार्मिक नियामक प्राधिकरण तथा विश्व-प्रसिद्ध इस्लामिक शैक्षिक संगठन अल-अजहरको विद्वान हो ।
    • प्रत्येक मधुमेह बिरामी जसले रोजा राख्न चाहन्छ आफ्नो रगतमा ग्लूकोजको मात्राको अनिवार्य रुपमा स्वयं अनुगमन गर्नुपर्छ र यसरी रगतमा ग्लूकोजको परिक्षण गर्दा रोजा धार्मिक रुपमा अवैध हुदैन भनि जोड दिनुपर्छ ।
    • रगतमा ग्लूकोजको मात्राको अनुगमन
      o इफ्तारको अघि
      o इफ्तार, रातीको खाना र सेहरीको २ घण्टा पछि
      o मध्य दिन
      o यदि कम वा उच्च रगत ग्लूकोजको लक्षण छ भने वा अस्वस्थ महसुस गर्दै हुनुहुन्छ भने कुनैपनि समय ।

    रोजा तोड्न मिल्ने अवस्थाहरु

    • रगतमा ग्लूकोजको मात्रा <७० एमजी/डीएल (३.९ एमएमओएल/एल ) भएमा
    • रगतमा ग्लूकोजको मात्रा >३०० एमजी/डीएल (१६.७ एमएमओएल/एल) भएमा
    • अस्वस्थ महसुस भएमा
    • रगतमा ग्लूकोजको मात्रा अत्यधिक कमी (हाइपोग्लिसिमिया) हुँदाको लक्षणहरु देखिएमा (जस्तो पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढ्नु आदि)
    • अन्य समयहरु (जस्तो, अत्यधिक पखाला लाग्नु, बान्ता हुनु, ज्वरो आउनु आदि)

    के गर्दा तपाईंको रोजा टुट्दैन?

    • रगतबाट ग्लुकोज परिक्षण गर्दा
    • इन्सुलिन इन्जेक्सन लिँदा

    रमजान समाप्त भएपछि ध्यानदिनुपर्ने कुराहरु

    • इद-उल-फितरको समयमा अत्यधिक-खानाहरू (विशेष गरी मिठाइ) बाट बच्नुहोस्, किनकि यसले उच्च रक्त ग्लुकोज निम्त्याउन सक्छ ।
    • औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सक संग सल्लाह गर्नुहोस् ।
    • रमजानको समयमा हाइपोग्लिसिमिया वा हाइपरग्लिसेमियाको घटनाहरू भएको थियो भने रमजानको अर्को वर्षको योजना बनाउँदा विशेष सावधानी अपनाउनुहोस् ।

    (डा यादव विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरमा कार्यरत छन्)

  • हिन्दू–मुस्लिमको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला दाउन्ने डाँडामा शुरू

    मध्यविन्दु, सोमबार, ४ फागुन २०८१ । हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि शुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ स्थित दाउन्ने डाँडामा शुरु भएको मेला यही फागुन १४ गतेसम्म सञ्चालन हुने छ ।

    मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ हिन्दू र मुस्लिम भक्तजन आएका छन् । गत शुक्रबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीड लागेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।

    पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटर पूर्वमा रहेको मदारथानमा हिन्दूहरूको पर्व शिवरात्रि सुरु हुनुभन्दा एक हप्ताअघिदेखि ठूलो मेला लाग्ने गर्छ । महाशिवरात्रिसम्म सञ्चालन हुने उक्त मेलामा नेपाल र भारतका लाखौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । मेला व्यवस्थित गर्न मेला क्षेत्रमा सुरक्षा प्रबन्ध मिलाइएको अध्यक्ष गिरीले जानकारी दिए ।

    “मदारबाबा स्थान मुस्लिम समुदायको नेपालकै ठूलो र ऐतिहासिकस्थल हो । विशेषगरी मुस्लिम समुदायको धार्मिकस्थल भए पनि त्यहाँ हिन्दू, बौद्ध धर्मावलम्बी सबैको आगमन हुने गरेको छ”, उनले भने, “यो स्थानको प्रवेशद्वार नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता गाउँपालिका–२ महलबारीमा र मुख्य समाधिस्थल भने नवलपरासी (बर्दघाट सुस्तपूर्व) को विनयी त्रिवेणी गाउँपालिका मदारी डाँडामा रहेको छ । मदारीडाँडा पैदल यात्रामार्फत पुग्न सकिन्छ ।”

    मेलामा महलबारी मस्जिदका मठाधिस अमिरुल्लाह अन्सारी परम्परादेखि मदारी डाँडाको गद्दीमा आसिन हुने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन शाहले बताए । “गत वर्ष पनि १० लाख भक्तजनले मेला अवलोकन गरेका थिए, यस वर्ष पनि सोही अनुपातमा भक्तजन आउने अनुमान गरिएको छ”, अध्यक्ष शाहले भने ।

    मदारबाबाले थुप्रै मुलुकसहित नेपालको नवलपरासी र बुटवलस्थित फूलबारीपार्क क्षेत्रमा पनि तपस्या गरेको इतिहास पाइन्छ । यहाँ भाकल गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्छन् भन्ने जनविश्वास छ ।

    जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले सूचना जारी गर्दै मेला लाग्ने क्षेत्र वरपर मदिरा बिक्रीमा रोक लगाएको छ । विगतका वर्षहरूमा मदिरा सेवनकै कारण विभिन्न घटना भएकाले यस वर्ष मेला अवधिभर मदिरा बिक्री नगर्न–नगराउन सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए ।

    उनले भने, “मेलाको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको विपद् उद्धार टोली, मध्यवर्तीलगायत सुरक्षा संयन्त्र तैनाथ रहने छन् ।”

  • पेट्रोलियम पाइपलाइनबाट आयात शुरु

    काठमाडौँ, सोमबार, ५ फागुन २०८१ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात शुरु भएको छ ।

    अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात शुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

    पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रुपमा पेट्रोलियम पदार्थ ल्याउन शुरु गरिएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । “पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आइसकेको छु,” प्रमुख आचार्यले भने, “अहिले पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख सहरका डिपोमा औपचारिक रुपमा वितरण थालिसकेका छौँ ।”

    पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे-रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको प्रमुख आचार्यले बताए ।

    सोही परियोजनाअन्तर्गत ‘फायर फाइटिङ सिस्टम’को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । विभिन्न कारणले केही दिनअघि मात्र सो पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए ।

    यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । “एउटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो,” प्रमुख आचार्यले भने, “आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टीतेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन थालेको ।”

    मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हँुदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाँडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ । यो आयोजना निर्माणसम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ ।

  • पर्यटन बर्ष प्रचारका लागि गोरखा नगरपालिका सक्रिय

    गोरखा, सोमबार, ५ फागुन २०८१ । पर्यटन बर्ष प्रचारका लागि गोरखा नगरपालिका सक्रिय रुपमा अधि बढेको छ । गोरखा नगरपालिका पर्यटन बर्ष २०८१’ को प्रचारप्रसारका लागि जिल्ला भित्र चल्ने सार्वजनिक सवारी साधानमा स्टिकर टाँस्न सुरु गरिएको छ । गोरखा नगरपालिका गोरखाले जिल्लास्थित यातायात व्यवसायीसंग छलफल गरेर नगरपालिका पर्यटन बर्षको प्रचारका लागि सवै सार्वजनिक यातायात बस तथा माइक्रोबसहरुमा ‘स्टिकर’ राख्न थालिएको हो ।

    ‘‘सहमति अनुसार आज औपचारिक कार्यक्रमको आयोजना गरी सार्वजनिक सवारी साधनमा ‘स्टिकर’ टाँस्न थालिएको हो, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो, ‘‘यातायात व्यवसायीलगायतका सरोकारवालासंग उपस्थितीमा झण्डै ४० भन्दाबढी बस तथा माइक्रोबसमा ‘स्टिकर’ टाँसिएको छ ।’’

    बाँकी रहेका सवारी साधनहरुमा भने सम्बन्धित टिकट काउन्टर, सम्बधित यातायात व्यवसायीले आफैले ‘स्टिकर’ टाँस्ने व्यवस्था मिलाइएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । त्यस्तै सवारी साधनमा पर्यटन बर्षको प्रचारका लागि नगरपालिकाले प्रकाशन गरेका ब्रोसर, बुकलेटलगायतका सामाग्रीसमेत उपलब्ध गराइएको छ ।

    गोरखाबाट बिभिन्न शहरहरुमा आवातजावत गर्ने सयौँ सवारी साधनमा पर्यटन बर्षको ‘स्टिकर’ टाँस गरेपछि ‘गोरखा पर्यटन बर्ष २०८१’ को व्यापक प्रचार हुने अपेक्षा गरिएको उहाँको भनाई छ । सोही अवसरमा नगरपालिकाले स्टिकर टाँस्न बाँकी रहेका सवारी साधनमा ‘स्टिकर’ टाँस्नका लागि सम्बन्धित टिकट काउण्टर र यातायात व्यवसायीलाई आवश्यक पर्ने ‘स्टिकर’ उपलब्ध गराइएको छ ।

    नगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष सफल बनाउन यातायात व्यवसायीले आफ्नो ठाँउबाट भूमिका खेल्न तयार रहेकाले जिल्ला भित्रका सवै सार्वजनिक सवारी साधन पर्यटन बर्षको ‘स्टिकर’ टाँस्न सुरु गरिएको गोरखा दरौँदी यातायात प्रा.लिका अध्यक्ष नारायण खत्रीले बताउनुभयो ।

  • कहिले सम्पन्न होला पन्थडिही, कटहरे, हर्मी, साहिँलटार सडक स्तरोन्नतिको काम

    गोरखा, आइतबार, ४ फागुन २०८१ । गोरखामा चलिरहेका योजनामध्य सबैभन्दा ठूलो मानिएको पन्थडिही, कटहरे, हर्मी, साहिँलटार सडक स्तरोन्नति गर्ने कामको ४९ प्रतिशत प्रगति भएको छ । ८१ करोड ६० लाख रुपैयाँ लागतमा २० किलोमिटर सडक कालोपत्रे गर्ने काम धमाधम अघि बढिरहेको कार्यान्वयन गर्ने निकाय गोरखा सडक योजना कार्यालयले जनाएको छ ।

    अहिलेसम्म १९ किलोमिटर सडकसम्म कटिङको काम गरिसकिएको योजना प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । ‘१९ किलोमिटरसम्म नालीसहित ९.५ मिटर चौडा बढाउने काम सकिएको छ’, खड्काले भने, ‘६० वटा क्रस ड्रेन(कल्भर्ट) निर्माण भइसकेको छ । १३ किलोमिटर पक्की नाली निर्माणको काम पनि भइसकेको छ ।’ भौतिक प्रगति ४९ प्रतिशत र वित्तीय प्रगति ४३ प्रतिशत भएको उनले बताए ।

    भारतीय एक्जिम वैंकको ऋण सहयोगमा सो सडक स्तरोन्नतिको आयोजनाको काम बढाइएको हो । सो सडक कालोपत्रेका लागि उडहिल, लामा जेभीले जिम्मा लिएको छ । आउँदो भदौ मसान्तभित्र कालोपत्रे गरिसक्ने गरी २०७९ फागुन १५ गते योजना सम्झौता भएको हो । सो सडक कालोपत्रे गर्ने कार्यको २०७९ चैत ८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिलान्यास गरेका थिए ।

    सडकको ट्रयाक खन्ने काम भने बाबुराम भट्टराई अर्थमन्त्री तथा हिसिला यमी भौतिक पूर्वाधार मन्त्री हिसिला यमी हुँदा सुरु गरिएको थियो । सो सडक आसपास घर भएका पूर्व प्रधानमन्त्री भट्टराईले त्यसयता सो सडक स्तरोन्नतिका लागि ताकेता गरिरहेका थिए । भारतीय एक्जिम वैंकमार्फत स्तरोन्नति गर्ने गरी स्रोत सुनिश्चित पनि गरेका थिए ।

    २०७७/०७८ र ०७८/०७९ मा लगातार दुईपटक ठेक्का आह्वान गर्दापनि यो सडक स्तरोन्नतिको काम सुरु हुन सकेको थिएन ।अहिले कामको गति हेर्दा निर्धारित समयमा निर्माण सम्पन्न हुने पूर्वअनुमान गर्न सकिन्छ, तर बर्सातको समयमा काम अपेक्षित रुपमा अघि बढ्न नसक्ने हुँदा केही लम्बिन पनि सक्ने योजना प्रमुख खड्काले बताए ।

  • गोरखामा तीन दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदै

    गोरखा, आइतबार, ४ फागुन २०८१ । गोरखामा राष्ट्रिय प्रजातन्त्र दिवस तीनदिन भव्यताका साथ मनाइने भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाको समन्वयमा आइतबार बसेको सरोकारवालाहरुको संयुक्त बैठकले यहीँ फागुन ६, ७ र ८ गते बिभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरिएको साहायक प्रमुख जिल्ला चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    बैठकले दिवस भव्यताका साथ सम्पन्न गर्न जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरको संयोजकत्वमा मूल समारोह समितिसमेत गठन गरिएको उहाँले बताउनुभयो । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन विहान ७ः४५ बजे सदरमुकाममा प्रभातफेरीसहित ठूलो आँगनमा मूलसमारोह समितिको आयोजनामा विशेष कार्यक्रम गरिने साहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

    यस्तै जिल्ला भित्रका सवै सरकारी तथा गैह्रसरकारी कार्यालय, संघसस्ंथा तथा नीजि निवासमा तीनैदिन दिपावलीका लागि आब्हान गर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो । दिवसको सन्र्दभमा सशस्त्र प्रहरी बल २९ नम्बर गुल्म गोरखाको आयोजनामा फागुन ८ गते आगलागी नियन्त्रणका लागि पूर्वअभ्यास गर्ने कार्यक्रम तय गरिएको साहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

    सदरमुकामस्थित रानी बनको जंगलमा डढेलो नियन्त्रणको पूर्वअभ्यास गर्न कार्यक्रम तय भएको उहाँको भनाई छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरको प्रमुख आतिथ्यतमा बसेको बैठकमा उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न पालिका प्रमुख एवं प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।

  • हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

    काठमाडौँ, आइतबार, ४ फागुन २०८१ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच सम्झौता भएको छ ।

    औषधि व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता गत शुक्रबार भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले आज जनाएको छ ।

    अब महासङ्घबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउने निजी सचिवालयले आज जारी गरेको प्रेसनोटमा उल्लेख छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हाल मुलुकमा ९०० जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता बिरामी पाँच हजार रहेका अनुमान गरेको छ । विसं.२०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०.८ प्रतिशतमा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।