Blog

  • जसपाका केन्द्रीय सदस्यसहित एक सय कांग्रेसमा प्रवेश

    काठमाडौँ, बुधबार, ३० माघ २०८१ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका एक सय जना नेत तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

    सभापति देउवाले खादा लगाउँदै उनीहरुलाई कांग्रेसको साधारण सदस्यता हस्तान्तरण गर्नुभएको छ । कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न सुझाव दिनुभयो ।

    सभापति देउवाले भन्नुभयो, ‘‘पार्टीमा नयाँ पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्याङ्कन गरेर अवसरको बाँडफाँट गरिने छ । तपाईंहरु सबैजना सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्न अनुरोध छ ।’’

    रामेछापका जिल्ला सभापतिसमेत रहेका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्न जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन समन्वय गर्नुभएको छ । नवप्रवेशीहरुलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकाले सङ्गठनलाई बलियो बनाउन लाग्न आग्रह गर्नुभयो ।

    पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो ।

    कांग्रेसमा प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

  • गोरखाको बारपाक सुलिकोटमा व्यवसायिक ओखर खेती सुरु

    गोरखा, मंगलबार, ३० माघ २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरु गरिएको छ । किसानहरुको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि गाउँपालिकाको वडा नम्बर ३ स्वाँरा र वडा नम्बर ४ सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखर खेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिनुभयो ।

    ‘‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरुलाई समेटेर कागतेखर्क बहुउद्देस्सीय कृषक समुह गठन गरिएको छ, उहाँले भन्नुभयो, ‘‘सोही समुहमा आवद्ध किसानलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति वटा बेर्ना लगाउन मिल्छ सोही अनुसार बेर्ना अनुदानमा उपलब्ध गराइएको हो ।’’

    मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको लागत साझेदारीमा किसानलाई २ हजार २ सयवटा ओखरका बेर्ना वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले नै जुम्लाबाट कलमी गरिएको ओखरका विरुवा खरिद गरेर ल्याई किसानलाई वितरण गरेको हो । ओखर खेतीका लागि छनोट गरिएको जग्गालाई चारवटा ‘प्लट’ बनाएर बेर्ना लगाउन थालिएको उहाँको भनाई छ ।

    किसानहरुलाई वितरण गरिएका बेर्ना प्रत्येक १० मिटरको फरकमा खाडल खनेर आवश्यक मलखादको व्यवस्था गरी किसानहरुले रोप्न सुरु गरिसकेका छन् । अहिले लगाइएको विरुवाले करिब चार बर्षपछि उत्पादन दिन सुरु गर्ने उहाँले बताउनुभयो ।

    ‘‘कृषि प्राविधिकसहितको टोलीले माटो परीक्षण गर्दा ती क्षेत्र ओखर खेतीका लागि अत्यन्तै उपयुक्त रहेको पाइयो, उहाँले भन्नुभयो, ‘‘भिरालो पानी नजम्ने जमिन र त्यहाँको हावापानी पनि ओखर खेतीका लागि सुहाउदो भएकाले यसबर्षदेखि ओखरी खेतीको थालनी गरिएको हो ।’’

    ओखरका विरुवा खरिदका लागि रु १० लाख र ढुवानीका लागि मात्रै एकलाख रुपैया भन्दाबढी खर्च भएको उहाँले बताउनुभयो ।

  • विर योद्धा जयसिंह चुमी राना मगर

    काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कानुनी राज्य स्थापना लगायत सबै खाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हँुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान् सहिद हुन्, जय सिंह चुमी राना मगर । उहाँको जन्म गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गाविस वडा नं ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको चुमी मगर र लखन थापा मगर घनिष्ट साथी थिए ।

    जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।

    राणा शासनको अन्त्य र प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि भएको प्रथम जनविद्रोहमा गठित जनसरकारका प्रमुख प्रथम सहिद लखन थापा थिए भने जयसिंह चुमी मगर जनरल(सेनापति) थिए ।

    सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

    त्यतिबेला नेपालमा सर्वसाधाराण जनताले औपचारिक शिक्षा हासिल गर्नको लागि कुनै पनि व्यवस्था थिएन । विसं १९१० मा मात्र नेपालको पहिलो शिक्षालयको रुपमा दरबार स्कुल स्थापना भएको थियो । त्येतिबेला नेपालको दुर्गम ठाउँको त कुरै छाडौ राजधानीमा समेत सर्वसाधारण जनताको निम्ति शिक्षा आर्जनको लागि कुनै व्यवस्था थिएन । उच्च वर्गीय र राणा परिवार भित्र भने शिक्षालाई बन्देज गरिएको थिएन । त्यसैले साधारण ग्रामीण परिवारमा जन्मेका चुमी मगरले औपचारिक शिक्षा भने लिन पाएनन् ।

    ग्रामीण परिवेशमा सामान्य रुपमा उनको बाल्यकाल बित्यो । सानैदेखि स्वाभिमानी, ईमान्दारी र मिलनसार चुमी युवा अवस्थामा नेपाली सेनाको पुरानो गोरख पल्टनमा भर्ना हुन पुगे । बाल्यकालका साथी लखन पनि सोही पल्टनमा भर्ना भएका थिए । उनीहरुबीचको मित्रता निकै घनिष्ट थियो । लखन र चुमी राना एउटै गाउँ र पल्टनमा रहेको कारण हरेक कुरामा एक आपसमा सरसल्लाह गर्थे ।

    सैनिक अवस्था
    सहिद चुमी राना पुरानो गोरख गण नामक पल्टनमा भर्ति भएका थिए । गोरख गण पुरानो ऐतिहासिक महत्व बोकेको मगर पल्टन थियो । पृथ्वीनारायण शाहले स्थापना गरेको गोरख गण नामक मगर पल्टनमा सबभन्दा तल्लो दर्जा सिपाहीमा भर्ती भई क्याप्टेन जस्तो माथिल्लो दर्जामा पुगेका थिए, चुमी । उनी र लखन दुवैमा तेज बुद्धि, अस्त्र–शस्त्र चलाउन सक्ने र साहसी भएकै कारणले कलिलै उमेरमा उच्च पद प्राप्त गरेका थिए । उनी सो पल्टनमा विसं १९२५ मा (३१÷३२ वर्षको उमेरमा) क्याप्टेन पदमा थिए, जुन दर्जा लखनको र उनको एकै र सँगै भएको थियो ।

    ईसं १८५७ सालमा भारतमा अंग्रेज उपनिवेश विरुद्ध सिपाही विद्रोह भएपछि नेपालबाट २६ नेपाली पल्टन जाँदा चुमी राना आफ्नो पुरानो गोरख पल्टनसँगै भारत पुगेका थिए । त्येतिबेला जंगबहादुरको आदेशमा पुरानो गोरख पल्टन भारतको लखनउमा खटिएको थियो । भारतीय जनताको स्वतन्त्र बन्ने चाहना विरुद्ध नेपाली सेना परिचालन गरेर जंगबहादुरले दुरुपयोग गरिरहेको चुमीलाई बोध भयो । फलत लखन थापा र चुमीबीच जंगबहादुरको निरंकुशता विरुद्ध विद्रोह गर्ने सवालमा पटकपटक छलफल हुन् थाल्यो ।

    विसं १९२७ सालमा चुमी राना र लखन थापा ३ महिनाको बिदामा घर आएका थिए । दुवै जना गोरखा बुंकोट काहुले तर्फ लागे । चुमी रानाको घर काहुले भंगार पुगी बसे । जंगबहादुर श्री ३ महाराज प्रधानमन्त्री भइसकेको अवस्थामा राणा शासनको कठोर शासन व्यवस्था, जनता माथि गरिएको अत्याचार, दमन र शोषण विरुद्ध अन्त्य गर्नुपर्छ भन्ने धारणा थियो । अन्यायका विरुद्ध हतियार उठाउन ज्यानैसमेत अर्पण गर्न पछि नपर्ने चुमी युद्धको मैदानमा उत्रिन तयार भए । आफ्नो घरसँगै जोडिएको लखन थापाको घडेरी काहुलेमा भव्य दरबारको निर्माण गरी विद्रोह सुरु गरे ।

    विद्रोह र संलग्नता
    तत्कालीन समयमा राणा परिवारका सदस्यमात्र वंशाणुगत रुपमा रोलक्रम अनुसार प्रधानमन्त्री बन्ने शासन थियो । त्यतिबेला राणा शासन ज्यादै शक्तिशाली र निरंकुश थियो । जंगबहादुरले जे बोले, जे गरे त्यही नै कानुन सरह हुन्थ्यो । राणा कै हुकुमी शासन चल्थ्यो । अहिले कानुनभन्दा माथि कोही हुँदैन भन्ने भनाई यथार्थपरक छ तर त्यतिबेला राणाहरु कानुनभन्दा माथि थिए । यस्तो शासन व्यवस्थाको कुनै पनि हालतमा अन्त्य गर्नुपर्छ भन्ने चुमीको मनमा लाग्यो ।

    जसको निम्ति प्रथम सहिद लखन थापाले लिएको साहसमा जुनसुकै कठिनाईमा पनि साथ र सहयोग दिन चुमी हर कदम तयार थिए । लखनको नेतृत्वमा गोरखाको साविक बुंकोट काहुले भंगारमा २ हजार जति युवाको फौज बनाएर फौजका लागि आवश्यकपर्ने टुडिखेल, तालिम संचालन गर्ने ठाउँ, तारो हान्ने ठाउँ, खाने, बस्ने आदि बन्दोबस्त मिलाए ।

    चारै तिरबाट बलियो किल्लाले घेरी दरबारको निर्माण गरे । दरबारको अगाडि प्रतिकात्मक मनकामनाको मन्दिर निर्माण गरे । उक्त मन्दिरमा गोरखनाथ, गोरखकाली लगायतका देवीदेवतालाई भित्र्याए । मन्दिरको दक्षिणतर्फ ढुंगे धारा र एउटा पानी पोखरीसमेत निर्माण गरे । सेनाका लागि तलब–भत्ता र हातहतियारको रुपमा ६० नाल बन्दुक र ठूलो संख्यामा तरबार, खुडा, कतरी, भाला, धनुकाड, शोला, छुरी र डण्डीहरुको व्यवस्था गरे । दरबारमा धेरै सैनिक भर्ना गराए । जसमध्ये धेरै चनाखो, साहसिक र बहादुरी देखाउन सक्ने लखन थापाको घनिष्ट मित्र एवं सहयोद्धा चुमी रानालाई सबै दरबार सम्हाल्न दिइयो । चुमी पूर्व सेना भएकोले सैन्य प्रशिक्षण गराउन सहज बन्यो ।

    जंगबहादुरको क्रुर र निरंकुश शासनको विरुद्ध धार्मिक शक्तिको आडमा लखन थापाले राजनीतिक संगठन गरेका थिए । उनले चुमी रानालाई विसं १९२७ देखि नै सैन्य संगठन गर्न जनरलको पदावी दिएको थियो । त्यहीदेखि आन्तरिक मिलिसिया तयार गर्ने काम प्रारम्भ भएको थियो । बाह्य रुपमा संगठनलाई जोसमनी मतका सन्त संगठन भन्ने प्रचार गरियो तर भित्रभित्रै जंगबहादुर विरोधी क्रियाकलापको तयारी हुन्थ्यो ।

    विसं १९३२ तिर सम्पूर्ण विद्रोहीको आग्रहमा राजद्रोही सरकार खडा गरी त्यसको मुख्तियार (प्रधानमन्त्री) आफै भए र चुमी रानालाई सेनाको प्रधान सेनापति बनाइयो (लखन थापा मगर राजा र जय सिंह चुमी राना मगरलाई मन्त्री बनाएको भन्ने भनाई पनि पाइन्छ) । राणाले जनतामाथि गरेको शोषणप्रति लखन थापाको नेतृत्वमा निर्माण भएको विद्रोह किल्लाका २ हजार सेना मध्ये सेनाको प्रधान सेनापति र जनताको आग्रहमा राजद्रोही सरकारको मन्त्री जस्तो स्थानमा रही आफ्नो स्वार्थको लागि नभएर सिंगो देश र जनताको लागि जीवन वलिदान गर्ने महान् व्यक्ति चुमीले ठूलो योगदान र सहयोग दिएको छ । चुमीको योगदान बिना प्रजातन्त्रको सुरुआत असम्भव थियो ।

    फाँसी र दमन
    विसं १९३२ सालमा सम्पूर्ण विद्रोही जनसमुदायले राजद्रोही सरकारको सेनापतिमा चुमी रानालाई घोषणा गरी जनताद्धारा घोषित पहिलो वैकल्पिक विद्रोह गर्‍यो । तत्कालीन समयमा सर्वजित थापा क्षेत्री पिपलथोकमा बसी गोरखाको मुद्दामामिला हेर्थे । उनले गोरखाको बुंकोटमा जंगबहादुरको शासन सत्ता विरुद्ध लखन थापाको नेतृत्वमा सशस्त्र जन विद्रोहको तयारी भइरहेको उजुरी जंगबहादुर समक्ष जाहेर गरे । सूचना पाएपछि जंगबहादुर क्रुद्ध भए ।

    उनले लखन थापा र उनका सहयोद्धा चुमी रानालाई पक्रेर काठमाडौं ल्याउन भनी कान्छा भाइ धीर शमशेरलाई आदेश दिए । आदेश बमोजिम देविदत्त पल्टनका सैनिक गोरखा पुगी विद्रोह किल्लालाई चारैतिरबाट घेराहाले । देविदत्त पल्टन र विद्रोही सेनाबीच भिडन्त भयो । भनिन्छ, त्यो विद्रोहमा दवाउन धीर शमशेरलाई पनि हम्मे–हम्मे परेको थियो । अन्तमा विद्रोहीहरु पक्राउ परे । उनीहरुलाई बासको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौं पुर्‍याइयो ।

    विद्रोही विरुद्ध थापाथली दरबारमा मुद्दा चलाइयो । साथै वर्वरतापूर्वक कोर्रा हानी ठूलो यातना दिइयो । चुमी राना र मित्र लखन थापालगायत सहयोगीलाई गोरखा बुंकोट काहुले भंगार स्थित उनीहरुकै किल्ला परिसरको मनकामना मन्दिर अगाडि स्थानीय जनसमुदायको उपस्थितिमा झुन्ड्याएर मार्ने फैसला भयो । तर राणा शासक सामु उनीहरु झुकेनन् । देविदत्त पल्टनका सैनिकले मृत्युदण्ड सुनाएका विद्रोहीलाई गोरखा पु¥याए । साहसी चुमी राना देश र जनताको निम्ति वलिदान दिन तयार भए । विसं १९३३ फागुन २ गते गोरखा बुंकोट काहुलेको आफ्नै किल्ला परिसर भित्र मनकामना मन्दिर अगाडिको बेलौती (अम्बा) को रुखमा चुमीलाई र दायाँतर्फ खिर्राको रुखमा लखन थापालाई झण्डयाएर मृत्युदण्ड दिइएको थियो ।

    मुत्यु पछि चुमीका सन्तानलाई पनि सखाप पार्नुपर्छ भनी राणाद्धारा उनीहरुको खोजी भयो । खोज तलास चल्न थालेसँगै तत्काल उहाँका छोरा अजव सिंह चुमी करिब ६÷७ महिनाको शिशु अवस्थामै मामाघर रानाहरुकोमा लुकाउनको निम्ति साविक घैरुङ रानीस्वारा हाल सहिद लखन गाउँपालिका वडा नं. ६, लगे । त्यहाँ पनि पक्रने त्रासले मामालीले नजिकैको जंगलमा रहेको झाक्री पहाडमा लगी लुकाएर राखे । यसरी मामालीले धेरै समयसम्म उज्यालो नहुँदै सो झाक्री पहाडमा लाने र बेलुकी आफ्नो घरमा ल्याइ राख्ने गर्थे । अजव सिंह करिब १६÷१७ वर्षको उमेरमा विरोधीप्रति प्रतिरोध गर्न सक्ने क्षमता र बुझ्ने भए पश्चात् पुन आफ्नै जन्मथलो काहुले आइ बसोबास सुरु गरे ।

    सहिद घोषणा गर्नुपर्ने कारण
    सामरिक क्षमता, योग्यता, अनुभव, नेतृत्व र कामण्ड गर्न सक्ने सिप भएको १ साहसिक तथा प्रतिभाशाली मगरको छोरा चुमी राना कुनै जात, धर्म, वर्ण, लिंङ, व्यक्ति वा समुदायका निम्ति वलिदान दिएका थिएनन् । शोषित, पीडित, थिचो–मिचो, एवं उत्पीडनमा पारिएका जनताको स्वतन्त्रता तथा हक–अधिकारको सुरक्षा गर्नको लागि उनी सशस्त्र विद्रोहमा होमिएका थिए । सिंगो देश र जनताका लागि आफ्नो प्राणको आहुती दिए । यो ऐतिहासिक घटना हो । राष्ट्र निर्माणको क्रममा वीर पुर्खाका वलिदान निपूर्ण भावनाको माध्यमद्धारा समाजलाई समयको प्रवाह र जनताको चाहना अनुरुप अगाडि बढ्नको निमित्त राष्ट्रको विर सपुत जय सिंह चुमी रानाले पु¥याएको योगदानलाई बिर्सन सकिन्न । देश र जनताको स्वाभिमान तथा प्रजातन्त्र प्राप्तीका लागि चुमीको ठूलो योगदान छ ।

    प्रजातन्त्रको पे्ररणाको स्रोत मानिने सपुत प्रथम सहिद लखन थापा मगरका कर्मठ सहयोद्धा मारिएको आज १ सय ४२ वर्ष भयो । यसबीच राज्य शक्तिमा धेरै परिवर्तन भयो । सहिद कसैलाई मार्न खोज्ने प्राणी होइन परन्तु मुलुकप्रतिको आस्था र विश्वासको निम्ति स्वयंले मृत्युवरण गर्न चाहेको मानिस हो । जसको आस्था र विचार कार्यको आधारमा सहिदले अमरत्व प्राप्त गर्छन्, चुमी रानाले आफै मृत्युवरण गरेका थिए । राणा शासकका सामु माफी मागेको भए सायद उनले मृत्युवरण गर्नुपर्ने थिएन, छुट पाउथे होला । त्यसैले चुमी रानालाई वीर सपुत आदर्श सहिदको श्रृंखलामा राखेर सरकारले औपचारिक रुपमा सहिद घोषणा गरी राष्ट्रिय सम्मान गर्नु राष्ट्रको साझा दायित्व हो ।

    जसले देश र जनताका लागि वलिदान दियो, त्यस्ता व्यक्तिलाई अपमान गर्दै जो सत्तामा पुग्छ उसले आफू अनुकूल सहिदको परिभाषा बनाउँदै सहिद घोषणा गरिरहे । १८ हजारभन्दा बढी सहिदको सूचीमा जय सिंह चुमी राना मगर किन पर्न सकेनन् ? सरकारले सहिदप्रति असमान व्यवहार गरेको छ । सबैलाई समनुपातिक ढंगले जात, धर्म, वर्ण, लिंग, पार्टी नभनी सहिदप्रति उच्च सम्मान गर्दै, चुमी रानालाई सहिदको सूचीमा राख्न अनिवार्य छ ।

  • दोस्रो मेयर कप-गोदावरी नगरब्यापी खुल्ला टेबुल टेनिस प्रतियोगिता फागुन ८ देखि १० गतेसम्म

    ललितपुर, मंगलबार, २९ माघ २०८१ । गोदावरी नगरपालिका वडा नं १४ बाडेगाउँमा दोस्रो मेयर कप गोदावरी नगरब्यापी खुल्ला एकल टेबुल टेनिस प्रतियोगिता २०८१ हुने भएको छ ।

    “रास्ट्रका लागि खेल, स्वास्थका लागि खेल” भन्ने मुल नारा सहित झि: बर्यामी पुच: गोदावरी – १४ को आयोजनामा, गोदावरी नगरपालिका तथा गोदावरी नगरपालिका वडा नं १४ को सम्न्वयमा सो प्रतियोगिता हुने भएको हो ।

    गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले फागुन ८ उद्घाटनसहित प्रतियोगिता सुरु भएर फागुन १० गते खेल समापन तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगीले नगद राशीसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मानित गरिनेछ ।

  • व्यवसाय क्षेत्रको संवर्धन र प्रवर्धनका लागि अध्यादेश : मुख्यमन्त्री पाण्डे

    पोखरा, मंगलबार, २९ माघ २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले वर्तमान अवस्थामा कांग्रेस र एमालेको सरकार बनेको बताउनुभयो । सरकारमा स्थायित्व भएकाले व्यावसायिक हकहितका लागि अध्यादेश ल्याएको उहाँले बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आठौं प्रदेश सभाको पोखरामा उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रको संवर्धन र प्रवर्धनका लागि अध्यादेश ल्याएको बताउँदै व्यावसायीलाई लगानीमैत्री वातावरण सिर्जना भएको दाबीसमेत गर्नुभयो ।

    मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले निजी क्षेत्रको संवर्धन र प्रवर्धनका लागि प्रदेश सरकारले पनि व्यावसायीको आवश्यकता अनुरूप कानुन ल्याउने र भएका कानुनसमेत संशोधन गर्न तयार रहेको बताउनुभयो ।

    गण्डकी प्रदेशमा लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्न र लगानीको पूर्ण सुरक्षा गर्न पनि सरकार तयार रहेको उहाँको भनाइ थियो। उहाँले लगानीको सुरक्षा र सुनिश्चितता तथा लगानीकर्ताको प्रतिफलका लागि सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।

    मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पुडिटार र लोकाहाखोलामा औद्योगिक ग्राम सञ्चालनमा ल्याउने भन्दै प्रदेश सरकारले कृषि, पर्यटन र उद्योगलाई जोड दिएको बताउनुभयो। गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य सरस्वती अर्यालले व्यावसायीका साझा एजेन्डा सम्बोधन गरी अगाडि बढाएमा प्रदेश सरकारले छलफल गरी पूरा गर्ने आश्वासन दिनुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले पाथीभरामा केबलकार निर्माणमा भएको अवरोधले निजी क्षेत्र लगानी गर्न तर्सिएको बताउनुभयो। त्यसैगरी, महासङ्घका अर्का उपाध्यक्ष सुरथकृष्ण वैद्यले बैँकले व्याज घटाए पनि पुराना ऋणीको ब्याज घट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्र अझै गतिशील हुन नसकेको बताउँदै सरकारले पुँजीगत खर्च गर्न नसक्दा पनि मुलुकको आर्थिक सूचक सन्तोषजनक नभएको बताउनुभयो। उहाँले सम्पत्ति शुद्धीकरणको विधेयक पास हुन नसक्दा भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रत्याभूति हुन नसक्दा मुलुकको आर्थिक स्थिति धराशयी बन्न सक्ने बताउनुभयो ।

    महासङ्घ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले निजी क्षेत्र अप्ठेरो अवस्थामा परिरहँदा अन्य क्षेत्र पनि प्रभावित भएको बताउनुभयो। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटामात्र निर्णयले विश्वको आर्थिक बजारमै हलचल आएको बेला राजनीतिक क्षेत्रबाट गरिने निर्णयमा विचार पुर्‍याउनुपर्नेमा सुझाव दिनुभयो ।

    कार्यक्रममा उत्कृष्ट जिल्ला नगरमा गैंडाकोट र एसोसिएटमा सूर्य नेपाल प्रालिलाई मुख्यमन्त्री पाण्डेले सम्मान गर्नुभएको थियो। सो अवसरमा संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइराला, महासचिव सूर्य भुजेल, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तोयनाथ लम्साल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठ, महिला उद्यमी सीता गुरुङ लगायत उद्योगी व्यवसायीले उद्योग व्यवसाय र लगानी प्रवर्धनबारे बोल्नुभएको थियो ।

  • इतिहास हस्तान्तरण गर्ने लक्ष्य र उद्देश्यसहित एकीकरण मार्ग–पदयात्रा सञ्चालन

    काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । नेपाली सेनाले भावी पुस्तालाई इतिहास हस्तान्तरण गर्ने लक्ष्य र उद्देश्यसहित एकीकरण मार्ग–पदयात्रा सञ्चालन गर्दै आएको छ। नेपाल एकीकरणका दौरान अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवर्द्धन गरी ‘ट्रेकिङ ट्रेल’का रूपमा विकसित गर्ने योजनासहित नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्न थालेको ५ वर्ष पुगेको छ । पाँच वर्षको अवधिलाई नियाल्ने हो भने सेनाले इतिहास पुस्ता हस्तान्तरण मात्र होइन संरक्षणको काम पनि गरिरहेको छ।

    कोरोना भाइरसको महामारीकै बेलामा पनि नेपाली सेनाले लकडाउन र निषेधाज्ञालाई जनचेतनाकै रूपमा एकीकरण मार्ग सञ्चालन गरेको थियो । त्यसयता यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । नेपाल एकीकरणका बेला प्रयोग भएका बाटो र गढी–किल्लाहरूको संरक्षणका लागि सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरेको हो ।

    नेपाली सेनाका सहायक रथी एव प्रवक्ता गौरव केसीले यो पदयात्रालाई इतिहास र भूगोल एकसाथ जोडेको बताउँछन् । ‘अहिलेको पुस्तामा इतिहासको पढाइ लेखाई कमजोर देखियो । विश्वविद्यालयमा हेर्ने हो भने इतिहासका विद्यार्थी निकै कम छन् । पहिलो मानविकी अध्यापन गराउने क्याम्पसमा इतिहासको पढाइ हुन्थ्यो । अहिले त्यो कम छ छदै छैन भन्ने होइन तर कम छ । कुनै पनि पुस्ताले हाम्रो इतिहासको बारेमा पर्याप्त जानकारी हुनुपर्छ । इतिहास भनेको हरेकले जानकारी राख्नुपर्छ र यो इतिहास मात्र होइन भूगोल पनि भएकाले नेपालको भूगोलको बारेमा पनि नयाँ पुस्ताले थाह पाउनुपर्छ’, सहायक रथी केसीले भने ।

    यही क्रममा नेपाली सेनाले नेपालका गढी, किल्ला र युद्धस्थलहरुको परिचयात्मक पुस्तकहरू पनि तयार गरेको छ । नेपाली सेनाले ऐतिहासिक एवं पुरातात्त्विक महत्वका वस्तु, सम्पदा, स्थल एवं दस्ताबेजहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरेको छ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले जारी गरेको ‘प्रधानसेनापति कमान्ड मार्ग निर्देशन–२०७५’ को लक्ष्य नं. ६ मा नेपाल, नेपाली र नेपाली सेनाको इतिहास प्रवर्द्धन गर्ने विषय उल्लेख छ । यही कार्यक्रम अन्तर्गत सिन्धुलीमा गढी संग्राहलय र बारामा इतिहास झल्कने गरी एकता पार्क निर्माण भैसकेको छ।

    ‘एकीकरण पदमार्ग’ नेपाली सेनाले तयार गरेका धेरै महत्त्वपूर्ण काममध्ये एउटा हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा सयौँ पहाड, खेत, नदी र खोला तरेर गोर्खाबाट काठमाडौँसम्म पैदल यात्रा गरेका इतिहास विश्वमै परिचित छ । यो विषय नयाँ पुस्तालाई पनि जानकारी गराउने उद्देश्य राखिएको छ । पृथ्वी नारायण शाह बिस वर्षको उमेरमा राजा भएपछि भोगविलास, परिवार सबै बिर्सेर राष्ट्र एकीकरणमा अविराम अभियानमा लाग्दा भोगेको दुःखको सँगालोको रूपमा पनि नयाँ पुस्तालाई जनाकारी यो पदमार्ग यात्राले दिएको छ ।

    नेपाल एकीकरण क्रममा युद्ध लड्न बनाइएका गढी, किल्ला र कोटहरू लामो समयसम्म संरक्षणविहीन रहेका थिए । सरकारले ऐतिहासिक गढी संरक्षणमा चासो नदेखाउँदा सामरिक महत्व राख्ने गढी अवशेषमा सीमित भएको र कतिपयको त अवशेष पनि हराउने अवस्था पुगेपछि नेपाली सेनाले यसको महत्वलाई ध्यान दिएर संरक्षण गर्न थालेको छ।

    काठमाडौं, दहचोकस्थित नौ वटा ऐतिहासिक गढी अन्तर्गत दह चोक गढीमा पृथ्वीनारायण शाह आफैँ बसेका थिए भन्ने गरिन्छ । एकीकरण क्रममा लडाइँ लड्न सामरिक महत्वका स्थानमा अस्थायी या स्थायी रूपमा किल्ला खडा गरेर गढी बनाइएका थिए । धेरैजसो गढीहरू त्यस बेलाको समय अनुसार काठ, माटो र ढुङ्गा प्रयोग गरी बनाइएका थिए ।

    पृथ्वीनारायण शाहको पालामा गोरखाबाट गढी बनाउने काम सुरु भई हाल भारतको टिस्टा नदीसम्म पुर्‍याइएको इतिहासविद्हरूको दाबी छ । पृथ्वीनारायण शाहपछि पनि नेपाल एकीकरण अभियान जारी रह्यो । त्यसपछि पूर्वको टिस्टादेखि काँगडासम्म गढी बनाइए । यस्ता गढी करिब ३ हजार भएको इतिहासकार बताउँछन् । पृथ्वीनारायण शाहको पालामा मात्रै विभिन्न स्थानमा करिब एक हजार गढी बनाइएका थिए ।

    इतिहासकारका अनुसार पृथ्वीनारायण शाहको निधनपछि उनकी जेठी बुहारी एवं प्रतापसिहं शाहकी पत्नी राजेन्द्र लक्ष्मीको पालामा लमजुङ, कास्की र तनहुँमा गढी बनाइएका थिए । त्यसपछि बहादुर शाहको पालामा कास्कीलगायत स्थानमा गढी बनाइए । रणबहादुर शाहको पालामा काँगडासम्म गढी बनाइएका थिए।

    २०४६ अघिसम्म गढीको संरक्षण र सुरक्षाको जिम्मा रक्षा मन्त्रालयअन्तर्गत थियो । त्यसपछि गढीको सुरक्षा जिम्मा स्थानीय विकास मन्त्रालयले लियो । गढी सुरक्षाको जिम्मा स्थानीय विकास मन्त्रालयमा आएपछि गढी र किल्लाको सुरक्षा गर्ने जिम्मेवारी सम्बन्धित गाविस र नगरपालिकालाई दिइयो । गढी सुरक्षा जिम्मा गाविस र नगरपालिकामा आएपछि अलपत्र हुने क्रम सुरु भएको नेपाली सेनाका अधिकारीले बताएपछि यसलाई संरक्षण गर्नुपर्ने आवाज सर्वत्र उठ्न थालेको थियो । त्यसपछि नेपाली सेनाले यसलाई महत्त्व दिएर हरेक वर्ष एकीकरण मार्ग पदयात्रा गर्न थालेको हो । २०७६ पुस १८ देखि २७ गतेसम्म गोरखा–काठमाडौँबिच पृथ्वीनारायण हिँडेको पदमार्गमा नेपाली सेनाले सयौँलाई पहिलो पटक पदयात्रा गरायो।

    पृथ्वी नारायण शाहले वि.सं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलान्चोक जिल्ला एकीकरण अभियानमा गोरखापछि प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान भएका थिए । पहिचान भएका छ पद मार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजय पश्चात् चौकोट–शारदा कोट–गोरखनाथ हुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा भएको सैनिकहरूले जनाएका छन्।

    विभिन्न अभिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात् १८१६ मा नगरकोट–अनेकोट–लामिडाँडा हुँदै पलान्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलान्चोक विजय पश्चात् भमरकोट–काभ्रेकोटसमेत विजय गरी सोही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजय पश्चात् फस्कोट–फूलबारी कोट–बुचाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमाल कोट कब्जा गर्न प्रयोग गरिएको बाटो, तेमाल कोट विजय पश्चात् १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमो बुद्ध–फस्कोट हुँदै पुनः चौकोट विजय र सोही दिन कोट खेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाईं स्थान–नाल कोट–साँगा हुँदै बनेपा पनौतीबाट नागी डाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् ।

    नेपाली सेनाका अवकाशप्राप्त उपरथी ताराबहादुर कार्की भने यो पदयात्रा इतिहास भूगोल मात्र नभई त्यति बेलाको सामरिक मार्गको महत्त्व बुझाउने त्यसले नयाँ पुस्तालाई एकीकरण कसरी भएको रहेछ भन्ने जानकारी दिने बत्ताउँछन् । ‘ नेपाल एकीकरणको सफलता र एकताको प्रतीक भएको, त्यति बेलाको सैन्य रणनीतिको विषय, पदमार्गको छनौट विषय पनि अध्ययन अनुसन्धान पाटो हो ।

    त्यस कारण नेपाली सेनाले यसको सुरुवात गरेको हो । साथै एकीकरणको रणनीतिक योजना र सामरिक महत्त्व पनि भएकाले यसको स्मरण हुने भएकाले नेपाली सेनाले पछ्याउँदै आएको छ । भावी पुस्तालाई नमुना होस भन्ने भावना सेनाको छ’, अवकाशप्राप्त उपरथी कार्कीले भने।

    यसै गरी पृथ्वीनारायण शाहले काठमाडौँसम्म यात्रा गरेको बाटो गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्म टर्च बालेर पदयात्रा गरेको थियो । नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने एकीकरण सम्बन्धी कार्यक्रम र गतिविधि गोरखाबाटै हुने गरेको छ । अर्कोतर्फ गोरखादेखि तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी महत्त्वपूर्ण पदयात्रा हो।

    जितपुरगढीलाई युद्ध संग्रहालयको रूपमा पनि विकास गरिदैछ । पृथ्वीनारायण शाहपछि पनि यस्ता पदमार्गहरू प्रयोग भएका पाइन्छन् । इतिहासकारहरूले यो पदमार्ग यात्रालाई पछिल्लो वस्तुस्थितिलाई नेपाली एकीकरण सम्झाउने सांस्कृतिक, सामाजिक र भौगोलिक एकताको सन्देश बोकेको कार्यक्रमको रूपमा चित्रण गरेका छन् । यो एकीकरण पदयात्रामा स्थानीय तहको पनि संलग्नता रहेको छ ।

    जहाँ जहाँ एकीकरण पदमार्ग रहेका छन् ती पदमार्ग पर्ने स्थानीय तहले नेपाली सेनालाई स्थानीय तहका जनता, जनप्रतिनीधिहरुले बाजागाजा सहित साथ दिएका छन् । त्यसमध्येका तनहुँ भानु नगरपालिका मेयरले यसलाई सांस्कृतिक, सामाजिक सद्भाव यात्राको रूपमा पनि अर्थ्याएका छन् । ‘इतिहास जान्ने अधिकारी हाम्रो नै हो । इतिहासको संरक्षण गर्ने पुरातात्त्विक महत्वका ठाउँलाई देशव्यापी चिनाउने र अहिले भड्किँदै गएको सामाजिक सद्भावलाई कायम गर्ने जिम्मेवारी पनि हाम्रो हो । त्यस कारण नेपाली सेनाले यो एकीकरण पदमार्ग अन्तर्गतको पदयात्राले सांस्कृतिक, सामाजिक र भौगोलिक रूपमा एकीकरणको सन्देश दिएको छ’, मेयर त्रिपाठीले भने ।

    गढी किल्लाहरू

    नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाह र उनले युद्ध लडेका विभिन्न गढी र किल्लाको विषयमा नेपाली सेनाका सहायक रथी (बृगेडियर जनरल) प्रेमसिंह बस्न्यातले खोज अनुसन्धान गरी ‘नेपालका गढी–किल्ला दर्पण’ (सैनिक इतिहास) नामक अलग्गै पुस्तक लेखेका छन्।

    उनले नेपालभित्र रहेका र नेपाली सेनाले युद्ध लडेका तर हाल नेपालबाहिर (भारतका विभिन्न इलाकामा समेत) पारिएका गढ, गढी, गड, गौँडा, किल्ला, क्वाथ, कोत (कोट), खलङ्गा, चोकहरूमा आफैँ पुगेर, ती स्थानमा पहिले भएका युद्ध, हाल ती स्थलहरूको अवस्था, तिनको महत्त्व र मर्मत सम्भार एवम् संरक्षणबारेमा अध्ययन गरेको पाइन्छ।

    नेपाली भूमिमा नेपाल राष्ट्र निर्माण अभियानको सिलसिलामा पछिल्ला दिनमा लडिएका युद्ध विवरणहरूको रहेको छ । पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका भूमिमा लडिएका युद्ध विवरण र युद्धस्थलहरुको शाब्दिक चित्रण गरिएअनुसार नै गढीहरू उल्लेख गरिएका छन्।

    गोरखाको सिरानचोकमा अवस्थित ऐतिहासिक जेठा कोट, माइला कोट तथा कान्छा कोट, टुडिखेल, दशैं घर, पूर्वको हतुवा गढी, उदयपुर गढी, चौदण्डी गढी, चैनपुर गढी, सिद्धिपुर गढी, संगुरी गढी, विजयपुर गढी, गढी थुम्का (इलाम), सिन्धुली गढी, सिन्धुलीको पोैवा गढी, सिन्धुपाल्चोकको दुगुना गढी, लिस्तिकोट, कप्तान पाटी, साँगा चोक गढी, पलान्चोक गढी, भंवरकोट गढी, फूलबारी कोट, जहरसिंह पौवा, नालदुम तथा महादेव पोखरी, नालदुम गढी, कपन गढी, दह चोक, रसुवागढी, नुवाकोट, बेलकोट, समनपुर, बारा गढी, सिम्रौनगढ, तिमालकोट, अम्बास गढी, ढुङ्गे गढी, मकवानपुर गढी, हरिहरपुर गढी, डढुवा गढी, चिसापानी गढी, पर्सा गढी, कान्द्राङ्ग गढी, लिगलिग कोट, गोर्खा दरबार कोट, लमजुङ दरबार कोट, लमजुङको पुरानो कोट, तुर्लुङ कोट, रागीनास कोट, कास्की कोट, सिन्च्याङ गढी, प्याहुली गढी, उपर दाङ गढी, कबिलासका गढी, सुमेश्वर गढी चितवन, पाल्पाको जितगढी, स्याङ्जाको सतहुं (कोट) गढी, नुवाकोट (पल्लो) गढी, शिवराज (स्युराज) गढी, छिल्लिकोट, बयलकाटा गढी, मङ्गल गढी, दुल्लु गढी, दैलेख गढी, जोरायल (डोटी) गढी (कोट), अमरसिंह गढी डडेलधुरा, अजयमेरु कोट (दरबार), तिखा गढी डोटी, समेत हाल नेपालभित्र रहेका गढीहरू उल्लेख गरिएका छन् । सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, रसुवा, सिन्धुली, इलाम, धनकुटा, भोजपुर, उदयपुर, मकवानपुर, लमजुङ, चिसापानी, चितवन, रुपन्देही, कपिलवस्तु, दैलेख र डडेलधुराका गढी समेटिएको छ ।

  • चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

    काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

    पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

    एन्फाले पहिलो पटक आयोजना गर्न लागेको चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मा र लेबनानको सहभागिता रहनेछ । उक्त प्रतियोगिताको ‘टिकेटिङ राइट’ एक करोड ३५ लाख र ‘ब्रोडकास्टिङ राइट’ रु ६६ लाखमा बिक्री गरेको एन्फाले जनाएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर ‘भिआइपी’तर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ ५०० तोकिएको छ । एन्फाका अनुसार सहभागी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान प्रयोग गर्नेछन् ।

    प्रतियोगिताको अनुमानित बजेट करिब दुई करोड ५० लाख ५६ हजार १०४ लाग्ने आयोजकले जनाएको छ ।

  • काठमाडौं विश्वविद्यालयसहित नेपाली र जापानी संस्थाबीच सम्झौता

    काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । नेपालबाट जापानमा दक्ष केयरगिभर जनशक्ति लैजाने बाटो खुल्दै गएको छ । सोमबार काठमाडौंमा नेपाल र जापानका विभिन्न संस्थाहरुले यसबारेको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    नेपालमै भाषा र सीप सिकाएर जापानको केयरगिभर क्षेत्रमा लाने र पाँच वर्ष काम गरेर फेरि नेपालमै वा अरु देशमा त्यही काम गर्नसक्ने दक्ष जनशक्ति तयार गर्ने योजनासहित भएको सम्झौता आज विभिन्न संस्थाहरुले आदानप्रदान गरेको बताएका छन् ।

    जापानको तर्फबाट जेनकाउ रिसर्च इस्टिट्युट, कोजाइके कोसान, प्रोगेसिफ स्टाफ एजेन्सी र नेपालको तर्फबाट काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिन साइन्स, सन एन्ड कम्पनी र सन्दिपनी ग्रुप अफ कम्पनिज्ले हस्ताक्षर गरेका थिए ।

    सोही क्रममा जापानमा केयरगिभर भएर जाने तयारीमा रहेका दुई नेपाली नितिसा चलाउने र मोनिका गुरुङ पनि उपस्थित भएका थिए । जापानका ती कम्पनीहरुका प्रतिनिधिहरुले जापानमा २५ हजारसम्म नेपालीहरु केयरगिभरमा जाने बाटो खुला भएको बताए ।

    आगामी सात वर्षमा जापानको बुढ्यौली जनसंख्यालाई दश लाख केयरगिभर चाहिने भन्दै दक्षिण एसियाका नेपाल, भारतलगायतका देशहरुबाट लगिने जापानी प्रतिनिधिहरुले बताए । अहिले पनि विभिन्न देशका ५० जना विदेशी केयरगिभरको रुपमा आफ्नो कम्पनीमा जोडिएको वक्ताहरुले बताए ।

    कार्यक्रममा बोल्दै नेपाली वक्ता डा. विशाल ढकालले जापानको समस्या बुढ्यौली र केयरगिभर अभाव भएर समाज र सरकारलाई समस्या भएको बताए । नेपालको समस्या जागिर र जागिरको दक्षता नभएर आर्थिक क्षेत्रमा असर गरेको उनको भनाइ छ ।

    जापान र नेपालका समस्या एक-अर्काबाट सामाधान गर्न केयरगिभर कार्यक्रम महत्वपूर्ण हुने डा. ढकालले बताए । उनले भने, ‘अब सीप नभएका अदक्ष कामदार होइन, दक्ष र सीपयुक्त कामदारहरु जापानमा केयरगिभरको रुपमा लैजान सकिन्छ ।’

  • गोरखापत्र राज्यको मिडियाको रुपमा विकसित हुनुपर्ने

    काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र राज्यको मिडियाको रुपमा विकसित हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गोरखापत्र प्रतिष्ठान शाखाको सोमबार आयोजित पाँचौ अधिवेशनको समुद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

    महाप्रबन्धक ऐरीले भन्नुभयो, “गोरखापत्र राज्यको मिडिया हो । गोरखापत्र खोजेर होइन, बजारमा प्रतिस्पर्धी भएर जानुपर्छ । राज्यको मिडियाको रुपमा गोरखापत्र विकसित हुनुपर्छ ।”

    उहाँले व्यावसायिक पत्रकारितालाई बढी जोड दिनुपर्ने भन्नुहुँदै थप्नुभयो, “गोरखापत्र व्यावसायिक रुपमा आफूलाई अब्बल बनाएको छ ।” उहाँले एकसय २४ वर्षको गौरवमय इतिहास बोकेको संस्थानलाई रि–ब्राण्डिङ गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

    कार्यक्रमको उद्घाटन सत्रमा प्रेस चौतारी नेपालका सचिव हरिवल्लभ नेपालले गोरखापत्र नेपाली पत्रकारिताको विश्वविद्यालय भएको भन्दै गोरखापत्रले धेरै व्यावसायिक पत्रकार जन्माएको बताउनुभयो ।

    कार्यक्रममा प्रेस चौतारी गोरखापत्र पत्रकारिता पुरस्कारद्वारा फोटो पत्रकार शेखर चौलागाई र ‘दि राइजिङ नेपालका सहसम्पादक डा. लीलाधर उपाध्यायलाई सम्मानित गरिएको छ । कार्यक्रममा गोरखापत्र दैनिकका सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधान सम्पादक भिमसेन थपलिया, सञ्चालक समितिका सदस्य राजुकुमार महत, प्रेस चौतारी नेपालका सचिव हरिवल्लभ नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

    यसैगरी, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, प्रेस सेन्टरका अध्यक्ष सुजन गुरुङ, प्रेस चोतारी नेपाल गोरखापत्र शाखाका सल्लाहकारहरु केपी गौतम, लक्की चौधरी, अजय शर्मा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य केशबराज पौडेल, पूर्व केन्द्रीय सदस्य कविता थापा लगायतको सहभागिता थियो । शाखाको उदघाटनसत्र अध्यक्ष नगेन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

    तनहुँ, मंगलबार, २९ माघ २०८१ । तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ सुरू गरिएको हो ।

    मगर समुदायका विद्यार्थीहरूलाई मगर भाषा सिकाउने र पुस्तान्तरण अभियानका साथ मगर भाषाको कार्यान्वयनलाई प्राथमिकता दिने उद्देश्यले व्यास नगरपालिकामा पहिलो पटक केशवटार मा वि बाट मगरभाषाको पढाई सुरू गरिएको हो । उक्त विद्यालयमा नेपाल मगर सङ्घले बनाएको नीति र स्थानीय पाठ्यक्रमअनुसार कक्षाहरू सञ्चालन गरिएको छ ।

    केशवटार माविको कक्षा १ मा मगर भाषाको पढाइ थालिएको हो । मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयनको शुभारम्भ नगरप्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभयो । मगर भाषाको पढाइ सञ्चालनका लागि नगरपालिकाकै सहयोगमा पहिलो चरणमा शिक्षकहरूलाई पाँच दिने तालिम प्रदान गरिएको थियो । मगर भाषा संरक्षणका लागि नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ ।

    तालिम प्राप्त शिक्षकहरूले विद्यालयहरूमा मगर भाषामा कक्षाहरू सञ्चालन गर्नेछन् । पठनपाठनलाई सहज बनाउन र प्रभावकारी बनाउन विशेष तालिम प्रदान गरिएको थियो । यस प्रक्रियाले भाषा संरक्षणमा मद्दत पुर्‍याएको र सिकाइमा प्रभावकारिता ल्याएको नेपाल मगर सङ्घका केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापाले बताउनुभयो ।

    तालिममा मगर भाषाको पाठ्यक्रमको बारेमा याम बहादुर आले, इन्द्र बहादुर आले, अमर थापा, नन्दु थापा, यामलाल थापा, तिलबहादुर थापा र अनुराज थापाले प्रशिक्षण दिनुभएको थियो । तालिममा मगर बाहुल्यता भएका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए ।