Blog

  • नेपाली कलासाहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान एवं पुरस्कार प्रदान

    काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो ।

    कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राडा.वीणा पौड्याललाई राष्ट्रिय कलाश्री सम्मान अर्पण गरिएको थियो । यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई अर्पण गरिएको थियो । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ छ ।

    यसैगरी स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई अर्पण गरिएको थियो । बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार लेखक तथा पत्रकार वसन्त बस्नेत, थिरछायाँ राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देल र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक कमलीकान्त भेटवाललाई दिइएको छ ।

    राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछायाँ कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०-५० हजार रुपैयाँ राशि छ ।

    कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कलासाहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्ने बताउनुभयो । ‘कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्नसक्नुपर्छ । अहिले त्यो भावना घटेर ‘म’ मा बढ्ता सीमित भएको छ । तर संस्थागत रूपमा गरिने क्रियाकलापलाई हामीले प्रोत्साहन गर्नुपर्छ’, उहाँले भन्नुभयो । मौलिक राष्ट्रिय भावनाका लागि योगदान दिनु नै कला साहित्यको मूल ध्येय हुनुपर्ने पूर्वसचिव विमल कोइरालाले बताउनुभयो ।

    संस्थाकी अध्यक्ष मोमिलाले साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा अझै उचाई बढाउनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो सम्मानको विरासत र वर्तमानले साहित्य लेखनलाई अझै उचाइमा लैजान सकोस्, संस्कृति र कलाको क्षेत्रमा अझै महत्वपूर्ण योगदान गर्न सकोस् भनेर हामीले पारदर्शिता र निष्पक्षता राख्न सकेका छौं’, उहाँले भन्नुभयो ।

    प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कवि राजेश्वर कार्कीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य र समग्र गतिविधिबारे प्रकास पार्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा युवा समालोचक महेश पौडेलले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको विस्तृत परिचय राख्नुभएको थियो ।

    कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार शंकरप्रसाद कोइराला, प्राडा.गोविन्दराज भट्टराई, लेखकहरू भागिरथी श्रेष्ठ, उषा शेरचनलगायत सहभागी हुनुहुन्थ्यो । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।

  • शहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको पुन:निर्माण कार्य सम्पन्न

    गोरखा, सोमबार, २८ माघ २०८१ । गोरखा जिल्ला शहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको पुन:निर्माण कार्य सम्पन्न भएको छ ।

    बि स २०७२ बैशाख १२ गते गएको गोरखा भूकम्पका कारण क्षति भएको गोरखाको शहिद लखन गाउँपालिका वडा नं ६ स्थित घैरुङ स्वास्थ्य चौकी भवन नेपाल सरकार स्वास्थ्य मन्त्रालय र भारत सरकारको सहयोगमा पुन:निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष अध्यक्ष रमेश थापा मगरले बताउनु भयो, साथै उहाँले PHB- 3 टाईपको यस स्वास्थ्य चौकी भवनको लागत स्टमेट रु ११,२३,१३३०४.४/- रहेकोमा खानी निर्माण सेवा कम्पनीले बोलपत्र मार्फत ठेक्का संझौता गरि रु ८,५४,०६००१.७/- लागतमा सम्पन्न गरिएको उहाँले बताउनु भयो ।

    स्वास्थ्य चौकी भवन निर्माणसँगै घैरुङ लगायतका आसपासका क्षेत्रका नागरिकहरुले सजिलै स्वास्थ्य सेवा प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो ।

    जिल्लाको शहिदलखन गाउँपालिका ६ घैरुङमा स्वास्थ्य चौकी भवनको शिलान्यास गत २०७८ साल चैत्र १२ गते शुक्रबारका दिन एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष रमेश थापा मगरले स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नु भएको थियो ।

  • गोरखाको बारपाक सुलिकोटमा पाठेघरको निःशुल्क परीक्षण शिविर हुने

    गोरखा, सोमबार, २७ माघ २०८१ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा महिलाहरुको पाठेघरको निःशुल्क परीक्षण तथा उपचार सम्बन्धी शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन तथा नेपाल क्यान्सर रिलिभ सोसाईटी काभ्रे शाखाको सहयोगमा शिविर हुन लागेको हो ।

    शिविर फागुन १९ गतेदेखि सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविर पाँच दिनसम्म चल्ने छ । पालिकाभित्रका सबै वडाबासी महिलाहरुलाई समेट्न विभिन्न पाँच स्वास्थ्य चौकीमा शिविर हुन लागेको हो । शिविरको पहिलो दिन १९ गते बारपाक स्वास्थ्य चौकी, दोस्रो दिन फागुन २० गते सौरपानी स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको परीक्षण गरिने छ ।

    तेस्रो दिन स्वाँरा स्वास्थ्य चौकी, चौथो दिन ताकुमाझलाकुरीबोट स्वास्थ्य चौकी र अन्तिम दिन फागुन २३ गते पाँचखुवा देउराली स्वास्थ्य चौकीमा शिविर हुने बताएको छ । ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका सम्पूर्ण महिलाहरुले शिविरबाट सेवा लिन सक्ने छन् ।

  • अबको पार्टी सभापति र प्रधानमन्त्रीमा डा. शेखर कोइराला : नेत्री सुजाता

    काठमाडौँ, सोमबार, २८ माघ २०८१ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अबको पार्टी सभापति र प्रधानमन्त्रीमा डा. शेखर कोइरालालाई प्रस्ताव गरेकी छन् । सोमबार जीपी फाउन्डेसन भक्तपुरको कार्यक्रममा उनले अब कांग्रेस सभापति र प्रधानमन्त्री दुवै डा. कोइराला हुने जिकिर गरेकी हुन् ।

    कांग्रेसलाई भूमिकाविहीन बनाइएको र देश विकासको श्रेय प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको भन्दै उनले यस्तो अवस्थामा पुर्‍याउने शेरबहादुर देउवालाई प्रधानमन्त्री र सभापति कुनै पनि पदमा अब स्वीकार नगर्ने उद्घोष गरिन् ।

    “कांग्रेसलाई यो अवस्थामा पुर्‍याउनेलाई अब कुनै पनि रूपमा अघि बढाउन सकिँदैन,” सुजाताले भनिन्, “अबको प्रधानमन्त्री शेखर कोइराला हो, अबको कांग्रेसको सभापति पनि डा. शेखर कोइराला नै हो ।” उनले फाउन्डेसन राजनीतिक फोरम नभए पनि आफूले यहीँबाट यस्तो घोषणा गरेको बताइन् ।

    देशमा प्रजातन्त्र कमजोर रहेको र कांग्रेस भूमिकाविहीन अवस्थामा देखिएको उनले टिप्पणी गरिन् । “देशमा प्रजातन्त्र एकदम कमजोर भएको छ । यो देश कांग्रेसले हाँकेको छैन, ओलीजीले लिड गरिराख्नुभएको छ । शेरबहादुरजी स्याडो (छाया) मा हुनुहुन्छ । उहाँ (देउवा) दिनभर केमा भुलिरहनुभएको छ मैले बुझ्न सकेको छैन,” उनले भनिन्, “विकास निर्माणका केही काम भइरहेका छन्, तर त्यसको श्रेय ओलीजीले एक्लै लिइराख्नुभएको छ ।”

  • धार्चे गाउँपालिका २ करौँजामा ऐतिहासिक ‘नरा पर्व’ सुरु

    गोरखा, सोमबार, २८ माघ २०८१ । धार्चे गाउँपालिका–२ करौँजामा ऐतिहासिक ‘नरा पर्व’ सुरु भएको छ । यो पर्व विशेष गरी त्यहाँका गुरुङ समुदायको दुई उपथर (तनिल्ह र ङरजिङ) ले मनाउने गर्दछ । केही वर्ष यता भने गाउँले सबैले आफ्नै पर्व मानी मिलेर मनाउँदै आएका छन् । यो पर्व दस दिनसम्म मनाइन्छ । तनिल्ह ले पाँचदिन र ङरजिङले पाँच दिन मनाउने प्रचलन रहेको स्थानीय सुकबहादुर गुरुङले जानकारी दिए ।

    पर्व अवधिभर माटो नचलाउने परम्परा रहदैँ आएको पूर्व वडाध्यक्षसमेत रहेका गुरुङले बताए । ‘यो पर्व मनाउन गाउँमा काम बार्ने चलन छ । दस दिनसम्म माटो नचलाउने परम्परा छ,’ उनले भने, ‘पर्व मनाउञ्जेल बारी खनजोत नगर्ने, भौतिक पूर्वधार निमार्ण नगर्ने र सबै काम रोकेको हुन्छ ।’ यस्तो गर्दा बाली राम्रो हुने मान्यता रहेको उनले बताए ।

    ‘सबै विश्वास नै हो, हामीले पनि त्यहीँ विश्वास राखेर नरा पर्व मनाउँछौं,’ उनी भन्छन्, ‘बाली नालीमा किरा फट्याङग्रा नलागोस्, खडेरी नलागोस् बाली राम्रो होस् भन्नी नै यो पर्वको मान्यता हो ।’ यहीँ मान्यताको साथ पूर्खाहरुको पालादेखि नरा पर्व मनाउँदै आएको गुरुङको भनाइ छ । पर्व सुरु गर्दा लामा बोलाएर शान्ति पुजा गर्ने प्रचलन पनि छ । पर्वमा स्थानीय लामा नाँच, मारुनी नाँच, घोडेनाँच जस्ता विभिन्न थरीका सांस्कृतिक कोसेलीहरु प्रस्तुत गरिन्छ । यो पर्व तीन वर्ष रोकेर फेरी तीन वर्ष भने निरन्तर मनाउने गरेको उनले जानकारी दिए ।

    यो वर्ष भने पर्वलाई केही स्तरोन्नति गर्दै लेकाली सिर्जनशिल युवा क्लबले पर्वको आयोजना गरेको छ । पर्वको गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानेले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुुन् । पर्वको आकर्षण बढाउन भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको क्लबका अध्यक्ष रञ्जित गुरुङले बताए । प्रतियोगिता २१ टिमको सहभागिता रहेको छ ।

    प्रतियोगिताको प्रथम द्धितीय र तृतीयले क्रमश ७०, ५० र ४० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । क्लबका अध्यक्ष गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

  • बारपाक सडक : अर्कुल बजारदेखि बालुवासम्मको खण्ड कालोपत्रेको काम अलपत्र

    गोरखा, सोमबार, २८ माघ २०८१ । गोरखा सडक योजनाले लोहनी एण्ड ब्रदर्शसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । दुई बर्षमा सक्नुपर्ने बाह्रकिलो बारपाक सडक अन्तरगत अर्कुल बजारदेखि बालुवासम्मको खण्ड कालोपत्रेको काम नौ बर्षदेखि अलपत्र पारेको भन्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

    ‘ठेक्का किन नतोड्ने भनेर पत्रिकामा सूचना प्रकाशन गरेका छौं,’ कार्यालयका इन्जिनियर आशिक रिजालले भने, ‘सम्पर्कमा आउनु भनेर सात दिनको म्याद तोकिएको छ ।’ तोकिएको समयभित्र सम्पर्कमा नआए ठेक्का तोड्नका लागि बिभागमा लेखेर पठाइने उनले जानकारी दिए । काम सुरु गर्न उक्त निर्माण कम्पनीलाई यसअघि पनि पटक पटक पत्राचार गरेपनि वेवास्ता गर्दै आएको कार्यालयले जनाएको छ ।

    कुल ८ किलोमिटर सडक कालोपत्रेका लागि २०७२ साल असार ३१ गते कार्यालय र उक्त निर्माण कम्पनीबीच सम्झौता भएको थियो । काममा लापरवाही गर्दै आएपनि हालसम्म सातौँ पटक म्याद थप भइसक्यो तर कामको प्रगति सुन्य छ । ‘करिव ८० प्रतिशत मात्र काम सकेर राखेको छ,’ उनले भने, ‘केही खण्ड कालोपत्रे गर्नुपर्ने छ र कालोपत्रे भइसकेको केही खण्ड बिग्रिएकाले त्यसलाई पनि मर्मत गर्नुपर्छ तर, पटक पटक म्याद थप भएपनि फिल्डमा काम भएको छैन ।’

    यता बालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सूर्य जेभीको पनि हालसम्म सातौँ पटक म्याद थप भइसक्यो । तर काम सम्पन्न भएको छैन । विगत केही बर्षदेखि अलपत्र छाडेको काम अहिले पुनः सुरु गरेको कार्यालयका इन्जिनियर कल्याण खड्काले बताए । ‘अहिले राङरुङदेखि माथि कालोपत्रेको काम भइरहेको छ,’ उनले भने, ‘राङरुङदेखि तल नाला र रिर्टनिङ वाल लगायतका संरचना निर्माणका काम भइरहेको छ ।’

    उक्त खण्डमा यसअघि काम कालोपत्रे भइसकेको केही ठाउँहरु भत्किएकाले त्यसको पनि मर्मत गर्नुपर्ने उनले जानकारी गराए । उनका अनुसार हालसम्म करिव ९० प्रतिशत काम सम्पन्न भएको छ । २०७३ असार ३० गते सम्झौता भएर काम शुरु भएको थियो । अन्तिम पटक थप भएको म्याद यही असारसम्म मात्र छ । असारमा काम सक्ने आश्वासन निर्माण कम्पनीले दिएको कार्यालयले जनाएको छ ।

    बाह्रकिलो देखि बारपाकसम्मको कुल ४६ किलोमिटरको सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको हो । बाह्र किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोप्रियट फर कन्स्ट्रक्सनले पाएको हो भने निवेलदेखि अर्कुलसम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको हो ।

    यी दुवै खण्डमा काम सम्पन्न भइसकेको छ । तर बाँकी दुई खण्डमा भने ठेकेदारको लापरवाहीका कारण काम अलपत्र बनेको हो । उक्त सडक योजनाका लागि यो बर्ष २० करोड रकम विनियोजन भएको छ । उक्त रकमले उक्त खण्ड अन्तरगत यसअघि कालोपत्रे भइसकेका सडक मर्मत गरिने इन्जिनियर खड्काले बताए । ‘उक्त खण्डको काम सम्पन्न भएर पाँच बर्ष पुगेको सडक मर्मत गर्छाै, नालासहित मर्मतको काम हुन्छ,’ उनले भने ।

  • अन्तर्राष्ट्रिय डाइबेटिज कन्फरेन्स-२०२५ हुँदै

    काठमाडौँ, सोमबार, २८ माघ २०८१ । मधुमेह (डाइबेटिज) सम्बन्धी एकदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन आउँदो फागुन १७ गते द म्यासिफ होटलमा हुन लागेको हो ।

    धन-योग फाउण्डेसन अमेरिकाले डायबिटिज एण्ड इन्डोक्राइनोलोजी सोसाइटीसँगको सहकार्यमा काठमाडौंमा उक्त सम्मेलन गर्न लागेको हो । नेपाललगायत दक्षिण एसियामा मधुमेहका बिरामीको समस्या बढेकाले त्यसको निराकरणका लागि सम्मेलन गर्न लागिएको बताइएको छ ।

    आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल एनसिडी अलायन्सका डा. प्रज्ज्वल प्याकुरेलले सम्मेलनबारे जानकारी दिनुभएको हो । सम्मेलनमा विभिन्न राष्ट्रहरूको छाता संगठनमा आबद्ध इण्डोक्राइनो लोजिष्टसहित अध्ययन अनुसन्धानकर्ताहरू सहभागी रहने बताइएको छ । सम्मेलनमा नेपाल, अमेरिका, भारतलगायत देशका विज्ञहरूसमेतको सहभागिता रहनेछ ।

    सम्मेलनमा विभिन्न देशका विज्ञहरूबाट विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ ।

    सम्मेलनमा प्रशिक्षकहरू, सम्बन्धित चिकित्सकहरू, मेडिकल चिकित्सकहरू, विभिन्न विश्वविद्यालयका रिसर्जरहरू, देशविदेशमा रहेका प्रोफेसरहरूलगायत दुई सय बढीको सहभागिता रहने बताइएको छ । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इण्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा. नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा. राजु पन्त, अमेरिकाबाटै डा. अजय चौधरी, प्राडा मेरेडिथ हकिन्स, डा. राल्फ डेफरेन्जो, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रोबिन मास्के, भारतका डा. निहाल थोमस, विश्व स्वास्थ्य संगठनबाट डा. ग्याम्पो दोर्जी, नेपाल एनसिडी अलायन्सका डा. प्रज्ज्वल प्याकुरेल र नेपाल विकास समाजका डा. श्वेता कोइराला सहभागी हुने पक्का भइसकेको छ ।

    सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यास्सचुसेट्स, डायबिटिज एण्ड इण्डोक्राइनोलोजी एसोसिएसन नेपाल र नेपाल हेल्थ क्रप्सले सहकार्य गर्नेछन् । मुख्य आयोजक संस्था धन-योग फाउण्डेसन अमेरिकामा दर्ता भएको संस्था हो । यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ । मधुमेह र मोटोपनको अन्योन्याश्रित सम्बन्धका बारेमा अन्तर्राष्ट्रियरूपमा जनचेतना जगाउने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको डा. प्याकुरेलले बताउनुभयो ।

  • बिश्वज्योति सिनेकम्प्लेक्समा ‘ममी’ को च्यारिटी शो सम्पन्न

    काठमाडौँ, आइतबार, २७ माघ २०८१ । लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्ट प्रा लि को आयोजनामा ‘ममी’ को च्यारिटी शो सम्पन्न भएको छ । शनिबार रानीपोखरीमा अवस्थित बिश्वज्योति सिनेकम्प्लेक्समा ‘ममी’ को च्यारिटी शो सम्पन्न गरिएको हो ।

    Innerwheel Club of Satdobato को सहयोगार्थ गरिएको उक्त शो मा १६० जना दर्शकहरूको उपस्थिति रहेको लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्टका अध्यक्ष पुजा रेग्मीले बताउनु भयो । ‘ममी’ को च्यारिटी शो मा ललितपुर महानगरपालिका वडा नं १५ का वडा सचिव निरन श्रेष्ठ, फिल्मका निर्देशक समर निरौला, निर्माता पूर्णिमा जोशी, कलाकारहरु समीप निरौला, सुलक्षण भारती, बाल कलाकार जेभिस श्रेष्ठ, जेनीश श्रेष्ठ लगायत अन्य अतिथि महानुभावको उपस्थिति रहेको थियो ।

    कार्यक्रम समारोह सञ्चालन सावित्री ढुंगानाले गर्नु भएको थियो भने Innerwheel Club of Satdobato की चार्टर्ड प्रेसिडेन्ट सिमा राईले स्वागत मन्तव्य दिनु भएको थियो ।

    समर निरौला निर्देशित फिल्म ‘ममी’ मा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, आयुषी ढकाल लगायतको अभिनय छ । घरपालुवा कुकुर मारेपछि कालो बिरालोलाई घरमा ल्याइँदा सो घरमा हुने रहस्यपूर्ण घटनाको कथावस्तुमा फिल्म बनेको छ ।

    सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको ‘ममी’ फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । समर डेब्यू निर्देशक हुन् । फिल्मको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

    फिल्मको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्वन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

    फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेको हो ।

    फिल्म ‘ममी’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

  • रुम्सी होमस्टेमा आन्तरिक पर्यटकको रोजाइमा

    दमौली (तनहुँ), आइतबार, २७ माघ २०८१ । जिल्लाको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास) मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो । यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ आउने पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताउनुभयो । उहाँका अनुसार दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ ।

    गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियोे । यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख लगानी गरेका छन् । परियोजनाअन्तर्गत एक सय १० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिनुभयो ।व्यास–१४ वडाध्यक्ष काजीमान श्रेष्ठले पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण परिवेशमा रमाउन चाहनेहरू यहाँ आएर आनन्दित हुनुनहुन्छ ।”

    मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवर्द्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यसलाई नमूना बस्तीको रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।”

    रुम्सी होमस्टे पुग्नुभएका दमौलीका सविन लामिछानेले यहाँका होमस्टे सञ्चालकको स्वागत, अर्गानिक खाना, प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याएको उल्लेख गर्नुभयो । यहाँ थप पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सरकारले रोजगारीका अवसर सिर्जना गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

  • जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …

    काठमाडौँ, आइतबार, २७ माघ २०८१ । विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो । त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । मावि तहको अनुमति नै खारेज हुन सक्थ्यो । विद्यार्थी अनुत्तीर्ण भए विद्यालय घटुवामा पर्ने भएपछि सदरमुकामको शैक्षिक मात्र होइन प्रशासनिक क्षेत्रमासमेत छटपटी थियो । के गर्ने, कसो गर्ने भनेर खैलाबैला चलिरहेको थियो । कहिलेकाहीँ अभिभावक र विद्यार्थी दुवैले ल्याउने खुसी सधैँ अविस्मरणीय हुने गर्दछ । यस्तै खुसी लिएर आउनुभएको थियो छात्रा कल्पना पाण्डे ।

    विद्यालयलाई प्राण दिने पहिलो इतिहास कायम भयो पाण्डेका नाममा । हाल ८२ वर्ष पुग्नुभएकी पाण्डेले २०१८ सालको एसएलसी उत्तीर्ण गरेर विद्यालयको छवि उजिल्याउनुभयो । त्यसयता शक्ति मावि पछि परेको छैन, गोरखामै एक प्रतिष्ठित विद्यालयका नामले निरन्तर प्रगतिउन्मुख छ । यसपटक तिनै पूर्व विद्यार्थी पाण्डे विद्यालयका पुराना तीन जना प्रधानाध्यापकलाई सम्मान गर्न प्रज्ञा–प्रतिष्ठान पुग्नुभयो । सोही विद्यालयका पूर्व विद्यार्थी समूहले शनिबार राजधानीमा आयोजना गरेको समारोहमा प्रधानाध्यापकत्रय बाबुराम श्रेष्ठ, रामचन्द्र आचार्य र गोबर्धन आचार्यलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो ।

    हाल ८२ वर्ष पुग्नुभएका पूर्व प्रधानाध्यापक रामचन्द्रले २०१६ सालदेखि उक्त विद्यालयमा सेवागरी २०४३ देखि २०५७ सालसम्म १४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यस्तै, १९९७ सालमा जन्मनुभएका गोबर्धनले २०१९ सालदेखि शक्ति माविमा सेवागरी २०५५ सालमा अवकाशमा जानुभएको थियो । १९९९ सालमा जन्मनुभएका अर्का शिक्षक श्रेष्ठले भने २०१५ देखि उक्त विद्यालयमा सेवा गर्नुभएको थियो । शिक्षक र प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्नुभएका श्रेष्ठले २०२५ सालमा अवकाश लिनुभएको थियो । सम्मान समारोहमा सोही विद्यालयका पूर्व विद्यार्थी शारदाप्रसाद धितालले २०३२ सालमा एसएलसी दिएका पुराना सहकर्मीहरुको खोजी गर्दै जाने क्रममा विस्तार हुँदै गएको पूर्व विद्यार्थीको समूहले गुरु सम्मान प्रारम्भ गरेको जानकारी दिनुभयो ।

    ऐतिहासिक दरबार हाइस्कूलबाट गोरखाली चेलीहरुले पञ्चेबाजा बजाउँदै साजसज्जासहितको विशेष मोटरमा राखेर तीन प्रधानाध्यपकलाई नगरपरिक्रमा गराउँदै प्रज्ञा भवनको सिद्धिचरण सभाकक्षमा अभिनन्दन गरिएको थियो । कार्यक्रम संयोजक तथा श्री शक्ति एलुम्नाई एशोसिएसनका निवर्तमान संयोजक मेघबहादुर मास्केले गौरवपूर्ण इतिहास बोकेको विद्यालय र गुरुहरुको योगदानको उच्च कदर गर्दै नयाँ संस्कार सुरु गरिएको बताउनुभयो । कार्यक्रममा शैक्षिक क्षेत्रका अगुवा डा वसन्तचन्द्र मरहठ्ठाले चेलाहरुसँग गुरुहरु डराउनुपर्ने समयमा ज्येष्ठ नागरिक भएका विद्यार्थीबाट अग्रज गुरुहरुको सम्मान हुनु आफैँमा पवित्र कार्य भएको बताउनुभयो ।

    सोही विद्यालयका पूर्व विद्यार्थीहरु हाल नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, शैक्षिक अगुवा प्रेमबहादुर थापा, मीनप्रसाद भट्टराईले समाजका लागि नैतिकवान, चरित्रवान, कर्मठ,र सुयोग्य नागरिक बनाउन गुरुहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले लिखित शुभकामना सन्देशमार्फत गुरुहरुले देखाएको गोरेटो आफूहरुको गन्तव्य तय भएको जनाउनुभयो । उहाँले पनि सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो ।

    कार्यक्रममा सम्मानित व्यक्तित्वले यो उमेरमा पूर्व विद्यार्थीहरुले सम्मान गरेकामा आफूहरुले सही संस्कार दिएको अनुभूति भएको बताउनुभयो । उहाँहरुले भन्नुभयो, “जीवन एउटा सिकाइ हो, निरन्तर चलिरहन्छ, जो जहाँ जुन हैसियतमा पुगे पनि धरातल भने बिर्सनु हँुदैन ।” कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा सोही विद्यालयका विद्यार्थी किरणबाबु श्रेष्ठ र नेपाली कांग्रेस नेत्री सृजना सिंहले आज पनि आफूहरु विद्यार्थी नै रहेको अनुभूति भएको सुनाउनुभयो । उहाँहरुलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ, “हजुरजस्ता गुरुलाई कृष्ण, अर्जुन र एकलव्यले जस्तो गुरुदक्षिणा अर्पण गर्ने क्षमता नभए पनि श्रद्धाका अभिनन्दन गर्दछौँ । ”गोरखा जिल्लाका पुराना विद्यालयमध्ये एक शक्ति माध्यमिक विद्यालय २००९ सालमा स्थापना भएको थियो ।