Blog

  • निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

    काठमाडौँ, शुक्रबार, २५ माघ २०८१ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारीसरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबिचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय रुपियाँ) कायम गर्नुपर्ने पनिर्णय भएको को हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ ।

    बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामकोे सम्झौता गर्न नमान्ने विद्यार्थीसँग कुल २३ लाख रुपियाँ शुल्क लिने विषयमा पनि छलफल भएको छ । हाल निजी मेडिकल कलेजले मासिक २० हजार रुपियाँ निर्वाह भत्ता दिँदै आएका छन् ।

    पोष्ट ग्राजुएट तहका विद्यार्थीले समान सुविधाका लागि आन्दोलन जारी राखेको र आयोगका परीक्षासमेत प्रभावित हुने स्थितिमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको अग्रसरतामा समस्या समाधानको पहल भएको हो ।

    बैठकमा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यविधि बनेपछि निर्णय गर्न आग्रह गर्नुभएको थियो तर आयोगका प्रधानमन्त्री ओली, सहअध्यक्षहरु स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भटराईले आवासीय चिकित्सकको समान सुविधाको प्रतिबद्धताबाट पछि हट्न नसकिने स्पष्ट गर्नुभएको थियो ।

    चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थाको विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको आयोगको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा आवश्यक संशोधनको प्रक्रिया थाल्ने विषयमा पनि छलफल भएको थियो ।

  • ग्लोबल आइएमई बैंक र राष्ट्रिय फोटोपत्रकार समूह बिच क्यामरा खरिदको लागि सम्झौता

    काठमाडौँ, शुक्रबार, २५ माघ २०८१ । राष्ट्रिय फोटोपत्रकार समूह नेपालमा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामारा खरिदको लागि विना धितो ऋण पाउने भएका छन् ।

    आज एक कार्यक्रमका विच बैकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाख सम्म रिण दिने गरी समझदारी भएको हो । बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न सजिलो किस्ता योजनामा सुविधा उपलब्ध गराउन लागेको हो । ऋण लिनका लागि आवश्यक कागजातहरू नागरिकता, तलब प्रमाणपत्र र आय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरी बैंकलाई एनएफपिजे मार्फत समन्वय र सहजीकरण गरिने छ ।

    ६ महिना देखि १८ महिना सम्म सरल किस्तावन्दीमा न्यूरोड स्थित जि एण्ड डी सप्लार्यसवाट फोटोपत्रकारले क्यामरा खरिद गर्न पाउने भएको हो । क्यामरा खरिदको लागि विना धितो सुन्य व्याजदरमा बैंकले फोटोपत्रकारलाई उक्त ऋण उपलव्ध गराउने भएको हो । उक्त हस्ताक्षर कार्यक्रममा बैकको तर्फवाट रमित कर्मचार्य र एनएपपिजेको तर्फवाट महासचिव घनस्याम श्रेष्ठ रहनु भएको थियो ।

    राष्ट्रिय फोटोपत्रकार समूह केन्द्रीय कार्यालयको आधिकारीक सिफारिसको साथै फोटोपत्रकारहरुको सस्थागत सिफारिसमा क्यामराको लागि रिण लिन पाउने छन ।

  • लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्टको आयोजनामा २६ गते ‘ममी’ को च्यारिटी शो हुदैं

    ललितपुर, शुक्रबार, २५ माघ २०८१ । लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्ट प्रा लि को आयोजनामा ‘ममी’ को च्यारिटी शो हुने भएको छ । माघ २६ गते शनिबारका दिन दिउसो २ बजे रानीपोखरीमा अवस्थित बिश्वज्योति सिनेकम्प्लेक्समा ‘ममी’ को च्यारिटी शो हुने लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्टका अध्यक्ष पुजा रेग्मीले बताउनु भयो ।

    समर निरौला निर्देशित फिल्म ‘ममी’ मा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, आयुषी ढकाल लगायतको अभिनय छ । घरपालुवा कुकुर मारेपछि कालो बिरालोलाई घरमा ल्याइँदा सो घरमा हुने रहस्यपूर्ण घटनाको कथावस्तुमा फिल्म बनेको छ ।

    सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको ‘ममी’ फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । समर डेब्यू निर्देशक हुन् । फिल्मको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

    फिल्मको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्वन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

    फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेको हो ।

    फिल्म ‘ममी’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

  • सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

    काठमाडौँ, बिहिबार, २४ माघ २०८१ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

    आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताउनु भयो ।

    आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसंग आग्रह गर्नु भयो ।

    नेपाल उद्योग वाणिज्य महासंघले अन्य विभिन्न कानूनका साथै आइटी तथा स्र्टाटअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकुल नीतिगत सुधारका लागि सरकारसंग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिंदै अध्यक्ष ढकालले महासंघको पहल पछि नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासमा लागि पछिल्ला कानूनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताउनु भयो ।


    “नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ । ” उहाँले भन्नु भयो ।
    क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत बताउनु भयो ।

    सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।

    फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दु:खद भएको बताउनु भयो । पाथीभरा केवलकार प्रकरणमा भइरहेका विरोधका विषयमा बोल्दै उहाँले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गर्नु भयो ।

    माघ २४ देखि २८ गतेसम्म चल्ले क्यान इन्फोटेकको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाकी रहेको बताउनु भयो ।

    उहाँले यस क्षेत्रमा नीजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजि क्षेत्रसङ सहकार्य गरेर काम गर्ने वताउनु भयो ।

    आइटिलाई उद्योगको रूपमा विकास गर्दै अगाडी लैजान नीतिगत सुधार आवस्यक रहेको उल्लेख गर्दै उहाँले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको बताउनु भयो ।

  • सरकारले पेश गर्न लागेको अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

    काठमाडौँ, बिहिबार, २४ माघ २०८१ । सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता भएका छन् । संघीय संसद सचिवालयका अनुसार सरकारले संसदमा पेश गर्न लागको ६ वटा अध्यादेशमा प्रतिनिधि सभामा ५१ वटा र राष्ट्रिय सभामा १६ वटा गरेर ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता भएका हुन् ।

    अस्वीकारको प्रस्ताव दर्ता गर्ने सबै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) हुदैँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न दलका सांसद रहेका संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कतिपय एकल र कतिपयले संयुक्त रुपमा अस्विकारको प्रस्ताव दर्ता गराएका छन् ।

    यसैविच प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने सहमति भएको छ । बुधबार सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख दलका प्रमुख सचेतक र सचेतसँगको छलफलपछि यस्तो सहमति भएको हो ।

    छलफलपछी कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीयाले अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाई ५ मिनेट र समर्थकलाई ३ मिनेट बोल्न समय दिने तय भएको जानकारी दिए । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा अध्यादेश जारी गरेका थिए । ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।

    बिहिबार प्रतिनिधिसभामा सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका सबै अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सरकारको तयारी छ । निर्णयार्थ पेस गर्नु अगाडी अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइने संघीय संसद सचिवालयले जनाएको छ । मन्त्री चौरसियाका अनुसार बिहिबार नै सभाले अध्यादेश स्वीकृत वा अस्वीकृत गर्ने निर्णय गर्नेछ ।

  • चितवनको माडी जान चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुल्ला

    चितवन, बिहिबार, २४ माघ २०८१ । चारपाङ्ग्रे सवारीलाई चितवनको माडी जान २४सै घण्टा खुला गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज भएर पुग्नुपर्ने जिल्लाको माडी नगरपालिका जान अब चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुला गरिएको हो ।

    माडी जान चितवन राष्ट्रिय निकुञ्जको बनकट्टादेखि कसरासम्मको हुलाडी सडकखण्ड आज बिहिबारदेखि २४सै घण्टा खुला गर्ने सहमति भएको छ ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनताको माग र आवश्यकतालाई हेरेर परीक्षणको रुपमा चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा चल्न दिने गरी निकुञ्ज लचक भएको बताए।

    निकुञ्जको मुख्य कार्यालय कसरादेखि माडीको रिउपुलसम्म करीव १० किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । निकुञ्जले यसअघि राती १० बजेदेखि ४ बजेसम्म निकुञ्ज क्षेत्र भएर यात्रा गर्न रोक लगाएको थियो ।

    ‘आकस्मिक सवारी साधन, विवाहका बसहरुलाई विगतमा पनि जान दिएका थियौं, यसपटक अरु सवारीलाई पनि जान दिने भनेर सहमति दिएका हौं,’ निकुञ्जका सूचना अधिकारी थापामगरले भने, ‘चार पाँच बटा सवारी भएपछि एकैपटक पठाउँछौं ।’

    नीजि र सार्वजनिक दुवै सवारीको हकमा यस्तो सहमती भएको हो। निकुञ्जले मोटरसाइकल लगायतका दुईपाङ्ग्रेलाई भने रातको बेलामा सो सडक भएर जान नपाउने नियमलाई यथावत राखेको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा, नेपाली सेनाको नयाँ गोरख गण कसराका मेजर जीवन बिष्ट, माडी नगर उपप्रमुख खेमप्रसाद महतो, माडी १ का वडाध्यक्ष अमित कुमार लामा, भरतपुर २३ वडाध्यक्ष दीपक दवाडी, निकुञ्जको माडी बगहीँ सेक्टर संयोजक नारायणदत्त सापकोटा, उपभोक्ता समिति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको बैठकले यस्तो सहमति गरेको हो।

    माडीका स्थानीय वासिन्दाले निकुञ्जलाई चौविसे घण्टा खुला गर्नुपर्ने माग गर्दै आएका थिए । माडी नगरपालिकाले जिल्लाको सदरमुकाम आउन विभिन्न हैरानी झेल्नुपरेको भन्दैं सडक कालोपत्रे र चौविसै घण्टा खुलाउन माग गर्दै आएको छ ।

  • लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाखमा

    काठमाडौँ, बिहिबार, २४ माघ २०८१ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।

    काठमाडौंमा एक कार्यक्रमका बीच डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी वैशाख ६ गतेका लागि अफिसियल रुपमा कन्भेन्सन गल गरेकी हुन् । लियोको डिष्ट्रिक्ट कन्भेन्सन पनि उक्त दिन नै हुनेछ । कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर थापाले कन्भेन्सन सफल बनाउन सबैलाई सक्रिय भएर लाग्न अनुरोध गरिन् ।

    कार्यक्रममा उपस्थित पिडिजी, फस्ट पर्सन तथा मल्टिपल कन्भेन्सन चियरपर्सन लायन डा. ध्रुब बहादुर थापा, पिडिजी लायन योगेन्द्र प्रधान, आईपिडिजी लायन हरिप्रसाद मरहट्टा लगायतले कन्भेन्सनको सफलताका लागि शुभकामना दिएका थिए ।

    लायन्स र लियो डिष्ट्रिक्ट कन्भेन्सन व्यवस्थापनका डिष्ट्रिक्ट गभर्नरको प्रत्यक्ष निर्देशन र व्यवस्थापनमा परिचालित हुने गरी ३० वटा समिति बनाइएको छ । सबै समितिमा गरी २०७ भन्दा बढी लायन्स लिडरहरु कन्भेन्सन सफल बनाउन सक्रिय हुनेछन् । लायन्स क्लब अफ काठमाडौं बनस्थलीले होस्ट क्लब र पिआरओ चिफ लायन रामराजा थापाले मुख्य कन्भेनरको जिम्मेवारी प्राप्त गरेका छन् । तेस्रो कन्भेन्सनको चियरपर्सन लायन बसन्त कुमार गौतम छन् ।

    कन्भेन्सनमा डिष्ट्रिक्ट ३२५ जे नेपालका लायन्स लिडर र सदस्य गरी करिब १ हजार ५ सय जनाको सहभागिता रहने अनुमान गरिएको छ । डिष्ट्रिक्ट ३२५ जे मा हाल १३० वटा क्लब र ३ हजार भन्दा बढी लायन्स सदस्यहरु छन् ।

    कन्भेन्सन कल कार्यक्रममा हालसालै त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रमा कोषाध्यक्ष निर्वाचित पिडिजी लायन ध्रुर्ब बहादुर थापा र सदस्यमा निर्वाचित लायन रामराजा थापालाई सम्मान गरिएको थियो । त्यस्तै अमेरिकामा हुने डिष्ट्रिक्ट गभर्नर प्रशिक्षण कार्यक्रममा सहभागी हुन जान लागेका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ललाई विदाई गरिएको थियो ।

    आगामी जुलाई १ बाट हालका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ले गभर्नरको जिम्मेवारी सम्हाल्नेछन् । साथै कन्भेन्सनमा हालका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा नयाँ नेतृत्व चयन गरिनेछ ।

    क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले सञ्चालन गरेको कन्भेन्सन कल कार्यक्रममा फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, क्याबिनेट ट्रेजरर लायन कल्पना थापा, चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली लगायतका अन्य सिनियर लायन्स लिडरहरु र डिष्ट्रिक्टमा विभिन्न पदमा रहेका लिडरहरुको उपस्थिती रहेको डिष्ट्रिक्ट मिडिया चिफ लायन पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

  • सातौ संस्करणको ‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ ताज वर्षालाई

    काठमाडौँ, बिहिबार, २४ माघ २०८१ । सातौ संस्करणको ‘मिसेस ब्युटी क्विन नेपाल’को उपाधि वर्षा कुवरले चुम्नुभएको छ । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दै कुँवरले ताज पहिरिनुभएको हो । उहाँले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालीटीको उपाधिसमेत प्राप्त गर्नुभएको थियो । वर्षाले ताजसँगै रेफ्रिजेनेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामिकबाट २० हजारको गिफ्ट भौचर साथै अन्य उपहारहरू प्राप्त गर्नुभयो ।

    प्रतियोगितामा करुणा विक फष्ट रनरअप हुनुभयो । उहाँले मष्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल हुनुभयो । करुणाले ३२ इन्चको टिभी, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर पनि प्राप्त गर्नुभयो ।

    यसैगरी प्रतियोगितामा सेकेन्ड रनरअप रिन्जु कुसवहा हुनुभयो । उहाँले फोटोजेनीकको पनि उपाधि जित्न सफल हुनुभयो । थर्ड रनरअप सिवानी मित्र र चौथो रनरअप उर्मीला कनौजिया मगीया हुनुभयो । अर्गनाइजर च्वाइसको उपाधि भने अञ्जु क्षेत्रीले जित्नुभएको थियो ।
    प्रतियोगिताका अन्य विधामा अनिता देवी साहले फेन्ड्ली, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रिएटीभ, अम्विका गजमेर भ्युओरस च्वाइस, भावना ऐडी व्युटीफुल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटिक र हीरादेवी श्रेष्ठले व्युटीफुलको उपाधि जित्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाहरूको सौन्दर्य साथै आन्तरिक क्षमता, आत्मविश्वास साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रतियोगिताको निर्णायक मण्डलमा मुख्य निर्णायकको भूमिकामा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डा. विनिता राज, जुम्बा प्रशिक्षक तथा मोडल सोनाम केसी, नेपाल एयरहोस्टेस एकेडेमीका प्रशिक्षक ईश्वरा पछाई, एसोसिएट कन्सल्टेन्ट एमडी, साइकियाट्री डा.ऋचा अमात्य, व्यवसायी सुनिता अधिकार, कान्तिपुर टिभीकी उपसम्पादक तथा टिभी प्रस्तोता रुबिना थापा, गायिका मोडल तथा सामाजिक अभियन्ता रेखा शाह रहेको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी दिनुभयो ।

  • क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

    पोखरा, बुधबार, २३ माघ २०८१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए ।

    नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

    तथ्यांकअनुसार नेपालमा दैनिक ६ महिलाको मृत्यु हुन्छ । त्यसमध्ये ४ जनाको पाठेघरको क्यान्सरबाट मृत्यु हुन्छ । ‘यो सामान्य तथ्याङ्क होइन । क्यान्सर खानपान, वातावरण जस्ता कारणले बढेको छ,’ उनले भने, ‘यो रोगको नियन्त्रण गर्ने र निर्मूल गर्ने उद्देश्य छ ।’

    पौडेलले नेपालको भविष्यलाई पाठेघरको क्यान्सरबाट बचाउन खोप अभियान थालिएको बताए । ‘भविष्य यो खोपले बचाउँछ । खोपबाट मात्र पूरा क्यान्सर नियन्त्रण हुँदैन,’ अघि थपे, ‘१४ वर्ष माथिका महिलाहरूको क्यान्सरको स्क्रिनिङ गर्ने र उपचार अभियान सरकारले चलाउँछ ।’ उनले केही हप्तामा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क बनाउने घोषणा गरे ।

    नेपालमा उपचारमा मात्र रकम खर्च भएको भन्दै निरोधात्मक अभियान पनि सरकारले चलाउने सुनाए । ‘निरोधात्मक र रक्षात्मक काम गर्न सकिएको छैन । उपचारमा मात्र काम गरेका छौं । अब सरकारले उपचारसँगै बिरामी हुन नदिने क्षेत्रमा काम गर्छ,’ उनले भने । मन्त्री पौडेलले समाजवाद स्वास्थ्यबाट मात्रै आउने भन्दै स्वास्थ्य क्षेत्र बढी सुधार्नुपर्ने बताएका छन् ।

    पोखरामा २३ हजारभन्दा बढी किशोरीलाई खोप लगाउने योजना छ । मेयर धनराज आचार्यले मङ्गलवारदेखि नै पोखरामा सुरु भए पनि बुधवार स्वास्थ्यमन्त्रीको उपस्थितिमा शीतलादेवी स्कुलबाट खोप लगाउन थालिएको जानकारी दिए । यसका लागि नगरका २७५ स्कुलमा खोप केन्द्र चलाइएको छ । ६ देखि १० कक्षासम्मका किशोरीलाई खोप लगाउने र स्कुल नपढ्ने १० देखि १४ वर्षका किशोरीलाई पनि खोपको व्यवस्था गरिएको मेयर आचार्यले जानकारी दिए ।

    स्वास्थ्य नीति महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले पोखराभर ३९ हजारभन्दा बढी किशोरीलाई खोप देशभर १६ लाख ८८ हजारलाई खोप लगाउन लागिएको जानकारी दिए । गण्डकीमा १ लाख ५ हजारलाई खोप लगाउने तयारी छ । ‘९० प्रतिशत भन्दा बढीले खोप लगाउने अनुमान छ । सरकारले राष्ट्रिय क्यान्सर उपचार रणनीति तयार पनि गरेको छ,’ उनी भन्छन्, ‘सरकारबाट रोग उपचार भन्दा रोग बचावट कार्यक्रममा बढी जोड भइरहेको छ । अब रोगीको उपचार गर्ने मात्र होइन, रोग लाग्नै नदिने हो ।’ यद्यपि निधानात्मक अभियान उपचारभन्दा ज्यादै महँगो हुने उनले बताए ।

    वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले उपचार बेलैमा गर्दा मात्र फाइदा हुने बताए । ‘सरकारले रोग नै नलागोस् भनेर काम गरेको छ,’ उनले भने, ‘उपचार पनि बेलैमा गरे मात्र फाइदा हुन्छ । सचेत हामी आफै हुने हो ।’

  • तुलसी घिमिरेको ‘पहाड’ गोरखाबाट आरम्भ

    गोरखा, बुधबार, २३ माघ २०८१ । तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’ को शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । मंगलबार बिहान गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मूहुर्त सट दिनुभएको थियो । चलचित्रका सुटिङ गोरखा र आसपासमा २५ दिन चल्नेछ । त्यस्तै चलचित्रको छायांकन १५ दिन भने भारतका विभिन्न क्षेत्रमा हुने जनाइएको छ ।

    युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको लेखन निर्देशक घिमिरेकै हो । अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पु¥याउन खोजिएको घिमिरेले बताउनुभयो ।

    ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गरिरहनुभएको छ । भारतमा चलचित्र, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसक्नुभएका छायांकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा पनि सहकार्य गर्नुभएको थियो ।
    भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भइरहेको यो चलचित्रमा विपीन कार्की, सुनिल थापालगायतका कलाकारको अभिनय छ । यसमा रञ्जित गजमेर संगीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहनेछ ।

    रिम्पोछे लामा थिंग र सुरेश लामा थिंग सहनिर्माता रहेको चलचित्र नेपालमा बैंकटेस इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । पछिल्लो फिल्म ‘दर्पणछायाँ-२’ पछि केही समय विश्राम लिनुभएका निर्देशक घिमिरेले ‘पहाड’मार्फत फेरि दर्शकमाझ आउँदै हुनुहुन्छ ।