Blog

  • नेपाल पेबाट १० मुलुकका पर्यटकले भुक्तानी गर्न सकिने

    काठमाडौँ, शुक्रबार, १८ माघ २०८१ । नेपाल भ्रमणमा आउने १० मुलुकका पर्यटकले नेपाल पेको क्युआर मार्फत यहाँ भुक्तानी गर्न सक्ने भएका छन् ।

    चीन, दक्षिण पूर्वी एसिया र अफ्रिका लगायतका मुलुकहरूका १४ इ वालेट र मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले नेपाल भ्रमणमा रहँदा यसरी भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउसले उल्लेख गरेको छ ।

    नेपाल पे र स्मार्ट पे ‘इन्टरअपरेबल’ भएकोले पर्यटकहरूले समेत नेपालमा रहँदा दुवै प्रणालीबाट भुक्तानी गर्न सकिने अवस्था रहेको नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले उल्लेख गरेको छ। नेपाल पे क्युआरको सञ्चालन एनसिएचएलले गरिरहेको छ ।

    यहाँका बिक्रेता (मर्चेन्ट)हरूले यो सेवा ग्राहकलाई उपलब्ध गराउँदा थप शुल्क लाग्दैन। हाल नेपालमा आठ लाखले नेपाल पे प्रयोग गरिरहेका छन्। बैंकहरूको सात सय ५३ स्थानीय तहमा पहुँच विस्तार भएकोले नेपाल पेको प्रयोग यहाँ भ्रमणमा आउनेले जहाँबाट पनि गर्न सक्ने अवस्था छ ।

    मर्चेन्टहरूको लागि नेपाल पेले छुट्टै बिजनेस एप विकास गरेको छ। यसले गर्दा पर्यटकहरूबाट हुनसक्ने भुक्तानीको तत्काल जानकारी यही एपमार्फत् बिक्रेताले प्राप्त गर्न सक्छन् । यसले भुक्तानीको एसएमएस मार्फत् जानकारी ढिलो आउँदा पर्यटकलाई पखाई रहन पर्ने अवस्था नआउने समेत एनसिएचएलले दाबी गरेको छ ।

    यो सेवाको सुरूवातसँगै अब पर्यटकलाई आफूसँग रहेको विदेशी मुद्रा साटिरहनु पर्ने वा नगदै रकम बोकेर यात्रामा निस्कनु पर्ने बाध्यता हटेको छ।

    यसले उनीहरूको खर्चमा बढोत्तरी हुनसक्ने सम्भावना समेत रहने मानिएको छ ।

    पर्यटकहरूले सजिलै भुक्तानी गर्न सक्ने भएकोले यसले स्थानीय व्यापारीको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने र उनीहरूको व्यापारमा विस्तार हुनसक्ने सम्भावना समेत रहेको छ। नेपाली अर्थतन्त्रलाई डिजिटल्ली लैजान सहज हुने विश्वास गरिएको छ।

    पर्यटन नेपालको अर्थतन्त्रको एउटा मुख्य आधारमध्ये रहेकोले यो सेवाको सुरूवातसँगै यसले पर्यटन क्षेत्रलाई थप आकर्षित गर्ने सम्भावना एनसिएचएलले उल्लेख गरेको छ।

    हाल नेपालमा वार्षिक ११ लाख ४७ हजार पर्यटक आउने गरेका छन् भने पर्यटन क्षेत्रबाट वार्षिक ८२ अर्ब रूपैयाँ भित्रिने गरेको छ।

    पर्यटन विभागको तथ्यांक अनुसार नेपाल पे मार्फत् भुक्तानी गर्न सकिने राष्ट्रमध्ये चीन, हङकङ, दक्षिण कोरिया, म्यानमार, मलेसिया, इटाली, थाइल्याण्डबाट मात्रै सन् २०२४ मा दुई लाख १८ हजार मानिसले नेपाल भ्रमण गरेका छन्।

    नेपाल पेले ल्याएको अन्तरदेशीय भुक्तानीबाट यी पर्यटकले लाभ लिन सक्ने देखिन्छ।

    यी वालेटबाट भुक्तानी गर्न सकिन्छः
    चीनको अलिपे
    हङकङको अलिपे एचके
    इटालीको तिनाबा
    मकाओको एमपे
    मलेसियाको टच एण्ड गो इ वालेट, माइपिबी
    मन्गोलियाको हाइपे
    फिलिपिन्सको जी क्यास
    थाइल्याण्डको ट्रु मनी
    सिंगापुरको छान्जी पे र ओसिबिसी डिजिटल
    दक्षिण कोरियाको ककाओ पे, नेभर पे र टस पे

  • आज शुक्रबारदेखि संसद् अधिवेशन प्रारम्भ हुँदै

    काठमाडौँ, शुक्रबार, १८ माघ २ ०८१ । सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै छ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो ।

    अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ । सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् ।

    संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ । यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैपिच्छे अध्यक्ष मण्डलमा नाम मनोनयन गर्ने अभ्यास छ ।

    साथै, बैठकमा अधिवेशन चालु नरहेको बेला सरकारको सिफारिसमा जारी भएका अध्यादेश पेस हुने छन् । यसबिचमा छ वटा अध्यादेश जारी भएका छन् ।

    सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभामा पेस हुने छन् ।

    यस्तै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि सभामा पेस हुने छ । सहकारीबाहेकका पाँच अध्यादेश सरकारले एकैपटक सिफारिस गरेको थियो । सिफारिस अनुसारै राष्ट्रपतिबाट अध्यादेश जारी भएका थिए ।

    बैठकमा दुई शोक प्रस्ताव पनि पेस हुने छन् । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा सभामा शोक प्रस्ताव पेस र पारित हुने छ । यस्तै संविधान सभा सदस्य रामजी शर्माको निधनमा पनि शोक प्रस्ताव पारित हुने छ । २०४८ मा सभामुख रहनुभएका ढुङ्गानाको मङ्सिर २ गते निधन भएको थियो । २०६४ मा संविधान सभा सदस्य रहनुभएका शर्माको माघ ७ गते निधन भएको थियो ।

    पहिलो दिनमै अध्यादेश पेस हुने

    सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा एकै दिन छ वटा अध्यादेश पेस हुने गरी कार्यसूची तय भएको छ । राष्ट्रिय सभाको १६औँ अधिवेशन गत भदौ १६ गते अन्त्य भएको थियो । सदन सञ्चालन नभएको अवस्थामा ल्याइएको अध्यादेश सरकारले संसद् अधिवेशन सुरु हुनासाथ पेस गर्ने गरी कार्यसूची तय भएको हो । अधिवेशनको पहिलो बैठक सुरु हुनासाथ अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनुहुने छ । बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुहुने छ ।

    मङ्गलबार सम्पन्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराइने छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले दुई वटा विधेयकको प्रतिवेदन तयार गरेकाले समितिका सभापति तुलसाकुमारी दाहालले दुवै प्रतिवेदन शुक्रबारकै बैठकमा सभामा पेस गर्नुहुने छ ।

    समितिले मिडिया काउन्सिल विधेयक–२०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१ को प्रतिवेदन सभासमक्ष पेस गर्ने छ । संसद् सचिवालयका अनुसार शुव्रmबारकै बैठकमा सरकारले छ वटा अध्यादेश सभामा पेस गर्ने छ । अधिवेशन नचलेको अवस्थामा सरकारले छ वटा अध्यादेश ल्याएको थियो ।

    सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१” सभासमक्ष पेस गर्नुहुने छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले वित्तीय उत्तरदायित्व

    (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।

    त्यसै गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्नुहुने छ । शुक्रबारको बैठकमा चार वटा शोक प्रस्ताव पेस हुने छ ।

  • प्रेस चौतारी ललितपुर अध्यक्षमा नवीन लुइटेल

    ललितपुर, शुक्रबार, १८ माघ २०८१ । प्रेस चौतारी नेपाल ललितपुरको अध्यक्षमा नवीन लुइटेल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार ललितपुरमा सम्पन्न चौतारीको छैटौँ अधिवेशनबाट लुइँटेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

    त्यसैगरी अशोक दुलाल उपाध्यक्ष, शान्ति घिमिरे महिला उपाध्यक्ष, सन्तोष दहाल सचिव चयन भएका छन् भने सहसचिवमा लक्ष्मण दुलाल, समावेशी सहसचिवमा रवि महर्जन तथा कोषाध्यक्षमा समीर थापा निर्वाचित भएका छन् ।

    कार्यसमितिका अन्य सदस्यहरुमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी, ज्ञानु दुलाल र विधान रिजाल निर्वाचित भए ।

    साथै, अधिवेशनले ६–६ जना केन्द्रीय र प्रदेश पार्षद् निर्वाचित गरेको छ । केन्द्रीय पार्षदमा बालमुकुन्द आचार्य, घनश्याम धमला, शान्ति घिमिरे, प्रवीण कुलुङ राई, अशोक दुलाल, सन्तोष दाहाल रहेका छन । यसैगरी प्रदेश पार्षदमा जीबी लामा, सौगात मिश्र, नवराज सन्जेल, दीपकप्रसाद घिमिरे, सुभानु आचार्य, विधान रिजाल रहेको निवर्तमान अध्यक्ष वालमुकुन्द आचार्यले बताए ।

  • सामसङ ग्यालेक्सी एस २५ सिरिज प्रि-अर्डर प्रारम्भ

    काठमाडौँ, बुधबार, १७ माघ २०८१ । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस २५ स्मार्टफोनहरूको प्रि-अर्डर प्रारम्भ भएको घोषणा गरेको छ । आज काठमाडौँमा आयोजना गरिएको एक प्रेस सम्मेलनमा सामसङले यी स्मार्टफोनहरू प्रस्तुत गरेको हो ।

    अनावरण कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गर्नुभयो ।

    ‘सामसङले गत वर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको शुरुवात गरेको थियो। अब हामी ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौँ, र यो त्रु-एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्दैछ । ग्यालेक्सी एस २५ सिरिजले सबैभन्दा बढी सन्दर्भ-समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै कार्यकारी सल्लाह र सुझावहरू दिनेछ’ सामसङ नेपालको निर्देशक श्रेष्ठले भन्नुभयो ।

    यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।

    ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजायन गरिएको सामसङको एआई-फस्ट प्लेटफर्म वन युआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो ।

    ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ । गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र युआरएल सजिलै चिन्छ। कल ट्रान्सस्क्रिप्ट र समरीले कलहरूलाई व्यवस्थित गर्दछ । राइटिंग असिस्टले कन्टेन्टलाई समराइज गर्न वा नोटहरूको स्वतः स्वरूप फम्र्याट गर्न सहयोग गर्दछ । ड्रइंग असिस्टले स्केच, टेक्स्ट वा इमेजको संयोजनमार्फत नयाँ रचनात्मक सम्भावनाहरू अन्वेषण गर्न सहज बनाउँछ।

    गोपनीयता सुरक्षितसँग हाइपर–पर्सनलाइज्द अनुभव

    ग्यालेक्सी एस२५ सिरिजले पर्सनल डेटा इन्जिनको माध्यमबाट डेटा उपकरणमै सुरक्षित रूपमा विश्लेषण गरी व्यक्तिगत एआई फिचर प्रदान गर्दछ ।

    नोक्स भाल्टले सबै व्यक्तिगत डेटालाई गोप्य र सुरक्षित राख्छ। क्वान्टम कम्प्युटिङ प्रविधि विकाससँगै देखा पर्न सक्ने नयाँ खतरा विरुद्ध तपाईँको डेटा सुरक्षित राख्न ग्यालेक्सी एस२५ सिरिजले पोस्ट–क्वान्टम कृप्टोग्राफी को सुविधा पनि प्रदान गर्दछ।

    ग्यालेक्सी एस२५ सिरिजः सबैभन्दा शक्तिशाली ग्यालेक्सी

    ग्यालेक्सी एस२५ सिरिजमा ग्यालेक्सीको लागि बनिएको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरिएको छ । जुन ग्यालेक्सी एस सिरिजकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रोसेसर हो । यसले अघिल्लो पुस्ताको तुलनामा एनपियुमा ४०%, सीपियु मा ३७% र जीपियुमा ३०% प्रदर्शन सुधार प्रदान गर्छ ।

    प्रोस्केलरले दृश्यहरूको स्पष्टतामा ४०% ले सुधार गर्न सहयोग गर्छ। यसमा सामसङको मोबाइल डिजिटल न्याचुरल इमेज इन्जिन (एमडीएनआईई) समावेश गरिएको छ, जसले प्रदर्शन पावर दक्षता थप बलियो बनाउँछ ।

    ताप व्यवस्थापन संरचनामा सुधार ल्याउन ४०% ठुलो भेपर चेम्बर र विशेष रूपमा डिजाइन गरिएको थर्मल इन्टरफेस् मतेरिएल(टिआईएम) प्रयोग गरिएको छ, जसले अत्याधिक प्रयोग र एआई प्रोसेसिङलाई सहज बनाउँछ ।

    क्रिएटिभिटीलाई नयाँ आयाम दिँदै ग्यालेक्सी एस२५ सिरिज

    ग्यालेक्सी एस २५ सिरिजले उच्च रिजोलुसन सेन्सर र प्रोभिजुअल इन्जिन मार्फत कुनै पनि एंगलबाट विस्तृत र जीवन्त तस्बिर खिच्न क्षमता दिँदै मोबाइल फोटोग्राफीमा एक नयाँ स्त्यन्दर्द स्थापित गरेको छ । ५० एमपि अल्ट्रावाइड क्यामेरा (अघिल्लो १२ एमपिबाट अपग्रेडेड) भएको ग्यालेक्सी एस२५ अल्ट्राले प्रत्येक दृश्यलाई थप प्रस्ट र रङ्गिन बनाउँछ। साथै, डिफल्टमा उपलब्ध १०–बिट एचडीआर रेकर्डिङले चार गुणा बढी रङ्ग संरचना प्रस्तुत गर्छ। यो सिरिजले उज्यालो वा अँध्यारो जुनसुकै अवस्थामा पनि उत्कृष्ट भिडियो खिच्न सक्छ।

    भिडियो बनाउँदा आउने अनावश्यक आवाज हटाउन ग्यालेक्सी एस२५ सिरिजमा अडियो इरेसर जस्तो सुविधा उपलब्ध छ। मोबाइलमै डीएसएलआर–जस्तो अनुभव दिन भर्चुअल अपेरेचरको प्रयोग गरेर गहिराइ नियन्त्रण गर्न सकिन्छ, जुन एक्स्पर्ट रअमा समाहित छ। ग्यालेक्सी लगले रङ्ग संयोजनलाई अझ सटीक बनाउँदै प्रोफेशनल भिडियो बनाउन सहयोग पुर्याउँछ।

    पोत्र्रेट स्टुडियोले तपाईँलाई थप जीवन्त अनुहारका भावहरूका साथ व्यक्तिगत अवतार बनाउन सहयोग गर्छ। नयाँ एनलग–स्टाइल फिल्टरहरूले तस्बिर र भिडियोहरूलाई फिल्महरू जस्तो सौन्दर्य दिने अवसर दिन्छ।

    मजबुत र टिकाउ डिजाइन

    ग्यालेक्सी एस२५ अल्ट्रा अहिलेसम्मकै सबभन्दा पातलो, हलुका र बलियो ग्यालेक्सी एस सिरिजको स्मार्टफोन हो। यसमा टिकाउ टाइटेनियम र नयाँ कोर्निंग गोरिल्ला अर्मर २ समावेश गरिएको छ। ग्यालेक्सी एस२५+ र एस२५ का प्रत्येक बाह्य भागमा कम्तीमा एउटा पुनः प्रयोग गरिएको सामग्री समाहित गरिएको छ, र पहिलो पटक मेटल फ्रेममा पुनः प्रयोग गरिएको आर्मर एल्युमिनियम प्रयोग गरिएको छ।

    सात जेनेरेसनको ओएस अपग्रेड र सात वर्षको सुरक्षा अपडेटसहित, ग्यालेक्सी एस२५ सिरिजले लामो समयसम्म भरपर्दो र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ।

  • गोरखाको धार्चे गाउँपालिका ३ मा एतिहासिक तातो पानी मेला

    गोरखा, बिहिबार, १७ माघ २०८१ । गोरखाको धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा हरेक वर्षहरुमाझैँ यो वर्ष पनि ऐतिहासिक तातोपानी मेला सुरु भएको छ । लार्के मनास्लु युवा क्लबको आयोजना तथा मालकान्दि महिला समूहको सहआयोजनामा मेला सुरु भएको हो । मेलाको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उद्घाटन गरेका हुन् ।

    ‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला संस्कृति, कृषि तथा पर्यटन प्रवद्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित माघ १९ गतेसम्म चल्ने मेलाको मुख्य आकर्षण भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष रोशन गुरुङले बताए । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।

    भलिबल प्रतियोगिताको उपाधि जित्ने टिमले रु एक लाख नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्ने छन् । द्वितीयले ५० हजार र तृतियले ४० हजारको साथमा शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।

    यस्तै मेलाामा लोक दोहोरी प्रतियोगिता र महिला समूह खुल्ल नृत्य प्रतियोगिता पनि हुने उनले जानकारी दिए । दुबै प्रतियोगिताको प्रथम, द्वितीय र तृतियले क्रमश १५ हजार, १० हजार र ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै मेलामा खुल्ला लोक नृत्य प्रतियोगिता पनि हुने भएको छ । प्रतियोगितामा प्रथमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    धार्चेको स्थानीय कृषि उत्पादन तथा पर्यटन क्षेत्र प्रवद्र्धन गर्ने उद्देश्यले कृषि प्रर्दशनी पनि आयोजना गरिएको अध्यक्ष गुरुङले बताए । कृषि प्रर्दशनीको उत्कृटलाई विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । वर्षौंदेखि चल्दै आएको तातोपानी मेलासंग थुप्रै धार्मिक एवं संस्कृतिक महत्व जोडिएका छन् । उक्त परम्परागत संस्कृति र चालचलनहरुलाई निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए ।

    पाँच दिनसम्म चल्ने मेलामा करिब १२ हजार मानिसहरुले अवलोकन गर्ने बताएको छ । बारपाक, लाप्राक, गुम्दा, सिर्दिबास, लापु, केरौँजा, काशीगाउँलगायत गोरखा सहित विभिन्न जिल्लाका अवलोकनकर्ता मेला अवलोकन गर्ने अध्यक्ष गुरुङले बताए ।
    मेलाको अवसर पारेर आउने मानिसहरु एकआपसमा मित/मितिनी लगाउने चलन छ । वर्षेनी हुने मेलाको अवसरमा मेला हेर्न आउनेहरुले मित लगाउने गर्छन् ।

    तातोपानी मेलालाई मित लगाउने मेला भनेर पनि चिनिन्छ । यो चलन त्यहाँको धार्मिक एवं सांस्कृतिक महत्व बोकेको संस्कृति हो । तर, बिस्तारै मीत लगाउने प्रचलन हट्दैँ गएको छ । सोही परम्परा जोगाउनका लागि पनि मेलाको आयोजना गरिएको आयोजकले बताएको छ ।

    तातोपानी मेलामा जुवातास खेल्न नदिनका लागि, तथा मादक पदार्थ सेवन गरी झै झगडा हुन सक्ने हुँदा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने गरिएको छ । सुरक्षाकर्मीको साथ र सहयोगले मेला व्यवस्थित हुने आयोजक क्लबले जनाएको छ । मेलाको पहिलो दिन राजु परियार, आशा बि.सी, पृथ्वी गुरुङ, लक्ष्मी गुरुङलगायत कलाकारहरुको प्रस्तुती रहेको थियो । मेला अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    क्लबका अध्यक्ष रोशन गुरुङको सभापतित्व तथा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधान सभा सदस्य तथा राष्ट्रिय सदस्य छमबहादुर गुरुङ, गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं. ३ का वडाध्यक्ष शेरबहादुर गुरुङ, जिल्ला भलिबल संघका अध्यक्ष कृष्ण गुरुङलगायतको उपस्थिती रहेको थियो ।

  • केबुलकार निर्माण गर्न न्युनतम् सहमति आवश्यक

    ताप्लेजुङ, बिहिबार, १७ माघ २०८१ । नेपाली कांग्रेस ताप्लेजुङले केबुलकार निर्माण गर्नुअघि न्यूनतम् सहमति आवश्यक रहेको औंल्याएको छ । पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको काम सुरु गरिएसँगै जिल्ला अशान्त बनिरहेको अवस्थामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टीको धारणा सार्वजनिक गर्दै वातावतरण सहज बनाएर मात्र केबुलकार निमाण गर्नुपर्ने उल्लेख गरेको हो ।

    सदरमुकाम फुङ्लिङमा बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेस ताप्लेजुङले विवादरहित अवस्थाको सिर्जना गरी शान्तिपूर्ण ढङ्गले सौन्दर्य, प्रकृति र शक्तिको क्षयीकरण नहुने गरी पाथीभरामा केबुलकार निर्माण हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । कांग्रेसले पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबुलकारको विवाद र जिल्लामा सञ्चालित जलविद्युत् परियोजनाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले आन्दोलनको प्रस्थान बिन्दु पत्ता लगाएर त्यसभित्र न्यूनतम् सहमतिसहित समस्याको दिगो समाधान हुनेगरी वातावरण बनाएर मात्र केबुलकार निर्माण हुनेपर्ने पक्षमा आफूहरू रहेको बताउनुभयो ।

    सभापति तुम्याहाङले द्वन्द्व मेटिनेगरी वातावरण बनाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको कांग्रेसको बुझाइ रहेको बताउनुभयो। सहअस्त्वि र सद्भाव स्थापित गर्दै विकासको काम गर्नुपर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मानिसको हत्या र हिंसा गरेर निर्माण भएको पूर्वाधार विकास नहुने पनि विज्ञप्तिमा उल्लेख छ। केबुलकार निर्माण पक्ष र आन्दोलनरत पक्ष दुवैको प्रस्तुतिले साम्प्रदायिक सद्भाव भड्किने परिस्थति सिर्जना भएको पनि कांग्रेसले उल्लेख गरेको छ । दलबल नभई वार्ता र सहमतिमार्फत समस्याको समाधान खोजिनुपर्नेमा कांग्रेसको जोड रहेको छ। धार्मिक र सांस्कृतिकस्थल रक्षाको आन्दोलनमा रहेका पक्षलाई वार्ताको टेवलमा आएर सम्वाद र सहमतिका माध्यमबाट अघि बढ्न पनि कांग्रेसले आग्रह गरेको छ ।

    अनिश्चितकालीन बन्द हड्तालले जनजीवन अस्तव्यस्त बनेको उजागर गर्दै कांग्रेसले उचित समयमा उचित निर्णय गरी बन्द हड्ताल फिर्ता लिनसमेत आन्दोलनरत पक्षलाई अनुरोध गरेको छ । कांग्रेसले आन्दोलनरत पक्ष र केबुलकार निर्माण पक्ष दुवैले आफ्नो हठ त्यागेर लचकता र संयमताका साथ शान्तिपूर्ण वातावरण सिर्जना गरी वार्तामा बस्न कांग्रेसको आग्रह रहेको छ। सरकार र सुरक्षा प्रमुखलाई नागरिककाविरुद्ध जबरजस्त बल प्रयोग नगर्नसमेत कांग्रेसले आग्रह गरेको छ ।

    त्यस्तै कांग्रेसका जनप्रतिनिधि तथा जिम्मेवार नेता कार्यकर्तालाई अनावश्यक साम्प्रदायिक दङ्गा भड्काउने किसिमले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन र गैर जिम्मेवारपूर्ण क्रियाकलापन नगर्नसमेत अपिल गरेको छ । पार्टीको आचरणभन्दा बाहिर गएर अभिव्यक्ति दिए वा गैर जिम्मेवार क्रियाकलापमा सहभागी भएर त्यसबाट हुने क्षतिको जिम्मेवार र जवाफदेहि आफैं हुनुपर्ने पनि कांग्रेसले विज्ञप्तिमार्फत सचेत गराएको छ ।

  • रास्ट्रिय लोकसंचारकर्मी नेपालको १६ औं वार्षिकोत्सव : रक्तदानदेखि गोबिन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान हुने

    रास्ट्रिय लोकसंचारकर्मी नेपालको १६ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।

    “नेपाली लोक संस्कृतिको संरक्षण सम्र्बदन र प्रचार प्रसार गरौ, शान्ति प्रेस स्वतन्त्रता मानव अधिकार र पत्रकार हकहित सुनिश्चीत गरौ” भन्ने मूल नाराका साथ वि सं २०६५ सालमा स्थापित लोकसंचारकर्मी नेपालले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको सस्थाका अध्यक्ष चन्द्रमणि गौतमले बताउनु भयो ।

    रास्ट्रिय लोकसंचारकर्मी नेपालको आयोजनामा नेपाल मेडिकल कलेज, रक्त सेवा बिभागको प्राबिधिक सहयोगमा एवं गोकर्णेश्वर नगरपालिका ,गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को सहकार्यमा वडा कार्यालयमा बिहान ९ बजेदेखि बृहत् रक्तदान कार्यक्रम हुने गरिएको अध्यक्ष चन्द्रमणि गौतमले बताउनु भयो ।

    त्यसैगरी, अध्यक्ष चन्द्रमणि गौतमले माघ २० गते बिहान ९ बजे बाइसधारा बालाजुमा गोबिन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान तथा वनभोज कार्यक्रम राखिएको बताउनु भयो ।

  • लखन थापाका सहयोद्धा जयसिंह चुमीलाई शहिद घोषणा गर्न माग

    गोरखा, बुधबार, १६ माघ २०८१ । लखन थापाका सहयोद्धा जयसिंह चुमीलाई शहिद घोषणा गर्न माग गरेका छन् । राणा शासनविरुद्ध पहिलो पटक विद्रोह गर्ने लखन थापाका सहयोद्धा जयसिंह चुमी मगरका चौथो पुस्ताका सन्तान हुन्, रत्नसिंह । ९० वर्ष टेकेका रत्नसिंहको एउटै माग छ, ‘मेरो बाजे (जयसिंह) लाई सहिद घोषणा गर्नुपर्‍यो ।’

    वि.सं. १९३३ फागुन २ मा लखन थापासँगै जयसिंह चुमी मगरलाई हालको सहिद लखन गाउँपालिका–७ काहुले भंगारमा तत्कालीन राणा सरकारले झुण्ड्याएर फाँसी दिएको थियो ।

    तत्कालीन गोरख गणमा कार्यरत लखन र जयसिंह १९२७ सालमा एकमहिने बिदामा आएपछि पल्टनमा नफर्की जनविद्रोह सुरु गरेका थिए । काउले भंगारमा किल्लाले घेरी दरबार बनाए । दरबार सम्हाल्न जिम्मा उनै चुमीले पाएका थिए । राणा शासनविरुद्ध विद्रोह गरेको भन्दै राणा प्रधानमन्त्री जंगबहादुरको आदेशमा १९३३ फागुन २ मा एकैदिन उक्त किल्ला परिसरमा लखन र चुमीलाई मृत्युदण्ड दिइएको थियो । उनै जयसिंह चुमी मगरलाई सहिद घोषणा गर्नुपर्ने माग पटक/पटक उठ्दै आएको छ ।

    २०५६ सालमा मन्त्रिपरिषद् बैठकले लखन थापालाई सहिद घोषणा गरेको थियो । २०७२ असोज ३ को तत्कालीन मन्त्रिपरिषद् बैठकले लखन थापालाई नेपालकै पहिलो सहिद भनी घोषणा गर्‍यो । थापासँगै मृत्युदण्ड पाएका जयसिंह भने अहिले पनि राज्यको उपेक्षामा परेको स्थानीयको गुनासो छ ।

  • जनताको चाहनालाई केन्द्रमा राखेर काम गरिने : मुख्यमन्त्री पाण्डे

    लमजुङ, बुधबार, १६ माघ २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधूरा योजना र जनताको चाहनालाई केन्द्रमा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।

    आज लमजुङ मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती समापन कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले सबै जिल्लामा अधूरा योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको र कुनै जिल्लामा अधूरा योजना छुटेमा आफूलाई खबर गर्न जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

    उहाँले जनताको दुःख मर्म बुझ्दै जनताको चाहनालाई प्रदेश सरकारले पूरा गर्ने गरी काम गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । प्रदेश सरकारले घरघरमा खानेपानी, बिजुली पु¥याउने, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

  • गोरखा अस्पतालमा दुईदिने निशुल्क मुटु जाँच शिविर हुने

    गोरखा, बुधबार, १६ माघ २०८१ । रोटरी क्लव अफ गोरखाले बर्षौदेखि नियमित रुपमा गर्दै आएको मुटु जाँच शिविर यो बर्ष पनि गर्ने भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसंगको सहकार्यमा रोटरी क्लवले यहीँ माघ २५ र २६ गते दुईदिने निशुल्क मुटु जाँच शिविर संचालन गर्न लागेको हो ।

    शिविरका लागि सम्भव नेपालले आर्थिक सहयोग गर्ने भएको छ । क्लबले शिविरमा जाँच गराएपछि शल्यक्रिया गर्नुपर्ने भएमा समेत निशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको शिविरका संयोजक किशोरजंग थापाले बताउनु भयो । साथै, उहाँले नेपालमा उपचार नभए भारतसम्म लगेर पनि नि:शुल्क उपचार गराएर ल्याउने व्यवस्था मिलाएको बताउनु भयो ।

    ‘भारत जानु परेमा बिरामीसँगै एकजना हेरालुलाई पनि आउनेजाने खर्चको व्यवस्था मिलाएका छौँ’, उहाँले भन्नुभयो । शिविरमा मुटुरोग विशेषज्ञ अनिल भट्टराईको नेतृत्वमा २५ जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिने बताउनु भयो ।

    शिविरमा करिब ६ लाख खर्च हुने अनुमान गरिएको छ । औषधी र चिकित्सकको ब्यवस्था सेभ द हर्टले गर्ने बताइएको छ ।