Blog

  • प्रमुख प्रशासकीय अधिकृतको पद विशिष्टीकृत सेवा बन्नुपर्ने

    काठमाडौँ, मंगलबार, ८ माघ २०८१ । कर्मचारी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका रूपमा जान नमानेपछि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको छ । स्थानीय तहमा दैनिक प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदै गएपछि उक्त पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरिएको हो ।

    अहिले पनि कुल ७५३ मध्ये २४७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतविहीन हुने अवस्था अन्त्य गर्न सो पदलाई विशिष्टीकृत सेवा बनाउन माग गरेका हुन् ।

    प्रमुख प्रशासकीय अधिकृत छोटो समयमै सरुवा हुँदा स्थानीय तहमा नियमित सेवा प्रवाह, विकास निर्माणमा सुशासन कायम गर्न अवरोध हुँदै आएको छ । अहिले पनि कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तीन महिना टिक्दैनन् ।

    निजामती सेवा ऐनले एउटा कार्यालयमा कर्मचारी कम्तीमा दुई वर्ष नभई सरुवा हुन नपाउने भनिए पनि त्यो व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विशिष्टीकृत सेवा नबनाएसम्म स्थानीय तहमा प्रशासनिक चुस्तता र सेवा प्रवाह प्रभावकारी हुन नसक्ने बताउनुभयो ।

    प्याकुरेलले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारी बन्नका लागि जसरी निश्चित समय, निश्चित विषयमा तालिम लिनु पर्छ, त्यस्तै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत बन्न पनि निश्चित विषयमा निश्चित समय तालिम लिनुपर्ने गरी विशिष्टीकृत सेवा बनाउनु पर्छ ।” यो पदलाई विशिष्टीकृत सेवा बनाउनका लागि सङ्घीय निजामती सेवा ऐनमै व्यवस्था गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । सङ्घीय निजामती सेवा ऐनको विधेयक अहिले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको छ ।

    उहाँका अनुसार मन्त्रालयले स्थानीय तहमा भएका अन्य सेवाका कर्मचारीभन्दा प्रमुख प्रशासकीय अधिकृत एक तहमाथिको कर्मचारीलाई खटाउनुपर्ने, कम्तीमा दुई वर्ष अनिवार्य स्थानीय तहमा बस्नुपर्ने, दुई वर्ष बस्न नसक्ने अवस्था भए मन्त्रालय र स्थानीय सरकारको सहमतिमा मात्र सरुवा गर्नुपर्ने व्यवस्था गर्नु पर्छ । प्रमुख प्रशासकीय अधिकृतलाई जुन स्थानीय तहमा सेवा गर्‍यो, सोही स्थानीय तहप्रति जवाफदेही बनाउनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन मूल्याङ्कनको अङ्क दिँदा स्थानीय तहका प्रमुखको भूमिका जोडिनुपर्ने, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएपछि अन्य कर्मचारीको भन्दा केही बढी सेवा सुविधा व्यवस्था गर्नुपर्ने गरी ऐनमा व्यवस्था गर्न आग्रह गर्नुभयो ।

    नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद सङ्घमा मन्त्रीपरिषद्मा मुख्य सचिवजत्तिकै भूमिकामा हुने भएकाले उक्त पदलाई विशिष्टीकृत सेवा बनाउन आग्रह गर्नुभयो । “स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृत पदलाई हलुका र सामान्य रूपमा नहेरी विशिष्टीकृत गर्नु पर्छ, त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानु पर्छ,” उहाँले भन्नुभयो ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पदलाई विशिष्टीकृत सेवा बनाउने गरी अहिलेको सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव नभएको जनाएको छ । संसद्ले प्रमुख प्रशासकीय अधिकृत पदलाई विशिष्टीकृत सेवा बनाउन आवश्यक ठान्यो भने बनाउन सक्ने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको स्थायित्वका लागि विकल्प भने खोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

  • ‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’

    काठमाडौँ, मंगलबार, ८ माघ २०८१ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न निकुञ्जका अधिकृतहरूले समयानुकूल हुनेगरी कानुन परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमैत्री कानुन निर्माण गर्न सुझाव दिए । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण व्यवस्थापनमा स्रोत अभाव रहेको जानकारी गराउँदै उनीहरूले जलवायु परिवर्तनको असरले निकुञ्ज क्षेत्रमा खानेपानी र पोखरीको अभावले पनि केही चुनौती खडा गरेको बताए ।

    वरिष्ठ संरक्षण अधिकृतहरूले जंगली जनावरबाट मध्यवर्ती क्षेत्रका जनतालाई आक्रमण हुँदा तत्काल उद्धार तथा उपचार कोष र केन्द्रको व्यवस्थाको प्रबन्ध गर्न सुझाव दिए । राज्यले राजस्व उठाउनेतर्फ मात्र नभई राष्ट्रिय निकुञ्जबाट पर्यटन प्रवद्र्धन, होटल व्यवसाय र रोजगारी सिर्जनामा पुर्‍याएको योगदानलाई समेत भुल्न नहुने जनाउँदै उनीहरूले मध्यवर्ती क्षेत्रका जनताले झेल्नुपरेको समस्या समाधान गर्न विशेष खाले योजना र बजेटको व्यवस्थाका लागि पहल गरिदिन अनुरोध गरे ।

    राष्ट्रिय निकुञ्ज आर्थिक समृद्धिका लागि पर्यटक भित्र्याउने मुख्य थलो भएकाले हिमाल, नदी, वन्यजन्तु, धार्मिकस्थल तथा जीव र वनस्पतिको संरक्षणमा राज्यले विशेष ध्यान पुर्‍याउनुपर्ने उनीहरूको भनाइ थियो । विभिन्न परियोजना र आयोजनाको नाममा प्रकृति सम्पदाको दोहन भइरहेकाले त्यसलाई रोक्न पर्ने बताउँदै वरिष्ठ संरक्षण अधिकृतले निकुञ्जले अतिक्रमणमा परेको भनी किटानी गरेको स्थानमा बसोबासका लागि लालपुर्जा वितरण गर्ने कार्य नहोस् भनी सुझाव दिएका थिए ।

    पूर्वाधार निर्माण गरिँदा वातावरण र वन्यजन्तुमैत्री हुनुपर्ने आवश्यकता औँल्याउँदै उनीहरूले संरक्षणको कार्य स्थानीय, निजी र सरकारी संयन्त्रको साझेदारीमा हुँदा फलदायी हुने तर्क गरे । उनीहरूले वातावरणको समुचित सन्तुलन हुनेगरी कानुन निर्माणमा ध्यान पुर्‍याउन सुझावसमेत दिएका थिए । यसअघि सदस्यहरूले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका जनताबीचको सहकार्य तथा मानव र वन्यजन्तुबीच भइरहेको द्वन्द्व घटाउन चाल्नुपर्ने कदमका बारेमा जानकारी माग गरिएको थियो ।

    भूमिसम्बन्धी अध्यादेश ल्याउनु शंकास्पद : माओवादी

    नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याउनु शंकास्पद भएको बताउनुभएको छ । महासचिव गुरुङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सरकारले मुलुकको लोकतान्त्रिक विधि र पद्धति उल्लंघन गर्दै अध्यादेश जारी गरेको जिकिर गर्नुभयो । महासचिव गुरुङले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका पैदा भएको बताउनुभयो ।

    महासचिव गुरुङले गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टा र प्लटिङ गरी बिक्री वितरण गर्न सकिने गरी भूमिसम्बन्धी अध्यादेश ल्याइएको जिकिर गर्नुभयो । ‘गिरीबन्धु टी-स्टेटको बारेमा, सट्टापट्टा गर्ने, प्लटिङ गरेर बिक्री गर्ने भन्ने प्रकारका बहसहरू सतहमा उठिरहेको बेलामा एकतर्फ गिरीबन्धु टी-स्टेटको बहस उठिरहेको अवस्था, अर्कोतर्फ त्यसैलाई आकर्षित हुनेगरी भूमिसम्बन्धी अध्यादेश लिएर आइएको छ । त्यसले गर्दा झन् शंका पैदा भएको छ,’ उहाँले भन्नुभयो । विगतको कानुनले हदबन्दीभन्दा बढी जमिन स्वतः सरकारको हुने व्यवस्था गरे पनि अहिलेको उक्त जमिन बेचबिखन, प्लटिङ गर्न पाउने र व्यवसाय गर्न पाउने ढंगले अध्यादेश ल्याइएको उहाँको दाबी थियो । भूमिसम्बन्धी अध्यादेश लोकतान्त्रिक विधि प्रक्रियाको प्रतिकूल रहेको उहाँको भनाइ थियो ।

    महासचिव गुरुङले भूमिसम्बन्धी अध्यादेश २०७८ सालमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला र संविधानको स्पिरिटको विरुद्धमा रहेको बताउनुभयो । हतारोमा अध्यादेश ल्याउनु पछाडिको सरकारको नियतमाथि जनताले प्रश्न गरिरहेको उहाँको भनाइ थियो । उहाँले पछिल्लो समय भ्रष्टहरूलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लागेको आरोपसमेत लगाउनुभयो । सुशासन र मुलुकको स्वाधीनताको रक्षाका लागि पक्ष र विपक्ष दुवै एक ढिक्का भएर जानुको विकल्प नभएको उहाँको भनाइ थियो ।

  • ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि खुलापन आवश्यक

    काठमाडौँ, आइतबार, ६ माघ २०८१ । ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि निजी क्षेत्र र सरकार दुवै पक्षमा खुलापन आवश्यक रहेको विज्ञहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५औँ रजत जयन्तीका अवसरमा आयोजित ‘ड्राइभिङ इकोनोमिक एण्ड सोसियल ट्रान्सफर्मेसन थ्रो इनर्जी’ विषयक प्राविधिक सत्रमा धारणा राख्ने जानकारहरूले निजी क्षेत्र र सरकार दुवैमा खुलापन भएमात्रै यस क्षेत्रको बृहत्तर विकास हुने बताएका हुन् ।

    इप्पानका उपाध्यक्ष भरतबहादुर खत्रीले निजी क्षेत्रले २६ सय बढी मेगावाट बराबरका आयोजना बनाएर सञ्चालनमा ल्याएको बताउँदै उहाँले निजी क्षेत्रकै उत्पादनका कारण मुलुक अन्धकारमुक्त भएको बताउनुभयो ।

    खत्रीले निजी क्षेत्रले जलविद्युत् उत्पादनको काम गरिरहँदा तीन हजार ५०० किलोमिटर सडक, दुई किमी सडक टनेल, ११ सय किमी टनेल, १५० स्वास्थ्य केन्द्र, २२० बेलिब्रिज, ५२ वटा सिँचाइ आयोजना, ३५ एम्बुलेन्स र २३० शिक्षक र शिक्षिकाहरू विद्यालयका लागि उपलब्ध गराएको विवरण प्रस्तुतीकरणमार्फत् सार्वजनिक गर्नुभएको थियो ।
    अर्थशास्त्री डा. गोविन्द नेपालले क्षेत्रगत विद्युत् खपतसमेत व्यापक बढिरहेको बताउनुभयो । उहाँले विकास निर्माणमा विद्युत््को प्रयोग बढिरहेको बताउनुभयो । उहाँले हाउस होल्डमा खपत बढाउन नसकिएको भन्दै हाउस होल्डमा खपत बढाउन पनि कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो ।

    लोडसेडिङको समयमा गरिएको एक अध्ययनले २० प्रतिशतले इनर्जी सप्लाई कम हुँदा सेवा क्षेत्रमा माइनस चार प्रतिशत, यातायात र सञ्चारमा माइनस ६.६ प्रतिशत, निर्माण क्षेत्रमा माइनस ३२.४ प्रतिशत, विद्युत्मा माइनस २० प्रतिशत, उत्पादनमा माइनस ८.४ प्रतिशत, फुडमा माइनस २ प्रतिशत, माइनिङ र खानीमा माइनस २६८ प्रतिशत र कृषि तथा वनमा माइनस ०.९ प्रतिशत असर हुने उल्लेख गरेको छ । उहाँले सबैले मिलेर २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न काम गर्नुपर्ने बताउनुभयो ।

    योजना आयोगकी पूर्वसदस्य डा. संगीता सिंहले सूचना प्रविधिको क्षेत्रमा ऊर्जाको खपत बढ्दै जाने बताउनुभयो । उहाँले ऊर्जा विकास मार्गचित्रमा महिला र समावेशीकरणको विषय उल्लेख नभएको बताउनुभयो । मार्गचित्र कार्यान्वयन गर्दा जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि हेर्नुपर्ने उहाँको भनाइ थियो ।

    पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू अर्थमन्त्री हुँदा १७ घण्टा लोडसेडिङ भएको बताउनुभयो । त्यतिबेला १२० मेगावाट बराबरको मात्रै प्रसारण लाइन क्षमता रहेको र एक अर्कोमा इन्टरकनेक्सन नरहेको पनि पाण्डेले सम्झिनुभयो । ‘मैले त्यतिबेला दुई काम गरेँ । ढल्केबर-मुजफ्फरपुरको काम अघि बढाएर अहिले आयात र निर्यात भइरहेको छ । दोस्रो माथिल्लो तामाकोशी अघि बढाएँ । निजी क्षेत्रलाई प्रोत्साहन गरेँ ।’

    उहाँका अनुसार नेपालको बिजुली दुईवटा हिसाबले महत्वपूर्ण छ । एउटा बिजुली र अर्को पर्यटन । ‘दैलेखमा पेट्रोलियमको अनुसन्धान भइरहेको छ । व्यावसायिकरूपमा त्यो सम्भव छ कि छैन भन्ने मलाई थाहा छैन । त्यो व्यावसायिकरूपमा सम्भव भयो भने देशका लागि त्यो रिसोर्स हुन्छ,’ उहाँले भन्नुभयो, ‘रेमिट्यान्स खाएर बाँचेका छौँ भनेर राजनीतिज्ञलाई गाली गर्छन् । २० हजार मेगावाट उत्पादन र बिक्री गर्ने हो भने यो भनाइ उल्टिन्छ ।’

    उहाँका अनुसार २८ हजार ५ सय मेगावाट उत्पादनका लागि विदेशी लगानी चाहिन्छ । उक्त लक्ष्य पूरा गर्न व्यवसायी र सरकार दुवैको खुलापन चाहिने उहाँले बताउनुभयो । ‘नेपालीले सक्ने नेपालीले गर्ने र नसक्नेमा विदेशी ल्याएर सहकार्य गर्न सकिन्छ,’ उहाँले भन्नुभयो ।

    प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रमा २८ हजार ५ सय मेगावाट लक्ष्यअनुसारको उत्पादनको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार उपभोगका हिसाबले पनि सम्भव छ । आन्तरिक खपत पनि बढिरहेको छ । आन्तरिक खपतको लक्ष्य १३ हजार ५ सय मेगावाटको छ । ग्रिन इनर्जीको एडभान्टेज छ । बाहृय लगानी भित्र्याउन सक्ने हो भने सम्भव रहेको उहाँको दाबी थियो ।

    पूर्वाधार विकास समितिका सभापति दीपक सिंहले सरकारले भन्दा ७५ प्रतिशत बढी उत्पादन गरेर अन्धकार हटाएर निर्यातसम्मको अवस्थामा पुर्‍याएको निजी क्षेत्रलाई बधाई दिनुभयो । उहाँले विद्युत् विधेयक समितिमा अन्तिम चरणमा छलफल भइरहेको र त्यो निजी क्षेत्रमैत्री विधेयक भएरै आउने दाबी गर्नुभयो ।

  • काठमाडौंमा माघ २४ देखि ‘क्यान इन्फोटेक’

    काठमाडौँ, आइतबार, ६ माघ २०८१ । क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औँ संस्करण आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

    क्यान इन्फोटेकको ३०औँ संस्करणको मिति घोषणासँगै टाइटल स्पोन्सर, इन एसोसिएसन विथ, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर स्पोन्सरका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला भएको छ ।

    सञ्चार तथा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ ।

    प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन् ।

    क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने बताए । क्यान क्यान इन्फोटेकका लागि स्टल बुकिङ खुला गरेकाे जनाएकाे छ ।

  • गोरखाको धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढ्यो

    गोरखा, बिहिबार, ३ माघ २०८१ । उत्तरी गोरखास्थित धार्चे गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याकंन अंक बढेको छ । विगत दुई बर्षदेखि अंक बढ्दो क्रममा रहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको स्थानीय तहहरुको क्षमता स्वमूल्याकंन नतिजामा उल्लेख छ ।

    गत आर्थिक बर्ष २०८०/८१ मा धार्चेको संस्थागत क्षमता स्वमूल्याकंन अंक ९४.७५ प्रतिशत रहेको छ । आव २०७९÷८० मा ७५.७५ प्रतिशत अंक प्राप्त गरेको धार्चेले आव २०७८/७९ मा ४३.५ प्रतिशत मात्र अंक प्राप्त गरेको थियो ।

    हरेक वर्ष संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याकंन नतिजा प्रकाशन गर्ने गरेको छ । विभिन्न १० सूचक (शासकिय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय) र १०० उपसूचकका आधारमा स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्याकंन गर्ने गरिन्छ ।

    स्वमूल्याकंनमा धार्चे गाउँपालिकाले दश सूचकमध्ये शासकिय प्रबन्धतर्फ शत प्रतिशत (१०० प्रतिशत) अंक प्राप्त गरेको छ । संगठन तथा प्रशासन तर्फपनि उक्त पालिकाले पूर्णाङ्क प्राप्त गरेको छ । पालिकाको वार्षिक बजेट तथा योजना व्यवस्थापन र वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फको अंक क्रमश ९५.५४ र १०० रहेको तथ्याङ्कमा उल्लेख छ ।

    सेवा प्रवाह तर्फ पालिकाले ९३.७५ प्रतिशत अंक प्राप्त गरेको छ भने न्यायिक कार्य सम्पादनतर्फ शत प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै, पालिकाले भौतिक पूर्वाधार तर्फ ८८.४६ र सामाजिक समावेशीकरण तर्फ ९० प्रतिशत अंक प्राप्त गरेको नतिजामा उल्लेख छ । वातावरण संरक्षण तथा विपद व्यवस्थापन तर्फ ८८.८९ प्रतिशत र सहकार्य र समन्वयतर्फ ९५.८३ प्रतिशत अंक प्राप्त गरेको बताइएको छ ।

    पालिकाले १० वटै क्षेत्रका सूचकहरुको आधारमा काम गरेकाले नै उत्कृष्ट अंक प्राप्त गरेको धार्चेको प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए । ‘निर्धारित सूचकहरुका आधारमा काम गर्ने र आफूले गरेका कामहरु सिस्टममा अपडेट गर्ने कामलाई महत्व दिएर गरेकाले नै विगतमा भन्दा यो वर्ष राम्रो नतिजा आएको हो’, उनले भने ।

  • निरा रानाभाटको सुमधुर आवाजमा “म त जिउदै मरेकी छु” सार्बजनिक (भिडियोसहित)

    युवराज सफलको प्रस्तुति रहेको “म त जिउदै मरेकी छु” गीतको भिडियो सार्बजनिक

    काठमाडौँ, बुधबार, २ माघ २०८१ । युवराज सफलको प्रस्तुति रहेको “म त जिउदै मरेकी छु” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

    म त जिउँदै मरेकी छु नामक वियोगान्त गीतमा निरा रानाभाटको सुमधुर आवाज रहेको छ । संगीत कृष्ण भारद्वाजको रहेको छ भने अभिनय मोडल एवम् नायिका नम्रता सापकोटा, अनुप जङ्ग थापा, सजिना लामिछाने र युवराज सफलले गरेका छन् ।

    मोडल एवम् नायिका नम्रता सापकोटा, अनुप जङ्ग थापा, सजिना लामिछाने, र स्वयं युवराज सफलले अभिनय गरेका छन् ।

    गीतको म्युजिक भिडियोको निर्देशन राहुल बराइलीले गरेका छन् ।

  • पिएसबी नेपाल समावेशिताको ऐना बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ, मंगलबार, १ माघ २०८१ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ ।

    पिएसबीको पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले पिएसबीमा सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताउनुभएको हो ।

    विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

    उहाँले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभूत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पिएसबीले सहभागितामूलक, समानता र समाबेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले पिएसबीले विविधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न आग्रह गर्नुभयो ।

    उहाँले अरु मिडियाले झै नाफा कमाउने नभै पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

    मन्त्री गुरुङले मुलुकको दुर्गमका जनताको आवाज पिएसबीले बोल्नुपर्ने बताउनुभयो । उहाँले पिएसबीले सुशासनका लागि राज्य र सरकारलाई झकझक्याउनुपर्ने बताउनुभयो ।

    आजदेखि सुरु भएको पिएसबी प्रि–लञ्चिङ कार्यक्रम माघ ३ गतेसम्म चल्नेछ ।

  • ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना

    ललितपुर, मंगलबार, १ माघ २०८१ । ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनःनिर्माण सुरु गरेको छ ।

    राजकुलो विस्तारका लागि महानगरले रु २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिनुभयो । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उहाँले बताउनुभयो ।

    लगनखेलको सप्ताताल पोखरी पुनः निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुङ्गेधारामा पानी झार्ने महानगरको योजना उहाँले सुनाउनुभयो । महानगरप्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दाबढी ढुङ्गेधारा छन् ।

    आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टङ्ग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मङ्गल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन् । मङ्गल हिटीमा बाह्रैमास पानी आउने गरेको छ । ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जन ढुङ्गेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

    ललितपुर महानगरपालिका–६ र वडा नं १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छीविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउनुहुन्छ । ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर २०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनःनिर्माण गरेका थिए । पुनः निर्माणपश्चात बाह्रैमास धारामा पानी झरे पनि केही वर्ष यता पानी आउन छाडेको छ ।

    ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक ढुङ्गेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् । ललितपुर महानगरपालिका–६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउनुहुन्छ । लिच्छिवीकालदेखिको इतिहास बोकेका ढुङ्घेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

  • आज माघ सङ्क्रान्ति पर्व मनाइँदै

    काठमाडौँ, मंगलबार, १ माघ २०८१ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर [माघे] सङ्क्रान्ति भनिन्छ ।

    आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

    उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ ।

    आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्रा डा भट्टराईले बताउनुभयो । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

    सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

    माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । योक्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्रा डा भट्टराईले जानकारी दिनुभयो ।

    यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।

    माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

  • आजदेखि देवघाटमा माघे सङ्क्रान्ति मेला

    तनहुँ, मंगलबार, १ माघ २०८१ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

    पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

    साथै, मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ ।

    ठूला सवारीसाधन (बस, मिनिबस, माइक्रो) आदिको पार्किङ दाहसंस्कारस्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) बाट उत्तर पूर्वक्षेत्रमा प्रबन्ध गरिएको समितिका कार्यकारी निर्देशक बरालले जानकारी दिए । ‘त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्ने व्यवस्था मिलाइएको छ । वैकल्पिक मार्गका रूपमा बेणीमा प्रशस्तमात्रामा डुङ्गाहरूको व्यवस्था गरिएको छ’, उनले भने ।

    डुङ्गा, र्‍याफ्टिङबाट नदी वारपार गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था मिलाइएको छ भने डुङ्गा तथा र्‍याफ्टिङबाट एकतर्फी भाडा रु ५० कायम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले बताए । पद्मम पुराणका अनुसार सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहिआएको छ ।

    पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर सङ्क्रान्तिको दिन भएको मानिन्छ । सोही कारण पनि माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ ।

    तीर्थस्थलमा धुम्रपान, मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गरिएको छ । ती वस्तुहरू बिक्री, ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्‍याइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताए ।

    ‘बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ । नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाइएको छ’, निर्देशक बरालले भने, ‘सशस्त्र प्रहरीबल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट दुई/दुई वटा उद्धार र्‍याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ ।’

    सवारी पार्किङ शुल्कको दररेटमा मेला अवधिभर साइकललाई १०, मोटरसाइकल रु २०, कार/जिप, भ्यान तथा हल्का सवारीलाई ५० तथा बस ट्रकसहित भारी सवारीसाधनर्ला एक सय निर्धारण गरिएको समितिले जनाएको छ । देवघाट गाउँपालिका-५ का अध्यक्ष पूर्णबहादुर कुँवरले विगतका कमीकमजोरी सच्याउँदै यसपटक मेलालाई व्यवस्थित बनाइएको बताए ।