Blog

  • थारु समुदायले नयाँ वर्षका रुपमा माघी पर्व मनाउँदै

    काठमाडौँ, मंगलबार, १ माघ २०८१ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

    आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

    तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

    बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ ।

    आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्रा डा भट्टराईले बताए । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

    सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

    माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउनेक्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । योक्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहने प्रा डा भट्टराईले जानकारी दिए ।

    यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।

    माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । आज तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

    थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै

    थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।

    सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन् । थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ ।

    आज बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म सबैले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

    तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग आज गर्दा सफल प्राप्त हुुने विश्वास यो समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ विश्वास गरिन्छ ।

    आजकै दिन सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ ।

    धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ । थारू समुदायमा विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन छ ।

    माघी पर्वको अवसरमा राजनीतिक दल तथा उच्च पदस्थ व्यक्तिहरूले पनि शुभकामना दिएका छन् ।

  • धार्चे गाउँपालिकाको हिउँदे गाउँसभा : करिव ८० लाख बजेट रकमान्तर

    गोरखा, सोमबार, २९ पौष २०८१ । धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश गरेको केही योजनाहरुको रकमान्तर गरेको छ । गत बिहीवार सम्पन्न हिउँदे गाउँसभाको १७ औ अधिवेशनले यसअघि बिभिन्न योजनामा बिनियोजित करिव ८० लाख बजेट रकमान्तर गर्ने निर्णय गरेको हो ।

    यसअघि पालिकाको गुरुयोजना तथा सम्भाव्यता अध्ययन शीर्षकका लागि विनियोजित २० लाख बजेटमध्ये सडक गुरुयोजना निर्माणमा १० लाख रकमान्तर गरिएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो । साथै, उहाँले गाउँपालिकाको वडा नं ७ स्थित लापु वडा कार्यालय निर्माणका लागि विनियोजित १० लाख रकम वडा कार्यालयको तला थपका लागि सारिएको छ । ‘माछिखोलास्थित सभाहल ट्रष्ट निर्माण शीर्षकमा १५ लाख बजेट छुट्याएका थियौ,’ सुनारले भने, ‘त्यो योजनालाई संशोधन गरेर जनजागृति मावि भवन निर्माणका लागी १० लाख र सभाहल पार्टेसनका लागी ५ लाख छुट्याएका छौ ।’

    संघसंस्थासँग साँझेदारी कार्यक्रम अन्तरगतको १३ लाख ५० हजार रकमको कार्यक्रमलाई संशोधन गरी गोरेटो गोरखासँग साँझेदारी कार्यक्रमका रुपमा संचालन गरिने अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । यसैगरी वडा नं १ को दोभान चर्च घर गोरेटो बाटो निर्माण योजनामा विनियोजित ३ लाख बजेट दोभान खानेपानी मर्मत कार्यक्रममा रकमान्तर गरिएको छ ।

    वडा नं ४ को वडा कार्यालय व्यवस्थापनका लागी बिनियोजन २ लाख रकमको कार्यक्रमलाई पनि संशोधन गरिएको छ । जसअन्तरगत वडा कार्यालय व्यवस्थापन र सिमि याम्वो संरक्षण कार्यक्रमका लागि एक÷एक लाख रकम राखिएको छ । धार्चे–५ को वडा कार्यालय व्यपस्थापनका लागी बिनियोजित २ लाख ५० हजार बजेट गैरेधारा नालि व्यवस्थापन तथा बाटो निर्माणमा रकमान्तर गरिएको छ ।

    ‘वडा नं ५ को लप्सीबोट सामुदायिक ट्रष्ट भवन निर्माणमा ९ लाख बजेट छ्ुट्याएका थियौ, त्यो बजेटलाई लप्सीबोट सामुदायिक भवन निर्माणका लागि सारिएको छ,’ उहाँले भन्नुभयो ।

    पालिकाको वडा नं ७ को स्वास्थ्य तथा पोषण कार्यक्रमको एक लाख र स्वास्थ्य बिमा कार्यक्रमको एक लाख बजेटलाई माँझगाउँ स्वास्थ्य इकाईको एक कोठे भवन निर्माणमा खर्च गर्ने गरि योजना संशोधन गरिएको छ ।

    साथै, विपद व्यवस्थापनका लागी विनियोजित ५० हजार बजेटलाई भिरकुना लान्चेखोला काठेपुल निर्माणमा रकमान्तर गरिएको छ । गाउँपालिकाको पशुपंक्षि तथा मत्स्यपालन विमा शीर्षकको ३ लाखको कार्यक्रमलाई पनि आवश्यक सामाग्री खरिद कार्यक्रममा संशोधन गरिएको पालिकाले जनाएको छ ।

  • नेपाल टेलिकमको मुनाफा ६ अर्ब

    काठमाडौँ, सोमबार, २९ पौष २०८१ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८०/८१ मा कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेर ६ अर्ब २३ करोड मुनाफा आर्जन गरेको जनाएको छ । कम्पनीले ४१ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको छ । टेलिकमको पुस २८ मा सम्पन्न १७ औँ वार्षिक साधारण सभाले यस वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले सेयर धनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    कम्पनी सञ्चालक समितिका अध्यक्षसमेत रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले साधारण सभामा वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीले मुनाफाभन्दा सेवा भावलाई प्राथमिकता दिए‘टु जी प्रविधिमा आधारित भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्यालाई मध्यनजर गरी यसको गुणस्तरमा वृद्धि र सुधार गर्नुका साथै फोर जी सेवालाई सम्पूर्ण ग्राहकहरूको माझमा पुर्‍याउने कार्यलाई निरन्तरता दिइएको छ,’ उनले भनिन्, ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभ जी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार आवश्यक पूर्वाधारसहित परीक्षण सफल भएपश्चात् फाइभन जी सेवाको व्यावसायिक सञ्चालनको लागि अध्ययन भइरहेको छ ।’

    कम्पनीको साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम पुस २८गतेदेखि नै सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाइएको नेपाल टेलिकमले जनाएको छ ।को बताएकी थिइन् ।

    कम्पनीले सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन फोरजी/एलटीई प्रविधिमा आधारित भोल्टे तथा एफटीटीएच सेवा विस्तार सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै आएको अर्यालले बताइन् । अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाईव्यान्डविथ कनेक्टिभिटी विस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एडेड सर्भिसहरूको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको उनको भनाइ थियो ।

  • गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

    गण्डकी, सोमबार, २९ पौष २०८१ । गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइहेको जानकारी दिनुभयो । “खोप प्रदान गर्ने स्वाथ्यकर्मीसहित अन्य सरोकार भएका पक्षलाई अहिले अभिमुखीकरण कार्यक्रम सञ्चालन भइहेको छ”, उहाँले भन्नुभयो, “उक्त खोपबाट १० देखि १४ वर्षसम्मका किशोरीहरु बञ्चित हुनु नपरोस् भनेर अहिले समुदायस्तरमा प्रचारप्रसार र सचेतनाका कार्यक्रम पनि गरिरहेका छौँ ।”

    सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘एचपिभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा सामवेश गरेर यो खोपलाई नियमित खोप सेवाको रुपमा प्रदान गर्ने नीति लिए बमोजिम कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरी खोप प्रदान गर्न लागिएको हो । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको महानिर्देशक खड्काले बताउनुभयो ।

    यो अभियान सम्पन्न भएपछि कक्षा ६ का छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरुलाई नियमित खोपका रुपमा यो खोप प्रदान गर्ने सरकारको नीति रहेको उहाँको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोप अभियान सञ्चालनसम्बन्धी दुई दिनको अभिमुखीकरण तालिम प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार बागलुङमा ११ हजार पाँच सय ५५ जना किशोरीहरुलाई खोप प्रदान गर्ने लक्ष्य छ ।

    नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पु¥याउने प्रमुख सापकोटाले बताउनुभयो । धवलागिरि अस्पतालका स्त्री रोग विशेषज्ञ डा विजय ओझाले ‘एचपिभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई ९८ प्रतिशतले घटाउने बताउनुभयो ।

    “पाठेघरको मुखको क्यान्सरबाट जोगिने प्रभावकारी उपाय भनेको यसविरुद्धको खोप लगाउनु हो”, उहाँले भन्नुभयो, “समयमा रोगको निदान तथा उपचार नभएर महिलाहरुले मृत्युवरण गर्नुपरेका घटना दाहोरिन नदिन लक्षित समूहका सबै किशोरीहरुलाई खोपको पहुँचमा ल्याउनु जरुरी छ ।”

    डा ओझाका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई सबैभन्दा बढी लाग्ने क्यान्सरको दोस्रो स्थानमा पर्छ । क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनेमा भने पहिलो मुख्य कारण पाठघरको क्यान्सर रहेको उहाँको भनाइ छ ।

    यसअघि सरकारले आव २०७२र७३ र २०७३र७४ मा नमूनाका रुपमा चितवन कास्कीमा उक्त खोप कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी गत आवमा ‘बाइभ्यालेण्ट एचभिपी सेकोलिन’ खोपको २० हजार मात्रा खरिद गरी नमूनाका रुपमा सातै प्रदेशका एकरएक अस्पतालबाट १४ वर्षका किशोरीलाई छ महिनाको फरकमा दुई मात्रा खोप प्रदान गरिएको थियो । उक्त खोप अस्पतालमा आधारित खोप केन्द्रबाट प्रदान गरिएको थियो । ‘ह्यूमन प्यापिलोमा’ भाइरसबाट सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, ‘म्युकस मेम्ब्रेन’ यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोग सर्ने चिकित्सकहरु बताउँछन् ।

    मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका ‘एचपिभी’ भाइरसको पटकपटक सङ्क्रमण भएर २० वर्षसम्म रहेमा पाठेघरको मुखको क्यान्सर हुने गरेको उनीहरुको भनाइ छ । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार तीन सय १३ जना अर्थात् औसतमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।

  • एनआरएनएले थाइल्यान्ड र कम्बोडियामा सम्मेलन गर्दै

    काठमाडौँ, आइतबार, २८ पौष २०८१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले थाइल्यान्ड र कम्बोडियामा छुट्टाछुट्टै सम्मेलन गर्ने भएको छ । आइतबार बालुवाटारस्थित संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिइएको हो ।

    संघका अनुसार थाइल्यान्डको बैंककमा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको आयोजना गर्न लागिएको छ । सम्मेलन १५ –१६ मार्च २०२५ मा हुने तय भएको संघले जनाएको छ ।

    यस्तै १८–१९ मार्च २०२५ मा कम्बोडियाको नामपेन्हमा १० औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनको आयोजना हुँदैछ । यसपटक संघले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘संगम’ नामाकरण गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    विदेशमा रहेका युवा अनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि अपनत्व महसुस गराई मातृभूमिसँग जोड्नु वर्तमान अपरिहार्यता भइसकेको अवस्थामा युवा सम्मेलन गर्न लागिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    दोस्रो विश्वयुद्ध पछि बर्मा, थाइल्यान्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा नेपाली मूलका युवाहरु पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन खोजेको वर्तमान अवस्थामा ‘इम्पावरिङ द युथ, सेपिङ द पीएनओज् फ्युचर’ भन्ने मुल नाराका साथ युवा सम्मेलनको आयोजना गर्न लागिएको अध्यक्ष बद्री केसीले जानकारी दिए ।

    ‘नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको छ’, उनले भने, ‘सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज् (नेपाली मुलका नेपाली), र नेपालका स्थानीय युवाहरू बिच मजबुत साझेदारी स्थापना गर्ने, युवामा सशक्तीकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ।’ सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज् विभागका ईन्चार्ज तथा उपाध्यक्ष रामशरण सिमखडाको निर्देशाकत्वमा तयारी तीव्र रुपमा अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा सिम्खडाले कार्यक्रमबारे ब्रिफिङ गरेका थिए ।

    सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबिच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने, युवा बेरोजगारी, सीप विकास, र सुरक्षित आप्रवासन जस्ता महत्त्वपूर्ण समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको उनले बताए ।

    यस्तै एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनका अवसरमा समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीहरुको भूमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओज्का माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भूमिकाबारे छलफल हुनेछ ।

    यस्तै सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण एवं लैगिंक समानता साथै गैरआवासीय नेपाली अभियानले उठान गरिरहेका मुद्दाहरू खासगरी सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आबद्धता, प्रवासबाट मताधिकार जस्ता महत्त्वपूर्ण कार्यक्रमहरुबारे छलफल हुनेछ ।

    दुवै सम्मेलनमा नेपाल सरकारको प्रतिनिधि तथा सम्बन्धित देशका सरकारी प्रतिनिधि एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्व अध्यक्षहरु, एनआरएनए अग्रज तथा अभियन्ता एवं एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, यूरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपुर्वका देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहने एनआरएनएले जनाएको छ । हाल एनआरएनएमा एसिया–प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई छन् भने कम्बोडिया अध्यक्षमा लालसिंह खड्का रहेका छन् ।

    यसैबीच पत्रकार सम्मेलनमा अध्यक्ष केसीले सरकारले अध्यादेशमा उल्लेख गरेको गैरआवासीय नेपालीको सवाल सकारात्मक भएपनि आफूहरूले आवाज उठाउँदै आएको विषय अझै सम्बोधन हुन नसकेको बताए । उनले एक पटकको नेपाली सधैँको नेपाली हुनुपर्ने आफूहरूको माग भएपनि गैरआवासीय नागरिकता पाइसकेकालाई १० वर्ष निःशुल्क भिसाको व्यवस्था मात्रै गरिएकाले थप व्यवस्थाका लागि निरन्तर प्रयास गरिरहने बताए ।

  • ललितपुरमा अझै मर्मत भएन असोजको बाढीले क्षति पुर्‍याएको पुल

    ललितपुरमा अझै मर्मत भएन असोजको बाढीले क्षति पुर्‍याएको पुल

    ललितपुर, आइतबार, २८ पौष २०८१ । बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
    ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो ।

    बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ ।

    ललितपुर महानगरपालिका–२५ का स्थानीय उमेश थापा नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन् ।

    साँघुरो पुलमा अहिले प्रायःजसो दुईपाङ्ग्रे सवारी साधानको जाम हुने गरेको छ। नख्खुडोलका स्थानीय कमल राईले कार्यालय समयमा पुलमा अत्यधिक जाम हुँदा समस्या भइरहेको बताए ।

    ‘बाढीले क्षति गरेको चार महिना बित्न आँटिसक्यो, अहिलेसम्म जीर्ण अवस्थामा रहेको नख्खुडोल पुल अझै मर्मत भएको छैन। यसले गर्दा आवातजावत गर्न निकै असहज भएको छ,’ उनले भने ।

    पुल मर्मतका लागि ललितपुर महानगरपालिकाले ६७ लाख विनियोजन गरेको छ। ललितपुर महानगरपालिका–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले पुल मर्मत चाँडै सुरु गरिने बताए ।

    ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले ठेक्का प्रक्रियामा केही ढिलाइ भएकाले पुल मर्मतमा विलम्ब भएको बताइन् ।

    ‘अहिले अस्थायी रुपमा मोटरसाइकल आवातजावत गर्न मिल्ने बनाइएको छ। पुल मर्मतमा ढिलासुस्ती हुँदा स्थानीयलाई आवातजात गर्न असहज भएको पक्कै हो, अब छिट्टै समस्याको समाधान हुन्छ,’ उनले भनिन् ।

  • अध्यक्ष गण्डकी थापाको संघर्ष र समर्पणले बडीगाड गाउँपालिकाको विकासमा योगदान

    काठमाडौँ, शनिबार, २७ पौष २०८१ । देशभरका महिला जनप्रतिनिधिमा बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा उत्कृष्ट हुनु भयो । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट छानिएर अध्यक्ष थापा “शी लिड्स आइकन” अवार्ड २०८१ बन्न सफल हुनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष १९ गते एक समारोहका बीच अवार्ड एवं प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

    ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदानका आधारमा स्थानीय सरकारका निर्वाचित महिला जनप्रतिनिधिहरुको सुकर्मलाई संचार गर्ने अभियान अन्तर्गत संचालित कल्प इम्पावर वेमेन नेपालले महिला जनप्रतिनिधिहरुले गरेको कामका आधारमा विभिन्न चरणमा मूल्याङ्कन गरेर अवार्ड दिएको हो । १२८ प्रतिस्पर्धीबाट निर्णायक मण्डलले २७ जना सर्टलिष्टमा छानेको थियो । जसमा तीन जना स्थानीय तह प्रमुख र बाँकी उपप्रमुख थिए ।

    सुन्दर सयोंगको भूमि, गण्डकी प्रदेश। यहीँको बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको अध्यक्ष गण्डकी थापा अधिकारी हुनुहुन्छ। काली गण्डकीले शालिग्राम कुदे झैँ गण्डकी प्रदेशमा चेतना र संघर्षले कुदिएको नाम हो गण्डकी थापा अधिकारी ।

    राजनीतिक वातावरणमा हुर्कनुभएको गण्डकी थापाले ११ वर्षको स्थायी जागिरबाट राजीनामा दिएर राजनीतिमा पाइला चाल्नुभयो । उहाँले विभिन्न तालिमहरू लिनुभएको छ – व्यावसायिक, सीपमूलक, सहकारी, महिला सशक्तीकरण, युवा र रोजगार सम्बन्धित तालिमहरू लिनु बहेको छ । जसले गर्दा उहाँलाई जनसेवामा लाग्न हरदम साथ दिईरहेका छन् ।

    एम.एड. सम्मको अध्ययन पश्चात्, बिक्रम सम्बत् २०५४ सालमा नेपाली काँग्रेसबाट राजनीतिमा प्रवेश गर्नुभयो । कक्षा ९ मा पढ्दै गर्दा बिपी कोइरालाको लेखले उहाँलाई राजनीति के हो भन्ने सिकाएको उहाँलाई राजनीतिमा पहिलो औपचारिक जिम्मेवारी नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य तथा नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्षको रूपमा प्राप्त भयो ।

    उहाँको हजुरबुवा प्रधानपञ्च हुँदा नागरिकहरूको भीड न्यायको लागि आउँथ्यो । उहाँले हजुरबुबाले नागरिकहरूको सेवा गरेको देखेर राजनीतिमा लाग्ने प्रेरणा प्राप्त गर्नुभयो ।

    स्थनीय तहको नेतृत्व पश्चात योजनाहरूको उपभोत्ता समितिको अध्यक्ष बनेर काम गर्ने महिलाहरुलाई प्रोत्साहन गर्नका निम्ति पालिकाद्वारा सम्मान कार्यक्रम, अभिभावक विहिन बालबालिका लागि पालिकाद्वारा बाल आवासको व्यबस्था गरी नि:शुल्क गास,बास,कपास र
    स्वास्थ शिक्षाको व्यबस्थापनमा जोड दिनुभयो ।

    साथै, उहाँले शिक्षामा डिजिटल सिकाई र नि:शुल्क शिक्षा सेवा आयोग संचलान,अपाङ्ग वृद्ध र दीर्घ बिरामीका लागि घरमै स्वास्थ्य उपचार सेवा, निःशुल्क स्वास्थ्य बिमा, सुरक्षित नागरिक आवास कार्यक्रम, मोटर बाटो विस्तार, विद्युत लाइन जडान, सञ्चार सेवा प्रवाह र आर्थिक गतिविधिहरू डिजिटलाइज गर्दै सार्वजनिक सुनुवाईको व्यवस्था, प्रत्येक महिनाको अन्तिममा पालिका गतिविधिहरू वेवसाइटमा सार्वजनिक गर्दै, सुशासन कायम गर्नका लागि आवश्यक ऐन र कार्यविधी निर्माण साथै प्राकृतिक प्रकोपबाट पिडित जनतालाई उद्दार गर्दै राहत वितरण र जनता संग पालिका अध्यक्ष कार्यक्रम सम्पन्न गर्नुभयो ।

    संविधान कार्यान्वयनको चुनौती, नीतिगत र बजेटको अभाव, भौगोलिक विकटता, सीमित स्रोत र साधनका कारण उहाँले विभिन्न समस्याहरू सामना गर्नुभएको छ । महिला भएको कारण अवसर र चुनौती दुवै पाउनु भएको छ ।

    उहाँलाई मुख्य पदमा नभई सहायक पदमा धेरै पटक सोधिने र सम्बोधन गरिने अनुभव छ ।

    अगामी तीन वर्षमा गाउँपालिकाको खानेपानी समस्या समाधान गर्ने, अस्पताललाई व्यवस्थित बनाउने, मिर्गौला पीडितका लागि डायलिसिस सेवा सञ्चालन गर्ने, पोषणमैत्री र बालमैत्री गाउँपालिका बनाउने, महिलालाई उद्यमी बनाउन प्रोत्साहित गर्ने र आर्थिक रूपान्तरणको लक्ष्य
    राख्नु भएको छ ।

    राजनीतिमा नयाँ पुस्तालाई आकर्षण गर्न समाजका अगुवाहरूले सिर्जनात्मक युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष गण्डकी थापा अधिकारी
    बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, विगतको राजनीतिमा सुशासनको कमी भए पनि हाल केही सुधार भएको छ । विगतमा राजनीति गर्ने पार्टी र नेता प्रति सम्मान भाव थियो भने, अहिले सामाजिक सञ्जालबाट अपमान र अविश्वासको स्थिति सिर्जना भएको छ । जसले गर्दा समाजसेवा र
    राजनीतिबाट पलायन हुने अवस्था बढेको बताउनुहुन्छ ।

    गण्डकी थापा अधिकारीको संघर्ष र समर्पणले बडीगाड गाउँपालिकाको विकासमा वास्तविक र ठोस योगदान पुर्‍याएको छ । उहाँको जीवन एक प्रेरणादायी कथा हो, जसले समाजसेवा र राजनीतिमा समर्पणको महत्वलाई दर्शाउँछ।

  • प्रेस चौतारीको महाधिवेशन : विभिन्न उपसमिति गठन

    काठमाडौँ, शुक्रबार, २६ पौष २०८१ । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा हुने १०औँ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

    महाधिवेशनको बन्द सत्रलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने छन् । प्रेस चौतारी नेपालको सचिवालय बैठकले गरेको निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको संगठनका सचिव हरि बल्लभले जानकारी दिए । उनले भने, महाधिवेशन सम्पन्न गर्न संगठनका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, प्रदेश समितिका अध्यक्ष तथा महाधिवेशन आयोजना गरिएको प्रदेश र जिल्ला अध्यक्ष सदस्य छन् ।

    महाधिवेशनको व्यवस्थापनका लागि संगठनका सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । व्यवस्थापन समिति सदस्य केन्द्रीय कार्यालयसँग समन्वय गरी संयोजकले आवश्यकताअनुसार निर्माण गर्न संयोजकलाई बैठकले जिम्मेवारी दिएको छ ।

    बैठकले संगठनका जिल्ला अधिवेशन माघ २५ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्णय भएको छ ।

    विभिन्न समिति गठन

    महाधिवेशनमा प्रस्तुत गर्ने संगठनको तत्कालीन र दीर्घकालीन कार्ययोजना तयारीको प्रस्ताव तयार पार्न उपाध्यक्ष गणेश पाण्डेको संयोजकत्वमा ७ सदस्यीय प्रस्ताव समिति गठन भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने समसामयिक प्रस्ताव लेखनका लागि उपाध्यक्ष सविन प्रियाशन चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

    यसै गरी स्मारिका प्रकाशनका लागि उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ७ सदस्यीय स्मारिका प्रकाशन समिति गठन गरिएको छ । महाधिवेशनको प्रचार प्रसारका लागि उपाध्यक्ष देवीका घर्ती मगरको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार समिति गठन भएको छ ।

    महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक प्रतिवेदन लेखनका लागि महासचिव हिरामान लामाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । महाधिवेशन प्रस्तुत गरिने आर्थिक प्रतिवेदन लेखनका लागि कोषाध्यक्ष इन्द्रप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय आर्थिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ ।

    अभिलेख व्यवस्थापनका लागि उपमहासचिव शुरोजंग पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापनका लागि सचिव हरिबल्लभ नेपालको संयोजकत्वमा १५ सदस्यीय समिति, विधान संशोधनसम्बन्धी प्रस्ताव लेखनका लागि सचिव प्रदीप आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति, आर्थिक सङ्कलन तथा व्यवस्थापनका लागि सचिव विष्णु तारुकेको संयोजकत्वमा १० सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

    त्यस्तै अतिथि सत्कार समितिको संयोजकमा सचिव लोग्शरी कुँवरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । ३२ जना केन्द्रीय सदस्य तथा तीनजना लेखा आयोगका सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

    संगठनको स्थापना दिवसको दिन प्रदान गरिँदै आएको हृदयचन्द्र सिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन भएको छ ।

    त्यस्तै महिला पत्रकारलाई प्रदान गर्ने गरी यसै वर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न उपाध्यक्ष देवीका घर्ती मगरको संयोजकत्वमा ३ सदस्सीय समिति गठन गरिएको छ ।

  • माछीखोला जलविद्युत आयोजनाको निर्माण मापदण्ड अनुसार गर्ने निर्णय

    गोरखा, शुक्रबार, २६ पौष २०८१ । वाटर इनर्जी डेभलपमेन्ट प्रालि काठमाडौंले गोरखाको उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा–३ र ५ जोड्ने रेसे खोलामा १६ मेगावाटको जलविद्युत (हाइड्रोपावर) को काम गर्दा वातावरण प्रभाव प्रतिबेदनमा उल्लेख भएको मापदण्ड अनुसार कार्य गर्ने निर्णय भएको धार्चे गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङ जानकारी दिनुभयो । निर्माण कार्य सुरु हुनु भन्दा अधि सम्बन्धित निकायलाई बिना जानकारी वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको भन्दै पहिलादेखि नै गाउँपालिकाले खबरदारी गर्दै आएको थियो ।

    जथाभावी डोजर लगाउँदा गत साउन १३ गते घर बस्तिमा बाढीबाट पाँच जनाले ज्यान गुमाउनु पर्यो , वाटर इनर्जी डेभलपमेन्ट प्रा लि ले प्रति ब्यक्ति मृतक परिवारलाई राहत स्वरूप तीन लाख उपलब्ध गराइने उहाँले बताउनु भयो । साथै, उहाँले हाइड्रोपावरमा कार्यरत कर्मचारी मृतक रमेश गुरुङको परिवारलाई १० लाख रुपैयाँ र दिलिप गुरुङलाइ उपचार खर्च वापत ६ लाख रुपैयाँ दुइ किस्ता गरी गाउँपालिका मार्फत उपलब्ध गराइने बताउनु भयो ।

    माछीखोला बजारदेखि रेसेफाट हुदैँ लार्प्राक सम्म जोड्ने सडक तटबन्धनको कारण बन्द हुने प्रवल सम्भावना रहेको हुदाँ उक्त बाटो संचालनका लागि वैकल्पिक बाटो निर्माण तथा स्तरोन्नति गरिने अध्यक्ष लक्ष्मण गुरुङ जानकारी दिनुभयो ।

    स्थानीय सरकार र सरोकारवालासँग आवश्यक छलफल र समन्वय गरेर मात्र अघि बढ्न पालिका अध्यक्ष गुरुङले आग्रह गर्नुभयो । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्राकृतिक स्रोत साधन तथा वन जंगलको संरक्षण, अनुगमन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको पालिकाले जानकारी समेत गराएको छ । साथै, आजको बैठकबाट वाटर इनर्जी डेभलपमेन्ट प्रा लि (हाइड्रोपावर) ले गा पा का स्थानीय बासिन्दाहरुका लागि रोजगारी सृजना गरी स्थानीय स्तरबाट आफ्नो सीप, योग्यता, क्षमताका आधारमा बिशेष प्राथमिकता दिइ रोजगारी प्रदान गरिने बताउनु भयो ।

    गोरखाको धार्चे गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा, वाटर इनर्जी डेभलपमेन्ट प्रा लि का संचालक पुष्प राज आचार्यको बिशेष उपस्थितिमा, धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, वडा नं ३ का वडा अध्यक्ष शेर बहादुर गुरुङ, वडा नं ४ का वडा अध्यक्ष किसान गुरुङ, ५ का वडा अध्यक्ष भिम प्रसाद गुरुङ, वडा नं ७ का वडा अध्यक्ष राकेश गुरुङ, वडा सदस्य बिर बहादुर गुरुङ, दिनेश गुरुङ, कार्यपालिका सदस्य मित्र बहादुर गुरुङ, निशान गुरुङ, सुर्यदय मा बि का लोक बहादुर गुरुङ, कर्मचारी, स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा बैठक गरिएको थियो ।

  • उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजार पर्यटक

    गोरखा, बिहीबार, २५ पौष २०८१ । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटकले घुमघाम गरेका छन् ।

    मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार ६०५ जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का संरक्षण अधिकृत भुवनराज ओझाले जानकारी दिए । अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार ४२८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको ओझाले बताए ।

    अघिल्लो वर्ष नौ हजार १७७ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। “गत वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेका छन्,” उनले भने ।

    मनास्लु क्षेत्र पुग्ने पर्यटकमध्ये सार्क राष्ट्रभन्दा तेस्रो मुलुकका बढी रहेको ओझाको भनाइ छ । सन् २०२४ मा फ्रान्सबाट सबैभन्दा धेरै एक हजार ३३५ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

    त्यस्तै, जर्मनीका एक हजार १८१ र अमेरिकाका ७९६ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए। सार्क राष्ट्रमध्ये भारतबाट सबैभन्दा धेरै १५९ पर्यटकले मनास्लु पदयात्रा गरेका छन् ।

    मनास्लु पदमार्गमा जाने पर्यटक नुब्री भ्यालीतर्फ कुल्छुमन (काल) ताल, मनास्लु हिमाल, वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास भएर मनाङ पुग्न गरेका छन् ।

    त्यस्तै, चुमभ्यालीतर्फ श्रृंगी हिमाल, राजेन गुम्बा लगायतको अवलोकन गर्न सकिन्छ । मनास्लु क्षेत्रमा प्राकृतिक सौन्दर्यसँगै हिउँ चितुवा, नाउर, घोरल, डाँफे, मुनाल, चौंरी पनि देख्न सकिन्छ ।