Blog

  • काठमाडाैं उपत्यकामा आंशिक बदली

    काठमाडौँ, बुधबार, १६ माघ २०८१ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

    विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै कोशी,वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।

    विभागले बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाईउड्डनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • चैत्रमा काठमाडौँ उपत्यका व्यापी दोस्रो गोदावरी मेयर कप हुने

    ललितपुर, सोमबार, १४ माघ २०८१ । काठमाडौँ उपत्यका व्यापी दोस्रो गोदावरी मेयर कप हुने भएको छ । गोदावरी नगरपालिकाको ९ औं नगर स्थापना दिवसको अवसरमा काठमाडौँ उपत्यका व्यापी अन्तर नगरपालिका खुल्ला दोस्रो मेयर कप फुटबल प्रतियोगिता चैत्र ९ गतेदेखि चैत्र २३ गतेसम्म गोदावरीमा हुने भएको छ ।

    स्थानीय खेलाडीको खेलस्तर उकास्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई ट्रफीसहित पाच लाख रुपैयाँ र दृतिय स्थान हासिल गर्ने टिमलाई ट्रफीसहित तीन लाख रुपैयाँ प्रदान गरिने खेलकुद संयोजक निरोज बज्राचार्यले जानकारी दिनुभयो । साथै, उहाँले फागुन १ गतेदेखि फागुन २९ गतेसम्म टिम दर्ता गर्न सकिने बताउनु भयो ।

    टिम दर्ता शुल्क पच्चीस हजार रुपैयाँ लाग्ने खेलकुद संयोजक निरोज बज्राचार्यले बताउनुभयो ।

  • तराईका धेरै स्थानमा बाक्लो हुस्सु र शीतलहर, जनजीवन प्रभावित

    काठमाडौँ, सोमबार, १४ माघ २०८१ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

    दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    राती भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    त्यसका साथै तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • कांग्रेस-एमाले सत्ता सहकार्यले सकारात्मक र उत्साहपूर्ण परिणाम : मुख्यमन्त्री कार्की

    विराटनगर, आइतबार, १३ माघ २०८१ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ ।

    प्रेस चौतारी मोरङको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो ,जनतालाई राहत दिनका लागि गरिएको काम भएकाे र यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।’ अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत भएको टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले यो आरोप लगाउनका लागि गरिएको काम मात्र भएको बताउनुभयो ।

    नेपाली कांग्रेस र नेकपा एमाले बीचको सहमतिबाट बनेको यो सरकारबाट उत्साह छाएको र यसको सकारात्मक नतिजा आउन थालेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो ‘अहिले राजस्व वृद्धि भइरहेको छ। सरकारको पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ ,अर्थतन्त्र चलायमान भएको छ ।’

    कोशी प्रदेशमा पनि २५%ले राजस्व वृद्धि गरेको चर्चा गर्दै उहाँले प्रदेश सरकारले राखेको लक्ष्य पूरा हुने बताउनुभयो । उहाँले पछिल्लो समयमा सञ्चार माध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै हामीले यथार्थ समाचाारलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आम संचार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको बिकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘हामी यसपटक कानुन पास गरेरै पत्रकारको हितमा काम गर्छौं’, मुख्यमन्त्री कार्कीले भन्नुभयो।

  • माघ २४ गतेदेखि फागुन ४ गतेसम्म ‘लिगलिग पालुङटार महोत्सव’ हुने

    गोरखा, शुक्रबार, ११ माघ २०८१ । गोरखाको पालुङटारमा कृषि, पर्यटन र हस्तकलाको प्रवद्र्धनका लागि ‘लिगलिग पालुङटार महोत्सव २०८१’ हुने भएको छ । लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा यहीँ माघ २४ गतेदेखि फागुन ४ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष मानवहादुर आलेले आज पालुङटारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    ‘‘ऐतिहासिक लिगलिग पालुङटारको पहिचान–कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रर्वद्धन मुख्य अभियान’’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको उहाँको भनाई छ । ‘‘पालुङटारमा रहेको लिगलिगकोटलगायतका स्थान ऐतिहासिक दृष्टिकोणले आफैमा महत्वपूर्ण छ, अध्यक्ष आलेले भन्नुभयो, ‘‘यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेकाले महोत्सवमार्फत यहाँ पर्यटन प्रर्वद्धन गर्ने हाम्रो लक्ष्य छ ।’’

    त्यस्तै स्थानीय कृषि उत्पादनको बजारीकरणका साथै पालुङटार करिडोर क्षेत्रमा उत्पादित हस्तकलाका सामाग्री महोत्सवको माध्यमबाट प्रर्वद्धन गरिनेछ । पालुङटार नगरपालिका–५, माँझटारस्थित खेल मैदानमा आयोजना गरिने महोत्सवमा एकसय २० वटा स्टल निर्माण गरिने र त्यसमध्ये २० वटा स्टल निःशुल्क उपलब्ध गराएर कृषि तथा हस्तकलाको सामाग्री बिक्री तथा प्रर्दशनी गरिने अध्यक्ष आलेले बताउनुभयो ।

    कृषि र हस्तकलाका स्टलहरुमा गोरखाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, तनहुँको भानु नगरपालिका र लम्जुङको राइनस नगरपालिकामा भित्र उत्पादित कृषि उत्पादन एवं हस्तकलाका सामग्री प्रर्दशनी तथा बिक्री गरिने उहाँले बताउनुभयो ।

    महोत्सवकै अवसरमा स्थानीय कला र संस्कृतिको संरक्षण, सम्र्बद्धन र प्रर्वद्धनका लागि रत्यौली गीत तथा नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिताको समेत आयोजना गरिने भएको छ । अध्यक्ष आलेले किसानलाई हौसला प्रदान गर्नका लागि कृषि प्रर्दशनीमा उत्कृष्ठ किसानलाई सम्मानसमेत गरिने बताउनुभयो ।

    कृषि प्रर्दशनीमा किसानहरुको संक्रिय सहभागिताका लागि वडावडासंग समन्वय गरेर काम गरिरहेको अध्यक्ष आलेले जानकारी दिनुभयो । महोत्सवमा २५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान महोत्सव सम्पन गर्नका लागि बिभिन्न २५ वटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ । महोत्सवमा १ करोडभन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

  • नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह

    काठमाडौँ, शुक्रबार, ११ माघ २०८१ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ ।

    मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उहाँले सो आग्रह गर्नुभएको हो ।

    नेपालको सङ्घीय संसदले नेपाल-पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको विषय जानकारी गराउँदै मन्त्री भण्डारीले यस संसदीय आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले दुई राष्ट्रबीच अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोग र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको स्थापना गरेका छौं, हामीले यी संयन्त्रमार्फत सम्वाद र सम्पर्क जारी राख्नु आवश्यक छ, अर्थमन्त्री स्तरमा संयुक्त आर्थिक आयोगको सातौँ बैठक र विदेश सचिव स्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको पाँचौँ बैठक नेपालमा आयोजना हुने भएको छ ।”

    नेपाल र पाकिस्तान निकट छिमेकी भए पनि सोचेजस्तो द्विपक्षीय व्यापार हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यापार र आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको बताउनुभयो । नेपाल र पाकिस्तानबीचको व्यापार तथा आर्थिक अन्तरनिर्भरता बढाउनका लागि दुवै देशको व्यापार सहजीकरण गर्ने र ‘लजिस्टिक’ चुनौतीलाई सम्बोधन गर्नेतर्फ संयुक्त रुपमा थप प्रयास गर्नुपर्ने उहाँको भनाइ थियो ।

    “हामीले वर्तमान आर्थिक वास्तविकता प्रतिबिम्बित गर्न र व्यापार सहजीकरण बढाउन नयाँ सम्झौता बनाउने वा यसलाई पुनरावलोकन गर्ने समय आएको छ, दुई देशबीचको विद्यमान व्यापार घाटालाई सम्बोधन गर्न हामी नेपालका विभिन्न क्षेत्रमा पाकिस्तानी लगानीलाई प्रोत्साहित गर्न चाहन्छौं”, उहाँले भन्नुभयो, “जसमा कपडा र पर्यटन आदि समावेश छन् ।” उहाँले नेपाली वस्तुहरूले पाकिस्तानमा नियामक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै  नेपाली वस्तुहरुलाई पाकिस्तानमा आयात प्रक्रिया सरल बनाउन र प्रमुख नेपाली निर्यातमा भन्सार शुल्क घटाउन विशेष अनुरोध गर्न चाहन्छु ।”

    लगानी, पर्यटन, संस्कृति र जनता-जनताबिचको सम्बन्धलगायत पारस्परिक लाभका लागि दुवै देशले मिलेर काम गर्नसक्ने धेरै क्षेत्र रहेका उहाँले उल्लेख गर्नुभयो । उहाँले कृषि र पर्यटन सम्बन्धी संयुक्त कार्य समूहहरूको नियमित बैठकहरू आयोजना गर्ने कुरालाई प्राथमिकता दिनु आवश्यक रहेकामा जोड दिनुभयो । साथै मन्त्री भण्डारीले नेपालले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि आदि क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई आग्रहसमेत गर्नुभयो ।

    उहाँले भन्नुभयो, “नेपालले पाकिस्तानी पर्यटकहरूका विशेष आकर्षक पर्यटकीय सेवाहरु उपलब्ध गराउँछ, हामीलाई विश्वास छ कि नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानका मानिसलाई बढी सङ्ख्यामा नेपाल भ्रमण गर्न आकर्षित गर्नेछन् ।”

    पाकिस्तानी राजदूत हश्मीले पाकिस्तान सरकारले नेपालमा व्यावसायिक गतिविधि बढाउन चाहेको बताउनुभयो । उहाँले नेपालको चिया तथा कफि पाकिस्तानमा राम्रै परिणाममा निर्यात भइरहेको उल्लेख गर्दै ब्राण्डिङ र गुणस्तर सुधार गरिए निर्यात वृद्धि हुने जानकारी गराउनुभयो ।

    हश्मीले दुई देशबीच व्यापारिक गतिविधि बढाउन दोहोरो करको समस्या रहेकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । यस वर्ष ३२ जना विद्यार्थीले पाकिस्तानमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जानकारी गराउँदै उहाँले छात्रवृत्ति रकम वृद्धि गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालको सगरमाथा र पाकिस्तानको केटु हिमालसम्म जोड्न पर्यटकीय मार्ग बनाउनुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले काठमाडौं-लाहोर नियमित सिधा हवाई उडानका लागि पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो ।

  • ललितपुर महानगर १५ वडाद्वारा जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम आयोजना

    ललितपुर, बिहिबार, १० माघ २०८१ । ललितपुर महानगरपालिका वडा नं १५ वडा कार्यालयले जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

    मनकामना मन्दिर गोरखा जिल्ला शहिद लखन गाउँपालिकामा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थानको रुपमा परिचित रहेको छ ।

    ललितपुर महानगरपालिका वडा नं १५ मा स्थायी रुपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम राखिएको वडा अध्यक्ष सुरेश बहादुर शाहीले बताउनु भयो । मनकामना माइको दर्शन गर्न जाने इच्छुक स्वस्थ जेष्ठ नागरिकले नेपाली नागरिकताको फोटोकपी सहित आगामी माघ १४ गते सम्म वडा कार्यालय सातदोबाटो ललितपुरमा आफ्नो नाम दर्ता गराउन अनुरोध गर्नुभयो । साथै, उहाँले माघ १६ गते बिहान ७ बजे मनकामना मन्दिर दर्शन गर्नका लागि प्रस्थान गरिने बताउनु भयो ।

    मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले मन्दिरको नाम मनकामना रहन गएको जनविश्वास छ ।

    जनविश्वासका कारण मानिसहरु भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउने गर्छन् ।

  • संघीय संसदका चारवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ, बुधबार, ९ माघ २०८१ । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन ।

    जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल गरिने भएको छ ।

    पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल गरिने समितिले जनाएको छ । जसअनुसार सो बैठक बिहान ११ः०० बजेबाट नै सुरू हुनेछ । त्यसैगरी, सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

    साथै, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

  • आजीवन कैदको व्यवस्था कानुनमा राख्न हुँदैन : महान्यायाधिवक्ता

    काठमाडौँ, बुधबार, ९ माघ २०८१ । महान्यायाधिवक्ताको कार्यालयले आजीवन कैदको व्यवस्था कानुनमा राख्न नहुने धारणा दिएको छ । प्रतिनिधि सभाअन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा सहभागी हुँदै महान्यायाधिवक्ता रमेश बडालले आजीवन कैदको व्यवस्था कानुनमा परिवर्तन हुनुपर्ने तर्क गर्नुभएको हो ।

    कुनै एक कैदीलाई जन्मभर कैदमा राख्दा कारागारभित्र थ्रेट महसुस भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजीवन कारावासले समस्या भइरहेको छ । जन्मभर कैद हुने भएपछि अनुशासनमा बस्न नपर्ने मानसिकता विकास भई आन्तरिक अनुशासनमा थ्रेट महसुस हुन थालेको छ ।’ महान्यायाधिवक्ता बडालले यस्ता मुद्दामा छुट पनि नहुने भएकाले समस्या देखिएको बताउनुभयो । ‘अब म कहिल्यै पनि वा नमरेसम्म बाहिर निस्कन्न भन्ने भएपछि मानसिकता नै फरक हुने अध्ययनमा देखियो,’ उहाँले भन्नुभयोे, ‘म कुनै दिन राम्रो र असल चाल चलन देखाएर छुट पाएर निस्कन्छु भन्ने भएमा फरक व्यवहार हुने देखियो । उहाँले आजीवन कैदमा ३० वर्ष कैदको व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिनुभयो । दण्डको प्रणाली भनेको सुधारात्मक भएकाले सुधार गर्ने मौका दिनुपर्ने भन्दै जीवन रहेसम्म कैद गर्ने विषयमा ३० वर्ष राख्न महान्याधिवक्ता बडालले सुझाव दिनुभयो ।

    महान्यायाधिवक्ता बडालले खुला कारागारको व्यवस्था कार्यान्वयन गर्न संघीय संसद्लाई सुझाव दिनुभएको छ । उहाँले खुला कारागारको कानुनी व्यवस्था भइसकेको भन्दै व्यावहारिक रूपमा कार्यान्वयन गर्न समितिलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘खुला कारागारको प्रणालीबारे कानुनी व्यवस्था भइसके पनि कार्यान्वयनमा आउन सकेको छैन । कुनै कैदीबन्दीले तीन दिन काम गर्छु भन्यो भने एकदिन छुट हुने व्यवस्था छ । अहिलेसम्म काममा पठाउने अवस्था सृजना भएको छैन ।’ खुला कारागारको व्यवस्था कार्यान्वयनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट कार्यदल बनाएर काम अघि बढिसकेको महान्यायाधिवक्ता बडालले बताउनुभयो ।

    धेरैजसो कारागार कार्यालयसँग कार्यालय वरपरि पर्याप्त जमिन भएकाले कारागारसँगै कारखाना स्थापना गरेर कार्यान्वयनमा ल्याउन कुनै समस्या नभएको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयोे, ‘कारागारसँग समन्वय गर्नेगरी कारखाना सञ्चालन गर्ने हो भने त्यो अघि बढाउन सकिन्छ । झापामा कारागार कार्यालयसँग १० बिघा जग्गा छ । त्यहाँ कारागारसँगै कारखाना स्थापना गर्ने हो कुनै समस्या छैन । जलेश्वरमा ६ बिघा जग्गा छ, त्यहाँ पनि सम्भावना छ ।’ खुला कारगारको व्यवस्था कार्यान्वयन गर्न सकियो भने कैदीबन्दीलाई आम्दानी, छुट र सरकारलाई पनि सहज हुने उहाँले बताउनुभयो ।

    उजुरी अध्ययनका लागि समिति गठन

    लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो । मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताउनुभयो ।

    समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य हुनुहुन्छ । लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय भएको बताउनुभयो । उहाँले मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाउने जानकारी दिनुभयो ।

  • सिरानचोक गाउँपालिकालाई चौंथो पटक राष्ट्रपति रनिङशिल्डको उपाधि

    गोरखा, मंगलबार, ८ माघ २०८१ । यसअघि तीन पटक राष्ट्रपति रनिङशिल्डको उपाधि जितिसकेको सिरानचोक गाउँपालिकाले चौथो पटक उपाधि हात पारेको छ । सोमबार पालुङटारमा सम्पन्न १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि सिरानचोकले हात पारेको हो ।

    तीन पटक उपाधि विजेता बनेसँगै रनिङ शिल्ड पनि सो पालिकाले आफ्नो बनाइसकेको छ । सोमबार भएको फाइनल खेलमा ७ स्वर्ण, ९ रजत र ३ कास्य गरी कुल १९ पदक जित्दै सिरानचोक उपाधि विजेता बनेको हो । यसअघि सम्पन्न ८ औं, १० औं र ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि सिरानचोक उपाधि विजेता बनेको थियो । प्रतियोगिताको १२ औं संस्करणमा पनि पुनः सिरानचोक नै उपाधि विजेता बनेको हो ।

    यस्तै, प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० पदकसहित पालुङटार नगरपालिका दोस्रो बनेको छ भने ५ स्वर्ण, ४ रजत र ३ कास्य गरी १२ पदक जित्दै भिमसेनथापा गाउँपालिका तेस्रो बनेको छ । प्रतियोगितामा गोरखा नगरपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य, सहिदलखन गाउँपालिकाले ३ कास्य र गण्डकी गाउँपालिकाले ४ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पारेको छ ।

    यसैगरी, बारपाक सुलिकोट गाउँपालिकाले ३ स्वर्ण, ४ रजत र ३ कास्य, चुमनुब्री गाउँपालिकाले २ कास्य, धार्चे गाउँपालिकाले १ रजत र आरुघाट गाउँपालिकाले १ कास्य पदक प्राप्त गरेको छ । अजिरकोट गाउँपालिकाले भने ३ स्वर्ण, ३ रजत र ४ कास्यपदक हात पारेको आयोजकले जानएको छ ।

    जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा पालुङटार नगरपालिकाको सहआयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म संचालन भएको जिल्ला स्तरीय प्रतियोगिता पालुङटारस्थित भवानी मावि, माझटार खेलमैदानमा संचालन गरिएको थियो ।

    जिल्लाका ११ वटै स्थानीय तहहरुले प्रतियोगितामा सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिँह बस्नेत (शान्तसिँह)ले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्टस् विधामा प्रतिस्पर्धा भएको उनले जानकारी दिए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।