Blog

  • आँबुखैरेनीमा विशेषज्ञ सेवा दिँदै चितवन मेडिकल कलेज

    तनहुँ, बुधबार, २३ माघ २०८१ । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालमा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको छ । आँबुखैरेनी गाउँपालिकासँग भएको स्वास्थ्य सेवासम्बन्धी सम्झौता अनुसार मेडिकल कलेजले विशेषज्ञ सेवा दिने भएको हो ।

    आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान र चितवन मेडिकल कलेजका निर्देशक प्रताप देवकोटाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार प्रत्येक १५ दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि आँबुखैरेनीको माग बमोजिम चितवन मेडिकल कलेजले विशेषज्ञ चिकित्सक उपलब्ध गराउनेछ ।

    आँबुखैरेनी गाउँपालिकावासीलाई चितवन मेडिकल कलेजबाट उपलब्ध गराउने उपचार सेवामा २० प्रतिशत रकम छुट हुनेछ । पालिकाको विकट क्षेत्रलाई केन्द्रित गरी निःशुल्क विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गर्नलाई आवश्यक जनशक्ति र उपकरण मेडिकल कलेजले उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

    आँबुखैरेनी गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर अस्पताल सञ्चालन गरेको छ ।

    अस्पतालबाट विशेषज्ञ सेवासमेत दिन थालिएको छ । चितवन मेडिकल कलेजसँग भएको सम्झौताले गाउँपालिकावासीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने अध्यक्ष चुमानको विश्वास छ ।

    विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी स्तरोन्नति, बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल मै अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको छ ।

    आँबुखैरेनी गाउँपालिका–१ स्थित १७ सयमा सार्वजनिक र मित्रता माध्यमिक विद्यालयको समेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने अध्यक्ष चुमानले बताउनुभयो ।

    चुमानले भन्नुभयो, “तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमी दूरीमा एउटा पनि सरकारी अस्पताल छैन, कुनै दुर्घटना भयो भने उपचारका लागि चितवन वा काठमाडौं दौडिनुपर्छ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सकिए धेरै जनाको ज्यान बचाउन सकिन्छ ।”

  • गोदावरीमा अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटबल, १७ टिमको समूह विभाजन

    ललितपुर, मंगलबार, २१ माघ २०८१ । दोस्रो संस्करणको गोदावरी नगरपालिकास्तरीय अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् ।

    आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियफोगिताको तयारी पूरा भएको जनाएको थियो । यस्तै, हिजो नै टाइसिट पनि ड्र गरिएको थियो ।

    १७ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा पाँच टिम रहँदा अन्य तीन समूहमा भने चार चार टिम छन् । लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने आज आयोजित पत्रकार सम्मेलनमा ज्ञानकुण्ड युवा क्लबका कार्यवाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले जानकारी दिए ।

    नगरपालिकाभित्रका विद्यालयहरूमा खेलकुदको विकासका लागि क्लबले प्रतियोगिता आयोजना गरेको संकटा क्लबका पूर्वखेलाडी पनि रहेका दीपक श्रेष्ठले जानकारी दिए ।

    यसैगरी, गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवालले नगरपालिकाले खेलकुद पूर्वाधारका लागि काम गरिरहेको जानकारी गराउँदै युवा र खेलकुदको क्षेत्रमा काम गर्न आफूहरू सधैँ तयार रहेको प्रतिबद्धता जनाए ।

    १७ वटा टिमको समूह विभाजन

    समूह ‘ए’मा इन्द्रेणी स्कुल, टीका भैरव बोर्डिङ स्कुल, एभरेस्ट स्कुल, सूर्य शिक्षा सदन स्कुल । समूह ‘बी’मा नेवा स्कुल, वशिष्ठ स्कुल, श्री बुद्ध स्कुल टिकाभैरव, सरस्वती स्कुल र सांग्रीला स्कुल । समूह ‘सी’मा बज्र एकेडेमी, रिदभान स्कुल, अमरकान्ती स्कुल र बाल अंकुर स्कुल । समूह ‘डी’मा लिटिल स्टार स्कुल, भीमसेन स्कुल, गंगाजमुना स्कुल र बुद्ध स्कुल बाँडेगाउँ छन् ।

    प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही पाँच हजार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको उद्घाटनका बेला उत्कृष्ट मार्चपास गर्ने टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद पाँचहजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक श्रेष्ठले बताए । प्रतियोगिताका सबै खेल विनायक स्पोर्टस कम्प्लेक्स ढोलाहिटीमा हुनेछन् ।

  • पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित

    काठमाडौँ, मंगलबार, २१ माघ २०८१ । बंगलादेशको ढाकामा भएको छैटौँ अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली नगदसहित सम्मानित भएका छन् । माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका पाँच खेलाडीले एक स्वर्ण, एक रजत र चार कांस्य पदक जितेका थिए ।

    अस्मिता भुजेलले एक हजार ५०० मिटर दौडमा स्वर्ण तथा आठ सय मिटर दौड र चार गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेकी थिइन् । अस्मिताले २० हजार रुपैयाँ पाइन् ।

    सैलेश श्रेष्ठले ११० मिटर हर्डल्समा रजत र ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेका थिए । उनले १५ हजार रुपैयाँ हात पारे ।

    लङजम्प र ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेकी निशा घर्तीलाई १० हजार नगद प्रदान गरियो । पुकारजंग बस्नेतले एक हजार ५ सय मिटर दौड र सन्तबहादुर दराईंले ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जिते । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।

    टिम व्यवस्थापक सुन्दरकेशर कार्कीलाई पनि पाँच हजार नगदसहित पुरस्कृत गरिएको छ ।

    उनीहरूलाई संघीय सांसद कल्पना चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य सुवर्ण श्रेष्ठ, जनकसिंह धामी, हिमालकुमार श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशका पूर्वसदस्य–सचिव सूर्यलाल भण्डारी, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायतले प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे ।

    एथलेटिक्स परिवार नेपाल र नेपाल एथलेटिक्स संघका केही पदाधिकारी मिलेर खेलाडीलाई सम्मान गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

  • सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल

    लुम्बिनी, मंगलबार, २१ माघ २०८१ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताउनुभएको छ ।

    ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने उहाँले बताउनुभयो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको आज भवन शिलान्यास गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्येष्ठ नागरिकको सम्मानका लागि सचेत रहेको बताउनुभयो । उहाँले यसको उदाहरण २०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुआत गरेको स्मरण गराउनुभयो ।

    तत्कालीन अवस्थामा रु १०० बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा रु चार हजार पु¥याउने अवसर पाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले यसको श्रेय भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताउनुभयो । “बजेट निर्माणका बेलामा प्रधानमन्त्रीले मलाई बोलाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउनु भनेर निर्देशन दिनुभयो, मैले उहाँको निर्देशनबमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “यसका लागि पनि ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई सम्झिनुपर्छ ।”

    ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात् गरेको बताउनुभयो । “सरकारले ज्येष्ठ नागरिकप्रति गरेको काम पर्याप्त छैन, अझै धेरै गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “यसका लागि सरकार जिम्मेवारीका साथ अगाडि बढेको छ ।”रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकका इच्छा र आकाङ्क्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले अब बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो ।

    कार्यक्रममा सांसद वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

    रुपन्देहीको तिलोत्तमा–४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्ने गरी ५०० ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित पाँचतले अत्याधुनिक भवन निर्माण गर्न लागिएको केन्द्रका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिनुभयो । त्यस अवसरमा ज्येष्ठ नागरिकद्वय रोमनाथ कँडेल र नर्मदा अर्यालले केन्द्रको वातावरणमा आफूहरु रोगमुक्त भएको र खुसीसाथ जीवन बिताउन पाएको अनुभव सुनाउनुभएको थियो ।

  • भोली (मंगलबार) गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    पोखरा, मंगलबार, २१ माघ २०८१ । गण्डकी प्रदेश सरकारले भोली (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशद्धारा जारी सूचनामा उल्लेख छ । मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने सूचनामा छ ।

  • वसन्त श्रवण, सरस्वती पूजा मनाइँदै

    काठमाडौँ, सोमबार, २१ माघ २०८१ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।

    यस अवसरमा आज बिहान ०७ः५५ बजे वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।

    वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

    वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए ।

    देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।

    चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

    विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

    सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।

    यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

    आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

    काठमाडौं उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

    सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

  • कांग्रेसको १५औं महाधिवेशन २०८४ को चुनावअघि : महामन्त्री गगन थापा

    काठमाडौँ, शनिबार, १९ माघ २०८१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन २०८४ को चुनावअघि नै हुने दाबी गरेका छन् । संस्थापन पक्षकै केही नेताहरुले महाधिवेशन आगामी निर्वाचनपछि गर्ने बताउँदै आएका बेलामा महामन्त्री थापाले महाधिवेशनको मितिबारे कुनै कन्फ्युजन नभएको बताए ।

    कांग्रेसको काठमाडौं महानगरपालिका– ७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान नमिल्ने बताए ।

    उनले भने, ‘२०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिराख्नुभएको छ । त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन । महाधिवेशन सार्न संविधानले पनि दिँदैन, चुनावअघि नै महाधिवेशन हुन्छ ।’

    निर्धारित मितिअनुसार कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र गरिसक्नुपर्नेछ, तर पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु निर्धारित समयमा महाधिवेशन गर्ने पक्षमा नरहेको इतर पक्षले आरोप लगाउँदै आएको छ ।

    इतर पक्षका नेता डा. शेखर कोइराला महाधिवेशन चाँडै गर्न पार्टी नेतृत्वलाई दबाब बढाउन देश दौडाहामा छन् ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सोह्र घण्टा खुल्ने

    काठमाडौँ, शनिबार, १९ माघ २०८१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिबार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ । पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ ।”

    विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने उहाँले जानकारी दिनुभयो । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम यसअघि चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

    प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ । सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुँदै छ ।

    हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ ।

    सन् २०२४ को ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ४४ लाख ४५ हजार २३९ र घरेलुतर्फ ३७ लाख २७ हजार ६५१ यात्रुले हवाईसेवा लिएका छन् । उक्त अवधिमा अन्तर्राष्ट्रियतर्फ ३० हजार ६३० र घरेलुतर्फ ८४ हजार ९७१ जहाज उडान–अवतरण भएका छन् ।

  • ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युतमा लगानी जुट्यो

    काठमाडौँ, शुक्रबार, १८ माघ २०८१ । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. ले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा २०८१ माघ १८ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    लगानी सम्झौता एम. ए. पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि बिकास बैक लिमिटेड लगायतका बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

    स्वपुँजी लगानी तर्फ श्री अनुप आचार्य, श्री हरिबाबु न्यौपाने र श्री दिपक बरालको हुनेछ । साथै, डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक ड्यू डिलिजेन्स स्ट्डी अगाडि बढाएको कम्पनीका अध्यक्षले बताएका छन् । यही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

    आयोजनाको नेपाल बिद्युत प्राधिकरणसंग २०८० साल कार्तिक ०१ ग्तै बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल बैशाख २२ सम्म रहेको छ ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताएका छन् ।

    आयोजनाबाट उत्पादित विद्युत्देखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०÷१३२ केभी मा जोडिने छ ।

  • सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन

    काठमाडौँ, शुक्रबार, १८ माघ २०८१ । आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडन डेथमा हराउँदै सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको फाइनलमा सङ्कटाले बागमतीलाई सडन डेथमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

    त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा सङ्कटाले सडन डेथमा बाजी मारेको हो । टाइब्रेकरमा बागमतीका गोलरक्षक दीप कार्की नायक बन्दा बागमती भाग्यमानी बन्यो ।

    टाइब्रेकरमा सङ्कटाका लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की , सुनिल खड्काको प्रहार सफल भएको थियो । राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोलरक्षक विकेश कुथुले बचाउनुभयो ।

    यता बागमतीका नवीन लामा, फोडे फोफाना, सेनेगलाइज एलेक्सले गोल गर्दा कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीपले विफल पार्नुभएको थियो । रजत तिवारीको प्रहार पोस्टमाथि हुईकिएपछि बागमती स्तब्ध बन्यो ।

    उपाधिसँगै सङ्बटाले २६ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता बागमतीले १३ लाख रुपियाँमा चित्त बुझायो । सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । यस्तै प्रतियोगितामा विजेता सङ्कटाका कप्तान एवं गोलरक्षक दीप कार्की सर्वोत्कृष्ट खेलाडी हुनुभयो ।

    उहाँले ७५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । सर्वाधिक गोलकर्ताको पुरस्कार सङ्कटाका अबेकाह रिचार्ड, न्युरोड टिम (एनआरटी) का अन्जन बिष्ट र कृतिशरत्न छुन्जुले पाउनुभयो ।

    दुई गोल गर्न सफल तीनै जनाले जनही ५० हजार रुपियाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजक बागमतीका विकेश कुथु चुनिनुभयो । उहाँले पनि ५० हजार रुपियाँ हात पार्नुभयो । बागमतीका सन्दीप कार्की उदयीमान खेलाडी बन्दै २५ हजार रुपियाँ हात पार्नुभयो ।

    नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित आठ टिमले भाग लिएका थिए ।

    विजेतालाई नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गर्नुभयो ।