Blog

  • मुस्लिम समुदायका अधिकारलाई प्राथमिकता

    रूपन्देही, बिहीबार, २५ पौष २०८१ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरणलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताएका छन् ।

    मुख्यमन्त्री आचार्यले बिहीबार दाङको लमहीमा मुस्लिम आयोगद्वारा आयोजित मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध विषयमा सशक्तिकरण तथा क्षमता विकाससम्बन्धी कार्यक्रम उद्घाटन गर्दै प्रदेश सरकारले समुदायलाई सशक्तिकरण र जागरणका लागि आवश्यक सहयोग गर्ने बताए ।

    ‘मुस्लिम समुदायका बालबालिका अझै पनि शिक्षाबाट टाढा छन्। प्रदेश सरकारले उच्च शिक्षामा किशोरीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ, तर यसलाई लिने किशोरीहरूको संख्या निकै कम छ’, मुख्यमन्त्री आचार्यले भने । ‘समुदायका अगुवाहरूले समाज परिवर्तन र जागरणमा अग्रसर हुन जरुरी छ ।’

    मुख्यमन्त्री आचार्यले प्रदेश सरकारद्वारा मुस्लिम समुदायको निजामती क्षेत्रमा ७ प्रतिशत समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए। साथै, मदरसा शिक्षालाई सुधार गर्न सरकारबाट सहकार्य भइरहेको बताउँदै यस शिक्षालाई समयानुकूल बनाउनुपर्नेमा जोड दिए ।

    प्रदेशका तराई क्षेत्रहरूमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणजस्ता समस्या गम्भीर रहेको उल्लेख गर्दै उनले सामाजिक मूल्य र मान्यतामा परिवर्तन ल्याउन आवश्यक रहेको धारणा राखे ।

    ‘मुस्लिम समुदायमा २० वर्ष नपुग्दै छोरीहरूको विवाह गर्ने चलन छ, जसले मातृ मृत्युदर, बाल मृत्युदर र कुपोषण बढाएको छ। यसलाई रोक्न प्रदेश सरकारले पोषण कार्यक्रमलाई प्राथमिकता दिएको छ’, उनले भने ।

    महिला–पुरुषबीचको विभेद अन्त्य गर्न र सामाजिक जिम्मेवारीमा महिलाको सहभागिता बढाउन समुदायका अगुवाहरूले विशेष ध्यान दिनुपर्ने पनि मुख्यमन्त्री आचार्यले उल्लेख गरे ।

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले तीन तहका सरकारले मुस्लिम समुदायको सहभागिता र सशक्तिकरणका लागि विशेष कार्यक्रम प्याकेज निर्माण गरी कार्यान्वयन गर्नुपर्ने धारणा राखे । साथै, शिक्षा, स्वास्थ्य, र रोजगारी सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

    कार्यक्रममा समुदायको समृद्धि र सशक्तिकरणका लागि सरकार र समुदाय मिलेर अघि बढ्नुपर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।

  • गुप्सीपाखा पर्यटकीय केन्द्रका रूपमा परिचित : अध्यक्ष गुरुङ

    गोरखा, सोमबार, २२ पौष २०८१ । गुप्सीपाखा पर्यटकीय केन्द्रका रूपमा परिचित हुन थालेको छ । यहाँ विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरेर होमस्टे र स–साना होटल खुल्दै बन्द हुँदै गर्ने गरेको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनु भयो । साथै, उहाँले नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा निर्माण गरिएको छ । सबै घरमा २ तले ४ कोठे छन् । दुई कोठे घर र शौचालयहरू पनि निर्माण भइनसक्दा परिवारको बसोबास गर्ने तौरतरिका र मौलिकताको तालमेल नमिल्दा लाप्राकी गुप्सीमा बसोबास नगरेकोबताउनुहुन्छ ।

    लाप्राकवस्ती मास्तिर गुप्सीपाखामा निर्माण गरिएको एकीकृत बस्तीमा भूकम्प प्रभावित लाप्राकीलाई राख्न ५ सय ७३ वटा एकै खालका घर निर्माण गरिएका छन् । गुप्सी २७ सय मिटर उचाइमा पर्छ । हिउँदमा अन्यत्र वर्षा हुँदा यहाँ भने हिमपात हुन्छ ।गणेश हिमालको सामुन्ने रहेकोले एकपटक बाक्लो हिउँ परेपछि पग्लिन करिब महिना दिन लाग्ने गरेको स्थानीय बताउँछन् ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकका भूकम्पपीडितका लागि निर्माण गरिदिएको एकीकृत नमुना बस्ती अझै खाली छ । घर र परिवारको संख्यामा तालमेल नमिल्दा निर्माण भएदेखि नै बस्तीमा नागरिक बस्न नपाएका हुन् ।

    २०७२ वैशाख १२ गते अपराह्न छिमेकी गाउॅ बारपाक केन्द्रविन्दू बनाएर आएको विनाशकारी भूकम्पले धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनायो । रमणीय बस्ती ध्वस्तमात्रै गरेन बस्ती मास्तिरको जमिन झनै भास्सिएपछि लाप्राकवासीलाई त्रासमा पार्‍यो । यसै पनि लाप्राक बस्ती मास्तिर ३ दशकअघिको पहिरोले थिलोथिलो बनाएको छ ।

  • स्टार्टअप कर्जा : १ हजार ३१४ परियोजना प्रारम्भिक सूचीमा छनोट

    काठमाडौँ, आइतबार, २१ पौष २०८१ । स्टार्टअप उद्यमका लागि नयाँ सोच र सिर्जनशील योजनाहरूलाई प्रोत्साहन गर्न सरकारले अघि सारेको स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत ५ हजार १८५ परियोजनामध्ये १ हजार ३१४ वटा मात्र प्रारम्भिक सूचीमा छनोट भएका छन्। ३ हजार ८७१ आयोजना भने प्रारम्भिक चरणमै अस्वीकृत भएका हुन् ।

    सरकारले चालू आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गर्दै स्टार्टअप उद्यमका लागि ३ प्रतिशत ब्याजदरमा विनाधितो कर्जा उपलब्ध गराउने योजना अघि सारेको हो। स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार, कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता भएको छ भने कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग पनि सहकार्य गरिएको छ ।

    २०८१ भदौ ११ मा प्रस्ताव आह्वान भएको यस कार्यक्रममा २०८१ भदौ ३१ सम्म भौतिक र अनलाइन माध्यमबाट ५ हजार १८५ प्रस्ताव प्राप्त भएको छ ।

    प्रारम्भिक सूचीमा १ हजार ३१४ परियोजना छनोट भएको छ। अन्तिम छनोट व्यवसायिक योजना प्रस्तुतीकरणपछि करिब ७०० परियोजना छनोट गरिने छ। व्यवसायिक योजना प्रस्तुतीकरणका लागि पुस २८ देखि चैत ११ सम्म समय तोकिएको छ ।

    कर्जाको वितरण प्रक्रिया
    व्यवसायिक योजना प्रस्तुतीकरणपछि बैंकमार्फत क्रेडिट अप्राइजल गरी ५० वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने परियोजनाहरूलाई प्राथमिकतामा राखिनेछ। सिफारिसमा परेका उद्यमीहरूले बैंक नियमानुसार तोकिएको समयमा साँवा र ब्याज रकम चुक्ता गर्नुपर्नेछ ।
    कर्जा सम्झौता भएपछि बैंकले ७ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउनेछ ।
    ५ लाखसम्मको कर्जा एक किस्तामा,१५ लाखसम्मको कर्जा दोस्रो किस्तामा,१५ लाखभन्दा माथिको कर्जा तेस्रो किस्तामा उपलब्ध गराउनेछ ।

    स्टार्टअप कर्जा प्राप्त गर्न मापदण्ड

    -उद्यम व्यवसाय दर्ता भएर १० वर्ष ननाघेको हुनुपर्छ ।
    -कुनै आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको हुनुपर्छ ।
    -योजना नवीन र सिर्जनशील सोचमा आधारित हुनुपर्छ ।
    -पहिलो किस्ता लिएको १ वर्षपछि साँवा र ब्याज भुक्तानी सुरु गर्नुपर्नेछ ।

    गत वर्षको उपलब्धि

    अघिल्लो आर्थिक वर्षमा सरकारले १६५ परियोजनालाई २५ करोड रुपैयाँ स्टार्टअप कर्जा प्रदान गरेको थियो ।

    सरकारले युवा उद्यमीलाई प्रोत्साहित गर्दै देशको आर्थिक प्रणालीमा नवीन सोच र सिर्जनशील उद्यमहरूलाई जोड्ने उद्देश्यले यो कार्यक्रम अघि सारेको छ। अन्तिम सूचीबाट छनोट भएका परियोजनाहरूलाई चैत दोस्रो साताबाट कर्जा वितरण सुरु हुनेछ ।

    यो योजनाले आर्थिक वृद्धि, रोजगारी सिर्जना, र उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

  • हुलाक सेवाको पुनःसंरचनामा सचिव अर्यालको जोड

    काठमाडौँ, आइतबार, २१ पौष २०८१ । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दो माध्यम हुलाक सेवा भएको बताउनुभएको छ ।

    उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले तीन वटै तहका सरकारबीच समन्वय गरी हुलाक सेवा पुनःसंरचना गरी अझ प्रभावकारी बनाउन  आवश्यक भएको बताउनुभयो । सचिव अर्यालले भन्नुभयो, “हुलाक सेवा अत्यावश्यक हो, विपद्मा पनि यो सेवालाई रोक्न मिल्दैन, यो राज्यको दायित्व हो ।”

    हुलाक सेवा विभागद्वारा ‘सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवाको सन्दर्भिकता छ वा छैन रु’ शीर्षकमा भएको प्रतियोगितामा २६ विद्यालयका २९ जना छात्रछात्रा सहभागी छन् ।

    सचिव अर्यालले प्रविधिमा आश्रित आजको युगमा हुलाकले नयाँ पुस्ताको माग र चाहनालाई कसरी सम्बोधन गर्न सक्ला भन्ने छात्रछात्राबाट पक्ष र विपक्षमा प्रस्तुत विचारले आफू प्रभावित भएको बताउनुभयो ।

    हुलाका सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले विद्यालयमा आयोजना हुने यसप्रकारका प्रतियोगिताले विद्यार्थीले क्षमता प्रस्फुटन गराउनमा सहयोगी हुने धारणा राख्नुभयो । विभागका निर्देशक ध्रुवराज आचार्य र निर्णायक मण्डलका सदस्य मातृका कार्कीले परेवाका माध्यमबाट सूचना आदानप्रदान गर्ने इतिहास रहेकामा हुलाक सेवाको स्थापनाले आधुनिक युगमा सूचनाको पहुँचलाई सहज तुल्याएको घटना बताउनुभयो ।

    हुलाक सेवा विभागका निर्देशक तथा निर्णायक मण्डलका अध्यक्ष विशाल सापकोटाले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेका विश्वका कतिपय मुलुकले हुलाक सेवाको महत्वका आधारमा सेवालाई परिस्कृत र सर्वव्यापी बनाउँदै लगेको धारणा व्यक्त गर्नुभयो ।

    उहाँले नेपालको निजामती सेवामा सामुदायिक विद्यालयका उत्पादनकै बाहुल्यता रहेको सन्दर्भमा यसको महत्व उजागर गर्न उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयका छात्रछात्राबीच प्रतियोगिता गरिएको बताउनुभयो । नेपाल फिलाटेलिक सङ्घका कार्यवाहक अध्यक्ष चन्द्रमणि श्रेष्ठले सूचना प्राप्तिको उच्चतम प्रविधिको अभ्यास भइरहेको वर्तमान विश्वमा हुलाक सेवाको महत्व उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो ।

  • मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म छैन : राष्ट्रपति

    काठमाडौँ, आइतबार, १२ पौष २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म नभएको बताउनुभएको छ। मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताउनुभयो।

    मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उहाँले स्पष्ट पार्नुभयो।

    राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापना कालदेखि नै “जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने” मानवता प्रवर्ध्दन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताउनुभयो।

    आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत नेपाल सरकारले लिएको सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइने नीतिलाई मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आफ्ना गतिविधि केन्द्रित गरेर कार्यान्वयनमा सहयोगी बनेको राष्ट्रपति पौडेलको भनाइ थियो।

  • काठमाडौंमा स्थानीय उत्पादनको बजार खोज्दै पालिकाका जनप्रतिनिधि

    काठमाडौंमा स्थानीय उत्पादनको बजार खोज्दै पालिकाका जनप्रतिनिधि

    काठमाडौ। शनिबार, २० पौष २०८१ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा विभिन्न पालिकामा उत्पादित स्थानीय खाद्यान्न, फलफूल लगायतका वस्तु प्रदर्शनी गरिएको छ ।

    स्थानीय उत्पादन अलैँची, टिमुर, मह, घ्यू, आलु, किवी, चिया, अचार र कपडालगायत सामग्री उक्त प्रदर्शनीमा राखिएको थियो । ठाउँ विशेषको उत्पादन सामग्री गर्ने किन्नेहरूको प्रदर्शनीस्थलमा भिड देखिन्थ्यो ।

    महिला सशक्तीकरण र नेतृत्वलाई प्रेरित गर्दै नेपाली महिला जनप्रतिनिधिहरूको उल्लेखनीय योगदानलाई सम्मान गर्न शी लिड्स आइकनले प्रदर्शनी र अवार्डको आयोजना गरेको हो ।

    अवार्ड कार्यक्रममा स्थानीय तहमा उत्पादित सामग्रीहरूको प्रदर्शनी, सूचना केन्द्र र स्टल राखिएको थियो । प्रदर्शनीका लागि १४० स्थानीय तहले आवेदन दिएका थिए । कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ जना महिला जनप्रतिनिधि सँगै प्रत्येक स्थानीय तहले आफ्नो उत्पादनको प्रवर्द्धनका लागि स्टल राखेका थिए ।

    कल्प इम्पावर वेमेन नेपालले कार्यक्रम आयोजना गरेको हो । अध्यक्ष पूजा कोइरालाले महिला सशक्तीकरणको नयाँ दिशामा कार्यक्रम आयोजन गरिएको बताइन् । महिला जनप्रतिनिधिले गरेका राम्रो कामको प्रचार गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको उनको भनाइ थियो ।

    भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार’ भन्ने नाराको साथ सुन्तला, किवी, अलैँचीको मसला, फापरको पिठो, मह, लेकाली राजमा, सिमी, चौरीको घ्यू र छुर्पी राखेको थियो ।

    गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले भने, ‘स्थानीय उत्पादनलाई जोड दिँदै बजारको समस्या समाधान गर्न टेम्केमैयुङ गाउँपालिले स्टल राखेको हो । स्थानीय कृषकले उत्पादन गरेको वस्तुका लागि स्थानीय सरकारले नै बजार खोज्छ भनेर नै यो प्रदर्शनीमा सहभागी भएको हो । कृषकलाई नै प्रोत्साहन होस् भनेर कृषकले गरेको उत्पादन नै प्रदर्शनीमा राखिएको हो । आयातितभन्दा स्थानीय र अर्ग्यानिक उत्पादनलाई नै जोड दिएको पायौं । २२ सयदेखि २४ सय मिटरको उत्पादन हामीले राखेका छौं ।

    उनले टेम्केमैयुङ प्रकृति र पर्यटकीय हिसाबले पनि सुन्दर रहेको भन्दै टेम्के डाँडो, सेल्मे डाँडा, चखेवा, मैयुङ डाँडा, मुन्धुम ट्रेलको पनि वर्णन गरे ।

    त्यस्तै, कर्णाली प्रदेशको सल्यान जिल्लाको कालिमाटी गाउँपालिका पनि सो प्रदर्शनीमा सहभागी भएको छ । यो पालिकाले राखेको स्टलमा पनि स्थानीय उत्पादन मह, अदुवा र टिमुर राखिएको छ ।

    गाउँपालिकाकी कर्मचारी हरिमाया सापकोटाले आफ्नो पालिकाले उत्पादन गरेको वस्तु प्रदर्शनीमा राखिएको बताइन् ।

    सापकोटाले भनिन्, ‘कालिमाटी गाउँपालिका अदुवा, मह र टिमुरलगायतको वस्तु उत्पादन हुने र ती वस्तुहरू नै प्रदर्शनीमा राखिएको छ । पर्यटकीय, धार्मिक र सांस्कृतिक पनि सो पालिकामा रहेको छ । यहाँ गंगा गाला भगवती मन्दिर, बबई नदी, मौलिक घरहरु, कछुवा दहलगायत मनमोहन ठाउँ छन् ।’

    कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी ओलीले महिलाहरूमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरूको भूमिका हरेक क्षेत्रमा उत्कृष्ठता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे ।

    सो अवसरमा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।

  • बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापालाई उत्कृष्ट महिला जनप्रतिनिधि अवार्ड

    गुल्मी । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी शी लिड्स आइकन अवार्डबाट सम्मानित हुनुभएको छ । देशभरका महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान सहित प्रदान गरिएको ‘शी लिड्स आइकन’ अवार्ड थापाले प्राप्त गर्नुभएको हो ।

    स्थानीय तहबाट प्राप्त एक सय ४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट छनोट गरी उत्कृष्ट तीनलाई ‘आइकन’ घोषणा गरिएको हो । बडिगाड गाउँपालिका अध्यक्ष थापा सहित गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा र सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी पनि उक्त अवार्डबाट सम्मानित हुनुभएको हो ।

    कार्यक्रममा ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउएको भन्दै सम्मान गरिएको हो । शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

  • शी लिड्स आइकन : पालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधि

    काठमाडौँ, शुक्रबार, १९ पौष २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

    कल्प संस्थाद्वारा शुक्रबार आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताउनुभयो ।

    हिजो छोरीहरुको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उहाँको भनाइ थियो ।

    “व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परि।वर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो । ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ । हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ । प्राप्त उपलब्धिहरु पर्याप्त नभएका हुन सक्छन् । आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन् । यो उपस्थिति प्रगतिउन्मुख छ । यसलाई बढाएर लानुपर्छ ।”

    प्रधानमन्त्री ओलीले महिलाहरुमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।

  • अधिकारी, धामी र थापा शी लिड्स आइकन घोषित

    अधिकारी, धामी र थापा शी लिड्स आइकन घोषित

    काठमाडौँ, शुक्रबार, १९ पौष २०८१ । देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगीताबाट उत्कृष्ट ३ जना छानिएका छन् । उत्कृष्ट ३ मा रहेर आइकन घोषित हुनेहरुमा गौमुल गाउँपालिका बाजुराकी उपाध्यक्ष सीता थापा, सिगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारी छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरेका छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका थिए । ती मध्ये तीन जना उत्कृष्ट बनेका हुन् ।

    आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

    सम्मान एवं प्रशंसापत्र प्रदान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताए । प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए । हिजो छोरीहरुको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो ।

    ‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परि।वर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो । ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ । हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ । प्राप्त उपलब्धिहरु पर्याप्त नभएका हुन सक्छन् । आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन् । यो उपस्थिति प्रगतिउन्मुख छ । यसलाई बढाएर लानुपर्छ ।’

    प्रधानमन्त्री ओलीले महिलाहरुमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्ठता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे । कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।

  • ललितपुर महानगरपालिका १५ नं वडा कार्यालयको आयोजनामा चेतनामूलक सरसफाई कार्यक्रम हुने

    ललितपुर, शुक्रबार, १९ पौष २०८१ । ललितपुर महानगरपालिका १५ नं वडा कार्यालयको आयोजनामा चेतनामूलक सरसफाई कार्यक्रम हुने भएको छ ।

    पौष २० गते (भोली ) शनिबार बिहान ७ बजे भेल्पा मन्दिरमा भेला भएर सामुहिक रुपमा सरसफाई सुरु गरिने वडा अध्यक्ष सुरेश बहादुर शाहीले जानकारी दिनुभयो । साथै, उहाँले स्थानीयबासी, टोल विकास समिति, नेपाल स्काउट, स्वास्थ्य स्वयंमसेविका, विभिन्न संघ संस्था लगायत सम्पूर्ण महानुभावहरुलाई चेतनामूलक सरसफाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

    स्वच्छ सफा मेरो धर्ती, मेरो दायित्व मेरो जिम्मेवारी भन्ने मूल नाराका साथ आयोजना गरिएको चेतनामूलक सरसफाई कार्यक्रममा भेल्पा प्रगति नगर टोल बिकास संस्था, कल्प बृक्ष महिला समुह, प्रगति नगर हासीखुशी महिला समुह, भेल्पा महिला समूहको सह आयोजनामा हुने उक्त सरसफाई अभियानमा सिर्जनसिप सेवा प्रा लि, सिर्जनशील वातावरण संरक्षण केन्द्र, नेपाल फुलबारी सेवा प्रा लि को सहाकार्य रहेको छ ।

    सरसफाई मानवीय जीवनशैलीको अभिन्न अङ्ग हो । जन्मेदेखि मृत्युपर्यन्त सरसफाई जरुरी रहने भएकाले सरसफाई सुविधा तथा सामग्रीहरुको मागमा कहिल्यै कमी हुँदैन । सरसफाई वैयक्तिक, पारिवारिक र सामाजिक मान, प्रतिष्ठा र इज्जतको विषय हो । यो हाम्रो सभ्यता, संस्कृति र पहिचान मात्र नभएर निरोगी तथा स्वस्थ जीवन यापनको लागि एक प्रमुख र बलियो अस्त्र पनि हो । विज्ञहरु भन्छन् : ‘सरसफाईमा गरेको १ रुपैयाँ लगानीले ८ रुपैयाँ बराबरको प्रतिफल दिन्छ ।’

    भेल्पा प्रगति नगर टोल बिकास संस्था, कल्प बृक्ष महिला समुह, प्रगति नगर हासीखुशी महिला समुह, भेल्पा महिला समूहको सह आयोजनामा हुने उक्त सरसफाई अभियानमा सिर्जनसिप सेवा प्रा लि, सिर्जनशील वातावरण संरक्षण केन्द्र, नेपाल फुलबारी सेवा प्रा लि को सहाकार्य रहेको छ ।