Blog

  • सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक : प्रधानमन्त्री

    काठमाडौँ, सोमबार, १ वैशाख २०८२ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनुुभएको छ ।

    नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

    “नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गछौँ । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो ।’’

    प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’’

    प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

    मुलुकमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेका, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताउनुभएको छ ।

    सन्देशमा प्रधानमन्त्रीले भन्नुुभएको छ, “मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ ।’’

  • शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान

    काठमाडौँ, मंगलबार, २६ चैत्र २०८१ । सरकारले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान गरेको छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई भोलि फेरि वार्ताको लागि बोलाएको हो ।

    विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले केही दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

    यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो ।

    तर, शिक्षकहरू वार्तामा नगएपछि मन्त्रालयमा भोलि वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक-कर्मचारीको प्रतिनिधित्व हुने गरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः बोलाएको मन्त्रालयले जनाएको छ ।

  • नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका खारेज

    काठमाडौँ, मंगलबार, २६ चैत्र २०८१ । सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ ।

    आज मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

    मन्त्रिपरिषद्का निर्णय सुनाउदै प्रवक्ता गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

    त्यस्तै, बैठकले नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

    त्यस्तै, बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहनकुमार तामाङलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले बताए ।

    प्रवक्ता गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले गृहकार्य गरिरहेको भन्दै चाँडै नियुक्त हुने बताए ।

    नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न गृहकार्य समेत भइरहेको अवस्थामा गभर्नर नियुक्तिको ढिलाइले कुनै असर नपर्ने उनले बताए ।

  • शिक्षक आन्दोलनमा गोरखाका ११ वटै पालिकाको ऐक्यबद्धता

    गोरखा, मंगलबार, २६ चैत्र २०८१ । गोरखाका ११ वटा पालिकाहरूले काठमाडौंमा जारी शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । गोरखाका दुई नगरपालिका र नौवटा गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरूले संयुक्त वक्तव्य जारी गरेर शिक्षक आन्दोलनलाई समर्थन गरेका हुन् ।

    यसरी वक्तव्य जारी गर्नेमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर छन् ।

    वक्तव्यमा भनिएको छ, “लामो समयदेखि संघीय संसद् प्रतिनिधिसभामा प्रक्रियामा रहेर जारी गर्नका लागि विलम्ब भइरहेको शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको अनिश्चितकालीन शिक्षा आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दछौँ ।”

    संसदमा दर्ता भएको शिक्षा विधेयकलाई नजर अन्दाज गरी अकस्मात् संसद् अधिवेशन अन्त्य गरिनुले राज्यले शिक्षा क्षेत्रलाई नै अवमूल्यन र अवहेलना गरेको प्रतित भइरहेको पालिका प्रमुखहरूको ठहर छ । संविधान जारी भएको एक दशक पूरा हुँदा पनि संविधान कार्यान्वयनका लागि विद्यालय शिक्षा ऐन जारी हुन नसक्नु अत्यन्तै लाजमर्दो र दुःखद् भएको उनीहरूले बताएका छन् ।

    “विद्यालय शिक्षासम्बन्धी संवैधानिक प्रावधान र सरकारले गरेका सम्झौता एवं प्रतिबद्धता कार्यन्वयन गर्दै समयानुकूल र बालबालिकाको हित अनुकूल हुने गरेर विद्यालय शिक्षा ऐन जारी गर्नुहुन र राजधानीको सडकमा आफ्ना माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण निर्माण गर्नुहुन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौ,” विज्ञप्तिमा उल्लेख छ ।

  • गोरखा-जितगढी एकीकरण मार्गमा सेनाको पदयात्रा

    पाल्पा, सोमबार, २५ चैत्र २०८१ । गोरखा नेपाल एकीकरणको सुरुवाती जिल्ला हो भने बुटवल जितगढी अंग्रेज सेनालाई हराएको ऐतिहासिक युद्ध किल्ला हो । वि.सं १८७१ देखि १८७२ मा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बुटवल जितगढी क्षेत्रबाट अंग्रेज फौजलाई वैशाख ७ गते हराएर भगाएको दिन हो । अंग्रेज सेनालाई हराएको दिन वैशाख ७ गते विजय उत्सव मनाउन नेपाली सेना गोरखादेखि ३०५ किलोमिटर पैदलयात्रा गर्दै बुटवल जितगढी किल्ला पुग्ने गर्छन् ।

    ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा गर्न थालेको हो । विगत ३ वर्षदेखि यो क्रम रोकिएको छैन । सेनाले ‘पहिलोपटक २०७९ चैत्र २९ गते गोरखा-जितगढी’ पदयात्रा गरेको थियो ।

    यसवर्ष चैत २८ गतेदेखि सेनाले तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गर्दै छ । ऐतिहासिक कोट, गढी, किल्लाजरू को संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ एकीकरण पदयात्रा सुरु गर्न लागिएका ‘दि फेमस महिन्द्र दल गण’ पाल्पाले जनाएको छ । एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जर्गेना गर्न, नेपाल अंग्रेज युद्धमा हासिल गरेको विजय गाथाको इतिहासलाई संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्न, सबै नेपालीहरूमा राष्ट्रिय एकताको भावना विकास गर्न, सम्पदा पर्यटन प्रवद्र्धन गर्न, सेना र जनताबीचको सम्बन्धलाई बलियो बनाउन गोरखा जितगढी पदयात्रा अभियान गर्न लागिएको पदयात्रा कमाण्डर सहसेनानी रमेश अधिकारीले बताउनुभयो ।

    यो पदयात्रा नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा-तनहुँ-स्याङजा-पाल्पा हुँदै रूपन्देहीको जितगढीसम्म पुग्नेछ । पदयात्रामा निस्किने टोली वैशाख २ गते पाल्पाको रामपुर आइपुग्ने छ । उक्त टोलीको प्रतिनिधिमण्डल र पाल्पास्थित दि फेमस महिन्द्र दल गणले सोही दिनदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने जनाइएको छ । रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम तय भएको तानसेनमा आयोजित समन्वयात्मक बैंठकमा गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । पाल्पाको टोलीले रुपन्देहीलाई हस्तान्त्रण गरेपछि जितगढी पुगेर समापन हुनेछ ।

    उहाँले नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढी, किल्ला र पदमार्गको पहिचान गरी त्यसको प्रवद्र्धन गर्न पदयात्रा सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने यो अवसर पनि हो,’ गणपति गुुरुङले भन्नुभयो, ‘राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउनेछ ।’ पर्यटन सम्भावनालाई खोजी गर्दै पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्यसँग जोड्न पदयात्रा गर्न लागिएको उहाँले बताउनुभयो ।

    यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ र जितगढीको लडाइँमा भाग लिएका गुरुबक्स पल्टनका ५३ जनाको टोली सहभागी हुनेछन् । गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतीकस्वरूप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पदयात्राका संयोजक सेनानी जितबहादुर कार्कीले जानकारी दिनुभयो ।

    टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोटगढी तथा गीतगढी किल्लाको भ्रमण गर्ने योजना बनाएको छ । तत्कालीन समयमा राज्य एकीकरणको क्रममा प्रयोग भएका सम्पदाहरू गण, किल्ला, मार्गदेखि नेपाल-अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्तामाझ पुनर्ताजगी गराउन पदयात्राले सहयोग पुग्ने अपेक्षा जिल्लाका सरोकारवालले गरेका छन् । समन्वयात्मक बैठकमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी, स्थानीय तहका प्रमुख, प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पत्रकारहरूको सहभागिता रहेको थियो ।

    पदयात्रा गोरखाबाट सुरु भई रूपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रूपमा सहभागी भई टुंगिनेछ । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै वैशाख ७ गते ऐतिहासिकस्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ । जितगढी किल्लालाई केन्द्रविन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झण्डै तीन महिना अंग्रेजसँग लडेको र दुईपटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजयोत्सवका रूपमा लिने गरिएको छ ।

  • वरिष्ठ पत्रकार भैरव रिसालको निधन

    काठमाडौँ, सोमबार, २५ चैत्र २०८१ । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन आज साँझ पौने ८ बजेतिर भएको हो ।

    पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

    पत्रकार रिसालले आफ्नो शरीर पाटन अस्पताललाई दान दिने घोषणा गर्नुभएकाले उहाँको दाहसंस्कार नगरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले बताउनुभयो । वि.सं. १९८५ साउन २८ गते जन्मनुभएका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो । पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा जनगणना काममा सहभागी हुनुभएको थियो ।

  • गोरखाका ११ स्थानीय तहलाई ४ अर्ब ५८ करोड ३७ लाख बजेट

    गोरखा, आइतबार, २४ चैत्र २०८१ । आगामी आर्थिक वर्ष संघीय सरकारबाट स्थानीय तहमा १ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ पाउने भएका छन । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा स्थानीय तहमा जाने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानित अनुसार यस्तो अवस्था देखिएको हो ।

    मन्त्रालयले संविधानले तोकेको व्यवस्था एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सूत्रमा आधारित भई ७५३ वटा स्थानीय तहमा राजश्व बाँडफाँट ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ जाने अनुमान प्रस्तुत गरेको छ । त्यस्तै, वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान समेत गरी ८८ अर्ब ९६ करोड ८० लाख हस्तान्तरण हुने अनुमान गरिएको छ ।

    राजश्व बाँडफाँडबाट यो वर्ष गोरखाको ११ स्थानीय तहले १ अर्ब ६ करोड ४५ लाख रुपैयाँ पाउने भएका छन् । राजश्व बाँडफाँडमा सबैभन्दा धेरै चुमनुब्री गाउँपालिकाले र सबैभन्दा कम भिमसेन थापा गाउँपालिकाले पाउने भएको छ ।

    चुमनुब्रीले ११ करोड ९९ लाख पाउदा भिमसेन थापाले ७ करोड ९५ लाख रुपैयाँ पाउने भएको हो ।

    राजश्व बाँडफाँड अन्तरर्गत गोरखा नगरपालिकाले ११ करोड ६९ लाख, पालुङटार नगरपालिकाले १० करोड ७५ लाख, धार्चे गाउँपालिकाले १० करोड २६ लाख र बारपाक सुलिकोटले ९ करोड ८८ लाख र आरुघाट गाउँपालिकाले ९ करोड ३५ लाख पाउने भएको छ ।

    त्यस्तैगरी, शहिदलखन गाउँपालिकाले ९ करोड ३३ लाख, गण्डकीले ८ करोड ५० लाख, सिरानचोकले ८ करोड ४२ लाख र अजिरकोटले ८ करोड ३३ लाख रुपैयाँ पाउने भएको छ ।

    समानीकरण अनुदानमा १ अर्ब ४६ करोड ७१ लाख

    वित्तीय समानीकरणबापत स्थानीय तहमा ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ अनुदान वितरण रकममध्ये न्यूनतम अनुदानतर्फ ३० अर्ब ८३ करोड, सूत्रमा आधारित ५४ अर्ब ५७ करोड ८७ लाख रुपैयाँ, कार्यसम्पादनमा आधारित ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

    यो रकममध्ये गोरखा नगरपालिकाले सबैभन्दा बढी र चुमनुब्री गाउँपालिकाले सबैभन्दा कम रकम पाउने छन् । गोरखा नगरपालिकाले २० करोड ७९ लाख रुपैयाँ पाउदा चुमनुब्रीले ८ करोड ७३ लाख रुपैयाँ पाउने छ ।

    समानीकरण तर्फ पालुङटार नगरपालिकाले १६ करोड ७९ लाख रुपैयाँ, शहिदलखन गाउँपालिकाले १४ करोड १६ लाख, बारपाक सुलिकोटले १३ करोड ७८ लाख, गण्डकीले १२ करोड ९४ लाख र सिरानचोक गाउँपालिकाले १२ करोड ९१ लाख रुपैयाँ पाउने छन् ।

    त्यस्तैगरी, आरुघाटले १२ करोड ७८ लाख, भिमसेन थापाले १२ करोड ५० लाख, अजिरकोटले १० करोड ७३ लाख र धार्चे गाउँ पालिकाले १० करोड ६० लाख रुपैयाँ पाउने छन् ।

    सरकारले राजश्व बाँडफाँटबापत स्थानीय तहलाई आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तशुल्कबापत १५ प्रतिशत दिने व्यवस्था गरेको छ । सूत्र निर्धारण गर्न भूगोल र जनसङ्ख्यालाई आधार लिने गरिएको छ ।

    अहिले संघीय सरकारदेखि स्थानीय तहहरूसम्म नयाँ आर्थिक वर्षको बजेटको तयारी गर्दैछन् । नयाँ आर्थिक वर्षको बजेटमा लागि आफू अन्तर्गतका निकायलाई सिलिङ निर्धारण गर्ने गरिएकोमा सोही अनुसार स्थानीय तहमा भने अनुमानित विवरण सार्वजनिक गरिएको हो ।

  • माछाखोला, लप्सीबोट, यामगाउँ गुम्दा सडक स्तरोन्नतीको काम तिब्र

    गोरखा, आइतबार, २४ चैत्र २०८१ । माछाखोला–लप्सीबोट–यामगाउँ गुम्दा सडक स्तरोन्नतीको काम भइरहेको छ ।

    अहिले सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगिसकेको गण्डकी प्रदेश मातहको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । ‘सडक निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको छ,’ कार्यालयका प्रमुख गणेश सुवेदीले भने,‘अब धेरै काम बाँकी छैन् ।’

    अहिलेसम्म ६५० मिटर आरसिसि (ढलान) र १०.३७ किलोमिटर गरी झण्डै १७ किलो मिटर सडक स्तोन्नतीको काम हुने बताइएको छ । हाल सम्म ग्याबिन वाल, मेसिनरी वाल लगाउने काम अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । ‘अहिले काम सुरु गरेको पनि ४ वर्ष बित्यो, तीन पटक म्याद थप भइसक्यो,’ उनले भने, ‘सडक स्तोन्नतीको अन्तिम म्याद आउदो असार मसान्त सम्म छ, ठेकेदारले यसपाली समयमै काम सक्छु भनेको छ, धमाधम भयो भने त्यसैको रिजल्ट चाडै आउनेछ ।’

    उक्त सडकमा ७ मिटर चौडाइ र एक÷एक मिटर नाला निर्माण गरिएको छ । ठेकेदारले भौगोलिक अवस्थाका समस्याहरु देखाएर यसअघि काम गर्न ढिलाई गरेता पनि अहिले क्रमिक रुपमा काम भइरहेको उनले बताए । ‘गत वर्ष भण्डै ७ किलोमिटर सडक ग्राबेल गर्नै काम सम्पन्न भएको थियो,’ उनले भने, ‘अन्य क्षेत्रमा नाली बनाउने र ग्राबेल गर्ने काम भइरहेको छ ।’

    बाटोमा पहिरो गएपछि लामो समय सामान ढुवानीमा समस्या भएको थियो । अहिले पहिरो पन्छाएपछि सहज रुपमा निर्माण सामग्री ढुवानी भइरहेकाले काममा पनि राम्रो प्रगति भएको कार्यांलयले जनाएको छ ।

    ३२ करोड १० लाख ८७ हजार ६९२.१७ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी २०७७ भदौ १ गते अमर.पि. आर नाना जेभीसँग सम्झौता भएको थियो । ४ वर्षमा उक्त सडक सक्नु पर्ने भएपनि पटक म्याद थप हुँदा पनि काम सम्पन्न भने भइसकेको छैन । उक्त सडक निर्माणमा ढिलाई हुँदा सो क्षेत्रका सर्वसाधारणलाई आवात जावतमा समस्या भएको छ । बिरामी पर्दा, सामान ढुवानी गर्न र आवातजावत गर्न सास्ती झेल्नु परेको छ ।

  • नेपालको खाद्य ल्याबलाई भारतको मान्यता

    काठमाडौँ, आइतबार, २४ चैत्र २०८१ । अब नेपालबाट भारतमा हुने निर्यातजन्य खाद्यवस्तुको गुणस्तर प्रमाणीकरण नेपालमै हुने भएको छ । नेपालबाट भारतमा निर्यात हुने विभिन्न १० खाद्य समूहअन्तर्गत पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले पारस्परिक मान्यता (मिच्युअल रिक्गनाइज्ड) दिने मान्यता दिएको छ ।

    भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरण अर्थात् फुड सेफ्टी एण्ड स्ट्याण्डर्स अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) तथा परीक्षण र क्यालिब्रेसन प्रयोगशालाहरूका लागि राष्ट्रिय मान्यता बोर्ड अर्थात् नेसनल एक्रिडिएटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याबोटोरिज (एनएबिएल) ले नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकोे राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाको खाद्य समूहको परीक्षणलाई मान्यता प्रदान गरेको हो ।
    अब नेपालको खाद्य प्रविधि तथा गुुण नियन्त्रण विभागअन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले १० खाद्य पदार्थ समूहअन्तर्गत पर्ने फ्याट्स एण्ड आयल, फ्रुट्स एण्ड भेजिटेबल, सिरियल्स प्रोडक्ट्स अर्थात् चामल, गहुँ, मकै, कोदो, टी एण्ड कफी, मिल्क एण्ड डेरी प्रोडक्ट्स, हनि एण्ड स्वीटनर्स, मिट प्रोडक्ट, स्पाइसेज, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लिमेन्ट्सको गुणस्तरसम्बन्धी विश्लेषण गर्न सक्नेछ । उक्त प्रयोगशालाले उल्लेखित वस्तुको गुणस्तर परीक्षण गरेर उपलब्ध गराउने प्रमाणपत्रका आधारमा नेपाली उद्यमीले सोझै भारतमा निर्यात गर्न सक्नेछन् ।

    यसअघि नेपाली उद्यमीले चिया, कफी, अदुवा, अलैंची, मह, जुुस, दुग्धजन्य पदार्थ, बोसो तथा तेल, तरकारी तथा फल, खाद्यान्न उत्पादन, पानीलगायत भारत निर्यात गर्न भारतको कोलकात्ता, बैंग्लोर, नागपुर, मुम्बई, भोपाल, दिल्ली पुगेर परीक्षण गर्नुपर्ने बाध्यता थियो भने परीक्षण गराउन भारत जाँदा लामो समयसँगै खर्च पनि बढी लाग्ने गरेको थियो ।

    भारतले मान्यता दिएसँगै १० प्रकारका खाद्य समूहको वस्तु निर्यात गर्न परीक्षणका लागि भारत जानुपर्ने बाध्यता अन्त्य भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभएको छ । उक्त सुविधासँगै भारतमा कृषि उपज निर्यात गर्दै आएका निर्यातकर्ताले खाद्य विभागको यो प्रयोगशालाबाट गुणस्तर प्रमाणीकरण गराएको प्रमाणपत्र, निर्यातसम्बन्धी प्रमाणपत्र र वस्तुको ब्याच नम्बर प्रमाणपत्र लिएर निर्यात गर्न सहज हुने उहाँको भनाइ छ । कर्णका अनुसार भारतले नेपालको प्रयोगशालालाई छ सय ३० प्यारामिटरसम्मको गुणस्तर विश्लेषण परीक्षण प्रमाणपत्रलाई मान्यता प्रदान गरेको हो । यसअघि दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्नेमात्रै क्षमता थियो । भारतको एफएसएसएआईको निर्देशनअनुसार विभागले छ सय ३० प्यारामिटरसम्मको गुणस्तर परीक्षण गर्न सक्ने क्षमता विस्तार गरेको छ ।

    नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरणबीच पारस्परिक मान्यता सम्झौता सन् २०१९ मा भए पनि कोरोनाका कारण थप प्रक्रिया अघि बढ्न सकेको थिएन ।

    महानिर्देशक कर्णका अनुसार गत पुसमा बसेको नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) को बैठकले १५ बुँदे सहमति गरेको बुँदा नम्बर १२ अन्तर्गत नेपालको खाद्य विभाग र भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणबीच गुणस्तर परीक्षण, सर्टिफिकेसन, पारस्परिक मान्यता दिने विषयमा पारस्परिक कार्य अघि बढाउने सहमति भएको थियो ।

    नेपाली व्यवसायीहरूका अनुसार नेपालको परीक्षणलाई भारतले मान्यता नदिँदा निर्यातजन्य वस्तुको लटअनुसार नमुना बोकेर परीक्षणका लागि भारतको कोलकाता जानुपर्ने बाध्यता थियो । एउटा नमुना लिएर कोलकाता जाँदा वस्तुहरू परीक्षणको प्रतिवेदन आउन कम्तीमा एक महिना लाग्ने गरेको थियो । परीक्षण रिपोर्ट नआउँदासम्म दुई सातासम्म सीमामै ट्रक रोक्नुपर्ने बाध्यता थियो ।

  • आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

    काठमाडौँ, आइतबार, २४ चैत्र २०८१ । मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरी आज (आइतबार) रामनवमी पर्व मनाइँदैछ । हेरक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिन्छ ।

    असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले आज (चैत २४)मा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको थियोे ।

    अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ । उहाँले रावण लगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । कर्तव्य पालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ ।

    रामनवमीमा रामको चरित्र वर्णन गरिएका भागवत लगायतका पुराण, रामायण लगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ । जनकपुरधाम भगवानको रामको ससुराली भएकाले यहाँ रामनवमी धूमधामसँग मनाउने गरिएको छ । त्रेतायुगमा भगवान् राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो ।

    राम नवमीको अवसरमा जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजापाठ गरिन्छ । जनकपुरस्थित राम जानकी मन्दिरमा भव्य मेला लाग्दछ आज । मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगा सागरमा स्नान गरी राम जानकी मन्दिरमा पूजाआजा गर्दछन् ।

    आज देशभरका नदी, ताल एवं कुण्डहरूमा नित्य स्नान गरी व्रत बस्ने गरिन्छ र राम गीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीक कृत्य भानुभक्तीय रामायणसमेत वाचन गरिन्छ । रामभक्तियुक्त भजन कीर्तनका साथ रात्रि जाग्राम बस्ने परम्परा समेत चलिआएको छ ।

    त्यस्तै काठमाडौं बत्तिसपुतलीस्थित राम मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस्तै, देशभरका अन्य रामजानकी मन्दिरमा पनि दर्शकको घुइँचो लाग्ने गर्दछ ।