Blog

  • बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत

    काठमाडौँ, बिहिबार, १३ मङ्सिर २०८१ । लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो ।

    यसैगरी, बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।

    प्रधानमन्त्री ओलीले सम्बन्धित निकायले समन्वयात्मकरुपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सृजना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गर्नुभयो ।

    बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।

  • गोरखाको शहिद लखनमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

    गोरखा, बिहिबार, १३ मङ्सिर २०८१ । गोरखाको शहिद लखन गाउँपालिकाको विभिन्न टोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखामार्फत पालिकाभित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको निःशुल्क भिडियो एक्सरे गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    “आमा र गर्भस्थ शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले सबै वडाका टोलटोलमा तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरेर सेवा उपलब्ध गराउँदै आएको छ”, उहाँले भन्नुभयो ।

    शाखा प्रमुख श्रेष्ठले गाउँपालिकाको ग्रामीण अल्ट्रसाउण्ड कार्यक्रमअन्तर्गत गर्भवतीका लागि हरेक महिना नियमित रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो ।

    गाउँपालिकाले गर्भवतीलाई भिडियो जाँचका लागि हिँडेर आवतजावत गर्न नपरोस् भनेर टोलटोलमै पुगेर सेवा उपलब्ध गराउँदै आएको हो ।

    गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमका लागि पालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी मनिला श्रेष्ठ, बुङ्कोट स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ज्ञानु सेन्चुरी र बक्राङ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी समीक्षा दराईसहित तीन जनामात्र तालिमप्राप्त स्वास्थकर्मी छन् ।

  • सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न निषेध

    काठमाडौँ, बिहिबार, १४ मङ्सिर २०८१ । बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।

    विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ । भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उहाँले जानकारी दिनुभयो ।

    बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।

    दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।

    पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिनुभयो । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड [केयुकेएल]लाई अनुरोध गरिएको छ ।

    मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।

  • गोरखाको भीमसेनथापा गाउँपालिकामा अन्तरजातीय विवाह गर्ने १९ जोडी सम्मानित

    गोरखा, बिहिबार, १३ मङ्सिर २०८१ । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । गाउँपालिकाले पालिका भित्र जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित विच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    ‘‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलित बिच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उहाँले भन्नुभयो, ‘‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित विच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’’

    पालिका भित्रका सवै वडामा दलित र गैह्रदलित विच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रम विच मंगलबार उनीहरुलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयोे । ‘‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देस्य हो, उहाँले भन्नुभयो, ‘‘यसवाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौ ।’’

    दलित र गैह्रदलित विच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमूलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताउनुभयो ।

    ‘‘दीर्घकालिन रुपमा उहाँहरुले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ, उहाँले भन्नुभयो,‘‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।’’

  • सिरानचोकस्थित श्रीनाथ मण्डलीमा ‘जुन-किरी’ को दोस्रो चरणको छायांकन

    गोरखा, मंगलबार, ११ मङ्सिर २०८१ । गुरुङ समुदायको घँटु परम्परामाथिको फिल्म ‘जुन-किरी’ को दोस्रो चरणको छायांकन सुरू भएको छ।

    हाल गोरखाको सिरानचोकस्थित श्रीनाथ मण्डलीमा फिल्मको दोस्रो चरणको छायांकन भइरहेको छ । गत असोज १५ गतेबाट फ्लोरमा गएको टिमले दसैंअघि पहिलो चरणको काम सकाएको थियो । फिल्मको दोस्रो चरणको काम १५ गतेसम्म सकिने फिल्मका लेखक तथा अभिनेता सुरज तमुले जानकारी दिए ।

    दीप गुरुङको निर्देशन रहेको फिल्ममा सुरजको र भरत राईको कथा र केर कोइँच लिनुचको पटकथा छ ।

    फिल्ममा सुरजसँगै अभिनेत्री लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन्। सुरजले ‘ऊनको स्वीटर’, ‘गोरखा वारियर’, ‘एन्जिला’, ‘सारंगा’, ‘नैना’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।

    एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले ‘स्कुल’, ‘चालिसे भीर’ लगायतका नाटक निर्देशन गरिसकेका छन् । उनले ‘दयामाया आफूमात्र लिखापानी आइपुगी’, ‘हरियो ढुंगा’, ‘मिमांशा’, ‘योगमाया’, ‘कोरा’, ‘अर्को अर्थ नलागेमा’, ‘ब्युँझिएको सिरानी’, ‘चोरको स्वर’ लगायत करिब २ दर्जन नाटकमा अभिनय गरिसकेका छन् ।

    लक्ष्मीको यो दोस्रो फिल्म हो। यसअघि ‘नैना’ फिल्ममा उनले मुख्य भूमिकामा काम गरेकी थिइन् । ‘माइली’, ‘युके लन्डन’ लगायत दर्जनौं म्युजिक भिडिओमा उनले काम गरिसकेकी छन् ।

    फिल्म सुरज र लक्ष्मीसँगै कलाकार डिबी गुरुङ, अनिल सुब्बा, कविता आलेको पनि महत्वपूर्ण भूमिका छ । त्यसैगरी फिल्ममा प्रतीना राई, प्रविन मगर, सुस्मिता गुरुङ, माया गुरुङ, सौजन सेन्ह्याङ र समर्पण श्रीलगायका कलाकारको अभिनय छ ।

    निर्देशक दीप गुरुङको यो दोस्रो फिल्म हो । उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए। उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन् ।

    फिल्ममा काठमाडौंमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथामा केन्द्रित छ। गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाटुको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ ।

    फिल्मलाई सिनेमाटोग्राफर योगेश दाहालले खिचिरहेका छन् ।

  • ‘द अल्केमी २०२४’ काठमाडौं विश्वविद्यालयले आयोजना गर्दै

    धुलिखेल, मंगलबार, ११ मङ्सिर २०८१ । काठमाडौं विश्वविद्यालयको केयुकंक क्लबले विद्यार्थी, शिक्षाविद्, उद्योगी, नेताहरू र आविष्कारकहरूलाई एकजुट गर्ने गरी प्रेरणादायी दुईदिने कार्यक्रम ‘द अल्केमी २०२४’ घोषणा गरेको छ । यो कार्यक्रमले नेपालमा केमिकल इञ्जिनियरिङको भविष्यका बारेमा अन्तरक्रिया गर्दै शिक्षा र उद्योगका केही उज्याला मस्तिष्कहरूलाई एकसाथ जुटाउँदै छ ।

    सन् २०२४ को नोभेम्बर २८ र २९ मा काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अल्केमी २०२४ अन्तर्गत आयोजना हुने १० वटा कार्यक्रममा एक हजारभन्दा धेरै उत्साही सहभागीहरूले भाग लिने अनुमान छ । जसमा दुई सयभन्दा बढी उत्साही सहभागीहरू र पाँच सय बढी लगनशील र प्रतिभाशाली विद्यार्थीहरू हुनेछन् । साथै करिब २० हजार व्यक्तिहरूले अनलाइन सामाजिक माध्यमबाट जानकारी र सूचना लिनेछन् ।

    यस कार्यक्रमलाई थुप्रै चरणमा विभाजन गरिएको छ । मुख्य कार्यक्रममा पहिलो चरणमा शिक्षण–सिकाइका निम्ति तीनवटा वर्कसप आयोजना गरिएको छ । जसमा मसिन लर्निङ इन केमिकल इञ्जिनियरिङ, ब्रेन टु ब्लक्सः डिजाइनिङ एण्ड थ्रिडी प्रिन्टिङ र अटोक्याड प्लान्ट थ्रिडी एसेन्सिएल १०२ रहेका छन् ।

    दोस्रो चरणका प्रमुख कार्यक्रमहरूमा केमिकल इञ्जिनियरिङमा प्यानल छलफलका साथै केमिकल इञ्जिनियरिङका प्रमुख शैक्षिक र उद्योग विशेषज्ञहरूले प्रस्तुत गर्ने अन्तरदृष्टिपूर्ण टक शोबाट कार्यक्रम सुरु हुनेछ । उनीहरूले औद्योगिक क्षेत्रको विकास र सम्भावनाबारे छलफल गर्दै दिगो विकासमा यसको भूमिका र स्थानीयरूपमा सञ्चालित औद्योगिक आविष्कारहरूको भविष्यका बारेमा चर्चा गर्नेछन् ।

    यस सत्रले विद्यार्थीहरूलाई उद्योग क्षेत्रको भविष्यमा अमूल्य दृष्टिकोणहरू प्रदान गर्ने उद्देश्य राखेको छ । कार्यक्रमले नेपालको अर्थतन्त्र र वातावरणलाई उपयुक्त हुने व्यावहारिक अनुप्रयोगहरूमा पनि मार्गदर्शन दिनेछ ।

    इनोभेसन शोकेस
    दोस्रो दिनमा स्थानीय व्यवसायहरूका स्टलहरू, विद्यार्थीहरूको नेतृत्वमा रहेका परियोजनाहरू र नवप्रवर्तन पहलहरूसहितको आकर्षक प्रदर्शनी राखिएको छ । कम्पनी र ब्राण्ड स्टलहरूले विद्यार्थीहरूका लागि अन्तरक्रियात्मक अनुभवहरू, उत्पादन प्रदर्शनहरू र नेटवर्किङ अवसरहरू प्रदान गर्दछन् । यी स्टलहरूले बृहत् दर्शकहरूलाई आकर्षित गर्छन्, विद्यार्थी-उद्योग नेटवर्किङ सहज बनाउँछन् र नवीनतम प्रविधिहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछन् ।

    कादम्बरी पत्रिकाको उद्घाटन
    अल्केमी २०२४ ले केयुकंकको पत्रिका ‘कादम्बरी’ को आधिकारिक उद्घाटन पनि गर्नेछ । यो वार्षिक पत्रिका अनुसन्धानमूलक लेखहरू, शैक्षिक अन्तरदृष्टिहरू, रसायन विज्ञान र इञ्जिनियरिङ विभागमा विद्यार्थी र संकाय दुवैको व्यक्तिगत दृष्टिकोणले भरिएको छ । काठमाडौं विश्वविद्यालयभित्र शैक्षिक आदानप्रदान गर्ने लक्ष्यका साथ ‘कादम्बरी’ केमिकल इञ्जिनियरिङ समुदायका लागि बहुमूल्य स्रोत बन्ने ठहर गरिएको छ ।

    अकुष्टिक नाइट
    दुई दिनको बौद्धिक आदानप्रदानपछि मनोरञ्जन र विश्राम प्रदान गर्ने मनमोहक प्रत्यक्ष प्रदर्शनहरू प्रस्तुत गर्दै अल्केमी २०२४ एक मनमोहक अकुष्टिक नाइटका साथ समापन हुनेछ । यस अन्तिम कार्यक्रममा विद्यार्थी र संकायले सांगीतिक मनोरञ्जन लिँदै अनौपचारिकरूपमा भेटघाट र कार्यक्रममा प्राप्त अन्तरदृष्टिका बारेमा छलफल गर्नेछन् । अल्केमी २०२४ ले काठमाडौं विश्वविद्यालय सर्कल अफ नोबल केमिनियर्स (केयुकंक) का लागि महत्वपूर्ण कोसेढुंगाको प्रतिनिधित्व गर्दछ । जसमा विद्यार्थीहरूले ज्ञान, प्रेरणा, नेटवर्किङ र सशक्तीकरण पाउनुका साथै शैक्षिक र औद्योगिक व्यक्तित्वहरूबीचको भविष्यको सहकार्यका लागि एक सुन्दर माध्यम बन्ने ठहर गरेको छ ।

  • सन्तोषनारायण श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त

    काठमाडौँ, मंगलबार, ११ मङ्सिर २०८१ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना  प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    उक्त बैठकले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जाँदै हुनुहुन्छ ।

  • ‘साहित्यमा महिलाको भाषा’

    काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा सञ्चारिका समूह नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको ‘साहित्यमा नारीवादः नयाँ दृष्टिकोणको खोजी’ विषयक छलफल तथा अन्तरक्रियामा उनले महिलाको भाषा र चुनौतीबारे साहित्यमार्फत उठान गर्नुपर्ने बताइन् ।

    लेखक थापाले भनिन्, “महिलाको भाषा के हो ? शब्द के हो ? यही नै चुनौती नयाँ आउने महिला लेखकले उठाउनुपर्छ ।”

    उनले नेपाली साहित्यमा ‘नेपाल’ नै आउन नसकेको जिकिर गरिन् । “साहित्यमा एउटै जात र पुरुषको बोलवाला छ । उनीहरूकै कृति र कथाहरू छन् । महिलाभित्रको इच्छा र जटिलता झल्किन नसक्ने कृति पाएको छैन”, थापाले भनिन् ।

    लेखक तथा प्राध्यापक अरुण गुप्ताले भान्छादेखि लेख्ने टेबुलसम्म महिलाहरूलाई अवरोध रहेको बताए । उनले भने, “आलोचनात्मक तथा समालोचनात्मक लेखनमा महिलाहरूले अवरोध खेपेका छन् । धार्मिक अनुष्ठानले पनि ठूलो अवरोध गर्दछ । कुनै पनि रचनात्मक अध्ययन, लेखनभन्दा पनि किनमेल, पूजा सामग्री जुटाउनमै व्यस्त हुन पुग्छन् । महिलाहरू नै बढी चापमा परेका हुन्छन् ।”

    गुप्ताले विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा महिला लेखकहरूलाई पनि उचित ठाउँ दिनुपर्ने बताए । कवि र फिल्म निर्माता उपेन्द्र सुब्बाले नेपाली सिनेमा निर्माणमा पुरुषप्रधान विचार धाराको प्रभुत्वले महिलाको कथा र मुद्दाले कसरी स्थान पाएको छ त ? भन्ने प्रश्नमा पहिलेभन्दा अहिलेका सिनेमामा महिलाका मुद्दाले प्राथमिकता पाइरहेको बताए । यद्यपि यो पर्याप्त नरहे पनि भविष्य आशालाग्दो रहेको उनको धारणा थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यस्ता खालका विचार मन्थनका कार्यक्रमले महिलाका सवालमा नयाँ विचारको विकास गर्ने बताए । “यस्ता खालका विमर्श हुन आवश्यक छ, विचार मन्थनबाट नयाँ विचारको जन्म हुन्छ । नयाँ दृष्टिकोणको माध्यमबाट राम्रा नीति बनाउन सम्भव हुन्छ ।”

  • नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक

    काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गर्नुभयो । उहाँले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपिएलका आठ टोलीकै मार्की खेलाडीको खुलेर प्रशंसासमेत गर्नुभयो । उहाँले सम्बोधनको क्रममा सुरुमै जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखको प्रशंसा गर्नुभयो । उहाँले शेखले स्पोर्टम्यानसीप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको श्रव्यदृश्य आफूले पनि हेरेको उल्लेख गर्दै उहाँलाई ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ ।”

    प्रधानमन्त्री ओलीले काठमाडौंँ गुर्खाजका मार्की खेलाडी करण केसीलाई ‘भ्यालेन्टाइन बोय’ सम्बोधन गर्नुभयो । करणले राजधानीको नाम राख्ने आफूले आशा लिएको उहाँले जिकिर गर्नुभयो । “काठमाडौँ गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोय भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ”, उहाँले भन्नुभयो, “उहाँले राजधानीको नाम राख्ने आशा लिएको छु ।”

    सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई विश्वले नै बलर हुन् कि ब्याटर छुट्याउनै नसकेको बताउनुभयो । उहाँले यस पटक ९९ रनमा आउट हुन् नपरोस् भन्दै शतक हान्न शुभकामना दिनुभयो ।

    “पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउनै गाह्रो हुने उहाँको कौशल छ । विश्वले नै छुट्याउन सकिरहेको छैन् जस्तो लाग्छ । मैले मात्रै होइन्”, कुशलको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसपटक ९९ रनमा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ ।”

    प्रधानमन्त्री ओलीले चितवन राइनोजलाई आफूले ‘गैँडाज’ भन्ने बताउनुभयो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्लको छक्का हान्ने शैली मनपर्ने उल्लेख गर्दै उहाँले आँखिर चितवन गैँडाजका कप्तान हो नि ! भन्दै प्रशंसा गर्नुभयो । “हाम्रो साथीहरुले चितवन राइनोज भन्नुभएको छ, मैले चितवन गैँडाज भन्छ”, उहाँले भन्नुभयो–“चितवन राइनोज अर्थात् गँैडाजका कप्तान कुशल मल्ल हेर्दा अल्लि सानो÷सानो लाग्ने । ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मनपर्छ ।”

    लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेलको नाम सुन्दै गर्व लाग्ने भन्दै प्रधानमन्त्री ओलीले उहाँको प्रसंशा गर्नुभयो । जसले जिते पनि रोहितलाई फाइदा हुने भन्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुने धारणा राख्नुभयो ।

    “लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । जसले जिते पनि रोहितलाई फाइदा छ, आँखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुनेछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    विराटनगर किङग्स्का मार्की खेलाडी सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको सुनाउनुभयो । “विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै हुनुभयो । बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ ।”, उहाँले भन्नुभयो, “त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ ।”

    कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीका योरकरलाई भुल्न नसकिने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने उल्लेख गर्दै अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न सुझाव दिनुभयो ।

    “कर्णाली याक्सका सोमपाल कामीका ती योरकरलाई कसले भुल्न सक्छ र ? सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनेछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाललाई अर्को टी– ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ ।”

    प्रधानमन्त्री ओलीले सुदूरपश्चिम रोयल्सलका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीलाई बाघको संज्ञा दिनुभयो । उहाँले ऐरीको ६ छक्काको कीर्तिमान आफुलाई स्मरण रहेको उल्लेख गर्दै यस्ता थुप्रै कीर्तिमान बताउन समेत शुभकामना दिनुभयो । “अन्तिममा हिरोको पालो आउँछ, मेरो फेभरेट नै जस्तो भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ”, उहाँले भन्नुभयो, “एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ ।”

    पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।

  • उपनिर्वाचन मङ्सिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस

    काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । मङ्सिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ ।

    निर्वाचन आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन उपनिर्वाचन हुने स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिने र मतदाताका लागि मतदान गर्न सहज वातावरण बनाउने सम्बन्धमा आवश्यक निर्णय गरेको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

    जसअनुसार मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको उहाँले बताउनु भयो ।

    साथै, मङ्सिर १४ देखि १६ गते मतदान सम्पन्‍न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्‍ठान वा अन्य सार्वजनिक स्थलहरू निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय पनि भएको उहाँले बताउनु भयो ।