Blog

  • ललितपुरमा आदिबासी सांस्कृतिक महोत्सव हुने

    काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । ललितपुर महानगरपालिका वडा १६ ले आदिबासी जनजाति सांस्कृतिक महोत्सव २०८१ गर्ने तयारी गरेको छ । महोत्सवको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।

    यहि मङ्सिर २८ देखि ३० गतेसम्म चल्ने महोत्सवमा आदिबासीको खाना परिकार, सांस्कृतिक नृत्य, आदिबासी चलचित्र तथा बृत्तचित्र प्रदर्शन, आदिबासी पोशाक तथा गीत प्रदर्शन गर्ने तयारी भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

    महोत्सव सम्पन्न गर्न मूल आयोजक समिति तथा उपसमितिहरु निर्माणको काम भइरहेको अध्यक्ष शाक्यको भनाइ छ । वडा कार्यालयसहित बौद्ध विहार संघ, नेपाल हस्तकला महासंघ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवा राष्ट्रिय पत्रकार दवु, ज्यापू समाज, यल नेवा समाज, आदिबासी जनजाति महिला महासंघ, नेपाल लोकतान्त्रिक जनजाति महासंघ, ललितपुर उद्योग बाणिज्य संघ, आदिबासी कलाकार समिति लगायत २३ वटा संस्था आयोजक रहेका छन् ।

    तीन दिनसम्म आयोजना हुने महोत्सवका लागि १० लाख रुपियाँको बजेट रहेको वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयो । आदिबासीको भाषा, संस्कृति, र संस्कारजन्य वस्तुको प्रवर्धन र संरक्षण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक समेत आकर्षित हुने बुझाइ आयोजकहरुको छ ।

    स्थानीय उत्पादनको प्रवर्धन तथा आय आर्जन बृद्धि हुने विश्वास पनि गरिएको छ । महोत्सवको तयारीका लागि आज सरोकारवाला संस्थाका पदाधिकारीविच छलफल भएको छ । सो अवसरमा वडा अध्यक्ष शाक्य, फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीसहितले महोत्सवको आवश्यकता र गर्नुपर्ने तयारीका बारेमा सुझाव दिनुभएको थियो ।

  • गोरखाको मनकामना केबुलकार २७औँ वर्षमा

    काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । २७औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले केबुलकारका साथै नेपालकै केबुलकारका स्रष्टा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठलाई सम्झँदै उहाँको साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

    केबुलकार सञ्चालनपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै वरिपरिका क्षेत्र भारतलगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भइसकेको छ । २६ वर्ष पुगिसकेको एनालग प्रविधिको मर्मतसम्भारका साथै स्पेयर पार्ट्ससमेत पाउन कठिनाइ हुने स्थिति मध्यनजर गर्दै कम्पनीले हालकै नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ ।

    साथै, मनकामना केबुलकार हाताभित्र नै सुविधासम्पन्न रिसोर्टको निर्माण अन्तिम चरणमा पुगेको छ । नवनिर्मित रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट सञ्चालनपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने कम्पनीको लक्ष्य रहेको छ ।

    सुरुवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिएकोमा क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको कम्पनीले जनाएको छ । साथै यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको छ । स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठकै पालादेखि उहाँको नीतिअनुसार कम्पनीले सुरुदेखि नै सामाजिक व्यावसायिक उत्तरदायी नीतिअनुसार मनकामना र आसपास क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्नलाई सहयोग गर्दै आएको छ ।

    विनाशकारी गोरखा भूकम्पमा समेत कम्पनीले सहयोग गरेको थियो । कम्पनीले केबुलकार टिकट आम्दानीको कुल रकमको एक-एक प्रतिशतका दरले कुल दुर्ई प्रतिशत रकम शहीद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि भनी वर्षेनी सहयोग गर्दै आएको जनाएको छ ।

  • ‘कोशी भ्रमण वर्ष’ घोषणाको तयारी

    इलाम, आइतबार, ९ मंङ्सिर २०८१ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आगामी २०८२ लाई कोशी प्रदेश सरकारले ‘कोशी भ्रमण वर्ष’ घोषणाको तयारी गरेको बताउनुभएको छ । शनिबार इलाममा सुरु भएको ‘फुड फेस्टिबल’ उद्घाटन गर्दै मन्त्री रानाले कोशीको पर्यटन प्रवर्धन गर्न भ्रमण वर्ष घोषणाको तयारी गरिरहेको बताउनुभयो ।

    मन्त्री रानाले भ्रमण वर्षका लागि कोशी प्रदेशका विभिन्न दुईसय स्थानलाई गन्तव्यका रूपमा सार्वजनिक गर्ने र ८५ स्थानमा प्रदेश सरकार आफैँले पनि पर्यटकलाई जान सहजीकरण गर्ने तयारी गरिरहेको बताउनुभयो ।

    मन्त्री रानाले कोशी प्रदेश सरकारले अन्य दुई योजनालाई पनि यही वर्ष गर्ने गरी तयारी गरिरहेको बताउनुभयो । ‘हामीले आगामी माघको दोस्रो सातासम्ममा कोशी प्रदेश लगानी सम्मेलन र वर्षको अन्त्यतिर अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने योजनामा छौँ ।’

    मन्त्री रानाले भन्नुभयो, ‘लगानी सम्मेलनले कोशीका पर्यटन, होटल व्यवसाय, कृषि क्षेत्र, विद्युत, जल यातायातका क्षेत्रमा लगानी भित्र्याउने लक्ष्य राखिएको छ ।’ मन्त्री रानाले कोशीका तीन हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुको हिमाली क्षेत्रमा विदेशी पर्यटक भित्र्याउन कोशी सरकारले अबका योजना समेत बनाउने बताउनुभयो ।

    ‘अहिले हिमाली, पहाडी र तराईका पनि धार्मिक तथा पर्यटकीय क्षेत्रमा थप योजना र विकास गर्नुपर्ने देखिएको छ ।’ मन्त्री रानाले भन्नुभयो, ‘हिमाली क्षेत्रमा पूर्वाधार विकास गर्न सक्दा विदेशी डलर भित्र्याउन सहज हुन्छ भन्ने हाम्रो ठम्याइ छ ।’

    यता, आजदेखि सुरु भएको फुड फेस्टिवल भोलिसम्म चल्नेछ । फेस्टिवलमा राई, लिम्बू, नेवारलगायत विभिन्न जातजातिका १६ वटा खानाका स्टल राखिएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौड्यालले बताउनुभयो । स्टललाई प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिने बताइएको छ ।

  • चिलिमे आयोजना : १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप

    काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । त्यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिकरूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोडको विद्युत्् बिक्री गरिसकेको छ । ४२.५ मेगावाटको साञ्जेन आयोजना निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

    १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत् उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि साञ्जेन र रसुवागढीको व्यावसायिकरूपमा विद्युत्् उत्पादन सुरु हुनेछ । दुवै आयोजनाबाट मंसिरभित्रै व्यावसायिकरूपमा विद्युत् उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट हिउँदमा करिब ८० मेगावाटमात्र विद्युत् उत्पादन हुन्छ ।

    चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा २७० मेगावाटका चार आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट मध्य भोटेकोशीबाहेक तीन आयोजना सम्पन्न भएका हुन् । सबै आयोजना २०७२ को विनाशकारी भूकम्प एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्ति समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरोलगायतको चपेटामा परेका थिए । जसले गर्दा आयोजना निर्माण प्रभावित भएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारण जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म चिलिमे कम्पनीको प्रबन्ध-सञ्चालक भएका बेला सर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाको निर्माण अघि बढाइएको थियो, मुख्यरूपमा काबुबाहिरको परिस्थितिका कारण आयोजना निर्माणमा केही समय लागे पनि अब तीनवटा आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाले हिउँदमा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन् ।’

    प्राधिकरणका अनुसार भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ । माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवैको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ३५ करोड थियो । आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरूको लागत नौ अर्ब २० करोड हुने अनुमान गरिएको बताउनुभयो । उहाँले लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड हुने देखिएको बताउनुभयो । चिलिमेका चारवटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो ।

    कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्था(प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारी, आयोजना प्रभावित रसुवाबासी र सर्वसाधारण गरी ४९ प्रतिशत साधारण सेयर छ ।

    माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिकरूपमा एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो साञ्चेनलाई विद्युत्को बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०–७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । जसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ ।

  • धरहराको इतिहास, २५ तला, ९२.२५ मिटर उचाइ

    काठमाडौँ, आइतबार, ९ मङ्सिर २०८१ । अब धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ । सरकारले सःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै आज (आइतबार) देखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको हो ।

    बिहीबार बसेकोे मन्त्रिपरिषद्को बैठकले हाललाई शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क तोकिएको छ । सहरी विकास मन्त्रालयको प्रस्तावअनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई एक हजार तोकिएको छ ।

    साथै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन शुल्क व्यावसायिक बाहेकका प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडिओ छायांकन शुल्क प्रतिघण्टा पाँच हजार, फोटोग्राफीका लागि एक हजार शुल्क तोकिएको छ । यस्तै, सहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ ।

    चारपांग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क तोकेको छ । यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निःशुल्क रूपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो । अब भने धरहरामा पार्किङ गर्दा शुल्क तिर्नुपर्ने भएको हो । जहाँ २४४ गाडी र सात सय ४४ मोटरसाइकल पार्किङ गर्न सकिनेछ । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णयसमेत भएको छ । १० वर्ष मुनिका बालबालिका शुल्क नलाग्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरलाई दिन आग्रह गरे पनि संघीय सरकारले यसलाई अस्वीकार गरेको हो ।

    यसअघि, गत असोज ३ गतेबाट नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो । १२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको थियो । असोज ३ गतेदेखि शनिबारसम्म सर्वसाधारणले नवनिर्मित धरहरा निःशुल्क रूपमा चढिरहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष (वैशाख ०७८) अघि धरहराको उद्घाटन गर्नुभएको थियो । तर, धेरै काम बाँकी भएकाले धरहरा खुलेको थिएन ।

    धरहरा परिसरमा रहेको ठुटे धरहरा (पुरानो) र सुन्धारा भने अझै पुनर्निर्माण सकिएको छैन । २०७५ साल असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणका लागि निर्माण व्यवसायीसँग तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनी जिआइटिसी/रमण जेभीले धरहरा क्षेत्रका संरचनाको निर्माण गरेको हो । २०७४ साल कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई दिने निर्णय गरेको थियो ।

    २५ तला, ९२.२५ मिटर उचाइ
    धरहरा टावर बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना बनेको छ । जमिनमाथि भुइँतलासहित २३ तलाको धरहरा ठडिएको छ । समग्रमा धरहरा २५ तलाको बनेको छ । जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएको छ । लिफ्टमा एकपटकमा १० जनाले यात्रा गर्न सक्छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपांगता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।

    धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिंग स्थापना गरिएको छ । २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पले धरहरा भत्काएको थियो । धरहरा भत्किँदा ६० जनाले जीवन गुमाएका थिए । सयौँ मानिस घाइते भएका थिए । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिँदै छ । सुन्धारामा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण भइरहेको छ ।

    धरहराको इतिहास
    १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएको इतिहास छ । विसं १९१३ मा बज्र (चट्याङ)ले भत्केपछि १९२३ सालमा धरहराको जीर्णोद्धार गरिएको थियो । १९९० साल माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण भएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई नौ तल्लामा सीमित गरिएको थियो । यो धरहराभन्दा अघि विसं १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गर्नुभएको थियो । जसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।

    विकास समितिमार्फत निजी क्षेत्रलाई जिम्मा दिइने
    सरकारले विशिष्ट संरचनाहरूको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति (गठन) आदेश जारी गरेको छ । यसअन्तर्गत गठन हुने समितिले आफूमातहत आएका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (नयाँ बानेश्वर), सनराइज सभाहल (गोदावरी), बुटवल अन्तर्राष्ट्रिय सभाहल (बुटवल), बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र (बुटवल) धरहरा (सुन्धारा), दमक भ्यु टावर (दमक व्यापारिक कम्प्लेक्स) दमकलाई टेण्डरमार्फत चलाउने जिम्मा निजी क्षेत्रलाई दिनेछ । सहरी विकास मन्त्रालयले जारी गरेको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार ती संरचना उक्त समितिलाई सञ्चालन र व्यवस्थापनको जिम्मा हुनेछ । यो गठन आदेश जारी भएसँगै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति (गठन) आदेश, २०५१ खारेज भएको छ । जसअनुसार सम्मेलन केन्द्र विकास समितिले गर्ने काम अब विशिष्ट संरचनासम्बन्धी नयाँ समितिले गर्नेछ ।

    विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन गर्ने समितिमा सहरी विकास मन्त्रालयका सचिव अध्यक्ष रहनेछन् । अर्थ मन्त्रालयका सहसचिव, गृह मन्त्रालयका सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव, आवास, भवन तथा योजना महाशाखाका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभाग महानिर्देशक सदस्य रहने व्यवस्था गरिएको छ । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष वा निजले तोकेको प्रतिनिधि र होटेल संघ नेपालको अध्यक्ष सदस्य रहनेसमेत व्यवस्था छ । कार्यकारी निर्देशक सदस्यसचिव रहने व्यवस्था गरिएको छ । समितिको आफ्नो छुट्टै कोष हुनेछ । उक्त कोषमा सरकारबाट प्राप्त रकम, अन्तर्राष्ट्रिय संघसंस्था वा विदेशी सरकारबाट ऋण वा अनुदानबापत प्राप्त रकम, सेवा शुल्कबापत संकलित रकम, अन्य कुनै स्रोतबाट प्राप्त रकम पनि कोषमा हुने व्यवस्था गरिएको छ ।

  • द्रव्यशाह क्याम्पस गोरखामा दुना–टपरी गाँस्ने तालिम

    गोरखा, शनिबार, ८ मङ्सिर २०८१ । गोरखामा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुना–टपरी गाँस्ने तालिम दिएको छ ।

    क्याम्पस प्रमुख एकदेव अधिकारीले भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको बताए । ‘क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने, ‘अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।’

    स्थानीय वनमा पाइने सालका पातबाट दुनाटपरी बनाउन जानेपछि थोरै भए पनि आय आर्जन गर्न सहज हुने तथा सीप पनि सिकिने भएकाले छात्राहरूलाई तालिमको व्यवस्था गरिएको अधिकारीको भनाइ छ । तालिमले उनीहरुमा उत्साह भरेको छ ।

    क्याम्पसले सञ्चालन गर्दै आएको ‘सिकौँ र सिकाऔँ’ अभियानअन्तर्गत छात्राहरुका लागि दुनाटपरी गाँस्ने तालिम सञ्चालन गरेको हो ।

  • माघ १३ गतेदेखि ‘बी’ डिभिजन लिग गर्ने एन्फाको तयारी

    ललितपुर, शनिबार, ८ मङ्सिर २०८१ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘बी’ डिभिजन लिग १३ माघबाट सुरु गर्ने तयारी गरेको छ । सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा भएको एन्फा र क्लबका पदाधिकारीको बैठकले १३ माघबाट लिग गर्ने निर्णय गरेको हो । लिगमा सहभागी हुन क्लबले १३ मंसिरसम्म दर्ता गर्नुपर्नेछ । खेलाडी दर्ताको अन्तिम मिति २४ मंसिर रहेको छ ।

    बैठकले लिगको खेल तालिका १३ पुसमा सार्वजनिक गर्ने जनाएको छ । बैठकमा १४ मध्ये १० क्लबका पदाधिकारी उपस्थित भएनन् । १० क्लबका पदाधिकारीले बक्यौता रकम नदिँदासम्म लिगमा सहभागी नहुने अडान राखेका छन् ।

    असन्तुष्ट १० क्लबका पदाधिकारीले बक्यौता फर्स्यौट भएमात्र एन्फाले बोलाएको बैठकमा सहभागी हुने जनाएका छन् । दुई वर्षदेखि पटक-पटक ‘बी’ डिभिजन लिगको मिति तय गरे पनि प्रतियोगिता आयोजना हुनसकेको छैन । एन्फाले मध्यपुर युथ एसोसिएसनलाई कारबाही गरेपछि बैठक सौहार्दपूर्ण हुनसकेको छैन । एन्फाले ०७९ र २०८० मा शहीद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गरेको थियो ।

  • गोदावरीको सनराइज हल, धरहरासहित ६ संरचना संघ सरकारले सञ्चालन गर्ने

    काठमाडौँ, शुक्रबार, ७ मङ्सिर २०८१ । धरहरालगायत ६ वटा भौतिक संरचनालाई संघ सरकारले सञ्चालन गर्ने भएको छ ।

    सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश) जारी गर्दै संघीय संसद् भवन रहेको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरको गोदावरीस्थित सनराइज सभा हल, रुपन्देहीको बुटवलस्थित ‘बुटवल अन्तर्राष्ट्रिय सभा हल र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, काठमाडौंको सुन्धारास्थित धरहरा र झापाको दमकस्थित दमक भ्यू टावरलाई विकास समितिमार्फत सञ्चालन गर्ने गरी विशिष्ट संरचनामा सूचीकृत गरेको हो ।

    विकास समिति गठन आदेश मङ्सिर ३ गते राजपत्रमा प्रकाशित भइसकेको छ ।

    दमक भ्युटावरसमेत विकास समितिमै सूचीकृत गरिएको हो । भ्युटावर अहिले सञ्चालनमा आएको छैन । यी सबै संरचना गठन आदेशमार्फत् जारी भएको विकास समितिमार्फत सञ्चालन गर्ने सरकारको तयारी छ । विशिष्ट संरचनामा समेटिएको बानेश्वरस्थित सम्मेलन केन्द्रबाट संसद् भवन सिंहदरबार परिसरमा निर्माणाधीन संरचनामा सार्ने सरकारको तयारी छ । त्यसपछि हालै जारी विकास समितिमार्फत यसलाई सञ्चालन गर्ने तयारी भइरहेको छ ।

    पछिल्लो गठन आदेशसँगै २०५१ सालमा स्थापना भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति पनि खारेज भएको छ । यससँगै यसको सञ्चालन तथा व्यवस्थापन कार्यकारी निर्देशकमार्फत गर्ने सरकारको निर्णयमा उल्लेख छ ।

    कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट गरिने आदेशमा उल्लेख छ । ३५ वर्ष पुगेको, स्नातकोत्तर उत्तीर्ण गरेको र १० वर्ष कार्यअनुभव भएको व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट विकास समितिको कार्यकारी निर्देशकमा नियुक्ति गरिने उल्लेख छ ।

    विकास समितिको केन्द्रीय कार्यालय काठमाडौंमा रहने र आवश्यकताअनुसार यसमा समेटिएका संरचना भएका स्थानमा शाखा कार्यालय स्थापना गर्न सकिने जनाइएको छ । सरकारको यो निर्णयसँगै काठमाडौंको धरहरा पनि संघ सरकारमार्फत सञ्चालन गर्ने निर्णय भएको हो ।

    धरहरा सञ्चालनका लागि संघ वा स्थानीय सरकार मातहत राख्ने भन्नेमा विवाद भएपछि केही अघि सरकारकै अध्ययन प्रतिवेदनले दीर्घकालीन रुपमा महानगरमार्फत नै सञ्चालन गर्न सुझाव दिएको थियो । सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर लीला खतिवडाको संयोजकत्वमा भदौ २ मा गठित अध्ययन सिमितिले धरहरा दीर्घकालीन रुपमा सञ्चालन गर्न स्थानीय सरकारलाई नै दिनुपर्ने सुझाव दिएको थियो । तर, यसलाई संघ सरकारले बेवास्ता गर्दै सहरी विकास मन्त्रालय मातहत रहने गरी विकास समितिअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको हो । यसले काठमाडौं महानगर र संघ सरकारबीच थप खटपट हुने देखिएको छ ।

    २०५५ सालदेखि धरहरा काठमाडौं महानगरपालिकामार्फत सञ्चालन भइरहेको थियो । पछिल्लो पटक २०७२ को बिनाशकारी भूकम्पले भत्किएपछि पुनर्निर्माण प्राधिकरणमार्फत बनेको हालको संरचना सञ्चालनमा संघ–महानगरबीच खटपट हुँदै आएको थियो ।

  • प्रमुख सूचना आयुक्तमा डा.सुरेशआचार्य नियुक्त

    काठमाडौँ, शुक्रबार, ७ मङ्सिर २०८१ । सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा.सुरेश आचार्यलाई नियुक्त गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम बरिष्ठ पत्रकार आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेको र सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।

    त्यसैगरी, सरकारले नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजीपीमा बढुवाका लागि बढुवा समितिबाट सिफारिस भएका डीआईजीपी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गर्ने निर्णय गरेको हो ।

    गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत रहेका छन् ।

  • आज विश्व अक्युपञ्चर दिवस, के हो अक्युपञ्चर उपचार विधि ?

    काठमाडौँ, शुक्रबार, ७ मङ्सिर २०८१ । ‘दुखाई सम्बन्धि समस्याका लागि अक्युपञ्चर’ नाराकासाथ आज विश्व अक्युपञ्चर दिवस मनाइँदै छ । नोभेम्बर २२ का दिन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

    अक्युपञ्चर, परम्परागत चिनियाँ चिकित्सा (टीसीएम) मा आधारित एक प्राचीन उपचार पद्धति हो भने अहिले पीडानियन्त्रणका लागि उपयुक्त उपचार प्रणलीको रुपमा विश्वव्यापी मान्यता पाएको छ । विश्व एक्युपञ्चर दिवसको अवसरमा यो उपचार विधिको महत्त्वलाई उजागर गर्ने र संसारभरि लाखौं मानिसलाई राहत प्रदान गरिरहेको योगदानबारे चर्चा गर्ने गरिन्छ ।

    शरीरका विशेष बिन्दुहरू (अक्युपोइन्ट) मा पातलो सुई (निडिल) छिराएर शरीरको प्राकृतिक उपचार प्रक्रियालाई सक्रिय पारेर रोगहरुको निदान गर्ने प्रभावकारी उपचार विधि लाई अक्युपञ्चर भन्ने गरिएको छ ।

    हालैका अनुसन्धानहरूले एक्युपञ्चरले अक्युपञ्चरले मस्तिष्कका पीडासँग सम्बन्धित क्षेत्रहरूको गतिविधिहरू लाई ​कम गर्न मद्दत गर्ने रिपोर्ट दिएका थिए । विशेषगरी माइग्रेन , टाउको दुखाइ, अर्थ्राइटिसजस्ता, रोगहरूमा, यसले पीडा कम गर्न मद्दत गर्छ ​। परम्परागत चिनियाँ चिकित्सा अनुसार, अक्युपञ्चरले शरीरको ऊर्जा प्रवाह सन्तुलित गर्छ ।

    आधुनिक अनुसन्धानका अनुसार, यसले स्नायुप्रणालीको सन्तुलन कायम गरी अत्यधिक पीडालाई कम गर्न मद्दत गर्ने बताइन्छ ।

    यसका विशेषज्ञहरु भन्छन्, ‘शरीरका विशेष बिन्दुहरूमा सुई घुसाउने विधिले ऊर्जा च्यानलहरूलाई सक्रिय गर्दछ र रक्तसञ्चारको प्रवाहलाई सहज बनाउँछ। यसले तनाव घटाउँछ, शारीरिक क्षमता बढाउँछ र रगतको प्रवाहमा सुधार ल्याउँछ, जसले समग्र स्वास्थ्यमा फाइदा पुर्‍याउँछ।’

    अक्युपञ्चरको प्रभावकारिता बढ्दो वैज्ञानिक प्रमाणहरूले साबित गरेसँगै विश्वभरका आधुनिक स्वास्थ्य सेवा प्रणालीहरूमा समावेश गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्युपञ्चरलाई पीडा र अन्य अवस्थाहरूको उपचारका लागि मान्यता दिएको छ, जसले अक्युपञ्चर उपचार विधिको भूमिकालाई थप विश्वसनीय बनाएको अक्युपञ्चरिष्ठ डा.विशाल श्रेष्ठले बताएका छन् ।