Category: खेल

  • ललितपुर महानगरमा मेयर कप टेबुल टेनिस प्रतियोगितामा २४ वडाका ६३७ खेलाडी सहभागी

    ललितपुर, बिहिबार, ११ पौष २०८१ । ललितपुर महानगरले आयोजना गरेको छैटौं मेयर कप अन्तर वडास्तरीय टेबुल टेनिस प्रतियोगिता शनिवारबाट सुरु भएको छ । पुस १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो ।

    महानगरले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहित गर्न फुटबल लगायतका थुप्रै खेल विधामा लगानी गरेको उहाँले बताउनु भयो । ललितपुर महानगर शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राखेर काम गरेको प्रष्ट पार्नुभयो ।

    उक्त प्रतियोगितामा महानगरका २४ वटा वडाका ६ सय ३७ खेलाडीको सहभागिता रहनेछ । उनीहरुबीच १६ वटा विधामा प्रतिस्पर्धा हुने महानगरका प्रवक्ता तथा वडा नंं.९का वडा अध्यक्ष राजु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको सबै विधामा पहिलो,दोस्रो, तेस्रो हुनेलाई नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता ललितपुर महानगरपालिकाको वडा नंं.९स्थित गःछेँ टोलमा आयोजना गरिएको छ ।

    टेबुल टेनिसका राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपालीले टेबुल टेनिसको राष्ट्रिय खेलाडी उत्पादन गर्न यो प्रतियोगिगताले धेरै मद्दत गर्ने बताउनु भयो । ललितपुर महानगरले आयोजना गर्ने टेबुल टेनिस प्रतियोगिता रात्रीकालीन प्रतियोगिता भएको बताउँदै भन्नुभयो, ‘ यो प्रतियोगिताको यो विशेषता हो, यो प्रतियोगिताको यो पहिचान पनि हो , रात्री आयोजना हुने प्रतियोगिता हेर्न निकै रमाइलो हुन्छ, रोमाञ्चक हुन्छ । ’ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले ललितपुरले खेलकुदका अन्य विधासँगसँगै टेबुल टेनिसलाई पनि प्राथमिकता दिएकोमा धन्यवाद दिनुभयो ।

    जिल्ला टेबुल टेनिस संघ, ललितपुरका अध्यक्ष आशिष अवालेले खेलप्रेमीका लागि यो उत्सव भएको बताउनु भयो । जोसिला खेलाडी सहभागी भएको यो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि सहयोग गर्ने बताउनु भयो । यस वर्षको यो प्रतियोगिता ललितपुर महानगर वडा नं.९ले जिल्ला टेबुल टेनिस संघ, ललितपुरसँग सहकार्य गरी आयोजना गरेको हो । अघिल्ला वर्ष यो प्रतियोगिता वडा नंं. ११ ले आयोजना गरेको थियो । अर्को वर्ष प्रतियोगिता आयोजना गर्न चाहने वडाले यो प्रतियोगिताको अन्तिम दिनमा नै घोषणा गर्नुपर्छ ।

  • कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स एनपिएलको फाइनलमा

    काठमाडौँ, बिहीबार, ४ पौष २०८१ । कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो ।

    जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग यही पुस ६ गत प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

    जनकपुरको यो जितमा जिमी निशमले १७ बल खेल्दै दुई चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । शेर मल्लले अविजित १६ रन जोडे । हर्ष ठाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन बनाएका हुन् ।

    बलिङतर्फ कर्णाली याक्सका विपिनप्रसाद शर्माले तीन विकेट लिए भने सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले समान एक/एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा सर्वाधिक २५ रन बनाएका हुन् ।

    त्यस्तै ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्दुई चौकाको सहयोगमा १२ रन जोड्दा १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाएका थिए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

    कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाएका थिए । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुई÷दुई विकेट र हर्ष ठाकर र शेर मल्लले समान एक/एक विकेट लिएका थिए ।

  • चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपिएलको क्वालिफायरमा प्रवेश

    काठमाडौँ, बुधबार, ३ पौष २०८१ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ ।

    यस जितसँगै कर्णाली याक्सले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । यस खेलको विजेता टोली भने प्रतियोगिताको फाइनमा पुग्नेछ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज कर्णाली याक्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको चितवन राइनोज निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रनमा समेटियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३४ बल खेल्दै तीन चौका र चार छक्काको सहयोगमा ५३ रन बनाएका हुन ।

    त्यसैगरी कप्तान कुशल मल्लले २१ रन बनाए भने विपिन रावलले १८ रन जोडे । लुक बेनकिस्टेनले १६ रन बनाए भने शरद भेषवाकरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ कर्णाली याक्सका जिसन मोक्सुदले तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान दुई÷दुई विकेट लिए । त्यस्तै विपिन शर्माले एक विकेट झारे ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।

    त्यसैगरी विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे । त्यस्तै जिसन मक्सुदले १४ रन बनाए । चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक÷एक विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा पनि कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको थियो ।

  • सिरानचोकमा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    सिरानचोकमा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितागोरखा, बिहिबार, २० मङ्सिर २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुद क्षेत्रको विकास गण्डकी प्रदेश सरकारको प्राथामिकता भएको बताउनु भएको छ । गोरखाको सिरानचोक गाउँपालिकामा हिजोदेखि सुरुभएको पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो वताउनु भएको हो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई खेलकुदको हवको रुपमा सकिने गर्न सकिने समेत वताउनुभयो ।

    ‘‘गण्डकी प्रदेशलाई खेल क्षेत्रको हवको रुपमा विकास गर्नका लागि भौतिक रुपमा होइन वातावरणीय हिसावमा पनि उत्तिकै राम्रो सम्भावना रहेको छ, उहाँले भन्नुभयो, ‘‘प्रदेश सरकारले त्यहीँ अनुरुप खेलको क्षेत्रको विकासलाई अघि बढाइरहेको छ ।’’ खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट बिनियोजन गरेर सरकारले काम गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाई छ ।

    उहाँले उच्च तापक्रमदेखि न्युन तापक्रमसम्म रहेको भूगोल गण्डकी प्रदेश भित्र समेटिएकाले सवै जस्तोसुकै वातावरणमा पनि खेल्नसक्ने खेलाडीको उत्पादन गण्डकी प्रदेशले गर्नसक्ने बताउनुभयो । उहाँले पछिल्लो समय खेल क्षेत्रबाट खेलाडीले प्रसस्त नाम र दाम दुवै कमाउनसक्ने अवस्था भएकाले खेल क्षेत्रप्रतिको आर्कषण पनि बढ्दै गएको बताउनुभयो ।

    ‘‘हिजो खेलेर जीवन यापन गर्न सकिने अवस्था थिएन, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, अहिले राम्रो खेलाडी उत्पादन गर्नसके नाम दाम दुवै कमाउन पनि सहज भएको छ, खेलकुदमा गरिने लागनीले खेर जाने अवस्था छैन ।’’ उहाँले खेल क्षेत्रको विकासका लागि ‘एक पालिका, एक रङशाला’ निर्माण गर्नुपर्ने भन्दै त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

  • तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

    ललितपुर, मंगलबार, १८ मङ्सिर २०८१ । ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ ।

    प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भेट्रान खेलाडी कुमार मोहनबहादुर शाहीले उद्घाटन गर्नुभयो ।प्रतियोगिताको पहिलो दिन पुरुष एकलमा वरीयताप्राप्त खेलाडी भोजपुरका बिशाल तामाङ्ग र एपिएफका भोजबहादुर गुरुङ्गले विजयी सुरुवात गर्नुभएको छ ।

    तामाङ्गले नेपाल पुलिसका हिराबहादुर राईलाई २१–१७, २१–५ र गुरुङ्गले ललितपुरका सुविन श्रेष्ठ (ए) लाई २१–११, २१–११ ले हराउनुभयो । कैलालीका शिषिर रानाले दार्चुलाका पप्पु पाललाई २१–१०, २१–१४ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले महोत्तरीका इशान झालाई २२–२०, २०–२२, २१–१३ ले पराजित गर्नुभयो ।

    एपिएफका क्षितिज खनालले युनिटी ब्याडमिन्टन एकेडेमीका नरेन्द्र बमलाई २१–१५, २१–१८, सेनाका सौर्य महर्जनले गार्खाका मुकुल गुरुङ्गलाई २१–१३, २१–१६, पुलिसका पूर्ण बहादुर थापाले काभ्रेका अंकित भोछिभ्वयलाई २१–१२, २१–९ले हराउनुभयो । पाँच दिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

  • एसियन प्यासिफिक करातेमा एरिका गुरुङलाई स्वर्ण

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । नेपालकी कराते स्टार एरिका गुरुङ्गले सिंगापुरमा जारी १६औँ एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ ।

    १९औँ एसियन गेम्सकी रजत विजेता एरिकाले सिनियर महिला ६८ केजी तौलमाथि स्वर्ण जित्नुभएको हो । च्याम्पियनसिपमा नेपालकी अन्जली महर्जनले महिला तर्फ–५० केजी तौलमा स्वर्ण जित्नुभएको छ ।

    च्याम्पियनसिपमा महिलातर्फ दुई स्वर्ण जितेको नेपालले थप दुई रजत र पाँच कांस्यगरी नौ पदक जितेको नेपाल कराते महासङ्घले जनाएको छ ।

    च्याम्पियनसिपमा नेपालकी एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्वुले महिलातर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको–५५ किलो तौल समुहमा रजत पदक दिलाउनु भएको छ ।

    यस्तै सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियरतर्फ–४५ किलो तौल समुहमा पोरसिया चौधरी, महिलाकै–६८ किलो तौल समुहमा आशिका राई, पुरुषतर्फको १६ वर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुषतर्फ–८४ किलो तौल समुहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाउनुभयो ।

    च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडी, ब्यवस्थापक, रेफ्री र अफिसियलगरी ३० जनाको सहभागिता रहेको थियो । पतियोगितासँगै आइतबार एसियन प्यासिफिक सितोरियो करातेको विशेष अधिवेशन (कंग्रेस) हुनेछ ।

    जसमा नेपालबाट नेपाल सितोरियो कराते सङ्का अध्यक्ष दावा गुरुङ्ग र सितोरियो करातेका संरक्षक एवं नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले सहभागिता जनाउनुहुनेछ । नेपाली कराते टोली सोमबार स्वदेश फर्कनेछ ।

  • काठमाडौंमा आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट

    काठमाडौँ, शनिबार, १५ मङ्सिर २०८१ । नेपालमा पहिलोपटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट आज (शनिबार) काठमाडौंमा सुरु हुँदै छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपिएलको भव्य शुभारम्भ हुनेछ ।

    देशभित्र मात्र नभएर विदेशमा समेत धेरैको ध्यान तानिरहेको नेपाली क्रिकेटको महाकुम्भ मेलाको पहिलो खेल दिउँसो साढे १२ बजेबाट हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । जसमा विराटनगर किङ्स र जनकपुर बोल्ट भिड्नेछन् । खेलभन्दा अगाडि क्यानले औपचारिक समारोहको आयोजना गरेको छ । उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भइसकेको छ । क्यानले उद्घाटन खेलका लागि भिआइपीतर्फ ६ सय र साधारणतर्फ नौ हजार दुई सय टिकट बिक्री गरिसकेको छ ।

    एनपिएलमा विभिन्न ठाउँको प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि दाबेदारी पेस गर्नेछन् । घरेलु मैदानमा मात्र नभई अन्तर्राष्ट्रिय मैदानमा पनि तहल्का मच्चाउन सफल नेपाली खेलाडीसँगै विदेशी खेलाडीलाई अनुबन्ध गरेर टोलीहरू बलियो देखिने होडमा छन् । क्यानले आयोजना गरेको पहिलो संस्करणको एनपिएल सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिता छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति धेरैको चासो बढेको छ ।

    नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो । ‘नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि हो, देश विदेशका नेपाली र विदेशी क्रिकेट प्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘क्रिकेटप्रति नेपालीहरूले देखाएको उत्साह र समर्पणले क्यानलाई पनि ऊर्जा थपिएको छ ।’ क्रिकेटप्रेमीको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विश्वकपसहित उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रँदै छन् । हरेक टिममा न्यूनतम् चारदेखि अधिकतम् छ जनासम्म विदेशी खेलाडी रहने क्यानले जनाइएको छ ।

    दर्शकको बाक्लो उपस्थिति रहने निश्चित
    स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ । योपटक आठवटा पिचलाई नयाँ तरिकाले निर्माण गरिएको छ । साथै दर्शकले पहिलोपटक डिजिटल स्कोर बोर्डको आनन्द उठाउन पाउनेछन् । त्यस्तै, मैदानमा बाउण्ड्री पनि बढाइएको छ । दर्शकहरूका लागि भिआइपी र साधारण दुवैतर्फ बस्ने व्यवस्था गरिएको छ । त्यस्तै, फिक्स्ड साइड स्क्रिन, मिडिया बक्स, प्राक्टिस पिचहरूमा समेत राम्रो मिहिनेत गरिएको छ ।

    यसपटक दर्शकका लागि जोन छुट्याएर निश्चित संख्यामा मात्र राख्नेगरी निर्माण सम्पन्न गरेको छ । सधैँ दर्शकका लागि शौचालय नभएको समस्या यसपालि समाधान भएको छ । महिला र पुरुष दर्शकका लागि अलग-अलग बाथरुम व्यवस्था भएको छ ।
    एनपिएल पहिलोपटक विश्वचर्चित स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा लाइभ हुनेछ । त्यस्तै, टिभी नहुनेहरूले पनि एनपिएल सहज रूपमा युट्युबमा समेत हेर्न पाउनेछन् । योपटक एनपिएलको युट्युब राइट डिश मिडिया नेटवर्कले लिएको छ । एनपिएलको सबै खेल युट्युबमा डिस होमको एक्सन स्पोर्ट्सबाट लाइभ हुनेछ ।

    यस्तो छ आठ टिमको ‘स्क्वाड’
    लिगमा आठ टिमको सहभागिता छ । जसमध्ये जनकपुर बोल्ट्समा आसिफ शेख मार्की खेलाडी हुनुहुन्छ । टिममा ललित राजवंशी, अनिलकुमार साह, रूपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापामगर, जिमी निशम (न्युजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) र प्रशिक्षक पुबुदु दासानायके रहनुभएको छ ।

    विराटनगर किंग्समा सन्दीप लामिछानेको कप्तानी रहेको छ । विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामीमगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्याण्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्याण्ड), इस्मल आलम (अफगानिस्तान) रहनुभएको छ भने प्रशिक्षक केभिन ओ ब्राइन रहनुभएको छ ।

    लुम्बिनी लायन्समा नेपालका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहनुभएको छ । उहाँका साथै सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अष्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इङ्ल्याण्ड), रेमन सिमन्ड्स (वेस्टइण्डिज), शादबिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक) हुनुहुन्छ । प्रशिक्षक नन्दन फाडनिस रहनुभएको छ ।

    चितवन राइनोजमा कुशल मल्ल मार्की खेलाडी रहनुभएको छ । रिजन ढकाल, कमलसिंह ऐरी, शरद् भेषावकर, विपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमरसिंह रटैला, दीपक बोहरा, रञ्जीतकुमार, गौतम केसी, रवि बोपारा (इङ्ल्याण्ड), मार्चण्ड डे लांग (दक्षिण अफ्रिका), (चोटले अनुपस्थित हुने) हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्युक मार्टिन बेनकेन्स्टाइन (इङ्ल्याण्ड), सलाहुद्दिन खान (आइकोनिक) खेलाडी तथा उमेश पटवाल प्रशिक्षक रहनुभएको छ ।

    करण केसीको कप्तानीमा रहेको टिम काठमाडौंमा शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्याण्ड), स्टेफन इस्किनाजी (इंग्ल्याण्ड), ड्यान डौथवेट (इंग्ल्याण्ड), माइकल लेभिट (नेदरल्याण्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक) रहनुभएको छ । वसन्त शाही काठमाडौंको प्रशिक्षक हुनुहुन्छ ।

    फ्रेञ्चाइज टिम पोखरा एभेन्जर्समा कुशल भुर्तेलको कप्तानी रहेको छ । पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्याण्ड्स), म्याट क्रिचली (इंग्ल्याण्ड), रेमन राइफर (वेस्टइण्डिज), माइकल लिस्क (स्कटल्याण्ड), सुदीप आर्याल (आइकोनिक) खेलाडी हुनुहुन्छ । पोखरा एभेन्जर्सले राजीव कुमारलाई प्रशिक्षक बनाएको छ ।

    कर्णाली याक्समा सोमपाल कामी मार्की खेलाडी रहनुभएको छ । गुल्शनकुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्टइण्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक) तथा ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहनुभएको छ ।

    दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अभिनाष बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्राण्डन मक्मलेन (स्कटल्याण्ड), सेफ अलि जेब (इंग्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (युएई), वसन्त खत्री (आइकोनिक) खेलाडी रहनुभएको छ ।

    नेपालसँगै १६ भन्दा बढी देशका खेलाडी प्रतियोगितामा सहभागी हुँदै छन् । यी खेलाडीलाई मैदानमा उत्रन तिखार्ने भूमिकामा रहेका मुख्य प्रशिक्षक तम्तयारी अवस्थामा छन् । एनपिएलका आठ प्रशिक्षकमा घरेलु टोली नेपाल र छिमेकी भारतको वर्चस्व छ । नेपाल र भारतका तीन-तीनजना प्रशिक्षक छन् । यस्तै, श्रीलंका र आयरल्याण्डका एक-एकजना छन् ।

  • नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक

    काठमाडौँ, सोमबार, १० मङ्सिर २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गर्नुभयो । उहाँले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गर्नुभएको हो ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गर्नुभयो । उहाँले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले नेपाली क्रिकेट खेलाडी तथा एनपिएलका आठ टोलीकै मार्की खेलाडीको खुलेर प्रशंसासमेत गर्नुभयो । उहाँले सम्बोधनको क्रममा सुरुमै जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखको प्रशंसा गर्नुभयो । उहाँले शेखले स्पोर्टम्यानसीप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको श्रव्यदृश्य आफूले पनि हेरेको उल्लेख गर्दै उहाँलाई ‘क्याप्टेन कूल’को उपनाम दिनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले स्पोर्टम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल श्रव्यदृश्य मैले पनि हेरेको थिएँ । जनकपुर झैँ शान्त स्वभाव कायम रहोस् । आसिफ शेखलाई क्याप्टेन कूल, शान्त भनेर उपनाम दिएपनि हुन्छ जस्तो लाग्छ ।”

    प्रधानमन्त्री ओलीले काठमाडौंँ गुर्खाजका मार्की खेलाडी करण केसीलाई ‘भ्यालेन्टाइन बोय’ सम्बोधन गर्नुभयो । करणले राजधानीको नाम राख्ने आफूले आशा लिएको उहाँले जिकिर गर्नुभयो । “काठमाडौँ गुर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन बोय भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ”, उहाँले भन्नुभयो, “उहाँले राजधानीको नाम राख्ने आशा लिएको छु ।”

    सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई विश्वले नै बलर हुन् कि ब्याटर छुट्याउनै नसकेको बताउनुभयो । उहाँले यस पटक ९९ रनमा आउट हुन् नपरोस् भन्दै शतक हान्न शुभकामना दिनुभयो ।

    “पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्याउनै गाह्रो हुने उहाँको कौशल छ । विश्वले नै छुट्याउन सकिरहेको छैन् जस्तो लाग्छ । मैले मात्रै होइन्”, कुशलको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसपटक ९९ रनमा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ ।”

    प्रधानमन्त्री ओलीले चितवन राइनोजलाई आफूले ‘गैँडाज’ भन्ने बताउनुभयो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्लको छक्का हान्ने शैली मनपर्ने उल्लेख गर्दै उहाँले आँखिर चितवन गैँडाजका कप्तान हो नि ! भन्दै प्रशंसा गर्नुभयो । “हाम्रो साथीहरुले चितवन राइनोज भन्नुभएको छ, मैले चितवन गैँडाज भन्छ”, उहाँले भन्नुभयो–“चितवन राइनोज अर्थात् गँैडाजका कप्तान कुशल मल्ल हेर्दा अल्लि सानो÷सानो लाग्ने । ज्यानमा ताकत बोकेर छक्का हान्ने शैली साह्रै मनपर्छ ।”

    लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेलको नाम सुन्दै गर्व लाग्ने भन्दै प्रधानमन्त्री ओलीले उहाँको प्रसंशा गर्नुभयो । जसले जिते पनि रोहितलाई फाइदा हुने भन्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुने धारणा राख्नुभयो ।

    “लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । जसले जिते पनि रोहितलाई फाइदा छ, आँखिर देशले जित्छ र नेपाली क्रिकेटका कप्तान भएको नाताले उहाँले जितेकै हुनेछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    विराटनगर किङग्स्का मार्की खेलाडी सन्दीप लामिछाने नेपाली क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको सुनाउनुभयो । “विराटनगर किङ्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बासडर जस्तै हुनुभयो । बीबीएलदेखि आइपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ ।”, उहाँले भन्नुभयो, “त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ ।”

    कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीका योरकरलाई भुल्न नसकिने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउने उल्लेख गर्दै अर्को टी– ट्वेन्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न सुझाव दिनुभयो ।

    “कर्णाली याक्सका सोमपाल कामीका ती योरकरलाई कसले भुल्न सक्छ र ? सोमपालले कर्णालीको चिसो पानीको ताकत मैदानमा देखाउनेछन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाललाई अर्को टी– ट्वान्टी विश्वकप खेल्ने तयारीमा राम्ररी जुट्न मेरो सल्लाह छ ।”

    प्रधानमन्त्री ओलीले सुदूरपश्चिम रोयल्सलका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीलाई बाघको संज्ञा दिनुभयो । उहाँले ऐरीको ६ छक्काको कीर्तिमान आफुलाई स्मरण रहेको उल्लेख गर्दै यस्ता थुप्रै कीर्तिमान बताउन समेत शुभकामना दिनुभयो । “अन्तिममा हिरोको पालो आउँछ, मेरो फेभरेट नै जस्तो भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ”, उहाँले भन्नुभयो, “एनपीएलमा यस्ता थुप्रै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि विशेष शुभकामना छ ।”

    पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) यहीँ मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।

  • माघ १३ गतेदेखि ‘बी’ डिभिजन लिग गर्ने एन्फाको तयारी

    ललितपुर, शनिबार, ८ मङ्सिर २०८१ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘बी’ डिभिजन लिग १३ माघबाट सुरु गर्ने तयारी गरेको छ । सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा भएको एन्फा र क्लबका पदाधिकारीको बैठकले १३ माघबाट लिग गर्ने निर्णय गरेको हो । लिगमा सहभागी हुन क्लबले १३ मंसिरसम्म दर्ता गर्नुपर्नेछ । खेलाडी दर्ताको अन्तिम मिति २४ मंसिर रहेको छ ।

    बैठकले लिगको खेल तालिका १३ पुसमा सार्वजनिक गर्ने जनाएको छ । बैठकमा १४ मध्ये १० क्लबका पदाधिकारी उपस्थित भएनन् । १० क्लबका पदाधिकारीले बक्यौता रकम नदिँदासम्म लिगमा सहभागी नहुने अडान राखेका छन् ।

    असन्तुष्ट १० क्लबका पदाधिकारीले बक्यौता फर्स्यौट भएमात्र एन्फाले बोलाएको बैठकमा सहभागी हुने जनाएका छन् । दुई वर्षदेखि पटक-पटक ‘बी’ डिभिजन लिगको मिति तय गरे पनि प्रतियोगिता आयोजना हुनसकेको छैन । एन्फाले मध्यपुर युथ एसोसिएसनलाई कारबाही गरेपछि बैठक सौहार्दपूर्ण हुनसकेको छैन । एन्फाले ०७९ र २०८० मा शहीद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गरेको थियो ।

  • मनकामनादेखि गोरखा दरबारसम्म ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन हुने

    गोरखा, मंगलबार, ४ मङ्सिर २०८१ । गोरखामा पहिलो पटक मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन दौड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, गोरखाको आयोजनामा यही मंसिर २९ गते म्याराथन दौड हुन लागेको हो ।

    खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित म्याराथनको आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिंह बस्नेत(शान्तसिँह)ले बताए । मनकामना मन्दिर परिसरबाट सुरु हुने म्याराथन ताक्लुङ, तीनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भँगार (लखन थापा स्मारक), बुङ्कोट, ढुंगागाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, कालोबरचौतारा तीनचापेखानेपानी कार्यालय, पस्लाङ चौतारा, धारापानी, विपिचौतारा, ठूलोआँगन हुँदै सतिपिपल, गैह्रीकुवा, हनुमानढोका, गोरखकाली मन्दिर, हनुमान थानसम्म ४२.१९५ किलोमिटरको म्याराथन हुन लागेको हो ।

    ‘धार्मिक रुपमा निकै महत्वपुर्ण मानिने मनकामना भगवती र गोरखकाली भगवती दिदी बहिनी हुन् तर मनकामनाको तुलनामा गोरखकाली मन्दिर ओझेलमा परेको अवस्था छ’, अध्यक्ष बस्नेतले भने, ‘मनकामना आएका पर्यटकहरुलाई गोरखकाली मन्दिरसम्म आउने वातावरण सिर्जन गर्ने प्रमुख उद्देश्यका साथ यो म्याराथनको आयोजना गरिएको हो ।’

    म्याराथनका लागि करिब २७ लाख ११ हजार २५० रुपैँया खर्च लाग्ने अनुमान गरिएको उनले बताए । जसमध्य प्रदेश खेलकुद परिषदको रु ५ लाख रकम सुनिश्चित भईसकेको उनको भनाइ छ । स्थानीय सरकार र विभिन्न संघ संस्थाहरुबाट रकम संकलन गरेर कार्यक्रम सम्पन्न गर्न लागेको उनले बताएका छन् ।

    म्याराथनको उद्घाटन तथा समापन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् भने स्वयमसेवकको भूमिका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाह गर्ने छन् । प्रतियोगिताका लागि सातैवटा प्रदेशका खेलकुद परिषदहरुलाई आह्वान गरिएको बताइएको छ ।

    उक्त प्रतियोगितामा १५० भन्दा बढीले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खेलाडी प्रवेशशुल्क जिल्लाबासीको हकमा निशुल्क र अन्यको हकमा रु पाँच सय रहेको समितिको भनाइ छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौँथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ पुरस्कार क्रमशः रु डेढ लाख, एक लाख, ७५ हजार, ६० हजार, ५० हजार, ४० हजार, ३५ हजार, २५ हजार, २० हजार र १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समितिको भनाइ छ ।