Category: खेल

  • इतिहास रच्न पाउँदा गर्व लागेका छ : कप्तान पूजा

    काठमाडौं । विश्वकपमा छनोट इतिहास रच्न सफल नेपाली यू-१९ महिला टोलीका सदस्यहरूलाई नेपाल प्रिमियर लिग (एनपिएल)का आठ फ्रेन्चाइजले संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । ऐतिहासिक उपलब्धिको सम्मान स्वरूप एनपिएलका सबै आठ फ्रेन्चाइज टोलीले संयुक्त रूपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

    यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरूप जनही दुई लाख ५० हजार दिने घोषणा गरेको थियो । टिममा समावेश अफिसियलहरूलाई भने जनही एक लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

    नेपालले बुधबार भएको खेलमा यूएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले आगामी वर्ष जनवरी-फेब्रुवरीमा मलेसियामा हुने विश्वकप खेल्नेछ । यस्तै त्यसअघि नेपालले आगामी डिसेम्बरमा एसीसी यू-१९ महिला एसिया कप खेल्नेछ ।

    कप्तान पुजासहित तीन खेलाडीलाई मधेस प्रदेश सरकारले नगदसहित सम्मान गर्ने
    मधेस प्रदेश सरकारले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेस प्रदेशका खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने भएको छ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गराउन भूमिका खेलेका उनीहरूलाई प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही एक लाख ५१ हजार नगदसहित सम्मान गर्ने मन्त्री प्रमोद जयसवालले जानकारी गराउनुभयो ।

    राष्ट्रिय टोलीमा कप्तान पुजा महतो, सना प्रवीन र अलिशा कुमारी यादव मधेस प्रदेशका खेलाडी हुनुहुन्छ । उहाँहरूलाई प्रदेश सरकार खेलकुद मन्त्रालयले सम्मान गर्ने छ । यस्तै प्रदेश सरकारले तीन खेलाडीका बुबा–आमालाई पनि खादा लगाएर सम्मान गर्ने जनाएको छ ।

    भरतपुर महानगरपालिकाले सम्मान गर्ने
    भरतपुर महानगरपालिकाले नेपाली महिला यू-१९ क्रिकेट टिममा छनोट भएका १४ खेलाडीलाई सम्मान गर्ने भएको छ । शसक्रबार नेपाल चिकित्सक संघले गरेको एनएमए स्पोर्ट्स फिष्टको उद्घाटनमा मेयर रेणु दाहालले उक्त घोषणा गर्नुभएको हो ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा गत माघमा ६ दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । ७ प्रदेशका देशभरका ११५ खेलाडी सम्मेलित प्रतियोगिताबाट २४ जना खेलाडीहरू विश्वकपको क्याम्पका लागि छनोट भएका थिए । २४ जनामध्येबाट छानिएका १४ जना महिला खेलाडी विश्वकपका लागि छनोट भएका हुन् ।

    सन् २०२७ मा हुने यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताका केही खेल नेपालमा गर्ने आईसीसी भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको उहाँले बताउनुभयो । नेपाल क्रिकेट संघ (क्यान)लाई यसका लागि आवश्यक वातावरण मिलाइदिनसमेत मेयर दाहालले आग्रह गर्नुभयो ।

    नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले नेपालको नेतृत्व गरेर इतिहास रच्न पाउँदा गर्व लागेको बताउनुभएको छ । यू-१९ महिला टी-२० विश्वकपमा पहिलो पटक छनोट भएर बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूजाले यस्तो प्रतिक्रिया दिनुभएको थियो ।

    नेपाली महिला क्रिकेट टोलीले आईसीसी यू-१९ महिला क्रिकेट विश्वकपमा स्थान बनाउनु निकै खुशीको कुरा भएको उहाँको भनाइ थियो । उहाँले नेपाली टोलीको कप्तानी गरेर खेल्न पाउँदा गर्वको महसुस भएको बताउनुभयो । त्यस्तै टोलीकी उपकप्तान सोनी पाख्रिनले सबैको लक्ष्य विश्वकपमा पुग्ने भएको र सबैको मिहिनेतका कारण त्यो पूरा भएको सुनाउनुभयो ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले दाङको लमहीमा तयारी गर्दादेखि नै छनोट प्रतियोगिताको महत्वबारे खेलाडीलाई बुझाएको र दिल्लीमा खेलिएको अभ्यास खेलले गर्दा विश्वपमा छनोट हुन सजिलो भएको बताउनुभयो । उहाँले अब नेपाली महिला क्रिकेटमा स्वर्णिम युगको सुरुवात भएको दाबी गर्नुभयो ।

    नेपाली युवा महिला टोलीलाई बिहीबार साँझ त्रिभुवन विमानस्थलमा ब्याण्ड बाजासहित भव्य स्वागत गरिएको थियो । विश्वकप पुगेको टोलीलाई स्वागत गर्न राखेप सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्कालगायत क्यान पदाधिकारी र क्रिकेट समर्थक विमानस्थल पुगेका थिए ।

  • ईन्टर कलेज ई स्पोर्ट्स साउथ वेस्टन कलेजमा हुने

    ललितपुर, शुक्रबार, ३० कात्तिक २०८१ । ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप आगामी पौष २६ र २७ गते हुने भएको छ । संघको वार्षिक क्यालेन्डर अनुसार कलेज स्तरको प्रतियोगिता पौषको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने पक्का भएको हो ।

    प्रतियोगितामा पब्जी मोबाईल, एमएलबीबी, ई फुटबल र फ्रि-फायर गरी चार विधालाई समावेश गरिएको छ । करिब ५ लाख पुरस्कार राशी रहने प्रतियोगितामा देशभरका कलेजका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् ।

    चार खेल विधाका विजेता टिम तथा खेलाडीलाई ५ लाख रुपैयाँको पुरस्कार रकम बाँडिनेछ । ईशानको वेब साईटमा गएर खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्नेछन् । खेलाडी दर्ता मङ्सिर २ गतेदेखि सुरु हुनेछ र मङ्सिर ३० गतेसम्म चल्नेछ । छनोट खेल अनलाईनमार्फत र फाइनल खेल ल्यान ईभेन्टको रुपमा पुस २६ र २७ गते सञ्चालन गरिने तालिका रहेको छ ।

    प्रतियोगितामा देशभरका कलेजबाट सहभागीता जनाउने सकिने आयोजक संघका सचिव आशिष दाहालले बताए । सम्बन्धित कलेजको सिफारिस पत्रका आधारमा खेलाडीले प्रतियोगितामा नाम दर्ता गर्न सक्नेछन् । खेलाडीको सिफारिससँगै सहभागी हुने सम्बन्धित कलेजले ईशानको ई स्पोर्ट्स क्लबमा आबद्धताका लागि पत्र समेत दिनुपर्नेछ ।

    खेलाडीको ग्रासरुट मानिने विद्यालय कलेजमा ई स्पोर्ट्स क्लब गठन गरेर सम्बन्धित खेल र खेलाडीको विकासमा तल्लो तहबाट काम गर्ने उद्धेश्यले प्रतियोगितासँगै सबै कलेजमा ई स्पोर्ट्स क्लब बनाउन लागिएको दाहालले बताएका छन् ।

  • पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम

    गण्डकी, बुधबार, २१ कात्तिक २०८१ । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ ।

    नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुनेछ । समूह विजेताले रु चार लाख ५८ हजार, उपविजेताले रु तीन लाख ४३ हजार, व्यक्तिगत विजेता महिला र पुरुषले समान रु एक लाख ५२ हजार पाउनेछन् ।

    विद्यार्थीतर्फको प्रतिष्पर्धाका विजेताले रु ३० हजार पाउँने छ । पचास किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर सम्पन्न हुनेछ ।

    प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिनुुभयो । प्रतियोगिताले नेपाल र चीनबीचको युुगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउनुुका साथै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    साहसिक खेलकुदको सहरका रूपमा परिचित पोखरामा यो प्रतियोगिताका साथै इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङलगायत अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुँदै आएका छन् । पोखरामा प्याराग्लाइडिङमा जिपलाइन, बञ्जी, अल्ट्रालाइटजस्ता साहसिक पर्यटनका निम्ति पनि चिनियाँ पर्यटक आउने गरेका छन् ।

    नेपालमा आउने चिनियाँ पर्यटकमध्ये ४० प्रतिशतले पोखरामा भ्रमण गर्ने होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । चीनबाट धेरै पर्यटक भित्र्याउन सकिने पोखरा पर्यटन परिषद्का उहाँले बताउनुुभयो । व्यापारिक प्रयोजनका लागि पनि चिनियाँ पोखरा आउने गरेका छन् ।

    क्रस कन्ट्री प्रतियोगिताले पोखरासहित समग्र मुलुकका पर्यटकीय क्षेत्रको चीनमा प्रवर्द्धन हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ ।

    क्रसकन्ट्री रेसका लागि चीनबाट सिछुवान विमान सेवाको विमान चार्टर गरेर एक सय ४० जना खेलाडी पोखरा विमानस्थलमा अवतरण गर्ने जानकारी दिँदै अध्यक्ष सुवेदीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण पूरा भई सञ्चालन भए पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा विदेशबाट विमान चार्टर गरेर सोझै पोखरामा अवतरण हुनु सकारात्मक भएको बताउनुभयो ।

    प्रतियोगिता नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा हुनलागेको हो । प्रतियोगिताका क्रममा भोलिदेखि तीन दिनसम्म ‘पोखरा–कुन्मिङ इन्टरनेशनल फ्रेण्डसीप सिटिज लिग’ हुनेछ । पोखरा पर्वतीय सङ्ग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी प्रदर्शनी पनि हुनेछ । त्यस क्रममा खेलकुद परिषद्लाई युनान खेलकुद ब्यूरोले खेल सामग्री तथा उपकरण प्रदान गर्ने कार्यक्रम छ ।

  • महिला फुटबलरको उपचार गर्नेछौँ : मन्त्री पौडेल

    काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ ।

    सोमबार खेलाडीको बन्द प्रशिक्षण स्थल पुगेर मन्त्री पौडेलले सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरुलाई बधाइ पनि दिनुभयो ।

    मन्त्री पौडेलले त्यसक्रमा एन्फा पदाधिकारीहरु र खेलाडिसामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा नि:शुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । ‘‘तपाईंहरु उच्च मनोबलका साथ खेल पस्कनुहोला,’ उहाँलेले भने, ‘‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौँ ।’’

    खेलाडीको हौसला बढाउँदै उहाँले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टिमका सबै खेलाडिहरुको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ ।

  • भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

    काठमाडौँ, सोमबार, १२ कात्तिक २०८१ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

    दशरथ रङ्गशालामा आइतबार राति भएको तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको हो ।

    टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी (साम्बा), गिता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गर्नुभयो । भारतकी मनिषा र पुरुषोत्तम शिरोभ्करले गोल गर्नुभयो । कप्तान आशालता देवीको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो । रन्जना चानुको प्रहारलाई भने नेपालकी गोलरक्षक अन्जना रानामगरले विफल पार्नुभयो ।

    यसअघि निर्धारित समयको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५१ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

    नेपालकी प्रभावशाली स्ट्राइकर रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि भुटानी रेफ्री चोकी ओमले रेखालाई दोहोरो पहेँलो (रातो) कार्ड देखाउनुभयो । त्यसपछि रेफ्रीको निर्णय प्रति असन्तुष्ट बनेका नेपाली समर्थकले नाराबाजी गर्दै मैदानमा बोतल फालेका थिए । जसको कारण खेल १३ मिनेट रोकिएर पुनः सुचारु भयो ।

    लगत्यै भारतकी संगीता बासफोरले डिबक्स छेउबाट उत्कृष्ट गोल गर्नुभयो । भारतका खेलाडी र अफिसियल संगीताको गोलमा खुसी मनाउन लाख्दा रेफ्रीले खेल सुचारु गर्नुभयो । जसमा नेपालकी प्रिति राईले गोल गर्नुभयो ।

    प्रितिले खाली पोस्टमा गरेको गोललाई विपक्षी खेलाडी हाफ मैदानमा नरहेको भन्दै रेफ्री चोकीले फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल नदिएपछि रङ्गशाला पुनः तनावपूर्ण बनेको थियो । नेपाली खेलाडी गोल नदिएका कारण खेल्न मानेनन् । अफिसियलले पनि तत्काल खेलाउन सकेनन् ।

    रेफ्रीको गलत निर्णयपछि १५ हजार दर्शकले रेफ्रीविरुद्ध नाराबाजी गरिरहेका थिए । दर्शकको आक्रोस नियन्त्रण गर्न सुरक्षा कर्मीलाई समेत हम्मेहम्मे परेको थियो ।

    करिव एक घण्टा तनावपछि खेल पुन: सञ्चालन भएको थियो । खेल सञ्चालन भएको पहिलो मिनेटमै सावित्राले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा नेपाल भाग्यमानी बन्यो । फाइनलमा नेपालले बुधबार साविक विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

    यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अघिल्लो संस्करणको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो ।