Category: राष्ट्रिय

  • नागढुङ्गा नौबिसे सडक १५ दिनसम्म दिउँसो बन्द हुने

    काठमाडौँ, बुधबार, ७ जेठ २०८१ । काठमाडौ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड १५ दिनसम्म दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य गरिने भएको छ ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए।यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो। आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति दिइएको हो ।

    ‘निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो’, प्रमुख जिल्ला अधिकारी तिवारीले भने ।

    नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौँबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाण्डौतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ । सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ। बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरु नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने छ ।

  • स्थानीय तहमा आपतकालीन गोदाम घर बनाउनुपर्नेमा जोड

    काठमाडौँ, आइतबार, १४ वैशाख २०८१ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । आज गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा उहाँले विपद्का घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताउनुभयो ।

    “यहाँबाट तपाईं हामी बसेर नीतिनिर्माण गर्ने हो”, गृहमन्त्री लेखकले भन्नुभयो, “यसलाई लागू गर्ने भनेको स्थानीय तहले भएकाले स्थानीय तहरूलाई सक्षम बनाउन पनि आपत्कालीन गोदाम घर अनिवार्य आवश्यकता हो ।” उहाँले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामग्रीहरू राख्नुपर्ने बताउनुभयो ।

    “प्रत्येक पालिकमा गोदामघर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन्, ती कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ”, मन्त्री लेखकले भन्नुभयो, “त्यसमा आधारभूत सामग्री राखौँ । ती गोदामघरलाई सङ्घ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौँ । तर आधार स्थानीयलाई बनाऔँ । हामी सबै त्यसमा समन्वय गर्न तयार छौँ ।”

    उहाँले चार वटा प्रदेशमा आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिँदै काठमाडौँबाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उल्ल्ेख गर्नुभयो । “प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमाडौँमा प्राधिकरणसँग समन्वय गर्नुपर्ने स्थिति थियो”, उहाँले भन्नुभयो, “अहिले नीतिगत तहबाट निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गर्ने काम भएको छ ।”

    विपद् व्यवस्थापनका विषयमा सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका रहने गृहमन्त्रीको भनाइ छ । “विपद्का विषय सम्बोधन हुनका लागि पूर्वसूचना समयमा हुनुप¥यो”, उहाँले भन्नुभयो, “विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुनर्निमाण र पुनःस्थापन महत्त्वपूर्ण विषय हुन् ।” उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सङ्गठित भएर सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

    “तपाईंहरूले सिकेका ज्ञान, सीप अनुभवले यो क्षेत्रलाई व्यवस्थित गर्न, नागरिकलाई हुनसक्ने जोखिमबाट जोगाउने काम गर्न सक्छौँ”, लेखकले भन्नुभयो, “त्यसका लागि सङ्गठित रूपले अगाडि बढ्नसके परिणाम दिनेछ । जोखिम न्यूनीकरण गर्न काम गर्न सकिन्छ ।”

  • सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक : प्रधानमन्त्री

    काठमाडौँ, सोमबार, १ वैशाख २०८२ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताउनुुभएको छ ।

    नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

    “नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गछौँ । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो ।’’

    प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’’

    प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

    मुलुकमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेका, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताउनुभएको छ ।

    सन्देशमा प्रधानमन्त्रीले भन्नुुभएको छ, “मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ ।’’

  • आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

    काठमाडौँ, आइतबार, २४ चैत्र २०८१ । मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरी आज (आइतबार) रामनवमी पर्व मनाइँदैछ । हेरक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिन्छ ।

    असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले आज (चैत २४)मा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको थियोे ।

    अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ । उहाँले रावण लगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । कर्तव्य पालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ ।

    रामनवमीमा रामको चरित्र वर्णन गरिएका भागवत लगायतका पुराण, रामायण लगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ । जनकपुरधाम भगवानको रामको ससुराली भएकाले यहाँ रामनवमी धूमधामसँग मनाउने गरिएको छ । त्रेतायुगमा भगवान् राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो ।

    राम नवमीको अवसरमा जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजापाठ गरिन्छ । जनकपुरस्थित राम जानकी मन्दिरमा भव्य मेला लाग्दछ आज । मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगा सागरमा स्नान गरी राम जानकी मन्दिरमा पूजाआजा गर्दछन् ।

    आज देशभरका नदी, ताल एवं कुण्डहरूमा नित्य स्नान गरी व्रत बस्ने गरिन्छ र राम गीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीक कृत्य भानुभक्तीय रामायणसमेत वाचन गरिन्छ । रामभक्तियुक्त भजन कीर्तनका साथ रात्रि जाग्राम बस्ने परम्परा समेत चलिआएको छ ।

    त्यस्तै काठमाडौं बत्तिसपुतलीस्थित राम मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ । यस्तै, देशभरका अन्य रामजानकी मन्दिरमा पनि दर्शकको घुइँचो लाग्ने गर्दछ ।

  • साेमबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

    काठमाडौँ, सोमबार, १८ चैत्र २०८१ । सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले बिदा दिइएको हो ।

    गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले एक विज्ञप्ति जारी गरी सोमबार बिदा दिइने निर्णय भएको जानकारी दिनुभएको छ ।

    इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

    रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

  • तालिम प्रदायकलाई निवेदन दिन आग्रह

    काठमाडौँ, शनिबार, १६ चैत्र २०८१ । वैदेशिक रोजगार विभागले देशगत क्लस्टर अनुसार अभिमुुखीकरण तालिम सञ्चालन गर्न इच्छुुक तालिम प्रदायक संस्थालाई क्लस्टर छनोट वा परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ ।

    अभिमुुखीकरण तालिम सञ्चालन कार्यविधि–२०७६ (दोस्रो संशोधन) ले छ वटा क्लस्टरमध्ये एकभन्दा बढी (बढीमा दुुई) मा तालिम सञ्चालन गर्न सकिने व्यवस्थाबमोजिम यो अवसर उपलब्ध गराएको हो । विभागले शुक्रबार सूचनामार्फत क्लस्टर छनोट वा परिवर्तन गर्न चाहने तालिमप्रदायक संस्थालाई सात दिनभित्र विभागमा निवेदन पेस गर्न आग्रह गरेको छ ।

    विभागका अनुसार विभिन्न छ वटा क्लस्टरमा मलेसिया, जिसिसीमा आबद्ध देश (साउदी अरब, कतार, कुवेत, युुएई, बहराइन र ओमान), जिसिसीमा आबद्ध नभएका देशहरू (किटानी साथ अन्य क्लस्टरमा नतोकिएका एसिया महादेश, अफ्रिका महादेश र अमेरिका महादेशका देश समावेश हुुने), जापान र दक्षिण कोरिया, इजरायल, टर्की र साइप्रसलगायतका युुरोप महादेशका देश समावेश हुुने उल्लेख छ ।

    अभिमुुखीकरण तालिमप्रदायक संस्थाले क्लस्टर छनोटका लागि सम्पूर्ण विवरण खुुलाई निर्वेदन दिएमा विभागबाट अनुुगमन गरी प्राप्त अनुुगमन प्रतिवेदनको विश्लेषणका आधारमा विभागलाई उपयुक्त लागेमा एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न अनुुमति दिन सक्ने छ । साथै यसरी क्लस्टर छनोट भइसकेपछि विभागबाट अर्को निर्णय नहुन्जेलसम्म क्लस्टर परिवर्तन गर्न नपाइनेसमेत सोही सूचनामार्फत जानकारी गराइएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानुअघिको तालिमलाई व्यवस्थित र प्रभावकारी बनाउन देशगत तालिमको व्यवस्था गर्दै तालिम कार्यविधि–२०७६ मा दोस्रो संशोधन गरेको थियो ।

    विभागले गरेको देशगत क्लस्टर छनोटका लागि १४३ वटा तालिमप्रदायक संस्थाले तोकिए अनुसारको पूर्वाधार निर्माण गरी देशगत क्लस्टर रोज्नुुपर्ने छ । जस अनुसार हाल गल्फ कोअर्डिनेसन काउन्सिल (जिसिसी) अन्तर्गतको खाडी मुलुकका लागि १०२ वटा, युरोप समूहका लागि २४ वटा, जापान–कोरिया समूहका लागि नौ वटा, मलेसियाका लागि छ वटा, जिसिसीबाहेकका लागि दुुई वटा र इजरायलका लागि सरकारी तालिम केन्द्र छुट्याएको थियो ।

  • गोरखाका आठ स्थानमा विद्युत् आयोजनाको सर्वेक्षण

    गोरखा, मंगलबार, २० फागुन २०८१ । गोरखा जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् ।

    बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर कम्पनीलाई सर्वेक्षण अनुमति दिइएको हो । चालु आर्थिक वर्षभित्र सर्वेक्षण पूरा गर्न दुवै कम्पनी सर्वेक्षणमा जुटेका छन् ।

    चुन्चेत र सिर्दिबासमा २०३ मेगावाट क्षमताको ‘माथिल्लो बूढीगण्डकी जलविद्युत् आयोजना’ निर्माणको अनुमित नबिल डेभ्लोपर्सले पाएको छ । मस्र्याङ्दीबाट ९० मेगावाट जलविद्युत् निकाल्न पेल्मा हाइड्रोपावर प्रोजेक्टलाई सर्वेक्षण अनुमति दिइएको छ । यो कम्पनीले गोरखाको पालुङटार नगरपालिका र तनहुँको भानु नगरपालिकामा ‘मस्र्याङ्दी खोला जलविद्युत् आयोजना’ निर्माणका लागि आगामी असोजभित्र सर्वेक्षणको काम सम्पन्न गर्ने जनाएको छ ।

    एमए इनर्जी भेञ्चर्सले पनि गोरखामा जलविद्युत् सर्वेक्षण गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको छ । कम्पनीले सहिद लखन गाउँपालिकास्थित देउराली, मनकामना र बक्राङको दरौँदीबाट १४।९ मेगावाट क्षमताको ‘दरौँदी÷मस्र्याङ्दी जलविद्युत् आयोजना’ निर्माणको सर्वेक्षण गर्न लागेको हो ।

    खानदह हाइड्रोपावर प्रालिले ‘सुपर दरौँदी खोला ई जलविद्युत् आयोजना’ निर्माणका लागि सर्भेक्षण गर्न सुरु गरेको छ । बारपाकमा निर्माण गरिने प्रस्तावित ९।४ मेगावाट क्षमताको सो आयोजनाको २०८३ साउनसम्ममा सर्वेक्षण हुने उक्त कम्पनीले जनाएको छ ।

    बारपाककै दोर्दी खोलामा सात मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि गोरखा दरौँदी हाइड्रोपावर प्रालिले अनुमतिपत्र लिएको छ । कम्पनीले २०८३ असोजभित्र ‘सुपर दरौँदी–पाउखोला जलविद्युत् आयोजना’ निर्माणका लागि सर्वेक्षण गरिरहेको छ । मेटा ऊर्जा प्रालिले धार्चे गाउँपालिका–१ को दोभान खोलामा ५।२ मेगावाटको ‘माथिल्लो दोभान खोला जलविद्युत् आयोजना’ निर्माणका लागि २०८३ पुसभित्र काम सक्ने गरी सर्वेक्षण गरिरहेको बताएको छ ।

    यसैगरी, पेल्टोन हाइड्रो इनर्जी प्रालिले केरौँजाको यारु खोलाबाट १३ मेगावाट क्षमताको ‘माथिल्लो यारु खोला जलविद्युत् आयोजना’ निर्माणका लागि सर्वेक्षण अनुमति लिएको छ । कम्पनीले २०८३ पुसभित्र सम्पन्न गर्ने गरी सर्वेक्षणको काम सुरु गरेको जनाएको छ ।

  • मन्त्रालयले कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी

    काठमाडौँ, सोमबार, १९ फागुन २०८१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघदेखि स्थानीय तहसम्मका सबै निकायलाई कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी गरेको छ ।

    संघीय तथा प्रादेशिक कर्मचारी शाखाद्वारा प्रेषित पत्रमा पदस्थापना सरुवा गरिएका, काज खटाइएका तथा काज फिर्ता गरिएका, कर्मचारी समायोजन ऐनअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई अहिलेसम्म रमाना नदिएको भन्दै पुन: ताकेता गरिएको छ ।

    स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका कर्मचारीलाई पनि रमाना नदिएको/नलिएको भन्दै यसबाट सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

    त्यस्ता कर्मचारीलाई ५ दिनभित्र रमाना दिन, रमाना अवधि गुज्रिएकाको किरिया बिदा, बिरामी बिदा र प्रसूति बिदाबाहेक अरु बिदा स्वीकृत नगराउन, तलब हाकिम र लेखापालबाट भराउन र कार्यान्वयन नगरे कार्यालय प्रमुखलाई कारवाही गर्न भनिएको छ ।

  • शुक्रबार ७:३५ सम्म २३ परकम्प, परकम्प अझै रोकिएको छैन : भूकम्पविद्

    काठमाडौँ, शुक्रबार, १६ फागुन २०८१ । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ ।

    “२.३ देखि ३.८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्,” भूकम्पविद् कोइरालाले भने, “सानासाना करकम्प आउनेक्रम जारी छ ।”

    गोरखा भूकम्पको परकम्प गएकाले सानासानो ‘आफ्टर सक आइरहने उनले बताए । राति २:५१ बजे सिन्धुपाल्चोकका भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • महाशिवरात्री बिशेष : पशुपतिमा सशस्त्रका स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित १३ सय जनशक्ति परिचालन

    काठमाडौँ, मंगलबार, १३ फागुन २०८१ । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब १३ सय जनशक्ति परिचालन गरेको छ ।

    शिवरात्रिको दिन स्वेदश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रूपमा दर्शन गर्ने वातावरण मिलाउन सशस्त्र प्रहरी बल नेपालले विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमान्डमा मंगलबार १० बजेदेखि नै सुरक्षाकर्मी परिचालन गरेको हो । मेलाको समग्र नेतृत्व नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ ।

    उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन् । महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सुरक्षा र आसपासका क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सादा पोसाकमा समेत सशस्त्र प्रहरी परिचालन गरिएको छ । सादा पोसाकमा परिचालन भएका सुरक्षाकर्मीले त्यस क्षेत्रमा भएका कामकारबाहीको सूक्ष्म रूपले खबर संकलन गर्नेछन् ।

    त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतका लागि नं १९ बगलामुखी विशेष कार्यदल गणमा ३ प्लाटुन सुरक्षा फौज जुनसुकै बेला परिचालन हुन सक्नेगरी तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । मेला अवधिभर भक्तजनको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले खानेपानी तथा घुम्ती शौचालयको समेत व्यवस्था गरेको छ ।

    त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले नेपाल एपिएफ अस्पतालका स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेस्कबाट ४ जना चिकित्सकसहित २५ जनाले मेला अवधिभर स्वास्थ्य सेवा प्रदान गर्नेछन् भने नं २० विपद् उद्धार गणमा विपद् व्यवस्थापन तालिमप्राप्त १५ जनाको टोली आवश्यक सामग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको सशस्त्रका सहप्रवक्ता एसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।