Category: राष्ट्रिय

  • चिलिमे आयोजना : १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप

    काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । त्यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिकरूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोडको विद्युत्् बिक्री गरिसकेको छ । ४२.५ मेगावाटको साञ्जेन आयोजना निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

    १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत् उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि साञ्जेन र रसुवागढीको व्यावसायिकरूपमा विद्युत्् उत्पादन सुरु हुनेछ । दुवै आयोजनाबाट मंसिरभित्रै व्यावसायिकरूपमा विद्युत् उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट हिउँदमा करिब ८० मेगावाटमात्र विद्युत् उत्पादन हुन्छ ।

    चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा २७० मेगावाटका चार आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट मध्य भोटेकोशीबाहेक तीन आयोजना सम्पन्न भएका हुन् । सबै आयोजना २०७२ को विनाशकारी भूकम्प एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्ति समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरोलगायतको चपेटामा परेका थिए । जसले गर्दा आयोजना निर्माण प्रभावित भएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारण जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म चिलिमे कम्पनीको प्रबन्ध-सञ्चालक भएका बेला सर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाको निर्माण अघि बढाइएको थियो, मुख्यरूपमा काबुबाहिरको परिस्थितिका कारण आयोजना निर्माणमा केही समय लागे पनि अब तीनवटा आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाले हिउँदमा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन् ।’

    प्राधिकरणका अनुसार भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ । माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवैको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ३५ करोड थियो । आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरूको लागत नौ अर्ब २० करोड हुने अनुमान गरिएको बताउनुभयो । उहाँले लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड हुने देखिएको बताउनुभयो । चिलिमेका चारवटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो ।

    कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्था(प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारी, आयोजना प्रभावित रसुवाबासी र सर्वसाधारण गरी ४९ प्रतिशत साधारण सेयर छ ।

    माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिकरूपमा एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो साञ्चेनलाई विद्युत्को बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०–७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । जसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ ।

  • ‘प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउँछ’

    काठमाडौँ, बिहिबार, ५ मङ्सिर २०८१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच दुई पक्षीय भेटघाट भएको छ । चीनको राजधानी बेईजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट छिमेकी दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाईमा पुर्‍याउने बिश्वास व्यक्त गरेको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए ।

    सो अवसरमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ट बनाउने विश्वास व्यक्त गरे । उनले नेपाल र चीनबीच भएका पुराना सम्झौता कार्यान्वयनका क्रममा ठोस योजना तयार गरी अघि बढ्न र दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउन प्रधानमन्त्री आलीको आसन्न चीन भ्रमण कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गरे ।

    चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियन चाओले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनियाँ र नेपाली जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई स्वागत गर्न चिनियाँ पक्ष आतुर रेहेको बताए । उनले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको ऐतिहासिक सम्बन्धलाई विकास र समृद्धिको दिशामा अधिकतम् सदुपयोग गर्नुपर्नेतर्फ दुवै देशको ध्यान जानुपर्नेमा जोड दिए ।

    चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सन हाईयानले असल छिमेकी देश नेपालको विकास र समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चिनियाँ पक्ष तयार रहेको बताए । चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत बिदेश बिभागको निमन्त्रणामा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा रहेको सदस्य ज्ञवालीले जानकारी दिए ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

    काठमाडौँ, शुक्रबार, २३ कात्तिक २०८१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।

    प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

    आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उहाँले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

    मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो ।

    त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।

    विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।

    विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।

  • पुँजीगत खर्च बढाउन सञ्चार मन्त्रीको निर्देशन

    काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ ।

    मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१र८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा उहाँले भन्नुभयो, “पुँजीगत खर्च बढाउनुपर्छ । मन्त्रालयको ५० प्रतिशत पनि कट्न नसक्नु राम्रो हैन ।”

    मातहतका कार्यालयमा रहेको बजेरु घटाउन निर्देशन दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “जहाँ सुशासन र पारदर्शिता हुँदैन, त्यहाँ सेटिङ हुन्छ, नीतिगत भ्रष्टाचार हुन्छ, त्यहाँ बेरुजु अत्यधिक हुन्छ । आगामी बैठकमा आउँदा बेरुजु फर्छ्योटको स्थितिमा सुधार गर्नुहोस् ।”

    चालु आव २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा मन्त्रालयअन्तर्गत रु एक अर्ब ६४ करोड ९८ लाख बजेटमा ५१ दशमलव ९३ प्रतिशत खर्च भएको छ । यस अवधिमा ४१ दशमलव ६ प्रतिशत पुँजीगत खर्च र चालुतर्फ ५२ दशमलव ९२ प्रतिशत खर्च भएको छ ।

    मन्त्रालयको प्रमुख छ वटा कार्य क्षेत्रका १९ निकायहरूमार्फत भएका कामका सम्बन्धमा बसेको बैठकमा मन्त्री गुरुङले कर्मचारीलाई परम्परागत कार्यशैली परिवर्तन गर्न सुझाव दिनुभयो । “सबै काम पारदर्शी हुनुपर्छ । अनेक बहानाबाजी गरेर काम अड्काउनु हुँदैन । कर्मचारीतन्त्रमा भएका समस्या अब सुधार हुनुपर्छ, नयाँ ढङ्गले काम गरौँ”, उहाँले भन्नुभयो ।

    सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले कार्यसम्पादन सम्झौता कार्यान्वयनमा जोड दिनुभयो । उहाँले कर्मचारीलाई कम्तीमा एक वर्षसम्म तोकिएको कार्यक्षेत्रबाट सरुवा नगर्न र नगराउन आग्रह गर्नुभयो ।

    छोटोछोटो समयमा सरुवा गर्ने प्रवृत्तिले गर्दा कार्यसम्पादनमा प्रभाव पर्नेतर्फ सचेत गराउनुभयो । उहाँले अन्तरमन्त्रालयबिच समन्वय, सहकार्य र सहयोग आवश्यकता औँल्याउँदै विकास समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

    बैठकमा चालु आवको प्रथम त्रैमासिकसम्मको प्रगति विवरणअनुसार कार्यान्वयन गर्नुपर्ने ३४ वटा ‘माइलस्टोन’ मध्ये २१ वटाको कार्य सम्पन्न भएको छ । काम हुन नसकेका ‘माइलस्टोन’ १० वटा छन् भने सम्पन्न हुने प्रक्रियामा रहेका तीन वटा रहेका छन् ।

    बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले समस्या र सहजीकरणका विषयमा आयोग सहयोग र सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

    सचिव राधिका अर्यालले पुँजीगत खर्च बढाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले मन्त्रालयको ‘माइलस्टोन’ मा राम्रो प्रगति भएको बताउनुभयो । उहाँले आगामी बैठकमा उपलब्धि र प्रभावलाई आलोचनात्मक समीक्षाका हुनुपर्ने रायसमेत राख्नुभयो ।

  • नेपालमा पहिलो पटक एआई सम्मेलन

    काठमाडौँ, आइतबार, ११ कात्तिक २०८१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरू भएको छ । आजदेखि सुरू सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन् ।

    ओलीले एआईसम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी भइरहेको जानकारी गराए । एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने भन्दै उनले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताए । जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।

    उनले भने, ‘एआईले धेरै ठूलो सहयोग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ ।

    एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडिओ हेर्छु । मलाई गीत त गाउन आउँदैन । एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ । यो मै हेरिरहेको छु । एआईलाई यसरी मिसयुज गर्नु हुँदैन । डिजिटल नेपाल भनेको यो खाली मोबाइलमा मात्रै काम हुन्छ भन्ने कुरा त होइन । हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ । घरमा जाँदा पनि अनलक गर्न सकिन्छ । अफिसमा हाजिर गर्दा मान्छे चिन्छ । अनुहार चिन्छ । जीवनलाई सरल र सहज बनाउनुपर्छ । देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ ।’

    युवा संघका अध्यक्ष थेबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य रहेको बताए । सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने थेबेको विश्वास छ ।

    विभिन्न १० वटा समूहगत विषयमा छलफल गरिने संघका महासचिव सुमन पुरीले जानकारी दिए । उनका अनुसार ती छलफलमा विदेशबाट आएका एआईका विज्ञहरूले समेत सहभागिता जनाउने छन् । सम्मेलनमा युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायत देशबाट विज्ञसहितका प्रतिनिधि आएका छन् ।

  • भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा

    चितवन, शनिबार, १० कात्तिक २०८१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताउनु भएको छ ।

    रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर शुक्रबार चितवनमा आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उनले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताउनु भयो ।

    भरतपुर विमानस्थललाई रात्रिकालीन उडान गर्नसक्नेगरी उपकरण व्यवस्थापनको काम गर्न सरकार तयार रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “विमानस्थल विस्तारले पर्यटकको आवागमन पनि बढ्ने छ ।” सबै दृष्टिले केन्द्रमा रहेको यस जिल्लाले पर्यटन क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिकालाई महत्वका साथ हेरिने गरिएको मन्त्री पाण्डेले बताउनु भयो ।

  • प्रहरीलाई रवि लामिछानेले भने- मलाई गाडीबाटै पोखरा लैजानुस्

    काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेका छन् ।

    शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाडौंको च:मतिस्थित पार्टी कार्यालयमा पुगेको छ। त्यहाँ एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली पुगेको हो ।

    उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्‍याउन अनुरोध गरेको स्रोतले जानकारी दिएको छ । उनको अनुरोधलाई प्रहरीले स्वीकार गरेको र गाडीको व्यवस्था गर्ने तयारी भइरहेको पनि स्रोतले बताएको छ ।

    सभापति लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा अनुसन्धान हुनेछ ।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अहिले केहीबेरमा सभापति लामिछानेले पार्टी कार्यालयमा बोल्ने कार्यक्रम रहेको बताएका छन् ।

    पार्टी सदस्यहरू तथा पत्रकारहरूबीच सभापति लामिछानेले आफ्ना कुरा राख्ने पनि झाले जानकारी दिए ।

    उनले त्यसपछि सभापति लामिछाने स्थलमार्गबाट पोखरा जाने बताएका छन्। पार्टी कार्यालयमा आएका प्रहरीहरूलाई अवरोध नगर्न पनि उनको आग्रह छ ।