Blog

  • ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ लाेकार्पण

    काठमाडौँ, मंगलबार, १८ मङ्सिर २०८१ । बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले डा.देवी क्षेत्री दुलालकाे ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ काे लाेकार्पण गरेको छ ।

    नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालको प्रमुख आतिथ्यमा उपन्यासकाे लाेकार्पण भएकाे हाे ।

    प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिसाल, प्राडा गोविन्दराज भट्टराई, पूर्व मन्त्री सोमनाथ बास्तोला, पूर्व सांसद् अगम बान्तवा र उपप्राध्यापक युद्धप्रसाद वैद्यद्वारा उक्त उपन्यासको संयुक्त रूपमा लाेकार्पण गरिएकाे हाे ।

    प्रमुख अतिथि रिसालले उक्त कार्यक्रमकाे सम्बोधन गर्दै ‘कर्णेल गजराजसिंह थापा’ जस्तो ऐतिहासिक र जीवनीपरक उपन्यास सिर्जना गरेकामा उपन्यासकार दुलाललाई बधाई ज्ञापन गर्दै नयाँ पुस्ताले अग्रज पुस्ताकाे योगदानबाट हाैसला लिंदै लक्ष्य भेदनमा पुग्नुपर्ने बताइन् ।

    उनले इलाममा चिया खेतीको प्रारम्भ गरेका ’चिफ कर्णेल गजराजसिंह थापा’ को व्यक्तित्वको चित्रण उपन्यासले गरेको बताइन् । चिया उद्योग सञ्चालन र प्रवर्द्धन गरी सामाजिक र आर्थिक क्षेत्रमा पुर्‍याएको ऐतिहासिक योगदान नयाँ पुस्तासम्म पुर्याउन उक्त उपन्यास गतिलो दस्ताबेज बनेको पनि उनले बताइन् ।

    प्रमुख अतिथि रिसालले आफू प्रज्ञाप्रतिष्ठानको सामाजिशास्त्र विभागको नेतृत्वमा रहेकाले सामाजिकशास्त्रसम्बन्धी यस्ता खोज तथा अनुसन्धानमूलक सामग्रीहरूको प्रवर्द्धन गर्दै स्रष्टालाई निरन्तर प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

    इलाम नगरपालिकास्थित अरनिको सङ्ग्रहालय (लालदरबार) को हलमा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं प्रमुख वक्ता प्राडा गोविन्दराज भट्टराईले पुस्तकमा थापाको ऐतिहासिक योगदानलाई अभिलेखीकरण गरिएको र नेपालको पहिलो उद्योग इलामको चिया कारखाना भएको तथ्य समेत उजागर गरेका थिए ।

    यस्तै युद्धप्रसाद वैद्यले पनि पुस्तक र इलामको इतिहासबारे आफ्नो भनाइ राखेका थिए ।

    उपन्यासकार डा. क्षेत्री दुलालले आफूले यो पुस्तक निकै लामो समयको खोजअनुसन्धान गरेर मात्रै तयार पारेको बताए ।

    विस १९२० मा कर्णेल थापाले नै इलाममा चिया खेतीको सुरुवात गरेका थिए । कर्णेल गजराज सिंह थापाले इलामको चिया खेतीको सुरुवात र बिस्तारमा योगदान पुर्‍याएको चर्चा छ । १९३५ सालमा इलाममा चिया उद्योग स्थापना गरी थापाले पूर्वी क्षेत्रलाई कृषिमार्फत आर्थिक क्रान्तिमा जोडेको विषय उपन्यासमा उल्लेख छ ।

  • पाठेघरको मुखको क्यान्सरसम्बन्धी रोगको परीक्षण हुने

    काठमाडौं, मंगलबार, १७ मङ्सिर २०८१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलामा परीक्षण तथा रोग पहिचान गर्ने भएको छ ।

    मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो ।

    यसैअनुसार फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा.विवेककुमार लालले जानकारी दिए ।

    ‘क्यान्सरको उपचारसँगसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ,’ लालले भने, ‘त्यसैअनुसार यस वर्ष अभियानकै रुपमा एकै साथ परीक्षण गर्न लागेका हौं ।’

    नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्जर्बभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।

    हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्जर्बभेटरीका अनुसार विश्वभर प्रति एक लाख रोगीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भए रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।

    पाठेघरको क्यान्सरबाट हुने ठूलोस्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने मन्त्री पौडेलको योजनाअनुसार मन्त्रालयले पाठेघर तथा स्तनको क्यान्सर नियन्त्रणलाई प्राथमिकता दिएर यस वर्ष कार्यक्रम अघि बढाएको हो ।

    पाठेघरको मुखको क्यान्सरविरुद्ध १६ लाख किशोरीलाई विश्व क्यान्सर दिवसका दिन आगामी माघ २२ गतेदेखि दुई सातासम्म निःशुल्क खोप अभियान सञ्चालन गर्दैछ । यसबाट ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुनेछन् ।

    कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले समेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।

  • सर्केगाडको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित

    काठमाडौँ, मंगलबार, १७ मङ्सिर २०८१ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी कांग्रेसकी सविता बुढालाई ४३ मतले हराउँदै निर्वाचित भएकी हुन् ।

    निर्वाचित भएकी तिमिल्सिनाले एक हजार ६३७ मत पाइन् । उनकी निटतम प्रतिद्वन्द्वी बुढाले एकहजार ५९५ मत ल्याइन् । तेस्रो भएकी एमालेकी जाना शाहीले ११ सय ३२ मत ल्याइन् ।

    त्यस्तै, राप्रपाकी संगीता शाहीले ५१ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बाँचा बुढाले २५ मत ल्याइन् ।

    ०७९ मा माओवादीका चन्द्रसिंह कार्कीले तीन हजार २६९ मत ल्याएर निर्वाचित भएका थिए ।

  • प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुने

    काठमाडौँ, मंगलबार, १८ मङ्सिर २०८१ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदै छ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नेछन् ।

    चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ ।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

    चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेछन् ।

    ओलीले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कनेछ ।

    चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार उनी बेइजिङ पुगेका हुन् । उनलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए ।

  • चितवनमा कांग्रेस र एमालेबीच दलीय संयन्त्र गठन

    चितवन, सोमबार, १७ मङ्सिर २०८१ । जिल्लामा नेपाली कांग्रेस र एमालेबीच दुई दलीय संयन्त्र गठन भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आइतबार उक्त संयन्त्र गठन गरिएको हो । नेपाली कांग्रेसबाट तीन र नेकपा एमालेबाट तीन जना रहने गरी संयन्त्र गठन गरिएको छ ।

    संयन्त्रमा कांग्रेसका तर्फबाट जिल्ला सभापति खनाल, सचिव ध्रुवराज पोख्रेल, वरिष्ठ जिल्ला सदस्य मिलनबाबु श्रेष्ठ रहनुभएको छ । जिल्ला उपसभापति राजीव न्यौपानेलाई आमन्त्रित सदस्यको रुपमा राखिएको छ । यस्तै नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कमल पाठक, सचिव प्रकाश ढुुङगाना र जिल्ला इन्चार्ज देवी ज्ञवाली संयन्त्रमा रहनुभएको छ । एमालेको तर्फबाट आमन्त्रित सदस्यमा कृष्णभक्त पोखरेललाई राखिएको जिल्ला सभापति खनालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “सरकारलाई तल्लो तहसम्म विकासको मूल प्रवाहमा जोड्ने उद्देश्यले संयन्त्र निर्माण गरिएको हो ।” यसले कांग्रेस र एमालेबीच हुने तल्लो तहको द्वन्द्वलाई न्यूनीकरण गर्ने उहाँले बताउनुभयो ।

    यसैबीच संयन्त्रको बैठकले चितवन जिल्लाको सातवटै स्थानीय तहमा तीन÷तीनजनाको संयन्त्र निर्माण गरी वर्तमान सरकारको केन्द्रीय संरचना र भावना अनुरूप स्थानीय तहमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । संयन्त्रको अध्यक्षता प्रत्येक बैठकमा आलोपालो हुने जनाइएको छ ।

  • राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालनमा ल्यायो एनएसओ डाटा पोर्टल

    काठमाडौँ, सोमबार, १७ मङ्सिर २०८१ । राष्ट्रिय तथ्याङ्क कार्यालयले एकिकृत डाटा पोर्टल ‘एनएसओ डाटा पोर्टल’ संचालनमा ल्याएको छ ।

    आज मङ्सिर १७ गते सोमबारदेखि थापाथलीस्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले पोर्टल सार्वजनिक गरेका हुन् ।

    तथ्याङ्क ऐन, २०१५ अनुसार २०१५ साल पुस १७ गते स्थापना भएको केन्द्रीय तथ्याङ्क विभागले २०७९ मा जारी गरिएको तथ्याङ्क ऐन, २०७९ कार्यान्वयनमा आएसँगै राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिवर्तन भएको छ । तथ्याङ्क ऐन, २०७९ लाई मुख्य आधार मानी कार्यालयले तथ्याङ्कीय क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

    नेपालको तथ्याङ्क प्रणालीको केन्द्रीय निकायको रुपमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले नियमित रुपमा विभिन्न गणना, सर्वेक्षण तथा अन्य विधिको प्रयोग मार्फत आर्थिक, सामाजिक तथा वातावरणीय तथ्याङ्क उत्पादन गर्दै आएको छ ।

    राष्ट्रिय जनगणना, राष्ट्रिय कृषि गणना, राष्ट्रिय आर्थिक गणना, नेपाल जीवनस्तर सर्वेक्षण, नेपाल श्रम शक्ति सर्वेक्षण, राष्ट्रिय औद्योगिक सर्वेक्षण, राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण, नेपाल व्यापार सर्वेक्षण, राष्ट्रिय लेखा अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्कीय क्रियाकलाप हुन् ।

    कार्यालयले हरेक वर्ष विभिन्न गणना तथा सर्वेक्षणहरुबाट संकलित तथ्याङ्क विश्लेषण गर्दै आर्थिक, सामाजिक वातावरणीय तथ्याङ्क प्रकाशन गर्दै आएको छ । यसरी प्रकाशित तथ्याङ्क प्रयोग कर्ताहरुलाई सहज, सरल र उपयोगी हुने ढंगले कार्यालयले प्राथमिकताका साथ पुर्याउँदै आएको छ । यसका लागि कार्यालयबाट प्रतिवेदन वितरण, बेबसाईट मार्फत, सामाजिक सञ्जाल मार्फत समेत उत्पादित तथ्याङ्कमा प्रयोगर्कताको पहुँच स्थापित गरिएको छ ।

    प्रकाशित तथ्याङ्कलाई अझ बढी वैज्ञानिक र सरल ढंगले प्रयोग कर्ता समक्ष पुर्याउनका लागि कार्यालयले एक वेग्लै एकिकृत डाटा पोर्टल एनएसओ डाटा पोर्टलको विकास गरेको हो । कार्यालयको वेबसाईटमा रहेको तथ्याङ्क पोर्टल खण्डमा गई एनएसओ डाटा पोर्टलमा क्लिक गरेर समेत यस पोर्टलमा पुग्न सकिन्छ ।

    यस पोर्टलबाट कार्यालयबाट प्रकाशित सबै खालका तथ्याङ्कमा प्रयोगकर्ताको पहुँच बिस्तार भई आवश्यकता अनुसारका तथ्याङ्कहरु प्रयोग गर्न सहज हुने विश्वास लिइएको छ ।

    यस पोर्टलमा प्रकाशित तालिकाहरु यस पोर्टलमा प्रकाशित तालिकाहरु एक्सल र सीएसभी फर्म्याटमा समेत उपलव्ध छन ।पोर्टलमा उपलब्ध तथ्याङ्क प्रयोगकर्ताले स्पष्टसँग बुझ्न सकुन् भन्ने उद्धेश्यले इनफोग्राफिक्स्मा समेत प्रस्तुत गरिएको छ।

    पोर्टलमा विभिन्न विषयका दुई हजार ४६० भन्दा बढी डाटा सेट उपलब्ध छन्। प्रयोगकर्ताको सहजताका लागि कृषि, आर्थिक सर्वेक्षण, वातावरण, श्रम, उद्योग, राष्ट्रिय लेखामान, गरिबी, जनसंख्या, मूल्य सूचक तथा सामाजिक गरी छुट्टाछुट्टै रुपमा विभिन्न १२ वटा क्षेत्रगत तथ्याङ्क पोर्टलमा राखिएका छन् । प्रयोगकर्ताले पोर्टलमा रहेको सर्च बटन ९जहाँ आवश्यकता अनुसार डाटा खोज्नुहोस् लेखिएको छ० मा गएर आफुलाई आवश्यक पर्ने डाटा टाइप गरी सजिलै खोज्न र पाउन सक्नेछन् ।

  • ललितपुरका बाढीप्रभावितले अझै पाएनन् राहत रकम

    ललितपुर, सोमबार, १७ मङ्सिर २०८१ । गत असोज १२ गतेको बाढीले दक्षिण ललितपुरको तीन स्थानीय तहमा ठूलो क्षति पुर्‍यायो । एक सय बढी घर विस्तापित भए । बाढीले क्षति पु¥याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको रु ५० हजार राहत रकममध्येको पहिलो किस्ता रु २५ हजारसमेत पीडितले प्राप्त गरेका छैनन् ।

    ललितपुर महानगरपालिकाको नख्खु करिडोर, महाङकाल गाउँपालिकाको थोत्ने खोला, कोञ्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका बागमती गाउँपालिकामा बाढीले ठूलो क्षति पु¥याएको थियो । थोत्ने खोलाको बाढीले ४८ घर पूर्णरुपमा विस्तापित छन् । दिनानुदिन चिसो बढ््दै गएकाले बासको व्यवस्था गर्न नसकेको पीडितको गुनासो छ ।

    तीन वटै पालिकाको सिफारिसमा क्षति विवरण आएपछि राहत रकम स्वरुप पहिलो किस्ताबापत्को रु २५ हजार प्रदान गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी गराए ।

    उनले भने, “पालिकाको सिफारिसमा आएको क्षति विवरणसहितको फाराम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनलाइनमा अपडेट गरेपछि प्रक्रिया अगाडि बढ्नेछ ।” हालसम्म कञ्ज्योसम गाउँपालिका बाहेक अरु पालिकाको विवरण प्राप्त नभएको उनको भनाइ छ ।

    महाङ्काल गाउँपालिका मनिखोला-२ थोत्ने खोलाको बाढीले विस्तापित ६७ घरसहित पालिकाभरिको ९७ बाढीपीडितको विवरण सङ्कलन भएको महाङ्काल गाउँपालिका– २ का अध्यक्ष जोनीकुमार न्यासुरको भनाइ छ । अध्यक्ष न्यासुरले भने, “हाम्रो पालिकाको क्षति विवरण आइसकेको छ, सायद अन्य पालिकाबाट विवरण नआएर हुनसक्छ पीडितले राहात रकमको पहिलो किस्तासमेत पाएका छैनन् ।”

    थोत्ने खोलाको बाढीले घरबास बगाएपछि ललितपुर सातदोबाटोमा बस्दै आएका बुद्धिमान स्याङ्तान हाल महाङ्काल गाउँपालिका—२ मनिखोलमा टहरा बनाएर बसिरहेका छन् । स्याङतानले भने, “बाढीले क्षति पुर्‍याएको ठाउँ सुनसान छ । आफ्नो जग्गा जमिन कहानेर थियो भन्ने ठम्याउनै गाह्रो छ । सरकारले दिने भनेको ५० हजार बराबरको पहिलो किस्ता नै अझै पाइएको छैन ।”

  • गोरखा नगरपालिका–५, मा माओवादी केन्द्रका बिष्णु रानामगर विजयी

    गोरखा, सोमबार, १७ मङ्सिर २०८१ । गोरखा नगरपालिका–५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बिष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा रानामगरले ४ सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

    उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका भाइकाजी आलेले ४ सय २ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिनुभयो । त्यस्तै नेकपा एमालेकी उमेद्वार दुर्गामाया राना थापाले ३ सय ४५ मत प्राप्त गर्नुभयो ।

    कुल २ हजार २ सय २५ मतदाता रहेको उक्त वडामा १ हजार ३ सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको उहाँले बताउनुभयो । उपनिर्वाचनमा बिभिन्न ९ राजनीतिक दलका ९ जना उमेद्वार प्रतिस्पर्धामा रहेका थिए ।

    गत २०७९ वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका नेकपा एमाले खिलबहादुर रानामगरको निधन भएपछि यस वडामा रिक्त रहेको पदमा आइतबार उपनिर्वाचन भएको हो ।

  • गुणस्तरहीन ३० टन बढी भटमास पैठारीमा रोक

    काठमाडौँ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जले ३० टनभन्दा बढी भटमासको पैठारीमा रोक लगाएको छ ।

    व्यापारीक प्रयोजनका लागि पैठारी गरी भन्सार नाकामा ल्याइएको ३० हजार २५५ के.जी. भट्मास रोडा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएकोले कार्यालयले उक्त न्यून गुणस्तरको भटमासको कन्साइन्मेन्ट आयात अस्वीकृत गरेको जनाएको छ ।

    भन्सार कार्यालयले परीक्षणको लागि भटमासको नमूना खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा पठाएको थियो । उक्त भटमासको नमूना परिक्षण गर्दा नेपाल सरकारले निर्धारण गरेको खाद्यान्नको अनिवार्य गुणस्तर मापदण्ड बमोजिम क्षतिग्रस्त दाना तथा जैविक बाह्य पदार्थको मात्रा बढी पाइ प्रतिकूल देखिएकोले आयात गर्न नमिल्ने भन्दै १० मङ्सिरमा भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको थियो । सोही प्रतिवेदनको आधारमा पैठारी रोक भएको हो ।

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले अनुसार खाद्य पदार्थको पैठारी गर्दा विभागबाट प्रवेश अनुमति अनिवार्य गरेको छ ।

  • प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

    काठमाडौँ, सोमबार, १७ मङ्सिर २०८१ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिनको भ्रमणका लागि चीन प्रस्थान गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीको नयाँ कार्यकालमा यो उहाँको पहिलो औपचारिक चीन भ्रमण हो ।

    प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    भ्रमण सफलताको शुभकामना

    प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको छ । बैठकले चीनले बनाउने दुई करोड डलर (करिब दुई अर्ब ७० करोड रुपियाँ) बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    मन्त्री गुरुङले यसका अतिरिक्त प्रस्तावित तीन सय मिलियन आरएमबी (करिब पाँच अर्ब ६० करोड रुपियाँ) बराबरका कार्यक्रम सम्झौता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना अगाडि सारिने उहाँले जानकारी दिनुभयो ।

    मङ्गलबार राष्ट्रपति सीसँग भेटवार्ता

    प्र्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच मङ्सिर १८ गते मङ्गलबार उच्चस्तीय भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री ओली सोमबार चीन पुगेलगत्तै भेटवार्ता र सम्झौताको तयारीमा लाग्नुहुने छ ।

    भोलिपल्ट मङ्गलबार साँझ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेगरी कार्यसूची मिलाइएको छ । सोही दिन बिहान प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच द्विपक्षीय वार्ता हुने तय भएको छ । दुई देशका प्रधानमन्त्रीबिच आपसी हित, विकास साझेदारीका साथै भावी सहकार्यका विविध आयाममा छलफल हुने छ । सोही दिन दिउँसो दुई देशबिच बिआरआई सम्बन्धित विविध परियोजनामा हस्ताक्षर हुने कार्यक्रम छ ।

    प्रधानमन्त्री ओलीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयको कार्यसूची अनुसार प्रधानमन्त्री ओलीका साथमा उहाँकी श्रीमती राधिका शाक्य साथ जानुहुने भएको छ ।

    नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडासहित सरकारका उच्च अधिकारी, निजी क्षेत्रका विज्ञ व्यक्तिहरू सहभागी रहनुहुने छ । प्रधानमन्त्री ओली मङ्सिर २० गते नै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।

    ‘हस्ताक्षर गर्न नेपाल तयार’

    प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन योजनामा केही संशोधनसहित हस्ताक्षर गर्नेगरी नेपाल तयार भएको छ । चीनले प्रस्ताव गरेको बिआरआई कार्यान्वयन योजना नामको सम्झौताका सवालमा नेपाल सरकारले कार्यदल नै गठन गरेर निक्र्योलमा पुगेको हो ।

    कार्यदलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा रहनुभएको थियो ।

    कार्यदलका सदस्य पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाका अनुसार चीनले गरेको प्रस्तावमा छलफल गरेर अन्तिम टुङ्गो लगाइएको छ । बिआरआई फ्रेमवर्कका नाममा नेपालले सन् २०१७ मा प्रमुख सम्झौता गरेको हुनाले बिआरआई फ्रेमवर्ककै नामको कार्ययोजनामा हस्ताक्षर गर्न नेपाल तयार भएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले प्रमुख एमओयुमा बिआरआई फ्रेमवर्कका नाममा हस्ताक्षर गरेका थियौँ, त्यसैले त्यही नामको कार्ययोजनामा हस्ताक्षर गर्नेगरी प्रस्ताव गरेका छौँ ।” प्रस्तावहरूका सवालमा सम्झौताको ठुलो असर नपर्ने गरी केही सामान्य संशोधनहरू भएको औँल्याउँदै उहाँले निर्वाध सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गर्नुभयो । नेपालले संशोधनसहित दस्ताबेज पठाइसकेको छ ।

    लिखित जवाफ आइसकेको भने छैन । तथापि परराष्ट्रमन्त्री डा. आरजु राणाले त्यसको प्रस्ट जानकारी चीनका विदेशमन्त्री वाङ यीलाई द्विपक्षीय भेटका क्रममा दिनुभइसकेको छ । त्यस भेटवार्ताको ‘बिफ्रिङ’ उहाँले फर्केपछि गर्नु भए अनुसार पनि हस्ताक्षर सहज हुने अपेक्षा राखिएको खतिवडाले बताउनुभयो ।

    उहाँले थप्नुभयो, “चीनले संशोधन केही भए सुधार गर्नु भनेरै पठाएको थियो, स्विका¥यौँ, हाम्रो पाटोमा आपसमा मिलेर सहमतिमै टुङ्ग्यायौँ, केही सुझावहरू पनि दिएका छौँ, हस्ताक्षर गर्दा आपसी समझदारीमा नै हुने हो, त्यो हुन्छ भन्नेमा पूर्ण विश्वास छ ।”

    आफ्ना कुरा राख्न भनेर चीनले नै सुझाएको हुनाले त्यसमा विवाद गरिरहनुपर्ने कुरा नरहेको पनि उहाँले प्रस्ट पार्नुभयो ।