Blog

  • नेपाल पत्रकार महासंघको निर्वाचन : ५ वटा वाम तथा मधेसी संगठनबिच सहमति

    काठमाडौँ, बुधबार, १९ मङ्सिर २०८१ । नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त रूपमा अगाडि बढ्ने विषयमा ५ वटा वाम तथा मधेसी संगठनबिच सहमति भएको छ ।

    मंसिर २८ गते तय गरिएको नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त मोर्चाको रूपमा अगाडि जानको लागि बुधबार प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन नेपाल, जनपत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संगठन नेपाल र प्रेस मञ्च नेपालबीच सहमति भएको हो । सहमति पछि ३ बुँदे प्रेस विज्ञप्ति जारी गरिएको छ ।

    विज्ञप्तिमा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर विक, प्रगतिशील पत्रकार संगठन नेपालका महासचिव प्रकाश थापा र प्रेस मञ्चका अध्यक्ष अवधेश झाले हस्ताक्षर गरेका छन् ।

    विज्ञप्तिमा मंसिर २८ गते तोकिएको समयमै नेपाल पत्रकार महासंघको निर्वाचन गर्न, महासंघको साझा चरित्र कायम गर्न सहमतिय नेतृत्व निर्माण गर्न र सहमति नभएमा निर्वाचनमा एकताबद्ध मोर्चा भएर लड्न ६ संगठनको सहमति भएको कुरा उल्लेख गरिएको छ ।

    उनीहरूले पत्रकार महासंघलाई साझा बनाउन प्रेस युनियन र प्रेस चौतारीको पनि ध्यानाकर्षण गराएका छन् । संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघको साझा चरित्रको रक्षा गर्दै सहमतीय अभ्यासका साथ नेतृत्व निर्माण गर्ने कुरामा हामी ६ संगठन प्रतिबद्ध छौं ।

    सहमतीय नेतृत्व निर्माण गर्ने अभ्यासमा निर्णायक भूमिका रहने नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको नेतृत्वको गम्भीर ध्यानाकर्षण हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । यदि सहमतीय अभ्यासमा लागिएन र प्रतिस्पर्धाको विधिबाट महासंघको निर्वाचन अगाडि बढेको अवस्थामा हामी ६ संगठन एउटै मोर्चाका रुपमा अगाडि बढ्न प्रतिवद्ध छौं ।’

    विज्ञप्तिमार्फत नै ६ वटै संगठनले संयुक्त रुपमा महासंघको घोषित निर्वाचन कार्यक्रम सौहाद्रपूर्ण वातावरणमा र निर्धारित मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । साथै पत्रकार महासंघको सदस्यताका विषयलाई लिएर विभिन्न जिल्ला शाखाका कार्यालयमा भएका तालाबन्दीको समस्यालाई हल गर्न महासंघ नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

  • ग्लोबल आइएमईका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट हुने

    काठमाडौँ, १९ मङ्सिर २०८१ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

    समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गर्नुभएको छ ।

    समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन् ।

    ल्याबसम्बन्धी सेवाको लागि लोकप्रिय रहेको सिग्मा ल्याबले भक्तपुरको राधेराधेबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • गोरखाको धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न

    गोरखा, बुधबार, १९ मङ्सिर २०८१ । गोरखाको धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न भएको छ ।

    जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा धार्चेको–५ माछिखोला स्थित जनजागृति माविमा कार्यशाला सम्पन्न भएको हो ।

    कार्यशालामा जनजागृति माविमा अध्यापन गराउने १५ जनाको सहभागिता रहेको एकिकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले बताउनु भयो । उक्त कार्यशाला तालिममा एकिकरण नेपालकी परियोजना अधिकृत काजल गुरुङ र फिल्ड कार्यक्रम अधिकृत रज्जाक मियाँले सहजीकरण गराएको उनले जानकारी दिनुभयो । कार्यक्रमलाई एकिकरण नेपालले संयोजन गरेको थियो ।

    तालिममा शैक्षिक सामाग्री छपाई सम्बन्धी सामाग्रीहरु तथा विषयगत शैक्षिक सामाग्री र शब्द लेखनको बारेमा छलफल भएको थियो । साथै, बाल केन्द्रित क्रियाकलापहरु र सिर्जनशील लेखनका विभिन्न बाल केन्द्रित विधिहरुका बारेमा तालिम प्रदान गरिएको एकिकरण नेपालले जनाएको छ ।

  • कतारका नेपाली श्रमिकलाई बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह

    काठमाडौँ, बुधबार, १९ मङ्सिर २०८१ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गर्नुभएको छ ।

    लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज आफूसँग भेट गर्न आउनुभएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

    “कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्”, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, “म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।”

    उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली नागरिक विपीन जोशीलगायत अन्य बन्धकको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसासमेत गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिनुभयो ।

    भेटमा कतारका राजदूत अन्सारीले दुईबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवद्र्धन तथा संरक्षणको पक्षमा रहेको बताउनुभयो । कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिँदै उहाँले नेपाली श्रमिकको हितलाई कार्यान्वयन आफूले प्रयास गर्ने बताउनुभयो ।

  • चीनले नेपाललाई नौ अर्ब अनुदान दिने

    काठमाडौँ, बुधबार, १९ मङ्सिर २०८१ । चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गर्नुभएको हो। चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो। यो रकम नेपाली रुपियाँ नौ अर्ब हुन्छ।

    नेपालका प्रधानमन्त्री ओलीले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी र चिनियाँ राष्ट्रपतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।

    मङ्गलबार बिहान ओली र चिनियाँ प्रधानमन्त्री ली चियाङबीच बेइजिङमा भेटवार्ता भएको हो। उहाँहरूको उपस्थितिमा दुई देशका अधिकारीहरूले पारस्परिक सहयोगका लागि विभिन्न नौ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा आर्थिक सहकार्य, व्यापार प्रवर्धन र भौतिक संरचना निर्माणका विषय समेटिएका छन् ।

    सहसचिव ढकालका अनुसार नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    राससका अनुसार, राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पार्नुभयो ।

    दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिनुभयो ।

    जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभयो ।

  • तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

    ललितपुर, मंगलबार, १८ मङ्सिर २०८१ । ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ ।

    प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भेट्रान खेलाडी कुमार मोहनबहादुर शाहीले उद्घाटन गर्नुभयो ।प्रतियोगिताको पहिलो दिन पुरुष एकलमा वरीयताप्राप्त खेलाडी भोजपुरका बिशाल तामाङ्ग र एपिएफका भोजबहादुर गुरुङ्गले विजयी सुरुवात गर्नुभएको छ ।

    तामाङ्गले नेपाल पुलिसका हिराबहादुर राईलाई २१–१७, २१–५ र गुरुङ्गले ललितपुरका सुविन श्रेष्ठ (ए) लाई २१–११, २१–११ ले हराउनुभयो । कैलालीका शिषिर रानाले दार्चुलाका पप्पु पाललाई २१–१०, २१–१४ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले महोत्तरीका इशान झालाई २२–२०, २०–२२, २१–१३ ले पराजित गर्नुभयो ।

    एपिएफका क्षितिज खनालले युनिटी ब्याडमिन्टन एकेडेमीका नरेन्द्र बमलाई २१–१५, २१–१८, सेनाका सौर्य महर्जनले गार्खाका मुकुल गुरुङ्गलाई २१–१३, २१–१६, पुलिसका पूर्ण बहादुर थापाले काभ्रेका अंकित भोछिभ्वयलाई २१–१२, २१–९ले हराउनुभयो । पाँच दिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

  • निर्वाचन सफल बनाउन नेपाल पत्रकार महासंघको अपिल

    काठमाडौँ, मंगलबार, १८ मङ्सिर २०८१ । नेपाल पत्रकार महासंघले आसन्न महासंघको निर्वाचनलाई सफल बनाउने वातावरण तयार गर्न सबैलाई अपिल गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारीले महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सबै अग्रज, नेतृत्व पंक्ति र सहकर्मीलाई अपिल गरेकी हुन् ।

    महासंघको नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिएका कतिपय पत्रकार आसन्न निर्वाचनको मतदाता नामावलीमा प्राविधिक कारणले छुटेकोमा महासंघलाई दुखित बनाए पनि त्यस्ता पत्रकारलाई आगामी दिनमा सदस्य कायम हुने गरी व्यवस्था मिलाउने कार्यबाहक अध्यक्ष अधिकारीले अपिलमार्फत नै प्रतिबद्धता जनाएकी छन् ।

    सार्वजनिक अपिलमा भनिएको छ, ‘सर्वविदितै छ, हामीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने सन्दर्भमा केही कठिनाइ भोग्यौं । यसअघि पटक-पटक निर्धारित निर्वाचनका मिति स्थगित गरिए । निर्वाचन सम्पन्न गर्ने सन्दर्भका बीच निर्वाचित अध्यक्ष विपुल पोख्रेल तथा कार्यबाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिनुपर्‍यो । यसबीचमा उहाँहरुले निर्वाह गर्नुभएको सकारात्मक भूमिका तथा योगदानको उच्च प्रशंसा गर्दछु ।’

    २०८१ असोज १९ मा भक्तपुरमा आयोजित शाखा तथा प्रदेश अध्यक्षको राष्ट्रिय भेलाले उक्त अप्ठेरो परिस्थितिको अन्त्य गरी निर्वाचन सुनिश्चित गर्ने विधि तय गरेकाले राष्ट्रिय भेलाले निर्दिष्ट गरेको विधिबाट मंसिर २८ को निर्वाचत सुनिश्चित भएको अपिलमा भनिएको छ ।

    अपिलमा भनिएको छ, ‘अब हाम्रोसामु निर्वाचनमार्फत आउने नयाँ नेतृत्वलाई आगामी कार्यभार सुम्पिने स्वर्णिम समय आएको छ । यस कार्यभारलाई सफल पार्न महासंघका सम्पूर्ण सदस्य, तीनै तहका कार्यसमिति तथा निर्वाचन समिति, सरोकारवाला संघसंगठन र महासंघप्रति चासो एवं चिन्ता राख्ने सबै शुभेच्छुकलाई हार्दिक अपिल गर्दछु ।’

    यही मंसिर २८ गतेका लागि निर्धारित निर्वाचनले महासंघको २४औं केन्द्रीय नेतृत्व चयन गर्ने र त्यसै दिन प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखामा समेत नयाँ नेतृत्व चुनिने महासंघले जनाएको छ ।

  • पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

    काठमाडौँ, मंगलबार, १८ मङ्सिर २०८१ । तोकिएको समयमा निर्वाचन हुन नसकेको नेपाल पत्रकार महासंघको फेरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।

    संयोजक खनालका अनुसार नयाँ निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन त्यसै दिन साँझ ५ बजे हुनेछ । यस्तै उम्मेदवारमाथि दाबी विरोध गर्न पाउने त्यसै दिन साँझ ५ बजेदेखि मंसिर २१ गते साँझ ७ बजेसम्म तोकिएको छ ।

    कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन फिर्ता लिने मंसिर २१ गते बिहान १० बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २२ गते बिहान ११ बजे रहेको छ ।

    कार्यतालिका अनुसार मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ भने त्यसै दिन मतदानको लागि तोकिएको समय सकिएपछि मतगणना सुरु हुनेछ ।

    कार्यतालिका अनुसार प्रदेश समितिको मनोनयन दर्ता मङ्सिर २४ गते र जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई केन्द्रीय निर्वाचन समितिले आग्रह गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने मतदाताको नामावली मंगलबार बिहान नै सार्वजनिक भइसकेको छ ।

    महासंघका अध्यक्ष विपुल पोखरेलले महासंघको तोकिएको मितिमा निर्वाचन गराउन असफल भएपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राजीनामा दिनु भएको थियो ।

    विष्टले पुन निर्वाचन कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गराउन नसकेपछि उहाँले पनि राजीनामा दिएका थिए भने अहिले महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा उपाध्यक्ष बाला अधिकारी रहनु भएको छ ।

    महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको गत असोज १० मा भक्तपुरमा सम्पन्न राष्ट्रिय भेलाले मङ्सिर २८ गते निर्वाचन गर्ने मिति तय गरेको थियो । अहिलेसम्म करिव ५ पटक निर्वाचनेको मिति तोकिए पनि महासंघको निर्वाचन हुन सकिरहेको छैन ।

    महासंघको निर्वाचन नै गराउन नसकेकाले यस पटकको महासंघको कार्यसमितिलाई इतिहासकै सबैभन्दा कमजोर कार्यसमिति रहेको पत्रकारले टिप्पणी गर्दै आएका छन् ।

  • मङ्सिर २८ गते पत्रकार महासंघका तीनै तहको निर्वाचन

    काठमाडौँ, मंगलबार, १७ मङ्सिर २०८१ । नेपाल पत्रकार महासङ्घको जिल्ला तथा प्रदेश अध्यक्षहरूको १९ असोज राष्ट्रिय भेलाले मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेसंगै पत्रकार महासंघको निर्वाचनको चहलपहल बढेको छ ।

    प्रेस स्वतन्त्रताको रक्षा, व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकास र पत्रकारको श्रम अधिकार संरक्षणजस्ता आदर्शमा अडिग नेपाल पत्रकार महासंघलको आगामी मंसिर २८ गतेका दिन नयाँ नेतृत्व चयनका लागि निर्वाचनको सुनिश्चित भएको नेपाल पत्रकार महासङ्घ
    का व अध्यक्ष बाला अधिकारीले बताउनु भयो ।

    उहाँले जसका कारण पत्रकारितामा जीवन दिनुभएका अग्रजहरू जसका हातमा कलमले बनाएका ठेलाहरू अझै ताजैछन्, कति अनुजहरूलाई कर्म क्षेत्रमा भेटिरहेका छौँ । पत्रकारितामा निरन्तर क्रियाशील भएपनि कतिपय प्राविधिक र कतिपय असावधानीका कारण सदस्य हुनबाट छुट्नु भए बताउदै महासंघ पत्रकारहरूकै संगठन भएकाले कसैलाई पनि नियत राखेर सदस्यताबाट वञ्चित नगरिएको बताउनु भयो ।

    प्राविधिक कारणले आगामी मङ्सिर २८ गते शुक्रबार सम्पन्न हुने निर्वाचनमा धेरै क्रियाशील पत्रकारहरु मताधिकारबाट वञ्चित हुनुभएपनि आगामि निर्वाचनबाट आउने नयाँ कार्यसमितिले सदस्यता निरन्तर कायम हुने गरी नवीकरण गराउने प्रबन्ध मिलाइने का व अध्यक्ष बाला अधिकारीले बताउनु भयो ।

    निर्वाचन मार्फत नयाँ नेतृत्वलाई आगामी कार्यभार सुम्पिने स्वर्णिम अवसरलाई सफल पार्नका लागि सामुहिक प्रयासमा सहयोग गर्न तथा योगदान पुयाउन नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा पदाधिकारी सदस्यहरु, पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, एशोसिएट संस्थाहरु, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्यसहित पत्रकारिता क्षेत्रका सबै संस्था तथा सरोकारवालालाई उहाँले अपिल गर्नुभयो ।

    यदि नेपाल पत्रकार महासंघमा निर्वाचन भएन र महासंघको वैधानिक प्रक्रिया अवरुद्ध भयो भने सरकारी डण्डाको मार यसले पनि सहनुपर्ने हुन्छ । यस्तो तीतो यथार्थलाई अनुभव गरी नेपाल पत्रकार महासंघको जीवन संस्थागत गराउनुपर्छ । निर्धारित समयमा निर्वाचन हुनसके निश्चय पनि नेपाल पत्रकार महासंघको औचित्य पुष्टिमात्रै हुँदैन प्रेसका अधिकारको सुरक्षक छाताको मर्यादा पनि कायम हुनेछ । दलीय स्वार्थको बन्दी नभएर प्रेसको मर्यादाको सम्मान गरौं । आजको आवश्यकता यही नै हो ।

    नेपाल पत्रकार महासंघ सबै विधाका पत्रकारहरूको गजूर हो र यसलाई छाता संगठनका रूपमा परिभाषित गरिएको छ । ०४६ पहिले यो संस्थालाई सत्ताको सेबक वनाइएको थियो । ०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट चालिएको गैरप्रजातान्त्रिक कदमले स्वतन्त्र प्रेसको मर्यादा, मूल्य र सिद्धान्तलाई तहसनहस पारेको थियो । ०३६ को जनमत संग्रहका अवसरमा केही हलुका भयो र स्वतन्त्र प्रेसको संघर्ष सशक्त हुन लाग्यो । त्यसपहिले पत्रकारहरूले तिनोटा दण्ड एउटै अभियोगमा सहनु पथ्र्यो । पत्रकारको पक्राउ कैद जरिवाना, प्रेसमा सिलबन्दी र पत्रिका जफ्त एकै पटक एउटै अभियोगमा हुने गथ्र्यो । ०३८ को संविधानले यो अवस्थाको अन्त्य गरे पनि पूर्ण स्वतन्त्रता दिएको थिएन । नेपालको इतिहासमै पहिलो पटक ०४८ को संविधानमा अकुण्ठित मौलिक हकको व्यवस्था गर्ने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र संविधान निर्माण गर्ने विश्वनाथ उपाध्याय सदा स्मरणीय हुनुहुन्छ । प्रतिपक्षको आवाजलाई प्रस्तुुत गर्न प्रेसलाई समर्थन र सहयोग गर्ने पहिलो प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्थ्यो । यी इतिहासका कर्महरू नेपाली प्रेसको इतिहासमा स्वर्णाक्षरले लेखिने छन् ।

    नेपाल पत्रकार महासंघको औपचारिक संस्थागत विकासको नेतृत्व जसले जे भने पनि कृष्णप्रसाद भट्टराईको सभापतित्वबाट आरम्भ भएको थियो । त्यसअघि सत्यनारायाण श्रेष्ठले प्रयास गर्नुभएको तथ्य पनि बिर्सनु हुँदैन । यसरी हेर्दा नेपाल पत्रकार महासंघको विगतले सातदशक पार गरेको छ । अनेक उकाली ओरालीका कठिन क्षणहरूको सामना गर्दै यहाँसम्म आएको नेपाल पत्रकार महासंघ पत्रकारहरूको हातबाट फुत्कनु हुँदैन भन्नेमा सबैको सचेतता हुनु आवश्यक छ ।