Blog

  • जोखिमपूर्ण त्रिशुलीको पुल तरेर विद्यालय जान बाध्य

    गोरखा, मंगलबार, २ पौष २०८१ । गण्डकी गाउँपालिका ७ धवादीका बालबालिका जोखिमपूर्ण त्रिशुलीको पुल तरेर विद्यालय जान बाध्य छन् । धवादी र यस आसपासका ६० जना विद्यार्थी साँझ बिहान जोखिमपूर्ण पुल तर्न बाध्य भएको वडाअध्यक्ष तुलसी रेग्मीले जानकारी दिए ।

    गत असोज ११ गते त्रिशुलीको बाढीले भत्काएको गोरखाको गण्डकी ७ र धादिङको बेनिघाट रोराङ ७ जोड्ने सो पुल आधा पाटो मर्मत भएर बाँकी काम एक महिनादेखि अलपत्र छाडेपछि स्थानीयहरु जोखिमपूर्ण पुल तर्न बाध्य भएका हुन् ।
    सो क्षेत्रका ५३ जना विद्यार्थी त्रिशुलीमाथिको जोखिम पुल तरेर चरौंदीको राइजिङस्टार बोर्डिङ पढ्न जाने गरेको वडाअध्यक्ष रेग्मीले जानकारी दिए ।

    धवादी, पँदेलटार, बालटार, चुर्लिङ, चैनपुर, छापगाउँ, तेर्से लगायतका गाउँका स्थानीयबासी पृथ्वीराजमार्ग जान ज्यान जोखिममा राखेर सोही पुल तर्ने गर्छन् । ‘एक दिन होइन, दुई दिन होइन, एक महिना भइसक्यो पुल अलपत्र बनाएर छोडेको । बजेट सक्कियो भनेर काम गर्न छोडिसके । गाउँलेहरु यसरी ज्यान जोखिममा राखेर तरिरहेका छन् । यो त जानीजानी मर् भनेजस्तो भएन र ?’, स्थानीय कुमार गुरुङले भने, ‘स्कूल क्याम्पस जाने विद्यार्थी, तरकारी, दूध बेच्ने किसान, दैनिक उपभोग्य सामान किन्ने सर्वसाधारणहरु अहिले ज्यान यसरी नै जोखिममा राखेर पुल तर्न बाध्य छन् । कि पुल चाँडो बनाउनु प¥यो, कि बन्द गर्नुप¥यो ।’

    सो क्षेत्रका सांसददेखि स्थानीय जनप्रतिनिधिसम्म सबैले यहाँको दुखलाग्दो अबस्थालाई गम्भीर रुपमा नलिएको उनले गुनासो गरे । पुल भत्किएपछि गण्डकी र बेनिघाट रोराङ गाउँपालिकाले मासिक ७० हजार भाडा तिर्ने गरी डुंगा भाडामा लिएर सञ्चालन गरेका थिए ।

    तर स्थानीयहरुले डुंगाभन्दा जोखिम पुल रोज्ने गरेको वडाअध्यक्ष रेग्मीको भनाइ छ । ‘पुल भत्किएपछि त्रिशुली वारपार गर्न दुवै गाउँपालिकाले डुंगा सेवा दिएको थियो, तर डुंगाभन्दा गाउँलेहरु जोखिम मलेर यही पुल तर्न थाले’, वडाअध्यक्ष रेग्मी भन्छन्, ‘अधकल्चो पुल नतर भनेर जति भने पनि कोही मान्दैनन् । डुंगा चढ्ने मान्छे कोही नभएपछि डुंगा सेवा पनि बन्द भयो । अहिले दैनिक दुईसय भन्दा धेरैजना यही पुल जोखिमपूर्ण पुल तरिरहेका छन् ।’

    सो पुलको डेक निर्माण गर्न गाउँपालिकाले नौ लाख रुपैयाँको टेण्डर आव्हान गरिसकेको बताए । ‘टेण्डर भइसकेको छ । सकेसम्म १५ दिनभित्र बनाइसक्ने लक्ष्य छ’, उनले भने, ‘त्यो बेलासम्म मान्छेहरु कि तल वा माथिको पुल तरे हुन्थ्यो, कि डुंगा तरे हुन्थ्यो । बनाइनसक्दैको पुल जोखिम मलेर नहिँडे हुन्थ्यो ।’

  • सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन जरुरी

    ललितपुर, मंगलबार, २ पौष २०८१ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अण्डर पास बनाउन जरुरी रहेको बताउनुभएको छ । साथै, उहाँले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताउनुभएको छ । मङ्गलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम गरिहरहेको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत जानकारी दिनुभयो । उहाँले सङ्घीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

    ‘‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला । तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धापाखेलको बाटो ।,’’ प्रमुख महर्जनले भन्नुभयो, ‘‘वडा नं २३ र २४ को त्यो बाटो सङ्घीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ । त्यहाँ काम भइरहेको छ ।

    दायाँबायाँका घरधनीहरु मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौं भनिरहेको छ । तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन । यो अहिले ललितपुर महानगरपालिकाको लागि एकदमै अप्ठ्यारो परिस्थिति छ । सङ्घीय सरकारले त्यहाँका स्थानीयहरुलाई मुआब्जा दिएर त्यो बाटो सुधार गर्न अति वाञ्छनीय छ ।’’

  • ‘चिनियाँ मापदण्डको मासु निर्यात गर्न सरकार प्रतिबद्ध’

    काठमाडौँ, मंगलबार, २ पौष २०८१ । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य राखेको छ । चीनमा वार्षिक २७ लाख मेक्टिक्टन मासु आयात हुने तथ्याङ्क छ । हिमालयन फुड इन्टरनेशनलको सहकार्यमा रु छ अर्ब लागतमा पूर्ण स्वचालित आधुनिक पशु बधशाला आउँदो छ महिनाभित्र निर्माण सम्पन्न गर्ने समझदारी बनेको छ ।

    हिमालयन फुड प्रशोधित मासु निर्यातका लागि २०६८ मा स्थापना भएको थियो । कम्पनीले विभिन्न मुलुकमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच प्रशोधित राँगाभैँसीको मासु चीन निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

    चीनमा छ हजारभन्दा बढी ‘आउटलेट’ भएको खाद्यान्न तथा प्याकेटको मासुजन्य परिकार बेच्ने जियान फुडले राँगाभैंसी पालनका लागि प्राविधिक सहायताका साथै नेपालमा रु २० अर्व बराबरको लगानी गर्न चाहेको पशु बधशाला व्यवसायी सङ्घका अध्यक्ष डा नवीनकुमार शर्माले जानकारी दिनुभयो । यसबाट पशुपालनमा संलग्न भएका वा हुन चाहने युवाले फाइदा लिन सक्ने विश्वास गरिएको छ ।

    कार्यक्रमको कार्यान्वयनसँगै घाँस तथा साइलेज, पशुदाना, कुखुराको दानाका लागि चाहिने मासु र हड्डी, छाला प्रशोधनसंग सम्बन्धित उद्योग, कृषिक्षेत्रमा लगानी बैंक तथा वित्तीय संस्थाले सहकार्य गर्न सक्ने बताइएको छ । सरकारको सहयोगमा खोरेत रोगको नियन्त्रण कार्यक्रम सञ्चालन, घाँस उत्पादनका लागि सरकारी जग्गा उपलब्ध गराउने, पशुपालक किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेलगायत कृषक हितका विविध कार्यक्रम सञ्चालन गरिनेछ ।

    ‘चिनियाँ मापदण्डको मासु निर्यात गर्न सरकार प्रतिबद्ध’

    सो अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले रागाँको मासुको गुणस्तर सुनिश्चित गरेपश्चात नेपाली उपभोक्ताले उपभोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाल र चीनबीच सम्पन्न राँगाभैँसीको प्रशोधित मासु चीन निर्यात गर्नेसम्बन्धी समझदारीले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गरेको बताउनुभयो ।

    “नेपाली उत्पादनको गुणस्तर सुनिश्चित बनाउदै गुणस्तरीय वस्तु निर्यात सुनिश्चित गर्न प्रयासरत छौँ”, मन्त्री अधिकारीले भन्नुभयो, “यसका लागि पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्दै आवश्यक कानुन नीति नियम बनाउन तथा सोको पालना गर्न गराउन दृढ सङ्कल्पित छौँ ।”

    पशुका रोगको नियन्त्रण गर्न जोनिङलगाय विधिको अवलम्बन गर्दै स्वस्थ पशुको उत्पादनसहित पशुजन्य उत्पादनको रुपमा रहेको दूध तथा मासुको गुणस्तर प्रमाणीकरण गर्न नेपाल सरकार आफ्नो स्रोतले भ्याएसम्म प्रयासरत रहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल र चीनबीच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौताबाट नेपालमा रोजगारी सिर्जना र आर्थिक विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले न्यून लागतमा राँगाभैँसी उत्पादन हुनसक्ने क्षेत्र पहिचान गरेर उत्पादन थाल्ने सुझाव दिनुभयो ।

    नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौता भएको राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता कार्यान्वयनमा प्रवेश गरेकामा खुसी व्यक्त गर्नुभयो । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले मासुको अभाव हुन नदिन विभिन्न ३० वटा पालिकामा राँगाभैसी पालन अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

  • गोरखाकाे ९ पालिकामा माओबादीकाे नयाँ नेतृत्व चयन

    गोरखा, मंगलबार, २ पौष २०८१ । गोरखाकाे ११ स्थानिय तह मघ्ये ९ वटामा नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनबाट अघिकांस पालिकामा नयाँ नेतृत्व चयन गरेको पार्टीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए ।

    ११ पालिका मध्ये २ नगरपालिका र ७ गाउँपालिकाको पार्टीको सम्मेलन सम्पन्न भइसकेको उनले बताए । २ पालिका मघ्ये सिरानचाेकमा अघ्यक्ष चयन गर्न बाँकी रहेकाे र चुमनुब्री गाउँपालिलकामा भेला हुन बाँकी रहेकाे उनले जानकारी दिए ।

    हिजाे सोमबारसम्म सम्पन्न भएका मघ्ये गोरखा नगरपालिका पार्टी समितिको तेस्रो सम्मेलनले रामहरी केसीको अध्यक्षतामा ४९ सदस्सीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा गोबिन्द भट्टराई, बिष्णुप्रसाद श्रेष्ठ, शर्मिला आले, सचिवमा हरि खनाल, सह-सचिवमा सुक बहादुर नेपाली र कोषाध्यक्षमा दन्डपाणी कट्टेल चयन भएको छ ।

    त्यस्तै पालुङटार नगरपालिकाको तेस्रो सम्मेलनबाट मदन देवकोटा नगरपार्टी समितिको अध्यक्षमा चयन भएका छन् । चयन भएकाे समितिको उपाध्यक्षमा शर्मिला बगाले, विकास वाग्ले र असोक मरहट्टा, सचिवमा शंकरराज कंडेल, सह-सचिवमा बालकृष्ण देवकोटा र कोषाध्यक्ष्मा चक्रबहादुर तामाङ रहेका छन् ।

    सहिद लखन गाउँपालिका पार्टी समितिको सम्मेलनबाट धु्रब खनाल अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा कृष्ण श्रेष्ठ, लिला श्रेष्ठ, भरत खनाल चयन भएका छन् । त्यस्तै सचिवमा अमृतबाबु श्रेष्ठ, सह-सचिवमा आँचल गुरुङ र कोषाध्यक्षमा गीता परियार चयन भएको पार्टी सचिव अकुर तिमल्सिना (आयाम) ले जानकारी दिए ।

    उनका अनुसार भीमसेन थापा गाउँपालिका पार्टी समितिको सम्मेलनबाट विनोद पाण्डे पुनः अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा सागर श्रेष्ठ, नारायण श्रेष्ठ र मदन शाक्य, सचिवमा रनिल राना, सह-सचिवमा यशोधा खनाल कट्टेल र कोषाध्यक्षमा सम्झना बसेल चयन भएका छन् ।

    त्यस्तै अजिरकोट गाउँपालिका पार्टी समितिको सम्मेलनबाट अध्यक्षमा कृष्णबहादुर गुरुङ, उपाध्यक्षमा बाबुराम अधिकारी, एलिना गुरुङ र एकबहादुर मगर, सचिवमा मनोज गुरुङ, र सह-सचिवमा दिपक बिकं चयन भएका छन् ।

    उता बारपाक सुलिकोट गाउँपालिकाको सम्मेलनबाट अध्यक्षमा नरबहादुर गुरुङ्ग पुनः चयन भएका छन् । उपाध्यक्षमा कृष्ण गुरुङ्ग, शुभप्रभात नेपाली, पुर्णबहादुर गुरुङ्ग, सचिवमा राजकुमार गुरुङ्ग, सह-सचिवमा नवराज तामाङ र कोषाध्यक्ष सृजना श्रेष्ठ (चौधरी) चयन भएकाे सचिव आयामले बताए ।

    त्यस्तै आरुघाट गाउँपालिका पार्टी समितिको सम्मेलनबाट अध्यक्षमा विष्णुप्रकाश खड्का, उपाध्यक्षमा कृष्णबहादुर नेपाली, राजकुमार ढकाल, सोवित श्रेष्ठ, सचिवमा गमबहादुर गुरुङ, सह-सचिवमा रमेश तिमल्सिना र कोषाध्यक्षमा सीमा परियार चयन भएका छन् ।

    गण्डकी गाउँपालिकाको सम्मेलनबाट अध्यक्षमा मिलन मगराती (संगम),उपाध्यक्षमा रामप्रसाद रेग्मी, तुलसी रेग्मी र पहलमान बयलकोटी, सचिवमा एकबहादुर थापा, सह-सचिवमा नेत्र चेपाङ, र कोषाध्यक्षमा मिना पन्त चयन भएका छन् ।

    त्यस्तैगरी, धार्चे गाउँपालिका पार्टी समितिको अध्यक्षमा सूर्यवहादुर गुरुङ, उपाध्यक्षमा मिनबहादुर सुनार, इन्द्रबहादुर गुरुङ र किसान गुरुङ, सचिवमा सरोज गुरुङ, सह-सचिवमा सुशील गुरुङ, कोषाध्यक्षमा प्रविना गुरुङ चयन भएकाे सचिव आयामले जानकारी दिएकाे छ ।

  • स्थानीय तहमा रोकिएन बेथिति

    काठमाडौँ, २ पौष २०८१ । सरकारले स्थानीय तहको सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता विकाससम्बन्धी तालिम प्रदान गरे पनि स्थानीय तहमा बेथिति रोकिने क्रममा भने कमी आएको छैन ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको विकृति न्यूनीकरण गर्न नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलाई सुशासन र सेवा प्रवाहसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ ।

    तर, स्थानीय तहमा भने अहिले विकास निर्माणका काममा उपभोक्ता समितिका पदाधिकारी तथा सेवाग्राहीसँग कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिका सचिवालयका सदस्यले सिधै रकम मोलमोलाई गर्नेदेखि सेवा प्रवाहमा समेत अनेकौँ मोलाहिजा गर्ने गरेको पाइएको छ ।

    स्थानीय तहमा नक्कली योजना बनाउने, फर्जी बिल बनाएर भुक्तानी दिने र नियमविपरीत राजस्व मिनाहा गरी आफ्नै स्थानीय तहलाई घाटा पार्ने, एउटै योजनालाई देखाएर दुईदेखि तीन पटकसम्म यही वर्ष काम भएको हो भन्दै बजेट दुरुपयोग गर्नेलगायतका भ्रष्टाचारजन्य गतिविधि हुने गरेका छन् ।

    महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय सतर्कता केन्द्रमा स्थानीय तहका सवालमा परेका उजुरीले पनि स्थानीय तहमा बेथिति बढ्दै गएको प्रस्ट हुन्छ ।

    अख्तियारले पछिल्ला दिनमा विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुखलगायतका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दासमेत दायर गर्ने गरेको छ । स्थानीय तहमा निर्वाचन भएदेखिको गतिविधि छानबिन गर्दै जाने हो भने विकृति अझ बढी झाँगिदै गएको उजागर हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले भन्नुभयो, “स्थानीय तहबारे आयोगमा बेथितिको चाङ छ ।” स्थानीय तहमा आवश्यक सामग्री खरिद तथा विकास निर्माण अन्तर्गतका योजनादेखि निर्माण सम्पन्न प्रतिवेदन तयारी र भुक्तानी प्रक्रियासम्म स्वार्थको द्वन्द्व देखिने, राजनीतिक तथा प्रशासनिक पहुँच भएकाले आआफ्नो स्वार्थ अनुसार योजना छनोट गर्ने, उपभोक्ता समितिमा समेत तिनै व्यक्ति रहने र अनियमित कार्य गर्ने प्रवृत्ति देखिएको आयोगले जनाएको छ ।

    घिमिरेका अनुसार सेवा प्रवाह गर्ने निकायले पनि राम्रोसँग सेवा प्रवाह नगर्ने, अनुगमन गर्ने निकायले पनि उचित रूपमा अनुगमन नगर्दा अख्तियारमा धेरै उजुरी पर्ने गरेको छ । कानुनले तोके अनुसार गर्न उहाँले सबै निकायलाई आग्रह पनि गर्नुभयो ।

    महालेखा परीक्षकको विभिन्न वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहले अबन्डा बजेट निर्माण गर्ने गरेको, भुक्तानी कट्टी गरेको स्थानीय तहले आवधिक योजनाबिनै सालबसाली योजनामा मात्र बजेट खर्च गर्ने गरेकोलगायतका विकृति बढ्दै गएको छ ।

    पालिकाका प्रमुखले कानुनविपरीत स्वकीय सचिव राख्ने गरेको, आफूखुसी विदेश भ्रमण गरी उक्त बिल पालिकाले तिर्ने गरी भुक्तानी लिने गरेको लगायतका विकृति पनि स्थानीय तहमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहमा बेथिति भएको स्वीकार गर्दै पछिल्लो समयमा यस्ता बेथितिमा कमी आएको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, “स्थानीय तहमा नागरिकको प्रत्यक्ष पहुँच हुने भएकाले स्थानीय तहका बारेमा अख्तियारमा उजुरी धेरै परेको हो तर सबै उजुरी बेथितिसँग मात्र सम्बन्धित छैनन् ।” मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले स्थानीय तहमा देखिएका विकृति न्यूनीकरण गर्न मन्त्रालयले प्रदेश स्तरमा क्षमता विकास र सुशासनसम्बन्धी तालिम प्रदान गर्दै आएको बताउनुभयो ।

    स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई वित्तीय सुशासन, सेवा प्रवाह, नीति, कार्यक्रम तथा बजेट निर्माण, विकास निर्माणमा देखिएका समस्या समाधान, कानुन निर्माण तथा कार्यान्वयनमा देखिएका समस्या र समाधानसम्बन्धी तालिम प्रदान गर्दै आएको मन्त्रालयले जनाएको छ ।

  • ‘अजिरकोट सेरोफेरो’ पाठ्यपुस्तकमा समेटिएको जनयुद्ध सम्बन्धी पाठ्यसामग्री हटाउन ने बि संघ गोरखाको आग्रह

    गोरखा, सोमबार, १ पौष २०८१ । अजिरकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम अन्तर्गत प्रकाशन गरेको ‘अजिरकोट सेरोफेरो’ पाठ्यपुस्तकमा समेटिएको जनयुद्ध सम्बन्धी पाठ्यसामग्री हटाउन नेपाल बिद्यार्थी संघ गोरखाले ४८ घण्टाको अल्टिमेटम दिएको छ । शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै नेविसंघले ४८ घण्टाभित्र बिद्यार्थीहरुको हातबाट पाठयपुस्तक फिर्ता गर्न पालिकालाई अनुरोध गरेको छ । अनुरोधलाई वेवास्ता गरे पालिकाभित्रका सबै बिद्यालयको पठनपाठन बन्द गरी आन्दोलनका थप कार्यक्रम अगाडी बढाउने नेविसंघले चेतावनी दिएको छ ।

    नेपालको संविधानले निर्दिष्ट गरेको शसस्त्र द्वन्द्वलाई जनयुद्धको नाम दिदैँ असंवैधानिक पाठ्यवस्तुहरु समावेश गरेको भन्दै तत्काल हटाउन नेविसंघले बिज्ञप्तीमार्फत माग गरेको हो । ‘हाम्रो संविधानले कुनै पनि स्थानीय सरकारलाई एउटा पार्टी बिशेषको घोषणा पत्र पढाउने अनुमति दिएको छैन,’ बिज्ञप्तीमा भनिएको छ, ‘बालबालिकाको कलिला मस्तिष्कमा पाठ्यपुस्तक मार्फत नै यस्ता घृणित गैरराजनीतिक बिषयसूची प्रवेश गराएर कक्षाकोठा देखि नै ब्रेनवास गराउन खोजिएको घाम जस्तै छर्लङ्ग छ ।’

    बिरोध स्वरुप नेविसंघले शनिवार रुम टु रिड नामक गैरसरकारी संस्थाको कार्यालयमा ताला समेत लगाएको छ । उक्त संस्थाकै प्राविधिक सहयोग र संस्थाका सिनियर प्रोग्राम अफिसर समेत रहेका एल वी खड्का, संस्थाका कर्मचारी अनन्त वाग्ले र राजन सापकोटाले उक्त पाठ्यपुस्तक सम्पादन गरेकाले उक्त संस्थामा तालावन्दी गरिएको नेविसंघ जिल्ला सभापति शिवहरि तिमल्सिनाले बताए ।

    ‘एउटा अमुक राजनैतिक दलको एजेण्डाहरु कलिला बिद्यार्थीहरुलाई पाठ्यपुस्तक मार्फत नै पढाएर कलिला बालबालिकाहरुलाई मनोवैज्ञानिक असर पु¥याउने अधिकार एउटा गैरसरकारी संस्थालाई कसले दियो ?’ उनले प्रश्न गरे । चित्तबुझ्दो जवाफ सार्वजनिक भएर पाठ्यपुस्तक फिर्ता नभएसम्म ताला नखोल्ने उनले जानकारी गराए ।

    स्थानीय पाठ्यक्रम अन्तरगत पालिकाले कक्षा ५ को पाठ्यपुस्तक ‘अजिरकोट सेरोफेरो’ को पाठ १६ मा माओवादी जनयुद्धको विषयबस्तु समावेश गरेको छ । सो पुस्तकको पेज नं. ४५ मा सामाजिक चेतना विषय क्षेत्रअन्तर्गत ‘जनयुद्ध र गणतान्त्रिक नेपाल’ शीर्षक राखिएको छ । सो पाठमा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’, ‘विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद’ लगायतका नारा लेखिएका पोस्टरहरु राखिएका छन् । त्यस्तै सो पाठको सुरुमै ‘जनता नै इतिहासका निर्माता हुन् – माओ’, भन्ने माओत्से तुङको भनाइ उल्लेख गरिएको छ भने जनमुक्ति सेनाका तस्वीरहरु राखिएका छन् ।

    कक्षा ५ लाई पढाउन भनेर तयार पारिएको सो पुस्तकको अन्तिम पाठमा जनवादी राज्यसत्ता स्थापनाका लागि माओवादी पार्टीले २०५२ सालदेखि जनयुद्ध सुरु गरेको, जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेल भएको, जनयुद्धको सिलसिलामा १७ हजार भन्दा धेरैले सहादत प्राप्त गरेको लगायतका विषयबस्तु समाविष्ट छन् ।

  • ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौँ, बिहिबार, २७ मङ्सिर २०८१ । ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

    साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।

    बैंकले आर्थिक वर्ष २०८०।८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।
    प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

    साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।

    साथै, बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

    ग्लोबल आइएमई बैंक “ग्लोबल फाइनान्स”को “बेष्ट बैंक अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ ।

    बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

    बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।

    अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ ।

  • सिरानचोक ८ जौबारीमा ९६ जनाको मोतियाँ बिन्दुको शल्यक्रिया

    गोरखा, बुधबार, २६ मङ्सिर २०८१ । मोतियाँ बिन्दु भएका ९६ जनाको सफल शल्यक्रिया गरिएको छ । सिरानचोक गाउँपालिकाको जौबारी प्रार्थमिक स्वास्थ्य केन्द्रमा उनीहरुको शल्यक्रिया गरीएको पालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो।

    उहाँका अनुसार पालिका भित्र विभिन्न स्थानमा गरीएको आँखा जाँच शिविरमा ८५५ जनाले आँखा जाँच गराएका थिए । ति मध्य १३१ जनाको शल्यक्रिया गनुपर्नेमा विभिन्न कारण आउन नसकेका बाहेक ९६ जनाको शल्य क्रिया गरीएको हो ।

    शल्यक्रिया गरीएका मध्य ५० जना पुरुष र ४६ जना महिला रहेका छन् । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पताल, नेपाल नेत्र हिन।संघ पुनःस्थापना कार्यक्रम गोरखा र धादिङ, सिरानचोक गाउँपालिका र गोरखा लायन्स आँखा सेवा केन्द्रका आयोजनामा मंसिर ११ गतेदेखी १७ गतेसम्म आँखा जाँच शिविर सञ्चालन गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

    सर्बोदय आवासिय बिद्यालय, छोप्राक, हर्मी, थालाजुङ, केराबारी, श्रीनाथकोट, गाँखु स्वास्थ्य चौकी र धारापानी सामुदायिक स्वास्थ्य ईकाइमा स्वास्थ्य जाँच गरीएको थियो ।

    आँखा जाँच गरेर मंसिर २३ र २४ गते शल्यक्रिया गरीएका उनीहरुलाई पुनःआज आँखा जाँच गरेर डिस्चार्ज गरीएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

  • नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

    काठमाडौँ, बुधबार, २६ मङ्सिर २०८१ । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनका लागि तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक चिरन्जीवी खनालले बुधबार जारी गरेको विज्ञप्तिअनुसार जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन तयारी पूरा भएको हो ।

    संयोजक खनालका अनुसार मतपत्र छापेर प्रदेश समितिमार्फत शाखाहरूमा पुर्‍याइसकिएको छ। यही मंसिर २८ गते पत्रकार महासंघको तीनै तहको चुनाव हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न महासंघका सम्पूर्ण मतदाता सदस्य तथा सरोकारवाला पक्षहरूलाई केन्द्रीय निर्वाचन समितिकाे अनुराेधसमेत गरेको छ ।

    मङ्सिर २८ गते केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ ।

    गोरखालगायत केही जिल्लामा भने मतदाता नामवलीलाई लिएर देखिएको विवादले निर्वाचन प्रक्रिया अघि बढेको छैन ।

    केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्‍याइसकेको जनाएको छ । यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ ।

    केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ ।

    प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफै छनोट गर्नेछन् ।

    मतदाताले गोप्य मतदानबाट तीन तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन् । मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिर सहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्ने समितिले जनाएको छ ।

    पत्रकार महासंघमा नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा (एमाले) निकट प्रेस चौतारीले गठबन्धन गरेका छन् भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरले स्वतन्त्रसहित विभिन्न ६ संघसंस्थासँग गठबन्धन गरी उम्मेदवारी दिएका छन् ।

    केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्ष पदमा देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।

    यीमध्ये शर्मा नेकपा (एमाले) निकट प्रेस चौतारी र नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनका साझा उम्मेदवार हुन् ।

    युनियनले चौतारीसँग गठबन्धन गरेपछि युनियनका रमेश विष्टले महासंघ अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । विष्टलाई नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालसहित ६ संघसंस्थाले समर्थन जनाएका छन् ।

    तर युनियनका वरिठ उपाध्यक्ष प्रेम केसीले बुधबार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिएका विष्टसहित १३ जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । उम्मेदवारी फिर्ता लिएर गठबन्धन उम्मेदवारलाई समर्थन नगरे साधारण सदस्यबाटै हटाउने युनियनको चेतावनी दिएको छ ।

  • पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा

    काठमाडौँ, आइतबार, २३ मङ्सिर २०८१ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा  प्यानल घोषणा गरिएको हो ।

    शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुनुहुन्छ । शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ ।

    यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिनुभएको हो ।

    अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासङ्घको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।