Blog

  • ‘शी लिड्स आइकन’अवार्ड प्रदान गरिँदै

    काठमाडौँ, बुधबार, १० पौष २०८१ । महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ ।

    उक्त कार्यक्रममा स्थानीय तहबाट प्राप्त एक सय ४० आवेदनमध्ये निर्णायक मण्डलद्वारा छनोट गरिएका २७ प्रेरणादायी महिला जनप्रतिनिधिबाट छनोट गरी उत्कृष्ट तीनलाई ‘आइकन’ घोषणा गरिनेछ ।

    प्राप्त आवेदनमध्ये कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ महिला जनप्रतिनिधि सहभागी थिए । निर्णायक मण्डलका सदस्य अष्टलक्ष्मी शाक्य (राजनीतिक क्षेत्र), सरु जोशी (सामाजिक क्षेत्र), र चारु चङ्गा (मिडिया क्षेत्र) ले हरेक प्रदेशबाट उत्कृष्ट प्रतिनिधि चयन गरेका छन् ।

    जनमतका लागि कोशी प्रदेशबाट ४ मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट तीन जना प्रतिनिधि छनोटमा परेका छन् । कार्यक्रममा ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता’ जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पु-याउने महिलालाई विशेष सम्मान गरिने छ ।

    आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार कार्यक्रममा तीन हजार बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय तहमा उत्पादित सामग्रीको प्रदर्शनी, सूचना केन्द्र र स्टल रहने आयोजकले जनाएको छ ।

    कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित यस कार्यक्रमलाई महिला सशक्तीकरणको नयाँ दिशामा लैजाने युवा पुस्ताको प्रयासका रूपमा हेरिएको छ । महिला सशक्तीकरण, उद्यमशीलता, र नेतृत्वलाई प्रवर्द्धन गर्न आयोजना गरिने यो कार्यक्रमले स्थानीय तहका जनप्रतिनिधिको सशक्त भूमिका उजागर गर्दै देशभरका महिलालाई प्रेरणा दिने अपेक्षा गरिएको छ ।

  • सिरानचोक –५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने

    गोरखा, बुधबार, १० पौष २०८१ । सिरानचोक गाउँपालिका–५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने भएको छ । नेपाल सरकारको स्वामित्व रहेको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले इकाइ स्थापना गर्न लागेको हो ।

    यो गण्डकी प्रदेशकै पहिलो इकाइ हुने बताइएको छ ।

    डिपिआर तयार भएर जग्गा भोगाधिकार समेत प्राप्त भइसकेको कम्पनीकी महाप्रवन्धक संगिता यादवले बताइन् । ‘सो वडामा रहेको छाङखोला सामुदायिक वनको ०.८३ हेक्टर क्षेत्रफलमा इकाइ स्थापना गर्न लागेका हौ,’ उनले भनिन्, ‘जग्गा उपभोग गर्ने अधिकार नेपाल सरकारबाट प्राप्त भइसकेको छ ।’

    गत असार १७ गते बसेको मन्त्रीपरिषदको बैठकले इकाइ स्थापना तथा संचालनका लागि सो क्षेत्रमा रहेको राष्ट्रिय वनको जग्गा भोगाधिकार दिने निर्णय गरिसकेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । सो जग्गामा रहेको बिभिन्न प्रजातिका २०६ वटा रुख÷पोल हटाउन समेत स्वीकृती दिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । इकाइ स्थापना तथा संचालनका लागि वन तथा भू–संरक्षण बिभाग र कम्पनीबीच मंसिर १३ गते सम्झौता भएको उनले जानकारी दिए ।

    इकाइको सम्भाव्यता अध्ययन गरेर ‘बिजनेस प्लान’ तयार भइरहेको कम्पनीकी महाप्रवन्धक यादवले बताइन् । उनका अनुसार डिपिआर तयार भइसकेको छ । इकाइ स्थापना तथा संचालनका लागि करिव आठ करोड खर्च लाग्ने उनको अनुमान छ । ‘यति नै खर्च लाग्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन तर भौतिक संरचना, मेसिनरी उपकरण सबै गरेर करिव आठ करोड खर्च लाग्छ होला । हामी बजेट प्लान पनि बनाउँदै छौं,’ उनले भनिन् ।

    उक्त इकाइमा जडिवुटी संकलन, उत्पादन तथा प्रशोधनको काम हुने बताइएको छ । डिस्टिलेसन, एक्सट्रयाक्सन र डाइङ टेक्नोलोजी गरी तीन किसिमका यूनिट रहने र जडिवुटी उत्पादनदेखि प्रशोधनसम्मको काम हुने यादवले जानकारी दिइन् । आवश्यक जडिवुटी जंगलबाट संकलन गरिने र उत्पादनका लागि किसानहरुलाई पनि प्रोत्साहन गरिने उनले बताइन् ।

    सबै उत्पादन इकाइले खरिद गर्ने गरी औषधीजन्य गुण भएका जडिवुटी खेतीका लागि किसानलाई बिउ वितरण गर्ने कम्पनीको योजना छ । बाँदरले दुख नदिने अदुवा, वेसार लगायतका खेतीका लागि प्रोत्साहन गरिने यादवले बताइन् । छिट्टै वन कार्यालयमा बिजनेस प्लान पेश गरेर संरचना निर्माणको काम अघि बढाउने तयारी कम्पनीको छ । इकाइ स्थापना भएसँगै धेरैका लागि रोजगारको अवसर पनि हुने बताइएको छ ।

  • छुवाछुत र विभेद अन्त्य हुनुपर्छ : प्रदेश प्रमुख मियाँ

    कैलाली, बुधबार, १० पौष २०८१ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन आवश्यक रहेको बताएका छन् । धनगढीमा सुरु भएको दलित सामाजिक मञ्चमा उनले विभेद र छुवाछुत अन्त्य नहुँदासम्म समाज र देशको विकास हुन नसक्ने बताएका थिए ।दलित समुदायका लागि संविधानमा पर्याप्त अधिकारहरू दिइएको भन्दै अधिकार कार्यान्वयनमा सबै जिम्मेवार बन्न आवश्यक उनले बताए ।

    ‘छुवाछुत र विभेद अन्त्य नहुँदासम्म मुलुकको विकास हुन सक्दैन’, प्रदेश प्रमुखले भने, ‘छुवाछुत र विभेद अन्त्य गरेर प्रदेश र देशको विकास गर्नु तपाइ हाम्रो जिम्मेवारी हो ।’

    प्रदेश प्रमुख मियाँले आफू संविधानको रक्षा गर्ने जिम्मेवारीमा रहेको र संविधानमा पनि छुवाछुत मुक्त समाजको परिकल्पना गरेको हुँदा छुवाछुत र विभेद अन्त्य गर्न पनि आफ्नो भूमिका हुने स्पष्ट वारेका थिए । उनले जात वा धर्मका नाममा गरिने विभेद कानुनी रुपमा पनि दण्डनीय रहेको बताए ।

    प्रदेश सरकारका अन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले समाजमा पछिल्लो समय जातीय विभेद कम हुँदै गए पनि अझै अन्त्य भने हुन नसेकेको बताए । उनले समाजलाई विभेदमुक्त बनाउनु पर्नेमा जोड दिएका थिए । छुवाछुत दण्डनीय रहेको भन्दै त्यस्तालाई कारबाही हुने समेत उनले बताए ।

    सामाजिक विकास मन्त्री मेघराज खड्काले दलित अधिकार स्थापित गर्ने गरि कानुन निर्माणको तयारी भइरहेको बताए । कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सांसद लक्ष्मी विक, प्रदेश सभा सदस्य ललिता सुनार लगायतले विभेद र छुवाछुत अन्त्यका लागि सबै लाग्नु पर्ने बताएका थिए ।

    त्यस्तै, अम्बिका ताम्राकार, साबित्रा घिमिरे, प्रेम विक, देवी खनाल, खडकराज जोशी, राजु तिरुवा सविता सुनार, कृष्ण प्रसाद जैशी, ओमप्रकाश पुन लगायतले विभेदमुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

  • काठमाडौँमा सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु

    कीर्तिपुर, आइतबार, ७ पौष २०८१ । सामाजिक सञ्जालको व्यापकता र प्रविधिको तीव्र विकास र प्रयोगसँगै आमसञ्चार क्षेत्र देखिएका सम्भावना र चुनौतीबारे बौद्धिक विमर्श गर्ने उद्देश्यले आजदेखि यहाँ सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु भएको छ ।

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजदेखि सुरु दुई दिने उक्त सम्मेलनमा व्यापक हुँदै गएको गलत सूचना प्रवाह, सामाजिक सञ्जालको प्रयोग, सञ्चारमाध्यममा देखिने पक्षधरता र सञ्चार साक्षरतालगायत सञ्चारसम्बद्ध एक दर्जनभन्दा बढी विषयमा कार्यपत्र तथा अनुसन्धान पत्रहरुमाथि छलफल हुनेछन् ।

    सम्मेलनको उद्घाटन सत्रमा प्रमुख विषयवस्तु प्रस्तुत गर्दै प्राध्यापक पि खरेलले प्रविधिले पत्रकार र सञ्चारमाध्यमलाई जतिसुकै सुविधासम्पन्न बनाए पनि घटना क्रमको स्वच्छ तथ्य सङ्कलनमा आधारित समाचार सम्प्रेषण अझै पनि चुनौतीपूर्ण रहेको बताए ।

    “प्राप्त सूचनाको सत्यता परीक्षण र पुनःपरीक्षण हुनुपर्ने विचार बुद्धकै पालमा आएको हो तर अहिले पनि पुनःपरीक्षण नगरिएका समाचार सञ्चारमाध्यममा उल्लेख्य मात्रामा भेटिन्छन्”, उनको भनाइ थियो ।

    यसबाहेक प्राकृतिक प्रकोप वा दुर्घटनाको समाचार सम्प्रेषणमा अपनाउनुपर्ने सचेतताको अभाव टडकारो देखिएको उनको भनाइ थियो । डिजिटल प्रविधिका कारण परम्परागत आमसञ्चारमाध्यमले आफूलाई अद्यावधिक गर्नुपर्ने उनले उल्लेख गरे ।

    त्रिवि केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा.कुन्दन अर्यालले पाठक दर्शक र स्रोताहरु विगतको तुलनामा अत्यन्त सक्रिय रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक सम्पादन गरिएका सञ्चार सामग्रीको आवश्यकता अझै टडकारो ढङ्गले महसुस हुन थालेको धारणा राखे ।

    सम्मेलनको उद्देश्य नियमित पठनपाठनलगायत सञ्चारसम्बन्धी प्राज्ञिक गतिविधि, पाठक, दर्शक र स्रोतालाई एक अर्कासँग नजिक ल्याउनु रहेको पनि उनले बताए । सम्मेलनमा नेपाल र दक्षिण एसियाली मुलुकहरु भारत बङ्गलादेश र श्रीलङ्काका सञ्चारविद् सहभागी छन् ।

  • डिग्री गर्ने गोरखा मकैसिङकी चेपाङ महिला सम्मानित

    चितवन, आइतबार, ७ पौष २०८१ । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित हुनुभएको छ । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उहाँ सम्मानित हुनुभएको हो ।

    बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बन्नुभएको बताउनुभयो ।

    विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिनुभएका रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आउनुभएको हो । उहाँ स्नातकोत्तर तह ९एमएड० उत्र्तीण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बन्नुभएको छ । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।

  • नेपाललाई आइटी हब बनाइन्छ : सञ्चारमन्त्री

    काठमाडौँ, आइतबार, ७ पौष २०८१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई ‘आइटी हब’ बनाउने गरी सरकार आवश्यक तयारीमा लागेको बताउनुभएको छ । शुक्रबार आयोजित ‘आइसिटी अवार्ड-२०२४’ वितरण तथा सम्मान कार्यक्रममा उहाँले सञ्चार मन्त्रालयले प्रत्येक वडा र टोलमा इन्टरनेट पुर्‍याउने कामलाई तीव्रता दिइरहेको बताउनुभयो । देशका सबै क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा विकास आवश्यक रहेको भन्दै जति सक्दो चाँडो आइसिटी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताउनुभयो ।

    नेपाललाई आइटी हबका रूपमा विकास गर्न भएका ऐन र कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक ऐन कानुन निर्माणको तयारीमा मन्त्रालय रहेको उहाँको भनाइ थियो । उहाँले पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक, युट्युब, एक्स-ट्वीटर, टिकटक) को सदुपयोगभन्दा दुरूपयोग भएकाले नियमन गर्न सरकार ऐन ल्याउने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौंको एलआर हाईस्कुल, मोरङको सुकुना सेकेन्डरी स्कुल, ग्लोबल आइएमई बैंक, फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी र डा. विशेष खनाललगायत आइटी क्षेत्रमा योगदान पुर्‍याउने १४ संघ-संस्था र व्यक्तिलाई ‘आइसिटी अवार्ड-२०२४’ प्रदान गरिएको थियो । इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड क्रिमसन टेकले जितेको छ । आइटी प्रोडक्ट र इनोभेसनमा सहभागी भएका विगत पाँच वर्षभन्दा पहिले दर्ता भएका कम्पनीले मात्रै सहभागिता जनाउन पाउने व्यवस्था गरिएको थियो तर उक्त विधामा ५० भन्दा धेरैले आवेदन दिएका आयोजकले जनाएको छ । बासियो सर्भिसेज, क्रिमसन टेक, फेन्टासी गेम, जियोभेसन जेपाल र हेल्थ यार्ड आयो प्रालि उत्कृष्ट पाँचमा छनोट भएका थिए ।

    त्यसैगरी एसिया फाउण्डेसन सोसल इनोभेसन आइसिटी अवार्डमा जियोकृषि उत्कृष्ट भएको थियो । सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाको सहयोगमा बनेको आइसिटी इनोभेसनमा सहभागी हुन पाउने उक्त विधामा ४० भन्दा बढी नोमिनेसन परेका थिए । त्यसमध्ये इ-कागजपत्र, जियोकृषि, डिजिटल एड्रेसिङ सिस्टम, एलएमसी अलर्ट र सफा नेपाल अन्तिम पाँचमा थिए ।

    यस वर्षको आइसिटी अवार्डमध्ये पब्लिक च्वाइस आइसिटी अवार्ड ज्याक सर्भिसेज प्रालिले जितेको छ । उक्त विधाका लागि स्टार्टअप आइसिटी अवार्डका उत्कृष्ट १०, प्रोडक्ट आइसिटी अवार्डका उत्कृष्ट १३, राइजिङस्टार उत्कृष्ट आइसिटी अवार्डका उत्कृष्ट १२ र सोसल इनोभेसनका उत्कृष्ट १३ कम्पनी प्रतिस्पर्धामा सहभागी भएका थिए । अवार्डको प्रि–इभेन्टका रूपमा आयोजना भएको स्टार्टअप फेस्टमा आफ्नो प्रोडक्ट र इनोभेसन सोकेस गरेका उनीहरूका स्टोरी टेलिभिजनमार्फत् समेत प्रसारण गरिएका थिए । त्यसपछि गरिएको भोटिङमा उक्त कम्पनीले सबैभन्दा धेरै मत पाएर उत्कृष्ट घोषणा भएको हो । अन्य १३ विधाको अवार्डसमेत घोषणा गरिएकोमा आइसिटी प्रोडक्ट अवार्ड विधातर्फ एपिआई म्यानेजमेन्ट सिस्टमले अवार्ड प्राप्त गरेको छ । ४५ कम्पनीको नोमिनेसन परेको थियो । एपिआई म्यानेजमेन्ट सिस्टम, इ–निर्माण, जीकवच, खातापाना वेभ र कोइली उत्कृष्ट भएका थिए । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा यस वर्ष हाइफन एससिएस जिरो उत्कृष्ट भएको छ । सात देशबाट ६० प्रतिस्पर्धीको नोमिनेसन प्राप्त भएकोमा भुटानको एरोटेक, श्रीलंकाको डिजेनिक्स, नेपालको फागुन एआई, पाकिस्तानको हर सहुलन, भारतको हाइफन एससिएस जिरो उत्कृष्ट पाँचभित्र पर्न सफल भएका थिए ।

    कृषितर्फ जीयोकृषि उत्कृष्ट भएको छ । स्टार्टअप आइसिटी अवार्ड विधामा यस वर्ष क्रिमसन टेक प्रालि उत्कृष्ट भएको छ । राइजिङस्टार इनोभेसन अवार्डतर्फ स्पिक अप नेपाल उत्कृष्ट भएको छ । उक्त संस्थाले पाँच सय डलरको पुरस्कार राशिसमेत प्राप्त गरेको छ । बाली विज्ञान, डा. फिस, हाइप्रेस, स्पिक अप नेपाल र राइटअन एआई उत्कृष्ट पाँचमा परेका थिए । जसमा कलेज तथा स्कुलबाट विद्यार्थी तथा ३० वर्षभन्दा कम युवाका स्टार्टअपलाई सहभागी गराइएको थियो । एनसेल विमेन आइकन आइसिटी अवार्ड नेपाल बैंक कार्ड तथा डिजिटल बैंकिङ विभागका प्रमुख वन्दना शर्माले पाउनुभएको छ । जसका लागि ४० भन्दा बढीले नोमिनेसन गरेका थिए । विजेता शर्माले एनसेलका तर्फबाट तीन लाख राशिको पुरस्कारसमेत जित्नुभएको छ । आइसिटीको पायोनियर अवार्ड प्राडा सुरेशराज शर्मालाई प्रदान गरिएको छ । उक्त अवार्डका लागि ३० जनाको नोमिनेसन परेको थियो । विदेशमा रहेर आइसिटी क्षेत्रमा योगदान गर्नेका लागि दिइने नेपाल डायस्पोरा आइसिटी अवार्ड नामी बरालले पाउनुभएको छ । युयोर्कमा रहेर स्टार्टअप सञ्चालन गर्दै आउनुभएकी उहाँले सन् २०१८ मा माइक्रोसफ्टको जागिर छोडेर स्टार्टअप सुरु गर्नुभएको थियो ।

    इन्टरप्रेनरसिप अवार्डतर्फ फुडमाण्डुका मनोहर अधिकारी उत्कृष्ट हुनुभएको छ । आइटी इञ्जिनियर उहाँले सन् २०१० मा नेपालकै पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म निर्माण गर्नुभएको थियो । प्रोफेसनल एक्सिलेन्ट आइसिटी अवार्ड विधातर्फ विशेष खनालले प्राप्त गर्नुभएको छ । फ्रान्सबाट आइसिटीमा विद्यावारिधि खनाल उत्कृष्ट हुनुभएको हो । सरकारी संस्थाबाट यसपटक सर्वोच्च अदालत उत्कृष्ट भएको छ । जसका लागि नागरिक लगानी कोष, जल तथा मौसम विज्ञान विभाग र सर्वोच्च अदालत उत्कृष्ट तीनमा छनोट भएका थिए । निजी क्षेत्रतर्फबाट डिजिटल सर्भिस आइसिटी अवार्डमा आइएमई पे उत्कृष्ट भएको छ । आइएमई पे, वान बाई मेटलाइफ, एनआइसी एसियाको डिजिटल युनिभर्स उत्कृष्ट तीनमा छनोट भएका थिए ।

    निजी र सामुदायिक विद्यालयमा उत्कृष्ट आइटी पठनपाठन गराउनेमध्ये डिजिटल एजुकेसन आइसिटी अवार्ड सामुदायिक विद्यालयतर्फ मोरङको सुकुना मावि उत्कृष्ट भएको छ । निजी विद्यालयतर्फको डिजिटल एजुकेसन आइसिटी अवार्ड एलआरआई स्कुलले जितेको छ ।
    प्रत्येक प्रदेशबाट एक-एकजना उत्कृष्ट आइटी कम्पनीसमेत सम्मानित भएका छन् । कोशीमा डेल्टा टेक प्रालि, मधेशमा तेजस टेक प्रालि, बागमतीमा अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकीमा आकाश डिजिटल प्रालि, लुम्बिनीमा निन्जा इन्फोसिस प्रालि, कर्णालीमा बिजिनेस अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिममा पावर वेस्ट इनोभेसन एण्ड रिसर्च सेन्टर सम्मानित भएका हुन् ।

  • नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि सचेत रहन आग्रह

    काठमाडौँ, शनिबार, ६ पौष २०८१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा पुन: मंकीपक्स पुष्टि भएपछि सतर्कता अपनाउन सचेत गराएको हो ।

    साउदी अरेवियाबाट फर्किएका तनहुँका एक ३६ वर्षीय पुरुषलाई शुक्रबार मंकीपक्स पुष्टी भएको थियो ।

    उनी खटिराको समस्या लिएर काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाडौँमा पुस ४ गते उपचारका लागि गएको र सोहि दिन उक्त अस्पतालले एम्पक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आइसोलेशनमा राखी थप परिक्षणका लागि नमूनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परिक्षण गर्दा शुक्रबार मंकीपक्स पुष्टि भएको हाे ।

    परिक्षण पोजिटिभ भएतापनि बिरामीको स्थितिमा केहि जटिलता नभएको र चिकित्सकको निगरानीमा उपचार र रेखदेख निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ। थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको मन्त्रालयको भनाइ छ । यससँगै नेपालमा यो मंकीपक्स पुष्टि भएको दोश्रो पटक हो ।

    मन्त्रालयले सबैलाई सचेत रह र यदि कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर ू१११५” मा सम्पर्क गरी परामर्श लिन अनुरोध छ ।

    साथै, यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरुसमेत तोकि विशेषज्ञहरु तोकिसकिएकोले हुनाले उनीहरुबाट परामर्श लिन सकिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी र सजगता बढाइएको बताएको छ ।

    यस्ताे छ मंकीपक्सकाे लक्षण र बच्ने उपाय

    एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा (विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

    यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरु बढ्ने हुन्छ। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ।

    यसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाईजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डीटर्जेन्टले धुने, मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डीटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने हुन्छ ।

  • गोरखा दरबारमा बौद्धपूजा

    काठमाडौँ, शनिबार, ६ पौष २०८१ । भुटानी बौद्ध लामाको गोरखा दरबारसँग ऐतिहासिक सम्बन्ध रहेको छ । यसबारेमा यहाँ केही चर्चा गरिन्छ ।

    गोरखा दरबारमा हानाथाप र झैझगडा थियो । त्यसैबेला गोरखाली राजा पृथ्वीपति शाहका एक छोरा रणशार्दूलले आत्महत्या गरे । यसपछि राजा पृथ्वीपति र युवराज वीरभद्र शाहबिच मनोमालिन्य भयो । त्यसपछि वीरभद्र भक्तपुरका आफ्ना दौतरी राजा भूपतिन्द्र मल्लकहाँ पाहुना लाग्न पुगे तर त्यहाँ उनी बिरामी परी गोरखा फर्कंदा गण्डकी किनार आरुघाटमा विसं १७५४ मा उनको देहान्त भयो । वीरभद्रले आफू भक्तपुर जाँदा आफ्ना दुई रानी (दिग्विजय सेनका बहिनीहरू) लाई माइतिघर तनहुँमा पठाइदिएका थिए । उनको देहान्त भएको केही दिनपछि उनकी दोस्री रानी मल्लिकादेवीको कोखबाट नरभूपाल शाह जन्मेको खबर गोरखामा आइपुगेको थियो । गोरखाको भावी राजा को हुने भन्ने हानथाप चलिरहेका बेला नरभूपाल जन्मेको खबरले त्यो विवाद पनि सेलाएर गयो तर राजा दिग्विजय सेनले आफ्ना भान्जालाई व्रतबन्धको समय नआएसम्म नौ/१० वर्ष तनहुँमै राखेको इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ (२०६१:१६) मा उल्लेख गरेका छन् ।तनहुँबाट गोरखा आएपछि विसं १७६३ मा नरभूपाल शाह युवराज घोषित भए (आचार्य, २०६१:२१) ।

    पृथ्वीनारायण शाहले भुटानी गुम्बाहरूलाई दिएको पत्र ।

    उनको खाँचीकी राजकुमारी चन्द्रप्रभावतिसँग विसं १७६२ मा पहिलो विवाह भएको थियो । उनी राजा भएपछि पाल्पाली राजा गन्धर्व सेनकी छोरी कौशल्यावतीसँग दोस्रो विवाह भयो । उनको क्रमशः पर्वतका राजाकी भतिजी बुद्धिमतीसँग तेस्रो र तनहुँकी मावली घरानाकी सुभद्रावतीसँग चौथो विवाह भयो तर २२–२३ वर्षको उमेरमा पनि नरभूपालका सन्तान नभएका कारण गोरखा दरबारमा ठुलो चिन्ता फैलिएको थियो (आचार्य, २०६१:६८) ।

    यसरी चिन्ता फैलिरहेका बेला माहिली रानी कौशल्यावतीले देवा धर्मा (भुटान) बाट एक जना लामालाई ल्याएर उपाय गरे सन्तान हुने छ भन्ने सपना आफूले देखेको दरबारमा बताइन् । सोही बेहोरा खोली लामालाई बोलाउन भुटानतर्फ लालमोहर पठाइयो तर लामा व्यस्त भएकाले हाललाई आउन नसक्ने खबर पठाए । जस्तोसुकै जरुरी काम छाडेर भए पनि आउनुहोस् भनी फेरि एक सरदारका साथ खबर पठाइयो । उनै सरदारका साथ भुटानी लामा गोरखा आइपुगे । उनलाई बडो सत्कारका साथ खानपिनको बन्दोबस्त गरी गोरखा दरबारमा राखियो । लामाले उपाय (बौद्ध पूजा, तान्त्रिक अनुष्ठान आदि) गरेपछि कौशल्यावतीको गर्भ रह्यो । गर्भ रहेको सात महिनामा पृथ्वीनारायण शाहको जन्म भयो (नेपाल देशको इतिहास ‘प्राचीन नेपाल’, सङ्ख्या २३–वैशाख २०३०:४) ।

    आचार्यले वीरभद्रको देहान्त विसं १७५४ मा भएको र त्यसको केही दिनपछि मल्लिकादेवीको कोखबाट तनहुँमा नरभूपाल शाहको जन्म भएको भन्ने उल्लेख गरेबाट नरभूपाल शाहको जन्म साल विसं १७५४ ठहर्छ । रानी कौशल्याको कोखबाट पहिलो सन्तानका रूपमा विक्रम संवत् १७७९ पुस २७ गते जन्म भयो । यसरी हेर्दा यी बाबुछोराबिचको उमेरमा २५ वर्षको अन्तराल हुन्छ । गोरखा राजपरिवारमा त्यो समय १६/१७ वर्षकै उमेरमा सन्तान उत्पादन हुने चलन चलेको विचार गर्दा नरभूपाल शाह ढिलो उमेरमा बाबु बनेको देखिन्छ । यसै गरी सन्तान जायजन्मका हिसाबले चन्द्रप्रभावतीभन्दा एक वर्षपछि कौशल्यावतीसँग विवाह गरेको मान्दा पनि नरभूपाल शाहले विवाह गरेको छ वर्षपछि उनलाई सन्तानलाभ भएको देखिन्छ ।

    नरभूपाल शाहकी जेठी रानी चन्द्रप्रभावती निःसन्तान थिइन् । उनका तीन रानी र एक भित्रिनीबाट २३ सन्तान जन्मे । तीमध्ये १२ जना छोरा र ११ जना छोरी भए (नेपाल देशको इतिहास, ‘प्राचीन नेपाल’ सङ्ख्या २१– कात्तिक २०२९:५–६) । यसरी पृथ्वीनारायण शाहको जन्म भएपछि नरभूपाल शाह खुसी भए । आफ्नो सन्तान नहुँदा भुटानी लामा (लोपा लामा) को आशिर्वाद पाएपछि पृथ्वीनारायण शाहको जन्म भएकोमा प्रभावित भएर ती भुटानी लामालाई उनले विसं १७९८ मा एउटा ताम्रपत्र जारी गरेर गोरखाको नक्थली गुम्बा लोपा लामालाई र छोङ लामालाई चुमावन, घेलिङ, चुमेगाउँ र गोथान गरी पाँच वटा गुम्बा दान गरे (शर्मा, सन् १९९०:१५८) ।

    नरभूपाल शाहको समयमा केरुङ र झुँगाको दोसाँध झुँगा थानामा रहेका गोरखाली फौजलाई भोटको फौजले घेरिराखेको अवस्थामा भुटानी लामाले सन्धि गरिदिएको रिझबापत नरभूपाल शाहले भूटानी लामाले चलाएको गुम्बालाई नक्थली र पुँझो गाउँका जग्गा दिएका थिए (दिनेशराज पन्त, ‘गोरखाको इतिहास’ पहिलो भाग–२०४१ः२४४) ।

    नरभूपाल शाहले भुटानी गुम्बाका लागि जारी गरेको ताम्रपत्र इतिहासकार धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठले ‘नुवाकोटको ऐतिहासिक रूपरेखा’ को अभिलेख खण्ड (२०३२:२३) मा प्रकाशित गरेका छन् । विसं १७९८ फागुन वदी ५ रोज ७ मा जारी ताम्रपत्रको बेहोरा यस्तो छ :

    आगे ल्होपा लामाकन, नकथलिको घुम्वा कुशवत्ति वकस भयो धनजियले सेवा गर्नु क्षोड लामाकन वक्स्याको जजमान सभै वकस भयो थूंवन् गोलजुङ चिलतिंमा पाजुङका षेत २ घुंवा गाउँ गवलां एति गाउँले या लामाले अह«ायाको सो काम गर्नु ।

    गोरखापत्र

  • नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने

    काठमाडौँ, शुक्रबार, ५ पौष २०८१ । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ ।

    नौबिसे-मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।

    दुवै स्थानका मोड सुधारका लागि ७-१३ पुससम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन पाइने छैन ।

    ३ पुसमा बसेको जिल्ला सुरक्षा समिति धादिङको निर्णय अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।

    यसैगरी मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ ।

    यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिनेछ ।

    तोकिएका स्थानमा रोकिने सवारीसाधनलाई दिउँसो २ बजेपछि मात्रै छोडिने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा सञ्चालन हुनेछ ।

  • नेता डा. शेखरलाई भावी सभापति भन्दै नेता कार्यकर्ताको नाराबाजी

    धनगढी, शुक्रबार, ५ पौष २०८१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सुदुरपश्चिम यात्रामा निस्किएका छन्। १५ औँ महाधिवेशनमा सभापतिबाट हत्याउने दाउमा रहेका शेखर देश दौडाहामा लागेका हुन् ।

    कोइरालाको साथमा सांसद सुनिल शर्मा, हृदयराम थानीलगायतका नेताहरु सहभागी छन्। कोइरालाले सुदुरपश्चिका ९ जिल्ला सभापतिसहित नेता कार्यकर्तासँग भेट गर्ने तय भएको छ ।

    मंसिर १८ कोशी प्रदेशका पालिका सभापति भेला राखेका कोइरालाले सभापति शेरबहादुर देउवाको गृहजिल्लाबाट आफ्नो शक्ति परिक्षण गर्न लागेका हुन्। सुदूरपश्चिमको भ्रमणमा निस्केका कोइरालालाई धनगढीमा १५ किलोको मालाले स्वागत गरिएको छ ।

    देउवाको गृहप्रदेशमा पुगेका कोइरालालाई धनगढी विमानस्थालमा भेला भएका पार्टी नेता कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, शेखर दाईलाई ले भन्छ’ भन्दै नाराबाजी गरेका थिए ।

    १५ औं महाधिवेशनको तयारीमा रहेका नेता कोइरालाले ०८२ मंसिरभित्रै महाधिवेशन गराउनुपर्ने दबाब बढाइरहेका छन्। उनले आफ्नो सभापति देउवा र महामन्त्री गगन थापासँग कुनै विवाद नरहेको बताए ।

    धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१५ औँ महाधिवेशनमा मेरो सभापति दाबी स्वभाविक हो। अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी भएकाले तयारीमा लागेको हुँ ।’