Blog

  • पत्रकारको १० लाख दुर्घटना बिमा

    म्याग्दी, शुक्रबार, ५ पौष २०८१ । म्याग्दीका क्रियाशील पत्रकारहरुको दुर्घटना बिमा सुरु गरिएको छ । गत मङ्सिर २८ गते निर्वाचित नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखा नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशिल रहेका पत्रकारहरुको दश लाख रुपियाँको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।

    शिखर इन्स्योरेन्स कम्पनीमार्फत १० लाख रुपियाँ बराबरको दुर्घटना बिमा गर्ने र बिमा शुल्क पत्रकार महासङ्घले ब्यहोर्ने अध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

    पत्रकार महासङ्घ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, निवर्तमान अध्यक्ष एवम् पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र पूर्व अध्यक्ष तारानाथ शर्माको बिमा गरी शुभारम्भ गरिएको छ । बाँकी अन्यको पनि क्रमशः बिमा गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमको भनाइ छ । यो बिमाअन्तर्गत दुर्घटनाबाट कुनै पत्रकार कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कामका बेला कुनै पनि प्रकारका दुर्घटनामा परी मृत्यु वा पूर्णरुपमा अशक्त भएमा १० लाख रुपियाँसम्मको प्रिमियम उपलब्ध गराइने छ । दुर्घटनाबाट घाइते भएमा उपचारका लागि एक लाख रुपियाँसम्मको लाभ पाउने छन् ।

    यसैबिच म्याग्दीमा पत्रकारिता क्षेत्रलाई थप फराकिलो बनाउन नयाँ पत्रकार उत्पादन तथा क्षमता विकासमा केन्द्रित हुने गरी महासङ्घको मातहतमा पत्रकार पाठशालासमेत सञ्चालन गरिने भएको छ । पत्रकार महासङ्घ म्याग्दीले आधारभूत तथा एडभान्स तालिमका लागि पनि आवश्यकता महसुस गरेर पाठशालाको अवधारणा ल्याएको हो ।

    पत्रकार महासङ्घ म्याग्दीले जिल्लामा विभिन्न क्षेत्रमा देखिएका समस्यामा केन्द्रित भएर बहस तथा जनसरोकारको क्षेत्रमा प्राथमिकता दिने अध्यक्ष गौतमको भनाइ छ । जिल्लामा अलपत्र परेका विकासे योजना तथा सेवाप्रवाहमा देखिएको ढिलासुस्तीविरुद्ध खवरदारी समेत गरिनेछ । नेपाल पत्रकार महासङ्घको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले नवनिर्वाचित टिमलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

  • नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा

    काठमाडौँ, शुक्रबार, ४ पौष २०८१ । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।

    अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।

    बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल-फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।

    यस सेवाका मुख्य विशेषताहरूः

    -निःशुल्क सम्पर्कः ग्राहकहरूले बिना कुनै शुल्क देशभरबाट बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।

    -२४/७ सेवा उपलब्धताः टोल-फ्री नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ।

    -दक्ष र व्यावसायिक सेवाः प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन्।

    -विविध च्यानल पहुँचः ग्राहकले टोल-फ्री नम्बरको अतिरिक्त बैंकको मोबाइल एप, भाइवर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन्।

    ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको हो । बैंकले टोल-फ्री नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरेको छ । बैंकले आफ्ना सम्पूणर् ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ ।

    नबिलले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा ४० वर्षदेखि आधुनिक, डिजिटल र ग्राहक-केन्द्रित वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्नो सेवा सञ्जाल र प्रविधिमा निरन्तर सुधार गर्दै आएको छ । नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ ।

  • माछीखोला जलविद्युत आयोजनाको निर्माण रोक्न धार्चे गाउँपालिकाको आग्रह

    गोरखा, बिहीबार, ४ पौष २०८१ । गोरखाको धार्चे गाउँपालिकाले जथाभाबी उत्खनन तथा निर्माण कार्य बन्द गर्न माछीखोला जलविद्युत आयोजनालाई पालिकाले आग्रह गरेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा–३ र ५ जोड्ने रेसे खोलामा १६ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ तर, निर्माण कार्य सुरु हुनु भन्दा अधि सम्बन्धित निकायलाई बिना जानकारी वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको भन्दै गाउँपालिकाले काम बन्द गर्न आग्रह गरेको हो ।

    ‘ रेसे खोलामा अहिले जथाभावी डोजर लगाएको छ,’ गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, जथाभाबी डोजर चलाएको छ ‘हामी अनुगमन गर्न जादाँ पहिले माथिबाट डोजरले खनेर बाटो बनाएकोमा अहिले बाटो नै परिवर्तन गरेर अर्को बाटो डोजर चलाएपछि तत्काल निर्माण कार्य रोक्न अनुरोध गरेको उहाँले बताउनु भयो ।’ यसरी जथाभावी डोजर लगाउँदा माछिखोला रेसे सडकमा क्षति पुगेको र सिङ्ला गाउँ र माछिखोला बजारमा पहिरो जोखिम बढेको उहाँले बताउनु भयो । साथै, उहाँले आर्थिक, भौतिक तथा मानवीय क्षति भएको पिडित परिवारका सदस्यले पालिकामा राहत उपलब्ध गराई पाउ भनी बिबेदन दिएको बताउनु भयो ।

    जथाभावी डोजर लगाएर प्राकृतिक स्रोत साधनको दोहन एवं वन क्षेत्रमा हानी नोक्सानी पुर्‍याउने काम आयोजनाले गरेको पालिकाले जनाएको छ । सम्बन्धित निकायको स्वीकृती बिना उक्त काम भएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

    ‘वन मन्त्रालय लगायतका सम्बन्धित सबै निकायबाट स्वीकृती नलिई डोजर नचलाउनु भनेर पत्राचार समेत गरेका थियौ, तर अटेर गर्नुभयो,’ गुरुङले भन्नुभयो, ‘उहाँहरुले जथाभावी डोजर लगाउँदा साउन १३ गते घर बस्तिमा बाढीबाट पाँच जनाको ज्यान समेत गयो ।’ उक्त पहिरोमा घाइते भई हाल उपचाररत दुई जनाले हाइड्रोबाट उपचार खर्च समेत नपाएको भनी पालिकामा निवदेन समेत परेको उहाँले जानकारी गराउनु भयो ।

    स्थानीय सरकार र सरोकारवालासँग आवश्यक छलफल र समन्वय गरेर मात्र अघि बढ्न पालिका अध्यक्ष गुरुङले सुझाव दिएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्राकृतिक स्रोत साधन तथा वन जंगलको संरक्षण, अनुगमन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको पालिकाले जानकारी समेत गराएको छ ।

    जथाभावी डोजर लगाएर प्राकृतिक स्रोत साधनको दोहन एवं वन क्षेत्रमा हानी नोक्सानी पुर्‍याउने काम आयोजनाले गरेको पालिकाले जनाएको छ । सम्बन्धित निकायको स्वीकृती बिना उक्त काम भएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

    वाटर इनर्जी डेभलपमेन्ट प्रालि काठमाडौंले उक्त क्षेत्रमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

  • धार्चे गाउँपालिकाद्वारा उपभोक्ता समितिलाई अभिमुखिकरण

    गोरखा, बिहीबार, ४ पौष २०८१ । धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षका योजना कार्यान्वयन गर्नका लागि गठित उपभोक्ता समितिलाई अभिमुखिकरण गराउन थालेको छ । समितिका पदाधिकारीहरुलाई आइतवारबाट अभिमुखिकरण तालिम दिन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।

    ‘हिजो वडा नम्वर १, ३ र ७ का उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण गरायौँ,’ उनले भने, ‘आज वडा नम्वर २ र ६ का समिति पदाधिकारीहरुलाई तालिम दियौँ, भोलि बाँकी वडाका समितिलाई दिन्छौ ।’ उनीहरुलाई उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, योजना सम्झौता र भुक्तानी प्रक्रिया, डोर हाजिरी र दररेट लगायतका बारेमा अभिमुखिकरण गराइएको सुनारले जानकारी दिए ।

    कार्यक्रममा प्राविधिक शाखा, योजना शाखा र लेखा शाखाका कर्मचारीका साथै प्रमुख प्रशासकीय अधिकृत सुनारले सहजिकरण गरेका थिए । यो बर्ष उपभोक्ता समिति मार्फत गर्नुपर्ने कुल १ सय १० वटा योजना रहेको पालिकाले जनाएको छ । योजना कार्यान्वयनका लागि १ सय १० वटै उपभोक्ता समिति गठन भइसकेको छ ।

    तिनै समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण गराइएको हो । उक्त योजनाहरु डेढ लाखदेखि २० लाख सम्मका रहेको सुनारले बताए । ढल निकास, सडक स्तरोन्नती, खानेपानी आयोजना, सार्वजनिक शौचालय, गोरेटो बाटो निर्माण लगायतका योजना रहेको बताइएको छ ।

  • तमु ल्होसारको अवसरमा गोरखाको लाप्राकमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

    गोरखा, बिहीबार, ४ पौष २०८१ । धार्चे गाउँपालिका–४ लाप्राकमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा तमु.क.प्ये.ल्हु.संघ गोरखा जिल्ला लाप्राक इकाई समितिको आयोजना तथा तमु ल्होसार मुल आयोजक समितिको साझेदारीमा पुरुष तथा महिला भलिबलसहित विभिन्न खेलकुद प्रतियोगिता हुने लागिएको हो ।

    आगामि पुस १५ गतेदेखि १९ गतेसम्म हुने जिल्लास्तरीय पुरुषतर्फको भलिबल प्रतियोगिताका बिजेताले ६० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने तमु.क.प्ये.ल्हु.संघ गोरखा जिल्ला लाप्राक इकाई समितिका सह–सचिव सागर गुरुङले बताए । द्वितीय हुनेले ४५ हजार नगद साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

    तृतीय हुनेले ३५ हजार नगद साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । महिला तर्फको बिजेता टिमले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताएको छ । यस्तै द्वितीयले १५ हजार नगद साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने तृतीयले मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताएको छ ।

    प्रतियोगितामा सहभागि हुन पुरुष तर्फ ६ हजार र महिलातर्फको २५ सय दर्ता शुल्क तोकिएको छ । खेलाडी संख्या अतिरिक्तसहित ९ जना खेलाडी अनिवार्य जर्सीमा हुनु पर्ने उनले जानकारी दिए । भलिबल प्रतियोगितामा सहभागी हुनका लागि आगामी पुस १५ गते बेलुकासम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजक समितिले जनाएको छ ।

    सो कार्यक्रमको अवसरमा छयेलो फाल्ने, डोरी तान्ने, हाँडी फुटाई, बाँस चडाई र रनिङ नाँच पनि हुने आयोजकले जनाएको छ । रनिङ नाँच बाहेक सम्पूर्ण खेलका बिजेताले एक/एक वटा लोकल भाले प्राप्त गर्नेछन् । रनिङ नाँचका बिजेतालाई विविध सामग्रीको व्यवस्था गरिएको गुरुङको भनाई छ ।

    ‘गुरुङ भाषा, संस्कार हाम्रो पहिचान, यसको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ हुन लागेको उक्त कार्यक्रममा गुरुङ समुदायमा प्रचलित परम्परा झल्काउने घाँटु नाँच, बोन लम नाँच, पच्यु नाँच, पैडी, स्यार्का नाँच र मकै बिबाह जस्ता कार्यक्रमहरु समेत प्रर्दशन रहने तमु ल्होसार मूल आयोजक समितिले जनाएको छ ।

  • रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गरिने

    काठमाडौँ, बिहीबार। ४ पौष २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ ।

    बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले फोटो सार्वजनिक गर्ने व्यक्तिलाई कारवाही गर्ने उल्लेख गरेको छ ।

    प्रहरीले उक्त तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ ।

    डा भुसालले उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफीसमेत माग्नुभएको छ ।

  • कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स एनपिएलको फाइनलमा

    काठमाडौँ, बिहीबार, ४ पौष २०८१ । कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो ।

    जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग यही पुस ६ गत प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

    जनकपुरको यो जितमा जिमी निशमले १७ बल खेल्दै दुई चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । शेर मल्लले अविजित १६ रन जोडे । हर्ष ठाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन बनाएका हुन् ।

    बलिङतर्फ कर्णाली याक्सका विपिनप्रसाद शर्माले तीन विकेट लिए भने सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले समान एक/एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा सर्वाधिक २५ रन बनाएका हुन् ।

    त्यस्तै ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्दुई चौकाको सहयोगमा १२ रन जोड्दा १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाएका थिए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

    कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाएका थिए । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुई÷दुई विकेट र हर्ष ठाकर र शेर मल्लले समान एक/एक विकेट लिएका थिए ।

  • कान्ति अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्यमन्त्रीको आग्रह

    काठमाडौँ, बुधबार, ३ पौष २०८१ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् ।

    बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ ।

    यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताए । कतारी राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको स्वास्थ्य सुधारलाई सरकारले प्राथमिकता राखेको भन्दै अस्पतालको पूर्वाधार विकासमा कतारबाट साथ अपेक्षा गरेको बताए ।

    कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारलेसमेत नेपालको विकासमा साथ दिएकामा प्रशंसा गरे ।
    कतारी राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध असल रहेको भन्दै सहयोगका क्षेत्र विस्तार गर्न चाहेको बताए ।

    कतार सरकारको सहयोग संस्था कतार च्यारिटीले नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोगका लागि समेत काम गरिरहेको राजदूत अन्सारीले बताए ।

    उनले नेपाली बालबालिकाको स्तरीय उपचार सेवाका लागि कान्ति अस्पतालका लागि सहयोग गर्न सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

  • बारपाक भूकम्प स्मृतिपार्कले पूर्णता पाउदै

    गोरखा, बुधबार, ३ पौष २०८१ । दुईबर्षदेखि काम रोकिएको बारपाकको भूकम्प स्मृतिपार्क निर्माणको काम अघि बढ्ने भएको छ । २०७२ को भूकम्पमा ज्यान गुमाएकाहरुको नामावली प्राप्त नभएर निर्माण सम्पन्न हुन नसकेको सो पार्क निर्माणको काम अब छिट्टै सुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।

    पार्कमा गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको मृतकहरुको संख्या मात्र उल्लेख गरेर कामलाई निरन्तरता दिने निर्णय भएपछि निर्माण कार्यलाई निरन्तरता दिन लागिएको हो । यसअघि पार्कभित्र भूकम्पबाट अति प्रभावित १४ जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको नाम लेख्ने भनिएको थियो । त्यसका लागि पार्कमा १४ जिल्लाको छुट्टाछुट्टै स्तम्भ पनि निर्माण गरिएको छ ।

    तर सम्पूर्ण मृतकहरुको आधिकारिक नामावली सम्बन्धित निकायबाट प्राप्त नहुँदा काम रोकिएको थियो । ‘अरु जिल्लाहरुबाट मृतकको संख्या र नाम आधिकारिक रुपमा आउन सकेन,’ संघीय शहरी बिकास तथा भवन निर्माण कार्यालय कास्कीका प्रमुख सुनिता श्रेष्ठले भनिन्, ‘नामावलीकै कारण लामो समय योजनाको काम रोकिएपछि केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) मा गत भदौ १६ गते बैठक बसेर गोरखा जिल्लाका मृतकहरुको नामावली र अन्य जिल्लाको भने मृतक संख्या मात्र उल्लेख गरी ताम्रपत्र राख्ने बिभागीय निर्णय भयो ।’

    सोही निर्णय अनुसार काम अघि बढाउन निर्माण कम्पनीलाई पत्राचार समेत भइसकेको उनले जानकारी दिइन् । मृतकहरुको नामावली समेत कार्यालयले उपलब्ध गराइसकेको छ । मृतकहरुको नामावली र संख्या जिल्ला प्रशासन कार्यालयबाट माग गरिएको थियो । प्रशासनले ४९० जना मृतक रहेको भन्दै नामावलीसहितको विवरण पठाएको छ । सोही विवरण अनुसार स्तम्भमा नाम लेख्न निर्माण कम्पनीलाई भनिएको श्रेष्ठले जानकारी दिइन् ।

    पार्क निर्माणका लागि २०७४ साल मंसिर १४ गते स्वच्छन्द, होम निर्माण जेभी कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०७७ साल जेठ १३ गते काम सक्नुपर्ने थियो । तर नामावली प्राप्त नभएका कारण काम रोकिएको र पटक पटक म्याद थप हुदैँ आएको थियो । हालसम्म पाँचौ पटक म्याद थप भइसकेको इन्जिनियर बिरवल सुनार बताए । ‘निर्माण कम्पनीले काम नगरेर भन्दापनि नामावली उपलब्ध गराउन नसकेको काम रोकिएको हो, अव काम अघि बढेर योजना सम्पन्न हुन्छ,’ उनले भने ।

    गोरखाको मात्र नामावली समावेश गराएर योजना सम्पन्न गर्न पटक पटक आफूहरुले आग्रह गर्दै आएको बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताए । ‘नामावलीकै कारण योजना अलपत्र भएपछि संघीय शहरी बिकास तथा भवन निर्माण कार्यालय कास्की पुगेर हामीले गोरखाको मात्र नामावली राखेर भएपनि योजना सम्पन्न गरौ भनेर पटक पटक आग्रह गरेका थियौ,’ उनले भने, ‘अहिले त्यही अनुसार निर्णय भएर आयो, अव बल्ल योजना सम्पन्न हुने भयो ।’

  • चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपिएलको क्वालिफायरमा प्रवेश

    काठमाडौँ, बुधबार, ३ पौष २०८१ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ ।

    यस जितसँगै कर्णाली याक्सले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । यस खेलको विजेता टोली भने प्रतियोगिताको फाइनमा पुग्नेछ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज कर्णाली याक्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको चितवन राइनोज निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रनमा समेटियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३४ बल खेल्दै तीन चौका र चार छक्काको सहयोगमा ५३ रन बनाएका हुन ।

    त्यसैगरी कप्तान कुशल मल्लले २१ रन बनाए भने विपिन रावलले १८ रन जोडे । लुक बेनकिस्टेनले १६ रन बनाए भने शरद भेषवाकरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ कर्णाली याक्सका जिसन मोक्सुदले तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान दुई÷दुई विकेट लिए । त्यस्तै विपिन शर्माले एक विकेट झारे ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।

    त्यसैगरी विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे । त्यस्तै जिसन मक्सुदले १४ रन बनाए । चितवनका लागि सोहिल तन्वीरले दुई विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान एक÷एक विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा पनि कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको थियो ।