Blog

  • फेरी बढ्यो डिजेल र मट्टितेलको मूल्य

    काठमाडौँ, शनिबार, १ मङ्सिर २०८१ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

    मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।

    इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

  • इतिहास रच्न पाउँदा गर्व लागेका छ : कप्तान पूजा

    काठमाडौं । विश्वकपमा छनोट इतिहास रच्न सफल नेपाली यू-१९ महिला टोलीका सदस्यहरूलाई नेपाल प्रिमियर लिग (एनपिएल)का आठ फ्रेन्चाइजले संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । ऐतिहासिक उपलब्धिको सम्मान स्वरूप एनपिएलका सबै आठ फ्रेन्चाइज टोलीले संयुक्त रूपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

    यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरूप जनही दुई लाख ५० हजार दिने घोषणा गरेको थियो । टिममा समावेश अफिसियलहरूलाई भने जनही एक लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

    नेपालले बुधबार भएको खेलमा यूएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले आगामी वर्ष जनवरी-फेब्रुवरीमा मलेसियामा हुने विश्वकप खेल्नेछ । यस्तै त्यसअघि नेपालले आगामी डिसेम्बरमा एसीसी यू-१९ महिला एसिया कप खेल्नेछ ।

    कप्तान पुजासहित तीन खेलाडीलाई मधेस प्रदेश सरकारले नगदसहित सम्मान गर्ने
    मधेस प्रदेश सरकारले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेस प्रदेशका खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने भएको छ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गराउन भूमिका खेलेका उनीहरूलाई प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही एक लाख ५१ हजार नगदसहित सम्मान गर्ने मन्त्री प्रमोद जयसवालले जानकारी गराउनुभयो ।

    राष्ट्रिय टोलीमा कप्तान पुजा महतो, सना प्रवीन र अलिशा कुमारी यादव मधेस प्रदेशका खेलाडी हुनुहुन्छ । उहाँहरूलाई प्रदेश सरकार खेलकुद मन्त्रालयले सम्मान गर्ने छ । यस्तै प्रदेश सरकारले तीन खेलाडीका बुबा–आमालाई पनि खादा लगाएर सम्मान गर्ने जनाएको छ ।

    भरतपुर महानगरपालिकाले सम्मान गर्ने
    भरतपुर महानगरपालिकाले नेपाली महिला यू-१९ क्रिकेट टिममा छनोट भएका १४ खेलाडीलाई सम्मान गर्ने भएको छ । शसक्रबार नेपाल चिकित्सक संघले गरेको एनएमए स्पोर्ट्स फिष्टको उद्घाटनमा मेयर रेणु दाहालले उक्त घोषणा गर्नुभएको हो ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा गत माघमा ६ दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । ७ प्रदेशका देशभरका ११५ खेलाडी सम्मेलित प्रतियोगिताबाट २४ जना खेलाडीहरू विश्वकपको क्याम्पका लागि छनोट भएका थिए । २४ जनामध्येबाट छानिएका १४ जना महिला खेलाडी विश्वकपका लागि छनोट भएका हुन् ।

    सन् २०२७ मा हुने यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताका केही खेल नेपालमा गर्ने आईसीसी भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको उहाँले बताउनुभयो । नेपाल क्रिकेट संघ (क्यान)लाई यसका लागि आवश्यक वातावरण मिलाइदिनसमेत मेयर दाहालले आग्रह गर्नुभयो ।

    नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले नेपालको नेतृत्व गरेर इतिहास रच्न पाउँदा गर्व लागेको बताउनुभएको छ । यू-१९ महिला टी-२० विश्वकपमा पहिलो पटक छनोट भएर बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूजाले यस्तो प्रतिक्रिया दिनुभएको थियो ।

    नेपाली महिला क्रिकेट टोलीले आईसीसी यू-१९ महिला क्रिकेट विश्वकपमा स्थान बनाउनु निकै खुशीको कुरा भएको उहाँको भनाइ थियो । उहाँले नेपाली टोलीको कप्तानी गरेर खेल्न पाउँदा गर्वको महसुस भएको बताउनुभयो । त्यस्तै टोलीकी उपकप्तान सोनी पाख्रिनले सबैको लक्ष्य विश्वकपमा पुग्ने भएको र सबैको मिहिनेतका कारण त्यो पूरा भएको सुनाउनुभयो ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले दाङको लमहीमा तयारी गर्दादेखि नै छनोट प्रतियोगिताको महत्वबारे खेलाडीलाई बुझाएको र दिल्लीमा खेलिएको अभ्यास खेलले गर्दा विश्वपमा छनोट हुन सजिलो भएको बताउनुभयो । उहाँले अब नेपाली महिला क्रिकेटमा स्वर्णिम युगको सुरुवात भएको दाबी गर्नुभयो ।

    नेपाली युवा महिला टोलीलाई बिहीबार साँझ त्रिभुवन विमानस्थलमा ब्याण्ड बाजासहित भव्य स्वागत गरिएको थियो । विश्वकप पुगेको टोलीलाई स्वागत गर्न राखेप सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्कालगायत क्यान पदाधिकारी र क्रिकेट समर्थक विमानस्थल पुगेका थिए ।

  • ईन्टर कलेज ई स्पोर्ट्स साउथ वेस्टन कलेजमा हुने

    ललितपुर, शुक्रबार, ३० कात्तिक २०८१ । ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप आगामी पौष २६ र २७ गते हुने भएको छ । संघको वार्षिक क्यालेन्डर अनुसार कलेज स्तरको प्रतियोगिता पौषको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने पक्का भएको हो ।

    प्रतियोगितामा पब्जी मोबाईल, एमएलबीबी, ई फुटबल र फ्रि-फायर गरी चार विधालाई समावेश गरिएको छ । करिब ५ लाख पुरस्कार राशी रहने प्रतियोगितामा देशभरका कलेजका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् ।

    चार खेल विधाका विजेता टिम तथा खेलाडीलाई ५ लाख रुपैयाँको पुरस्कार रकम बाँडिनेछ । ईशानको वेब साईटमा गएर खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्नेछन् । खेलाडी दर्ता मङ्सिर २ गतेदेखि सुरु हुनेछ र मङ्सिर ३० गतेसम्म चल्नेछ । छनोट खेल अनलाईनमार्फत र फाइनल खेल ल्यान ईभेन्टको रुपमा पुस २६ र २७ गते सञ्चालन गरिने तालिका रहेको छ ।

    प्रतियोगितामा देशभरका कलेजबाट सहभागीता जनाउने सकिने आयोजक संघका सचिव आशिष दाहालले बताए । सम्बन्धित कलेजको सिफारिस पत्रका आधारमा खेलाडीले प्रतियोगितामा नाम दर्ता गर्न सक्नेछन् । खेलाडीको सिफारिससँगै सहभागी हुने सम्बन्धित कलेजले ईशानको ई स्पोर्ट्स क्लबमा आबद्धताका लागि पत्र समेत दिनुपर्नेछ ।

    खेलाडीको ग्रासरुट मानिने विद्यालय कलेजमा ई स्पोर्ट्स क्लब गठन गरेर सम्बन्धित खेल र खेलाडीको विकासमा तल्लो तहबाट काम गर्ने उद्धेश्यले प्रतियोगितासँगै सबै कलेजमा ई स्पोर्ट्स क्लब बनाउन लागिएको दाहालले बताएका छन् ।

  • एमालेको ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिटीको अगुवाईमा जागरण अभियान

    ललितपुर, ३० कात्तिक २०८१ । एमालेको ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिटीको अगुवाईमा जागरण अभियान हुने भएको छ ।

    सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताउनुभएको छ ।

    शुक्रवार पार्टी मुख्यालय च्यासलमा पार्टीको तर्फबाट आगामी मंसिर ७ गते काठमाडौंमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले प्रमुख दलहरुप्रति जनता असन्तुष्ट छन् भन्नेकुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले सो जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पार्नुभयो । नेपाली जनताले प्रमुख दलहरुबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको महासचिव पोखरेलको जिकिर थियो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा सो पार्टीले आन्दोलन गर्नु उचित नभएको पनि दोहो-याउनु भयो ।

    महासचिव पोखरेलले भन्नुभयो, ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिर्टीको अगुवाईमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामा नै आयोजना हुने कार्यक्रमकमा माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ । त्यो होइन, जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन । र, उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसावले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं । जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्दछ भन्ने मलाई लाग्दछ । ’

    महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारुढ काँग्रेस–एमालेले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाउने काम गरेको पनि बताउनु भयो । सो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने उहाँको स्पष्टीकरण थियो ।


  • नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रूपमा बन्द हुने

    काठमाडौँ, बिहिबार, २९ कात्तिक २०८१ । नागढुंगा सडक आजदेखि आउँदो मंसिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ ।

    नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।

    सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म बिहान ११ देखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुने जनाएको छ ।

    उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ । यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ । बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्न समेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ ।

  • पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

    काठमाडौंँ, बिहीबार, २९ कात्तिक २०८१ । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ ।

    अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको उक्त मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

    मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए । आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको उनले जानकारी दिए । ‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगका साथै सरकारी लगानी पनि छ ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा।अरुण शाही पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा सङ्क्रमण भएकाले त्यसविरुद्ध खोप लगाउनुपर्नेमा जोड दिइन् ।

    ह्युमनपापिलोमा सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो समयको अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध कायम गर्ने अधिक धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलाई हुने उनले बताइन् ।

    सन् २०२२ मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार ५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिनु राज्यको दायित्व भएको बताउँदै मन्त्री पौडेलले आफ्नातर्फबाट हरसम्भव प्रयत्न गरिने बताएका थिए ।

  • कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता

    काठमाडौँ, बिहीबार, २९ कात्तिक २०८१ । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले हस्ताक्षर गरेका थिए । बुधबार आयोजित हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागका प्रमुख प्रबन्धक मन्दिरा थपलियालगायत पदाधिकारी र जीवन विकासका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    सम्झौतापत्रमा हस्ताक्षर भएसँगै वित्तीय संस्थाले लघु व्यवसायका सदस्यहरूलाई बिनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति दश लाखसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति बीस लाखसम्मको कर्जा कोषले सुरक्षण गर्ने जनाइएको छ । विभिन्न कारणले कर्जा असूल हुन नसकेमा संस्थाले कोषसमक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिने उल्लेख छ । ‘यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक शुन्य दशमलव आठ प्रतिशत रहेको र जसमध्ये ५० प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरूप कोषमा प्राप्त हुनेछ ।

    यस प्रकार बुझाउने सुरक्षण शुल्क बाँकी कर्जामा गणना गर्ने व्यवस्था कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छ’, सम्झौताबारे निक्षेप तथा कर्जा सुरक्षण कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • उपनिर्वाचन बिशेष : उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्न निर्देशन

    काठमाडौँ, मंगलबार, २७ कात्तिक २०८१ । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

    आयोगले २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानुनले अयोग्य नभएको उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्नसमेत निर्देशन दिएको आयोगले जनाएको छ ।

    आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैरनेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति र नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

    यसैगरी, कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिको मनोनयन दर्ता हुने छैन ।

    सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा बिस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति, जातीय भेदभाव तथा छुवाछूत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

    कानुनबमोजिम कालोसूचीमा रहेको व्यक्ति कालोसूचीमा रहेको अवधिभर, कुनै कसुरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठिक नभएको र प्रचलित कानुनले अयोग्य भएको व्यक्तिको मनोनयन दर्ता नहुने आयोगले स्पष्ट पारेको छ । जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानुन बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

    आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

    उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

    मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।

  • गुरुङको ‘निरजोया’ को संघीय विमोचन तथा अन्तरविमर्श

    गुरुङको ‘निरजोया’ को संघीय विमोचन तथा अन्तरविमर्शकाठमाडौँ, शुक्रबार, २३ कात्तिक २०८१ । साहित्यकार दाजु गुरुङको तेस्रो तथा पहिलो उपन्यासकृति ‘निरजोया’ को काठमाडौंमा विमोचन तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरिएको छ ।

    हङकङ प्रवासी संखुवासभा, मादीका गुरुङको यो उपन्यास यसअघि कोशी प्रदेशको इटहरीमा र हङकङमा विमोचन गरिएको थियो । सभ्यता अन्वेषण केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा.गोविन्दराज भट्टराई, विशिष्ट अतिथि कवि तथा प्राज्ञ श्रवण मुकारुङ, कवि तथा प्राज्ञ शशी लुमुम्बू, साहित्यकार तथा समालोचक डा.अशोक थापा, निबन्धकार, समालोचक तथा सम्पादक राजकुमार बानियाँ, कवि कल्पना काफ्ले, कवि तथा समीक्षक उमेश अवस्थी आदर्शलगायतले विमोचन गर्नुभएको थियो ।

    विमोचन कार्यक्रममा बोल्दै डा.भट्टराईले नेपाली डायास्पोरिक साहित्य लेखनमा स्थापित साहित्यकार गुरुङले मलेसिया र हङकङको नेपाली डायास्पोरिक समाजको गहिरो अध्ययन गरी ‘निरजोया’ लेखेको आफूले बुझेको बताउनुभयो । ‘दाजुका यसअघि आएका कथाकृति ‘टाँकीका फूलहरू’ र ‘लाई–सी’ अत्यन्त पठनीय कृति थिए । यो उपन्यासकृति ‘निरजोया’ झनै उत्कृष्ट रूपमा आएको छ । यसको विषयवस्तु, भाषाशैली, कथावाचन सबै रुचिकर छन्’, डा.भट्टराईले भन्नुभयो ।

    प्राज्ञ मुकारुङले गुरुङको ‘निरजोया’ उपन्यासले पाठकलाई गहिरो प्रभाव पार्ने उल्लेख गर्दै कृतिले पाठकलाई तान्ने नभएर पाठक चाहिँ कृतिप्रति तानिनुपर्नेमा जोड दिनुभयो । डा.थापाले ‘निरजोया’माथि समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसमा माया–प्रेम, स्नेह, सद्भाव र नैतिकता भन्ने कुरा संकटमा पर्दै गइरहेको कुराई गम्भीर ढंगले उठाएको पाएको विचार व्यक्त गर्नुभयो । उहाँले गुरुङको लेखनशैली विशेष किसिमको रहेको उल्लेख गर्दै उपन्यास ‘निरजोया’ पठनीय कृति रहेको जिकिर गर्नुभयो ।

    राजकुमार बानियाँले उपन्यासकार गुरुङमा विषयवस्तुको खोज, पात्रहरूको चयन र लेखनशैली मौलिक रहेको बताउँदै ‘निरजोया’ नेपाली साहित्यका लागि नितान्त नयाँ स्वादको भएको धारणा राख्नुभयो ।

    सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष प्राज्ञ शशी लुमुम्बूको सहजीकरणमा भएको कार्यक्रममा कल्पना काफ्लेले ‘निरजोया’ को भाषाशैली काव्यात्मक किसिमको रहेको भन्दै पुस्तक एकै बसाईमा पढिसकिने बताउनुभयो । उमेश अवस्थी आदर्शले पुस्तकले पृथक स्वाद पस्केको विचार व्यक्त गर्नुभयो । फिनिक्स बुकले प्रकाशन गरेको २९४ पृष्ठको यस पुस्तकको मूल्य ४९९ रुपैयाँ राखिएको छ ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

    काठमाडौँ, शुक्रबार, २३ कात्तिक २०८१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।

    प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

    आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उहाँले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गर्नुभयो । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।

    मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो ।

    त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।

    विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।

    विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन् ।