Blog

  • डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी

    काठमाडौँ, बुधबार, २१ कात्तिक २०८१ । अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ । जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ ।

    उहाँको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ ।

    ट्रम्पको दोस्रो कार्यकालले ‘अमेरिका प्रथम’ नीति अघि बढाउँदै अमेरिका र अन्य राष्ट्रहरूबिचको सम्बन्धलाई पुनः परिभाषित गर्ने सम्भावना छ । व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ । उहाँका समर्थकहरूले यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनःस्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन् ।

    ट्रम्पको विजयले आर्थिक मोर्चामा समेत नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ । विशेष गरी अमेरिकी बजारमा सकारात्मक सङ्केत देखिएको छ भने अमेरिका–चीन व्यापार युद्धलाई पुनः सुरु गरिने डर पनि छ ।

    ट्रम्पको दोस्रो कार्यकालमा जलवायु परिवर्तन लगायतका अन्तर्राष्ट्रिय मुद्दामा अमेरिकाको सहभागितामा कमी आउन सक्ने र यसले विश्वव्यापी असर पार्न सक्ने विश्लेषकहरूको राय छ ।

    अन्ततः ट्रम्पको विजयले अमेरिकाको आन्तरिक र बाह्य नीति, विश्वव्यापी सन्तुलन र कूटनीतिक रणनीतिमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ ।

  • छठ पर्वका लागि बिरगंजका पोखरी सिँगारियो

    वीरगञ्ज (पर्सा), सोमबार, १९ कात्तिक २०८१ । यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगन्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ ।

    प्रायजसो: यहाँका सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ । सोही अनुसार यहाँका सर्वसाधारणले आ–आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पार्ने काम गरिरहेका छन् ।

    वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह पनि वीरगन्ज महानगरभित्र मनाइने छठ घाटहरूको नियमित रूपमा निरीक्षण गरिरहेका छन् । उहाँले छठ पर्वलाई भव्य र सभ्य ढङ्गले मनाउने गरी तयारी तीव्र पारिएको जानकारी दिनुभयो ।

    वीरगन्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ । यीबाहेक अन्य स्थानमा पनि छठका लागि आ–आफ्नो ढङ्गले झकिझकाउ गर्ने काम भइरहेको छ ।

    वीरगन्ज महानगरभित्र सजावट र झकिझकाउको हिसाबले भने घडीअर्वा पोखरीमा विशेष गर्ने गरिन्छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साह कानुले घडीअर्वा पोखरीमा मनाइने छठ पर्वको झकिझकाउ सजावट हेर्नका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय सहरका पर्यटकहरूको पनि घुइँचो लाग्ने बताउनुहुन्छ ।

    “घडीअर्वा पोखरीमा छठ पर्वको सजावट हेर्नका लागि नेपालका काठमाडौँ, पोखरा, नारायणघाट, बुटवल, चितवनलगायत सबै सहरका सर्वसाधारणलाई चुलो निम्तोसहित आउनका लागि अनुरोध गर्दछु,” उहाँले भन्नुभयो, “नेपालका मात्रै होइन, भारतको विहार राज्य, उत्तर प्रदेश लगायतका ठाउँमा बसोबास गर्ने पनि यहाँको मनोरम दृश्य हेर्न आउने गर्छन् ।”

    समितिका अध्यक्ष कानुले घडीअर्वा पोखरीमा मनाउने छठ पर्व सुरक्षा, सजावट र सप्तरङ्गी बत्तीको झिलिमिलीले पनि अवलोकनकर्ताको मन जित्ने दाबी गर्नुभयो । “हामीले विगत २२ वर्षदेखि घडीअर्वा पोखरीमा छठी माताको पूजाअर्चना गर्दै आइरहेका छौँ,” उहाँले भन्नुभयो, “हामीले छठ पूजामा घडीअर्वा पोखरीको सजावट र डेकोरेसनका लागि कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ । हाम्रो झिलिमिली बत्ती, पण्डाललाई निकै आकर्षक ढङ्गले सिँगारिएको छ ।” समितिका अनुसार पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी जगदीश टेन्टले पाएको छ । तराई–मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्ततिको सुख समृद्धिको कामना गर्दै मनाउने गरिन्छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

    छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरी सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानुनले घडीअर्वा पोखरीभित्रको सरसफाइलाई पनि तीव्र बनाएको जानकारी दिनुभयो । “पूजाअर्चना गर्दा पोखरीमा दियोबत्ती खसेर बसेका हुन्छन्,” उहाँले भन्नुभयो, “पोखरीलाई शुद्ध र स्वच्छ बनाउनका लागि पनि सरसफाइको कार्यलाई निकै प्राथमिकता दिँदै आइरहेका छौँ ।” वीरगन्ज महानगरले पनि घडीअर्वा पोखरीको वरपर डेंगुको सङ्क्रमण बढ्न सक्ने भन्दै ‘सर्च एन्ड डिस्ट्रोय’ गर्ने पनि काम गरिसकेको छ ।

  • देशभरको मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ, बिहिबार, १५ कात्तिक २०८१ । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ ।

    विभागका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायात बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

  • रङरोगन गरिएका मिठाइ स्वास्थ्यका लागि घातक

    काठमाडौँ, बिहिबार, १५ कात्तिक २०८१ । तिहार, छठलगायतका चाडपर्वहरूमा मिठाइको अत्यधिक माग र खपत हुने गरेको छ । तिहारका लागि खासगरी धेरैजसोले सेलरोटीबाहेकका मिठाइ परिकार बजारबाटै किन्ने गरेका छन् भने कार्यव्यस्तता वा आधुनिकताका नाममा सेलरोटीसमेत बजारबाटै किन्नेको जमात पनि छ । तर, बजारमा पाइने सबै मिठाइ परिकार स्वस्थकर हुँदैनन् । रङरोगन गरिएका मिठाइ स्वास्थ्यका लागि घातक हुन्छन् ।

    उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले व्यापारीहरूले तयार पार्ने रंगिन मिठाइले उपभोक्तालाई क्षणिक स्वाद र सन्तुष्टि दिए पनि दीर्घकालीनरूपमा विभिन्न रोगले सताउने भन्दै खाद्यविज्ञहरूले सचेत गराएका छन् ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार नेपालको खाद्य ऐनले विभिन्न ११ प्रकारका रङ खाद्यान्नमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । तर, खानयोग्य रङ नै भए पनि मात्रा मिलेको छैन भने हानी गर्न सक्छ । १० केजी मिठाइमा दुई ग्रामभन्दा बढी रङ प्रयोग गर्न हुँदैन भने तयारी मिठाइमा मात्रै रङ प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात् रङ पनि मिठाइसँगै पकाउन हुँदैन । त्यसैगरी बर्फीमा लेपन गरिने सेतो रसायन अर्थात् तपक पनि हानिकारक हुन्छ । यस्तोमा चाँदीको तपकमात्रै प्रयोग गर्न पाइने व्यवस्था भए पनि व्यापारीले आल्मुनियम तपकसमेत प्रयोग गर्ने गरेका छन् । आल्मुनियम तपक प्रयोग गरिएका मिठाइ स्वास्थ्यका लागि घातक मानिन्छन् ।

    चाँदीभन्दा आल्मुनियम तपक धेरै सस्तो हुने भएकाले व्यापारीले आल्मुनियमकै तपक पनि प्रयोग गरेको हुन सक्ने विभागकै अधिकारी आशंका गर्छन् । त्यसैले उपभोक्ताले खाद्य र अखाद्य छुट्याउन नसक्ने भएकाले सकेसम्म रङ प्रयोग नगरिएका मिठाइ नै उपयोग गर्नुपर्ने विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण बताउनुहुन्छ । रंगिन मिठाइ नै प्रयोग गर्नुपरे पनि कडा र गाढा रङ भएका मिठाइ प्रयोग गर्न नहुने कर्णको सुझाव छ । रङमात्र होइन, पटक-पटक पकाएको एउटै तेलमा मिठाइलगायत परिकार पकाउनुहुँदैन तर अधिकांश मिठाइ व्यापारीले पुरानै तेलमा नयाँ मिसाएर मिठाइ तार्ने गरेको पाइएको छ । उहाँले हिमालय टाइम्सलाई भन्नुभयो, ‘अखाद्य रङभन्दा पनि तेलमा बढी समस्या देखिएको छ । पुरानो तेलमा मिठाइ तार्ने प्रवृत्ति रोकिएको छैन । एक पटक प्रयोग भइसकेको तेल पुनः प्रयोग गर्न हुँदैन । पुनः प्रयोग गरी पकाउने, तार्ने गरिएको मिठाइ परिकार जनस्वास्थ्यका लागि घातक मानिन्छन् । खाद्य रङ पनि आवश्यकभन्दा बढी प्रयोग भएमा आँखा, कलेजो, मिर्गौला समस्याका साथै क्यान्सरसमेत हुन सक्छ ।’

    मिठाइका ३८, दूध, खाने तेल र पानीका १२, घ्यूका नौ, पेय पदार्थ र महका दुईलगायत विभिन्न खाद्य पदार्थ गरी ८८ नमुनाको स्थलगत प्रारम्भिक चेकजाँच गरिएकोमा कैफियत पाइएका आठ खाद्य व्यवसायमाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

    अनुगमनका क्रममा मिठाइ उत्पादन स्थल(किचेन), मिठाइमा प्रयोग हुने घिउ, तेल, खुवा, बुनियालगायतका कच्चा पदार्थ प्रयोग र भण्डारणमा चरम बेथिति भेटिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि पुष्टि गरेको छ । विभागका महानिर्देशक राजन पौडेलका अनुसार म्याद गुज्रिएका र अखाद्य वस्तु मिसाइएका खाद्य पदार्थ बिक्री गर्ने गरेको पाइएको छ । त्यस्तै मानव स्वास्थ्यका लागि हानिकारक मानिएका केमिकल्सयुक्त खाद्य पदार्थसमेत पाइएको छ । ठूला भनिएका तारे होटलमा समेत समस्या देखिएको उहाँको भनाइ छ । पौडेल भन्नुहुन्छ, ‘ठूला होटलहरूमा बाहिर सर्भिसस्थल, वितरण पक्ष एकदमै राम्रो छ, सुकसुकाउँदो छ तर भित्र खाद्य परिकार उत्पादन कक्ष हेरिनसक्नु छ, सरसफाइमा मात्रै समस्या नभई अखाद्य वस्तु प्रयोग हुने गरेको छ । मिठाइ उत्पादन गर्ने आँगनमा मिठाइ बनाउन प्रयोग हुने बुनिया बोरामा हालेर राखेको भेटियोे । बोराको खात लगाएर राखेको भेटियो । मिठाइमा बाढीमा डुबेको तेल प्रयोग गरेको भेटियो । पाउरोटी उद्योगको अवस्था पनि त्यस्तै छ । ठूला भनिएका पाउरोटी उद्योगहरूले पनि म्याद गुज्रिएका मैदा प्रयोग गरेको पाइएको छ । केकमा अखाद्य रङहरू प्रयोग गरिएको छ ।’

    बजारमा मिसावट, अखाद्य रङ र तेलको पुनः प्रयोगको अवस्था भयावह रहेको उपभोक्तावादी बताउँछन् । अखाद्य रङको तुलनामा खाद्य र कयौं गुणा महँंगो हुने भएकाले धेरैजसो मिठाइमा अखाद्य रङ प्रयोग भइरहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको दाबी छ । उहाँ भन्नुहुन्छ, ‘खाद्य रङभन्दा अखाद्य रङ सस्तो र आकर्षक देखिने भएकाले मिठाइमा अखाद्य रङकै बाहुल्यता देखिन्छ । त्यसैले उपभोक्तालाई मिठाइ नखानु त भन्न सकिएन तर निकै सावधानी अपाउनुपर्ने हुन्छ ।’

    तर, विभागका प्रवक्ता महर्जन भने पछिल्लो समय मिठाइमा अखाद्य रङको प्रयोगभन्दा पनि अन्य कैफियत रहेको बताउनुहुन्छ । उहाँका अनुसार कतिपयमा किचनको सरसफाइ र मिठाइको स्वच्छतामा समस्या देखिएको छ, मिठाइ हाइजेनिक पनि हुनुपर्छ ।

    अन्य समयभन्दा तिहार र छठलगायतका चाडबाडमा चार गुणासम्म बढी मिठाइ माग हुने गरेको व्यापारी बताउँछन् । उनीहरूका अनुसार शहरी क्षेत्रमा जेरी, चक्लेट बर्फी, पेडा, रसवरी, लालमोहन, गुलाब जामुन, क्रिम मिठाइ, काजु मिठाइलगायत खपत हुने गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइ व्यापारीलाई रङ प्रयोगबारे सचेत गराउँदै आएको छ । विभागले खाद्य व्यवसायीलाई लेबल विवरण नभएका खाद्य पदार्थ बिक्रीवितरण नगर्न, सरसफाइमा विशेष ध्यान दिन, खाद्य पदार्थ खरिदबिक्री गर्दा लेबल अनिवार्य हेर्न, स्टोर तथा भण्डारण व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख्न, मसीले लेखिएको, छापिएको वा रंगाइएको कागजमा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमति पत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

    यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले काठमाडौंको गौशालास्थित व्यञ्जन मिष्ठान भण्डार तथा भोजनालयका लेबलबिनाका साढे तीन केजी रोडा बर्फी नष्ट गरेको छ । पाकेको र कच्चा खाद्य पदार्थसँगै भण्डारण गर्ने गरेको लेबल विवरण उल्लेख नभएको रसबरी, रोडा बर्फी र बर्फीको नमुना चेकजाँचपछि नष्ट गरिएको विभागले जनाएको छ । त्यस्तै सोही स्थानमा रहेको मारवाडी स्विट्स एण्ड नमकिन पसलमा ढुसी परेको करिब एक केजी पेडा पनि नष्ट गरेको छ । विभागबाट मंगलबार र बुधबार काठमाडौं उपत्यकाभित्र मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण अनुगमनका लागि टोली खटाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उल्लेखित व्यवसायको निरीक्षण अनुगमन, खाद्य पदार्थको नमुनाको प्रारम्भिक चेकजाँच तथा कारबाही गरिएको विभागका प्रवक्ता महर्जनले बताउनुभएको छ । विभागले मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी तथा मातहतका कार्यालयबाट निरीक्षण अनुगमनका लागि टोली बनाई दैनिकरूपमा खटाई देशैभर निरीक्षण अनुगमन गर्दै आएको छ । असोज २३ गतेदेखि कात्तिक १२ गतेसम्म विभाग तथा मातहतका कार्यालयबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम चाडपर्व लक्षित खाद्य पदार्थको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि टोली खटाई जम्मा तीन सय १२ वटा खाद्य उद्योग एवं व्यवसायको अनुगमन गरी कारबाही गरिएको प्रवक्ता महर्जनले बताउनुभएको छ । जसमध्ये एक सय पाँच खाद्य बजार, एक सय पाँच खाद्य उद्योग र एक सय दुई होटल तथा रेस्टुरेन्ट अनुगमन गरिएका थिए ।

    देशैभरिबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम ३९ नमुना र खाद्य स्वच्छता सर्भिलेन्सका लागि ६१ नमुना गरी एक सय वटा खाद्य पदार्थका नमुना संकलन गरिएका छन् । अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमति पत्र नलिएका करिब चार लाख ४४ हजार छ सय तीन रुपैयाँ मूल्य बराबरका खाद्य पदार्थ जफत तथा नष्ट गरिएको विभागले जनाएको छ । विभागका अनुसार सोही अवधिमा मोबाइल खाद्य प्रयोगशाला भ्यान सञ्चालन गरी जम्मा ३२ पटक खाद्य उद्योग एवं व्यवसाय अनुगमन गरी कारबाही गरिएको छ । जसमध्ये आठ पटक खाद्य उद्योग र २४ पटक खाद्य व्यवसाय एवं होटल रेस्टुरेन्ट निरीक्षण अनुगमन गरिएको हो । मोबाइल खाद्य प्रयोगशाला भ्यानमा मिठाइका ३८, प्रशोधित दूधका १२, खाने तेलका १२, प्रशोधित पिउने पानीका १२, घ्यूका नौ, पेय पदार्थका दुई, महका दुई र नुनको एकलगायत विभिन्न खाद्य पदार्थ गरी ८८ नमुनाको स्थलगत प्रारम्भिक चेकजाँच गरिएकोमा कैफियत पाइएका आठवटा खाद्य व्यवसायउपर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ । विभागले असोज १६ देखि दुईवटा मोबाइल फुड ल्याब भ्यान सञ्चालनमा ल्याएकोमा कात्तिक ११ देखि बाँकी दुईवटा मोबाइल फुड ल्याब भ्यान पनि मर्मतसम्भार भई चारवटै मोबाइल फुड ल्याब भ्यान सम्चालनमा ल्याएको जनाएको छ ।

  • आज लक्ष्मीपूजा, देवकोटा जयन्ती

    काठमाडौँ, बिहिबार, १५ कात्तिक २०८१ । नेपालीहरूको मौलिक पर्व तिहारअन्तर्गत आज (बिहीबार) लक्ष्मीपूजा । आजको दिन घर-घरमा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गर्ने गरिन्छ । यस्तै, साँझमा विभिन्न रंगहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकारप्रकारका रंगोली बनाउने चलन पनि रही आएको छ ।

    आजको दिनमा राति लक्ष्मी भगवान् पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडिको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइला रूपी रंगीन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यिनै पाइलाका छापअनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास रही आएको छ । घरआँगन सबैतिर आज साँझ दीप बाल्ने चलन छ ।

    यस्तै, आज कुकुर तिहार पनि परेको छ । यसैदिन नरक चतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । आजको दिनलाई सुखरात्रि पनि भनिन्छ, लक्ष्मी पूजालाई सुखरात्रिले पनि सम्बोधन गर्ने चलन छ । आँगनमा लक्ष्मी माताको पाइलाहरू, बत्तीको झकिझकाउ अनि भैलेहरूको पदचापहरू, सुखरात्रि वर्षभरिकै सबैभन्दा उज्यालो अनि हर्कको दिनमध्ये एक हो ।

    आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती । नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मी पूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा काठमाडौंको डिल्ली बजारमा जन्म भएको थियो । स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उहाँको सम्झना गरिँदै छ ।

    नेपाली साहित्य अनि वाङ्मयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । उहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जिनी, शकुन्तला लगायतका कृति छन् । वि.सं २०१६ सालमा उहाँ यो संसारबाट बिदा हुनुभएको थियो । सानै उमेरदेखि कविता लेख्न थाल्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा उहाँ स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक पनि हुनुहुन्छ । देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल सांकृृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो । नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।

    २०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु-गराउनु र वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

    यस वर्ष कात्तिक १३ गते मंगलबार धन त्रयोदशी व्रत (धनतेरस) र १४ गते बुधबार काग तिहार र धनवन्तरी जयन्ती रहेको थियो । १५ गते आज (बिहीबार) लक्ष्मीपूजा/महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती, नरक चतुर्दशी, सुखरात्रि र कुकुर तिहार रहेको छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यसदिन भने तिहारको कुनै पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवद्र्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यस वर्षको भाइटीका भने कात्तिक १८ गते आइतबार परेको छ । भाइटीकाको शुभसाइत आइतबार बिहान ११ः३७ बजे रहेको छ ।

    फूलैफूल, रङ, उमंग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनी बीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रूपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजु बहिनीलाई नजिक बनाउने, उनीहरू बीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमंगका साथ भाइटीका मनाइन्छ ।

  • वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम

    काठमाडौँ, बुधबार, १४ कात्तिक २०८१ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२४ कात्तिक ६ देखि १२ गतेसम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

    यही अवसरमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८१ साल कात्तिक ११ गते श्री राम नारायण अयोध्या उच्च मावि, पिपरा, महोत्तरी मा (+) २ तहमा अध्यनरत विद्यार्थीहरु तथा शिक्षक-शिक्षिकाहरुका लागि वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

    उक्त सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख सन्तोषकुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा रामनारायण अयोध्या उच्च माविका अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजयकुमार रायलगायत अध्यनरत विद्यार्थीहरु तथा शिक्षक-शिक्षिकाहरुको उल्लेख्य उपस्थिति थियो ।

    आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम सञ्चालन रहनुभएको थियो । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिनुभएको थियो ।

    विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा आयोजित यस कार्यक्रमले पुँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने छ र सहभागीहरुले शेयर लगानीसम्बन्धी ज्ञान हासिल गरी लाभान्वित हुने छन् भन्ने विश्वास गरिएको छ । आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो ।

  • गण्डकीका मुख्यमन्त्री पाण्डेको कहाँ र कति छ सम्पत्ति

    गोरखा, बुधबार, १४ कार्तिक २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पति विवरणअनुसार उनको गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको देखिएको छ ।

    आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।

    पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीहरु धनी देखिएका छन् ।

    मुख्यमन्त्री पाण्डेसँग पैतृक सम्पत्ति कहाँ कहाँ ?

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पैतृक सम्पत्ति नै धेरै देखिएको छ । गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उनले उल्लेख गरेका छन् ।

    पाण्डेको नाममा गोरखाको पालुङटार नगरपालिका – १ मा ४ कित्तामा जग्गा, कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरणमा खुलाएका छन् ।

    यसअघि सम्पत्ति विवरण बुझाउँदा उनीसँग ४२ तोला सुन, ५०० तोला चाँदी थियो । अहिले त्यसमा ३ तोला सुन र २०० तोला चाँदी बढेको उनको सम्पत्ति विवरणबाट खुल्छ । उनीसँग २ सेट हिरा र १ सेट मोती पनि छन् ।

    व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ७४ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन् । यसअघि उनले त्यहाँ २४ लाख ९६ हजार रहेको बताएका थिए ।

    पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६७ लाख रुपैयाँ तलब तथा उपदानमार्फत नगद जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन् ।

    यसअघि यो शीर्षकमा ६० लाख रुपैयाँ रहेको उनले बताएका थिए । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । यसअघि उनले छोरा सुयोग्गराजको नाममा बैंकमा १ लाख ५६ हजार मौज्दात देखाएका थिए ।

    मुख्यमन्त्री पाण्डेको दियालो फुडल्याण्ड प्रा लि मा ६१ हजार १००, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता शेयर रहेको र श्रीमती विनाका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ हजार, छोरा सुयोग्यको नाममा ४ हजार कित्ता शेयर रहेको विवरणमा खुलाएका छन् ।

    मुख्यमन्त्री पाण्डेसँग श्रीमतीको नाममा एउटा मारुती बलेरो कार छ । त्यसको खरिद मूल्य पाण्डेले जम्मा ३२ हजारमात्र देखाएका छन् । पाण्डेले आफूसँग टिभी २ वटा, फ्रिज २ वटा, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गरेका छन् ।

  • सामुदायिक रेडियोका लागि मिडिया र सूचना साक्षरतासम्बन्धी मार्गनिर्देशिका तयार

    काठमाडौँ, बुधबार, १४ कात्तिक २०८१ । नेपालका सामुदायिक रेडियोका लागि मिडिया र सूचना साक्षरतासम्बन्धी मार्गनिर्देशिकाबारे आज छलफल भएको छ । मार्गनिर्देशिकाको मस्यौदा प्रस्तुत गर्दै त्यसमाथि विज्ञ तथा सरोकारवालाको सुझाव लिएर मार्गनिर्देशिकालाई अन्तिम रुप दिइएको छ ।

    पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सामुदायिक रेडियोले सत्यतथ्य निष्पक्ष समाचार तथा प्रसारण सामग्री उत्पादनका लागि सहज हुने गरि मार्गनिर्देशीका तयार पारिएको सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीेले बताए ।

    युनेस्को नेपालको सहयोग, सीएमआरको प्राविधिक सहयोगमा तयार पारिएको मार्गनिर्देशीकाको मस्यौदा प्रस्तुत गर्दै सीएमआरका कार्यकारी प्रमुख उज्ज्वल आचार्यले अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा पनि प्रविधिको विकाससँगै अवसर र चुनौति एकसाथ सिर्जना भएको बताए । यस्तो अवस्थामा नेपालका साुमदायिक रेडियोले सूचना र साक्षरता एकसाथ प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।

    मार्गनिर्देशीकामा खासगरि दुई पक्ष पहिलो, सामुदायिक रेडियोले समाचार र सामग्री निर्माण गर्दा मिडिया र सूचना साक्षरताका तथ्यजाँचजस्ता सिद्धान्त अवलम्बन गर्ने अभ्यास र दोस्रो, स्रोताहरूमा मिडिया र सूचना साक्षरता अभिवृद्धिका कार्यक्रम निर्माण र प्रसारण गर्ने प्रतिबद्धता रहेको छ । जसमा सामुदायिक रेडियोका सामग्रीका लागि अभ्यास अन्तर्गत समाचार तथा कार्यक्रम निर्माणका क्रममा सामग्रीको तथ्यजाँच गरी सत्यतथ्य सूचना प्रवाह गर्ने, भूल त्रृटी सच्याउने, उपलब्ध डिजिटल प्लेटफर्महरूमार्फत आफ्ना कार्यक्रमहरू प्रसारण गर्ने, भण्डारण गर्ने र स्रोताहरूसँग प्रत्यक्ष सम्वाद गर्ने र सम्पर्कमा रहनेलगायतका विषय छन् ।

    सामुदायिक रेडियोमार्फत् मिडिया र सूचना साक्षरता अभिवृद्धि अन्तर्गत सामुदायिक रेडियोहरूले समुदायमा मिडिया र सूचना साक्षरताका मूल सन्देशहरू प्रवाह गर्ने जनचेतनामूलक कार्यक्रम र लोककल्याणकारी विज्ञापनको निर्माण र प्रसारणमा जोड दिँदै मिथ्या सूचना पहिचान गर्ने तरिकाबारे नियमित कार्यक्रम, डिजिटल सुरक्षा र साइबर अपराधबारे सचेतना जगाउने कार्यक्रम, सोसल मिडियाको सुरक्षित प्रयोगसम्बन्धी सामग्री समेटिएका कार्यक्रम प्रसारण गर्ने उल्लेख छ । कार्यक्रममा नेपाल चेकका प्रमुख दीपक अधिकारीले निश्चित सामुदायिक रेडियोबाट प्रसारण हुने समाचारको तथ्य जाँच गर्नुपर्ने बताए । रेडियोबाट विभिन्न विषयमा अतिथिले बोल्ने विषयलाई नै अन्तिम सत्य मान्ने चलन कायम रहेकाले यस विषयमा पनि तथ्य जाँच आवश्यक रहेको उनको भनाइ थियो ।

    टेक जोर्नो फोरमका अध्यक्ष उमेश पौडेलले विशेष गरि निर्वाचनका समयमा सामुदायिक रेडियोले पनि पक्षपातपूर्ण सामग्री प्रसारण गर्ने गरेको भन्दै यसतर्फ पनि सचेत हुनुपर्ने बताउनुभयो । बिबिसी मिडिया एक्सनका विकास राईले सञ्चार गृह तथा सञ्चारकर्मीको क्षमता विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा रेडियो नेपालका उपनिर्देशक जनार्दन बिष्टले सञ्चार र श्रोतालाई लक्षित गरि ल्याइएको मार्गनिर्देशीका उचित रहेको बताए ।

    युनेस्कोका सञ्चार निर्जना शर्माले सूचना प्रवाह गर्ने सञ्चारकर्मी नै क्षमताको अभावमा प्रभावित भइरहेको बताइन् । सीआईएनका प्रबन्धक दीपक आचार्यले विश्वव्यापी सञ्चार तथा सूचना साक्षरता सप्ताहको अवसर पारेर मार्गनिर्देशिका तयारका लागि सामुदायिक रेडियोकर्मीहरुसँग भरच्यूएल छलफल तथा प्रत्यक्ष छलफल गरे सबै सरोकारवालाको सुझाव समेटेर मार्गनिर्देशिका तयार पारिएको र यसमा आएका सुझावहरुलाई समेट्दै परिमार्जन गर्दै जाने बताए ।

  • गुरुङ र मगर भाषालाई कामकाजी भाषा बनाउँदै गण्डकी सरकार

    पोखरा, मंगलबार, १३ कात्तिक २०८१ । गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा ऐन बनाउने तयारी गरेको छ । नेपालको संविधान अनुसार भाषा आयोगले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरिसकेको छ ।

    तमू ह्यूल छोंज धिँ (गुरुङ राष्ट्रिय परिषद्) का अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्व अध्यक्ष रेशम गुरुङ, सहमहासचिव मनोज गुरुङ, नेपाल मगर संघका पूर्व अध्यक्ष तथा पूर्व सांसद महेन्द्र थापामगर, कोषाध्यक्ष पूर्ण राना मगर, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष जगतबहादुर बराम, आदिवासी विज्ञ डा श्रीकुमार महर्जन, केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, आशबहादुर गुरुङ, रिता गुरुङ लगायतको प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐन बनाउन मन्त्रिपरिषद्बाट सहमति लिइसकेको बताएका छन् ।

    ‘अब छिटै नतिजा आउने गरेर काम गर्छु ।’ मुख्यमन्त्री पाण्डेले भने,‘मेरो अघिल्लो कार्यकालमै भाषा ऐन बनाउन खोजेको थिएँ तर राजनीतिक वातावरण नबनेर रोकिएको हो, अब आउँदो हिउँदे अधिवेशनमा विधेयक बनेर पास हुन्छ।’

    नेपालको संविधान अनुसार भाषा आयोगले गुरुङ र मगर भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषा बनाउन लमजुङ, स्याङ्जा र कास्कीमा छलफल कार्यक्रमको तयारी भएको सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले बताए । त्यसैगरी आर्थिक योजना मन्त्री डा. टकराज गुरुङले यो ऐन बनाउन यो सरकार कटिबद्ध भएको कुरा व्यक्त गरेका छन् ।

  • नेपालगन्जमा कपडाजन्य मालाको बिक्री

    नेपालगन्ज, मंगलबार, १३ कात्तिक २०८१ । बाँकेको नेपालगन्जका व्यापारीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगन्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री–वितरण भइरहेको व्यापारीले बताएका छन् ।

    नेपालगन्ज उपमहानगरपालिका–२, घरबारीटोलका अनुप लखेटले गत वर्ष मौज्दात केही दर्जन कपडाजन्य मालाको बिक्री–वितरण भइरहेको बताए । उनले भने, “गत वर्ष स्थानीय प्रशासनले प्लास्टिकका माला जलाएका कारण अहिले उपभोक्ता पनि त्यस्ता माला खोज्न आएका छैनन् ।”

    प्लास्टिकजन्य माला बेच्न हुँदैन भन्ने विषयमा आफूलाई जानकारी रहेको उनले उल्लेख गरे । लखेटले केही उपभोक्ताले लुगाका माला पनि प्रयोगमा ल्याएको बताए ।

    अर्का स्थानीय व्यापारी अकबर अलीले मौज्दात रहेको कपडाका माला र पुष्पगुच्छाको सामान्य बेचबिखन भएको बताए । मौज्दात रहेको करिब २० दर्जन कपडाजन्य माला बेचबिखनका निम्ति राखिएको उनले जानकारी दिए । उनले तिहारका लागि भाइमसलाको खपत बढेको बताए । “हामीले कोहलपुरबाट उत्पादन भएको भाइमसला नेपालगन्ज ल्याएर बेचेका छौँ,” उनले भने ।

    तिहार नजिकिँदै जाँदा नेपालगन्जका सदरलाइन, एकलैनी, त्रिवेणीमोड, वागेश्वरीटोल, घरबारीटोल, न्युरोड, त्रिभुवन चोकलगायत क्षेत्रमा भाइमसला, टीका, माला, फलफूलसहितका सामान किन्नेको भीड लागेको छ ।

    वागेश्वरी मन्दिरछेउका पसल, सदरलाइन, एकलैनी, पुरानो सिनेमा हल रोड, घरबारीटोल, न्युरोड र धम्बोझीलगायत स्थान कपडाबाट निर्मित रंगीबिरंगी मालाले झकिझकाउ देखिएको छ ।

    उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाटले प्लास्टिकजन्य माला तथा पुष्पगुच्छा प्रतिबन्धित भन्ने विषयमा व्यापारीलाई कुनै जानकारी नआएको जिकिर गर्दै सरकारी पक्षबाट यसको अनुगमन नभएको गुनासो गरे । उनले निर्बाध रूपमा व्यापारीले आफ्नो व्यापार गर्न पाउनुपर्नेमा जोड दिए ।

    नेपालगन्जमा तिहारका अवसरमा ८० हजारदेखि एक लाख रुपैयाँभन्दा बढीको माला बेचबिखन हुने गरेको स्थानीय व्यापारीको भनाइ छ ।