Blog

  • विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

    नेपाल वातावरण पत्रकार समूह (नेफेज) को नवनिर्वाचित कार्यसमितिसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसङ्ख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारका प्रवक्ता मन्त्री गुरुङले भन्नुभयो, “विकास निर्माण गर्दा केही रूख काट्नुपरे पनि त्यसको कैयौँ गुणा वृक्षरोपण गरेर विकासमा आउने बाधा अवरोध हटाउनुपर्छ। त्यसका लागि कानुनी व्यवस्था र कार्यान्वयनमा आवश्यक सुधार गर्न जरुरी छ ।”

    कानुन देखाएर विकास निर्माणमा अवरोध गर्ने र आयोजनाका नाममा जथाभाबी रूख कटान गर्ने दुवै कार्य उचित नभएको धारणा व्यक्त गर्नुभयो मन्त्री गुरुङले पहिलेको तुलनामा नीतिगत रूपमा स्पष्टता आएको र कानुनी प्रावधानमा पनि सुधार भएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनका मुद्दामा सचेतना बढे पनि प्रचलित नारामा बहकिएर चर्चा कमाउनेभन्दा काम गर्ने व्यक्ति कम भएको जिकिर गर्नुभयो ।

    “नेपालको कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि जलवायु परिवर्तनका असरबाट बढी प्रभावित हुनुपरेको छ। यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय मञ्चमा प्रष्ट कुरा राखिसक्नुभएको छ”, उहाँको भनाइ थियो ।

    मन्त्री गुरुङले जलवायु परिवर्तनले नेपालको वातावरणमा पारेको प्रभावलगायत विषयलाई अन्तर्राष्ट्रियकरण गरेर क्षतिपूर्तिका लागि विश्व जगत्लाई आह्वान गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेफेजका अध्यक्ष चन्द्रशेखर कार्कीले संस्थाको कामकारबाहीका बारेमा जानकारी गराउनुहुँदै नेफेजको कार्यालय भवनको निर्माण कार्य बाँकी रहेकाले त्यसमा थप सहयोगका लागि आग्रह गर्नुभयो ।

  • निर्मला कुर्मीका लागि न्याय मागिरहेकाहरू र सरकारबीच सम्झौता

    काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । बाँकेको नेपालगन्जकी निर्मला कुर्मीले न्याय पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेकाहरूसँग सरकारले सम्झौता गरेको छ । गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    रुबी खानलगायत महिलाहरूले २५ साउनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका थिए । उनीहरूले निर्मला कुर्मीको मुद्दा अदालत पुर्‍याउनुपर्ने मुख्य माग राखेका थिए ।

    ०७६ मा निर्मलाको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि उनको सम्पत्ति हिनामिना भएको थियो ।

    कुर्मीको मृत्यु र उनको सम्पत्ति हिनामिनाबारे प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले मुद्दालाई अदालतमा पुर्‍याएको छैन ।

    सम्झौता पत्र

  • ‘उज्यालो नेपाल’ : ३६ लाख ५० हजार घरधुरीमा नवीकरणीय ऊर्जा

    काठमाडौँ, मंगलबार, १३ २०८१ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विविध कार्यक्रमसहित २८औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

    वार्षिकोत्सव समारोहका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाउँदै केन्द्रलगायत सम्बन्धित निकायसँग समन्वयको अनुरोध गरे ।

    नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै खड्काले आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताएका छन् ।

    सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

    राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पुर्‍याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गरे । विद्युत्मा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई उनले आग्रहसमेत गरे ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी गराए ।

    वार्षिकोत्सव समारोहमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाकालदेखि नै केन्द्रले अहोरात्र काम गरी हालसम्म ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरेको जानकारी गराए । केन्द्रले हालसम्म देशका ३६ लाख ५० हजार घरमा नवीकरणीय ऊर्जा सेवा प्रवाह गरेको तथ्यांकसहितको प्रगति प्रतिवेदन ढकालले पेश गरेका थिए ।

    देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील रहेका छन् । ती कम्पनीमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन् । वार्षिकोत्सवका अवसरमा कर्मचारीहले रक्तदान पनि गरेका थिए ।

    नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको थियो । जसमा लघु तथा साना जलविद्युततर्फ तारा खोला जलविद्युत लिमिटेड, बागलुङ्ग, सौर्य ऊर्जातर्फ सूर्योदय ऊर्जा प्रालि, जैविक ऊर्जातर्फ जन्दादेवी नेपाल ऊर्जा र दुम्कीबास पोल्ट्री फार्म प्रालि, नवलपरासीलाई पुरस्कृत गरिएको छ ।

    २० वर्षदेखि अनवरत् सेवा गरेकी केन्द्रकी प्रशासकीय अधिकृत सृजना पाण्डेलाई दीर्घ सेवाको मूल्यांकनसहित सम्मान गरिएको छ ।

  • समस्याग्रस्त सहकारीको करिब डेढ अर्ब बचतकर्तालाई फिर्ता

    काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको बताएको छ ।

    आज मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार रुपैयाँ फिर्ता गरिएको जानकारी दिनुभयो ।

    त्यस्तै आंशिक रुपमा हालसम्म ४ सय ३८ बचतकर्ताको ३ करोडभन्दा बढी रकम फिर्ता गरिएको छ । संकटग्रस्त सहकारीका ५६ हजार ६ सय ५ बचतकर्ताको ३८ अर्ब ४२ करोड ३ लाख २९ हजार ८ सय ११ रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको मन्त्री अधिकारीले बताउनु भयो ।

    उहाँले संकटग्रस्त सहकारीमा भएको सम्पत्ति बिक्री, लिलाम वा साटासाट गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीबाट ऋण लिएर नतिर्नेहरुको सम्पत्ति लिलाम गर्ने निर्णय भएको धारणा राख्नुभयो ।

    उहाँले केही सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि प्रक्रिया सुरु भइसकेको जिकिर गर्नुभयो । मन्त्री अधिकारीले हाल सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारीहरु १९ वटा रहेको र बाँकी छुट मागदावीकर्तालाई बचत फिर्ता गरि राफसाफ गरिएको सहकारीको संख्या ३ रहेको जानकारी दिनुभयो ।

    मन्त्री अधिकारीले चालू आर्थिक मसान्तसम्म थप ९ सहकारी संस्था राफसाफ गर्ने लक्ष्य लिइएको बताउनु भयो । त्यस्तै, १३ हजार ७५ ऋणी सदस्यहरुबाट २३ अर्व ६२ करोड ९६ लाख ५८ हजार ७ सय ९४ रुपैया असुलीतर्फ अन्तिम कारवाहीको प्रक्रिया अघि बढाउने योजना रहेको उहाँले बताउनु भयो । कार्यक्रममा समस्याग्रस्त केही सहकारीका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको थियो ।

  • महिला फुटबलरको उपचार गर्नेछौँ : मन्त्री पौडेल

    काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ ।

    सोमबार खेलाडीको बन्द प्रशिक्षण स्थल पुगेर मन्त्री पौडेलले सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरुलाई बधाइ पनि दिनुभयो ।

    मन्त्री पौडेलले त्यसक्रमा एन्फा पदाधिकारीहरु र खेलाडिसामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा नि:शुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । ‘‘तपाईंहरु उच्च मनोबलका साथ खेल पस्कनुहोला,’ उहाँलेले भने, ‘‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौँ ।’’

    खेलाडीको हौसला बढाउँदै उहाँले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टिमका सबै खेलाडिहरुको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ ।

  • धनतेरसलाई चाँदीको सिक्का बिक्री सुरु

    काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ ।

    बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित सिक्का बिक्री सुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिनुभयो ।

    सुनको असर्फि भने मंगलबार एकदिन मात्रै बिक्री गरिने उहाँले बताउनु भयो । बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाई मेडालियनको दर २२ सय रुपैयाँ तोकेको छ भने गाई मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकिएको पोखरेलले बताउनु भयो ।

    सुनको असर्फि नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने उहाँले जानकारी दिनुभयो । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री वितरण गर्दै आएको छ ।

  • कार्तिक कृष्णपक्षः यमपञ्चक अर्थात् तिहार सुरु

    काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदै छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।

    बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

    यसवर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।

    “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने ।

    यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा. अधिकारीले जानकारी दिए । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।

    यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

    कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

    कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गरे । उनका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।

    गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

    प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।

    भाइटीका कात्तिक १८ गते ११ः३७ बजे

    कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।

    सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उनले सुनाए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ ।

    बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

    झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि राजधानी लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेका छन् । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।

    बडादसैँमा सुनसान प्रायः हुने काठमाडौं उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बनेको छ । झिलीमिलीमा देउसी, भैलोको रमाइलोसँगै तिहारमा जुवा खेल्नैपर्छ भन्ने मान्यताले पनि कतिपयलाई आकर्षण गर्दछ ।

    लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । कतिले भने विभिन्न सामाजिक कामको सहयोगका लागि तिहार अर्थात् यमपञ्चक लागेदेखि नै देउसी, भैलो खेल्ने गरेका छन् । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिन देखि नै देउसी भैलो खेल्ने परम्परा पनि रही आएको छ ।

    कौडा, लङ्गुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । यसबाट कतिले जीतको आनन्दका साथै कतिले हारको नरमाइलो अनुभव पनि सँगाल्ने गर्छन् ।

    धेरै पैसा राखेर जीत, हारका रुपमा जुवा खेल्दा कतिले भने धन सम्पत्ति नै सिध्याउने पनि गर्छन् । संस्कृतिका नाममा यस्ता विकृतिको भने अन्त्य हुनुपर्ने आवाज पनि उठ्ने गरेको छ ।

    दीपावली अर्थात् तिहार पर्वका अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अंगभंग हुने समस्यासमेत बढ्न थालेको छ ।

    नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो संख्यामा पटाका बरामद हुने गरे पनि पड्क्न भने छोडेको छैन । प्रत्येक वर्ष प्रहरीले एक साताअघिदेखि नै पटाका नपड्काई सभ्य रुपमा दोस्रो चाड तिहार मनाउन आह्वान गर्ने गरेको छ ।

  • पुँजीगत खर्च बढाउन सञ्चार मन्त्रीको निर्देशन

    काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ ।

    मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१र८२ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा उहाँले भन्नुभयो, “पुँजीगत खर्च बढाउनुपर्छ । मन्त्रालयको ५० प्रतिशत पनि कट्न नसक्नु राम्रो हैन ।”

    मातहतका कार्यालयमा रहेको बजेरु घटाउन निर्देशन दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “जहाँ सुशासन र पारदर्शिता हुँदैन, त्यहाँ सेटिङ हुन्छ, नीतिगत भ्रष्टाचार हुन्छ, त्यहाँ बेरुजु अत्यधिक हुन्छ । आगामी बैठकमा आउँदा बेरुजु फर्छ्योटको स्थितिमा सुधार गर्नुहोस् ।”

    चालु आव २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा मन्त्रालयअन्तर्गत रु एक अर्ब ६४ करोड ९८ लाख बजेटमा ५१ दशमलव ९३ प्रतिशत खर्च भएको छ । यस अवधिमा ४१ दशमलव ६ प्रतिशत पुँजीगत खर्च र चालुतर्फ ५२ दशमलव ९२ प्रतिशत खर्च भएको छ ।

    मन्त्रालयको प्रमुख छ वटा कार्य क्षेत्रका १९ निकायहरूमार्फत भएका कामका सम्बन्धमा बसेको बैठकमा मन्त्री गुरुङले कर्मचारीलाई परम्परागत कार्यशैली परिवर्तन गर्न सुझाव दिनुभयो । “सबै काम पारदर्शी हुनुपर्छ । अनेक बहानाबाजी गरेर काम अड्काउनु हुँदैन । कर्मचारीतन्त्रमा भएका समस्या अब सुधार हुनुपर्छ, नयाँ ढङ्गले काम गरौँ”, उहाँले भन्नुभयो ।

    सामान्य प्रशासन तथा सङ्घीय मामिला मन्त्रालयको ध्यानाकर्षण गराउँदै मन्त्री गुरुङले कार्यसम्पादन सम्झौता कार्यान्वयनमा जोड दिनुभयो । उहाँले कर्मचारीलाई कम्तीमा एक वर्षसम्म तोकिएको कार्यक्षेत्रबाट सरुवा नगर्न र नगराउन आग्रह गर्नुभयो ।

    छोटोछोटो समयमा सरुवा गर्ने प्रवृत्तिले गर्दा कार्यसम्पादनमा प्रभाव पर्नेतर्फ सचेत गराउनुभयो । उहाँले अन्तरमन्त्रालयबिच समन्वय, सहकार्य र सहयोग आवश्यकता औँल्याउँदै विकास समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

    बैठकमा चालु आवको प्रथम त्रैमासिकसम्मको प्रगति विवरणअनुसार कार्यान्वयन गर्नुपर्ने ३४ वटा ‘माइलस्टोन’ मध्ये २१ वटाको कार्य सम्पन्न भएको छ । काम हुन नसकेका ‘माइलस्टोन’ १० वटा छन् भने सम्पन्न हुने प्रक्रियामा रहेका तीन वटा रहेका छन् ।

    बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले समस्या र सहजीकरणका विषयमा आयोग सहयोग र सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

    सचिव राधिका अर्यालले पुँजीगत खर्च बढाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले मन्त्रालयको ‘माइलस्टोन’ मा राम्रो प्रगति भएको बताउनुभयो । उहाँले आगामी बैठकमा उपलब्धि र प्रभावलाई आलोचनात्मक समीक्षाका हुनुपर्ने रायसमेत राख्नुभयो ।

  • गोदावरी १४ वडा कार्यालयद्वारा तिहार पर्व (स्वन्ती नख:) मनाउन आफ्ना वडाबासीलाई आग्रह

    ललितपुर, सोमबार, १२ कात्तिक २०८१ । तिहारका बेलामा घरभित्र, बाहिर र वरपर गरिने दीपावली हाम्रो अर्को महत्त्वपूर्ण उत्सव हो । हामीसँग यदि ज्ञानको धिपधिपे छ भने औँसीको जस्तो दुःख, पीडा र अज्ञानको जतिसुकै सघन अँध्यारो भए पनि त्यो सजिलै हराएर जान्छ । त्यसैले, उज्यालो बालेर भित्र र बाहिरको अँध्यारो हटाउने प्रयास गरौँ भन्नु दीपावलीको विशेष अर्थ हो ।

    गोदावरी नगरपालिका वडा नं १४ वडा कार्यालयले आफ्ना वडाबासीलाई हर्ष उल्लासका साथ दीपावली मनाउन आग्रह गरेको छ । वडा कार्यलयले आज शुभ दीपावली तिहार (स्वन्ती नख:) मनाउने तालिका सार्बजनिक गर्दै, गर्जु – गुठी-थकाली- प्रतिनिधि- भद्र भलादमी लगायत वडाबासीहरु संगको राय सल्लाह सुझावका आधारमा ठैव-बाडेगाउँबासीले शुभ दीपावली तिहार (स्वन्ती नख:) हर्ष उल्लासका साथ मनाउन वडा अध्यक्ष निरोज बज्राचार्यले सम्पूर्ण वडाबासीलाई अनुरोध गर्नु भयो ।

    (स्वन्ती नख:) मनाउने तालिका अनुसार कात्तिक १४ गते बुधबार क्व:पुजा (काग तिहार) त्रयोदशी, कात्तिक १५ गते बिहिबार खिचा: पुजा (कुकुर तिहार) चतुर्दशी, कात्तिक १६ गते शुक्रबार गाई पुजा (लक्ष्मी पुजा) औशी, कात्तिक १७ गते शनिबार म्ह–पूजा (आत्मपूजा) गोवर्धन पूजा, नेपाल सम्वत ११४५ प्रारम्भ, कात्तिक १८ गते आइतबार किजा: पुजा (भाइटीका) कार्तिक शुक्ल द्वितीया मनाउन अध्यक्ष निरोज बज्राचार्यले सम्पूर्ण वडाबासीलाई अनुरोध गर्नु भयो ।

    यमपञ्चक, तिहार वा दीपावली

    शरद् ऋतुको अन्त्यमा पर्ने अर्थात् दसैँपछि आउने कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक पनि भन्ने चलन नेपालमा छ । राणाशासनमा यमपञ्चकमा जुवा खेल्न छुट दिने चलन भएको तथ्य त्यस बेलाको मुलुकी ऐनबाटै स्पष्ट रूपमा बुझिन्छ । पछि पछिका पात्रोहरूमा पनि ‘यमपञ्चकारम्भ’ भनेर उल्लेख गर्ने गरिएको देखिन्छ तर कुनै पनि प्राचीन धर्मशास्त्रीय ग्रन्थमा वा पुराणहरूमा

    ‘यमपञ्चक’ को उल्लेख भएको चाहिँ देखिँदैन (द्रष्टव्य– वैदिक धर्म मूल रूपमा, शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाध्यायशाला, प्र.सं. २०४५, तृतीय संस्करण २०८०, पृ.१०८७) ।

    उक्त पाँच तिथिमा निशामुखमा (साँझमा) देव, ब्राह्मण, गाई, घोडा, श्रेष्ठ पुरुष, साना वा कान्छा नरनारी र मातालगायतका कुटुम्बका मान्य स्त्रीहरूको पनि नीराजन गर्नु पर्छ अर्थात् दीप बालेर त्यसले आरती गर्नु पर्छ भनेर निर्णयसिन्धुमा बताइएको छ :

    आश्विने कृष्णपक्षे तु द्वादश्यादिषु पञ्चसु ।

    तिथिषूक्तः पर्वरात्रे नृणां नीराजनो विधिः ।।

    नीराजयेयुर् देवाँस्तु विप्रान् गाश्च तुरङ्गमान् ।

    ज्येष्ठाञ् छ«ेष्ठाञ् जघन्याँश्च मातृमुख्याश्च योषितः ।।

    –(निर्णयसागर प्रेसको संस्करण, पृष्ठ १४७, नेपाली अनुवादसहितको संस्करण, पृष्ठ ३९६)

    सनत्कुमारीय कार्तिक माहात्म्यमा (११÷७–१३) पनि यो विधि बताइएको छ । किन्तु त्यहाँ आश्विनको सट्टा कार्तिक कृष्णपक्षमा उक्त कार्य गर्ने भनिएको छ– ‘कार्तिके कृष्णपक्षे तु द्वादश्यादिषु पञ्चसु’ इत्यादि । यसबाट एउटै महिना नै पूर्णिमान्त गणना (पूर्णिमामा समाप्त हुने चान्द्र मासको गणना) अनुसार र अमान्त गणना (अमावस्यामा समाप्त हुने चान्द्र मासको गणना) अनुसार फरक नामले उल्लेख गरिन्छ भन्ने बुझिन्छ । यसै भिन्नताले गर्दा महिनाको उल्लेख गर्दा उक्त श्लोकमा र अन्यत्र पनि एक महिनाको अन्तर पर्ने गरेको हो । माथि अमान्त गणना अनुसार आश्विन र पूर्णिमान्त गणना अनुसार कार्तिक महिनाको उल्लेख भएको हो । अतः उक्त दुवै श्लोकले भनेको आश्विन पूर्णिमापछि आउने कृष्णपक्ष नै हो भन्ने कुरा सबैले बुझ्नु पर्छ ।

    उक्त श्लोकहरूमा द्वादशीदेखि पाँच दिनसम्म भनिए पनि प्रचलनमा चाहिँ त्रयोदशीदेखि उक्त कर्म गर्ने भन्ने मानिएको छ । तथापि यी पाँच दिनको यमपञ्चकसित सम्बन्ध भने देखिँदैन ।

    लगातार पाँच दिनसम्म गरिने धेरै जसो कर्मको कुनै न कुनै रूपमा यमराजसित सम्बन्ध रहेको देखिएकाले यी पाँच दिनलाई पछि पछि यमपञ्चक भन्न थालिएको हुन सक्छ ।

    यी पाँचै दिनलाई तिहार वा दीपावली पनि भन्ने चलन छ । तिहारको पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन गाईतिहार, चौथो दिन गोरुतिहार र पाँचौँ दिन भाइतिहार मान्ने गरिएको छ ।

  • गोरखाको बारपाक सुलिकोटमा बर्षा र तापक्रम मापन गर्ने यन्त्र जडान

    गोरखा, सोमबार, १२ कात्तिक २०८१ । बारपाक सुलिकोट गाउँपालिकामा बर्षा तथा तापक्रम मापन गर्ने यन्त्र जडान गरिएको छ । गाउँपालिका र संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनको साझेदारीमा यन्त्र जडान गरिएको हो । पालिकाको प्रशासनिक भवन परिसरमा यन्त्र जडान भएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो ।

    ‘बर्षा मापन गर्ने रेनगज र तापक्रम र आद्रता (हावामा पानीको मात्रा) मापन गर्ने एनएस २०० सेन्सर यन्त्र जडान गरेका छौ,’ उहाँले भन्नुभयो, ‘मोनिटर पालिकाको प्रशासनिक भवन भित्र राखिएको छ ।’ उक्त यन्त्रबाट प्राप्त अघिल्लो २४ घण्टाको डाटाबाट पछिल्लो २४ घण्टाको तापक्रम र बर्षा हुने नहुने अनुमान गर्न सकिने जानकारी दिनुभयो ।

    ‘अहिले किसानको खेतीवाली भित्र्याउने सिजन पनि छ, पछि खेतीवाली लगाउने सिजनमा पानी पर्छ–पर्दैन र मौसम कस्तो हुन्छ भनेर सचेत गराउन पनि सहयोग पुग्छ,’ उहाँले भन्नुभयो, बर्षात र बाढीबाट हुने विपद न्यूनिकरणमा पनि यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।